१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

मखमली प्रेमको हर्मोन

प्रेम ऊर्जाको त्यो आगो हो, जो एकपटक निभेपछि पहिलेझैं सल्काउन गाह्रो पर्छ । प्रेम एक ऊर्जा हो, जो न आफैं सिर्जना हुन्छ न त्यसलाई नष्टै गर्न सकिन्छ । तर, त्यो ऊर्जा एक मुटुदेखि अर्को मुटुसम्म प्रसारचाहिँ गर्न सकिन्छ ।
शैलीका छेत्री

प्रेम दर्शन
विज्ञान भन्छ– मानव सम्बन्धहरूमाझ हामीलाई नियन्त्रणमा राखिरहने एक अद्भुत शक्ति हो वा हर्मोनहरूको त्यो खतरनाक ककटेल हो प्रेम, जसले मानव विकासवादी चाल रचिरहेको हुन्छ । र, प्रेमलाई प्रकृतिले चलाएको त्यो रासायनिक घूसखोरी मानिन्छ, जसबाट प्रजातिको ‘इभोलुसन’ हुन्छ । तर, स्टर्नबर्गको प्रेम–प्रसिद्ध त्रिकोणीय सिद्धान्तबाट हेर्दा रोमान्टिक प्रेम जुनुन, आत्मीयता अनि प्रतिबद्धतामा आधारित हुन्छ ।

मखमली प्रेमको हर्मोन

वास्तवमा प्रेम के हो ? सदिऔंदेखिको यो प्रश्न सदिऔंदेखि नै अनुत्तरित छ । विमर्श भइरहेकै छ, तर सही तौरमा कसैले पनि नबुझेको विषय हो– प्रेम । जसरी अमूर्त चित्रकला हेरेपछि प्रत्येकले आ–आफ्नै व्याख्यान दिन्छन्, त्यस्तै अपरिभाषित अमूर्त व्याख्यान हो प्रेम ।

प्रेम मलाई वास्तवमा त्यो ऊर्जाजस्तो लाग्छ, जो न आफैं सिर्जना गर्न सकिन्छ, न नष्टै गर्न तर त्यो ऊर्जा एक मुटुदेखि अर्को मुटुसम्म प्रसारचाहिँ गर्न सकिन्छ । हो, प्रेम ऊर्जाको त्यो आगो हो, जो एकपटक निभेपछि त्यसलाई पहिलेझैं सल्काउन गाह्रो पर्छ । त्यसैले प्रेम अनि ऊर्जाको कुरा गर्दा कुन्नि किन मलाई भौतिक विज्ञानका महान् अन्वेषक तथा प्रेमी अल्बर्ट आइन्स्टाइनका दुईवटा प्रेमविवाह अनि दसवटा रोचक प्रेम सम्बन्धको प्रेमिल कथाले काउकुती लगाउँछ । आइन्स्टाइनले प्रेममा एक हजार चार सय प्रेमपत्र लेखे । एउटा प्रेमपत्रमा आइन्स्टाइन लेख्छन्, ‘यही, ई एक्वल्स् टु एमसी स्क्वायरको सट्टा संसार चलाउने ऊर्जा, प्रकाशवर्गको गतिसित प्रेममार्फत जीवन चलाउने शक्तिलाई हामी स्वीकार गर्छौं भने त्यतिबेला हामी प्रेमलाई प्राप्त गरिरहेका हुन्छौं र त्यस क्षण त्यो विश्वव्यापी शक्ति नै प्रेम हुन्छ ।’

स्टर्नबर्गअनुसार जुनुन यौन हो, जसले सुरुमा पार्टनरहरूलाई एकअर्काप्रति आकर्षित गर्छ । र, आत्मीयता दुई प्रेमीबीचको भावनात्मक अनि व्यावहारिक बन्धनमा आधारित हुन्छ । अनि प्रतिबद्धतालाई चाहिँ दुई प्रेमीबीच जीवन बाँच्ने इच्छा (जसलाई यौन इच्छा वा विश्वास पनि भनिन्छ) भनेर बुझ्न सकिन्छ । त्यसैले मानव–प्रेम बडो जटिल अनि रहस्यमय अनुभूतिको विषय हो, जसले आफ्नै वास्तविकताको सिर्जना गर्छ । विज्ञानका अनुसार, मानव मस्तिष्कको भावात्मक कोर अर्थात् सेरेब्रल कोर्टेक्समा विकसित हुन्छ प्रेम । त्यसैले प्रेममा मानव स्नायु प्रणाली र ‘भ्यागस’ नर्भको चाखलाग्दो भूमिका हुन्छ । भ्यागस नर्भ त्यो हो, जसले मानव मस्तिष्कमा प्रेमका अस्पष्ट संवेदनाहरू भर्ने गर्छ ।

विज्ञान भन्छ, ‘आँखाबाट सुरु भएर सेरेब्रल कोर्टेक्समा प्रथमचोटि प्राथमिक सन्देशलाई अनुभव गरेपछि भ्यागस वा भिसेरल नर्भहरूको चलखेलमा प्रेम अनुभूत हुन्छ । र, त्यो अनुभूतिले नै व्यक्तिमा अनौठो परिवर्तन विस्तार गर्छ ।’ त्यसैले प्रेममा रिस वा उदासीजस्ता तीव्र भावना विकसित हुन्छन् र शरीरको रक्तचाप अनि मांसपेशीमा ऐठनजस्तो तनाव बढ्छ । मुटुको धड्कनले रफ्तार पक्रिएपछि नै त हो हत्केला अनि निधारभरि शीतका थोपाहरूझैं पसिनाका लहरहरू अकारण थुप्रिँदै जानु, प्रेमिल अनुहार पनि प्रेमका अघि रातो बनेर बेअर्थको लज्जा भावमा प्रस्तुत हुनु, खुलस्त बोल्ने स्वतन्त्रता गुमेजस्तो हुनु र हामीलाई असहज अनुभव हुनु ! यिनै होइनन् त प्रेमका चिह्नहरू ?

बडो जादुई हुँदो हो ‘प्रेम’, जसको जादुई सौन्दर्यमाथि गालिबले ‘आतिस’, तोल्सतोयले ‘अन्ना कारेनिना’, विलियम गोल्डम्यानले ‘द प्रिन्सेस ब्राइड’ अनि शेक्सपियरले ‘रोमियो–जुलियट’ लेखे । मेरा लागि प्रेम बडो मादक विषय हो, जसको प्रभाव मस्तिष्कको मार्ग हुँदै नाभितिर पुगेर अन्त्य हुन्छ । ‘भ्यागस’ नामक स्नायुको कार्यप्रणालीमा अनौठो गडबडी आएपछि पेटभरि हजारौं पुतलीले एकसाथ क्रीडा गरेको त्यो मीठो अनुभूतिले भोक अनि तिर्खाका भावहरूलाई कतै गायब पारिदिन्छ, यस्तो मादकता हुन्छ प्रेममा । त्यतिबेला नै त हो, मुटुले बारबार भनिरहेको हुन्छ, ‘प्रेमलाई आँखाले होइन मस्तिष्कले देख्छ ।’ त्यसैले पखेटा भएको कामदेव दृष्टिहीन छ र नै त साँचो प्रेमको मार्ग कहिल्यै सहज बन्न सकेको छैन । जतिबेला व्यक्ति तीव्र प्रेममा हुन्छ, त्यतिबेला खतराहरू अनुभव गर्ने प्रमस्तिष्क–खण्ड अर्थात बौद्धिक मस्तिष्क र उत्तर मस्तिष्क अर्थात भावनात्मक मस्तिष्कका केही खण्ड एकैछिन हाइबरनेसनमा जान्छन् । याद गरौं न, पहिलो डेटमा प्रेमीहरूले–प्रेमिकाहरूले एकार्कासँग प्रेमले बोल्ने सीप हराएको अनुभव गरिरहेका हुन्छन्, होइन त ?

साँच्चै, बडो अद्भुत हुन्छ प्रेम–अनुभूतिका ती प्रेमिल प्रभाव । प्रेम–अनुभूतिका प्रेमिल प्रभावलाई विज्ञानले प्रामाणिकता दिएको त्यो समय (सन् २०१९) मा फर्कौं । लस एन्जलस क्यालिफोर्निया विश्वविद्यालयका अन्वेषकहरूले प्रेम सम्बन्धमा बाँचिरहेका ४७ जना युवतीको रगत जाँच गर्दा पत्तो पाए, ‘प्रेममा पर्नु मानव जीवनको सबैभन्दा शक्तिशाली मनोवैज्ञानिक अनुभवहरूमध्ये एक रहेछ ।’ वास्तवमा प्रेम त्यो मनोवैज्ञानिक मास्टर चाबी हो, जसले व्यक्तिमा घृणा, ईर्ष्या अनि डरजस्ता नकारात्मक भावको ढोकालाई बन्द गर्छ र जीवनमा खुसीको सकारात्मक ढोका खोल्छ ।

शेक्सपियरको समयमा प्रेमलाई रोग मानिन्थ्यो । व्यक्ति प्रेममा पर्नु स्वाभाविक विषय हो भन्ने विमर्श नै नभएको समय थियो त्यो । प्रेम रोग हो भने त्यसलाई कुनै प्राकृतिक वा मानवनिर्मित नियम थाहा हुँदैन । परतन्त्रको पिँजडामा थुनिएपछि नै हो प्रेमले स्वतन्त्र पखेटा गुमाएको र प्रेम रोग बनेर चाहनाको नदीमा निरन्तर रमाइलोपनको खोजीमा हिंस्रक बन्दै गएको । तर, आधुनिकतम् विज्ञानले यही प्रेमलाई औषधिको प्रामाणिकता दिँदै भन्छ, ‘कसैसँग प्रेममा हुँदा मानव जीनले शरीरमा ‘इन्टरफेरोन’ नामक प्रोटिनहरू उत्पादन गर्छ, जसले मानव शरीरलाई भाइरल संक्रमणहरूबाट प्रतिरक्षा गर्दै आएको हुन्छ ।’ अझ प्रेमले व्यक्तिलाई हृदय रोगबाट सुरक्षित पनि राख्छ अनि शरीरमा बढेको रक्तचापलाई नियन्त्रण पनि गर्छ ।

प्रेम हर्मोनको विज्ञान

विज्ञानअनुसार, जतिखेर हामी आत्मीय व्यक्ति वरिपरि हुन्छौं, हाम्रो मस्तिष्क स्नायुबाट ‘डोपामिन’ र ‘नोरइपिनेफ्रिन’ नामक हर्मोनहरू उत्पादन भइरहेको हुन्छ र ती हर्मोनहरूले व्यक्तिमा आनन्द, स्नायु उत्तेजना अनि उत्साहको भावना निम्त्याउँछ । त्यही क्षण त्यहाँ ‘सेरोटोनिन’ (खुसीको अनुभूति दिलाउने हर्मोन) प्रवाह हुन्छ र त्यसले मोह भावनालाई उत्तेजित पार्छ । त्यसपछि हो यौन हर्मोनहरू (टेस्टोस्टेरोन र इस्ट्रोजेन) ले व्यक्तिमा कामवासनालाई नेतृत्व गर्दै आएको, अक्सिटोसिन (प्रेम हर्मोन) ले समानुभूति भाव मस्तिष्कमा कुँदिएको । विज्ञानअनुसार, प्रेममा ओएक्सटी नामक जिनको पनि विशेष भूमिका हुन्छ । त्यो ओएक्सटी जिन नै हो, जसले मानव मस्तिष्कका स्नायुहरूमा अक्सिटोसिन हर्मोन उत्पादन गर्छ । र, त्यो अक्सिटोसिन हर्मोनले चाहिँ मान्छेको सामाजिक व्यवहार निर्धारित गर्दै आएको हुन्छ । जर्जिया विश्वविद्यालयलले मानव मस्तिष्कमा ओएक्सटी जिनको संरचना अनि प्रेममा त्यसको प्रभाव खोज्न एक सय बीसभन्दा बढी व्यक्तिहरूमा गरेको एउटा अन्वेषणले पत्ता लगाएको थियो, ‘ओएक्सटी जिन कम भएका व्यक्तिहरू आफ्ना प्रियजनसित पनि भावनात्मक रूपमा कम जोडिएका थिए ।’ अन्वेषकहरूले जटिल जिनहरूका सेट र जिनहरूबीचको मिल्दो अन्तरक्रियामा सामाजिकता निर्माण भएको वैज्ञानिक तथ्य पत्ता लगाए । र, सन् २०११ मा अन्वेषक वुडले ओएक्सटी जिनलाई ‘विकासको द्रुत रूप’ भनी प्रमाणित गरे ।

अक्सिटोसिन हर्मोन : एक विमर्श

अक्सिटोसिन हर्मोन प्रेम आलिंगन तथा चुम्बनको समयमा मानव मस्तिष्कमा बढी मात्रामा निसृत हुन्छ । यसलाई ‘कडल’ (आलिंगन) हर्मोन वा ‘बन्डिङ’ (स्नेह) हर्मोन पनि भनिन्छ । विशेषगरी, अक्सिटोसिन यौनको चरम सन्तुष्टितिर शरीरभरि प्रवाहित हुन्छ । तर, यो हर्मोन सन्तान जन्माएपछि स्तनपानमा रहँदा पनि स्त्रीमा बढी मात्रामा देखापर्छ । त्यसैले प्रेमको बायोकेमिस्ट्रीमा बारम्बार महत्त्वपूर्ण भूमिका न्युरोपेप्टाइड अक्सिटोसिनले खेलिरहेको हुन्छ । अक्सिटोसिनले आमा र शिशुबीचको सम्बन्धलाई बलियो बन्धनमा बाँधेको हुन्छ ।

सन् २०१२ मा रोबर्ट फेल्डम्यानले बच्चाको उपस्थितिले पनि घरका वयस्क सदस्यहरू (बुबा, हजुरबुबा, हजुरआमा) मा अक्सिटोसिन हर्मोनको प्रवाह स्वतः बढेको पत्ता लगाएका थिए । सारासोटा डल्फिन रिसर्च प्रोग्राम फ्लोरिडाले डल्फिनहरूमा हर्मोनको मात्रा नापेको थियो । र, बच्चा डल्फिनमा त्यो मात्रा उच्चस्तरको भएको पत्ता लगाएको थियो । त्यो प्रोग्रामले भनेको थियो, ‘त्यो अक्सिटोसिन हर्मोन नै रहेछ, जसले डल्फिन बच्चालाई डल्फिन आमाको प्रत्येक निर्देशनसित समुद्रको गहिराइमा पनि प्रेम अनि स्नेहको भाव राख्न सिकाइरहेको हुन्छ । त्यसैले अक्सिटोसिन हर्मोन प्रेमिल सम्बन्धका निमित्त एकदमै महत्त्वपूर्ण छ ।’

विज्ञान र प्रेम

पुरुषको तुलनामा स्त्रीमा अक्सिटोसिनको मात्रा बढी हुन्छ । यौनसम्बन्धपछि पुरुषमा यसको मात्रा कम हुन पुग्छ, तर स्त्रीमा चाहिँ रोमान्टिक प्रेमको रुचि कायमै रहन्छ । खासमा त्यो प्राकृतिक कारण नै हो, जसले पुरुषलाई लामो अवधिसम्म प्रेम सम्बन्धमा रोमान्टिक बन्न दिँदैन ।

विज्ञानका निम्ति प्रेम ‘सेरोटोनिन’ (खुसीको अनुभूति दिलाउने हर्मोन), ‘टेस्टोस्टेरोन’, ‘डोपामिन’ (आनन्द अनुभूति दिलाउने हर्मोन), नोरइपिनेफ्रिन हर्मोनको चलखेल हो । अक्सिटोसिन (प्रेम हर्मोन) अनौठो प्रभावमा प्रजातिको जनसंख्या जोगाइराख्न प्रकृतिले रचेको यौनिक यात्रा हो, जहाँ भावनाको कुरा न्यूनतर हुन्छ र केवल प्रजननको कुरा बाँकी रहन्छ । र, प्रजननपछि जन्मिएको सन्तानलाई संरक्षण दिँदै सामाजिक संस्कारसित अवगत गराउन अनि प्रकृतिमा प्रजाति बचाइरहन नै यौनले प्राथमिकता पाएको हो । डाक्टर आना मासिनले भनेका छन्, ‘प्रेम पर्नु भनेको व्यक्तिका निम्ति प्रकृतिमा जीवित रहने प्रमुख बाटोलाई पछ्याउनु हो ।’ मलाई लाग्छ, संसारमा प्रजाति संख्या कायम राख्ने प्रकृतिको एक परियोजना मात्रै हो प्रेम ।

प्रेम–यौन

हुन त विज्ञानले प्रेम भावलाई केवल प्रजननका निम्ति चलाइएको यौनिक प्रक्रिया मान्छ । तर, भावनात्मक आधारमा ‘प्रेम’ र ‘यौन’ समानार्थी शब्द होइनन् । शारीरिक रूपमा कहिल्यै नभेटिएको मान्छेसँग पनि अर्को मान्छे बलियो प्रेम सम्बन्धमा बाँधिइरहन सक्छ । त्यसैले प्रेम अर्को व्यक्तिप्रतिको तीव्र गहिरो भाव हो अनि यौनचाहिँ केवल शारीरिक आकर्षण । कतिपयले यौनलाई प्रेमको अन्तिम विन्दु माने पनि यो आफैंमा प्रेमचाहिँ होइन । हुन त प्रेममा अक्सर यौन जोडिन आइपुगिहाल्छ । त्यसैले प्रेमले ज्यादातर यौनलाई नै संकेत गरेजस्तो भान हुन्छ । तर, केवल इच्छा र आनन्दको अभिप्रायमा हुने यौन, प्रेम होइन । यौन प्रकृतिले प्रजाति जोगाउन रचेको प्रेमपूर्ण षड्यन्त्र हो । प्रेमचाहिँ भावनात्मक, बौद्धिक र आध्यात्मिक तौरमा हुने एक अलग्गै प्रक्रिया हो ।

प्रेमको वैज्ञानिक चरण

विज्ञानले प्रेमलाई ‘वासना’, ‘आकर्षण’ र ‘सम्मिलन’ (प्रणय–बन्धन) गरी तीन चरणमा विभाजन गर्छ । त्यसैले प्रेमको पहिलो चरणमा वासनाको मुख्य कारक ‘टेस्टोस्टेरोन’ हर्मोन हुन्छ, जसले पुरुष–स्त्री दुवैमा किशोरावस्थातिर भयंकर चामत्कारिक प्रभाव जमाउँछ । त्यसैले हो हर्मोनको यस्तो मादकतामा व्यक्तिलाई मोहको अनुभूति पनि प्रेमजस्तै लाग्छ । तर, एकपटक यो अभिलाषाको चरण पार गरेपछि प्रेम दोस्रो चरणमा हुन्छ, जसलाई ‘आकर्षण’ भनिन्छ । व्यक्ति धेरै तरिकामा अर्को व्यक्तिसित आकर्षित हुन्छ । त्यो मन परेको प्रिय व्यक्तिप्रतिको चारित्रिक समानता, मायालुपन वा मिल्दो परिपक्वताको स्तर वा शारीरिक सौन्दर्य पनि हुन सक्छ, जसले ‘आकर्षण’ लाई जन्म दिन्छ । तर, विज्ञानअनुसार मानवमस्तिष्कमा ‘आकर्षण’ को मूल कारक ‘डोपामिन’ को मायावी जाल मात्रै हो । त्यसैले अधिकांश व्यक्ति ‘वासना’ र ‘आकर्षण’ को चरणलाई महत्त्व नदिँदै प्रेमको सबैभन्दा सुन्दर चरण ‘सम्मिलन’ मा प्रवेश गर्छन् । यो चरणमा ‘अक्सिटोसिन’ अर्थात् ‘प्रेमरस’ को यस्तो मायाजाल हुन्छ, जहाँ यौनले बढी मान्यता पाउँछ । यो चरण–प्रवेशपछि नै दुई प्रेमी बलियो बन्धनमा बाँधिन्छन् ।

प्रेमको संकेत ‘हृदय’

विज्ञानअनुसार, प्रेमको भावना हाम्रो हृदयमा उत्पन्न हुँदैन । बरु प्रेम हाम्रो मस्तिष्कमा अक्सिटोसिन, डोपामिन, एड्रिनालिन टेस्टोस्टेरोन, इस्ट्रोजेन र भासोप्रेसिनको प्रवाहमा उत्साह, आनन्द अनि बन्धनको मिश्रित भावनासित सिर्जना हुने गर्छ । र, यी भावले हाम्रो मस्तिष्कका निर्णय अनुभूति गर्ने प्रणालीभित्रको प्रमस्तिष्क नामक केन्द्रलाई असर गर्छ । त्यसैले हो मान्छेलाई प्रेम हेरोइन र कोकिनको लतजस्तो मादक अनुभव भएको । र, एकपटक प्रेमको स्वाद लिएको मान्छे थप प्रेम अनुभूतिमा रम्न लालायित बनिरहेको हुन्छ । प्रेम लतको एक कारण हो, हामी अर्को मान्छेसँग बारबार प्रेममा जोडिइरहेका हुन्छौं । कारण के भने हामी ती रसायनहरूको लतमा हुन्छौं । त्यसैले महत्त्वपूर्ण व्यक्तिसँगको अन्तरक्रियामा हामी आनन्द, उत्साहको तीव्र, तर मधुर उष्णता अनुभव गर्छौं । त्यो वास्तवमा प्रकृतिले नै चलाएको एक जैविक घूसखोरी हो ।

सन् १९५५ मा भिन्सेन्ट डु भिग्नेउडले अक्सिटोसिन र भासोप्रेसिन हर्मोनलाई कर्नेल मेडिकल कलेजमा पृथक् ढंगले संश्लेषण गरे । ‘प्रेम हर्मोन’ को रोचक कार्यप्रणालीका निम्ति उनलाई रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरियो । त्यसपछि मात्रै बुझिएको थियो, ‘प्रेम मुटुको भावनामा नभएर मस्तिष्कको रासायनिक प्रतिक्रियामा आधारित हुन्छ ।’ त्यसैले होला, अचेल ‘प्रेम’ बुझाउन संकेतका रूपमा चलाइने ‘हृदय’ आकारको प्रतीक मुटुसित सम्बन्धित नभई चौधौं शताब्दीमा कामोत्तेजक अनि प्रभावकारी गर्भनिरोधकका रूपमा प्रयोग गरिने सिल्फियम बिरुवाको प्रतीकमा आधारित भएको मानिन्छ ।

प्रेमको रातो रङ

प्रेमको रङ खासमा कस्तो हुन्छ ? रोमान्टिक प्रेमलाई रातो रङले बुझाउँछ । पश्चिमी समाजमा रातोलाई भ्यालेन्टाइन डेसँग जोडेर हेरिन्छ । यसको प्रतीकात्मक र सांस्कृतिक अर्थ छ । फेरि विज्ञानले पनि रातो रङको प्रभावले शरीरमा प्रेमले झैं ढुकढुकी बढाउने, उत्साह र ऊर्जा उत्पन्न गर्दै व्यक्तिमा जोस, वासना अनि इच्छाको भाव जगाउने गर्छ भन्ने प्रमाणित गरेको छ ।

बडो गजबको छ, ‘प्रेम हर्मोन’ । सन् १९६० को दशकमा नासाद्वारा अनुदान प्राप्त परियोजनाअन्तर्गत डाक्टर जोन लिलीले ‘प्रेम हर्मोन’ को प्रभावबारे अनुसन्धान गरिरहेकी थिइन्, डल्फिन अनि मानव सम्बन्धमा रहेर । सन् १९६१ मा प्रकाशित आफ्नो किताब ‘म्यान एन्ड डल्फिन’ मा यस विषयलाई लेखेकी छन् डाक्टर लिलीले । त्यो डाक्टर लिलीको अनुसन्धान नै थियो, जसको आधारमा चलचित्र ‘अल्टर्ड स्टेट्स’ बन्यो । उनको त्यस अनुसन्धानमा तीनवटा डल्फिन प्रयोगमा थिए, ‘पिटर’ (भाले), ‘पामेला’ र ‘सिसी’ । ‘पामेला’ र ‘सिसी’ पोथी डल्फिन भएकाले लिलीले एलएसडी (एक खालको लट्ठ्याउने औषधि) प्रयोग गर्दा डल्फिनले अंग्रेजी भाषाका आवाज नक्कल गरेका थिए । तर, अनुसन्धानमा डल्फिन पिटरलाई प्रशिक्षण दिन लिलीलाई हम्मे पर्‍यो । कारण पिटर यौन परिपक्वताको चरममा अर्थात् ‘अक्सिटोसिन’, ‘डोपामिन’ र ‘टेस्टोस्टेरोन’ हर्मोनको प्रभावमा थियो र बच्चाजस्तै खुब चञ्चल थियो । त्यसैले डाक्टर लिलीले मार्गरेट लोभेटलाई पिटरको प्रशिक्षणका निम्ति नियुक्त गरिन् । तर, त्यस अनुसन्धानमा पिटर अनि मार्गरेट लोभेटबीच अचम्मको सम्बन्ध विकसित भयो, जसबारे मार्गरेटले ‘हसलर’ पत्रिकामा लेख लेखेकी छन्, ‘पिटर मसँग बस्न मन पराउँथ्यो । उसले आफैंलाई मेरो घुँडा, खुट्टा वा हातमा रगड्दा अतीव आनन्द पाउँथ्यो । त्यो पिटरका निम्ति यौन थियो र विज्ञानका निम्ति प्रेम हर्मोन अक्सिटोसिनले निम्त्याएको ‘इन्टरस्पेसिफिक सेक्स (अन्तर प्रजातीय यौन) ।’ तर, पछि अनुसन्धानअन्तर्गत पिटरलाई मार्गरेटसित छुट्याएर राखियो । त्यस निर्णयले एक दुःखद मोड लियो । भयो के भने, डल्फिन पिटरले मार्गरेटसित त्यसरी जबरन छुट्टिनु परेको अतिशय पीडामा गहिरो पानीमा डुबेर आत्महत्या गर्ने स्वतन्त्र पीडालाई नै अन्त्यमा रोजिदियो ।

त्यसैले मलाई लाग्छ, बडो रहस्यमय छ, हर्मोन अक्सिटोसिन अनि प्रेम आलापका कुराहरू । प्रख्यात प्राइमेटोलोजिस्ट जेन गुडमलले चिम्पान्जीहरूको रहस्यमय प्रेमको अध्ययनपछि पत्ता लगाए– चिम्पान्जीको पिसाबमा अक्सिटोसिन हर्मोन बढी मात्रामा पाइन्छ । त्यसैले तिनीहरूको भावनात्मक स्वभाव हुन्छ– झुन्डमा सबैसित मिलेर खाना बाँड्ने ।

सन् २००९ मा रागोना र वाङले गरेको प्रेयरी भोलहरू (नर्थ अमेरिकाको ढुंगे चट्टानमा पाइने मुसाको एक प्रजाति) माथिको एउटा अनुसन्धानबाट अक्सिटोसिनले सामाजिक अन्तरक्रिया र व्यवहारमा प्रमुख भूमिका खेल्दै आएको पाए । त्यस अन्वेषणमा थाहा लाग्यो, प्रेमका निम्ति अक्सिटोसिनसित डोपामिन अनि भासोप्रेसिनको अन्तरक्रिया पनि प्रमुख हुन्छ । जब प्रेयरी भोलहरूका जोडी यौनसम्पर्क गर्छन्, त्यहाँ अक्सिटोसिन र भासोप्रेसिन हर्मोनको प्रवाह हुन्छ । सन् १९९८ को कार्टरको एउटा प्रयोगमा बफादार भोलको जोडीलाई अक्सिटोसिन हर्मोनको इन्जेक्सन दिएपछि छनोट गरिएका अरू प्रेयरी भोलसित यौनसम्पर्कका लागि उक्साउँदा पनि ती प्रेयरी भोलहरू आफूले पहिले नै रोजेको पार्टनरका निम्ति छटपटाइरहेका थिए । प्रेम हर्मोनको यो कस्तो गजबको शक्ति !

युनिभर्सिटी अफ मिनेसोटाका वैज्ञानिकहरूले बीसवटा हिंस्रक सिंहहरूमा अक्सिटोसिन हर्मोन स्प्रे गर्दा तिनीहरू शान्त, सहनशील र नरम आचरण प्रदर्शन गरिरहेका थिए । घरको पाल्तु कुकुरलाई मायालु नजरले हेर्दा पनि कुकुर र मान्छे दुवैको शरीरमा अक्सिटोसिन हर्मोनको प्रवाह हुँदो हो । बन्डिङ हर्मोनको यस्तो प्रभावमा कुकुरले हाम्रो सुरक्षा खातिर खतराहरूलाई पनि बेवास्ता गरिरहेको हुँदो हो ।

...

सायद प्रेम त्यो भाव हो, जब आत्माले प्रेम गीत गाउन थाल्छ तब हाम्रो जीवनमा सुखका फूलहरू आफैं फुल्छन्, अनि त्यतिबेला प्रेमले अधिकार दाबी गर्दैन, तर स्वतन्त्रता दिन्छ । प्रेम तथ्यलाई हामी कविगुरु रवीन्द्रनाथ टैगोरका रचनाहरू ‘रवीन्द्र संगीत’, उपन्यास ‘शेषेर कविता’, ‘चोखेर बाली’, ‘नौका डुबी’ अनि कादम्बरी देवीसितको कविगुरुकै त्यो प्रथम स्वतन्त्र प्रेम सम्बन्धभित्र पनि खोज्न सक्छौं । अरुणा चक्रवर्तीको पुस्तक ‘जोरसाँको’ पढेपछि रवीन्द्रनाथ अनि कादम्बरीको सम्बन्धबारे गहिरो रूपमा बुझ्न सकिन्छ । कादम्बरीदेवी रवीन्द्रनाथका दाजु ज्योतिन्द्रनाथका विवाहिता स्त्री थिइन् । कादम्बरीदेवीले युवा रवीन्द्रनाथको जीवनमा असाधारण भूमिका निर्वाह गरेकी थिइन्, जसले कविगुरुलाई कविता लेख्न प्रेरित गर्थ्यो । तर, समाजमा तिनीहरूको प्रेमसम्बन्ध गोप्य राखियो । मृणालिनीसँग रवीन्द्रनाथको विवाह भएको चार महिनापछि कादम्बरीले अफिमको ओभरडोजमा आत्महत्या रोजिन् । कादम्बरीको त्यस्तो मृत्युमा रवीन्द्रनाथ बडो विचलित बनेका थिए । र, एउटा पत्रमा लेखेका थिए, ‘मेरी रानी मरिसकेकी छन्, त्यसैले मेरो संसारको सुन्दर अपार्टमेन्टको भित्री ढोका बन्द भएको छ, जसले मलाई स्वतन्त्रताको वास्तविक स्वाद दिने गर्थ्यो ।’ रवीन्द्रनाथ सत्तरी वर्षका हुँदा नन्दलाल बोससमक्ष आफ्नो चित्रकारितामा देखिने स्त्री छविमा कादम्बरीदेवीको अनुहार भएको स्विकारेपछि नै हो मलाई पनि प्रेम बडो रहस्यमय लागेको ।

प्रेम मलाई निकोलस र्स्पाक्सले, ‘अ वाक टु रिमेम्बर’ मा लेखेझैं धैर्यवान् अनि दयालु लाग्छ । प्रेमले कहिल्यै ईर्ष्या गर्दैन वा प्रेम कहिल्यै घमन्डी वा अभिमानी बन्न सक्दैन । त्यसैले प्रेमको कुनै अन्त्य छैन र नै प्रेम शक्तिपुञ्ज हो । त्यसैले एक क्षण तपाईं पनि विचार गर्नुहोस्, प्रेमका यति विविध पक्ष पढेपछि तपाईंलाई प्रेमले कस्तो अनुपात देखायो– भावपरक, वासनायुक्त कि रासायनिक ? वा प्रेमको अरू पक्षसित पनि तपाईं अवगत हुनुहुन्छ ? तर, जे भन्नुस्, मलाई त प्रेम कबिरको दोहा (एक किसिमको कविता, जसलाई सन्त कबिरले उपदेश दिँदा प्रयोग गर्थे) जस्तो लाग्छ :

प्रेम ना बारी उपजै प्रेम ना हाट विकाय

राजा प्रजा जेहि रूचै, शीश देयी ले जाय

अर्थात्

प्रेम न उम्रन्छ बारीमा न बिक्छ यो हाटमा

प्रेम चाहने राजा होस् कि प्रजा, शिर (बुद्धि) राख्नुपर्छ हातमा

प्रकाशित : मंसिर २४, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?