कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आरनमा जलिरहेको त्रिशूल

निष्पट्ट अँध्यारोमा राँको बालेर त्रिशूल चोर्न निस्केका दुई साथीको मित्रताको कथा हो– ‘ह्वील्स अन द बस’ ।
रीना मोक्तान

एक बालक साथीसँग राति फलाम चोर्न निस्कन्छ । उसको नाम हो– भ्याल । निष्पट्ट अँध्यारोमा हातमा राँको बोकेर प्रत्येक घरका छत डुल्छन् उनीहरू । अनि काठका मूर्तिहरू (बाक्पा) का शिरमा गाडिएका त्रिशूल चोर्छन् चुपचाप । ती त्रिशूलबाट जसैगरी गाडी गुड्ने पाङ्ग्रा बनाउनु छ भ्याललाई । साथीहरूले खेल्न विद्यालयमा काठको बस बनाएका छन् ।

आरनमा जलिरहेको त्रिशूल

तर, बस गुड्ने पाङ्ग्रा नबनाए साथीहरूबाट दुर्व्यवहार (बुलिङ) सहनुपर्ने डर कोचाकोच छ भ्यालको मस्तिष्कमा । १२ वर्षकै उमेरमा गाउँका लोहकर्मी (फलामको काम गर्ने मानिस) बनेको भ्यालले फलाम जोहो गर्ने कुनै विकल्प भेटेन र त्रिशूल चोर्ने निर्णय गर्‍यो । चोरिएका त्रिशूललाई नयाँ स्वरूप दिन आरनको आगोमा पोलेर हथौडाले ठोक्दै छ– ट्वाङ–ट्वाङ !

माथिको वर्णित दृश्य हो– फिल्म ‘ह्वील्स अन द बस’ को ।

जात व्यवस्था हुर्काउने हिन्दु धर्मलाई हिर्काइएको यो बिम्ब कति शक्तिशाली ढंगले प्रस्तुत गरिएको छ भने यसले थुप्रै कुरा एकैसाथ बोल्छ । र, वर्ण व्यवस्थाको सामाजिक, राजनीतिक र आर्थिक प्रणालीलाई सशक्त ढंगले चित्रण गर्छ । उत्पीडनमा परेका दलितको अवस्था दर्शाउँछ । त्यो रापिएको फलाम एक बिम्ब हो हामी बाँचिरहेको समाजको । त्यो रापले बोलिरहेको छ– दलितमाथिको उत्पीडन र विभेदबारे । असलमा भ्यालहरू थिचिएका छन्, पिल्सिएका छन् वर्ण व्यवस्था, छुवाछूत र विभेदले । जात व्यवस्था संरक्षण गर्ने समाज, विचार, सिद्धान्त र संरचनालाई भ्यालहरू भत्काउन चाहन्छन् भन्ने उदाहरण पनि हो यो दृश्य । कला कति सशक्त हुन्छ भने बिनासंवाद केही नबोलेरै यो दृश्यले थुप्रै कुरा बोल्छ ।

सूर्य शाही निर्देशित १६ मिनेटको यो फिल्मले जात व्यवस्थाको उत्पीडनमा परेका पात्रको दुःख, संघर्ष र विद्रोहको कथा भन्छ । कथित तल्लो जातका पात्रले जातकै आधारमा सहनुपरेको विभेदको कथा भन्छ । सामाजिक, आर्थिक, राजनीतिक रूपले मान्छे कसरी दबिएका छन् ? कसरी पीँधमा परेका छन् ? भ्यालमार्फत फिल्मले देखाएको छ ।

‘माथिल्ला जातका’ बालबालिका घरमा अर्कै कपडा लगाउँछन्, स्कुलमा अर्कै । तर, भ्याल स्कुलकै नीलो सर्टमा भेटिन्छ हरदम– घर होस् या स्कुल । भ्याल बाँचिरहेको समाज र उसको परिवारको आर्थिक अवस्था देखाउन प्रयोग गरिएको नीलो सर्टको यो बिम्बले थुप्रै कुरा भन्छ । दृश्यहरूलाई खुबै चलाखीपूर्ण ढंगले खिचिएको छ– छुवाछूतको सामाजिक संरचना देखाउन । एउटा दृश्य छ, जहाँ भ्याल फलामको काम सकेर त्यो सामान फिर्ता गर्न छिमेकीको घर गएको छ । कथित माथिल्लो जातका पात्रहरू घरको माथिल्लो भागमा छन् भने भ्याल भुइँमा । फलामको बदला छिमेकीले अन्न दिन अह्राउँछ आफ्नो छोरालाई । ऊ भ्याललाई नछोई माथिबाटै अलग्गै झोलामा अन्न खन्याइदिन्छ । संवादबिनै यो दृश्यले छुवाछूत प्रस्ट्याउँछ । छिमेकीको छोरालाई अन्न दिँदै गरेको त्यो दृश्यले भन्छ– विभेद पुस्तान्तरण भइरहेको छ ।

व्यावसायिक फिल्मले दुई घण्टामा पनि समेट्न नसक्ने विभेदका फरक मुद्दालाई छोटो समयमै कसिलो दृश्यमा प्रस्तुत गर्न सक्नु निर्देशकको प्रशंसनीय पाटो हो । यस्तो जटिल विषयलाई मौलिक ढंगमा उत्कृष्ट रंगसंयोजन, खिचाइ र चरित्रमार्फत उभ्याउन सक्नु फिल्म ‘ह्वील्स अन द बस’ का बलिया पक्ष हुन् ।

समाजको कुरूप तस्बिर, उत्पीडित वर्गको यथार्थ चित्रण फिल्ममा देखिन्छ । फिल्ममा कथित उपल्लो जातलाई मात्रै दोषी देखाइएको छैन । भ्यालको एक विद्रोही साथीमार्फत कथामा सन्तुलन मिलाइएको छ । भ्यालको साथी लाबा समाजका ती हरेक विभेदका कडी भत्काउन चाहन्छ । ऊभित्रको विद्रोही स्वभाव देखाउन शिरमा उसले बाँधिहिँड्ने हँसिया–हथौडाअंकित रुमालै काफी छ । फिल्मले सरल भाषामा विभेदका फरक पक्षलाई मौलिक स्वादमा पस्केको छ ।

बालकथामै आधारित अर्को फिल्म ‘जुलुंगो’ को अन्तिम दृश्य पनि बेजोड छ । प्रमुख पात्र आफूले बनाएको ‘जुलुंगो’ बोकेर खेततिर लम्किँदै हुन्छे । पृष्ठभूमिमा बाल अधिकारको गीत गुन्जिरहन्छ, ऊ खेतमा काम गरिरहन्छे । ‘ह्वील्स अन द बस’ को अन्तिमको दृश्य पनि निकै बलियो छ । जब भ्याल विद्यालय प्रांगणबाट टाढिँदै जान्छ, पृष्ठभूमिमा साथीहरू गाइरहेका हुन्छन्, ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली ।’ त्यतिन्जेल भ्यालले थाहा पाइसक्छ, ‘एउटै थुंगाका फूल भए पनि एउटै मालामा उनिन बाँकी नै छु ।’ गत वर्ष बर्लिन फिल्म फेस्टिभलको ‘जेनेरेसन के–प्लस’ तर्फ छनोट भई विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको यस फिल्मले यसै साता काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’ मा उत्कृष्ट फिक्सन अवार्ड जित्यो ।

...

व्यावसायिक फिल्मकर्मीले उठाउन नसकेका यस्ता थुप्रै मुद्दामा बनेका फिल्म देखाउने गजबको प्लेटफर्म बन्यो– भर्खरै सकिएको किम्फको २० औं संस्करण । फरक मुद्दाका विविध फिल्मको यो महोत्सवमा स्वतन्त्र फिल्मकर्मीका आवाज समेटिए । नयाँ कथावाचनको साक्षी बन्यो– किम्फ । कथा वाचनमा छुट्टै छवि बनाएको ‘हेर्ने कथा’ टिमको ‘बाघको बंगारा’ देखाएर सुरु भएको महोत्सव ‘पोलियो’ रोगविरुद्धको सहयोगार्थ डकुमेन्ट्री ‘फ्लाई फ्रम एभरेस्ट’ प्रदर्शन गर्दै समापन भयो ।

‘किम्फ’ मा देखाइएका फिल्मले फरक कथा–वाचन, फरक आवाज र विविधताका फरक स्वाद पस्किए । तर, पर्वतीय विषयका भिन्नाभिन्नै फिल्म हेर्दै गर्दा पर्वतका फिल्म/डकुमेन्ट्री बनाउने नेपाली फिल्मकर्मीको अभाव भने महसुस भइरह्यो । यस वर्ष किम्फमा प्रदर्शन भएको नेपाली एनिमेसन फिल्मले हाम्रो फिल्म उद्योगको दायरा बढाइदिएको छ । तर, फिल्मको यति ठूलो महोत्सवमा पनि मूलधारका फिल्मकर्मीको आकर्षण नबढ्नु दुःखद पक्ष नै हो ।

प्रकाशित : पुस २, २०७९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?