१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६
कविता

सभ्यताको महायात्रा

अभय श्रेष्ठ

मानिसहरुको अभिलेखमा
म प्रतिकूल प्रेमीझैँ विस्मृत हुन सक्छु
पुस्तकबाट च्याति जाने पानाजस्तै
हराउन सक्छ मेरो कविता
इतिहासमै सबभन्दा बढी उच्चारित हुनेछ
सबभन्दा क्रूर शासकहरुको नाम
आफ्नै सपनाको बधपर्व मनाइरहेका
पात्रहरुको हातमा
देश यति सानदार तरिकाले चलिरहेछ
मानौँ निदाएको चालकले हााकेको गाडी हो यो देश
कृष्णपक्षको जूनझैँ खिइँदै गएको
जनजनको बोलीमा नित्य मन्त्रझैँ
फेरि पनि गुन्जिरहेछ तिनीहरुकै नाम
लेखिनेछ तिनीहरुकै इतिहास ।

सभ्यताको महायात्रा

लेकाली भीरजस्तो समयका घुम्तीहरुमा

शिशिरको घामजस्तै

छिट्टै अस्ताउन सक्छ मेरो जीवन

तर, संकटमा सत्यवाणीझैँ

सभ्यताको प्राणवायुमा म हुनेछु ।


भुल्ने छैन इतिहासले क्रूर समयलाई

बरू भिड्ने छ बारम्बार मोडहरुमा ।

सिद्ध हुनेछ

बैरी शासकको विशाल परिचयभन्दा

एक कविको नित्य लडाइँ ।


सभ्यता निर्माणको महायात्रा

जारी रहनेछ निरन्तर ।

प्रकाशित : पुस १६, २०७९ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?