गैरआख्यानभित्रको आख्यान- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैरआख्यानभित्रको आख्यान

महेशविक्रम शाह

निबन्ध यस्तो विधा हो, जहाँ लेखक आकाशमा विचरण गर्ने चराझैं स्वतन्त्र र सर्वव्यापी हुन्छ । लेखकलाई दिमाग र मनका दुईपाङ्ग्रे रथमा नारिएका कल्पनाका घोडा दौडाउन छुट हुन्छ । अनुभव, अनुभूतिको चास्नीमा शब्दलाई चुर्लुम्म डुबाएर नयाँ स्वाद र मीठासतत्व सृजना गर्नु निबन्धकारको शिल्पगत विज्ञता हो । लेखक केशव दाहालको किताब ‘माधवी ओ माधवी’ कै कुरा गरौं न ! यो किताबमार्फत लेखक आफ्नो वैचारिक यात्रामा पाठकलाई सँगसँगै हिँडाउँछन् ।

किताबका निबन्धलाई तीन भागमा वर्गीकरण गर्नु उपयुक्त हुन्छ– विचार तथा जीवन दर्शन, राजनीति र प्रेम । पहिलो वर्गमा उनका ती निबन्ध पर्छन्, जहाँ उनले विचार र दर्शनको विकास–यात्राको वर्णन गरेका छन् । यी निबन्धमा लेखकले शैशवकालदेखि वयष्क हुँदासम्मको वैचारिक यात्राको सिंहावलोकन गरेका छन् । आफ्नो वैचारिक यात्रामा पाठकलाई सँगै हिँड्न बाध्य पार्छन् । ‘ईश्वरको पतन’, ‘मृत्युको कथा’, ‘पहिलो किताब’, ‘नक्सलबाडीका नक्सलाइटहरू’, ‘मानव वधशाला’, मार्क्सका तीन अवतार’, ‘राजनीतिको र’ र ‘कमरेडको खैरो श्रीपेच’ पढ्दा पाठकले यिनमा आफ्नो वैचारिक यात्राका डोब भेट्न सक्छन् । फरक–फरक अध्यायमा जसरी जीवनको वास्तविक भोगाइ र बुझाइले लेखकको जीवनदर्शन, विचार र भावनामा परिवर्तनका छालहरू उठेको देखिन्छ, ती स्वाभाविक र यथार्थ लाग्छन् । कम्युनिस्ट केशव बदलिँदो समयसँगै कसरी स्वतन्त्र विचारक हुन पुगे ? यो यात्रा रोचक र घोचक छ । ‘मार्क्सका तीन अवतार’ मा उनी लेख्छन्, ‘...कम्युनिस्टहरूले मार्क्सलाई सबैभन्दा धेरै बदनाम गरे... !’ उनको लेखनलाई प्रमाण मान्ने हो भने लेखक विचारमा जडसूत्रवादी लाग्दैनन् । उनको विचारप्रवाह पहाडको उँचो शिखरबाट खसेको झरनाझैं सुललित र संवेगमय छ । भावनामा होस् वा विचारमा, तलाउजस्तो जमेर बस्न चाहँदैनन्, बग्न चाहन्छन्, झर्न चाहन्छन्, पोखिन चाहन्छन् । उनी कतै मिसिन चाहन्छन् चाहे त्यो अर्को नदी होस् वा सागर !

किताबका यी वैचारिक निबन्ध बोधगम्य र सारपूर्ण छन् । भर्खर राजनीतिक विचारले रापिन, बाफिन थालेका युवाका लागि यी निबन्ध शिक्षाप्रद र मार्गदर्शक बन्न सक्छन् । ‘कमरेडको खैरो श्रीपेच’ विचारोत्तेजक निबन्ध हो । आफ्नो कमरेड यात्रा र बिसौनीलाई मार्मिक भावले अभिव्यक्त गरेका छन् उनले । कमरेडप्रतिको लगाव र आसक्तिलाई उनी यसरी प्रकट गर्छन्– ‘अँध्यारोमा लड्न लागेको बेला मेरो हात समाउँदै गोपाल थोप्राले सम्बोधन गरे– कमरेड । म गदगद भएँ । त्यसपछि मलाई कमरेड शब्द विछट्टै मन पर्न थाल्यो । उमेरसँगै कमरेडहरूको गोलोभित्र पसें । लेकमा शीत झरेजस्तै यत्रतत्र कमरेड थिए । त्यसपछि त कवितामा कमरेड, कथामा कमरेड, उपन्यासमा कमरेड । कहिलेकाहीं मनमा प्रश्न आउँथ्यो– यो धरतीमा सर्वप्रथम कमरेड भनेर कसले कसलाई बोलायो होला ?’ कमरेडप्रतिको रुमानी भाव देखाउने लेखक यसै निबन्धको अर्को परिच्छेदमा लेख्छन्, ‘...त्यसपछि झुप्रोका रुमानी सपनाहरूको जगमा उठेको समाजवादमा झुप्रो हरायो, दरबार, सिंहासन र श्रीपेच देखापर्‍यो । श्रीपेच अर्थात् नयाँ बादशाह । सर्वहाराहरू लालघोडामा सवार भई मान्छेको सार्वभौमिकतामाथि कोर्रा चलाउन थाले ।... यसरी सिंहासनमा आरोही कमरेडले श्रमिकको रगतले लतपतिएको मुठी उठाउँदै लालसलाम गर्‍यो र भन्यो– म यो धरतीको सबैभन्दा ठूलो बादशाह हुँ ।’

‘राजनीतिको र’ अर्को बोधगम्य निबन्ध हो । यसमा लेखक आफ्नो राजनीतिक यात्रा र नेपालको राजनीतिको जरैदेखि चिरफार गर्ने प्रयत्न गर्छन् । राजनीतिक व्यक्ति तथा विश्लेषक विचारमा सोझो र सरल देखिनु गौरव गर्नलायक विषय हो । यस निबन्धमा उनी ‘स्वः’ घोषणा गर्छन्, ‘...राजनीतिमा सत्यको खोजी गर्नु मेरो काम हो । तर, म सत्य मात्रै खोजिरहेको छैन । राजनीतिमा सुन्दरता पनि खोजिरहेको छु ।’ राजनीति विचार मात्र होइन, यो व्यबहार पनि हो भन्ने वास्तविकताप्रति सचेत र सजग देखिन्छन् । व्यक्तिगत तथा व्यावसायिक कामले देश–विदेश घुम्दा जानेबुझेका विषयवस्तुलाई टपक्कै टिपेर उनले शब्दहरूको माला उन्ने जमर्को गरेका छन् । ‘मानव वधशाला’ मा उनले पोलपोटको शासनकालमा कम्बोडियामा मारिएका आम नागरिकको करुण–गाथा पस्केका छन् भने ‘नक्सलबाडीका नक्सलाइटहरू’ मा आम भारतीय नागरिकले नक्सलाइटका नाममा भोग्नुपरेको दुःख–पीडालाई उद्घाटित गरेका छन् । ‘मार्क्सका तीन अवतार’ मा कम्युनिस्टहरूले नै मार्क्सको नाम, सिद्धान्त र दर्शनको कसरी व्यापारीकरण गरे भन्ने उल्लेख गरेका छन् । आम नागरिकको हक, अधिकार र कल्याणका लागि कम्युनिस्ट दर्शन बोकेर क्रान्ति गर्नेहरू पछि किन आफैंमा भ्रान्तिको सृजना गर्छन् ? सर्वहाराहरू किन मालिक बन्छन् ? किन जनताका उद्धारकर्ता हत्यारा बन्छन् ? यी निबन्धमा उनले यी प्रश्नको जवाफ पर्गेल्ने प्रयास गरेका छन् । जीवनदर्शन र राजनीतिक विचारमाथि लेखिएका यी निबन्ध कोरा भावुकता र कल्पनाको सृजना नभई लेखकको अनुभव र अन्वेषणको निचोड हो ।

समाज र राजनीतिलाई केन्द्रविन्दुमा राखेर लेखिएका निबन्ध हुन् ‘इबेलाको उडान’, ‘देश अर्थात् प्रश्नहरू’, ‘चिहानबाट’, ‘चार झड्का’, ‘कति टाढा छ अमेरिका ?’, ‘किन रिसाउँछ उल्लु मुसहर ?’, ‘बदनाम बन्द’, ‘चुनावको खेती’, ‘बिहारको बालुवा’ । यिनमा लेखकले देशमा भइरहेको अत्याचार, कुशासन, भ्रष्टता, विभेद र गैरजिम्मेवारिताप्रति चिन्ता–विरोध प्रकट गर्नुका साथै राज्यको शासन प्रणालीमा रजगज गरिरहेका सीमित व्यक्तिको हालीमुहालीप्रति रोष व्यक्त गरेका छन् । राजनीतिक विषयवस्तु र सन्दर्भमाथि लेखिएका निबन्धमार्फत राजनीतिक पार्टीहरूमा देखिएको विचलन, विकृति र गलत पद्धतिमाथि चोटिलो प्रहार गरेका छन् लेखकले । यी निबन्धमा देशप्रतिको लगाव, प्रेम र जिम्मेवारी बोधलाई महसुस गर्न सकिन्छ । लेखकले देशप्रतिको चिन्ता र चासोलाई सम्बोधन गर्ने प्रयास गरेका छन् । जनताले पीरमर्का र दुःखको बिसौनी ठानेका नेता व्यक्तिगत, समूहगत र पार्टीगत स्वार्थमा चुर्लुम्म डुबेर देश–जनताप्रतिको अहम् दायित्वबाट विमुख भइरहेको वर्तमान समयलाई अनुभूत गराउन सफल छन् लेखक । ‘इबेलाको उडान’ मा उनी किर्गिस्तानमा भइरहेको राष्ट्रपतिको निर्वाचनमा इबेलाले भोट दिन चाहेका दुई उम्मेदवारबारे इबेलालाई सोध्छन्, ‘तिनीहरूको राजनीतिक विचार के हो ? ‘उनीहरूले विकासको कुरा गरेका छन् ।’ इबेला जवाफ दिन्छे । ‘उनीहरूको दर्शन के हो ?’ ‘सायद उनीहरूका लागि विकास नै दर्शन हो ।’ इबेला झन् मुखरित हुन्छे । ‘त्यसो भए के किर्गिस्तानमा मार्क्सवादी, लेनिनवादीहरू छैनन् ?’ ‘मैले त्यस्ता मान्छे कम्तीमा इसाकुलमा देखेकी छैन ।’ ‘कस्तो अनौठो कुरा ! लेनिनकै पूर्वसोभियत भूमिमा लेनिन छैनन् । किर्गिस्तानमा मनग्गे भोड्का छन् । भेडा छन् । घोडा छन् । तर, लेनिन छैनन् । गोठ छ, तर गोठमा वर्गसंघर्ष होइन, प्रेमका कथा पढिन्छ । के किर्गिस्तान फेरिएकै हो त ?’ इबेलाले अत्यन्तै सरल उत्तर दिई, ‘हो नि फेरिनै त पर्छ ।’

किर्गिस्तानकी इबेलासँगको संवादमार्फत लेखक छ्याङ्ग भएको नीलो आकाशझैं खुलेका छन् । मान्छेको सरल र समुन्नत जीवनका लागि राजनीतिक विचार नै सर्वोत्तम होइन, विचार छ, तर त्यो विचारले मानव विकासमा अवरोध सृजना गर्छ, प्रेममा तगारो हाल्छ र मान्छेका जिजीविषालाई तुच्छ ठान्छ भने किर्गिस्तानमा मार्क्स र लेनिनवादको अवसान भएझैं जुनसुकै विचारको पनि अवसान अवश्यम्भावी छ भन्ने लेखकको अभिमत छ । यस निबन्धमा प्रतीकात्मक रूपमा उनी नेपालमा सबै व्यक्ति, वर्ग र समुदायमा जरो गाडेको फोस्रो र गतिहीन राजनीतिमाथि कटाक्ष गर्छन् । दिनप्रतिदिन ‘बद् से बदतर’ भइरहेको नेपालको राजनीतिको नियति पनि एकदिन किर्गिस्तानको घोडाभन्दा पनि बेकाम्मे हुने सम्भावनाप्रति खबरदारी गर्छन् ।

‘देश अर्थात् प्रश्नहरू’ जीवन्त र मार्मिक निबन्ध हो । उनी आफैंलाई प्रश्न गर्छन् ‘देश भनेको के हो ? त्यो उमेरमा हाम्रा लागि देश भनेको खेत थियो । हाम्रा गाईबस्तु चर्ने खर्क थियो । गाउँको बीचमा उभिएको बरको रूख, मन्दिर र हामी पढ्ने स्कुल थियो । त्योभन्दा बढी आयतनको देश हाम्रा लागि गुरुले नक्सामा देखाउने किरिङमिरिङ चित्र थियो । एक दिन हाम्रो स्कुलमा नयाँ मान्छे देखा परे । तीनले गीत गाउँदै सुनाए– मेरो देश खोज्दै जाँदा देश मैले भेटें, जनता नै देश रैछ देश मैले देखें ।’ जुन देशका नागरिक सुख–शान्तिको खोजीमा देश छोडेर भारतमा भासिनुपर्छ, त्यहाँनिर देश कहाँ छ ? जनआन्दोलन भयो, क्रान्ति भयो, एक दशकसम्म सशस्त्र युद्ध भयो । देशमा नयाँ संविधान आयो । तर, त्यो सबै माछीमाछी भ्यागुतो भयो– भुइँमान्छेका लागि ! देश भनेको जनता हो भनेर बुझेका लेखक जब देशको परिचयलाई शासकले परिचय बनाएको, कुनै अमुक पार्टीको झन्डामा देशलाई गाँठो पारेको, देशको परिचय ढुंगा भएको र नेताले मागी खाने भाँडो भएको देख्छन् तब उनी आक्रोशित भएर प्रश्न गर्छन् ‘आँखिर देश भनेको के हो ?’ लेखक शान्त–भावुक भएर उत्तर दिन अग्रसर हुन्छन्, ‘देश करोडौं मान्छेको मनको कविता हो ।’

किताबमा प्रस्तुत अर्को पाटो हो– प्रेम ! राजनीतिक विचार र सिद्धान्त पनि प्रेमशून्य हुन सक्दैन भन्ने विचारका पक्षपाती हुन् उनी । जुन विचारक प्रेम बुझ्दैन उसले सर्वहाराको प्रेम अनुभूत गर्दैन । जुन नेता प्रेमको कुरा गर्न जान्दैन त्यसले नागरिकका सुख–दुःखका कुरा गर्न जान्दैन । र, जुन लेखकको सृजनामा प्रेम हुँदैन, त्यो सृजनामा जीवन हुँदैन । ‘माधवी ओ माधवी’ मा भरपूर प्रेम छ । तर, प्रेमको उद्गार फरकफरक छ । मार्क्सलाई आफूले प्रेम गर्न सुरु गरेको घटना जीवनकै ठूलो घटना ठान्छन् उनी । आमा बितेपछि एक जनाले लेखकलाई भन्यो, ‘खोई आमा ? आमा त आकाशमा हराइन् ।’ लेखकले जवाफ दिए, ‘आमा आकाशमा हराएकी छैनन् । आमा त स्वयं आकाश भइन् ।’ उनको प्रेमको परिधि यति उन्नत र फराकिलो छ । ‘राधे राधे’, ‘सुन्दर मन’, ‘बादलमाथिको देशमा’, ‘प्यारी जलजला’ र ‘माधवी ओ माधवी’ निबन्धमा उनी प्रेमिल मनका साथ प्रकट भएका छन् । व्यक्ति–व्यक्तिबीचको प्रेम, व्यक्ति–समाजबीचको प्रेम, एक समाज–अर्को समाजबीचको प्रेम र सद्भावले व्यक्ति–समाजको प्रगति, परिवर्तन र गतिशीलतालाई कसरी अभिप्रेरित गर्न सक्छ ? यी निबन्धमा जीवनको भोगाइलाई शोधपत्रका रूपमा प्रस्तुत गरिएको छ । किताबको शीर्षक निबन्ध ‘माधवी ओ माधवी’ मा लेखकले महाभारतको एक कथाकी पात्र माधवीलाई प्रेमिकाको रूपमा कल्पना गरेका छन् । माधवीको फरक कथा बुनिएको छ । लेखक, जो यहाँ माधवीको प्रेमी बनेका छन्, माधवीलाई साधनजस्तो भोग्या ठान्ने गालवप्रति रोष छ । राजाहरूबाट श्यामकर्णी घोडा प्राप्त गर्न तिनकी भोग्या बन्नुपर्ने नियतिबाट ग्रसित माधवीको उन्मुक्तिका लागि प्रेमी लेखक विद्रोह गर्छन् । पौराणिक ग्रन्थमा वर्णित कथामा सहज र स्वाभाविक अर्थमा प्रस्तुत गरिएको नारी विभेद र नारीप्रति हुने अत्याचारलाई सम्बोधन गर्न लेखकले पौराणिक कथाको संरचना, दृष्टिविन्दु र पात्र विधानलाई कुल्चिँदै नारी अधिकार र अस्मिताको रक्षार्थ नयाँ कथाको खाका कोरेका छन् । यस अर्थमा उनले माधवीको कथालाई नयाँ सोच र दृष्टिबाट पर्गेल्नुपर्ने आवश्यकता बोध गराएका छन् ।

किताब पब्लिसर्सबाट प्रकाशित ‘माधवी ओ माधवी’ एक गहकिलो निबन्ध–किताब हो, जसमा समाविष्ट २३ वटै निबन्धले पाठकलाई आफूले पनि सोचेजस्तो, अपनाएजस्तो, भोगेजस्तो, बेहोरेजस्तो र प्रेम गरेजस्तो अनुभूति दिलाउँछन् । लेखकको सोचाइ उनकै मात्र सोचजस्तो लाग्दैन । लेखकको भोगाइ उनकै मात्र एक्लो भोगाइजस्तो लाग्दैन । उनले गरेको प्रेम उनैले मात्र गरेजस्तो लाग्दैन । यो मेरो पनि सोचाइ, भोगाइ र प्रेम होजस्तो लाग्छ । निजी विचार, भोगाइ र प्रेमलाई सर्वव्यापक र सर्वकालीन बनाउन सक्नु नै लेखकको सफलता हो भन्ने म ठान्छु म । यस अर्थमा लेखकले ‘माधवी ओ माधवी’ बाट सशक्त उपस्थिति दर्साएका छन् ।

प्रकाशित : पुस ९, २०७९ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

गैरकम्युनिस्ट

ठूला कमरेडले गोलघरमा बिताएका दिनहरू स्मरण गर्‍यो । उसको हात र खुट्टामा हतकडी र नेल ठोकिएको थियो । तर, कसैले उसको विचारलाई हतकडी लगाउन सकेन । उसका परिवर्तनका पाइलाहरूमा नेल ठोक्न सकेन । दृढ विचार र इच्छा शक्तिले नै एक दिन ऊ नेल मुक्त भयो, जेल मुक्त भयो ।
महेशविक्रम शाह

म कथालाई अभिव्यक्तिको सरल, सुन्दर, सुरुचिपूर्ण, सुललित, संवेगात्मक र स्वाभाविक माध्यम मान्छु । साहित्यका अन्य विधाभन्दा आख्यान त्यो विधा हो, जुन मान्छेको मस्तिष्कभन्दा हृदयसँग नजिक हुन्छ । मैले लेखनको सुरुवाती अवस्थामा कविता लेखेँ, तर जीवनको प्रारम्भिक चरणमा कथा सुनेँ । बाआमा र हजुरआमाले कथेका कथा सुन्दै म हुर्कें । मेरो बाल मस्तिष्कमा कल्पनाशीलता जगाउने काम कथाले नै गरेको हो । कथाले नै मेरो मनमा सृजनाको मुना टुसाएको हो । कविता र गीतको प्रस्फुटन काव्यात्मक होला, तर त्यसले भन्न खोजेको पनि ‘कथा’ नै हो । सृजनाको पहिलो झिल्को कथाका रूपमा नै मानव मस्तिष्कमा उदय हुन्छ र त्यसपछि साहित्यका भिन्न स्वरूपमा परिणत हुन्छ । कथा प्रस्तुतिको विषय, शिल्प र शैली जस्तोसुकै भए पनि मानवीय संवेदनालाई स्पर्श गर्न सक्ने कथा नै सफल कथा हो भन्ने म ठान्छु ।

– कथाकार

...

कमरेडहरूको एक झुन्ड सिनेमाघरमा प्रवेश गर्‍यो । अघिअघि ठूला कमरेड र पछि साना कमरेडहरूको लस्कर । सिनेमाघरमा छिर्न थालेका आम दर्शकहरू आतंकित हुँदै कमरेडहरूलाई बाटो छोडेर छेउ लागे । ठूला कमरेडको सामुन्ने पर्नेहरूले कम्मर झुकाउँदै अभिवादन गरे । ठूला कमरेडले मुसुमुसु हाँस्दै अभिवादन फर्कायो । ठूला कमरेडको स्वागतमा लाम लागेका मान्छेहरूको ताँती देखेर सहकर्मी कमरेडहरूको फुर्ती झन् दुगुना भयो ।

‘हाम्रा कमरेड नेताज्यूले पाएको मान हामीले सम्पन्न गरेको सशस्त्र संघर्षप्रति जनताको अनुमोदन हो । होइन त कमरेड रु’ ठूला कमरेडको डायरी बोकेर पछिपछि हिँडिरहेको फुच्चे कमरेडले आफ्नो पावरदार चस्मा मिलाउँदै भन्यो । ठूला कमरेडले ङिच्च हाँस्दै शिर हल्लायो ।

सिनेमाहल दर्शकहरूले खचाखच भरिएको थियो । सबै जना ठूला कमरेडको आगमनको प्रतीक्षामा थिए । ठूला कमरेडले उद्घाटन गर्ने भएर होला वाम झुकाव राख्ने अभिनेता, अभिनेत्री, साहित्यकार, कलाकार, निर्देशक र सरकारी तथा गैरसरकारी संस्थाका हाकिमहरूको पनि उपस्थिति थियो ।

ठूला कमरेड र साथमा आएका वरिष्ठ कमरेडहरूलाई विशेष आसनमा आसनारूढ गराइयो । ठूला कमरेडले नयाँ चलचित्रको उद्घाटन गर्‍यो । चलचित्रको नाम थियो– ‘गैरकम्युनिस्ट’ । ठूला कमरेडले उद्घाटन गर्दै सोच्यो, ‘सिनेमाको विषयवस्तु राम्रै छानेका रैछन् । कम्युनिस्टमाथि घात गर्ने गैरकम्युनिस्टहरूको पर्दाफास हुने भो ।’

ठूला कमरेडको उद्घाटन सम्वोधन सुरु भयो, ‘हाम्रो देश गैरकम्युनिस्टका कारण बरबाद हुँदै छ । कम्युनिस्टभन्दा गैरकम्युनिस्ट बढेको बढ्यै छन् । कम्युनिस्टले संघर्ष गरी ल्याएको यस गणतान्त्रिक व्यवस्थामा अझै प्रतिगमनको खतरा ज्युँका त्युँ छ । तसर्थ गैरकम्युनिस्टहरूको भण्डाफोर गरौं ।’ ठूला कमरेडले हात उज्याएर उद्घोष गर्‍यो । सिनेमाहल तालीको गडगडाहटले गुञ्जायमान भयो । दर्शकको तालीमा बोली मिसाउँदै ठूला कमरेडले फेरि भन्यो, ‘देशको शान्ति र समृद्धिका लागि हरेक नागरिकमा कम्युनिस्ट चरित्रको निर्माण गर्नु हाम्रो परम कर्तव्य हो ।’ ठूला कमरेड एकछिन रोकियो । पुनस् बोल्न थाल्यो, ‘त्यसैले त म भन्छु स् म कम्युनिस्ट, तपाईं कम्युनिस्ट, हामी कम्युनिस्ट, यो देशै कम्युनिस्ट !!’ ठूला कमरेडले जोस्सिएर दुवै हात माथि उचाल्यो । ठूला कमरेडको आह्वानलाई शिरोपर गर्दै अन्य कमरेडहरूले लगभग एकै लयमा दुवै हात उचालेर ठूला कमरेडको वाक्य दोहोर्‍याए । सिनेमाहल फेरि तालीको गडगडाहटले रन्कियो ।

चलचित्रको प्रदर्शन सुरु भयो । पर्दामा चलचित्रका दृश्यहरू प्रकट हुन थाले । ठूला कमरेड अभिरुचिपूर्वक सिनेमा हेर्न थाल्यो । चलचित्रमा नायकको दुस्खान्त र संघर्षपूर्ण बाल्यकालका दृश्यहरू देखाइँदै थियो ।

‘म पनि गरिब किसानको छोरो थिएँ । मेरा मातापितालाई दिनभर मजदुरी गरेर पनि दुई छाकको गर्जो टार्न हम्मे हुन्थ्यो । भोको पेटमा मैले कैयौं रातहरू गुजारेको थिएँ । मेरो शरीरमा कहिलेकाहीँ एकसरो लुगा पनि हुँदैन थियो । म नांगोभुतुंगो गाउँ डुल्थें । गाउँका भुराभुरीहरू मलाई जिस्क्याउँदै लखेट्थे ।’ ठूला कमरेडले पुलुक्क आफ्ना सहकर्मी कमरेडहरूलाई हेर्‍यो । र, फेरि बोल्न थाल्यो, ‘दुस्खमा हुर्के पनि म पढाइमा मिहिनेती थिएँ । स्कुल र कलेजमै मैले माक्र्स, एंगेल्स र माओका ठेलीका ठेली पुस्तक पढें । ती पुस्तकले नै मलाई जीवनको सही मार्ग पहिल्याउन प्रेरणा दिए ।’ ठूला कमरेडको स्वर द्रवित भयो । आफ्ना ठूला कमरेडको संघर्षशील विगत सुनेर उपस्थित सबै कमरेडहरूको मन पनि भावुक बनिरहेको थियो ।

‘त्यसैले त हजुर आज यति ठूलो नेता भइस्यो नि ! एक महान् कम्युनिस्ट नेता ! हामी सबैका नेता ! हामी सबैका सर्वेसर्वा !!’ फुच्चे कमरेडले स्वरलाई सकेसम्म सुमधुर बनाउँदै आफूले जानेसम्मका आदरार्थी शब्दहरूको प्रयोग गरेर ठूला कमरेडको प्रशंसा गर्‍यो ।

ठूला कमरेडको अनुहारमा स्मित मुस्कान फैलियो । उसले फुच्चे कमरेडतिर हेर्दै शिर हल्लायो । यसको मतलब हुन्थ्यो, उसलाई उसको कुरो मन परिरहेको छ ।

चलचित्रका दृश्यहरू फेरिँदै थिए । नयाँ दृश्यमा नायकको बाल्यकाल देखाइँदै थियो । चलचित्रको नायक सानै उमेरदेखि नै निडर स्वभावको थियो । सितिमिति कसैसँग नदब्ने । ढुंगाले हानेर आफ्नी आमालाई गाली गर्ने पसलेको टाउको फोडेको थियो उसले ।

‘बच्चामा हाम्रो कमरेड पनि यस्तै हक्की स्वभावको होइसिन्थ्यो रे ! मैले कमरेडको बायोग्राफी पढेर थाहा पाएको,’ ठूला कमरेडको बायाँपट्टिको सिटमा बसिरहेको होचो कदको, मोटो जीउडाल भएको कमरेडले पछाडि फर्केर अरू कमरेडहरूलाई सुनायो ।

‘केको हक्की नि ! क्रान्तिकारी भन्नु नि । हुने बिरुवाको चिल्लो पात भनेको यसैलाई भन्छन् क्या !’ पछाडिपट्टिको सिटमा बसिरहेको फ्रेन्चकट दाह्रीवाल कमरेड चहकिँदै बोल्यो ।

आफ्नाबारेमा सहकर्मी कमरेडहरूबीच सवाल–जवाफ चलिरहेको देखेर ठूला कमरेड मुस्कुरायो । आफ्ना कमरेडहरूको माया र आत्मीयताले ऊ भावविभोर भयो ।

दर्शकदीर्घाबाट आएको तालीको गडहडाहटले उसको ध्यान भंग भयो । उसले हेर्‍यो– अघिको बालनायक अहिले युवा बनिसकेको छ । नायकको एक हातमा हँसिया र अर्को हातमा हथौडा छ । उसको पछि हजारौं नरनारीहरूको जुलुस छ । सबैका हातमा जलिरहेको मसाल छ । जुलुसले नारा लगाइरहेको छ ।

‘क्रूर तानाशाही व्यवस्था मुर्दावाद !’

‘लोकतन्त्र जिन्दावाद !’

‘गणतन्त्र जिन्दावाद !’

चलचित्रका दृश्यहरू उसलाई रोचक लागिरहेका थिए । सिनेमाका दृश्यहरू र उसले आफ्नो जीवनमा भोगेका घटनाहरू समान थिए । उसलाई अचम्म लागिरहेको थियो, यो चलचित्रको नाम किन ‘गैरकम्युनिस्ट’ राखिएको होला रु एउटा कम्युनिस्टले आफ्नो जीवनमा जति हन्डर खाएको हुन्छ, चलचित्रको नायकले पनि उस्तैउस्तै दुस्ख, पीडा र अत्याचार झेलिरहेको छ । आफ्नो समाज र देशका लागि संघर्ष गरिरहेको नायक कसरी गैरकम्युनिस्ट हुन सक्छ रु उसको मनमा यस्तै भावहरू तरंगित भइरहेका थिए ।

‘हाम्रा सर्वोच्च कमरेडको हातमा पनि धारिलो हँसिया र हथौडा थियो । हामी कमरेडको पछिपछि लामबद्ध हुँदै परिवर्तनको गीत गाउँथ्यौ । त्यो समय हाम्रो सपनाको समय थियो । हामी सपना देख्थ्यौं र हाम्रा कमरेडले हाम्रा सपनाहरूमा जीवन भर्थे,’ ठूला कमरेडको सबैभन्दा नजिक दायाँपट्टि बसिरहेको फुच्चे कमरेडले ठूला कमरेडतिर हेर्दै आफ्नो भावना पोख्यो । उसको दिमागमा संघर्षका दिनहरू सलबलाइरहेका थिए । चलचित्रका दृश्यहरूबाट ऊ उद्वेलित बनिरहेको थियो ।

‘हो कमरेड, त्यो समय हाम्रो स्वर्णिम समय थियो । त्यो समयले हामीलाई आँखा खुला राखेर नै सपना देख्न सिकाएको थियो । हामीले देखेको सपना परिवर्तनको सपना थियो । सैयौं वर्षदेखि पुरातन मूल्य र मान्यताको सिक्रीमा जकडिएको समाजलाई उन्मुक्ति दिने सपना थियो । हामीले सपना देख्यौं । अरूलाई पनि सपना देख्न लगायौं । त्यही सपनाको बुई चढेर आज हामीहरू यो ठाउँमा आइपुग्यौं,’ ठूला कमरेड भावुक बन्यो ।

‘हाम्रा सपना र चलचित्रको नायकले देखिरहेको सपना समान छ त कमरेड रु,’ फुच्चे कमरेडले जिज्ञासा राख्यो ।

‘यही त मलाई पनि अचम्म लागिरहेको छ कमरेड । यो चलचित्रको नाम किन ‘गैरकम्युनिस्ट’ राखियो रु ‘कम्युनिस्ट’ हुनुपर्ने हो !,’ ठूला कमरेड सोचमग्न भयो ।

‘यो चलचित्रको नाम फेर्न लगाउने हो कि कमरेड रु,’ फुच्चे कमरेडले ठूला कमरेडबाट आदेशको अपेक्षा गर्दै बोल्यो । उसले कर्के आँखाले ठूला कमरेडतिर हेर्‍यो । ठूला कमरेडको ध्यान चलचित्रतिर थियो । फुच्चे कमरेड पनि एकसुरले चलचित्र हेर्न थाल्यो । चलचित्रको कथा तीव्र गतिमा अघि बढ्दै थियो । कमरेडहरू कुराकानीमा व्यस्त भएका बेला धेरै दृश्यहरू फेरिईसकेका थिए ।

चलचित्रको नायकलाई राजद्रोहको अभियोगमा जेलमा थुनिसकिएको थियो । नायकको हातमा हतकडी र खुट्टामा नेल ठोकिएको थियो । उसलाई जेलभित्रको पनि छुट्टै जेल ‘गोलघर’ मा राखिएको थियो । गोलघरको भुइँमा किताबै किताब असरल्ल थिए । हतकडीमा जकडिएका हातमा एउटा मोटो किताब थियो । ऊ किताबमा घोत्लिरहेको थियो र सुस्तरी बोलिरहेको थियो, ‘मान्छेको शरीर बन्धक भए पनि विचार बन्धक हुँदैन । मान्छेको विपना कैद भए पनि सपना कैद हुँदैन ।’

सिनेमाहलमा तालीको पर्रा छुट्यो ।

‘वाह।।। क्या डायलग बोल्यो ! गज्जब डायलग बोल्यो ! हाम्रा नेताहरूले बोल्ने डायलग बोल्यो । मज्जा आयो,’ एक कुनाबाट आवाज आयो ।

ठूला कमरेडले टाउको घुमाएर आवाज आएको दिशातिर हेर्‍यो । अँध्यारोमा उसले मान्छे ठम्याउन सकेन । दर्शकहरू सिनेमामा देखाइरहेका दृश्यहरूको मजा लिइरहेका थिए ।

‘यिनीहरूलाई के थाहा कि यी दृश्यहरू सजीव हुन्,’ ठूला कमरेड आफैंसँग बोल्यो । उसले गोलघरमा बिताएका दिनहरू स्मरण गर्‍यो । उसको हात र खुट्टामा पनि त हतकडी र नेल ठोकिएको थियो । तर, कसैले उसको विचारलाई हतकडी लगाउन सकेन । उसका परिवर्तनका पाइलाहरूमा नेल ठोक्न सकेन । दृढ विचार र इच्छा शक्तिले नै एक दिन ऊ नेलमुक्त भयो, जेलमुक्त भयो ।

‘कमरेड तपाईं जेलमा हुँदा म कलेजमा पढ्थें । त्यसबेलादेखि नै हजुर मेरो आदर्श नेता ! एक सच्चा कम्युनिस्ट !! म त हजुरको तस्बिर सिरानीमा राखेर सुत्ने गर्थें । हजुरको मुक्तिका लागि हामी सधैं जुलुस निकाल्थ्यौं । कति दिन त मैले पुलिसको कालकोठरीमा बिताएँ । अहिले ती दिनहरू सम्झँदा पनि गौरव लाग्छ कमरेड,’ फुच्चे कमरेड चलचित्रको दृश्य हेर्दै द्रवित भयो । ऊ आफ्नो पावरदार चस्माभित्र रुमालले आँसु पुछ्दै थियो । ठूला कमरेडले फुच्चे कमरेडको काँधमा हात राख्दै थपथपायो । उसले मायालु नजरले फुच्चे कमरेडलाई हेर्दै भन्यो, ‘तपाईंजस्ता कर्तव्यनिष्ठ र समर्पित कमरेड नभएको भए यति सजिलै यी दिनहरू कहाँ देख्न पाइन्थ्यो र कमरेड !’

‘मेरा लागि यो देशभन्दा मेरो पार्टी ठूलो हो । यो पार्टीभन्दा मेरो आदर्श, मेरो सर्वोच्च कमरेड ठूलो हो !,’ फुच्चे कमरेड भक्कानियो । उसले शिर झुकाएर ठूला कमरेडप्रतिको आफ्नो आस्था र वफादारिता पुष्टि गर्ने प्रयास गर्‍यो । फुच्चे कमरेडको आफूप्रतिको समर्पण देखेर ठूला कमरेड गद्गद् भयो ।

‘गैरकम्युनिस्ट’ चलचित्रमा नयाँ मोड देखिएको थियो । ठूला कमरेड र फुच्चे कमरेडहरूले संघर्ष र सपनाका कुराहरू गर्दागर्दै चलचित्रको नायकले पर्दामा उँचो छलाङ मारिसकेको थियो । अघिका दृश्यहरूमा कारागारभित्रको गोलघरमा हतकडी र नेलमा जकडिएको नायक अहिले सडकमा थियो । ऊ जुलुसको नेतृत्व गरिरहेको थियो । जुलुसमा सामेल दीनहीन, गरिब र शोषित, पीडित नागरिकहरूको ऊ नायक थियो, मसिहा थियो । चलचित्रको नायकका आँखामा तिनका सपनाहरू तैरिरहेका थिए । नायक जब गर्जन् गथ्र्यो तिनीहरूलाई लाग्थ्यो, तिनीहरूको डर भागेको छ र विश्वास जागेको छ । ऊ हाँस्दा तिनीहरू सोच्थे– तिनका मृतप्रायस् आशाहरू पुनर्जीवित भएका छन् । अब तीनको जीवनले काँचुली फेर्नेछ । सैयौं वर्षदेखि कठ्याङ्ग्रिएको चिसो जीवनमा पहारिलो घाम लाग्नेछ ।

‘हाम्रो कमरेड हाम्रो देश,

प्राणभन्दा प्यारो छ !’

जनआन्दोलनका लागि उर्लेको मानव सागरले नायकलाई काँधमा चढाउँदै गगनभेदी नारा लगायो ।

चलचित्रमा घन्किरहेको नारा सुन्दै आफ्नो आसनमा अप्ठ्यारो मान्दै चलमलायो ठूला कमरेड । चलचित्रको भावपूर्ण दृश्य हेरेर उसको अनुहार भावहीन भयो । चलचित्रमा घन्किरहेका नागरिकका जोसिला र ओजपूर्ण आवाज सुनेर ऊ उदास र शिथिल भयो । त्यो दृश्य हेरिरहन उसको मनले मानेन । उसले आफ्ना आँखा चिम्ल्यो । उसले चाहँदा नचाहँदै पनि पटकैपिच्छे त्यो दृश्य उसको आँखाअगाडि आइरह्यो । उसले हडबडाउँदै आफ्ना आँखा खोल्यो ।

‘कमरेड यो सिनेमाको नायक त ठ्याक्कै हजुरजस्तै छ त !,’ फुच्चे कमरेडले हर्षित हुँदै भन्यो ।

‘हो नि, सप्पै कुरा काटीकुटी मिल्छ भन्या,’ मोटो जीउडालको कमरेडले आफ्नो धारणा राख्यो ।

‘तर, यो सिनेमाको नाम किन ‘गैरकम्युनिस्ट’ राखियो रु कथा देखाउने हाम्रो कमरेडको, नाम राख्ने गैरकम्युनिस्ट रु मिल्दै मिलेन नि,’ फुच्चे कमरेडले आफ्नो चिन्ता जतायो ।

कुनै गहिरो सोचमा डुबिरहेको ठूला कमरेड प्रतिक्रियाविहीन थियो । तिनका कुरा सुनेर पनि ऊ केही बोलिरहेको थिएन । वास्तवमा उसको दिमागमा जनआन्दोलनको दृश्य दोहोरिइरहेको थियो । उसलाई जनआन्दोलनका आन्दोलनकारीहरूले नायक बनाएर काँधमा चढाएको दृश्य याद आइरहेको थियो । ऊ छटपटिन थाल्यो । उसलाई औडाहा भयो । ‘कहाँबाट कहाँ पुगें म रु यो भयो कसरी रु,’ उसको अन्तरआत्मा बोल्यो । तर, एकै छिनमा उसले आफूलाई सम्हाल्यो । उसले आफ्नो मन दह्रो बनायो । भावुकतालाई कठोरताले कुल्च्यो । उसको दिमागबाट जनआन्दोलनको दृश्य लुप्त भयो । ऊ फेरि ठूला कमरेडको स्वरूपमा अवतरित भयो । ऊ खिस्स हाँस्यो । ‘कम्युनिस्टको मन कोमल र संवेदनशील होइन कठोर र गतिशील हुनुपर्छ । बुझ्यौ कमरेड रु,’ उसले फुच्चे कमरेडतिर हेर्दै भन्यो । फुच्चे कमरेडले नबुझीकनै टाउको हल्लायो र भन्यो, ‘म पनि त्यै सोचिराथें कमरेड !’

चलचित्रको कथा आफ्नै लयमा अघि बढिरहेको थियो । चलचित्रका दृश्यहरूमा तीव्र परिवर्तन आइरहेको थियो । जनआन्दोलनमा आफ्नो काँधमा चढाउने जनताले नायकलाई देशकै नायक बनाइदिएका थिए । नायक देशको सर्वोच्च कुर्सीमा आसनारूढ भएको थियो । सत्ताशीन नायकको शरीरको ढाँचा र रूप फेरिएको थियो । ऊ आलिसान महलमा रहन थालेको थियो । उसको जीउ खाइलाग्दो भएको थियो । पुट्ट भुँडी निस्केको थियो । पहिलेको चाउरिएको र कान्तिहीन अनुहार रातोपिरो देखिएको थियो । चलचित्रको ठूलो पर्दामा दौरा, सुरुवाल, कोट र टोपीमा सजिएको, दुई हात जोडेर उभिएको क्रान्तिको नायक बेग्लै स्वरूपमा प्रकट भएको थियो ।

‘बल्ल देखापर्‍यो गैरकम्युनिस्ट !’ दर्शकदीर्घाबाट एकजना बोल्यो ।

‘बिग्रको कम्युनिस्ट !,’ अर्को बोल्यो ।

त्यसपछि लामो हाँसो गुन्जियो ।

कमरेड, जो चलचित्रमा देखाइरहेको दृश्यलाई गम्भीर भएर हेर्दै थियो, आफू बसेको आसनमा चलमलायो । उसलाई किन हो किन यो दृश्य हेर्दा असजिलो महसुस भयो । उसले अँध्यारोमा नै दायाँ हातले आफ्नो अनुहार छाम्यो । त्यसपछि उसले निधार र गाला छाम्यो । पुक्क उक्सेका चिल्ला गालाहरू उसको सुख र समृद्धिका प्रतीक थिए । उसले आफ्नो हात बिस्तारै पेटतिर बढायो । पुट्ट उक्सेको छ भुँडी । भुँडीको चाप थेग्न नसकेर कमिजका दुई टाँकहरू खुलेका थिए । उसले हतपत दायाँ–बायाँ हेर्दै कमिजको टाँक लगायो ।

‘यस सिनेमाको गैरकम्युनिस्ट नायक कसरी मेरो वास्तविक जीवनसँग मेल खाइरहेको छ रु,’ कमरेडले आफैंसँग प्रश्न गर्‍यो ।

‘यो पर्दाको नायक गैरकम्युनिस्टबाट कम्युनिस्ट बनेको हो वा म कम्युनिस्टबाट गैरकम्युनिस्ट भइरहेको हुँ रु,’ कमरेडले कुर्चीमा टाउको अड्याउँदै आँखा बन्द गर्‍यो र सोचमग्न भयो ।

चलचित्रको नायक बैठक–कक्षमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरूसँग गम्भीर वार्तामा व्यस्त थियो । कमरेड बसेको सोफामा कुम जोरेर कालो सूचीमा परेको एक नामूद ठेकेदार बसेको थियो । बायाँतिरको सोफामा बसेको व्यक्ति राजधानीको कुख्यात डन थियो । उसले भर्खरै कमरेडको पार्टीमा प्रवेश गरेको थियो । अगाडिपट्टिको सोफामा एकातिर रियल स्टेट र हाउजिङको मालिक बसेको थियो भने अर्कातिर म्यानपावर सञ्चालक थियो । दुवै जना पार्टीका महत्त्वपूर्ण सहयोगी थिए ।

भवनको गेटमा मैलो कपडा र चप्पल लगाएका, निन्याउरो अनुहार लगाएका केही व्यक्तिहरू कमरेडसँगको भेटका लागि अनुनयविनय गरिरहेका थिए । विलौना गरिरहेका थिए ।

‘हाम्रो कमरेडसँग भेट गराइदिनुस् । हाम्रा गुनासाहरू छन्,’ एक जना बुज्रुकले अनुनय गर्‍यो ।

‘हामी बेरोजगार र बेसहारा छौं,’ युवा चिच्यायो ।

‘बाढीले खेत बगायो । पहिराले घर पुर्‍यो । हामी घरवारविहीन छौं,’ एउटी महिलाले क्रन्दन गरिन् ।

‘मेरा बाआमाले भोकले विक्षिप्त भएर नदीमा फाल हालेर मरे । म पनि भोको छु,’ बालकले चीत्कार गर्‍यो ।

‘भेटको आदेश छैन,’ सुरक्षा गार्ड बोल्यो ।

‘कमरेडलाई हाम्रो सन्देश सुनाइदेऊ । हामी उनको संघर्षकालका मित्र हौं,’ एक जना प्रौढ व्यक्ति बोल्यो ।

‘उहाँ भीआईपीसँगको भेटमा व्यस्त हुनुहुन्छ । जानुस् । यहाँ हल्ला नगर्नुस्,’ यति भन्दै सुरक्षागार्डले राइफल तेस्याउँदै सतर्क मुद्रामा उभियो ।

ठूला कमरेडले दायाँ हातले आफ्ना आँखा मिच्यो । चलचित्रको दृश्य हेर्दाहेर्दै ऊ आफ्नो जीवनमा फर्केको थियो । उसले आफ्नो दायाँबायाँ हेर्‍यो । कमरेडहरू सिनेमाको मजा लिँदै थिए । तर, उसको मनबाट आनन्द गायब थियो । चलचित्रको नायकझैं उसको अगाडि–पछाडि र दायाँबायाँ उसलाई साथ दिने संघर्षकालीन सहयोद्धाहरू कोही छैनन् । कसैलाई उसले आफैँ निकाल्यो, कोही आफैँ उसलाई चटक्क छोडेर अर्कै बाटो लागे । अहिले उसको साथमा जो जति छन् सबै जना कुनै न कुनै उद्देश्यले ऊसँग टाँसिएका छन् । कोही माननीय बन्न चाहन्छन् त कोही मन्त्री ! कसैलाई सधैंभर राजदूत रहिरहनु छ । कुनै संस्थाको हाकिम बन्न चाहनेको ताँती पनि लामै छ । ठूल्ठूला ठेक्का हत्याएर ठेकेदार बन्न चाहनेको लर्को पनि कम छैन । कसैलाई पार्टीको उच्च पद चाहिएको छ ।

‘तर म विवश छु । यो थाहा पाएर पनि म केही गर्न सक्दिनँ । यिनीहरूको साथ रहेन भने न म रहन्छु न त मेरो यो सर्वोच्च पद !’

‘उफ् !!,’ कमरेडले लामो र गहिरो सास तान्यो ।

‘कमरेडलाई के भयो रु किन लामो सास तानिबक्सेको रु सिनेमा मन परेन कि रु,’ चिन्तित मुद्रामा फुच्चे कमरेड बोल्यो ।

‘सिनेमा मन नपर्ने त कुरै भएन नि । कमरेडकै कथा रै’छ सिनेमामा । मलाई त गज्जबै मन पर्‍यो है,’ फ्रेन्चकट दाह्रीवाल कमरेडले आफ्नो विचार प्रस्तुत गर्‍यो ।

‘सिनेमा त राम्रै हो, तर यो सिनेमाको नाम ‘गैरकम्युनिस्ट’ त भएन है । के हाम्रो कमरेड गैरकम्युनिस्ट होइसिन्छ र रु,’ अघिदेखि नबोली चुप लागेर पछाडिको सिटमा बसिरहेको टोपीधारी कमरेडले दबेको स्वरमा भन्यो ।

‘तीतो भए पनि कुरो त साँचो हो,’ ठूला कमरेडले आफैंसँग साउती गर्‍यो । ‘म पनि यही सोचेर तनावमा छु । सिनेमाको नायक गैरकम्युनिस्ट हो भने म कसरी कम्युनिस्ट रु हामी दुवै जनाको कथा यौटै हो । आफंैसँग इमानदार भएर भन्ने हो भने सिनेमाको कथा र मेरो जीवन कथामा कुनै अन्तर छैन । सिनेमा हेर्दा मलाई आफ्नै जीवनलाई फर्केर हेरेझैं लागिरेहको छ । सिनेमाको नायकको अभिनयमा म आफ्नो सक्कली रूपलाई भेट्टाइरहेको छु । सिनेमाको कथा साँचो हो भने के म पनि कम्युनिस्ट रहिनँ त रु के म कम्युनिस्टबाट गैरकम्युनिस्टमा परिणत भइसकें रु,’ ठूला कमरेड तनावग्रस्त बन्यो । जीउमा हनहनी जरो आउलाजस्तो भयो । टाउको पनि दुखेर पड्केलाजस्तो भयो । उसले आफ्ना बोझिल आँखा उठाएर सीधा हेर्‍यो । आँखाअगाडि सिनेमाका दृश्यहरू फनफनी नाच्न थाले । अनिच्छापूर्वक उसले सिनेमाको पर्दामा आफ्नो दृष्टि स्थिर गर्‍यो ।

सिनेमाका दृश्यहरू कहालीलाग्दा थिए । दृश्यहरूसँगसँगै संगीतको मार्मिक धुन पनि गुन्जिरहेको थियो । सिनेमाको पर्दामा ‘देश’ देखाइँदै थियो । बाँझो जमिन, सुकेको पानीको मूल, मास्सिँदै गएका हरित वन । पहिराले पुरेका गाउँ । बाढीले बगाएका हराभरा खेत । भास्सिएको सडक र भत्केको पुल । तुइनमा झुन्डिरहेका स–साना स्कुले नानीहरू । चिहान बनिरहेका कलकारखाना । खण्डहर बनिरहेका स्कुल र विश्वविद्याालयहरू । दिउँसै ढोकामा ताल्चा ठोकेका सरकारी कार्यालयहरू । र, चौरमा अँध्यारो अनुहार लगाएर उँघिरहेका विवस र व्यथित नागरिकहरू ।

सिनेमाको नायक राजधानीको पाँचतारे होटलमा भाषण गर्दै थियो, ‘हाम्रो देश सिंगापुर बन्दै छ, हामी हाम्रो देशलाई स्विजरल्यान्ड बनाउँदै छौं । हामी हाम्रा महान् जनताको सपना साकार पार्दै छौं ।’ नायकको भाषणले मख्ख परेका बँधुवा नागरिकहरू खुसीले ताली पिट्दै थिए । सिनेमा हेरिरहेको ठूला कमरेडको घाँटी सुक्खा भयो । उसले थुक निल्यो र ख्वाक्ख्वाक् गर्‍यो । यी दृश्यहरूबाट ऊ विचलित भएको थियो ।

सिनेमाको दृश्य परिवर्तन भयो । पर्दामा युवाहरूको झुन्ड देखिएको थियो । गाउँ र बस्तीबाट झरेका हजारौं युवा र युवतीको जमात गुन्टो बोकेर कामको खोजीमा भारतका सिमामा लाम लागेका थिए । हजारौं युवा र युवती हातमा पासपोर्ट बोकेर मलेसिया र अरब उड्न तम्तयार हुँदै थिए । गाउँहरूबाट युवा खाली हुँदै थिए । सहरबाट पढे–लेखेका व्यक्तिहरू रित्तिँदै थिए ।

सिनेमाको नायक विदेश सयर गरेर जेटमा स्वदेश फर्किंदै थियो । त्यही जेटमा विदेशी भूमिमा श्रम गर्दागर्दै मरेका श्रमिक युवाहरूको लास पोको पारिराखेका काठका बाकसहरू पनि स्वदेश फर्किंदै थिए ।

एयरपोर्टको भीआईपी कक्षमा उसले पत्रकारसँग संवाद गर्‍यो, ‘लाखौं नेपाली युवाहरूले विदेशबाट रेमिट्यान्स पठाइरहेका छन् । हाम्रा नागरिकको सुख र समृद्धिको सपना साकार हुँदै छ । हाम्रो देशको मुहार फेरिँदै छ...

‘देशको अनुहार फेरिस् बजिया !! केको देशको अनुहार फेर्थिस् । आफ्नो अनुहार फेरिस् । आफ्नो परिवारको अनुहार फेरिस् । कम्युनिस्टबाट गैरकम्युनिस्ट बनिस्,’ दर्शकमध्येबाट कसैको चर्को आवाज आयो ।

‘देशको सच्चा सपूत भनेर ‘नायक’ बनाइयो । कपूत परेछ । गैरकम्युनिस्ट भएछ,’ अर्को चिच्यायो ।

‘गैरकम्युनिस्ट ! गैरकम्युनिस्ट !!,’ आवाजमा आवाजहरू थपिए । सिटी, ताली र गालीगलौजले सिनेमाहलमा हल्लीखल्ली मच्चियो ।

सिनेमा हेर्दाहेर्दै कमरेडलाई भाउन्न भयो । उसले आँखा चिम्ल्यो । उसको मनमा एकतमासको भय उत्पन्न भइरहेको थियो । जरैदेखि हल्लिएको रूखझैं ऊ भित्रैदेखि काँपिरहेको थियो । उसले आफ्नो जीउ चिसो भएको अनुभव गर्‍यो । उसलाई के गरूँ रु के नगरूँ रु कहाँ जाऊँ रु कसो गरूँ रु भइरहेको थियो ।

‘युद्धकाल भइदिएको भए यी सबैलाई यहीँ सोत्तर पारिदिन्थें र देखाइदिन्थें कि म कम्युनिस्ट हुँ कि गैरकम्युनिस्ट !,’ ठूला कमरेड जोडले चिच्याउन खोज्यो । तर, आवाज निस्केन । क्रोधले उसको अनुहार विद्रूप भयो ।

ठूला कमरेडले क्रोधित मुद्रामै पर्दामा हेर्‍यो । सिनेमाको नयाँ दृश्यले ऊ छक्क पर्‍यो । सिनेमामा नयाँ नायकको उदय भएको थियो । सिनेमाको नयाँ नायक पुरानो नायकका विरुद्ध आन्दोलनको उद्घोष गर्दै थियो । गाउँ, सहर र बस्ती–बस्तीबाट हातमा नेपालको झन्डा बोकेका हजारौं नरनारी नारा घन्काउँदै जुर्मुराउँदै थिए ।

‘गाउँगाउँबाट उठ, बस्ती–बस्तीबाट उठ,

यो देशको नायक फेर्नलाई उठ... !’

सिनेमा हेरिरहेको ठूला कमरेडको अनुहारको भाव परिवर्तन हुँदै थियो । उसको अनुहार भय र त्रासले नीलो भइरहेको थियो । ऊ सोचिरहेको थियो– सम्भवतस् यी हजारौं नागरिकहरू ऊविरुद्ध नै नारा घन्काइरहेका छन् । उसको सत्ता र शक्तिको विरोधमा जुर्मुराइरहेका छन् । उसलाई आफ्नो मुटुको धड्कन रोकिएजस्तो, श्वासको गति थामिएजस्तो र मस्तिष्क सुन्न भएजस्तो अनुभूति भयो ।

‘बचाऊ... मलाई बचाऊ... !’

‘भीडले मलाई मार्न लाग्यो ... मलाई बचाऊ... !!’

सिनेमाको पुरानो नायकको करुण चीत्कारले ठूला कमरेडको ध्यान भंग भयो । ठूला कमरेडले सिनेमाको पर्दामा हेर्‍यो । नयाँ दृश्यले ऊ अवाक् भयो । किंकर्तव्यविमूढ भयो । सिनेमाको पुरानो नायकलाई नयाँ युवा नायकले लखेटिरहेको थियो । पुरानो नायक बदहवास भएर भागिरहेको थियो । उसले लगाएको लुगा च्यातिएको थियो । उसको अनुहार रगताम्मे थियो । ऊ खुट्टो खोच्याउँदै भागिरहेको थियो । उसको पछिपछि हातहातमा ढुंगामुढा, लाठी, मुंग्रो, हँसिया, हथौडा, भाला, खुकुरी बोकेका हजारौं नरनारीको जुलुस थियो । जुलुस ‘गैरकम्युनिस्ट’ नायकलाई लखेट्दै थियो र पछाडिबाट ढुंगामुढाले प्रहार गर्दै थियो ।

‘हामीलाई भ्रष्ट, दलाल र गद्दार नायक चाहिँदैन,’ जुलुसले गगनभेदी नारा लगायो ।

‘हामीलाई देशभक्त र इमानदार युवा नायक चाहियो,’ जुलुस कुल्र्यो ।

जुलुस अनियन्त्रित र उग्र भयो । जुलुसले गैरकम्युनिस्ट नायकमाथि धावा बोल्यो ।

‘मलाई मार्न लागे । बचाऊ... मलाई बचाऊ... !!’ गैरकम्युनिस्ट नायकको करुण चीत्कार ठूला कमरेडको कानमा ठोक्कियो ।

ठूला कमरेडले देख्यो– हजारौं नरनारीको जुलुसले नायकलाई लखेटिरहेको छ । ढुंगामुढा, हँसिया, हथौडा र भालाले आघात गर्दै छ । उसले त्रसित भएर आफ्नो अघिपछि र दायाँबायाँ हेर्‍यो । उसलाई लाग्यो, सिनेमाका दर्शकहरू उठेर ऊविरुद्ध नारा लगाउँदै छन् । र, उसलाई लखेट्न र प्रहार गर्न तम्तयार छन् । ठूला कमरेडले आतंकित हुँदै सिनेमाको दृश्य हेर्‍यो । सिनेमाको दृश्यमा गैरकम्युनिस्ट नायकको ठाउँमा ऊ स्वयं उभिएको छ । ऊ चिच्याउँदै, कराउँदै भागिरहेको छ । हजारौं नरनारीको जुलुस ढुंगामुढा गर्दै उसलाई लखेटिरहेको छ । केही ढुंगा र इँटाका टुक्राहरू बेतोडले उसलाई लक्षित गरी आइरहेका छन् । हेर्दाहेर्दै एक जनाले आफ्नो जुत्ता खोलेर जोडले हुत्त्यायो । जुत्ता बत्तिएर ऊ भएतिर तीव्र गतिमा आउँदै थियो । ठूला कमरेड भयभीत हुँदै आफ्नो सिटबाट जुरुक्क उठ्यो र करुण चीत्कार गर्दै भाग्न थाल्यो ।

‘हान्... हान्... ! देशको गद्दारलाई हान् ! भाग्न नदे!’

‘ठोक्... ठोक्... यो भ्रष्ट दलाललाई ठोक् !’

‘ठाउँको ठाउँ हुनेगरी ठोक्... यो माफियालाई !’

‘हाम्रा आशा, विश्वास र सपनाको हत्यारालाई नछोड् ! त्यसका पापहरूको दण्ड दे !’ सिनेमाहलका दर्शकहरू चिच्याउन थाले ।

ठूला कमरेड झन् बेतोडले भाग्यो । भाग्दाभाग्दै उसको जुत्ता फुस्कियो । जुत्ता छोडेर भाग्यो । कसैले पछाडिबाट कोट र प्यान्ट तानेझैं लाग्यो उसलाई । ऊ कोट निकालेर भाग्यो । ऊ प्यान्ट फुकालेर भाग्यो । ऊ भाग्दै ढोकामा पुग्यो र अचानक छाती समातेर डङ्ग्रङ्ग ढल्यो ।

चलचित्रको अन्तिम दृश्यमा पुरानो नायकले नयाँ युवा नायकले नेतृत्व गरेको हजारौं नरनारीको जुलुससमक्ष आत्मसमर्पण गर्‍यो । ‘गैरकम्युनिस्ट’ चलचित्रको पटाक्षेप भयो ।

सिनेमाहल दर्शकको चर्को सिटी, ताली र प्रफुल्लित स्वरले गुञ्जायमान भयो ।

प्रकाशित : आश्विन १५, २०७९ १०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×