कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहर पसेका मान्छेका कथा

काठमाडौँ — कवि भोजकुमार धमलाले कविता–किताब ‘द सेल्फिस सिटी’ मार्फत सहरिया मान्छेका दुःख, युवाका अनेकौं सङ्घर्षका कथा र तिनका सपनाहरूको आत्मद्रोह (आफूभित्रैको विद्रोह) लेखेका छन् । जन्मस्थान ओखलढुङ्गाबाट पढ्न काठमाडौं नामको ‘सिटी’ प्रवेश गरेपछि आफैंले भोगेका अनगिन्ती दुःख, पीडा र बेसहारालाई कवितामार्फत आवाज दिएका छन् ।

सहर पसेका मान्छेका कथा

जीवन–कथा बदल्ने सपना बोकेर ‘सिटी’ पसेको एक युवा कसरी सपनाहरूको बोझबाटै थिचिन्छ, किन जीवनलाई सपनाको थुप्रो ठान्छ भन्ने कथा भन्छ– ‘द सेल्फिस सिटी’ ले ।

हरियो गाताको संयोजन गरिएको, अङ्ग्रेजीमा लेखिएका यी कविता आधुनिक सहरका दुःखी मान्छेहरूका आत्मकथाजस्ता लाग्छन् । अम्बर पब्लिकेसन्स, नयाँ दिल्लीले छापेको यो किताबले दुईवटा विरोधाभासलाई मिहिन ढङ्गले उठाएको छ– आधुनिक सहर सुविधायुक्त छ कि स्वार्थी मान्छे बस्ने भएकाले दुविधायुक्त छ ?

किताबको शीर्षकले ‘सिटी’ सेल्फिस नै छ भन्ने बुझिन्छ, तर यी ५४ वटा कविताले आफूकेन्द्रित मान्छेहरूको जीवनशैली र तिनका निराशा भन्छ अनि कविको असल मनोकांक्षा छ– सुन्दर र सुधारिएको काठमाडौं ‘सिटी’ हेर्ने ।

कवि मानवीय प्रवृत्तिलाई उदाङ्गो पार्ने प्रयासमा छन् । निर्भीक ढङ्गले दुनियाँको छाडातन्त्रलाई पनि आलोचनात्मक रूपमा प्रस्तुत गर्छन् । कविको दृष्टि रिस, आक्रोश र चुनौती बनेर आएको छ । सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई चिरफार गर्न जोसिएका छन् उनी :

सार्वजनिक रूपमा पछाडि कुरा काट्ने प्रवृत्ति तिमी पनि जान्दछौ,

म जान्दछु

तिनीहरू पनि जान्दछन्

खुसी अनन्त छ, त्यसैले दयालु बन ।

कतै सामाजिक बेथितिविरुद्ध खनिन्छन् कतै नातावाद, कृपावाद अवसरवादलाई धारे हात लाउँछन् कतै आफ्नै योग्यताको प्रमाणपत्रलाई पनि अर्थहीन देख्छन् । यी कवितामा मिथ अफ सिसिफसको अर्थहीन सङ्घर्षजस्तो बन्छ एक युवा ।

धेरैजसो ठाउँमा समाजलाई सुझाव दिने मार्गदर्शकजस्ता पनि देखिन्छन् कवि । समाजलाई नैतिक शिक्षा दिने नैतिक शिक्षाको शिक्षकजस्ता पनि देखिन्छन् । तर, यी कवितामा आशा, अपेक्षा र मानवीय असल चरित्रको वकालत पनि भइरहेको छ । विशेषतः काठमाडौंलाई विम्ब बनाइएका यी कवितामा आगन्तुकका आँखामा काठमाडौं कसरी बाँच्छ, सहरले नवआगन्तुकलाई कसरी दुःखी बनाउँछ भन्ने विषयमा विमर्श गरिएको छ । मानव जीवन, प्रेम, समसामयिक समाज, राजनीति, विकृति, विसङ्गति, निराशा, आशा, आडम्बरी प्रवृत्तिलाई प्रहार गर्दै कविले आफ्नै भोगाइ लेखेका छन् यी कवितामा ।

यो किताबलाई समाजले मानवीय मूल्य निर्धारण गर्न आवश्यक रहेको सुझावपत्रका रूपमा लिन सकिन्छ । युवाहरू सुख–सुविधाको खोजीमा सहर पसेका छन् । सोचेझैं नभएपछि निराश बनेका छन् । मानवीयता हराउँदै गएको सहर भयानक ‘सेल्फिस’ बन्दै गएको निष्कर्ष छ कविको ।

प्रकाशित : मंसिर ३, २०७९ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?