कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हामी परीका सन्तान’

डोल्पा टुप्पाताराका डोल्पाली मगरको भाषा अरू मगरभन्दा भिन्न छ । भाषाशास्त्रीहरू त्यस भाषालाई ‘काइके भाषा’ भन्छन् । टुप्पाताराका मगरहरूको दाबी छ– ‘हामीले बोल्ने काइके भाषा हाम्री हजुरआमा परीले बोलेकी हुन् ।

‘हामी परीका सन्तान’

परापूर्वकालमा उनै परी हुन् यो भाषाको जननी । हामीलाई यो भाषा परीले नै सिकाएकी हुन् ।’ टुप्पातारा गाऊँमा बस्ने झाँक्री थरका यी मगर आफूलाई परीका सन्तान भन्छन् । उनीहरू कसरी परीका सन्तान भए र यो भाषा जन्मियो ? यो जान्न एउटा रोचक कथा थाहा पाउनुपर्छ । प्रिय पाठक, आउनुस् अब डोल्पाली मगरले सुनाउने त्यो कथा पढौं :

वर्तमानको टुप्पातारा क्षेत्रमा मानव बस्ती थिएन, राक्षसहरू मात्रै बस्थे । मानिस त्यहाँ आएर बसे राक्षसले खाइहाल्थे । पछि कतैबाट आएर बसेको एक गोठालेलाई राक्षसले केही पनि गर्न सकेनन् । त्यो गोठालो श्रीमतीसँग भेडा–बाख्रा पाल्दै त्यहीँ बस्न थाल्यो । श्रीमतीचाहिँ खेती–पाती गर्न थालिन् । एकपल्ट गोठालोको एक बाख्री हराएछ । खोजीपस्दा टुप्पातारा क्षेत्र नजिकै फाद्यो झन्ने ढुङ्गे ओढारमुनि निगालोको झ्डाीभित्र बाख्रीले एक सानो बालकलाई दूध खुवाइरहेको भेटिएछ । गोठालोले सोचेछ– राक्षस मार्ने यहि बालक हुनुपर्छ । गोठालेले बालकलाई घर लिएर आएछ र आफ्नै बच्चालाई झैं माया गरेर पालेछ । फाद्योमा भेटिएको हुनाले त्यस बालकको नाम फाद्यो रह्यो । दम्पतीले फाद्योलाई छोरा बनाएर पाले । बिस्तारै

फाद्योले बुवा–आमालाई खेती गर्न सघाउन थालेछ । एकपल्ट बारी खन्न कुटो–कोदालो लिएर फाद्यो माथिको रिक्वा भन्ने ठाउँमा गएछ । र, बारी खन्न थालेछ । वरिपरिबाट थुप्रै राक्षस प्रकट भएछन् र फाद्योको कुटो–कदालो खोसेछन् अनि आफैं बारी खन्न थालेछन् । फाद्यो ढुङ्गामाथि बसेर राक्षसहरूले बारी खनेको हेरिबसेछ । साँझ् परेपछि ती राक्षस त्यहीँ विलुप्त भएछन् । फाद्यो घरतिर फर्केछ ।

भोलिपल्ट फेरि डोकोभरि कुटो–कोदालो लिएर फाद्यो रिक्वातिरै गएछ । हिजोको झैं घटना घटेछ ।

फाद्योले धेरै कुटो–कोदालो किन लग्यो ? चियो गर्न उसकी आमा त्यहीँ पुगिछन् । आमा देखेर राक्षसहरू भाग्न थालेछन् । तत्कालै फाद्योले राक्षसहरूलाई समात्दै मार्न थालेछ– आँखा, मुटु–कलेजो निकालेर घर ल्याएछ । र, टुप्पाताराका सबै राक्षसको मृत्यु भएछ ।

राक्षसहरू सखाप भएकापछि गोठालो दम्पतीले त्यस क्षेत्रमा वंशज विस्तार विचार गरेछन् र फाद्योको विवाह गरिदिने सोचेछन् । तर, दुलही पाइने सम्भावना रहेनछ । फाद्यो भेडा–बाख्रा लिएर माथि युजुकाचौरमा चराउन गएछ । त्यहाँ एउटा दूधको पोखरी र ठूलो ढुङ्गा भेटेछ । केही समयपछि माथि पुताहा–हिमालबाट सात परीहरू उडेर त्यहाँ आएछन् र पोखरीमा नुहाउन थालेछन् । त्यसपछि एकैछिन ढुङ्गामाथि घाम तापेर फेरि माथि पुताहा हिमालतिरै उडेर गएछन् । फाद्योले यो सबै घटना बेलुकी बुवा–आमालाई सुनाएछ ।

बुवा–आमाले फाद्योको विवाह तिनै परीमध्ये एकसँग गरिदिने विचार गरेछन् । उनीहरूले भनेछन्– ‘फेरि भेडा–बाख्रा लिएर त्यहीँ जानू । परीहरू आए भने फर्किने बेला जुत्ताको तुनाले तिनीहरूलाई हान्नु । जसको शरीरमा जुत्ताको तुना पर्छ, तिनी अपवित्र हुन्छिन् र उडेर जान सक्दिनन् । तिनलाई समातेर घरमा ल्याउनू ।’ भोलिपल्ट फाद्योले एउटी परी समातेर घरमा ल्याएछ । उनीहरूले परीलाई खानेकुरा खान दिएछन्, तर तिनले खाइनछिन्, बोल्दा पनि बोलिनछिन् । भूत–प्रेत, वन–देवता केहीले छोयो कि भनेर फाद्योका बुवाले भूत–प्रेत र वन–देवतालाई मनाउन एउटा कुखुराको पोथी चढाई कोहोलुङ पूजा गर्न थालेछन् । कुखुरा चढाएर पूजा गरेको देखेपछि बल्ल परी बोलिछिन्– ‘तैख्यमाज्येवा’ (यो के गरेको ?) तर, फरी बोलेको कसैले बुझ्नेछन् । परीले आफ्नो भाषा अरूलाई पनि सिकाउन थालिछन् । त्यसपछि परी र फाद्योको विवाह भएछ ।

परी र फाद्योले छोरा जन्माएछन् । सन्तान बढ्दै गएछन् । तिनीहरू फछि झाँक्री मगर झएछन् । झाँक्री मगरहरू बढ्दै गएछन् । कुटुम्ब पाउन फेरि समस्या हुन थालेछ । जुम्ला सिन्जाबाट भोटको साइघो (साइकोर) क्षेत्र गई त्यहीँकै स्थानीयसँग घरजम गरी बसेका एक शाही ठकुरी फारिवारिक झ्गडाले आफ्नै ठाउँ (सिन्जा) फर्किने क्रममा टुप्पातारा पुगेर बास बसेछ । कुटुम्बै पाउन समस्या झएका झाँक्री मगरले एउटी चेलीसँग शाही ठकुरीको विवाह गरिदिएछन् । र, केही अंश दिई नजिकै रोकाय भन्ने ठाउँमा बसाएछन् । शाही ठकुरीको सन्तान जन्मिएछन् । ठकुरीका सन्तान फनि झाँक्री मगर नै भएछन् ।

गाउँमा बैठक बसी एउटा निर्णय भएछ– परीबाट जन्मेका सन्तानलाई माप्फा झाँक्री मगर भन्ने र ठकुरीबाट जन्मेका सन्तानलाई तोप्फा झाँक्री मगर भन्ने । अनि एक–अर्काबीच कुटुम्ब चलाउने सर्त राखिएछ । त्यसपछि टुप्पाताराका माप्फा–झाँक्री र तोप्फा–झाँक्री मगरबीच विवाहको चलन चलेछ । माप्फा–झाँक्रीहरूले आफ्नै चेलीका सन्तान तोप्फा झाँक्रीसँग विवाह गर्न थालेकाले त्यसपछि मामा–चेली, फुपू–चेला विवाहलाई मान्यता दिइएछ । यसरी डोल्पा टुप्पाताराका डोल्पाली मगरले मामा–चेली, फुपू–चेला विवाह सुरु गरेका हुन् । पछि यी मगरका सन्तान बढ्दै गए । (यो कथा डोल्पा टुप्पाताराका वीरबहादुर झाँक्री मगर र दिलमान रानामगरले सुनाएका हुन् ।)

आजभोलि टुप्पातारा गाउँमा ९४ परिवार मगर छन् । तीमध्ये ‘परीका सन्तान’ माप्फा–झाँक्री मगरका तीस परिवार छन् । केहीले रानामगर पनि लेख्छन् । तोप्फा झाँक्रीहरूचाहिँ ३१ परिवार छन् । रोकाय, बुढा र केही लामा बुढाहरू पनि छन् । रोकाय र बुढाहरू छिमेकी गाउँबाट घर–ज्वाइँका रूपमा यहाँ आएर बस्न थालेका हुन् । लामा–बुढाहरूचाहिँ पहिले मुस्ताङ थाकखोलाका थकाली हुन् । पछि लामा पुजारी भई डोल्पा टुप्पातारामा बस्न थालेपछि लामा बुढामगर भएका हुन् । अहिले टुप्पातारा गाउँमा ४ परिवार लामा बुढा भेटिन्छन् ।

प्रकाशित : पुस १६, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?