‘आमा ! रगत त उसको पनि रातै छ’- कोसेली - कान्तिपुर समाचार

‘आमा ! रगत त उसको पनि रातै छ’

हाम्रो आँखामा आँसु थियो । आमाको आँखामा आक्रोशको, मेनुकाको आँखामा विद्रोहको र मेरो आँखामा विभेदको ।
मधु शाही

कक्षामा ऊ अरू विद्यार्थीभन्दा भिन्न थिई । रूपदेखि व्यवहारसम्मै बेग्लै । हेर्नमा अरू सग्ला थिए– नाक, मुख, आँखा, कान, हात–खुट्टा सबै सलक्क परेका । तर, उसका आँखा फरक थिए । तिनलाई सामान्य बोलीचालीमा ‘डेरा आँखा’ भनिन्थ्यो । एकातिर हेर्दा अर्कैतिर हुन्थे आँखाका नानी । उसलाई स्कुलमा सबैले जिस्क्याउँथे, होच्याउँथे– डेरी भन्दै ।

‘डेरी’ हुनु उसको दोष थिएन । तर, समाज उसको एक अंगकै कारण ऊमाथि अपराध–भाव महसुस गराइरहन्थ्यो । ऊ दिक्क मान्थी । भन्थी, ‘यस्ती किन जन्मेकी हुँला है ! बहिनी कत्ति राम्री छ, मचाहिँ... !’ यो आखिर कहिल्यै उत्तर नआउने जटिल प्रश्न थियो ।

आँसुले टम्म भएका उसका आँखा हेर्दै म भन्थें, ‘तँलाई गाजल खुब सुहाउँछ, लगाउन नछुटाएस् है !’ ऊ अर्थात् मेरी प्रिय सखी मेनुका रुँदारुँदै मुसुक्क हाँस्थी । उसलाई थाहा थियो– यस्ता कुरा गरेर म उसलाई खुसी पार्न चाहन्छु । ओठमा लाली र आँखामा गाजल कहिल्यै छुटाउँदिनथिई । स्कुलमा पढ्न होइन, साथीहरूसँग गफिन मन लाग्थ्यो । म स्कुल नगएको दिन उसलाई अँध्यारो–अँध्यारो लाग्थ्यो रे । मेरो पनि उस्तै थियो अवस्था । ऊसँग जति खुसी अरू साथीसँग म हुन्नथें ।

घरमा पाकेको मीठो खाना कापीका पानामा पोको पारेर स्कुल ल्याउँथी ऊ मात्र मलाई चखाउन । रूखमा फलेका अमिलाका डल्ला, बेलौतीका दाना (अम्बा), सिलौटामा पिसेको नुन र चुक ! कहिलेकाहीँ भुटेको मकै–भटमास । उसको र मेरो मित्रतादेखि जल्थे अन्य साथीहरू । केही मेरो कानमा सुटुक्क भन्थे– यो डेरीसँग किन संगत गरेकी ? हामी छैनौं र ?

मेनुकाको शरीर र अंगहरूसँग मेरो चासो, लगाव थिएन बरु लगाव थियो उसको हार्दिकतासँग । उसको हृदय विशाल थियो, साँच्चै विशाल । मानवताको उच्चतम नमुना थिई ऊ । ऊ ब्राह्मण परिवारकी, म दलित परिवारकी । तर, मेनुकाको सोच भिन्न थियो । म दलित हुँ भन्ने आभास उसले कहिल्यै गराइनँ । असलमा ऊ एक क्रान्तिकारी थिई, जो समाज अब फेरिनुपर्छ भन्थी । साथीको आत्मसम्मानका लागि परिवारसँग जुध्ने हिम्मत जुटाएकी थिई । उसको त्यो साहस मेरो स्मृतिमा बेलाबेला ओहोरदोहोर गरिरहन्छ ।

...

हाम्रो स्कुल थियो– पाल्पा, अर्गली–३ साविक तानसेन नगरपालिका–१४ को त्रिभुवन माध्यमिक विद्यालय । मेनुका किसान परिवारकी थिई । घाँस–दाउरा, घर–धन्दा नसके स्कुल आउन मुस्किल थियो उसलाई । घाँस–दाउराको चक्करमा कहिलेकाहीँ त उसको स्कुलै छुट्थ्यो । ‘हिजो स्कुल किन नआएकी ?’, मेरो प्रश्नमा मेनुका निराश हुन्थी, ‘खरबारीबाट घाँस काट्दै ढिला भयो बाई ।’

एक दिनको उसको अनुहारको चमक खुब सम्झना आउँछ । त्यो दिन मेनुका असाध्यै खुसी थिई । स्कुल हाफ छुट्टी भएपछि बारीको डिलमा बसेर खुसी हुनुको राज खोली उसले । उसको हातमा एउटा चिठी थियो । हवाइजहाज उडिरहेको चित्र भएको, रातो र गाढा नीलो घेरा भएको रंगीन खाम मलाई थमाई उसले । त्यसमा के लेखिएको थियो ? मलाई चासो थिएन । तर, मेनुकाको अनुहारमा झल्किएको खुसीले मेरो उत्सुकता बढ्यो चिठी पढ्न ।

‘प्रिय मेनुका... सागरझैं गहिरो माया र सम्झना छ...,’ चिठीको पहिलो हरफ थियो । ऊ मख्ख थिई । ‘बाई उसले माया गर्छ रे मलाई’, ऊ भन्दै गई, ‘भेट्छु भन्छ, म भेट्दिनँ मात्रै लेखेर चिट्ठी पठाउँछु ।’ उसको चित्तमा डर थियो– भेटेपछि आँखाकै कारण उसको प्रेमी छुट्ला भन्ने । ऊ चाहन्थी– आफूलाई माया गर्नेहरू सधैं साथ रहून् । तर, चाहनाले मात्रै के हुन्छ ? उसको र मेरो पनि विछोडको बेला आयो । कक्षा ८ पास गरेपछि थप पढ्न म काठमाडौं जाँदै थिएँ । यो कुराले मेनुकाको मन पोल्यो । ८ कक्षाको नतिजा आएको दिन उसले मलाई आफ्नो घर लिएर गई । घरमा उसकी आमा थिइन्, गोठमा भैंसीलाई कुँडो खुवाउँदै । मेनुका सरासर घरभित्र पसी । स्कुलका लुगा फेरी । म पिँढीमा टुसुक्क बसेकी थिएँ, रातो माटाले लरक्क लिपपोत गरिको चिसो भुइँमा । उसले मलाई चकटी दिई, बस्न भनी । र, मेरै लागि खाजा बनाउन भान्सा पसी ।

गोठमा व्यस्त थिइन् आमा । आमाको आँखा छलेर उसले मलाई भान्सामा बोलाई । म डरले थुरथुर भएँ । गोठतिर हेर्दै मैले उसलाई भान्सा नपस्ने इसारा गरिरहेँ । खै किन हो, त्यो दिन ऊ साह्रै जिद्दी भई । आमाकै अघि घरभित्र बोलाउने आँट गरी । मैले मान्दै नमानेपछि आफैं घरको संघार नाघेर पिँढीमा आई । चपक्क हात समाएर भित्र लैजान खोजी । म अनकनाइरहेँ । उसकी आमाले घर पस्न दैलो टेक्दै गरेको अवस्थामा हामीलाई देखिन् । ‘ऐ अलच्छिनी हो ! तिमारुले के गरेको ?,’ आमा रिसले चर्को स्वरमा कराइन् । मेनुकाले मेरो हात छाडी, मैलेचाहिँ उसलाई तानेर पिँढीमा ल्याएँ ।

‘उसलाई भित्र लान किन हुँदैन र आमा ?’ मनेकाले गम्भीर प्रश्न गरेकी थिई त्यो दिन । आमाको जवाफ थियो, ‘पापिनी धर्मकर्म बिर्सिस् !’ मेनुका क्रान्तिकारी सुनिई, ‘अनि उसको पनि हात काटे रगत रातै आउँछ नि हाम्रोजस्तै ।’

आमा झनै चिढिइन् । गोठका चिरुवा दाउरा ट्याप्प टिपेर अन्धाधुन्ध मेनुकातिर फालिन् । मेनुकाको फ्रक छुँदै दाउरा परतिर हुत्तियो । आमाको रिस अझै मरेन, ‘त्यसो भए भैंसीको रगत पनि रातै हुन्छ, भैंसीलाई घरभित्र राख्छेस् त ?’

आमासँगको युद्धमा मेनुका हारी । तर, उसको हिम्मत र मानवताप्रतिको त्यो सम्मान–भाव सधैं सम्झनयोग्य छ । जात व्यवस्थाले त्यहाँ हामी तीनै जना पीडित थियौं । तीनै जनाको आँखामा आँसु थियो– आमाको आँखामा आक्रोषको, मेनुकाको आँखामा विद्रोहको र मेरो आँखामा विभेदको । दलित भएकै कारण मैले विभेदको त्यस्तो पीडा पहिलो पटक भोगेकी थिएँ । जनावरसँग मान्छेको यसरी तुलना गरिँदा मेरो बालमस्तिष्कमा कस्तो प्रभाव पर्‍यो ? त्यसको हिसाब कसले राख्ने ? अनि त्यो दिन मेनुका रुँदै पिढीमा थचक्क बसी, म रुँदै घरतिर लागेँ ।

आँखा अरुभन्दा फरक भएकैले घरमै विभेद खेपेकी थिई मेनुकाले । तिरस्कारले थोपरेको गहिरो पीडा थियो उसमा । दलित परिवारमा जन्मेकै कारण मेनुकाजस्तै विभेदको पीडामा थिएँ म । दुवैभित्र उस्तैउस्तै घाउ थियो । त्यसैले हामी मित्र थियौं । जीवनमा थुप्रै साथी बने, तर मेनुका सधैं मेरो स्मरणमा छे । पढे–लेखेका, सभ्य भाषा बोल्ने सबै मान्छे चेतनशील हुँदैनन्– ‘सभ्यहरूको सहर’ काठमाडौं आएपछिको मेरो बोध हो यो । ‘छुवाछूत म गर्दिनँ, आमाबुबाको मन दुखाउन सक्दिनँ’ भन्छन् ‘सभ्य’ सहरका अधिकांश युवा ।

एउटा गोष्ठीमा मेरी सहकर्मीले भनेकी थिई, ‘ल हेर्नुस् मैले दलित साथी बनाएकी छु, कहाँ छ विभेद ?’ विभेद शब्दमा छ, आशय र भावमा पनि छ । त्योबेला मैले मेनुकालाई सम्झिरहेँ । उसको निष्कपट विद्रोह सम्झिरहेँ । त्यो विद्रोह केवल मानवताको पक्षमा थियो । चेतनाका हिसाबले सहरका ‘सभ्य’ भन्दा धेरै माथि थिई ऊ । मिस यु मेनुका !

प्रकाशित : मंसिर १७, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्

हुनेवाला दुलहाको चिठी

म भन्ने गर्थें– विचार मिल्ने केटासँग बिहे गर्छु । भाउजूले सोध्नुभयो– कस्तो लाग्यो तपाईंको दुलहा ? मैले ‘राम्ररी देखिनँ’ भनें ।
गंगा कसजू

श्री आदरणीय विनय सर, अटुट सम्झना र भावपूर्ण श्रद्धाञ्जली ।केही दिन भयो तपाईंको धेरै सम्झना आइरहेको छ । मलाई सधैंका लागि छाडेर जानुभएको दिन नजिक आएर पनि होला, तपाईंको यादले सताइरहेको । तपाईंसँग विछोड भएको दिनको याद आउँदा मलाई सधैं पीडाबोध हुनुका साथै विक्षिप्त तुल्याउँछ ।

आँखाबाट बलिन्द्रधारा बग्नुका साथै भक्कानिन पुग्छु म । तपाईंलाई बचाउन नसकेकामा ग्लानि महसुस गरिरहन्छु । आज म तपाईंको अन्तिम दिनको विषय खोतल्न चाहन्नँ, बरु तपाईंसँग पहिलो भेट भएको दिनको सम्झना गर्न चाहन्छु । यही सम्झना सबैलाई साझा गर्न चाहन्छु ।

०००

२०३२ सालमा मेरा कान्छा दाइ डा. कृष्णचन्द्र राजभण्डारी भैरहवा ब्यारेकमा गुल्मपति हुनुहुन्थ्यो । उहाँले पाल्पा तानसेनको एक जना मित्रलाई आफ्नी बहिनीको विवाहका लागि सज्जन खालको कुमारको खोजी गर्न अनुरोध गर्नुभएको रहेछ । मित्रले तानसेननिवासी विनयकुमार कसजूको नाम बताउनुका साथै उहाँबारे विस्तृत परिचय पनि दिनुभएछ । विनय सरबारे सुन्नु भएपछि दाइलाई एकदमै मन परेछ । र, मित्रलाई भेट्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएछ ।

दाइको मित्र हुनुहुन्थ्यो तानसेन मखनटोलनिवासी कप्तान रामबहादुर थापा । उहाँ त्यतिबेला भैरहवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो । २०३२ सालको श्रावणबाट कप्तान थापाको विनय सरसँग पत्राचार हुन थालेछ । उहाँले विनय सरलाई लेखेका चिठीमा वागलुङ निवासी एक जना महाशयले आफ्नो प्यारो वस्तु तपाईंलाई दिन चाहनुभएको छ भनेर लेख्नुभएको रहेछ । विनय सर के होला भनी एकछिन घोत्लिनुभएछ, पछि पुस्तकहरू होला भन्ने सोच्नुभएछ । किनभने उहाँ र कप्तान राम थापाबीच तानसेनको धवल पुस्तकालयमा बराबर भेटघाट भइराख्दो रहेछ ।

कप्तान थापाले अरू कसैसँग दसैंमा विनय सरको बिहे पक्का भएको सुन्नुभएछ । फेरि दसैं सकिएपछि बिहे नभएको कतैबाट थाहा भएछ । त्यसपछि विनय सरसँग सोधपुछ गर्दा बिहे नहुने जानकारी पाएर आफ्नो प्रस्ताव राख्नुभएछ । कन्या र कुमारको प्रत्यक्ष देखभेटपछि कुरा अगाडि बढाउने समझदारी बनेछ । र, मलाई वागलुङबाट भैरहवा बोलाउनुभयो । म आएँ । २०३२ पुसको १९–२० तिर आएँजस्तो लाग्छ, केही दिनमा भेटघाटको कार्यक्रम बन्यो ।

भेटघाटका दिन भैरहवाको मेरो शिक्षिका साथी माया थापा आउनुभएको थियो । म उहाँसँगै बसिरहेकी थिएँ । उहाँहरू आइपुगेपछि दाइ–भाउजू बाहिर बरन्डामा निस्कनुभयो । त्यहाँ विनय सरसँगै उहाँकी कान्छी आमा अमृत, मामाका छोरा रवीन्द्र लाकौल, साथी चिरञ्जीवी प्रधान र बहिनी अनुमति थिए ।

सबै जना त्यहीँ बसेर कुराकानी गर्न थाल्नुभयो । भित्र बसिरहे पनि मेरो ध्यान भने बाहिरै थियो । बाहिरको सबै कुराकानी भित्र सुनिन्थ्यो । भाउजूले मेरो परिचय दिँदा धेरै प्रशंसा गरेर कुरा गर्नुभएको सुन्दा मलाई संकोच लाग्यो । त्यसपछि मलाई बोलाउनुभयो, म गएर सबैलाई नमस्ते गरें, भाउजूले भित्र जान भन्नुभएपछि म कोठामा आएर बसें । उहाँहरूबीच कुराकानी भइरह्यो । त्यहीबीचमा मलाई फेरि बोलाउनुभयो र गएँ । विनय सरले फेरि हेर्छु भन्नुभएको रहेछ । दोस्रो पटक जाँदा लाज लागेर कसैसँग आँखा जुधाएर हेर्न सकिनँ, तलतिर हेर्दै उभिइरहें । भाउजूले फेरि भित्र जानू भन्नुभएपछि म भित्र आएँ ।

त्यसबीचमा के कुराकानी भयो, राम्ररी सुनिएन । एकैचोटि बिहे कहिले गर्ने भन्नेबारे छलफल भएको सुनियो । यो सुन्दा खुसीसँगै डर पनि लागेर आयो । हातखुट्टा नै गलेर आयो । उहाँहरू हिँडेपछि भाउजू भित्र आएर सोध्नुभयो– कस्तो लाग्यो तपाईंको दुलहा ? मैले ‘राम्ररी देखिनँ’ भनें । त्यसपछि आँगनमा पुगेका विनय सरलाई देखाउँदै भन्नुभयो, ‘एकदम राम्रो लाग्यो केटा त, कम बोल्ने रहेछ ।’

म भन्ने गर्थें, ‘विचार मिल्ने केटासँग बिहे गर्छु ।’ बिहे हुने केटासँग कुरा गरेर मात्रै बिहे गर्छु, तर त्यस्तो हुने देखिएन । विनय सरकी कान्छी आमा पनि हुनुभएर हो कि, मेरो भाउजूले कुराकानी गर्दा मलाई सँगै राख्नुभएन ।

भेटघाटको दुई दिनपछि दाइले मलाई एउटा चिठीको खाम दिँदै भन्नुभयो, ‘तिम्रो हुनेवाला दुलहाको चिठी ।’ चिठी पाउँदा खुसी लाग्यो । संकोच मान्दै चिठी लिएर पढ्न थालें । मेरो जीवनमा केटामान्छेबाट पाएको त्यो नै पहिलो चिठी थियो । तर, चिठी भने सामान्य प्रेमपत्र थिएन, गहन विषयहरूको सँगालो थियो । धेरै पटक दोहोर्‍याएर पढें ।

चिठी पढेपछि मैले पाउने जीवनसाथी सामान्य हुनुहुन्न भन्ने लाग्यो । मलाई उहाँको जीवनसाथी बन्ने योग्यता पुग्दैन कि भन्ने बनायो । म प्रगतिशील विचारमा आस्था राख्थें, तर त्यसबारे गहिरो अध्ययन थिएन । उहाँले चिठीमा परम्परा, अन्धविश्वास र कुरीति, धर्ममा भएको ढोङबारे आफ्नो मान्यता स्पष्ट रूपमा राख्नुभएको थियो । धार्मिक अनुष्ठान, पूजापाठमा विश्वास नगर्ने उहाँका कुराले मन छोयो । त्यस्तै धनसम्पत्तिको विषयका विचार पनि मननयोग्य लाग्यो । परिवार र समाजमा यी विषयलाई लिएर संघर्ष छ भन्नुभएको थियो । उहाँका सबै मूल्यमान्यतालाई स्वीकार गरेर मैले उहाँसँग विवाह गर्ने निर्णय गरें ।

विनय सरकी आमा पूजाआजा, धर्मकर्म गर्नुहुन्थ्यो । आमा बित्नुभएपछि घरमा नित्य पूजा गर्न छोड्यौं । २०४० सालपछि घरमा र बाहिर कतै पनि पूजा पाठ गर्न छाडिदियौं । विनय सरले आमा नभएपछि पूजापाठ नगर्ने कुरा आमालाई भन्ने गर्नुहुन्थ्यो । त्यसैले उहाँकी आमाले आफू बाँचेकै बेला सबै दान गरिसक्नुभएको थियो । छोराहरूको व्रतबन्ध, कुनै पनि धार्मिक अनुष्ठान गरेनौं । विनय सर आफ्नो शवलाई श्रद्धाञ्जलीका लागि नराखी सामान्य तरिकाले विद्युतीय माध्यमबाट अन्त्य गर्नू, धेरै मलामी बोलाएर दुःख नदिनू भन्नुहुन्थ्यो । त्यसैले उहाँको अन्त्येष्टि कार्य पनि उहाँको इच्छाअनुसार गर्‍यौं, सनातन तरिकाले गरेनौं ।

लामो यात्रामा जीवनमा मैले विनय सरलाई असल श्रीमान्, असल साथी, असल अभिभावक र असल गुरुको रूपमा पाएँ । उहाँ बहुमुखी प्रतिभा भएको बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ ज्ञानको समुद्रजस्तै लाग्थ्यो । भाषालाई माया गर्ने साहित्यप्रेमी, समाजसेवी, क्रियाशील असल नागरिक हुनुहुन्थ्यो । जुन–जुन क्षेत्रमा उहाँले काम गर्नुभयो, ती सबैमा क्षेत्रमा कुशल, इमानदार र सफल हुनुभयो ।

मितिः २०३२–९–२९

सुश्री गंगादेवी राजभण्डारी

सम्झना

एक जना अपरिचित व्यक्तिबाट अचानक यो चिठी पाउँदा तपाईंलाई आश्चर्य लाग्ला, तर मेरो विचारमा अब हामी अपरिचित छैनौं किनभने जीवनसाथी छान्ने सन्दर्भमा मेरोबारेमा धेरै कुरा तपाईंलाई थाहा भैसकेको होला र मलाई पनि केही कुरा थाहा भएको हुनाले साथै केही दिनअघि मात्र हाम्रो देख भेट पनि भएको हुनाले अब हामी अपरिचित छैनौंजस्तो लाग्छ । सुनेको कुरामा मात्र विश्वास नगरी आपसी विचार आदान प्रदान र पत्र व्यवहार भयो भने जीवनसाथी छान्न सजिलो होला र भविष्यमा जीवन सुखी बन्ला भन्ने विचारले मैले पत्र व्यवहार गर्न चाहेको हुँ । यसमा अन्यथा नसम्झनुहोला । साथै शिक्षित व्यक्तिले संरक्षकको खटनमा मात्र जीवनसाथी रोज्नु उचित नलागेको हुँदा पनि पत्र व्यवहारमा तपाईंले संकोच मान्नुहुनेछैन भन्ने आशा राखेको छु । आशा तथा विश्वास छ कि पत्रोत्तर अवश्यै पाउनेछु ।

हाम्रो भेट अथवा देखादेखको जुन कार्यक्रम भयो, त्यो त्यसप्रकारले होला भन्ने चिताएको थिइनँ । मेरो विचारमा टेबुलवरिपरि बसेर कुराकानी र विचारविमर्श होला भन्ने लागेको थियो र उमंग थियो । साथै शिक्षण पेसामा लागिसकेकी हुँदा कस्तो कुरा होला भन्ने मनमा संकोच पनि थियो । त्यहाँ पुगेपछि बादलभित्रको चन्द्रमाझैं झलाकझुलुक्क मात्र देख्न पाइएला भन्ने सोचेको थिइनँ । भाउजूको व्यवहार जति खुला भए पनि यस काममा उहाँले खुला हुन सक्नुभएन अथवा तपाईं स्वयं पर्दामा रहेर बस्न खोज्नुभएकाले हो कि ?

वास्तवमा तपाईंलाई हेर्नु मेरो उद्देश्य थिएन । हेर्नलाई त फोटो छँदै थियो । मैले २/४ कुरा गर्न खोजेको थिएँ । मेरो विचारमा शारीरिक सौन्दर्य अथवा रूपभन्दा भित्री सौन्दर्यको बढी महत्व छ । शीप र शील भएन भने बाहिरी रूपले के हुन्छ र ?

मेरो विचारमा हामी परम्परावादी हुनु हुँदैन । किनभने हाम्रो परम्परा हाम्रो अन्धविश्वास र कुरीति ढोंग र धर्मभीरुताले गर्दा हाम्रो समाजको अवनति भैरहेछ । जनसाधारणको परम्परागत विचारमा म नास्तिक ठहरिन्छु होला किनकि मैले धार्मिक अनुष्ठान र पूजापाठमा विश्वास गर्दिनँ र परिवार र समाजमा यही कुरालाई लिएर मेरो संघर्ष छ । यसकारण यो त स्वाभाविक छ कि मेरो जीवनसाथी परम्परावादी भैदिई भने मेरो जीवन लक्ष्यच्युत हुनेछ । धनका लागि मरिमेट्ने र धन नै सबै कुरा ठानेर साथीभाइ, इष्टमित्रलाई लत्याउने विचार पनि मेरो छैन । धन एउटा साधन मात्र हो साध्य अथवा लक्ष्य होइन भन्ने मलाई लाग्छ ।

हुन त चिठीमा सबै कुरा लेख्न सकिँदैन र शब्दहरूको त्यति शक्ति पनि छैन कि मनको कुरा सबै बताउन सकून् । यसकारण यो पत्रलाई यहीँ टुंग्याउँछु र अब म तपाईंको विचार र आदतको बारेमा जान्ने प्रतीक्षामा छु । आशा छ पत्र पाउनेछु ।

तपाईंको
विनय कुमार

प्रकाशित : मंसिर १०, २०७९ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×