महाकुम्भको महातनाव- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकुम्भको महातनाव

कतारमा फुटबलको महाकुम्भ विश्वकप सुरू हुन केही दिन मात्रै बाँकी छ । तर, विवाद र तनावको शृंखला सेलाएको छैन । र, चर्चा फुटबलको भइरहेको छैन ।
हिमेश

पत्याउनु के पत्याउनु ! झन् नपत्याउँदा कसरी नपत्याउनु ! विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप कतारमा सुरु हुन केही दिन मात्रै बाँकी छ । तर, विवाद र तनावको शृंखला सेलाएकै छैन । आजभन्दा १२ वर्षजति अघि चार/पाँच जनाको एउटा यस्तो बैठक बसेको थियो, जतिबेला सन् २०२२ को विश्वकप कतारमा हुन्छ भन्ने निर्णय भएकै थिएन ।

बैठकमा सहभागी थिए, फ्रान्सका तत्कालीन राष्ट्रपति निकोलस सार्कोजी, युरोपेली फुटबल महासंघका तत्कालीन अध्यक्ष मिचेल प्लाटिनी र कतारका दुई उच्च पदाधिकारी । बैठकको विषय थियो, फाइटर जेट र एन्टी मिसाइल सुरक्षा व्यवस्थापबारे । भनिन्छ, त्यही बैठकले कतारलाई विश्वकप आयोजना गर्ने अधिकार दिने कुरा भएको थियो । कहाँ हतियारको किनबेचका कुरा, कहाँ विश्वकप फुटबल ! तर, तारतम्य मिलेकै थियो । मिलाइएकै थियो ।

हतियार किनबेच भए/भएन्, त्यो तथ्य ठ्याक्कै बाहिर आएन । तर, विश्वकप कतारमा हुने भयो नै । यी दुई कुराको सम्बन्ध के होला त ? अनुमान गर्न गाह्रो छैन । भनिन्छ, त्यो बैठकको व्यवस्था गर्न अरू दुई जनाले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेका थिए, त्यसमा एक अहिलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थिए । अर्का मोहम्मद विन हमाम । हमाम कतारी हुन् र उनले कुनै समय एसियाली फुटबल महासंघ सम्हालेका थिए अनि फिफा अध्यक्ष हुने सपना पनि देखेका थिए । तर, पछि आफैँ फिफाबाट आजीवन प्रतिबन्धमा परे । कुरा यत्तिकैमा सकिन्न, प्लाटिनी पनि फिफाको प्रतिबन्धमा परे । कतारलाई विश्वकप आयोजनाको अधिकार दिन सबैभन्दा ठूलो भूमिका उनैले खेलेका थिए । यता सार्कोजीविरुद्ध भ्रष्टाचारको मुद्दा चलेकै थियो । उनको राजनीतिक जीवन तहसनहसजस्तै भइसकेको छ । तर, कतारमा विश्वकप हुने निर्णय पल्टिएन । विश्वकप आयोजना गर्न कसलाई दिने भन्ने निर्णयका लागि भएको मतदानमा कतारले अमेरिकालाई हराएको थियो ।

त्यतिबेला अमेरिकामा राष्ट्रपति थिए, बाराक ओबामा । अमेरिकाको पक्षमा निर्णय ल्याउन उनी खुलेरै लागेका थिए । पछि उनले भनिहाले, ‘कतारलाई विश्वकप दिनु गलत निर्णय हो है ।’ त्यसको लगभग १२ वर्षपछि फिफाकै तत्कालीन अध्यक्ष सेप ब्लाटरले पनि भनिसके, ‘वास्तवमै यो गलत निर्णय थियो ।’ उनले कतिसम्म भनेका छन् भने यो निर्णयका पछाडि सबैखाले चलखेल गर्ने तिनै प्लाटिनी हुन् । यी सबैको सार खिच्दा कुरा कहाँबाट कहाँ पुग्छ– एकातर्फ फ्रान्स, रुस र अमेरिकाका राष्ट्रपतिसम्म । अर्कोतर्फ हातहतियारको किनबेच । प्रसस्तै आर्थिक चलखेल । अनि बीचमा विश्वकप फुटबल । कतारलाई विश्वकप आयोजनाको अधिकार दिनुसम्मको घटनाक्रमलाई समेटेर लेख्दा एउटा बाक्लै उपन्यास बन्छ । ती अगाडिको घटना भने त्यसका केही पाना मात्र हुन् । अविश्वसनीय घटनाक्रम त कति हो कति ! त्यसमध्ये कतारमाथि नै केही गम्भीर आरोप पनि छन् । त्यसमध्ये मानव अधिकार, आप्रवासी कामदार र एलजीबीटीक्यू प्लस समुदायप्रति कतारी दृष्टिकोण र व्यवहारबारे पनि उत्तिकै बहस चलिरहेको छ ।

विश्वकपका लागि चाहिने रंगशालाहरूको निर्माणमा हजारौंहजार आप्रसावी कामदारले काम गरे । त्यसमध्ये धेरै त हाम्रै नेपाली दाजुभाइ थिए । तिनीहरूमाथि पर्याप्त श्रम शोषण भएको मानिन्छ । तिनलाई प्रचण्ड गर्मीमा काम गर्न बाध्य पारिएको पनि भनिन्छ । यही कारण सयौंले ज्यान पनि गुमाए । दुघर्टनामा परेर मृत्यु हुनेको संख्या बेग्लै छ । फेरि समलिंगी सम्बन्ध त कतारमा कानुनी रूपमै प्रतिबन्धित छ ।

कतारलाई विश्वकपबाट रोक्न त सकिएन, कम्तीमा व्यक्तिगत रूपमै यो विश्वकप बहिष्कार गरौं भन्ने पनि उत्तिकै निस्किरहेका छन् । विश्वकपमा सहभागी हुने कतिपय देशका समर्थकले कतार जाने छैनौं भनेर घोषणा पनि गरेका छन् । अहिले केके भइरहेको छ, बुझ्न पश्चिमेली समाचार हेरे पुग्छ, पर्याप्त सामग्री छ्यापछ्याप्ती छन् । त्यसैले कतारको पनि आरोप छ, यी सबै पश्चिमेली सञ्चारमाध्यमको एकपक्षीय काम हो, तिनीहरूले भनिरहेजस्तो केही भएकै छैन । मध्यपूर्वमा कतार क्षेत्रफल र जनसंख्याको आधारमा वास्तवमै निकै सानो छ । तर, असाध्यै धनी छ । कतारसँगै प्राकृतिक ग्यासको अपार भण्डार छ । विश्व कूटनीतिमा पनि सफल र चलाख खेलाडी बनेको छ ।

छिमेकी साउदी अरेबियासँग उसको जबरजस्त दुश्मनी छ । अहिलेसम्म पनि पानी बराबारकै स्थिति छ । केही वर्षअघि साउदी नेतृत्वको एउटा गुटले कतारमाथि सबैखाले नाकाबन्दी नै लगाएको थियो । अनि सबैखाले कूटनीतिक सम्बन्ध पनि तोडेको थियो । तर, यसले कतारलाई केही पनि असर परेन । उल्टै कतार झन्झन् बलियो बनेर उभियो । अब गर्ने के ? ती सबै नाकावन्दी हटाएको घोषणा गर्न साउदी अरेबिया र उसको समूह बाध्य रह्यो ।

यी सबै घटनाक्रमबीच विश्व राजनीतिमा नयाँ शब्द जन्म भएको छ र यो ‘ट्रेन्ड’ बनेको छ । त्यो हो, ‘स्पोर्ट्स वासिङ’ अर्थात् खेलकुदको नाममा दूधले नुहाएर आफ्नो छवि सुधार्ने प्रयास । कतारले यो गरेकै छ । यो परम्परा अहिले धेरै बढेको छ । केही देश वास्तवमै मानव अधिकार, स्वतन्त्रताजस्ता विषयमा कमजोर हुन्छन्, अझ बदनाम हुन्छन् । अब यो कमजोरी र बदनामीलाई हटाउन ती देशले गर्ने भनेको खेलकुदमा लगानी नै हो । लगानी पनि कस्तो भने पानी बगेजस्तै छ्यालब्याल ! डलरको खोलै बगाउने ! कतारले एसियाली खेलकुद र एसियाकप त उही जमानामा गर्‍यो, अब ओलम्पिक गर्ने सोच छ उसको । विश्वकप त गर्दै छ । कतार विश्वकपको निहुँमा आफ्नो आफूलाई चोखो पार्ने प्रयास गरिरहेको छ । खेलकुदको निहुँमा कतारी लगानी उसको देशमै मात्र सीमित छैन, बाहिर पनि छ ।

फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सीधा–सीधा कतारी लगानीमा चलेको क्लब हो, जहाँबाट लियोनल मेसी र नेयमारजस्ता खेलाडी खेल्छन् । खेलकुदका नाममा कतार जोकोहीलाई सहयोग गर्न पछाडि हट्दैन । मारमा परेको छ, फुटबल नै । विश्वकप सुरु हुन दिन केही दिन मात्रै बाँकी छ, चर्चा फुटबलको भइरहेको छैन । यो तनावमा फुटबलप्रेमीको दुःख यही हो ।

प्रकाशित : कार्तिक २६, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

रानी–महारानीका नीलडाम

दरबारका अग्ला पर्खालले त्यहाँका महिलाको अवस्था नियाल्न दुनियाँलाई छेक्छ । केटी, कमारी, सुसारेलाई दैहिक ऐयाशीका लागि पुरूषले उपभोग गरेका र तिनलाई अन्य पुरूषप्रति आकर्षित हुनबाट रोक्न बल प्रयोग गरिएका कहानी प्रशस्तै भेटिन्छन् ।
जंगबहादुर राणाका ४२ पत्नी थिए । देशविदेशका अन्य स्त्रीसँग रासलीलाको चाँजोपाँजो मिलाइरहन्थे तर पत्नीहरूसँग भने प्रेमपूर्ण व्यवहार गर्न आवश्यक ठान्दैनथे। बरु शारीरिक प्रताडना दिइरहन्थे ।
सुजित मैनाली

कवि श्यामलको एउटा कविता छ– किचकन्या । दरबारिया पुरुषहरूले यौनतृप्तिका लागि उपभोग गरेपश्चात् मारेका कैयौं युवती दरबारभित्रै गाडिए । अकालमै मारिएका प्रेमाप्त ती युवतीहरू किचकन्या भए । तिनीहरूको प्रेमपाशमा परेर सहरका युवकहरू खिरिलो बन्दै गएका छन् । दरबारभित्रका जमिन खोस्रिएर ती युवतीका नलीहाड पत्ता लगाई भस्म गरी तिनीहरूलाई प्रेतयोनिबाट मुक्त गरिनुपर्ने राय कवितामा व्यक्त गरिएको छ ।

कविताले दरबारको आततायी चरित्रप्रति रोष व्यक्त गर्दै त्यहाँको जग भत्काउने राजनीतिलाई न्यायोचित ठहर्‍याउन दरबारका अग्ला पर्खालभित्र हुने नारी प्रताडनाको सहारा लिएको छ । दरबारभित्र केटी, कमारी, सुसारे आदिलाई दैहिक ऐयाशीका लागि दरबारिया पुरुषहरूले उपभोग गरेका र उनीहरूलाई अन्य पुरुषप्रति आकर्षित हुनबाट रोक्न बल प्रयोग गरिएका कहानी प्रशस्तै भेटिन्छन् । उदाहरणका लागि बालकृष्ण सम (शमशेर) को नाटक ‘प्रेमपिण्ड’ को कथालाई लिन सकिन्छ, जुन आफ्नै घरको घटनामा आधारित रहेको सम स्वयंले स्विकारेका छन् ।

दरबार भन्नासाथ मानिसका मनमा रसरंगमा चुर्लुम्म डुबेका दरबारिया पुरुष र उनीहरूका लागि हरदम यौन पस्किन तयार हुनुपर्ने सुसारेहरूको विम्ब निर्मित हुने गर्छ । दरबारिया पुरुषहरू यौनसुखका लागि मूलतः सुसारेमाथि निर्भर हुन्थे । त्यसैले उनीहरूका पत्नी प्रणयसुखबाट वञ्चित रहन्थे । ती स्त्रीलाई अन्य सुखको चाहिँ कमी हुँदैन थियो, शक्तिशाली पुरुषको पत्नी हुनुको हैसियतले उनीहरू रवाफिलो जीवन बाँच्थे भन्ने सामान्यतः ठानिन्छ । त्यस्ता महिलाको अवस्थामाथि प्रकाश पार्ने सामग्रीहरूको अभावका कारण वास्तविक कुराचाहिँ के हो भनी थाहा पाउन अप्ठेरो हुने गरेको छ ।

दरबार वा सम्भ्रान्त घरानामा विशेषतः पत्नी वा बुहारीको अवस्थातर्फ चिहाउने सैद्धान्तिक आधार नभएका होइनन् । तिनको आलोकमा नेपाली समाजको विश्लेषण गर्ने जमर्कोचाहिँ खासै भएको छैन । वात्स्यायनकृत ‘कामसूत्र’ मा कुलीन पुरुषका पत्नीहरूको चित्रण गर्दै भनिएको छ, ‘धनी व्यक्तिको सट्टा दरिद्र र निर्गुण नै भए पनि आफ्नो पेट पाल्न सक्ने र आत्मनियन्त्रणमा रहन सक्ने व्यक्तिलाई स्त्रीले पति रोज्नुपर्छ किनकि कुलीन स्त्रीहरूलाई बाहिरी सुख प्राप्त भए पनि भित्री सुख प्राप्त हुँदैन (३।४।५१–५२) ।’ भित्री सुखबाट वञ्चित रहनुपरेकैले उनीहरू निरङ्कुश स्वभावका हुन्छन् भन्ने वात्स्यायनको मत छ । सम्भ्रान्त परिवारमा पत्नी र बुहारीमाथि लादिएका प्रताडनालाई भन्दा अझ व्यवस्थित ढङ्गले बुझ्न सक्नेगरी सैद्धान्तिक आधार दिने व्यक्ति मार्क्सवादी चिन्तक फ्रेडरिक ऐंगेल्स हुन् । आफ्नो किताब ‘द ओरिजिन अफ द फेमिली, प्राइभेट प्रोपर्टी एन्ड द स्टेट’ मा उनले आर्थिक हिसाबले सम्पन्न परिवारमा विवाहसम्बन्धी निर्णयाधिकारबाट महिलालाई वञ्चित गरिने निष्कर्ष निकालेका छन् । जुन परिवारमा वरेस अर्थात् पुत्रलाई हस्तान्तरण गर्नुपर्ने सम्पत्ति बढी हुन्छ, त्यहाँ परपुरुषगामिनी बन्नबाट निरुत्साहित गर्नेगरी पत्नीमाथि हिंसा बढी लादिने गर्छ भनेर ऐंगेल्सले निजी सम्पत्तिको आलोकमा महिला हिंसाको विवेचना गरेका छन् । वात्स्यायन र ऐंगेल्सका यी सिद्धान्तलाई पुष्टि गर्ने केही विवरण नेपालको दरबारिया इतिहासमा पनि भेटिन्छन् । त्यस्ता विवरणमध्ये केहीले आफ्ना पतिबाट रानी–महारानीहरूले खेप्नुपरेको यातनाबारे प्रकाश पार्छन् ।

सत्ता र सम्पत्तिको रवाफ

सत्ता र सम्पत्तिको आडमा दरबारिया पुरुषहरूलाई बहुस्त्रीगमनको सुलभता हासिल हुन्छ । पत्नीहरू आफ्नो सेवा गर्न भित्र्याइएका प्राणी हुन्, उनीहरूबाट सेवा दोहन गर्नुपर्छ र काबुमा राख्न घरपालुवा जनावरलाई झैं उनीहरूलाई पनि कुटपिट गर्नुपर्छ भन्ने भाव उनीहरूमा प्रबल हुन्थ्यो । सत्ताको डन्डा देखाएर संग्रह गरिएका सम्पत्ति भोगविलासमा खर्चिने सुविधा भएकाले स्त्रीहरूबाट हरदम घेरिएर बस्ने अनि महिनैपिच्छेजसो नयाँ सन्तानको पिता बन्न सक्ने अनुकूलता पनि दरबारिया पुरुषलाई मात्र थियो । उनीहरूको दैनिकीको एउटा हिस्सा बहुस्त्रीगमनको तारतम्य मिलाउने उपक्रममै बित्थ्यो । राणा कुलका बहुस्त्रीगमनकारी पुरुषमध्येका एक जुद्धशमशेरले यौनशक्ति बढाउन दिनहुँ दुई सय भँगेराका टाउकाको सुप खाने गर्थे भनी त्यतिबेला चर्चा चल्ने गर्थ्यो । दरबारिया पुरुषका यस्ता प्रवृत्तितर्फ संकेत गर्ने प्रमाण थुप्रै भेटिन्छन् ।

त्यस्ता पुरुषबारे चर्चा गर्ने क्रममा जेरेड डायमण्डले आफ्नो किताब ‘ह्वाई इज सेक्स फन’ मा १९ औँ शताब्दीतिर भारतको हैदराबादका निजामको दरबारमा एक साता बिताएका एक जना यात्रुले निजामका श्रीमतीहरूले आठ दिनभित्र चार सन्तानलाई जन्म दिएको र त्यसको अर्को साता थप नौ सन्तान जन्मने निश्चितप्रायः भएको कुरा लेखेकोबारे उल्लेख गरेका छन् । मोरक्कोका एक जना सम्राट् करिब नौ सय सन्तानका पिता बनेको विवरण पनि उनकै किताबमा छ । बहुस्त्रीगमनको सहज उपलब्धता भएको परिवेशमा दरबारिया पुरुषहरू पत्नीप्रति विनम्र हुन आवश्यक ठान्दैनथे । ससाना निहुँमा उनीहरूलाई निर्घात कुट्ने गर्थे ।

उपलब्ध प्रमाणका आधारमा नेपाली इतिहासका चर्चित पात्रहरूमध्ये सबैभन्दा परस्त्रीगामी पुरुष जंगबहादुर राणा हुन् । उनका जम्मा ४२ पत्नी थिए । देशविदेशका अन्य स्त्रीसँग रासलीला रचाउने चाँजोपाँजो पनि उनी मिलाइरहने गर्थे । दिनेशराज पन्तले छापेको जंगबहादुरको एउटा पत्रमा उनले मन्नुसिंह नाम गरेका सुवेदारलाई ‘खुबसुरत अंग्रेजी बिविमाफिक्का केटी २/३ महिनाभित्रमा तैंले ल्याउन सकिस् भन्या तेरा दर्जा पनि बढाइदिउँला, मुनासिबमाफीका केटीलाई ल्याउनामा लाग्याको खर्च पनि मिनाह दीउँला’ भनेका छन् । युरोपका यौनकर्मीसँगको उनको सम्बन्ध त चर्चित छँदै छ । यति धेरै महिलाबाट यौनसुख दोहन गर्न पाएकाले आफ्ना पत्नीहरूसँग प्रेमपूर्ण व्यवहार गर्न जंगबहादुर आवश्यक ठान्दैनथे । पत्नीहरूलाई उनी कुटपिट गर्ने गर्थे ।

कोतपर्वपछि जंगबहादुरले सत्ताको खुड्किलो उक्लिँदै गएर अन्ततः शासनसत्तामा एकाधिकार जमाए । प्राइम मिनिस्टर हुँदै आफूलाई श्री ३ महाराज घोषित गराएर देशका वास्तविक राजालाई निष्क्रिय र शक्तिहीन तुल्याए । शासनसत्ताको मियो त्यसपछि श्री ३ को दरबारमा सर्‍यो । श्री ३ महाराज र उनीहरूका सन्तानले श्रीपेच लगाउने≤

आफ्ना पत्नीहरूलाई बडामहारानी, जेठीमहारानी, रानी, महारानी, आदिमा वर्गीकरण गर्नेजस्ता कृत्यमार्फत राणाहरूले पनि शाही ठाँट प्रदर्शन गर्न थाले ।

केशव चौंलागाईंको सम्पादनमा छापिएको किताब ‘चन्द्रशमशेरका टिपोटहरू’ मा श्री ३ महाराजका पत्नीहरूको अवस्थाबारे प्रकाश पार्ने केही सामग्री छन् । ती सामग्रीमा जंगबहादुरले आफ्ना रानीहरूलाई कुटेको तीनवटा विवरण भेटिन्छन् ।

जंगबहादुरको दरबारमा कार्यरत खड्गसिंह गुरुङले तयार पारेको एउटा टिपोटमा रिस उठेका बेला जंगबहादुरले पत्नीहरूलाई कुट्थे भनिएको छ । टिपोटले भन्छ, ‘हाकिम अमलहरूले काम विरायो भने बेसगरी कुटन लगाइ बक्सि पछि दया गरिबक्सिने । रिसाइ बक्सेको बखत भित्र महारानीहरूलाई पनि चुटिबक्सिने ।’

जंगबहादुरको मृत्युपछि उनीसँग सती पठाइएका तीन रानीमध्ये एउटी थिइन्, पुतली महारानी । राजा राजेन्द्रविक्रम शाहको दरबारमा सुसारेको रूपमा काम गर्ने पुतली नानीले दरबारभित्रका गोप्य सूचना दिएर जंगबहादुरको उदयमा टेवा पुर्‍याएकी थिइन् । सत्तामा आएपछि जंगबहादुरले पुतलीलाई आफ्नो दरबारमा ल्याएर रानी हुँदै महारानी बनाए । उनका तर्फबाट बबरजंग नाम गरेको छोरा पनि पाए । जंगबहादुरकी प्रियपत्नीको सूचीमा पुतली महारानीलाई अक्सर राख्ने गरिन्छ । मृत्युपछि स्वर्गमा पतिले ‘गाथ अड्याउन’ पुतलीलाई खोज्लान् भनेर जंगबहादुरको टोपी र खराउसँगै पुतलीलाई जलाइएको थियो ।

तिनै पुतलीलाई हात छोड्न जंगबहादुर अप्ठेरो मान्दैनथे । जंगबहादुरले पुतलीलाई ‘बोक्सी’ को बात लगाएको र कुटपिट गरेको विवरण खड्गसिंहकै टिपोटमा परेको छ । टिपोटका अनुसार, एकपटक जंगबहादुर निजगढ पुगेका थिए । कुनै कुरामा पुतलीसँग रिस उठेपछि कुट्दै उनलाई पालबाहिर निकालिदिए । पुतलीकी सौता बडामहारानी हिरण्यगर्भदेवीले अनुनय गरेपछि मात्रै उनलाई पालभित्र छिर्न दिइएको थियो । टिपोटमा त्यस घटनाबारे भनिएको छ, ‘सालको सम्झना भएन । निजगढ वासहुँदा जनरल बबरजंगको मुमा (पुतली महारानी) उपर रिसानी भै पिटीबक्सी खिर्की बाहिर निकाली बक्सेको थियो । पछि मैंया महारानी (हिरण्यगर्भदेवी) बाट बिन्ति चढाई बक्सँदा ल्याउ त्यो बोक्सीलाई भनी भित्र पालमा ल्याईबक्सी मोहरू २६०० बक्स्यो ।’

चौंलागाईंकै किताबमा जंगबहादुरका पुरोहित शिवराजले तयार गरेको अर्को एउटा टिपोटमा जंगबहादुरले एउटी बिरामी पत्नी (कुटुवाल महारानी ?) लाई निर्घात कुटेको र दुई महिनापछि महारानीको मृत्यु भएको विवरण छ । त्यतिबेला महारानीलाई सन्चो थिएन । उनको हावा बिग्रिएको (भूतप्रेत लागेर मानसिक सन्तुलन खलबलिएको) थियो भनी लेखिएको छ । मानसिक अवस्था बिग्रिएका बेला एक दिन उनले जंगबहादुरलाई जथाभावी भनिछन् । रिसको झोंकमा जंगबहादुरले छेवैमा रहेको नाला (आगो झिक्ने दाबिलो) उठाएर त्यसैले निर्घात कुटेछन् । जंगबहादुरका अन्य पत्नीले अनुनयविनय गरेपछि मात्रै कुट्न छोडेछन् । त्यस घटनाबारे चर्चा गर्दै टिपोटमा ‘...नालै नालाले कुटि बक्सिएछ .... महारानी पनि २ महिना पछि स्वर्गे भै बक्स्यो’ भनिएको छ । खोजीपस्ने हो भने दरबारिया पुरुषका पत्नीहरूमाथि हुने हिंसाका विवरण अरू पनि पाइएलान् ।

केशरका कर्तुत

पत्नीहरूलाई प्रताडित गर्ने दरबारिया पुरुषहरूको चर्चा गर्दा छुटाउनै नमिल्ने व्यक्ति हुन्, केशरशमशेर । खासगरी एक जना पत्नीलाई उनी चरम यातना दिने गर्थे । ती पत्नीप्रतिको उनको रवैयाबारे चर्चा गर्नु लैंगिक अध्ययनका क्षेत्रमा अतिरिक्त महत्त्वको छ किनकि उनीबाट बढ्ता यातना खेप्ने लक्ष्मीराज्यलक्ष्मी नाम गरेकी पत्नी सामान्य परिवारकी छोरी–चेली नभई राजा पृथ्वीवीरविक्रमकी छोरी र तत्कालीन राजा त्रिभुवनकी दिदी थिइन् ।

लक्ष्मीराज्यलक्ष्मीप्रति केशरको रवैयालाई सामाजिक र मनोवैज्ञानिक दुवै कोणबाट विवेचना गर्न सकिन्छ । पत्नीका रूपमा भित्र्याइसकेपछि अरू त के, राजाकी छोरीलाई पनि मरणासन्न हुने गरी कुट्न मिल्छ भन्ने तत्कालीन समाजको बुझाइ केशरको व्यवहारमार्फत प्रकट भएको छ । केशरले लक्ष्मीराज्यलक्ष्मीलाई कुट्ने गरेको भेउ पाउने मानिसहरू केशरको कामलाई जायज ठहर्‍याउन ‘बादशाहाकी छोरी हुँ भनेर घमण्ड गरी होली, अनि घमण्ड तोड्न लात मार्‍यो होला’ भनी चर्चा गर्ने गर्थे । यो कुरा केशरमहलमै बसेर त्यहाँको चालचलन नियाल्न पाएकी सहिद शुक्रराज शास्त्रीकी बहिनी चन्द्राकान्ता मल्लले आफ्नो संस्मरणमा लेखेकी छन् ।

फेरि त्यतिबेला राजाभन्दा राणाहरू शक्तिशाली र सम्पन्न थिएँ । त्यसमाथि तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरका छोरा थिए केशर । राजपरिवार र राणा परिवारबीच हुने बिहेबारीको आफ्नै कथा छ । राणा शासन सुरु हुनुअघि नेपालको जातव्यवस्थामा ठकुरीको भन्दा खसको स्थान तल थियो । खस समुदायअन्तर्गत कुँवर कुलका जंगबहादुर शासनसत्तामा आएपछि पनि ठकुरी र क्षत्री भारदारले उनलाई आफूसरहको मान्दैनथे । ठकुरी परिवारसँग आफ्नो परिवारको बिहेबारी र भातभान्छा सुनिश्चित गर्न जंगबहादुरले ठूलै मिहिनेत गर्नुपरेको थियो । अथक प्रयासपछि मात्रै चौतारिया फत्तेजंग शाहकी बहिनी हिरण्यगर्भदेवीसँग बिहे गर्न उनी सफल भएका थिए । राजा सुरेन्द्रविक्रम शाहकी छोरीहरूलाई बुहारी बनाई भित्र्याउन र राजाका छोराहरूलाई ज्वाइँ बनाउन पनि उनले त्यस्तै मिहिनेत गर्नुपरेको थियो । यस्तो पारिवारिक पृष्ठभूमिका कारण पनि केशरले राजाकी छोरीलाई निर्घात कुट्दा आफ्नो कुलको श्रेष्ठता सिद्ध हुन्छ भन्ने सोचेका थिए होलान् ।

दरबारसहित आफ्नो भव्य निजी पुस्तकालय सर्वसाधारणले उपभोग गर्न पाउनेगरी सरकारलाई दान गरेर किताबप्रेमीमाझ सद्भाव आर्जन गरेका केशर विवेकीचाहिँ थिएनन् भन्ने कुरा चन्द्राकान्ताको संस्मरण ‘मेरो आत्म–कथा’ पढ्दा महसुस हुन्छ । फेरि केशरको अभिरुचि किताबको अध्ययनमा नभई तिनको सङ्कलनमा बढी थियो । उनको संकलनमा पश्चिमी किताबहरू उल्लेख्य संख्यामा थिए । त्यतिबेला पश्चिमी मुलुकतिर महिला अधिकारको आवाज उठिसकेको थियो । भारतीय समाजमा पनि त्यसको असर परिसकेको थियो । उनको संकलनमा त्यसबारे प्रकाश पार्ने किताब पक्कै थिए होलान् । किताब पढेर विवेकी बन्न किताबको अन्तरवस्तुलाई गहिरोसँग मनन गर्ने पात्रता व्यक्तिमा हुनुपर्छ । किताबको सान्निध्यमा बस्दैमा विवेकी भइने भए धमिरा, मुसा र साङ्ला पनि विवेकी कहलिने थिए ।

केशरले लक्ष्मीराज्यलक्ष्मीलाई निर्घात कुटेको चन्द्रकान्ताले आफैं देखेकी थिइन् । ‘श्री ५ जेठा शाहजादीमाथि सदासर्वदा मारपीट भइनै रहन्थ्यो,’ चन्द्रकान्ताले लेखेकी छन् । बिहे गर्नासाथ पति र पतिको परिवारबाट परित्यत्त भएर माइतीमै बसेकी चन्द्रकान्ताले करिब दुई वर्ष केशर महलमा काम गरिन् । पतिबाट बारम्बार कुटाइ खानुपर्दा दरबारिया स्त्रीहरूलाई दरबारको चौघेरो नै सबैभन्दा ठूलो यातना हुँदो रहेछ भन्ने कुरा लक्ष्मीराज्यलक्ष्मीको अनुभवबाट पनि सिद्ध हुन्छ । संस्मरणमा चन्द्रकान्ताले एक ठाउँ लेखेकी छन्, ‘म उहीं बसेको बेला एकचोटि मलाई शाहजादीले भनेकी थिइन्, ‘कहीं जङ्गलमा भागेर जाउँ जस्तो लाग्छ । जहाँ गए पनि सारा पल्टन लगाएर तलाश गरेर मलाई ल्याइहाल्छ । कहाँ गएर मरुँ ? ...म मरिसकेपछि मेरो जीबनी कसैले पढे भने रगतको आँसु बगाउनेछ ।’ लक्ष्मीराज्यलक्ष्मीको त्यही वचनका कारण उनले खेपेका दुःखको केही अंश अभिलिखित होस् भनेर आफूले त्यसबारे कलम चलाएको चन्द्रकान्ताले बताएकी छन् ।

चन्द्राकान्ताको संस्मरण पढ्दा कति झिनामसिना विषयमा दरबारिया स्त्रीहरूले पतिबाट यातना खेप्नुपर्ने स्थिति त्यतिबेला रहेछ भन्ने छनक मिल्छ ।

एक पटक केशर बुबा चन्द्रशमशेरको साथ लागेर तराईतिर गएका रहेछन् । त्यतिबेलै केशरको भतिजो मृगेन्द्रशमशेरकी पत्नीलाई बेथा लागेछ । राणा परिवारको थितिबमोजिम सबै आफन्त (सम्भवतः महिला) मृगेन्द्रको दरबार पुगेछन् । मैले पनि जानुपर्छ भन्ने महसुस लक्ष्मीराज्यलक्ष्मीलाई भएछ । तर, त्यसका लागि पतिको अनुमति चाहिन्थ्यो । केशर तराईतिर थिए । तत्काल सम्पर्क गरेर अनुमति लिन सक्ने अवस्था थिएन । मृगेन्द्रकोमा आफू मात्रै नपुग्दा अरूले कुरा काट्लान् भन्ने सोची पतिको डर मान्दै उनी पनि पुगिछन् । आफ्नो अनुमतिबिनै पत्नी दरबारबाहिर निस्किएको चाल पाएपछि तराईबाटै पत्र पठाएर केशरले ‘म फर्केपछि त्यसले सजाय पाउँछे’ भनी धम्क्याएछन् ।

दुई महिनापछि केशर काठमाडौं फर्किए । फर्किनासाथ उनले शाहजादीलाई नजरबन्द राख्ने सजाय सुनाएछन् । साथै दरबारका सुसारे, नानीहरूलाई अबदेखि ‘(उसलाई) तिरस्कार गर्नू, आउने–जाने समय सामुन्ने पर्दै चाक देखाएर फर्कनू’ भनी आदेश दिएछन् । दुई महिनाभन्दा बढी समय त्यस्तो सजाय दिइएको र त्यस अवधिमा शाहजादीलाई ‘जर्शाहेवको दर्शनसम्म पनि मनाही थियो’ भनी चन्द्रकान्ताले लेखेकी छन् ।

चन्द्राकान्ताको किताबमा अर्को एउटा विवरण पनि छ । आफ्नो बगैँचामा दरबारका स्त्रीहरू साथी नलिईकन एक्लै नजानू भनी केशरले उर्दी जारी गरेका रहेछन् । एक दिन उनले तमाकु भरेर बगैँचामा ल्याउनू भनी अह्राएछन् । हुक्का र नली लिएर एक जना सुसारे बगैँचातिर गइछन् । लक्ष्मीराज्यलक्ष्मीले पतिको उर्दीबारे सम्झाउँदा ‘हामी रानी होइनौं, नानी हौं, हामीलाई यो नियम लाग्दैन, फेरि मेरो साथमा यो हुक्का छँदै छ नि’ भनी जिस्किँदै बगैँचामा हुक्का राखेर ती सुसारे फर्किछन् । यो कुरा पतिले चाल पाए ती सुसारेले कुटाइ खान्छिन् भन्ने सोचेर लक्ष्मीराज्यलक्ष्मी चुप लागिछन् । दरबारभित्र हुने यस्ता झिनामसिना कुरा पनि पत्नीले आफूलाई जाहेर गर्नुपर्छ भनी केशर ठान्ने गर्थे । त्यत्तिकैमा दरबारभित्रकै कुनै पोलाहाले उनलाई सबै कुरा बताइदिएछ । तीन दिनपछि उनले पत्नीलाई बगैँचामा बोलाएर ‘यतिका दिनसम्म पनि मलाई जाहेर नगर्ने’ भन्दै रक्ताम्य हुनेगरी कुटेछन् । कुटाइको दृश्य देखेकी चन्द्राकान्ताले लेखेकी छन्, ‘(शाहजादी) अगाडि आउनेबित्तिकै केशरशमशेरले दनादन पिट्न थाले... निर्मम प्रहार गर्दै रहे । शाहजादीको पाखुरा रक्ताम्य र छियाछिया भइसक्यो, तै पनि पिट्न छोडेनन्... घाउ भएकैभित्र चोलो टाँसेर, फुकाउनै मुश्किल ।’

लक्ष्मीराज्यलक्ष्मीले आफ्नी एक जना विवाहिता छोरीमार्फत आफूले भोगेको एउटा दुःखको कहानी पनि चन्द्रकान्तालाई सुनाएकी रहिछन् । आमाकै अगाडि छोरीले आफूलाई त्यो कथा सुनाएको चन्द्रकान्ताले लेखेकी छन् । दिनहुँजसो कुटाइ खानुपरेकाले होला, आफ्ना दुःखका दिन कहिल्यै नसिद्धिने रहेछ भन्ने उनलाई लाग्यो । आफूमाथि आइलागेको साढे सातको खड्गो पन्छाउन पाए हुन्थ्यो भनी उनले सोचिन् । यसमा पतिको अनुमति मिल्ने कुरै थिएन । पतिलाई पत्तो नदिई दशा काट्न भनेर उनले कालो तील, जौ, गहतको दाल, फलामको कचौरा, सर्स्युंको तेल आदि किन्न लगाई सिरानमा लुकाइछन् । त्यो कुरा पनि केशरको कानसम्म पुग्यो । सुन्नासाथ फन्किँदै कोठामा पुगेर उनले पत्नीलाई जुत्तैजुत्ताले हानेछन् । लौरो पनि लगाएछन् । ‘मेरी स्वास्नी बोक्सी, डायनी हो, आफ्नो पोइलाई मार्ने बोक्सीलाई हेर हेर’ भनी घरमा आउने मानिसहरूलाई बताई कैयौं दिनसम्म बेइज्जत गरेछन् ।

राणाकालताका राणाहरूका दरबारमा घट्ने यी प्रतिनिधि घटना हुन् । ‘राणाशाहीको जमानामा प्रत्येक राणा दरबारमा महिलाहरूको हालत त्यस्तै थियो’ भनी चन्द्रकान्ताले लेखेकी छन् ।

दुरूह दृश्य

विसं २००७ सालमा भएको राणाशाहीको अन्त्य र प्रजातन्त्रको स्थापना नेपालमा महिला अधिकारको क्षेत्रमा भएको एउटा युगान्तकारी परिवर्तन हो । राणाशाही ढलेपछि महिलाहरू विभिन्न प्रयोजनमा घरबाहिर निस्किने क्रम बढ्यो । महिलाहरू चुलोचौकोमा सीमित हुँदासम्म पुरुषमातहत रहिरहन्छन् । घरमै सीमित हुँदा अन्य महिलासँग उनीहरूको अन्तरक्रिया हुन पाउँदैन । उनीहरू सङ्गठित हुन सक्दैनन् । जुनसुकै बहानामा भए पनि महिलाहरू घरबाहिर निस्किन थाले भने पुरुषहरूजस्तै सङ्गठित भएर उनीहरूले संस्कृति, राजनीति, अर्थतन्त्र आदिको रचना गर्ने अवसर पाउँछन् ।

यही कुरा विचारेर लैंगिक अध्ययनका क्षेत्रमा कहलिएकी मानवशास्त्री मिसेल रोसाल्डोले आफ्नो सहसम्पादनमा निस्किएको किताब ‘वुमन, कल्चर एन्ड सोसाइटी’ मा महिलाले घरको चौघेरो नाघी सार्वजनिक वृत्तमा पाइला टेक्नुलाई उनीहरूको मुक्तिको प्रमुख सर्त मानेकी छन् । विसं २००७ सालको परिवर्तनपछि नेपालका महिलाहरूले घरबाहिर पाइला राख्ने अवसर बढी पाउन थाले । पूजाअनुष्ठान, अध्ययन, समाजसेवा, जागिर, भ्रमण, राजनीति आदि प्रयोजनमा उनीहरू सार्वजनिक वृत्तमा प्रवेश गर्ने क्रम बढ्यो ।

यसले खासगरी मध्यमवर्गीय परिवारका महिलाहरूको अवस्था सुधारिँदै गयो । सन्दर्भसामग्रीको अभावका कारण राणाशाही ढलेपछि राणाहरूको तुजुक गिर्दा उनीहरूका पत्नीको जीवनमा त्यसको कस्तो असर पर्‍यो भनी यकिनका साथ भन्न सकिँदैन । प्रजातन्त्र स्थापनापछि शक्तिशाली बनेको शाह राजपरिवारमा पत्नी, बुहारीहरूको अवस्थामा कस्तो फेरबदल आयो भनी सङ्केत गर्ने विवरण पनि उपलब्ध छैनन् । अहिले पनि सम्भ्रान्त परिवारका महिलासँग बाहिरका मानिसको अत्यन्तै सीमित अन्तरक्रिया हुन्छ । दरबारवरिपरिका अग्ला पर्खालले बाहिरका मानिसलाई त्यहाँका महिलाको अवस्था नियाल्न नदिनेगरी छेकिदिएको छ । तिनै पर्खालले दरबारमा बस्ने पत्नी र बुहारीलाई बाहिरको संसारतिर नियाल्न नदिनेगरी छेकिरहेको त नहोला नि !

प्रकाशित : कार्तिक १९, २०७९ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×