कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

कस्तो हुन्छ नेपाली हिरोको कल्पना ?

हरेक भूखण्डमा हिरोको कल्पना गरिन्छ । पश्चिमी देशमा हिरोको काल्पनिकी बलियो छ । उनीहरु हिरोलाई मानव–आयामभन्दा पनि ठूलो र मिथकीय चरित्रका रुपमा हेर्छन् । यिनका आकार ठूला हुन्छन् ।
अभि सुवेदी

नेपालमा हिरोको कल्पना कसरी गरिन्छ भन्ने साधारण प्रश्नमाथि मैले खासै गम्भीर विचार गरिएको भेटेको छैन । हिरो विषयलाई हेर्ने दृष्टिका दुईवटा पाटा छन् । एउटा पाटो ऐतिहासिक छ भने अर्को पाटो हाम्रै समय चेतनाले रञ्जित । यो लेखमा यस विषयको छलफल गर्ने ठाउँ नभएकाले केही आवश्यक प्रसंग मात्रै जोडिएका छन् ।

कस्तो हुन्छ नेपाली हिरोको कल्पना ?

आफ्नो अध्ययन र अध्यापनको सन्दर्भमा मैले हिरोको पाश्चात्य दृष्टि र सिद्धान्तको बढी प्रयोग गरिबसेको रहेछु । तर, आजकाल हिरोको व्याख्याको विषयले यसमा चुनौती आउन थालेको छ । हिरो विषयका दृष्टिहरूमा परिवर्तन आएका छन् । तर, पछिल्ला दिनमा नेपालमा हिरोको कल्पना नेपाली परिवर्तनको कथासँग जोडिएर आएको हुनाले यसमा चाख बढेको हो ।

युगसम्मत चेतना, गणतान्त्रिक प्रजातान्त्रिक संविधान अनि पछिल्ला राजनीतिक परिवर्तनले ल्याएका लहरले यहाँ हिरोका कल्पनाहरू जन्माउन थालेका हुन् । त्यसमा पनि हालै सम्पन्न आमनिर्वाचन अनि त्योभन्दा पहिलेका उथलपुथलहरूमा हिरो र उल्टा–हिरो (एन्टी हिरो) का कुरा ओइरो लागेर आए । आफैंलाई हिरो ठान्ने र घोषणा गर्ने मनोग्रन्थिहरूले पनि काम गरे । झुन्डझुन्ड भएर आ–आफ्ना हिरो रचना गर्ने खेलहरू भए । त्यसबाट जन्मेका हिरोहरूका युद्ध भए । वाण होइन वाणी प्रहार गरेर मञ्चरूपी रथहरूबाट ती हिरो महारथीहरूका हानाहान भए । क्रम जारी छ ।

हिरोको रचना आफैंले गर्ने हो किनभने आफूले केही नगरी अरूले हिरो भन्दैन । त्यो केही गर्ने भनेको सबैभन्दा हिरो बनाउने र बन्ने खेल हो । तर, नेपालमा अहिले हिरो बन्ने र बनाउने खेलमा गहिरा कारणहरू रहेछन् । त्यसमा व्यक्तिहरूका क्रियाकलाप र तिनका सपना अनि महत्त्वाकांक्षाले ठूलो भूमिका खेल्ने रहेछन् । आफ्नो सोचाइ र अध्ययनबाट पाएका आधारमा हेर्दा नेपालमा अहिलेको हिरोको काल्पनिकीको पछिल्तिर मान्छेका मनको खेल अथवा मनोग्रन्थिका क्रियाकलाप हुँदा रहेछन् । ती क्रियाकलाप हेर्ने सबैभन्दा सजिलो पाटो राजनीति र शक्तिको खेल हो ।

केही हुने चाहना बलियो भएका, केही गर्न सक्ने अथवा आफैंलाई केही गर्न सक्ने हुँ भनेर फाइँफुइँ लाउनेहरू आफू हिरो भएको प्रचार गर्छन् । तर, अर्को पक्ष ऐतिहासिक छ । त्यो भनेको विगतका हिरोलाई उठाएर अहिले तिनको अनुकरण गर्दै, तिनलाई ब्युँझाएर तिनका नाममा आफू हिरो भएको कल्पना गर्नु हो । यस्ता दुवै किसिमको हिरो हुने चाहना साहित्यमा भन्दा राजनीतिमा बढी प्रस्ट देखिन्छ । अहिलेको चुनाव लड्ने पुराना र नयाँ दलहरूका सिद्धान्त र तिनका योजना हेर्दा यो थाहा हुन्छ । कसैले परिचित वैश्विक राजनीतिक सिद्धान्त लिएर हिरो हुने योजना बनाएका छन् भने कसैले हिजोका सामन्ती संस्कार, व्यवस्थाका शासक र हिरोलाई ब्युँझाएर आफ्ना चाहनाको परिपूर्ति गरेका छन् ।

नेपालमा यस्ता हिरोको प्रभुत्व सामन्ती संस्कारबाट आएको हो । अर्को अहिले रचना गर्ने भनेको पक्ष अलिक सूक्ष्म छ । हाम्रा अनेकौं पुस्ताका हिरो मान्ने र बनाउने तरिकाहरू छन् । हिजोका राजनीतिमा हिरो बनाइएकाहरूको वरिपरि लाग्ने उज्यालो परिवेश अहिले धूमिल हुँदै गएको छ । हिजोका मान्यताले अहिले काम नदिने अवस्था आउँदै छ । त्यो देखेपछि नेपालका युवा पुस्ताले आफ्नै किसिमले आफ्नै समयका हिरो बनाउन थालेका छन् । म त्यसलाई एउटा स्वाभाविक र ताजा ऊर्जाको रूपमा मान्छु । नेपालमा हिरोको काल्पनिकी राष्ट्रियतासँग जोडिएको छ, जुन चलन र मनोग्रन्थि हाम्रो मात्र विशेषता होइन ।

हरेक भूखण्ड वा देशमा हिरोका कल्पना गरिन्छन् । पश्चिमी देशहरूमा हिरोका काल्पनिकी बलिया छन् । उनीहरू हिरोलाई मानवको आयामभन्दा पनि ठूलो र मिथकीय चरित्रको रूपमा हेर्छन् । यिनका आकार ठूला हुन्छन् । ती कथानक अनि अहिलेको युगमा प्रचलित दृश्य विधान, भाष्य र मिडियाबाट व्यक्त गरिन्छन् । सबैका हिरोका कल्पना एकनास हुँदैनन् । हिरो हेर्ने दृष्टि पनि एकनासका हुँदैनन् । नेपालमा हिरो बनाउने तरिकामा पश्चिमी मानक मात्रै प्रयोग गरिँदैनन् । अमेरिकी हिरो विषयका विद्वान् र व्याख्याता जोसेफ क्याम्पबेल हिरोलाई एक भयानक धीर र वीरको रूपमा मात्रै हेर्दैनन् ।

‘हजार अनुहार भएको हिरो’ भन्ने उनको किताब प्रसिद्ध छ । हाम्रा सर्वसाधारण जीवनमा हाम्रा कर्म पनि हिरोकै यात्रा हुन् । जीवनका कामकाज गर्न मानिस निस्किन्छन् । ती आफ्ना काम गर्ने हिरो हुन् । अन्त्यमा आफ्ना अभीष्ट पूरा गरेर ती फर्किन्छन् । त्यो पनि हिरोको यात्रा हो । त्यस अर्थमा हिरो एक कुनै बलियो महावीर चरित्र मात्र होइन । आजको युगमा हिरोको कल्पना एकनासको हुँदैन । जताततै अनेकौं रूपमा हिरोहरू निस्किरहेका हुन्छन् । अत्याचारी शासक तिनका व्यवस्था र एकतन्त्री पद्धतिसँग लड्नेहरू हिरो हुन् भनेर मान्छ । सिद्धान्तमा मानिने हिरो एक प्रकारका हुन्छन् भने व्यवहारमा देखिने हिरो अर्कै हुन सक्छन् ।

आधुनिक हिरोका अनुहार धेरै हुन्छन् । उसको यात्रा कठिन पनि हुन सक्छ, तर उसको चरित्र निश्चित हुँदैन । लैंगिक विभेद हुने समाजमा संघर्ष र प्रतिरोध गर्ने महिला हिरो हुन्छन् । स्वाभिमानी नारीहरूलाई शासक दल र तिनका प्रहरीले हत्या गरेका उदाहरण छन् । त्यसको प्रतिरोध गर्ने नारी हिरोहरूलाई हामी देखिरहेका छौं । पुरुषहरू पनि त्यसमा उठेकाले हिरोका चरित्र एकल लैंगिक रूपमा मात्र हेरिँदैनन् । डिक्टेटरहरू पनि आफूलाई हिरोको रूपमा स्थापित गर्न चाहन्छन् । तिनीहरू बहुल हिरोको अस्तित्व मान्दैनन् । तिनलाई दमन गर्छन् । एउटा राजनीतिक सिद्धान्त मान्ने एक–दुई देशका शासक र तिनको दलले बीसौं शताब्दीमा मात्रै दस करोड नरनारीको हत्या गरेको रेकर्डसहित अहिले छलफल भइरहेका छन् । पल हल्यान्डरको किताब ‘बिनितो मुसोलिनीदेखि ह्युगो चाभेजसम्मको हिरो पूजा’ (२०१६) चर्चामा छ ।

साधारण रूपमा भन्दा नेपालमा हिरोको कल्पना अरूतिर जस्तै हुन्छ । हाम्रोमा हिरोलाई ऐतिहासिक रूपमा हेरिएका उदाहरणमा नेपालका राष्ट्रिय विभूतिहरूका विषयमा लेखिएका लेख र ग्रन्थहरूलाई लिइन्छ । वरिष्ठ इतिहासकार महेशराज पन्तले वीर नभनेर विभूतिको अनुपयुक्त नाम दिइएको र ती वीर उर्फ विभूतिबारे मिथ्या बढी लेखिएको भनेर आफ्ना तर्कहरू राखिआएका छन् ।

उनको ‘कान्तिपुर’ (कात्तिक २७, २०७८) मा प्रकाशित ‘विभूति : तथ्य कम, मिथ्या बढी’ शीर्षक महत्त्वपूर्ण लेख अनलाइनमा गएर पढ्न सकिन्छ । त्यस्तै वीरको विषयलाई समीक्षा गरी लेखिएको प्रत्यूष वन्तको ‘स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी’ पत्रिकाको जुन १९९६ मा प्रकाशित लेख अनलाइनमा पढ्न सकिन्छ । नेपाली वीरको काल्पनिकी नेपाली इतिहासमा कसरी हेरिएको छ भन्ने कुरालाई इतिहासकारहरूले स्वतन्त्र र निरपेक्ष ढंगले राखेका छन् । त्यसरी राख्नुको पछिल्तिर हाम्रो वीरको काल्पनिकी कस्तो छ भनेर हाम्रा दृष्टि र तिनका सही र अपव्याख्याको चित्र प्रस्तुत गर्नु हो ।

अहिले हामी हिरोहरूका मिथ्या र सही काल्पनिकीले रञ्जित छौं । हल्ला र मिथ्या प्रचार गर्नुको पछिल्तिर हिरो बन्ने काल्पनिकीले काम गरेको छ । केही युवाहरूले एउटा दल खोलेर वा स्वतन्त्र चुनाव लडेर मतदाताको विश्वास जित्ने विषयलाई लौ नयाँ हिरोहरूको जन्म भयो, यिनले के गर्ने भए भन्नुमा हिजोदेखिको संस्कारले बनाएको हिरोको विम्ब भत्किएला भन्ने असुरक्षित मानसिकीले काम गरेको हुन सक्छ ।

नेपालको राजनीतिमा स्थापित नेतृत्व वर्गले हिरो हुन यस भेकका राजनीतिमा प्रयोग भइआएका, घोर क्रान्तिकारी र युटोपियाली प्रजातान्त्रिक परिकल्पना अनि हिजोका सामन्ती नायकहरूलाई वरण गरेर जन्माएका मिथकको सहारा लिएको देख्न सकिन्छ । तर, हिरोको मिथक सृजनशील र रमाइलो पनि हुन्छ । हिरोको मिथक जन्माउनेहरूले अरू ठाउँमा पनि त्यसलाई खेलको रूपमा लिएर विनिर्माण गरेका उदाहरण छन् ।

तर, सबैले होस पुर्‍याउनुपर्ने एउटा कुरा छ– मिथ्या मिथकका रचना गरेर इतिहासका व्याख्या नगरियून् । अनुपयुक्त नायकहरू बनाएर तिनका पछिपछि लाग्ने काम नहुन् । यी दुवै किसिमका क्रियाहरूले अधिनायकवाद र त्यसका प्रवर्तक हिरोहरूलाई जन्म दिन्छ । म नेपाली प्रजातन्त्रको प्रशंसक भएकाले यहाँ एउटा जागरुकताको आह्वान गरेको हुँ ।

प्रकाशित : पुस २, २०७९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?