कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साइकल संस्कृतिको सपना–विपना

साइकल दुई शताब्दीदेखि अस्तित्वमा कसरी रह्यो ? साइकल सौन्दर्यमा हामी किन गर्व गर्छौं ? किनभने साइकल संस्कृति दिगो अर्थतन्त्रको पनि आधार रहेछ ।
तारालाल श्रेष्ठ

पाटन चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानका रेक्टर प्राध्यापक पवन शर्माको साइकल संस्कृति र प्रकृतिप्रति समर्पण देख्दा हामी साइकल साथीहरू सधैं उहाँसामुन्ने पग्लन्छौं । सुविधाभोगी भीडभन्दा पृथक् प्राध्यापक पवनले एउटा आलेख इमेल गर्नुभएछ । उक्त आलेख मभन्दा पनि हाम्रा प्रधानमन्त्रीले पढ्नुपर्ने खालको रहेछ । यसर्थ, उक्त अङ्ग्रेजी आलेखको सारसत्व नेपाली सन्दर्भसहित प्रधानमन्त्रीसम्म पुर्‍याउनु यस स्तम्भको मूल अभीष्ट हो ।

साइकल संस्कृतिको सपना–विपना

साइकल सवारी सौन्दर्य

उच्च ट्राफिक, सडक दुर्घटना, वातावरण प्रदूषणबारे पाँचतारेभित्र प्रस्तुति भइरहन्छन् । पपुलिस्टहरू बाटो फैलाउन, बहुतले पार्किङ ठड्याउन जोसिँदै छन् । चौडा सडक, बहु–तले पार्किङ थप्ने, ‘वान वे’ सहित सहरभित्र गाडीको गति उच्च पार्नेजस्ता स्मार्ट स्पिड प्रविधि दिगो समाधान होइन । यसले यान्त्रिक निजी सवारी संस्कृतिलाई थप बढावा दिन्छ । प्राध्यापक पवनले पठाएको आलेखले औंल्याएझैं, त्यसो भए के गर्ने ? समाधान सोझो छ, यान्त्रिक निजी सवारीबाट ‘सभ्य’ हरूलाई भुइँमा झार्ने । यही सर्वहिताय समाधान हो । ‘सभ्य’ हरूलाई जमिनसँग जोडिएको जीवनशैलीबोध गराउन अबेर भइसक्यो । यान्त्रिक निजी सवारी संस्कृति केही दशकमै अति भारी भइसक्यो, जसले जल–जमिन–जंगल कसैको भलो गरेन । इन्धनवाला होस् कि विद्युतीय, ‘कार कल्चर’ विश्वशान्तिकै बर्खिलाफ देखियो । ‘सभ्य’ हरूलाई सम्झाउन–बुझाउन महाअभियान आवश्यक भइसक्यो ।

यान्त्रिक निजी सवारीप्रेमी ‘सभ्य’ हरूलाई सम्झाउन प्रशस्त ऐतिहासिक प्रमाण छन् । सन् १९५०–७० सम्ममा बुलडोजर लगाएर बाटो चौडा गर्दा अमेरिकी केही सहरमा मात्रै ४०,००० घरपरिबार थातथलोबाट उठीबास बनेछन् (गार्नेर, एक्सक्लुसिभ ट्रार्न्सपोर्टेसन, अक्टोबर २०२१) । नेपालमा पनि सडक चौडा बनाउने गतिले कति सामान्यजन सकसपूर्ण जीवन बाँचिरहेका छन् । पीडित घरपरिवारसँग निजी यान्त्रिक सवारीप्रेमीलाई भेटाइदिएमा विकासविरोधी विम्बहरू विनाशविरोधी बन्नेछन् । कारको कुलतले कतिलाई बेघर बनाएको छ । धेरैलाई भ्रष्ट पनि बनाएको छ । तिनलाई सादगी जीवनशैलीसँग साक्षात्कार गराउन सकिन्छ । यान्त्रिक निजी सवारी पहिलो नभई अन्तिम प्राथमिकताबोध गराउन सकिन्छ । घना बस्तीलाई काररहित बनाउन पनि सकिन्छ । हजारौं पैदलेको भीडमा यान्त्रिक सवारी अतिक्रमणको साटो शान्त वातावरणको दृश्यबोध गराई सम्झाउन सकिन्छ, जहाँ कुनै यान्त्रिक साधनले धक्का दिने त्रास रहन्न । ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, पर्यटक बाटोमा बिनाडरत्रास हिँडिरहेको दृश्य देखाइदिन सकिन्छ । नीतिनिर्माता नेतालाई पर्यावरण साहित्य सौन्दर्यबोध गराउन सकिन्छ । अनि नीति निर्माताले सार्वजनिक स्थलमा कंक्रिट बहु–तले कार पार्किङको साटो हरिया पार्कको महत्त्वबोध गर्नेछन् । बाटो बनाउँदा सक्दो बोटबिरुवा बचाउनेछन् । साइकल साहित्यको संस्कृति सप्रनेछ ।

अहिले यान्त्रिक सवारीमैत्री अनेकौं एप्सहरू प्रचलनमा छन् । ती दीर्घकालीन समाधान हुँदै होइन । मेसिनप्रति अति मोहले कदापि कसैको दीघकालीन भलो गर्दैन । विद्युतीय कार पनि विकल्प होइन, बरु ई–साइकल विकल्प बन्न सक्छ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा २४९० थान ई–साइकल आयात भएको देखिन्छ (गोरखापत्र, २०७९ पुस ११) । अन्ततः गन्तव्य काररहित संस्कृति नै हो । कारसंस्कृति केन्द्रित उल्टो विकासको गुरुयोजनालाई पनि अब सुल्ट्याउनैपर्छ । ठूलो सवारीमैत्री संरचना होइन, साइकल पूर्वाधारलाई स्विकार्नैपर्छ । अन्ततः ‘पिपुल्स’ र ‘प्लानेट’ प्रति समर्पित प्रविधि विकासको विकल्प छैन । इतिहासबोध गरौं, साइकल दुई शताब्दीदेखि अस्तित्वमा कसरी रह्यो ? यान्त्रिक सवारी यति छिटै किन स्याचुरेसनमा पुग्यो ? साइकल सौन्दर्यमा हामी किन गर्व गर्दै र्छौं ? किनकि, साइकल संस्कृति दिगो अर्थतन्त्रको पनि आधार रहेछ ।

साइकल अर्थतन्त्र

युरोपियन साइक्लिस्ट फेडेरेसनले ईयूका सहरहरूमा साइकल प्रवर्द्धनबाट प्रतिवर्ष १५० बिलियन युरो मुनाफा भइरहेको देखाउँछ । त्यसमा ९० बिलियन युरो मुनाफा वातावरणीय, स्वास्थ्य र सवारी पद्धतिमा सकारात्मक परिवर्तनले भएको बताइन्छ । ईयूमा हाल प्रतिवर्ष साइकल प्रयोगबाट सीओटु (ई) उत्सर्जन १६ मिलियन टन घटेको देखिन्छ । वायु प्रदूषणमा कमी भई वार्षिक ४३५ मिलियन युरो बराबरको फाइदा भइरहेको भनिन्छ । ध्वनि प्रदूषणमा पनि कमी हुँदा ईयूलाई ३०० मिलियन युरो फाइदा पुगेको बताइन्छ । यान्त्रिक साधनको साटो साइकल रोज्दा ईयूमा मात्रै इन्धन खर्च ४ बिलियन युरो प्रतिवर्ष बचत भइरहेको भनिन्छ । साइकल संस्कृतिकै कारण ईयूमा १८,११० युवाको अकाल मृत्युवरण रोकिँदा प्रतिवर्ष ५२ बिलियन युरो बराबरको धनजन क्षति बचेको बताइन्छ । विश्वमा वार्षिक १३ लाख मानिस सवारी दुर्घटनाबाट मृत्यु भइरहँदा ९० प्रतिशत सवारी दुर्घटनाबाट हुने मृत्युमा न्यून–मध्यम आयवाला देशका नागरिक देखिन्छन् । दैनिक ३००० किशोरकिशोरी अकाल मृत्युवरण गर्न बाध्य छन् । ईयूमा साइकल व्यापार बढेर प्रतिवर्ष २.३ बिलियन साइकल ‘टुरिजम ट्रिप्स’ को आयोजना हुँदा ४४ बिलियन युरो आम्दानी देखिन्छ । यान्त्रिक साधनमैत्री पूर्वाधारमा लगानी घट्दा २.९ बिलियन युरो बचत, साइकल प्रयोगकर्ता बढेसँगै सवारी जामको समस्यामा कमी हुँदा वार्षिक ६.८ बिलियन युरो फाइदा भएको भनिन्छ (सेफर साइक्लिङ, २०२०) ।

नेपालमा पनि पचासौं लाख साइकल प्रयोगकर्ता छन्, तर साइकल अर्थतन्त्रको लेखाजोखा छैन । सन् २०११–२०२०, एक दशकमा १८०,००० हजार नेपाली नागरिक सडक दुर्घटनाबाट प्रभावित आँकडा छ, जसमध्ये २२ हजारको मुत्यु १५०,००० घाइते भएको देखिन्छ (प्रहरीमा दर्ता भएको मात्रै) । इन्धन बाल्ने सवारीरहित भविष्य नीतिमा सहमति गरेको नेपालले साइकल संस्कृतिबाट कति आर्थिक लाभ लिन सक्ला, अनुमान गरौं । आयातीत इन्धन बालेर कति कार बेकारमा कुदिरहेका छन्, लेखाजोखा राखौं । एउटा अफिसले यान्त्रिक सवारीमा वार्षिक कति खर्च गर्दै छन्, हरहिसाब निकालौं । नेपालमा सन् २०२०–२१ मा मात्रै ३३.१९ बिलियन डलर खर्चेर ३५५,९५९ (अघिल्लो वर्षभन्दा ७७ प्रतिशत बढी) मोटरसाइकल आयात भएछ । यान्त्रिक सवारी खर्चले नेपाली अर्थतन्त्रलाई कति मार हानिरहेको होला ? साइकल संस्कृति स्विकार्दा कति अर्थतन्त्रमा टेवा पुग्ला, नेपाली अर्थशास्त्री बोलून् ।

ई–साइकलको सम्भाव्यता

नेपालका सम्पदा सहरका सार्वजनिक सौन्दर्य यान्त्रिक सवारीले स्वाहा पारिसक्यो । नागरिक, पर्यटक बाहिर निस्कनै डरमर्दो भइसक्यो । विश्वमा ५० प्रतिशत निजी सवारीको दैनिक यात्रा दूरी ५ किमि, अझ ३० प्रतिशतको ३ किमिभन्दा कम देखिन्छ । यसर्थ, साइकल संस्कृति सहजै सम्भव छ ।

काठमाडौंकै कुरा गरौं, जहाँ साइकल हाँक्नै सकिन्न जस्तो लाग्ला । ट्राफिक उच्च छ, उकालो–ओरालो उस्तै । अब अत्याधुनिक विद्युतीय साइकल उपलब्ध छन् । ई–साइकलबाट दैनिक ७०–८० किमि यात्रा सम्भव हुन्छ । ई–साइकल (विश्व)विद्यालय, अफिस, पार्टी, बजार जहाँसुकै जाँदा दैनिक प्रयोग गर्न सकिन्छ, मडगार्ड राखेर बर्खायाममा पनि । नेपाल जत्तिको अब्बल मौसम विश्वमा विरलै छन् । यहाँ बाह्रै महिना दैनिक दिनरात साइकल हाँक्न सम्भव छ, हामी हाकिरहेकै छौं । ई–साइकलबाट सहजै ८० प्रतिशत यान्त्रिक निजी सवारीलाई प्रतिस्थापन गर्न सकिने अनुमान छ । जर्मनीमा कारको विकल्पमा ई–साइकल स्विकारिसकेको देखिन्छ । स्विडेनमा ४७–६७ प्रतिशत ई–साइकलले कार प्रयोगलाई प्रतिस्थापन गरेको देखिन्छ । ई–साइकलले अन्य साइकलको भन्दा बढी फाइदा दिन्छ । लामो दूरीसम्म साइक्लिङ सम्भब भएपछि साइकलबाट फाइदा दोब्बर–तेब्बर भइगयो । उकालोमा पनि ई–साइकल प्रतिघण्टा २५ किमि गतिमा कुदाउन मिल्छ । कर तिर्न पनि पर्दैन ।

ई–साइकल बढी सुरक्षित मानिन्छ । किनकि आवश्यकताअनुसार उकालोमा पनि छिटो कुदाउन सकिन्छ । विद्युतीय शक्तिमार्फत शारीरिक शक्ति सञ्चय गर्न सकिन्छ । साइकलकै रूपमा मात्र पनि हाँक्न सकिन्छ । जुनसुक उमेरका व्यक्तिले ई–साइकल कठिन उकालो उकाल्न सहजै पेडलिङ गर्न सक्छन् । अझ ५००–७५० वाटको ब्याट्रीवाला ई–साइकल प्रतिघण्टा यान्त्रिक साधनसँगै ४५ किमिसम्म कुदाउन सकिन्छ । साइकलबाटै लामो दूरीसम्म यात्रालाई प्रोत्साहन गर्न डचहरूले यस्ता ई–साइकलका लागि पूर्वाधारहरू बढाउँदै छन् । यसर्थ, विश्वभर ई–साइकलको माग ह्वात्तै बढेर गत वर्ष ४० मिलियन बिक्री हुने अनुमान थियो (कुपर, २०२१, फाइनान्सियल टाइम्स) ।

साइकल शिक्षण

पोल्यान्ड, जर्मनीमा ६ वर्षमुनिका केटाकेटीलाई १५ वर्षमाथिका अभिभावकका साथमा पैदलमार्गमा साइकल हाँक्न दिइन्छ । डेनमार्क, नेदरल्यान्ड लगायत देशहरूमा स्कुलमा साइकल शिक्षण, साइकलबाटै शैक्षिक भ्रमण गराउँछन् । यान्त्रिक साधन हाँक्ने ड्राइभरले अनिवार्य साइकल चलाउँछन् । उनीहरूलाई स्कुलबाटै कानुनबारे व्यावहारिक ज्ञान दिलाइन्छ । अझ डेनमार्कमा बुवाआमा–हजुरबा–हजुरआमाले बालबालिकालाई साइकल सिकाउँछन् । सबैजसो यात्रा बालबालिकाले आफैं गर्छन्, साइकलबाट । डेनिस साइक्लिस्ट फेडरेसनले बालबालिका दुई वर्ष पुग्नेबित्तिकै साइकल तालिम हाँकिरहेको देखिन्छ । केटाकेटी वयस्क नबन्दै सुरक्षित साइकल प्रयोगमा माहिर हुन्छन् । जोखिमपूर्ण सडकमै साइकल हाँक्न सक्ने हुन्छन् । त्यसैले, नेपाली सहरहरूमा (जहाँ साइकल शिक्षण अस्तित्वमै छैन) विदेशीहरू बालबच्चासहित निर्धक्क साइकल हाँकिरहेका भेटिन्छन् ।

नेपाल साइकल संस्कृतिमा नराम्ररी चुकेको छ । हामीले आजसम्म एक थान साइकल–कानुनसमेत बनाएका रहेनछौं । अन्ततः साइक्लिङ यात्रासँगै कला साधना पनि हो । थेरापिस्टहरू भन्छन्, हरेक कला साधनाले थेरापीको काम गर्छ (रुविन, २०१६) । साइक्लिङ उच्च रक्तचाप, मोटोपना, मधुमेह, आलस्य, दिग्दारी, अपच, अनिद्रा, अक्रान्त अनकौ रोगको निःशुल्क ओखती मानिन्छ । सक्रिय साइक्लिङले बुढ्यौली, कमजोरी, क्यान्सर, कार्डियोभास्कुलर, अल्जाइमर, डिप्रेसन, डिमेन्सियाजस्ता खतरनाक स्वास्थ्य समस्याबाट पनि बचाउने तथ्य छ (बीबीसी, २० अप्रिल २०१७) । नेपालगन्जमा अझ एक अभियन्ताले सक्रिय साइक्लिङले यौनदुर्बलता हटेको बताउँदा बैठक–कक्ष हाँसोले हल्लिएको थियो । प्रकृतिमैत्री, परिश्रमी, स्वाभिमानी, सादगी, शान्तिपूर्ण जीवनशैली साइकलबाट सम्भव छ । नेपालका सहर–गाउँ–बस्ती साइकल संस्कृतिले सजाउन सकिन्छ । यसर्थ, प्रधानमन्त्री समक्ष प्राध्यापक पवनको इमेलले औंल्याएझैं साइकल सौन्दर्यको परिकल्पना नेपाली सन्दर्भसहित पेस गर्दै छौं, साइकल समुदायकै तर्फबाट ।

प्रकाशित : पुस १६, २०७९ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?