म पनि जीवनमा रङ भर्दै छु- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म पनि जीवनमा रङ भर्दै छु

धैरै विषयले सताउँथे मलाई । जवानीमा उत्रेका रङ लिएर गन्तव्यको खोजी त गर्थें, तर जीवनमा न लालीगुराँस देख्थें, न इन्द्रेणी ।
रेजिना पाण्डे

काठमाडौँ — बाबा निकै रक्सी पिउनुहुन्थ्यो । त्यसैले हाम्रो घरको अवस्था असाध्यै दयनीय बनिरहेको थियो । घरभित्रको कोलाहल र झगडाबाट उत्पन्न आवाज घरको भित्ता छेडेर बाहिरसम्मै पुग्थ्यो । र, छिमेकीहरूलाई डिस्टर्ब गर्थ्यो । त्यो झगडा कहिले आँगनमै मञ्चन हुन्थ्यो । र, छिमेकीहरू, हामीहरू त्यो झगडाको रमिते भइरहन्थ्यौं ।

त्यसैले घरको वातावरण निराशाजनक थियो । खेलाबैला र कर्कश आवाज हाम्रो घरको परिचय–पहिचानै थियो । आमा–बाको झगडाको सधैंको मूक साक्षी म सानैदेखि दुःखी, तनावग्रस्त र बोर हुन्थें । खास कुरा त बाबाले पिएको रक्सीले उनलाई त खाइरहेकै थियो, हाम्रो जिन्दगी पनि सँगै खाइरहेको थियो ।

बाबा राजनीतिक प्राणी हुनुहुन्थ्यो । वडा सदस्य हुनुहुन्थ्यो । र, एउटा राम्रो संस्थामा जागिरे हुनुहुन्थ्यो, तर रक्सीकै कारण बाबाले सबै कुरा गुमाउनुपर्‍यो । बाबाकै कारण बाल्यकालदेखि नै हामी बाल्यअवस्थामै पाउनुपर्ने स–साना सुखसुविधाबाट वञ्चित भयौं ।

हामी साना नानीहरूलाई समाजका मान्छे घृणा गर्थे, बाबाकै कारण । समाजले मलाई/आमालाई एउटा छाप लगाइदिएको थियो– जँड्याहाकी छोरी, जँड्याहाकी श्रीमती । समाजले हामीलाई हेर्ने आँखा फरक थिए । मान्छेहरू हामीसँग तर्केर हिँड्थे । हामी पिँजडाको सुगाझैं बन्देजमा हुर्कियौं । परिवार थियो, समाज पनि थियो, तर भरिभराउ समाजबीच नितान्त एक्लै थियौं हामी ।

जीवनमा धैरै विषयले सताउँथे मलाई । जवानीमा उत्रेका रङ लिएर म गन्तव्यको खोजी त गर्थें, तर न जीवनमा लालीगुराँस देख्थें, न इन्द्रेणी । लाग्थ्यो, जीवन लाचारीको अर्को नाम हो । एक्लै झ्यालमा बस्थें र घोरिइरहन्थें, टाढाटाढा हेर्दै । सोच्थें, अरूको र मेरो जिन्दगी किन फरक छ ? अरूको जिन्दगी उज्यालो, मेरो अँध्यारो किन छ ? इन्द्रेणी भरिएको अरूको जीवन देखेर मलाई साह्रै डाहा लाग्थ्यो । म कल्पना गर्थें– मेरो जीवनमा पनि इन्द्रेणी छाइदिए... !

0 0 0

१४ वर्षको छँदा एउटा नेपाली फिल्म हेरेँ, नाम याद छैन । हारेपछि, असफल जिन्दगीबाट हरेस खाएपछि फिल्मकी नायिकाले कोठाभित्र पासो लगाएर मरेको एक दृश्यले मलाई निकै बिथोल्यो । मैले पनि नायिकाजस्तै पासो लगाउने प्रयास गरेँ । तर, एउटा विन्दुमा अड्किएँ । आँखा चिम्लेँ अँध्यारो भयो संसार, अनि आँखा खोल्दा उज्यालो । मलाई उज्यालो प्रकाशले पासोबाट निकाल्यो । र, मैले उज्यालो संसार रोजेँ ।

त्यसपछिका दिनमा आकाशजस्तै खुल्न थालेँ । आजकाल सोच्छु, धर्तीजस्तो सहेर होइन, समुद्रजस्तो गहिराइ पनि चाहिँदैन बरु शान्त खोलाजस्तै सलल बग्न सकूँ । उचाइमा पुगेर होइन फेदीमै बसेर जीवन सार्थक बनाउन सकूँ । सानो छँदा हामीलाई घृणा गर्ने समाजको प्रतिकार गर्दै आफ्नो बाटो पहिल्याउन सकूँ । मेरो जिन्दगी मेरो हो, आफ्नै पाराले बाँच्न सकूँ ।

रक्सीले बिग्रिएको, ध्वस्त भएको परिवार धैरै छ । मजस्ता पीडित पनि धैरै छन् । रक्सीले घर बर्बाद गर्न हिँडिरहेका मानिस पनि धेरै छन् । समाजले खोट देखाउँछ, टोक्छ र पिँजडाबाट मुक्त हुन दिँदैन । तर, समाजबाट भाग्नु हुँदैन, लडिरहनुपर्छ । मैलै उतिबेलै पासो लगाएको भए कहाँ रहन्थ्यो मेरो अस्तित्वको लडाइँ ? मेरो स्वाभिमानको लडाइँ ? मैले लडेर उठ्नुपर्छ, हारेर पनि जित्नुपर्छ ।

केहीअघिको एक साँझ पशुपतिमा थिएँ, आरती हेर्न । घाटमा सिँगारिएको चितामा पोल्न तयार राखिएको पिताको लास हेरेर रुवाबासी गरिरहेका थिए एक युवक । अर्का युवक थिए श्रीमतीको जलिरहेको लास हेर्दै टोलाइरहेको । अर्की थिइन् श्रीमान्को लास अँगालेर रोइरहेकी श्रीमती । कत्ति जोडी त्यहीँ थिए, जो रोमान्समै जिन्दगीको अर्थ खोज्दै थिए । त्यहीँ सयौं मान्छे आरतीमा मग्नमस्त पनि थिए । जीवनको बेला त रोकिँदैन, चलिरहन्छ ।

हामी सपनाको पछिपछि दौडेर जीवन घिसारिरहन्छौं । त्यही घिस्रिनुमा आनन्द छ सधैंभरि । समाजमा हामी आफ्नैलाई घृणा गर्छौं, अरूलाई चोट पुर्‍याउँछौं । यसमा असाध्यै दुःख लाग्छ । तर, जीवनको अर्थ बुझ्नतिर लाग्दैनौं र हरेस खान्छौं । यसमा झन् दुःख लाग्छ । आफैंलाई पासोमा बेर्नै लागेको त्यही दिन बोध भएको थियो– जन्मेपछि मर्नु छँदै छ, बीचमै जीवन किन नाश गर्ने ? किन चिन्ता लिने ? जीवन चुनौतीपूर्ण त छ, तर सुन्दर पनि छ । चुनौतीले नै अघि बढ्न सिकाउँछ । र, जिन्दगी रहस्यमय लाग्दै जान्छ । आफ्नै जीवन बुढ्यौलीमा पुराना याद–कथाहरूको संग्रहालय बन्दै जान्छ । सोच्छु, म भाग्यमानी रहेछु, मेरो मृत्यु त्यो फिल्मकी नायिकाको जस्तो भएन । र, आज सुन्दर जीवनको परीक्षण गरिरहेकी छु ।

बेलाबेला विगत सम्झिन्छु– मरेकी भए यति सुन्दर संसार देख्थें कसरी ? बूढा मान्छेहरूले ठीक भनेका रहेछन्– जिन्दगी घाम–पानी रहेछ । आज म इन्द्रेणी भरिएको अरूको जीवन देखेर खुसी हुन्छु । म पनि जीवनमा रङ भर्दै छु । साँच्चै जीवनमा इन्द्रेणीहरू छन् ।

प्रकाशित : मंसिर ३, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

कोभिडको एउटा ओखती मास्क

संक्रमणबाट बच्न मास्क अनिवार्य छ भन्ने सत्यलाई हामीले भुलिरहेका छौं । कोभिडबाट मात्र होइन, अन्य सरुवा रोग र धूलोधूवाँबाट बच्न पनि मास्क चाहिन्छ । मास्कका फाइदा धेरै छन्, लगाउँदा असहज त होला तर यो ओखती हो ।
रेजिना पाण्डे

कोभिड महामारीले तहसनहस पारेको हाम्रो दैनिकी बिस्तारै सुचारु हुँदै थियो । तर, ओमिक्रोन भेरिएन्ट समुदायस्तरमै फैलिरहेको समाचार आइरहेको छ । कोरोनाविरुद्ध खोप लगाउने क्रम बढे पनि यो अझै सबैको पहुँचमा पुगेको छैन वा पुग्ने क्रममा छ ।

नेपालमा कुल जनसंख्याको ४० प्रतिशतले पनि पूर्ण मात्रामा खोप लगाएका छैनन् भनेर विज्ञहरूले भनिरहेका छन् । यस्तोमा कोभिड नियन्त्रण तथा रोकथामको प्रभावकारी उपाय भनेकै मास्क हो ।

सार्वजनिक सवारीसाधन, बजार, सार्वजनिक–निजी कार्यालय र विद्यालय–कलेज सबै क्षेत्रमा भीडभाड छ । स्वास्थ्य मापदण्डको पालना हुन छाडिसक्यो । कोभिडबाट जोगिन मास्क जरुरी र अनिवार्य भइरहँदा पनि धेरैले लगाएका छैनन् ।

लापरबाही गरिरहेको देखिन्छ । म दिनहुँजसो सार्वजनिक बसमा कोटेश्वरबाट हात्तीसार आवतजावत गर्ने गर्छु । त्यस बेला न चालकले मास्क लगाएको देखिन्छ न त सहचालकले नै । यात्रुहरूले मास्क लगाए पनि, सही तरिकाले लगाएको देखिँदैन । मास्क चिउँडोमा झारेर मोबाइलमा बोल्नेहरू धेरै हुन्छन् । कतिले त त्यही पनि लगाएका हुन्नन् ।

‘मास्क खोइ ?’ भनेर बसमा विज्ञापन टाँसिएको हुन्छ । तैपनि मास्क नलगाउनुलाई के भन्ने ? कोभिडविरुद्ध यसरी कसरी लड्ने ? विद्यार्थीहरू मास्क नै नलगाई विद्यालयमा खेल्ने–उफ्रने गरेको देखिन्छ । विद्यालयमै यस्ता लापरबाही भएपछि अन्त के आस गर्ने ? ‘मास्क लगाउनुपर्छ’ भन्ने थाहा हुँदाहुँदै सबैतिर लापरबाही हुने गरेको छ । म हालै तरकारी पसल जाँदा साहूजी मास्क नलगाई खोकिरहेका थिए, ‘मास्क लगाउनुस् न दाइ’ भन्दा पनि केही हुन्न भनेर जवाफ फर्काए । उनलाई मात्र होइन, धेरैलाई अचेल मास्क असजिलो लाग्छ ।

संक्रमणबाट बच्न मास्क अनिवार्य छ भन्ने सत्यलाई हामीले भुलिरहेका छौं । कोभिडबाट मात्र होइन, अन्य सरुवा रोग र धूलोधूवाँबाट बच्न पनि मास्क चाहिन्छ । मास्कका फाइदा धेरै छन्, लगाउँदा असहज त होला तर यो ओखती हो । नाक–मुख छोप्ने साधारण वस्तु भए पनि यसले निरोगी राख्न निकै मद्दत गर्छ । यत्ति मात्र होइन, सास गन्हाउने, बोल्दा थुक निस्कने व्यक्तिहरूसँग गफ गर्दा पनि मास्कले केही हदसम्म सुरक्षा दिन्छ । भाइरसहरू नाक र मुखबाट शरीरमा प्रवेश गर्न पाउँदैनन्, जसले संक्रमणको सम्भावना निकै कम गर्छ ।

कोहीसँग भेट हुँदा मास्क निकालेर कुरा गर्ने बानी पनि धेरैको छ, ननिकाले पनि चिँउडोमा झारेर कुरा गर्ने त फेसन नै भइसक्यो । कोरोनाको लक्षण देखिए पनि परीक्षण नगर्ने, घरबाहिर निस्कनेहरू पनि धेरै भेटिन्छन् । त्यसैले पनि मास्क लगाउँदा आफैंलाई फाइदा हुन्छ । साथै आफ्नो परिवारका सदस्यलाई पनि । आमिक्रोन फैलिरहँदा, मास्कको उपयोगिता झनै बढेर गएको छ ।

कोभिड महामारीको पहिलो लहरदेखि नै सरकारी तथा गैरसरकारी संस्थाहरूले मास्क लगाउन व्यापक जनचेतनाका कार्यक्रम चलाए । मास्कको फाइदा धेरैलाई थाहा छ, तैपनि सार्वजनिक स्थानमा मास्क नलगाउनेहरू अझै देखिन्छन् । यो भनेको नागरिकको लापरबाही नै हो । यस्तो लापरबाही कम गर्ने उपाय अरूसँग होइन, सोही व्यक्तिसँग मात्र हुन्छ । उसैले आफ्नो र परिवारको स्वास्थ्य जोगाउने जिम्मेवारी लिए मात्र मास्क लगाउनेहरूको संख्या बढ्छ ।

कोभिड महामारीका बेला विश्वमा अत्यधिक माग मास्ककै भयो । यसको उत्पादनमा पनि वृद्धि भयो । अहिले मास्कको व्यवस्थापन पनि निकै चुनौती बनिरहेको छ, यो प्रदूषणको माध्यम पनि बनिरहेको छ । यसका बावजुद, संक्रमणबाट बच्ने मुख्य उपाय हो— मास्क । भौतिक दूरी कायम गरी सही तरिकाले मास्क लगाउनु नै अहिलेको आवश्यकता हो ।

प्रकाशित : पुस २८, २०७८ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×