कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमा हिप्पी, झ्यालमा खुर्सानी

सिद्धहस्त मानवशास्त्री हुन्– जेरार्ड तोफाँ । सन् १९७० मा फ्रान्सबाट नेपाल आए र नेवार समुदायलाई आफ्नो अध्ययनको विषय बनाए । उनी विशेषतः हिमाली क्षेत्रको समाज र संस्कृतिमा दख्खल राख्छन् । सन् १९७२ देखि १९७७ सम्म ललितपुरको प्याङगाउँमा बसेर विद्यावारिधि सम्पन्न गरे उनले । त्यही क्रममा ठेंचोको नवदुर्गा नाचबारे उनलाई रूचि भयो र त्यसबारे अध्ययन गरे ।

सडकमा हिप्पी, झ्यालमा खुर्सानी

त्यससँगै सन् १९७६ देखि १९८१ सम्म पनौतीको संस्कृति, मिथक र मान्छेहरुमाथि अध्ययन गरे । तोफाँ केही साताअघि काठमाडौंमा थिए । प्रस्तुत छ हिमेश, दीपक सापकोटा र प्रशान्त मालीले उनीसँग गरेको वार्ता :

त्यो काठमाडौं

सन् सत्तरीको दशकमा तपाईंले महसुस गरेको र देखेको काठमाडौं कस्तो थियो ?

म नेपाल आउँदा मैले पेरिस विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरिसकेको थिएँ । संस्कृतिमा हुने अन्तरबारे मेरो रुचि थियो । मैले त्यतिबेला साढे एक वर्षजति नेपालमा बिताएँ । दरबार स्कुलमा बेलुकी फ्रान्सेली भाषा सिकाउने काम पनि गरेँ । अहिलेको तुलनामा त्यतिबेला काठमाडौं उपत्यकाको जनसंख्या निकै कम थियो । काठमाडौं उपत्यका असाधारण थियो । वास्तवमै फरक थियो, जताततै खेतैखेत थियो । तर, सहर फैलिने क्रममा थियो । म गैरीधारामा बस्थें । बगैंचासहितको एउटा सिङ्गो घर महिनाको चार सय रुपैयाँमा लिएको थिएँ । त्यहाँबाट म खेतैखेत भएर लाजिम्पाटस्थित फ्रान्सेली दूतावाससम्म जान्थें ।

जाडो अधिक हुन्थ्यो । साउनमा गुँला पर्वका बेला मध्यरातको १/२ बजेतिरै मानिसहरू बाजा बजाएर स्वयम्भू जान्थे । धिमे र बाँसुरी बजाइरहेका हुन्थे । त्यो संगीत बडो मधूर सुनिन्थ्यो । यसले पनि देखाउँछ– अहिले र उहिलेको समयमा कति धेरै फरक थियो भनेर ।

काठमाडौं र ललितपुरभन्दा भक्तपुर फरक थियो कि ?

म यहाँ आउँदा जर्मन प्रोजेक्ट सुरु भएकै थिएन । या सुरु हुने तर्खरमा थियो । भक्तपुर बाँकी दुई सहरभन्दा फरक थियो । यो गाउँहरूले भरिएको सहर थियो । आँखिझ्यालमा लहरै खुर्सानीका राता झुप्पा सुकाइएका हुन्थे ।

यातायातको सुविधा कस्तो थियो ?

थिएन भन्दा हुन्छ । केही बस हुन्थे । मलाई राम्रोसँग याद छ, पनौती पुग्न सकस थियो । बनेपा पुगेपछि त्योभन्दा अन्त पुग्न हिँड्नैपर्थ्यो । म धैरैपटक बनेपाबाट पनौतीसम्म हिँडेर गएको छु । लगनखेलबाट चापागाउँ र प्याङगाउँ हिँडेरै जानुपर्थ्यो । थोरै संख्यामा रुसी जिप हुन्थे यातायातको साधन । टोयोटाजस्ता जापानी गाडी आउनुअगाडिको समय थियो त्यो । काठमाडौंमा भने बाघबुट्टे हिन्दुस्तानी गाडी हुन्थे ।

पहिरनको विशेषता के कस्तो थियो ?

ज्यापुनी मय्जुहरू मज्जाले हाकुपटासीमा सजिएर हिँड्थे । अधिकांश मानिस जुत्ता नलगाएरै हिँडिरहेका हुन्थे । पुरुषमध्ये लगभग सबैले नेपाली टोपी लगाउने गर्थे । भेषभूषामा कुनै प्रकारको अनिवार्यता थिएन ।

पश्चिमा र यहाँको संस्कृतिमा केही अन्तर थियो ?

उताको र विशेषतः काठमाडौं उपत्यकामा रहेको संस्कृतिको अन्तर बडो अचम्मको थियो । उतिबेलाको काठमाडौं बडो फोहोर थियो । जताततै हिले बाटो थियो । शौचालयको राम्रो व्यवस्थै थिएन । काठमाडौं उपत्यकाको रहनसहन हेरेपछि अर्कै विश्व आएको अनुभव गरेको थिएँ ।

अनि ललितपुर कस्तो थियो ?

पाटनका साँघुरा गल्लीहरू र परिवेशमा काठमाडौंभन्दा केही अन्तर थियो । मलाई ज्यापू समुदायबारे अध्ययन गर्न मन थियो । तर, समाज त्यति खुला थिएन । बाहिरका मान्छेसँग खुलेर कुराकानी गर्न डराउँथे मान्छेहरू । त्यतिबेला राजनीतिक र सामाजिक अवस्थै सायद त्यस्तो थियो । तर, समयसँगै काठमाडौंको समाज बढी खुलेको छ । चाहनेका लागि यहाँको समाजबारे अध्ययन गर्न अहिले अधिक सजिलो भएको छ । हाम्रा लागि नियुक्त ड्राइभर पनि चित्त नबुझ्नेबित्तिकै अपशब्द प्रयोग गर्न हिच्किचाउँदैन थिए । तर, अब त्यस्तो स्थिति छैन ।

राजनीतिक स्थिति कस्तो थियो ?

राजतन्त्र थियो । पत्रपत्रिका न्यून थिए । पार्टीहरू पनि लगभग नभएकै स्थिति थियो । राजा महेन्द्र थिए । फ्रान्सेली दूतावासको कार्यक्रममा उनी परिवारसहित आउँथे ।

तपाईं चाहिँ के गर्नुहुन्थ्यो त्यतिखेर ?

म कूटनीतिक कर्मचारीका रूपमा थिएँ, एकपल्ट म अमेरिकी दूतावासको निमन्त्रणामा उनीहरूको कार्यक्रममा गएको थिएँ । त्यस कार्यक्रममा ज्ञानेन्द्र पनि आएका थिए । हामी समान उमेरका थियौं, त्यसैले हामीलाई सँगै राखिएको थियो । यो एक प्रकारले युवाहरूका लागि अलग्गै छुट्याइएको टेबल थियो । ज्ञानेन्द्रलाई मैले पछि पेरिसमा पनि भेटेको थिएँ । महेन्द्र कोषको काममा उनी त्यता आएका थिए । उनी कुलीन वर्गका देखिन्थे, या उनको व्यवहार मलाई त्यस्तो लाग्थ्यो । आफ्ना दाजु राजा वीरेन्द्रभन्दा धेरै फरक थिए उनी ।

कस्ता थिए राजा वीरेन्द्र ?

धेरै भलादमी । मैले उनीसँग पनि औपचारिक रूपमै भेट्ने अवसर पाएको थिएँ, उनी राजकीय भ्रमणमा फ्रान्स आउँदा । र, अन्य अवसरमा पनि । उनी विनम्र र शान्त स्वभावका थिए ।

अनि राजा महेन्द्र चाहिँ ?

महेन्द्र भने अधिकांश समय विद्वान्हरूबाट घेरिएका हुन्थे । पञ्चायती व्यवस्थाबारे कुराकानी भइरहेको हुन्थ्यो । राजा महेन्द्रमा अन्य राजनीतिक विचारधाराहरूमा पनि खुबै रुचि रहेको देखिन्थ्यो । पञ्चायती व्यवस्थाका लागि उनले ठोस विचारधारा बनाएका थिए । तर, पक्कै पनि त्यति बेला प्रजातन्त्र थिएन ।

त्यो बेला परिवर्तनका आवाज उठ्न थालेको थियो ?

नेपाली युवाहरूले विदेशमा गएर पढ्ने परम्परा सुरु भएको थियो । अमेरिका, रुस वा जापानतिर । तत्कालीन नेपाली परिस्थितिमा जुन राजनीतिक अवस्था थियो, त्यसको तत्कालीन समाजसँग मेल हुन छाडेको थियो ।

तपाईं काठमाडौं हुँदा हिप्पीवय कायम थियो अथवा अन्त्य हुँदै थियो ?

म काठमाडौं आउँदा हिप्पी युग सिद्धिँदै थियो । मलाई हिप्पी संस्कृतिबारे धेरै रुचि थिएन । फेरि मलाई गाँजा र चरेसमा कुनै मतलब पनि थिएन । मलाई याद छ, हिप्पीहरू संगीतमा खुबै चाख लिन्थे । राजदरबारवरिपरि सांगीतिक कार्यक्रम भएकोसम्म याद छ र त्यसमध्ये केहीमा म आफैं पनि श्रोता भएको अनुभव छ । खासमा त्यो हिप्पी–काल टुंगिनै लागेको बेला थियो । काठमाडौंमा भेटिएका हिप्पीहरू केही पनि काम गर्दैनथे । र, मस्त थिए, आफ्नै दुनियाँमा रमाइरहेका । तिनलाई अरूबारे मतलब पनि हुँदैनथ्यो । मैले काठमाडौंमा त्यस्ता अमेरिकी हिप्पी पनि देखें, जो आधा हिप्पी संस्कृतिसँग अभ्यस्त थिए भने आधा सामाजिक कामकाजमा पनि व्यस्त । उनीहरू फरक भएर पनि समानान्तर समाजमा बाँचिरहेका थिए । उनीहरूप्रति भने मेरो रुचि थियो । मैले त्यही बेला लेखक अभि सुवेदीलाई पनि भेटेको थिएँ । केही अमेरिकीलाई सितार र तबला बजाइरहेको पनि भेटेको थिएँ ।

तिनको खास अखाडा पनि हुन्थ्यो ?

अधिकांश हिप्पी झोछेँ फ्रिक–स्ट्रिटमा हुन्थे । केही भने स्वयम्भूवरिपरि पनि हुन्थे, वास्तवमै केही नगरी धूवाँमा रुमल्लिरहेका । त्यतिबेला फ्रान्सेली राजदूतावासमा हिप्पीहरूकै कारण धेरै समस्या हुन्थ्यो । केही फ्रान्सेली हिप्पीहरूलाई पुलिसले समातेको हुन्थ्यो, हाम्रो काम तिनलाई छुटाएर फ्रान्स फर्काउनु हुन्थ्यो । उनीहरूका कारण फ्रान्सेली राजदूतावास अप्ठ्यारोमा पर्ने गर्थ्यो । त्यसैले पनि मलाई हिप्पीहरूप्रति रुचि थिएन ।

काठमाडौंमा अहिलेझैँ रेस्टुरेन्टहरू थिए त्यतिखेर ?

धेरै कम । थिएन नै भन्दा हुन्थ्यो । लाजिम्पाटमा फ्रान्सेली राजदूतावास तलतिर एउटा चिनियाँ रेस्टुरेन्ट थियो । त्यसको नाम ‘वाङ’ थियो । एउटा अर्को रेस्टुरेन्ट थियो इन्दिरा भन्ने, भूगोलपार्क नजिकै । एक तलामाथि । यो भने इन्डियन रेस्टुरेन्ट थियो । त्यति बेला त्यो निकै लोकप्रिय थियो र राम्रो पनि थियो । बोरिसले भर्खरभर्खर आफ्नो होटल बन्द गरेको समय थियो त्यो, जहाँ अहिले निर्वाचन आयोग छ । तर, उनले एउटा अर्को रेस्टुरेन्ट खोलेका थिए । र, त्यसमा मीठामीठा रुसी परिकार पाइन्थ्यो । त्यतिबेला ठमेल भन्ने नै थिएन । थबही भन्ने थियो, टोलको रूपमा तर यो कुनै पयर्टकीय केन्द्र नै थिएन । त्यो नेवार किसानहरूको थलो थियो ।

नेपाल भाषा र नेपाली कसरी सिक्नुभयो ?

दरबार स्कुलमा हुँदा मेरा एक विद्यार्थी थिए– केशवराज भण्डारी । उनले नै मलाई नेपाल भाषा बोल्न सिकाए । एक वर्षमै मैले नेपाल भाषा लगभग सिकें । पछि त्यसबारे थप जानकारी पूर्णहर्ष वज्राचार्यबाट पाएँ । साँखुका उनी वसन्तपुरमा बस्दथे । साइकल चढेर म बसेको डेरामा आउँथे र हामी नेपाल भाषामा कुराकानी गर्थ्यौं । प्याङगाउँ र पनौतीका मानिस मैले नेपाल भाषा बोलेकोमा निकै खुसी हुन्थे । मलाई नेपाल भाषा मात्र आउने, नेपाली बोल्न नआउने । त्यसैले पनि उनीहरू अझ मेरो नजिक भए । नेपाली भने मैले पछि मात्रै सिकेको थिएँ, खेमबहादुर विष्टबाट । उनी डोरबहादुर विष्टका भाइ थिए । डोरबहादुर निकै राम्रो मान्छे, निकै बौद्धिक मान्छे ।

उनी बेपत्ता भएकोबारे सुन्नुभएको छ ?

सुनेको हुँ । तर, उनी के–कस्तो परिस्थितिमा हराए, त्यसबारे म केही पनि भन्न सक्दिनँ । यसबारे उनका छोरा हिक्मत विष्टसँग कुराकानी गरेको थिएँ । उनलाई पनि स्पष्ट कारण थाहा रहेनछ । उनी जातका कारण कोही ठूलो र सानो हुन्छ भन्ने कुरासँग विमति राख्थे । उनी कहाँ गए, कसरी हराए सायद कहिल्यै नखुल्ला ।

त्यो प्याङगाउँ

त्यतिबेलाको प्याङगाउँ (संगु) कस्तो थियो होला ?

अन्य नेवार बस्तीभन्दा निकै भिन्न । भाषा बेग्लै थियो, बोल्ने तरिका पनि फरक । प्याङवासी मानापाथी बनाउँथे र खेतीपातीमा निर्भर थिए । केटाले दौरा सुरुवाल र केटीहरूले हाकुपटासी लगाउँथे । सुग्घरी थिएनन् । बस्तीमा मकैका

थाङ्ग्रा, घरको आँगनमा राँगा, भैंसी बाँधिएका हुन्थे । उपियाँ, जुका, लामखुट्टेको बिगबिगी थियो । प्रत्येक घरको भुइँतलामा राँगा, भैंसी, कुखुरा पालिएको हुन्थ्यो । घरहरू व्यवस्थित थिएनन् । टोल–चोक अत्यधिक फोहोर थियो । फोटो खिचाउन डराउँथे मान्छेहरू । प्याङगाउँका मान्छेहरूमाथि मैले सन् १९७७ मा पीएचडी गरेँ ।

तस्बिरहरू : केथव थापा

नवदुर्गा नाचमाथि अध्ययन गर्ने विचार चाहिँ कसरी आयो तपाईंलाई ?

मानिसहरू नवदुर्गा मन्दिर भन्नेबित्तिकै धेरै डराउँथे । विशेषगरी राति मन्दिरवरिपरि हिँडडुल गर्दैनथे । ठेचोमा नवदुर्गा नाच हुन्छ भन्ने थाहा पाएपछि मैले मन्दिरमा जाने इच्छा व्यक्त गरेँ । तर, प्याङगाउँका स्थानीयले मलाई त्यहाँ सुरक्षित नभएको भन्दै नजान आग्रह गरे । नवदुर्गा नाचप्रति स्थानीयको डर देखेरै त्यसमाथि अध्ययन गर्न रुचि जागेको हो ।

नाचबारे के थाहा पाउनुभयो ?

संगुमा अध्ययन गरेको केही वर्षपछि म ठेंचो आएको थिएँ । एक जना ज्यापूको घरमा बसेँ । म बसेको घरका मालिक समाजमा प्रतिष्ठित व्यक्ति परेछन् । यसले मलाई अध्ययन सिलसिलामा गुठियारहरूसँग भेट्न, जानकारी लिन सहज भयो । अनि बस्तीको सर्भे गरेँ । नवदुर्गा नाच, ब्रह्मायणी र बालकुमारीको ‘मूः’ जात्रामा भाग लिएँ । पाटन दरबार क्षेत्रमा प्रदर्शन गरिएको नाचमा पनि सहभागी भएँ । नाच तान्त्रिक विधिबाट सञ्चालन हुने रैछ । मालाकार थरका समुदायबारे पनि अध्ययन गरेँ ।

ठेंचोमा महर्जन र मालाकार समुदाय थिए । यस नाच पहिले ज्यापू समुदायले सञ्चालन गर्थे । उहिले १२ वर्षे जात्रामा नरबलि दिने प्रचलन थियो र न्हँछे गुठीका देवगणले आफ्नै ज्वाइँलाई बलि चढाएछन् । अनि छोरीले दिएको श्रापका कारण गथु (मालाकार) समुदायमा नाचको जिम्मा सरेको भन्ने जनविश्वास छ । त्यतिबेला न्हँछे गुठी पनि अवलोकन गरेको थिएँ ।

नेपालमा कुनै कालखण्डमा शक्तिपीठहरूमा नरबलि दिने चलन थियो र ?

थियो भन्ने सुनेको हुँ । त्यतिबेला नवदुर्गा मन्दिरबारे कस्तो हल्ला सुनिन्थ्यो भने यदि कुनै मन्दिरमा नरबलि दिइन्थ्यो भने त्यो गोप्य हुन्थ्यो । मेरो विचारमा नवदुर्गा मन्दिरमा रगतसँग सम्बन्धित धेरै चिज छन् । धेरै सूचक छ, जुन राजदरबारबाटै स्वीकृति प्राप्त गरेको हुन्थ्यो । मलाई लाग्छ, त्यतिबेला नरबलिको सम्भावना थियो ।

ठेंचो बस्ती र नवदुर्गा मन्दिर कस्तो थियो त्यतिखेर, अनि त्यसको स्वरूप ?

प्याङगाउँ अध्ययनका सिलसिलामा चापागाउँको बज्रबाराही मन्दिर पुगेँ । पुरानो नेवारी बस्ती बुलु घुमेँ, जुन अत्यन्त मनमोहक र रमणीय थियो । घुम्दै जाने क्रममा ठेंचो पुगेँ । त्यहाँको बालकुमारी र ब्रह्मायणी मन्दिर घुमेँ । घरहरू मौलिक शैलीका थिए । पोखरीमा पानी सफा थियो । दिउँसो भैंसीलाई नुहाउन ल्याइथ्यो । राजकुलोमा सफा पानी बग्थ्यो । नवदुर्गा मन्दिर भने अन्य मन्दिरभन्दा फरक थियो । गजुर थिएन । त्यो मन्दिर, मन्दिरको आकारमा पनि थिएन । बाहिरपट्टि राँगाको खप्परसहितको सिङ र अण्डाका बोक्राको माला उनेर राखिएको थियो ।

भर्खरै ठेंचो भ्रमणमा आउनुभयो । पुराना दिनहरूका तस्बिर आए अन्तरकुन्तरमा ?

पुराना दिन सम्झेर म केहीबेर घोरिएँ । अहिले भूकम्पले नवदुर्गा र ब्रह्मायणी मन्दिरमा क्षति पुर्‍याएकामा खिन्न भएँ । तर, मलाई धेरै खुसी लाग्यो, पुनर्निर्माण गर्ने नेपालीहरूको क्षमता देखेर । मौलिक शैलीमा बनेको मन्दिरबाट प्रभावित बनेँ । मन्दिरको गर्भगृहको सजावटले दंग परेँ । त्यतिबेला मन्दिरमा प्रवेश गरेको थिइनँ । अनि पहिले बस्तीका घरहरू मौलिक शैलीमा थिए । ती मन्दिरभन्दा अग्ला हुँदैनथे । अहिले नेवार वास्तुकला शैलीको साटो आधुनिक शैलीमा बनेका घर देखेर पनि दुःख लाग्यो ।

त्यो पनौती

पनौतीमा काम गर्दाको अनुभव चाहिँ कस्तो रह्यो ?

म पनौती जाँदा पञ्चायतकाल थियो । त्यहाँ एकजना कर्माचार्यको घरमा बस्ने व्यवस्था मिल्यो । त्यहाँका मानिस धेरै उदार थिए । पनौतीमा १४/१५ थरका मानिस बस्थे । प्याङगाउँभन्दा पूरै फरक थियो पनौती । म र अन्य तीनजना आर्किटेक्ट साथीहरूले कसरी अध्ययन गर्लान् भन्नेबारे त्यहाँका बासिन्दालाई अत्यन्त चासो थियो । हामीले फ्रेन्च आर्किटेक्ट र स्थानीय गरी तीनवटा टिम बनायौं । एरियल फोटो लिंक गरेर नक्सा बनायौं । यो नै पनौतीको पहिलो नक्सा हो ।

कस्तो थियो त्यहाँको जनजीवन ?

काठमाडौंभन्दा निकै भिन्न थियो पनौती । थने (माथि) र क्वने (तल) अथवा कांग्रेस र कम्युनिस्ट गरी दुई भागमा विभाजित थियो सहर । बहुदल आएपछि सेटल भयो । मानिसहरू सहयोगी थिए । काम गर्न निकै सजिलो थियो । हिन्दु संस्कृति हावी थियो । संन्यासीहरू बाहिरबाट आउँथे, त्रिवेणीमा बस्थे । मकर मेला लाग्ने ठाउँ पनि यही हो । स्थानीयवासी बिहान पूजाका लागि आउँथे, बेलुका बत्ती बाल्न । खोलानाला सफा थियो ।

जनसंख्या कति थियो ?

सम्भवतः ३ हजार मात्रै मानिस थिए पनौतीमा । अहिले बढेर १६ हजार पुगेछ । पञ्चायतका एकजना कर्मचारीले प्रत्येक घरधुरीमा पुगेर तथ्यांक संकलन गर्न र सर्भे जान मद्दत गरेका थिए । त्यहाँ ९६ प्रतिशत नेवार थिए । इन्द्रेश्वर महादेव मन्दिरमा भारतबाट आउने पुजारीहरूसमेत नेपाल भाषा बोल्थे । नमोबुद्धसँग सम्बन्ध राख्ने दुईवटा बौद्ध समूह थिए ।

तपाईंले पनौतीको लायकु (दरबार) बारे पनि अध्ययन गर्नुभएको थियो । त्यो अनुभव चाहिँ कस्तो थियो ?

पुरात्तत्व विभागले दरबारबारे चासो दिएको थिएन । खुला ठाउँ थियो, उत्खनन भएको थिएन । धान सुकाउने गर्थे मान्छेहरू । तलेजु मन्दिर पनि थियो त्यहाँ । मन्दिरको मूर्ति भारतबाट जयस्थिति मल्लको पालामा नेपाल ल्याएको भनिन्छ । लिच्छविकालको नभई त्यो मल्लकालको दरबार हो । त्यतिबेला बनेपा शक्तिशाली थियो । पनौती बनेपाबाट शासित थियो र त्यहाँ राजाका एजेन्ट बस्थे । पनौतीले बनेपामा कर बुझाउँथ्यो । मेरो अध्ययनपछि फ्रान्सेली दूतावासले पनौतीमा रुचि राख्यो । पुरातत्त्व विभागसँगको समन्वयमा पुनर्निर्माणको प्रोजेक्ट प्रारम्भ भयो । बडो प्रिय छन् अध्ययनका ती दिनहरू, त्यो समय र त्यस कालको सम्झनाको सुगन्ध !

प्रकाशित : मंसिर १७, २०७९ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?