कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल कस्तो सांग्रिला हो ?

सांग्रिलाको कल्पना चर्को विषय हो । दुःखले थाकेका मानिसको कुनै बिसौनीको कल्पना हो । मानिसलाई मन नपर्ने र ऊ डराउने विषय रोग, वय र मृत्यु हुन् । यी विषयबाट भाग्ने काल्पनिकी सांग्रिलाको एउटा खोज हो ।
अभि सुवेदी

काठमाडौँ — केही समयदेखि मलाई ‘सांग्रिला’ शब्द र यसको व्याख्या गर्ने संयोग परिरहेको छ । अमेरिकामा अध्ययन गरेर उतैका विश्वविद्यालयमा पढाउने मेरा पूर्व विद्यार्थीहरूले एउटा किताब प्रकाशित गरे । ‘नेपाल ए सांग्रिला ?’ (२०२२) शीर्षकमा उनीहरूका निम्ति मण्डला बुकले त्यो किताब प्रकाशित गरेको छ ।

नेपाल कस्तो सांग्रिला हो ?

त्यसमा मैले भूमिका लेखेको छु । विषय सांग्रिलाकै छ । तर, त्यसको शीर्षकमै उनीहरूले प्रश्नचिह्न राखेका छन् ।

बाहिर बस्ने र भित्र बस्ने हाम्रा निम्ति सांग्रिला सुन्दर भविष्य र जीवनको परिकल्पना भएको छ । नेपालमा हामी यो सांग्रिला शब्दको निकै प्रयोग गर्न थालेका छौं । यही शब्दको प्रयोग नगरे पनि यसले बुझाउने काल्पनिक आनन्दमय समय र थलोका परिकल्पना गर्ने हाम्रो बानी बसेको छ । त्यसमा पनि अहिले मंसिर ४ को चुनावमा मतदाता आकर्षित गर्न यस्तै सपनाहरूको व्यापक प्रचार भइरहेको अवस्था छ । नेपालको राजनीतिमा हामीले थाहै नपाई सुन्दर सुखमय जीवनको कल्पना एउटा भाषा नै भएको छ । यो नेपाल भूमिमा कस्ताकस्ता जादुमय परिवर्तन गर्ने, यहाँको तराईदेखि हिमालसम्मका भूखण्डमा कस्ताकस्ता काम गर्ने, कस्ता साधनहरूका रचना गर्ने, पहाड खोपेर कस्ता सुरुङ खन्ने, हिमालदेखि नागबेली परेर रेलहरू कसरी कुद्दै झर्ने र उकालो लाग्ने मिलाउने, खाली भूमिमा कस्ता ठूला हवाइमैदान बनाउने र ठूला जहाजहरू अवतरण गराउने, पानी जहाज कहाँ र कस्ता जलराशिमा चलाउने योजना र न्यारेटिभहरू त्यही सांग्रिलाका काल्पनिकी हुन्, सुन्दर तर यथार्थसँग अलिक मेल नखाने काल्पनिकी । यसको अर्थमाथि केही लेखौं ।

सांग्रिलाको कल्पना निकै चर्को विषय हो । दुःखले थाकेका मानिसको कुनै बिसौनीको कल्पना हो सांग्रिला । मानिसलाई मन नपर्ने र ऊ डराउने विषय रोग, वय र मृत्यु हुन् । यी कुराबाट भाग्ने काल्पनिकी सांग्रिलाको खोज हो । यो शब्दको पश्चिमीहरूले धेरै प्रयोग गरे । तर, जरा अथवा बृद्धत्व र मरणबाट विस्मित हुने अनि त्यसको समाधान खोज्ने पहिलो मानिस गौतम बुद्धलाई मानेका छौं । बालक छोरा र पत्नी सुतेको ठाउँबाट लुसुक्क निस्केर हिँडेका ती मानिस जरा मरणबाट मुक्तिको खोजमा हिँडेका थिए । तिनले मुक्ति पाए अनि अरूलाई पनि त्यो बाटो सिकाए । तर, तिनकी पत्नी यशोधरा उर्फ बिम्बा सधैं तिनको दैहिक र भावनाको प्रेम पर्खेर बसिरहिन् ।

मैले ‘बिम्बाका सपना’ भन्ने नाटक लेखेर तिनको चित्रण गर्ने जमर्को गरें । ती बिम्बाको खप्की खाँदा खाँदा गरें । तर, संयोगबस पाँचौं शताब्दीमा अमुक भिक्षुले पाली भाषामा बिम्बाको बयान गरेर केही पाठ लेखेका रहेछन् । त्यसको प्रयोग गर्दा केही समाधान निकालें । बुद्धको विषयमा मात्रै लेखिन्छन् सबै कुरा । यी यशोधराको विषयमा के लेख्थे र ! आकार थिएटरले त्यो नाटक मञ्चन गरे । म पश्चिमी लेखक र साहित्यकारका कुराले अलि बढी बहकिएको मानिस हुँ । सांग्रिलाकै कल्पना गरिरहें । सोधें, के बुद्ध कुनै सांग्रिलाको खोजीमा निस्केका थिए त ? उनको यात्रा व्यापक र सबैले मानेका छौं, महान थियो । तर, सांग्रिलाको काल्पनिकीमा बल्झिएर आउने कुरा पनि तिनै हुन् । सांग्रिलाको प्रयोग कसरी भयो त्यसको कथा यस्तो छ ।

जेम्स हिल्टन भन्ने आङ्ल लेखकले लेखेको ‘लस्ट होराइजन’ अथवा ‘गुमेको क्षितिज’ भन्ने एउटा उपन्यास सन् १९३३ मा लन्डनमा प्रकाशित भयो । यस उपन्यासमा मानिस र प्रकृतिको अनि विभिन्न थरीका मानिस मिलेर बसेको काल्पनिकी छ । हिमालयपारि कुनै तिब्बती उपत्यका र भित्री ठाउँमा यो सांग्रिला रहेको छ भन्ने कल्पना बलियो भएर आयो । त्यो ठाउँका बासिन्दा बूढाबूढी हुँदैनन् अनि त्यो परम सुन्दर भूखण्डमा बस्छन् भन्ने वर्णन छ त्यसमा । यस्ता उत्तरी र हिमाली खण्डमा सांग्रिला हुन्छ भन्ने विश्वासले निकै मानिसमा खोजी गर्ने आतुरता बढ्यो ।

सांग्रिलाको पर्यटकीय भाष्यमा यसको धेरै प्रयोग गरिने कारण त्यस्तै स्वप्नधारीहरूलाई केही न केही सांग्रिलाका विम्ब, सपना जगाउने कुरा दिएर आकर्षित गर्ने होडले गर्दा हो । पश्चिमका युवायुवतीहरू यस्तै अमुक काल्पनिक थलोका खोजीमा निस्किने क्रम बढ्यो । उनीहरू सन् १७७३ देखि लेखिएका पश्चिमी यात्रुहरूका बयानबाट प्रेरित थिए । तिब्बतमा चीनको शासन १९५९ मा लागू भएपछि यस्ता वर्णनहरू लेख्ने क्रममा परिवर्तन आयो । पश्चिमेली स्वप्नधारी युवायुवतीहरू अतिरिक्त सांग्रिलाको खोजीमा लागे । उनीहरूले नेपाललाई त्यस्तो ठाउँ भएको र त्यो यहाँ भेटिएको ठाने । ‘द इम्पेरियल आर्काइभ’ (१९९३) किताबमा टमस रिचार्डसले लेखे, यी नवयुगको सपना खोज्ने युवाहरू बलियो र व्यापक ज्ञानको खोजी गर्दै नेपालमा आइपुगे । तिनलाई अर्को भाष्यमा हिप्पी पनि भनिएको छ । तिनीहरूका खोजी काल्पनिकी वा युटोपियाली थिए । तर, उनीहरूले त्यो काल्पनिक थलोका अवस्था बुझ्ने त्यति प्रयाश गरेनन् । उनीहरू नेपाललाई सांग्रिला भनेर मान्ने चाहनाले ओतप्रोत थिए ।

तर, नेपालका युवायुवतीहरूका बाहिर जाने अवस्था कस्ता हन् ? ती कस्ता सपनाको खोजीमा जान्छन् त ? मलाई लाग्छ, सुन्दर जीवनको खोजीमा जाने चाहना बलियो छ नेपाली युवाहरूमा । त्यो काल्पनिक होला, तर उनीहरू यथार्थ अवस्थासँग धेरै जुध्छन् । श्रम गर्न विदेश जाने लाखौं नेपाली अमुक सांग्रिलाको खोजीमा जाँदैनन् । जीवनको यथार्थसँग जुध्न जान्छन् । तर, अर्कोतिर त्यस्ता बाहिरतिर जानेहरू पनि छन्, जो इच्छाले युटोपियाली खोजमा जान्छन् । प्रवासी नेपालीका संघको निमन्त्रणामा एउटा साहित्यिक अनलाइन छलफलमा भाग लिएको थिएँ । ती छलफलमा सांग्रिला काल्पनिकी कहीँ न कहीँ एउटा बलियो विषय भएर आएको थियोजस्तो लाग्यो । डायास्पोराजस्ता शब्दले व्याख्या गरिने अनेकौं विषय छन् । नेपालको सांग्रिला काल्पनिकीसँग त्यो यथार्थ कति मेल खान्छ भन्न सजिलो छैन ।

नेपालको कुरा गर्दा सांग्रिला शब्द किन आउँछ ? यसको एउटै उत्तर मैले भेटेको छैन । तर, नेपालमा सपनाहरूको चर्चा निकै हुन्छ । त्यसलाई राजनीतिले धेरै प्रयोग गरेको छ । सपना बुन्नु, अनि ती सपना पूरा गर्ने बहानाका भाष्य बनाउनु र राजनीति गर्नु अहिले नेपालको सबभन्दा बलियो विशेषता भएको छ । सपनाहरू बनिनु स्वाभाविक प्रक्रिया हो । साधारण आवश्यकता पूरा भएनन् भने, जीवन कठिन हुँदै गयो भने, आधुनिक संसारमा स्वाभाविक रूपमा पूरा हुनुपर्ने चाहनाहरू पनि पूरा भएनन् भने मानिसहरू कि आक्रोशित हुन्छन्, कि सपना बुन्न थाल्छन् ।

नेपालमा राजनीतिक रूपले मानिस मुक्त भएको, तर जीवन भोग्ने क्रममा कठिनाइहरूसँग सामना गर्नुपरेको अवस्था छ । गतिलो राजनैतिक अभ्यासले समाधान गरिनुपर्ने विषय हुन् यी । ती कुरा यसरी पूरा हुन्छन् वा यसरी हामी पूरा गर्छौं भन्ने प्रतिज्ञाहरू गर्ने संघ र संगठनहरूलाई हामी राजनैतिक पद्धति भन्छौं । यो कुरालाई अहिलेको आमनिर्वाचनको अवसरले प्रस्ट बनाइदिएको छ । अहिले राजनैतिक दलहरूका घोषणापत्रहरू भनेका तिनै सपना पूरा गर्ने विभिन्न योजना हुन् । अहिलेको नेपाली राजनीतिको चरित्र भनेको हाम्रा सपनाहरूको व्याख्या गर्ने, तिनको समाधन गरिदिने प्रतिज्ञा गर्ने भाष्यको प्रयोग गर्ने हो । अहिले आम मानिसले व्यक्त गर्नेे भावनाहरूमा यही अभ्यासको परीक्षा छ ।

नेपालको महिमा साहित्यिक काल्पनिकीमा गरिन्छ, त्यो स्वाभाविक हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको निबन्ध ‘के नेपाल सानो छ ?’ लाई उदाहरण लिन सकिन्छ । तर, सबभन्दा जटिल प्रश्न हो, हाम्रो नेपाल सांग्रिला हो भन्ने केही आधार छन् भने ती के हुन् ? त्यसका उत्तर प्रस्ट छैनन् । तर, हामीसँग सांग्रिला चरित्र बुझाउने केही विषय छन् भन्ने मान्छौं हामी । पर्यटकलाई तिनको प्रयोग गरेर आकर्षित गर्न चाहन्छौं । हामी हाम्रा सांस्कृतिक, फोकलोरसम्मत विशेषताहरू, हाम्रा महान् कला, हस्तशिल्प र तिनका रूपहरू, हिमालय, प्रकृति र संगीतमा सांग्रिला काल्पनिकीलाई चलाउन निकै सिपालु भएका छौं । तर, जनताका यथार्थ कल्पनासँग राजनीति गर्नेहरूले जनतालाई सम्मान गर्ने काम गरून्, हाम्रो यही भनाइ छ ।

प्रकाशित : मंसिर ३, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?