कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मामुली कवितालाई कालजयी जामा !

स्वयं काल नै कालजयी छैन । सरल, सरस र लोलीबोलीमा बसेका ‘भाइरल’ कविता कालजयी कि भाव र अर्थगहन विशिष्ट कविता कालजयी ? कविता कति वर्ष चलेपछि कालजयी ?
राजकुमार बानियाँ

काठमाडौँ — नेपाली कविताको ‘कमेडी’ के हो भने यहाँ प्रथम कवि पनि छन्, आदिकवि पनि छन् । ‘पृथ्वीनारायण’ लेख्ने सुवानन्द दासलाई प्रथम कवि मानिएको छ भने ‘कान्तिपुरी नगरी’ लेख्ने भानुभक्त आचार्यलाई आदिकवि । तर, अर्थका हिसाबले प्रथम कवि र आदिकविमा कुनै भिन्नता देखिँदैन । नेपाली समाज कविहरूलाई दर्जा दिनमा उदार नै छ ।

मामुली कवितालाई कालजयी जामा !

आदिकवि, युवककवि, कविशिरोमणि, महाकवि, युगकवि, राष्ट्रकवि आदि अनेक दर्जा औपचारिक/अनौपचारिक रूपमा कविहरूले पाएका छन् । हालै मात्र कवि/सम्पादक कृसु क्षेत्रीले एक सय एक कवि (आफूसहित) लाई कालजयीको ‘लालमोहर’ लगाइदिएका छन् । थाहा छैन, कति कविताले कालचक्रमाथि विजयोत्सव मनाउने हुन् ।

‘नेपाली कविहरूको प्रतिनिधिमूलक कविता संकलन छैन ?’ नेपाली लेखकका रूपमा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी वा सेमिनारमा सहभागी हुँदा त्यहाँ आमन्त्रित विभिन्न देशका पाहुनाहरूले राखेको त्यस्तो चासो सम्बोधनका क्रममा उनी विशेष ग्रन्थको परिकल्पनामा लागेका रहेछन् । र, जसको न्वारान भयो, ‘कालजयी नेपाली कविता’ । संस्कृत शब्द ‘कालजयी’ को अर्थ हुन्छ, अजर, अमर, अविनाशी । काल वा मृत्यु विजेता । समयको सीमामा आबद्ध नभएको वा हरेक कालखण्डमा उत्तिकै प्रासंगिक रहेको । प्रश्न जरुरै उठ्छ, कालजयी कविताको मानक के हो त ? त्यसको शाश्वतताको मापन कसरी गर्ने ?

सम्पादक क्षेत्रीले ग्रन्थमै ‘नेपाली साहित्यमा कालजयी कविता’ भनेर यसको गहन विमर्शसमेत गरेका छन् । विसं १८३० देखि २०७० सम्म लेखिएका नेपाली कविताको अन्तर्वस्तु, विशिष्ट शैली शिल्प, आयाम र मोडको प्रतिनिधित्वसहित एक सय एक कविका एकुन्टा कविताको संकलन नेपाली साहित्यकै इतिहासमा कोसेढुंगा हुने सम्पादक क्षेत्रीको दाबी छ ।

अंग्रेजी कवि एवं समालोचक टीएस इलियटले कालजयीपनको खोज ऐतिहासिक सन्दर्भमा गर्नुपर्ने औंल्याएको उल्लेख गर्दै क्षेत्रीले युगीन स्वर, सूक्ष्म सामाजिक चेतना, विशिष्ट शैली, शिल्प र प्रवृत्ति, अर्वाचीन विषयवस्तुको प्रस्तुति, विशेष घटनाको अप्रतिम प्रस्तुति, इतिहासको भविष्यसँग साक्षात्कार, सर्वग्राह्यता, समष्टिगत वैचारिक आधार, सार्वभौम चेतना, परिपक्वता– समग्रताको खोज आदिलाई त्यसको मुख्य सूचकका रूपमा खुट्याएका छन् । कालजयी रचना र सर्जकको अवधारणामा सहमति–असहमति दुवै हुन सक्छन् । भनिन्छ, स्वयं काल नै कालजयी छैन । एउटै समय सधैं रहिरहँदैन । पलपलमा समय फेरिइरहेकै हुन्छ । जसरी नदीको पानी एउटै होइन । एकचोटि बगिसकेको पानी फर्कंदैन । कुनै पनि महान् व्यक्तिलाई हालसम्म कालचक्रमाथि विजय प्राप्त छैन । तर, व्यक्तिका कलाकृतिलाई आदर र सम्मानपूर्वक कालखण्डभन्दा पर राखेर हरिँदै आएको छ । इतिहास र भविष्यको सेतु बनेर उभिने कलाकृतिले मरणशील मानवलाई पनि अमर र अविनाशी बनाएका दृष्टान्त छन् ।

सरल, सरस र लोलीबोलीमा बसेका ‘भाइरल’ कविता कालजयी कि भाव र अर्थगहन विशिष्ट कविता कालजयी ? कविता कति वर्ष चलेपछि कालजयी ? यी विवादकै विषय हुन् । दुर्लभ कविताले मात्र शताब्दीका सिँढीहरू पार गर्दै जान्छन् । हाम्रो त कविता लेखनको इतिहास नै साढे दुई सय वर्षको मात्र छ ।

कविताको परीक्षण समयले स्वतः गर्छ । समयको कसीमा घोटिँदै घोटिँदै कुनै विन्दुमा गएर कालजयी ठहरिएलान् पनि । एक दशक वा दुई दशक पनि नपढिएका कवितालाई कसरी कालजयी भन्दै गुणगान गाउने ? यो ग्रन्थमा पाइलो राखेका सबै कवितालाई कालजयी मान्ने हो भने नेपाली साहित्यले नयाँ मुकाम पाएको भन्नुपर्ने हुन्छ । नेपाली कविताको स्वर्णिम समय घोषणा गर्नुपर्ने हुन्छ । के यथार्थ यही हो त ?

वीरवन्दनादेखि मैथुन अर्चना

अलिकति कविता विचरण गर्ने हो भने नेपाली कविहरू समयको पदचाप पछ्याउन सिपालु छन् । पृथ्वीनारायण शाहको एकीकरण (विस्तार) अभियानमा वीरवन्दना गरी कविता लेखे भने सुगौली सन्धिपछि अंग्रेजसँग लडाइँ हारेको सन्तापमा ईश्वर अर्चनाका कविता लेखे । धन्न भक्तिनिवेदनमा एकरसता झेल्नुपरेन । कृष्ण र राम काव्यनायकका रूपमा उदाए । यति मात्र होइन, जोसमनि सन्तपरम्पराको निर्गुण भक्तिधारा लिएर सन्त ज्ञान दिलदासहरूले पनि कविता नै गरे । यसैलाई कविताको प्राथमिककाल मानिएको छ ।

नेपाली कविताको इतिहास रोचक औ घोचक छ । राणा शासनको कठोरतामा कविहरूले ज्यादातर मैथुनिक कविता लेखे । राणा दरबार आमोदप्रमोद र भोग विलासमा लिप्त भएका बेला नख–शिखको वर्णन हुनु अस्वाभाविक होइन । मोती मण्डलीदेखि ‘सूक्तिसिन्धु’ श्लोकसंग्रह त्यही कालखण्डका झलक हुन् ।

‘सूक्तिसिन्धु’ माथिको प्रतिबन्धपछि नेपाली कविताको आधुनिक झ्याल खुल्यो । शृंगारिकताको घेरा तोडेर लेखनाथ पौड्याल प्रभृति कविहरूले कविता परिष्कारमा जोड दिए भने लक्ष्मीप्रसाद देवकोटासहितका सुपठित कविहरूले कल्पना, भावना र अनुभूतिप्रधान कविता लेख्न थाले । गोपालप्रसाद रिमाललगायतका कविले खुला समाजका निम्ति जागरण पनि नल्याएका होइनन् । प्रजातन्त्रोत्तर खुला समाजमा आएपछि कविहरूले कवितागिरी गरिरहेकै बेला फेरि पनि अभिव्यक्ति स्वतन्त्रतामा ग्रहण लाग्यो । कविहरू मूर्तभन्दा अमूर्ततातिर लम्किए । मिथकीय पात्र र कथा खोज्न थाले । कविहरू कति गहिरिए भने मोहन कोइरालाले ‘फर्सीको जरा’ पत्ता लगाए ।

कवितामा विम्ब, प्रतीकसम्म त उचितै थियो, प्रयोगका नाममा अप्रासंगिक सन्दर्भ राख्दा कविता जटिल, दुर्बोध्य र असम्प्रेषणीय हुँदै गएपछि कविहरू जीवनसापेक्ष, युगीन र पाठकमैत्री कवितामा रमाउन थाले । कविहरू उत्तरवर्ती भनिने धारमा समेत रोमान्टिकदेखि मेटाफिजिकलसम्मका कविता लेखिरहेका छन् । पाठकमा काव्यसौन्दर्यसहित अमिट छाप छाड्ने कविताको अपेक्षा भने कहिल्यै मेटिएको छैन ।

संयुक्त संकलन परम्परा

संयुक्त वा सामूहिक कविता संकलन (अनुवादसमेत) नेपाली साहित्यमा परम्परा नै बनिसक्यो । तिनमा लोकप्रिय, प्रसिद्ध, कालजयी, प्रख्यात, अमर आदि फुँदा गाँस्ने पनि चलनै भइसक्यो । इतिहास खोतल्दा यो क्रम ‘सूक्तिसिन्धु’ (१९७४) भन्दा पहिले पनि चलेको रहेछ । गफाष्टक, संगीत चन्द्रोदय, श्लोकसंग्रह, मनोद्वेग प्रवाह, कविता कल्पद्रम आदि सामूहिक संकलनमा कविहरू छाएकै थिए ।

सम्पादक क्षेत्रीले ‘कालजयी नेपाली कविता’ को महत्त्वपूर्ण स्रोतका रूपमा पूर्ववर्ती संकलनलाई नै लिएका देखिन्छन् । खासगरी रामजीप्रसाद शर्मा अर्याल सम्पादित ‘सूक्तिसिन्धु’ मा २४ पण्डित कविका शृंगार र रसरंगप्रधान ७१ कविता छन् । कृसु क्षेत्री सम्पादित ग्रन्थमा त्यसमा रहेका राजीवलोचन शर्मा जोशी, मोतीराम शर्मा भट्ट, चक्रपाणि शर्मा चालिसे, लेखनाथ शर्मा पौड्याल र शम्भुप्रसाद ढुङ्ग्याल समेटिएका छन् ।

त्यो संग्रहका कारण राणा दरबारका बाबुसाहेब, मैयाँसाहेब, खोपीका नानीहरूमा भयंकर यौन विचलन आएको हल्ला चल्यो । सबैभन्दा उत्तेजक मानिएको कविता ‘बालामुग्धोक्ति’ का कवि राधानाथ लोहनीलाई सार्वजनिक रूपमा कान समातेर उठबस गराई अपमानित गरिएको, अरू कविलाई एक–एक रुपैयाँ जरिवाना तिराएर माफी मगाएको, किताब जफत गरेर प्रतिबन्ध लगाएको, सम्पादक ज्यान जोगाउन वीरगन्जतिर भागेको आदि किस्सा चल्तीमा छन् ।

चन्द्रशमशेरकालीन सूक्तिसिन्धु पर्वपछि लेखनाथ पौड्याललगायत कवि शृंगारिक उत्कर्षबाट बिदा लिएर नीतिमूलक र शिक्षामूलक कवितामा लागे । तर, त्यस संग्रह विसं २०१७ मा आएर बल्ल समालोचनाको वृत्तमा आयो । यदुनाथ खनालले त्यसलाई ‘क्षयोन्मुख कविताको नमुना’ लेखेपछि रामकृष्ण शर्मा शास्त्रार्थमा उत्रिए । उनले त्यसलाई ‘एउटा क्रान्तिकारी प्रकाशन’ भएको दाबी गरे । त्यस प्रकरणपछि गुमनाम सम्पादक मात्र सार्वजनिक भएनन्, २०२४ सालमा कमल दीक्षितले ‘सूक्तिसिन्धु (फेरि)’ पनि छापे । अन्य प्रकाशनले अझै पनि दीक्षितलाई पछ्याइरहेकै छन् । यति मात्र होइन, समालोचकहरूले सूक्तिसिन्धुलाई माध्यमिककालको अन्तिम सीमा मानेर कविताको कालक्रमिक विभाजनसमेत गरिदिए ।

सम्पादक कृसु क्षेत्रीले आधार लिएको अर्को संकलन हो, ईश्वर बराल सम्पादित ‘हिमालचुली’ (२०१२) । बरालले आमुखका रूपमा २३ पृष्ठ खर्चेका छन् भने कृसुले ४२ पृष्ठ । ‘हिमालचुली’ मा चक्रपाणि चालिसेको (जीवन–जुवा) देखि रूपनारायण दाहाल (उद्बोधन) सम्मका ४० कविका १७७ कविता अटाएका छन् ।

कविलाई चिनाउन एउटा कविता मात्र पर्याप्त हुन सक्दैन । सम्भवतः यसैलाई बुझेर बरालले लक्ष्मीप्रसाद देवकोटाका २१, लेखनाथ पौड्याल र सिद्धिचरण श्रेष्ठका १२, बालकृष्ण समको ११, भवानी भिक्षुका १०, गोपालप्रसाद रिमालका ९, माधवप्रसाद घिमिरे र विजय मल्लका ८, भीमनिधि तिवारी र ओकिउयामा ग्वाइनका ७ कविता छन् । यसमा नेपालभित्रको मात्र नभएर बाहिरका कवि पनि प्रशस्तै समेटिएका छन् । गोमा, प्रेमराजेश्वरी शाही, सानुमति राई, मधुधारा अधिकारी (पुरुष कविकै छद्मनाम भन्ने आरोप पनि छ) नारी कवि समेटिएका छन् ।

ग्रन्थ भीमकाय हुने डरले हो कि कृसु क्षेत्रीले भने एउटा कविका एउटा कविता मात्र राखेका छन् । कुनै महान् कविले एउटा मात्र कालजयी कविता लेख्दैन । उसका एकभन्दा धेरै कविता कालजयी हुन सक्छन् । कतिपय कविका ग्रन्थमा राखिएका कविताभन्दा अब्बल कविता नभएका पनि होइनन् ।

स्रोत, साधन, सञ्चार, प्रविधि र पहुँचविहीन त्यो समयमा बरालले यस्तो कविताक्रान्ति गरिसक्दा २०७९ मा आएर बीपी कोइराला नेपाल–भारत फाउन्डेसनको सौजन्य पाएका क्षेत्री किन यति सीमित भए ? बराल यस्ता सम्पादक हुन्, जसले २००६ सालमै लक्ष्मीप्रसाद देवकोटालाई महाकवि पदवी दिएका थिए । पारिजात र मोहन कोइरालाको कवित्वशक्ति देखाउने पनि उनै थिए ।

बराल किन चिरस्मरणीय छन् भने काशी हिन्दू विश्वविद्यालयमा पढ्दापढ्दै सम्पादन गरेका ‘हिमालचुली’ मात्र नभएर कथासंकलन ‘झ्यालबाट’ (२००६) र निबन्ध संकलन ‘सयपत्री’ (२०१३) पनि नेपाली साहित्यका अमूल्य खजाना बनेर रहेका छन् । त्यसो त क्षेत्रीको संकलनमा परेका प्रायःजसो कवि चूडामणि बन्धुको साझा कविता (२०२४), डा. तारानाथ शर्माको समसामयिक कविता, नेपाली कविताका ४ भाग आदि संकलनले पत्याएकै हुन् । एउटा संकलनले छाडेको छेउकुना अरूले सम्बोधन गरेको भने खासै देखिँदैन । यस्तै संकलनबाट कति कवि टिपिएका छन्, कति छाडिएका छन् । तर, हरेक संकलनमा समेटिँदैमा कालजयी हुन्छ भन्ने पनि छैन । पूर्ववर्ती सम्पादकहरूले किन कालजयी भनेनन् र कृसु क्षेत्रीलाई कालजयीको कोटिमा राख्ने के बाध्यता आइलाग्यो ? प्रश्न जटिल छन् ।

यो ग्रन्थलाई कालजयी नभन्दा ‘हाई साउन्डिङ’ हुन्नथ्यो होला । तर, यसको ओज पक्कै घट्दैनथ्यो । नेपाली कविता दीर्घजीवी होस् भन्ने अभिलाषालाई एक ठाउँ छाड्ने हो भने साँच्चिकै कालजयी कवितालाई अमर हुने कुनै प्रसाद गुण नभएका वा दोहोर्‍याएर पढ्न मन नलाग्ने, अहिले पढ्यो, तत्कालै बिर्सने खालका सामान्य, औसत वा काम चलाउ कविताको समकक्षमा नराखेको भए ग्रन्थमाथि विश्वास अझ बढ्थ्यो ।

सबै कवितामा रचनाको रोमाञ्च हाराहारी पाउन सम्भव नहोला । तर, कविताका टाकुरा र डाँडालाई एकै लहरमा उभ्याउन खोज्दा अपत्यारिलो भइहाल्छ । काव्य महर्षि र मामुली कविलाई एकै ठाउँमा राखेर अनुवाद नै गर्दा पनि बाहिरी विश्वमा नेपाली कविताको गुणवत्ता बढ्ने देखिँदैन । युग निर्माता कविता र सामान्य लहडमा लेखिएका कविताको मापन पनि एकै किसिमले हुन सक्दैन ।

समकालीन कविको भीडभाड

अझ विवादास्पद कुरा के हो भने सम्पादक क्षेत्रीले तीसको दशकपछिका कविहरूलाई प्राथमिकता दिएका छन् । कालजयी कविताको नाममा कति भीडभाड भएको छ भने त्यसलाई छुटेको अर्को कविले नै स्वीकार गर्ने अवस्था छैन । यस चरणका कविताहरूलाई कालजयी हो वा होइन भन्ने बेला भएकै छैन ।

सम्पादकको बुटमा खुट्टा हालेर प्रिय कविहरूलाई कालजयीको जामा भिराउने उद्देश्य मात्र त कृसु क्षेत्रीको पक्कै होइन । एक सय एक कालजयी कवितामा ४९ कवि कालकवलित भइसकेका छन् भने ५२ जना कवि मध्याकाशमा लम्किँदै छन् । आत्मसज्जामा रमाउने वा आफ्नै सिर्जना गरेको भ्रामक प्रतिच्छायासँग भयभीत हुने कविहरूको रचनात्मक भविष्यमै दुबिधा खडा गर्न सक्छ । यसमै मखलेल भएर थप कविता लेख्न सक्षम नहुने शंशय पनि छ । यस अर्थमा उनले आगो भुङ्ग्रोमै हात हालेको भन्न कर लाग्छ । कालजयी कविता नखोजी नछोड्ने संकल्प नै हो भने पनि यसलाई नेपालभित्र मात्र साँघुर्‍याउनु उचित हुँदैनथ्यो । यो कालजयी नै हो भने पनि नेपालभित्रको नेपाली कालजयी कविता मात्र भएको छ । नेपालबाहिरका भारतीय, बर्मेली वा अन्यान्य देशमा रहेका नेपाली कविता समेटेको भए ग्रन्थको स्वीकार्यता बढ्थ्यो । तर, यसका लागि पनि हामीलाई कृसु क्षेत्रीजस्ता परिश्रमी सम्पादक या कवि समालोचक नै चाहिन्छन् ।

ग्रन्थमा समेटिएका प्रायःजसो कविता स्कुल–कलेजमा वा पत्रपत्रिका र संग्रहमा प्रेमपूर्वक रसास्वादन गरिएकै कविता हुन् । तिनको भाव गम्भीरता, शिल्प सौन्दर्य औसत नै छन् । कुनै पनि काम खोटमुक्त त कहाँ हुन्छ र ? तर, खोट लुकाउने कोसिस भने गर्न नसकिने होइन । ग्रन्थको पठनीयता र संग्रहणीयतामा किञ्चित शंका छैन । यी समय र समाजप्रतिका सम्बोधन हुन् । व्यक्ति र राष्ट्रका निम्ति प्रेरणादायी पनि छन् । तर, कालजयी हुन् कि होइनन्, बहसको विषय अवश्य छ ।

ग्रन्थमा चरालाई कोट सुहाउँदैन (शिव अधिकारी), म च्यातिएको एउटा पोस्टर (वानीरा गिरि), पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ (वासु शशी), एक्लै एक्लै उदास उदास छु म (भीमदर्शन रोका), भतुचा (भवानी भिक्षु) पनि भेटिन्छन् । शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ (द्वारिका श्रेष्ठ), तोपको नालमाथि बसेको परेवा (ध्रुवकृष्ण दीप), यो राजधानी हो कृपया छेउ लागेर हिँड्नोस् (शेखर गिरी), गिद्धले पहिले आँखा ठुंग्छ (कृष्णभक्त श्रेष्ठ), पुरुष तीन रूप ः मेरो दृष्टि (कुन्दन शर्मा), क्लियोपेट्रा ः सृष्टिको एउटा सुन्दर भूल (उषा शेरचन), जुम्ला ः एउटा कोक्रोभित्र सुतेको बालक (ज्ञान उदास) लाई पढ्न पाउनु पनि ग्रन्थको सुखद पक्ष हो । ग्रन्थको भूमिकामा सम्पादकले कार्यदल नै बनाएर काम गरेको उल्लेख गरिएको छ । त्यसमा रहेका भनिएका चर्चित कवि, वरिष्ठ समालोचक, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू को को हुन् ? ग्रन्थभरि कतै खुलेको छैन । त्यो खुलाएको भए पनि ग्रन्थको महत्त्व र सान्दर्भिकता अझै बढ्थ्यो । कालजयी दाबी भएकाले होला, कविता लेखिएको मिति पनि दिन आवश्यक ठानिएको छैन ।

कालजयी कविता कि समावेशी

यस ग्रन्थ कालजयी त कुन्नि ? समानुपातिक वा समावेशीचाहिँ पक्कै छ । ‘पोलिटिक्कली करेक्ट’ हुनका लागि गर्नैपर्ने हुन्छ नै । यसमा विभिन्न काल, धारा, उपधारा मात्र भएर लिंग, क्षेत्र, वर्ग, छन्द र गैरछन्द, मूर्त र अमूर्त, विभिन्न राजनीतिक धार, दलनिकट साहित्यिक गुट सबैलाई समेटेकै मान्नुपर्छ । ११ महिला कवि समेटिनुलाई दुःखद मान्नुपर्ने कारण छैन । तर, कालजयी कविता खोज्ने हो, चिर प्रासंगिक र कालिक बनाउने हो वा कविताको स्तर, गुणवत्ता, काव्यिक मर्म, नवीन चेतना, सौन्दर्य प्रवाह हेर्ने हो भने सम्पादक कठोरै हुनुपर्थ्यो । संक्षेपमा भन्दा यसले नेपाली कविताकै सकल अनुहार देखाएको छ ।

संसारमा मानिस र कविताको सम्बन्ध अटुट छ । मानिस छ, कविता छ । कविता छ, मानिस छ । समयको आँधीहुरीमा पनि जीवनको गीत गाउने कवि नै हुन्छ । निविड अन्धकारमा पसेर उज्यालो खोज्ने पनि कवि नै हुन्छ । विश्वव्यथालाई

आफ्नो मनको कोठरीमा थुनेर राख्न पनि कविले नै सक्छ । कविले नै जीवनलाई मुर्दा होइन जिम्दा, स्थुल होइन सूक्ष्म, एकदेशीय र समकालीन मात्र होइन, सार्वदेशीय र सार्वकालिक बनाउन सक्छ ।

प्लेटोले भनेका छन्, ‘पोएट्री फिड्स एन्ड वाटर्स द प्यासन्स ।’ संसार जतिसुकै भौतिकवादी र प्रविधिमय होस्, मानिसले मनोवेगको पोषण अनि सिँचन कवितामार्फत नै गर्छ । शदियौंदेखि कविताप्रतिको विश्वास अटल छ । काव्यशास्त्रको सान्दर्भिकता पनि समाप्त भएको छैन । सुवानन्द दासका उत्तराधिकारी भनौं या ‘पोएट आइडल’ बन्न तम्तयार कवि एवं कवितालाई सम्यक् रूपमा पढ्न चाहने पाठक एवं अध्येताहरूलाई यो ग्रन्थ निःसन्देह सिफारिस गर्न सकिन्छ । नेपाली कविताका विविध भंगाला, रचनात्मक पक्ष, पदलालित्य, शिल्प सौन्दर्य, नित्य नवीनता हेर्न यसले पक्कै सघाउनेछ ।

ग्रन्थ पढिसकेपछि कम्तीमा कति आशावादी हुन सकिन्छ भने राजनीति नै कविता हो, कविता नै राजनीति भनेर ढिपी गरिरहने छैनन् । कटुता, फलाको र गर्जनको शृंखलामा हल्का कमी आउनेछ । कथालाई भाँचेर कविता बनाउने क्रम चल्ने छैन । साहित्यमा लम्बाइ वा चौडाइ होइन गहिराइ नाप्न थालिनेछ । भावप्रवण अभिव्यक्तिको परख गरिनेछ ।

यो पनि थाहा पाउने छन्– निजी कुण्ठा, गाली बेइज्जती, विषवमन या घृणावर्षाका लागि कुनै (अ)सामाजिक सञ्जाल वा कथित राजनीतिक दलहरूको मञ्चमा गए हुन्छ, कविता नै लेखिरहनु पर्दैन । कविता पहाडबाट प्रस्फुटित झरनाजस्तै हो । यसले कलुषित मनलाई मन निर्मल गरिदिन्छ । कमल हिलोमै फुल्छ, तैपनि सुकिलो हुन्छ । त्यसलाई धोइरहनु पर्दैन ।

कतिपय कवि नै कवितालाई म्याद सकिएको विधा या म्यादी विधा बनाइरहेका छन् । कालजयी त परै जाओस् । समाचारलाई नै कविताको फर्म्याटमा भाँच्ने ‘पत्रकार कवि’ अनि समाचार वा घटनामाथि कवितात्मक सम्पादकीय लेख्ने कविले पनि ग्रन्थ पढे भने थोरबहुत प्रेरणा लिनेछन् ।

र, अन्त्यमा टिप्पणी गर्न योग्य अर्को प्रसंग पनि छ । सम्पादक कृसु क्षेत्रीको एक सय एक औं कविता ‘कवि र जिम्मेवारी’ । यति ठूलो काम गरेपछि पनि सम्पादकले आफ्नो कवि हुलिया देखाउने लोभ संवरण गर्न सकेको देखिँदैन । यो सम्पादकीय फुटनोट हो वा कालजयी कविता नै हो ? यसको जवाफ सुधी पाठकले नै दिऊन् ।

प्रकाशित : मंसिर ३, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×