कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दादाजीसँग त्यो झरिलो अपराह्न

नेपाली भाषा, वाङ्मयको पवित्र कमल–पुष्पपत्रका तरेलीमाझ केन्द्रस्थलमा विराजमान छन्– कमलमणि दीक्षित । कमलमणि स्मृति दिवस (पुस १४) को सन्दर्भमा उनको सम्झना:

नाममा के हुन्छ र ? गुलाबको फूललाई जुनै नाम दिए पनि त्यसको सुवास घट्ने होइन । सौन्दर्यमा फरक पर्ने पनि होइन,’ शेक्सपियरको नाटक ‘रोमियो एन्ड जुलिएट’ भित्रको यो संवाद विश्वचर्चित छ । तर, गुलाब भन्ने संज्ञाले स्थापित गरेको आफ्नो रङ र रूप, गुण र स्वभावलाई अरू नामले बोक्न सक्दैन ।

दादाजीसँग त्यो झरिलो अपराह्न

कमलमणि दीक्षित पनि व्यक्तिविशेषको गुण र स्वभावलाई बोक्ने एक नाम हो । नेपाली भाषा, साहित्य र वाङ्मयको एक जाज्वल्यमान मणि । त्यो मणि, जुन नेपाली वाङ्मयको पवित्र कमल पुष्पपत्रका तरेलीमाझ केन्द्रस्थलमा विराजमान छ । जस्तो नाम त्यस्तै काम । र, त्यस्तै कीर्तिमान पनि । कमलमणिको शाब्दिक अर्थ खोज्दै जाँदा उहाँ स्वयंले आफूलाई ‘लोटस ज्वेल’ भन्ने उपनाममा पनि परिचित गराउने चेष्टा गरेका थिए । भारतको बनारसमा अध्ययनरत छँदा त्यस नामबाट आफ्ना लेख–रचना पठाउने गरेको उहाँ स्वयं सुनाउनुहुन्थ्यो । कमलमणि भन्ने नाम जुराउँदा माता–पिताका हृदयमा ‘ॐ मणि पद्मे हुँ’ भन्ने बौद्ध मन्त्रोच्चारण विराजमान थियो होला । मलाई यस्तै लाग्न थालेको छ ।

म विज्ञानको विद्यार्थी । वनस्पतिशास्त्र मेरो विषय । समय र परिस्थितिको डोरामा अल्झिएर कमलमणि दीक्षितजस्तो साहित्यिक हस्तीको समीपमा पुग्ने अवसर मिल्यो । दादाजी एक निपुण साहित्य पारखी हुनुहुन्थ्यो । ललितपुरको श्रीदरबारटोलमा ‘हिमाल’ खबरपत्रिका परिवार तथा मदन पुरस्कार गुठी वा यलमाया केन्द्र जाँदा सबै उहाँलाई ‘दादा’ भनेर सम्बोधन गर्ने भएकाले मैले पनि ‘दादा’ भनेरै साइनो जोड्न थालें । उहाँ मभन्दा आठ वर्षले जेठो हुनुहुन्थ्यो । तर, साहित्य र वाङ्मयको क्षितिजमा जुगान्जुग जेठो ।

दादाजीसँग खीर पार्टी

खीर पार्टी त्यो पनि दादाजीसँग । वरिष्ठ पत्रकार भैरव रिसालले एक बिहान फोनमा सोध्नुभयो, ‘विशेष भेटघाट गर्ने खीर पार्टीमा सदस्य बनेर सम्मिलित हुन इच्छा कि ?’ के पार्टी, कस्तो पार्टी, के गर्नुपर्ने केही थाहा थिएन । भैरव दाइ र दादाजी भएपछि मलाई पुगिहाल्यो । सहर्ष स्वीकारेँ । मेरो कुतूहल बढ्दै थियो । तीन–तीन महिनामा आलोपालो सबैको घरमा जहान परिवारसँग करिब एक, डेढ घण्टा बिताउने पार्टी रहेछ । अरू सदस्यमा प्रगतिवादी नेपाली साहित्यका शिखर व्यक्तित्व श्यामप्रसाद शर्मा हुनुहुँदोरहेछ । पार्टी गर्ने पालो भने झर्रो शैलीमा झर्रो विचारका क्रान्तिकारी युगकवि केवलपुरे किसानको घरमा परेको रहेछ । उहाँ अस्वस्थ भएको थाहा भयो । र, पहिले कमलमणि दादाजीको घरमा भेला हुने कार्यक्रम बन्यो । अनामनगरमा भैरव दाइ र नक्साल हात्तिसारमा श्याम दाइलाई लिएर दादाजीको ठूलो भ्यान सानेपा आइपुग्यैं । हामी तीनजना दादाजीको घर पुग्यौं । खीर खाने बन्दोबस्त त्यहीँ मिलाइएको रहेछ । हाँसो र ठट्टाको माहोल सुरु भयो । अधिक समय दादाजीले बोल्नुभयो । त्यसमा थपथाप गर्ने काममा भैरव दाइ निपुण । श्याम दाइ हाँस्ने मात्रै, त्यो पनि खित्का छुट्ने होइन । दुई दशकभन्दा बढी भूमिगत जीवन बिताएका श्याम दाइको वाम आदर्श र स्वअनुशासनका कुरा कोट्याई कोट्याई पुष्टि हुन थाल्यो । शुद्ध गाईको दूधले बनेको खीरको थाली, बाहुन घरको स्वाद पस्कने आलु अचार र अन्य परिकार सबै रित्तिएलगत्तै केवलपुरे किसान (देवीप्रसाद पौडेल) का घरतिर लाग्यौं । विसं २०६८, साउन ४ गतेको झरिलो अपराह्न थियो त्यो । खुमलटारको ओरालो लागेपछि हात्तिवनबाट पूर्वतिरको मकैबारीको बीचैबीच छिचोलेर केवलपुरे निवास पुग्यौं । कविता हालेर स्वागत गर्नुभयो । पिसाबको थैली र लामो नली झुन्ड्याएर बसेका रहेछन्, तर निकै प्रसन्न मुद्रामा । लामो गफगाफ, तर आफू मुकदर्शक । दादाजीले ल्याउनुभएको खीर ख्वाउनुभयो । कृष्ण र सुदामाको कनिका भोजनलाई सम्झाउने माहोल बन्यो । पौडेल परिवारले पनि भव्य खाजाको तयारी गरेको रहेछ । तर, केवलपुरे किसानको स्वास्थ्य अवस्थाले भने हामी निकै चिन्तित थियौं । मेरो त पहिलो भेट । त्यही भयो मेरो अन्तिम भेट पनि ।

खीर पार्टीको सिलसिलामा कात्तिक महिनामा मेरो घर सानेपामा पार्टी जम्यो । कौसीको घमाइलो घाममा बसेर गफ चुट्ने बन्दोबस्त मिलाएको थिएँ । घाममा गफगाफ गर्दै खीर खान थाल्यौं । त्यसपछि भोगटे साँधेको अमिलो खाने बन्दोबस्त थियो । कात्तिकको पारिलो घाममा जिब्रो पड्काउँदै गफगाफ सुरु भयो । श्याम दाइलाई अमिलो चल्दो रहेनछ । त्यसो त उहाँलाई कौसीसम्म भर्‍याङ चढाएर लैजानु पनि मेरो सही निर्णय थिएन । गफगाफ त राम्रै चल्यो, तर खीर पार्टीमा कहिल्यै राजनीतिक कुरा उठेन वा उठाइएन । छुट्टिने बेला मेरी आमासँग भेट गरायौं । आमा ९८ वर्षको उमेर कटेर ९९ वर्षमा हुनुहुन्थ्यो । सबैलाई आशीर्वाद दिउभयो आमाले । त्यसबेलासम्म आमाको स्मृतिमा पुराना भजन, कीर्तन, गीत तथा उखानटुक्काहरू मुखाग्र थियो । छन्दका ती रचना सुनेर छन्दप्रेमी कमलमणि दीक्षित निकै प्रभावित हुनुभयो । कहिले र कसरी त्यो ज्ञान त्यसबखत एक महिला गृहिणीलाई प्राप्त भयो भन्ने जिज्ञासा उठाउनुभयो । जीवनको उत्तरार्द्धमा पुगेर जीवनप्रतिको आफ्नो मनस्थिति व्यक्त गर्न आमाले अधिक सुनाउने श्लोक यस्तो थियो:

रामजी की मैना, तु राम नाम कहना

यहाँ नहीं तो वहाँ रहना...

छोटासा मैना बडासा पिंजडा

निकल गई मैना, कुछ लेना न देना ।

हाम्रो प्राणपखेरुलाई ईश्वरको मैनाचरी र स्थूल शरीरलाई पिँजडाको रूपमा व्याख्या गर्दै प्राणपखेरु उडेर गएपछि लेनादेना केही बाँकी रहँदैन भन्ने सन्देश त्यसबाट दिने गर्नुहुन्थ्यो आमा । विडम्बना, केवलपुरे किसान त्यही वर्ष स्वर्गीय हुनुभयो । त्यसपछि रामजीको मैनाले श्याम दाइलाई बिदा गर्‍यो र फेरि कमलमणिको पिँजडाबाट पनि मैना उडेर गयो । हाम्रा स्मृतिमा भने उहाँहरू अझै जीवन्त हुनुहुन्छ । दादाजी स्वर्गीय भएपछि हाम्रो खीर पार्टी जम्ने कुरै भएन । खीर पार्टीको सम्झना कोट्याउँदा एउटा अविस्मरणीय क्षणको सन्दर्भ यहाँ जोड्नैपर्छ । विसं २०६९ को भदौमा दादाजीको घरमा पार्टी जमेको थियो । खीर पार्टीमा परिवारजन भेट्ने चलन थियो । हामीले दादाजीका अर्धांगिनी भेट्ने इच्छा गर्‍यौं । उहाँले नकार्नुभएन । भदौको विशेष तेजिलो घाम कोठाभरि छरिएको थियो । देवीजी (अञ्जना पौडेल) ओछ्यानमा निश्चल टोलाएर बस्नुभएको थियो । उज्यालो चहकिलो चेहरा । एक–दुईजना सुसारे थिए । त्यहाँ सुनसान सन्नाटा छाएको थियो । बिदा भएर घर फर्केपछि थाहा पायौं कि देवीजी १०/१२ वर्षदेखि अलजाइमर्स नामक मस्तिष्क रोगबाट पीडित हुनुहुन्थ्यो । अलजाइमर्स रोगले ग्रस्त भएर यत्रो समय जीवनयापन गर्नेहरूमा त्यो विश्वकै कीर्तिमानी अवस्था थियो । ‘केयर गिभर’ भएर त्यो ‘रामजी की मैना’ पाल्ने उहाँका पतिको योगदान पनि अद्वितीय मान्नुपर्ने हुन्छ । तर, परिवारइतरका सामाजिक जीवनमा दादाजीको बानी–व्यहोरा र चेहरामा कहिल्यै त्यस पीडाको आभास भेट्टाएका थिएनौं । उहाँको हँसिलो–रसिलो स्वभावभित्र त्यत्रो पीडा लुकेको रहेछ भन्ने सोही दिन मात्रै चाल पाएँ ।

सम्झनामा ‘गएकाहरू’

मेरा ससुरा शेषराज दली (विसं १९७२–२०७०) को नाममा शताब्दी स्मृति ग्रन्थ तयार गर्ने जिम्मा मेरो भागमा थियो । ग्रन्थका लागि एक स्मृति–लेख लेखिदिन दादाजीलाई अनुरोध गरें । हप्ता दिनपछि उहाँ आफ्नो लेख हातमा लिएर मेरो घर आउनुभयो । म र मेरी श्रीमतीअघि त्यो लेख वाचन गर्नुभयो । कस्तो लाग्यो भनेर शेषराजका छोरीलाई सोध्नुभयो । एकछिन आफूले भेटेको केही रमाइलो गफ पनि सुनाउनुभयो । ‘शेषराज स्मृतिग्रन्थ २०७३’ मा त्यो प्रकाशित भयो । केही महिनापछि उहाँ मेरो घरमा आइपुगेर एउटा सानो पुस्तक उपहार दिनुभयो । शीर्षक थियो– ‘गएकाहरू’ । त्यस पुस्तकमा उहाँले स्व. शेषराज दलीको त्यही लेख समावेश गर्नुभएको रहेछ । प्रकाशित मिति थियो– असोज २०७३ । बीस जना गएकाहरूका माझ ‘देवीजी’ बारे पढ्दा अत्यन्तै भावुक भएँ म पनि । त्यहाँ भनिएको छ, ‘शनैःशनैः यो रोग कसरी बढ्दै गयो त्यो भन्न लाग्यो भने एउटा किताबै बन्छ । अहिलेलाई यत्ति मात्र भनेर अलम् गरूँ ।’ गएकाहरूबारे त्यो पुस्तक असोजमा प्रकाशित गरेर पुसको १४ गते उहाँ आफू पनि गएकाहरूसँग लाग्नुभएछ । विश्वासै लागेन । बिरामी भएको वा अस्पताल भर्ना भएको केही थाहा पाइनँ, तर पछि यति थाहा भयो– अस्पतालको भेन्टिलेटरभित्र प्राणपखेरु त्याग्नु नपरोस् भन्ने इच्छा उहाँले पहिले नै व्यक्त गरिसक्नुभएको रहेछ । कमलमणिको त्यो ‘रामजीको मैना’ उडेर गएको पनि आज ६ वर्ष पुगिसक्यो । स्मृति आइरहन्छ । श्रद्धाञ्जली दिइरहन्छौं । उहाँ ग्रहण गरिरहनुहुन्छ ।

प्रकाशित : पुस ९, २०७९ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?