साढे सात मोनोलग

मेरो अशान्त मनलाई विज्ञानले ठेगान लगाउन सकेन । र, म ज्योतिषीको शरणमा जाने निर्णयमा पुगें । राम्रो वर्तमान छाडेर राम्रो भविष्य खोज्दै हिँड्ने अपवाद म मात्रै थिइनँ । हाम्रा यिनै चिन्ताका उद्धारकर्ता बनेर आउँछन् ज्योतिषी । मानौं– उनीहरु जादुगर हुन् ।
शिक्षा रिसाल

हातमा तेलको डब्बा लिएर शनिदेवको मन्दिरअघि आधा घण्टा मात्रै उभिँदा पनि म कालीमाता भइसकेकी थिएँ ।

साढे सात मोनोलग

म कतै पनि लाइन लागेर पर्खिरहन सक्दिनँ । ममा धैर्य छैन । शब्दकोशमा ‘अधीरता’ को उदाहरण दिँदा अब मेरो नाम पनि लेखिनेछ ।

भित्र छिरेकी महिला बाहिर निस्किएकी थिइनन् । अति भएपछि भित्र गएर हेरें । उनी त विक्षिप्त भएर शनिदेवको मूर्ति अगाडि रोइरहेकी रहिछन् । उनको भक्कानो सुनेर मेरो मन अमिलियो । उनका श्रीमान्ले सम्हाल्न खोजे पनि सकेका थिएनन् । उनका दुईवर्षे छोरा बाबुआमाबाट बेखबर मन्दिरबाहिर टहलिइरहेको थियो । उनीहरूको कष्टबारे जान्न मन लाग्यो, तर सोध्ने हिम्मत गरिनँ ।

म पनि यसै त त्यहाँ पुगेकी थिइनँ । शनिदेवकहाँ धाउन थालेको यो सातौं पटक थियो । बाधा अड्चन आइरहन्थे । मन जति बेला पनि अशान्त भइरहन्थ्यो । रिसले सीमा नाघेर भित्ता कोपर्थें । जो देखे पनि मुखमा तातो अमेरिकानो फाल्दिऊँझैं लाग्थ्यो । यति विघ्न अशान्त मनलाई विज्ञानले ठेगान लगाउन सकेन । र, म ज्योतिषीको शरणमा जाने निर्णयमा पुगें । राम्रो वर्तमान छाडेर राम्रो भविष्य खोज्दै हिँड्ने अपवाद ममात्रै थिइनँ । हाम्रा यिनै चिन्ताका उद्धारकर्ता बनेर आउँछन् ज्योतिषी । मानौं– उनीहरू जादुगर हुन् ।

ज्योतिषीहरूका किसिम देखेर सुरुमा त मैले चित खाएँ । कसैले चामलको गेडा हेरेरै सारा इतिवृत्तान्त लगाइदिन्छन् । कसैलाई चिनो नै चाहिन्छ । कसैलाई जन्म मिति भए पुग्ने । कोही कोही हुन्छन्— टाढाबाटै अनुहार देख्नासाथ फ्याट्ट भूत, वर्तमान र भविष्य बताइदिने । कोही हुन्छन्— तासझैं कार्ड फ्याँक्दै भविष्य सेट गरिदिने । कोहीले त कानमा आएर मन्त्रै फुकिदिन्छन् ।

अहिले फेरि डिजिटल ज्योतिषीहरूको बिगबिगी छ । टिकटक, युट्युब, फेसबुक जहाँतहीँ यिनीहरूको व्यवसायको रजगज छ ।

डिजिटल ज्योतिषीहरूको बिगबिगीले गर्दा वर्षौंदेखि रत्नपार्कमा दुनियाँको भविष्यवाणी गर्दै आएका ज्योतिषीहरूको व्यवसाय धरापमा छ । आजकल त पहिलेजस्तो देखिँदैनन् पनि । पारम्परिक ज्योतिष व्यवसायको अस्तित्व अहिले संकटमा छ ।

यस्तै माथापच्ची चलिरहेका बेला इन्स्टाग्राममा फ्याट्टै एक जना ज्योतिषी भेटिए । आर्टिफिसियल इन्टेलिजेन्सलाई पनि मान्नैपर्छ । दिमागमा जे चल्या छ, मोबाइलको स्क्रिनमा उति बेलै आउने । सोच्नेबित्तिकै, ठाउँका–ठाउँ डिजिटल ज्योतिषी मोबाइलको स्क्रिनमा देखा परिहाले ।

‘के तपार्ईंको समय खराब चलिरहेको छ ? छ भने शान्ति पाउनुहोस् । हामीकहाँ भूत, वर्तमान र भविष्यको सबै लेखाजोखा हुन्छ । के तपार्इंलाई ग्रह लागेको छ ? के तपार्ईंका पछि शनिदेव लागेका छन् ? के बारम्बार प्रेममा असफल भइरहनुभएको छ ? के जीवनदेखि नैराश्य जागेको छ ? के तपाईंको स्वास्थ्यमा बारम्बार समस्या आउने गरेको छ ? सबै समस्याहरूको समाधान हामीसँग छ ।’

एक पटक फोन गरूँगरूँ लाग्यो । फोन गरेर चाहिँ भन्ने के ? मन अशान्त हुने, रिस उठ्ने, जो देख्यो कुट्न मन लाग्ने लक्षण त मनोचिकित्सकलाई पो देखाउनुपर्ने हो । त्यही पनि विचार गर्न मन लाग्यो ।

फोन गरें । तीन घण्टी बजेपछि फोन उठ्यो, ‘हेलो ।’

‘हजुर नमस्ते,’ फोन उठ्नासाथ मैले आफ्नो नाम बताएँ ।

‘हजुर, के परेर फोन गर्नुभएको थियो होला ?’ उताबाट भलादमी प्रश्न आयो ।

‘पर्न त केही परेको छैन, यसो आफ्नो दिनदशाका बारे बुझौं भनेर,’ म फिस्स हाँसें ।

‘हजुर यही नम्बरमा हजार रुपैयाँ बैंक ट्रान्सफर गर्दिनू । त्यसपछि तपार्ईंको जन्ममिति, समय–स्थान पठाउनुस् अनि म फोन गर्छु ।’

‘हजार ? महँगो भएन ?,’ मैले एकै सासमा भने । मेरो बार्गेनिङ यहाँ पनि सुरु भयो ।

‘हजुर, रेट नै त्यही हो । आफ्नो सुन्दर भविष्यका लागि हजार रुपैयाँ केही हैन हजुर ।’

अब आफैंलाई चाहिएको हो । ठीकै छ नि त भनेर मैले उनले भनेजस्तै हजार रुपैयाँ हालिदिएँ अनि आफ्नो विस्तृत विवरण पठाएँ । उनले १० मिनेटमा मेरो भूत, भविष्य सबै पत्ता लगाएको हुनुपर्छ— फोन गरें, ‘तपाईंको त २०७२ सालदेखि नै साढे सात चलिराको छ है । २०८२ सालसम्म नै छ । हजुर मेरिड कि अनमेरिड ?’

ओहो !

‘हजुर ज्योतिषी । अब भनिदिनुस् न म मेरिड होला कि अनमेरिड होला ।’

‘अब ज्योतिषलाई १०० प्रतिशत त कहाँ थाहा हुन्छ र ? तर, तपाईंको विवाह भएको भए २५ वर्षमा भइसक्नुपर्ने हो । भएको छैन भने २०८२ सालसम्म हुँदैन नै । फेरि दोस्रो विवाहको योग पनि छ । तपाईंको त पूरै गन्जागोल नै छ । फेरि राम्रो पनि छ । केही समयचाहिँ अलि समस्याजस्तो छ,’ उनले फरर भने । आफ्नो यहाँ एउटै बिहे भएको छैन, दोस्रो कहाँबाट गर्नू ?

उनले थपे, ‘तपार्ईंलाई चाँडै रिस उठ्ने रहेछ । रिस त नाकको टुप्पोमै रहेछ । तर, भाग्यमानी पनि हुनुहुन्छ । यही ग्रहले गर्दा मन अलि अशान्त देखिएको छ । घुम्न असाध्यै मन पराउने मान्छे हो तपार्ईं, आँटिलो पनि... ।’

‘एकछिन, एकछिन’, मैले उनलाई रोकें, ‘म कस्ती छु, के–के मन पर्छ त मलाई सबै थाहा छ के । विगतका कुरा पनि मलाई थाहै छ । घुम्न मन नपराउने त को नै होला र ? मलाई मेरो भविष्य कस्तो हुन्छ, त्यो बताइदिनुस् न ।’

‘ए ए,’ उनी ठुस्किएको मैले फोनमै थाहा पाएँ ।

‘अब भविष्य त खै के भन्नु, राम्रै छ । समस्या के छ त तपाईंको ?’ उनी अलिअलि बम्कन थाले ।

‘समस्या त खासै छैन ।’

‘तपाईंको भविष्य भयंकर राम्रो छ, तर २०८२ सालपछि मात्रै । यसबीचमा अलिअलि स्वास्थ्यमा समस्या आउने देखिन्छ, तर तपाईं मजाले पार पनि गरिरहनुभएको छ । पीपललाई जल चढाउनू । शनिदेवको पूजा गर्नू । शनिबार संकटा मन्दिर गएर कालो कपडा, तील, तोरीको तेल, खुँडा दान गर्नू । तपाईंका समस्या हटेर जानेछन् । तपाईंको जीवनमा बहार आउनेछ ।’

‘अनि ग्यारेन्टी हट्छन् त ? सबै काम बन्छन् त ? हजार रुपैयाँमा त वारेन्टी पनि हुनुपर्ने हैन र ?,’ अलि सानो स्वरमा सोधें ।

उनले उत्तिखेरै जवाफ फर्काए, ‘अब काम नै नगरी त कहाँ आँटेका काम पुग्छन् र ?’

‘हैन साह्रै अल्छी लाग्छ के मलाई । यसको उपाय के होला ?,’ मैले पनि अलि इरिटेट पार्न खोजें ।

‘अलि जाँगरिलो हुन्छु भनेर डटेर लाग्नुपर्‍यो,’ यो पालि भने उनले स्कुलको नेपाली मास्टरझैं थर्काए, ‘एक महिनासम्म दान–धर्म गर्ने, पीपललाई जल चढाउने, मन्दिरमा बत्ती बाल्ने गर्नुहोस् । पक्कै सुधार हुन्छ ।’

एउटा पूरै नास्तिक, आधुनिक, ग्रह–नक्षत्र, अन्तरिक्षबारे ज्ञान राख्ने साथीले समेत एक दिन भन्यो, ‘खै, तिम्रो केही होलाजस्तो छैन । यु डन्ट ह्याभ एनी होप । धेरै प्रयास गर्‍यौ । अब एक पटक ग्रह र ताराहरूलाई पनि डाकी हेर न । हाम्रो जीवन नै ताराहरूबाट सुरु भएको हो । वी आर जस्ट अ स्पेक अफ स्टारडस्ट । तिनै ताराहरूले तिमीलाई पार लगाउनेछन् । ज्योतिष विज्ञानलाई मानिसले उडाउने गरे पनि त्यसमा केही न केही सत्यता त होला नि । एकचोटि राम्रो ज्योतिषीलाई सोधी हेर न । केही उपाय, पूजा–सुजा छ कि ? कहिलेकाहीँ तारा, नक्षत्र जुध्दा नमिल्दा पनि यस्तो हुन्छ होला क्या ।’

फेरि अर्को साथी गुहार्न पुगें, जसले एक दिन कुरै कुरामा ‘मेरो त साढे सात चलिराछ’ भनेको थियो ।

हुन पनि उसको कहिले के, कहिले के समस्या परेको पर्‍यै थियो । कहिले दुर्घटना, कहिले परिवार बिरामी, कहिले झगडामा फस्ने, कहिले के दोष आइलाग्ने, कहिले पैसा हराउने, मोबाइल चोरी हुने । उसलाई झल्याँस्स सम्झिएँ । राति ११ बजिसकेको थियो । त्यही पनि म्यासेज गरें, ‘तिम्रो साढे सात चल्या भन्या हैन ? कसरी शान्त भयो भन त ।’

‘हा... हा... हा... पहिला त मलाई खुब उडाउँथ्यौ, अब विश्वास गर्न थाल्यौ ?’

‘यसो एक्सपेरिमेन्ट गरौं भनेर हो,’ म पनि टसका मस हुँदिनँ फेरि ।

‘ल त्यसोभए शनिबार संकटा जाऊ । त्यहाँ के–के चढाउनुपर्छ, त्यहीँ किन्न पाइन्छ प्याकेजमा । अनि दान देऊ त्यहीँ बसेका मान्छेहरूलाई,’ उसले कालो तील, तोरीको तेल, कालो कपडा, नुन, चामल र खुँडा लिएर जान भन्दै थप्यो, ‘अनि शनिबार नै जाऊ है ।’

मैले सोधें, ‘शनिबारचाहिँ शनिदेव त्यहाँ प्रत्यक्ष आएर बसेका हुन्छन् ?’

उसले हाँसेको इमोजी पठायो ।

मान्छे आफू समस्यामा पर्न थालेपछि प्रयोग गरिरहन्छ । डुबिरहँदा परालको त्यान्द्रो भए पनि समात्दो रहेछ । शनिबार शनिदेवको मन्दिर जान मेरा लागि परालको त्यान्द्रोझैं भयो ।

मेरो मिल्ने साथीले मलाई थर्काई, ‘ल ठीकै छ, तँलाई मनको शान्ति भयो, जा । तर, आजकल जसलाई नि त्यही भनिदिने रहेछन् ज्योतिषीहरूले ।’

हो पनि । आजकलका ज्योतिषीहरू पनि के भएका ? अलिकति केही भयो कि साढे सात, कालसर्प योग भनिदिँदा रहेछन् । यस्तो सुन्नेबित्तिकै सातो गइहाल्ने भयो । साढे सात सामान्य पार्न मान्छेले जे पनि गर्ने भए । पूजापाठ, भजन, दान, आरती आदि गरेर दुःख र अशान्ति हट्छ भने किन नगर्ने भन्ने तर्क पनि छ । यो साढे सातको आडमा एउटा छुट्टै अर्थतन्त्र मौलाएको छ ।

कहिलेकाहीँ यसो सोच्छु— यी ग्रह–नक्षत्र, शनिदेव चुपचाप आफ्नो जिन्दगी बाँचे हुन्न ? कति जनालाई सताउँछन् यसरी ? के पाइन्छ हो अरूलाई दुःख दिएर ? देव भनेपछि देवताजस्तो गर्नू नि ! प्रसन्न बनाउनुपर्ने रे उनलाई ! कस्तो ज्यादती हो यो ? अरे यार, आफ्नो जीवन बाँच्न छोडेर कसले कसलाई खुसी बनाउँदै हिँडोस् ?

शनिबार आयो । शनिदेवको अघि गएर चुनौती नै दिन्छु भनी अठोट लिएँ ।

बिहान उठें, नुहाइधुवाइ गरेर घरबाट निस्किएँ । पठाओको दाइ बोलाएँ । शनिबारको खाली बाटो, बाइक मज्जाले हुइँक्याउँदै थिए । झम्सिखेलमा पुगेर झन्डै एउटा ट्याक्सीसँग ठोक्काएनन् । उनले जोडले ब्रेक लगाए । एकछिन ट्याक्सीचालक र पठाओ दाइबीच भनाभन पर्‍यो । मैले चुपचाप हेरिरहें ।

‘म्याम, तपाईंलाई डर लाग्यो ?’

‘हजुर !’

शनिदेवलाई चुनौती मात्रै त दिएकी थिएँ, ट्रेलर देखाइहाले ।

‘म्याम । मेरो त मुटु नै थरथर भो । धन्न केही भएन । मलाई भए त केही थिएन हजुर केही भएको भए त... !’

‘मलाई मात्र हैन । तपाईंलाई पनि केही हुनुभएन नि ।’

‘ह्या म्याम, आफ्नो त साढे सात चलिराको छ । यस्ता घटना त सामान्य नै हुन् । घरी के हुन्छ घरी के हुन्छ ।’

म मनमनै मुर्छा परें । के ‘ल अफ अट्र्याक्सन’ भनेको यही हो ?

संकटा आउनुभन्दा अगाडि नै म बाइकबाट उत्रिएँ । संकटा पुगेपछि भने चकित परें । खुट्टा टेक्ने ठाउँ थिएन । नागबेली लाइन थियो । शनिदेवको अपोइन्टमेन्ट कति घण्टापछि पाइने हो ?

साथीले भनेको प्याकेज याद आयो । पसलमा गएँ । सानादेखि ठूलासम्मका सबै सामान भएको प्याकेज पाइने रहेछ, मूल्यअनुसार । मैले २०० रुपैयाँको प्याकेज किनें । अनि लुसुक्क लाइनमा पसें ।

शनिदेवको अत्याचारले काठमाडौंका आधाभन्दा बढी जनता प्रताडित रहेछन् भन्ने त्यसबेला थाहा भयो । ओहो ! मानिस सबैभन्दा धेरै त देउताहरूबाटै सताइएका रहेछन् ! मनलाई सान्त्वना दिएँ— यु आर नट अलोन मिस शिक्षा ! हुन त देशलाई नै साढे सात लागेको छ । एक त सतीले सरापेको देश, त्यसमाथि साढे सात । प्रधानमन्त्री त ज्योतिषी नदेखाई केही गर्दैनन् । देश पनि पशुपतिनाथले धानेका छन् ।

आफू यसै पनि हिसाबमा गोल । झन् यो ग्रहहरूको गणितको के पत्तो ! यो नमिल्दा जिन्दगी गोलगोल हुनेरहेछ क्या हो ?

अन्तरिक्षयात्रीहरू यानमा बसेर ग्रह–उपग्रहरूमा घुमेर आउँछन्, म भने यहाँ शनिदेवलाई प्रसन्न पार्न नुन, तेल र चामल लिएर बसेकी छु । शनिदेवलाई राहत सामग्री चाहिएको हो भने यूएनलाई सताउनू नि !

कतै भीडबाट आवाज आयो, ‘अब चार घण्टामा पालो आउला ।’

‘ओहो !’ म धैर्य नभएकी मान्छे हुँ । कसरी बस्नु चार घण्टा लाइन ?

मन्दिर परिसरमा आँखा डुलाएँ । सबैका ग्रह दशा कटाउन छरिएर बसेका बाजे, जोगी र बाबाहरू देखें । म खुइँखुइँ एक बाबाको अघिल्तिर उभिएँ । मेरो प्याकेज उनलाई दिँदै भनें, ‘मेरो दशा कटाइदिनुस्, लौ न ।’

‘यसमा राख्नुस्, अनि भेटी पनि राख्नुस्,’ उनले एउटा नाङ्लो मतिर सार्दै भने ।

उनले मेरो गोत्र सोधिसकेर भने, ‘ल, सबै ग्रह दशा कटेर जाओस्, परिवारमा शान्ति छाओस्, आँटेका काम पूरा होऊन् ।’

उनले मेरो जिन्दगीमा अब बहार नै बहार आउने बताएर मुस्कुराए, ‘अब जानुस्, ठीक हुन्छ ।’

सोधें, ‘मेरो दशा कट्यो त अब ? सकियो ?’

उनले शान्त स्वरमा भने, ‘बत्ती बाल्नुस् अनि शनि मन्त्र जप गर्नुस् ।’

‘हस्’ भन्दै म फेरि लाइनमा फर्किएँ । मान्छेहरू अधिकांशले कालो लुगा लगाएका थिए । कालो कुर्था, टिसर्ट, प्यान्टमा सजिएर कतिपयले टिकटक भिडियो पनि बनाइरहेका थिए । कसैले डिजाइनदार काला कुर्था सिउरिएका थिए । केही धनीहरू कालै गाडीमा आएका थिए । उनीहरूलाई देखेर चित खाएँ— यस्ता धनीलाई पनि लाग्छ होला र साढे सात ?

आपत् पर्दा वर्ग विभेद नहुने रहेछ । करोडपतिहरू पनि त्यही मन्दिरमा भिख माग्दै थिए । अनि रेगुलर त भइहाले । शनिदेवको कृपाले हामी सबै भिखारीहरू एकजुट भएका थियौं । आमिर खानको ‘पीके’ फिल्म सम्झेर म बेलाबेला झसंग हुन्थें । कसैले हाम्रो फिर्की त लिइरहेको छैन ? मेरी दिदीले जमानामा गजलको एउटा पंक्ति लेखेकी थिई—

‘मैले जति दुःख पीडा तँ आफू सहेर हेर्

ढुंगाभित्र किन लुक्छस् ? सक्छस् मान्छे भएर हेर्’

कडा !

भन्न त भन्छन् नि— देवता र दानव दुइटै मान्छे आफूभित्रै हुन्छन् । तर, म त साँच्चिकै शनिदेवलाई चुनौती दिन नै गएकी थिएँ । तर, लाइन सर्ने नामोनिसान थिएन ।

अझ न्युरोड, रत्नपार्कतिर मागेर बस्नेहरूको शनिबार त संकटामा सिफ्ट पर्ने रहेछ । उनीहरूलाई पनि भ्याइनभ्याई थियो । लाइनमा बसेका बेला हातमा पट्टी बाँधेर, खुट्टा खोच्याउँदै आएपछि हरेक मान्छेलाई ग्लानि हुने भइहाल्यो ।

सोचें– वर्षौंदेखि शान्त बसेको पत्थरको मूर्तिलाई जति पनि पैसा चढाउन तयार हामी वर्षौंदेखि अशान्त भएर बसेका हाड–छालावाला मान्छेलाई चाहिँ वास्ता गर्दैनौं । कस्तो धर्म हो यो ?

अर्को मनले भन्यो— वाह ! क्या बबाल लाइन ! तर, हात फैलाउँदै आएका बाजेलाई दिने धेरै पैसा मसँग पनि थिएन । पुगनपुग २० रुपैयाँ दिएँ । त्यसपछि अर्की बच्ची आएर उभिई । उसले दस रुपैयाँ पाई । त्यसपछि उसको टोली सबै मअघि आए । म एकछिनमै भुक्कड भइसकेकी थिएँ । के गरौं कसो गरौं भयो । ठट्टेउलो पारामा मैले भनें, ‘मलाई नै देऊ, मसँग छैन ।’

त्यतिबेला लाग्यो— ‘एभ्री पर्सन इज अ पोटेन्सियल बेगर !’

लाइन अझै सरेन । कालो कपडावाला प्याकेज पनि दान गरिसकें । अरूको हातमा जस्तो पूजा सामग्री मसँग थिएन । लाइन के बस्नू ? सम्झिएँ— भैंसेपाटीमा पनि त शनिदेवको मन्दिर छ । त्यहाँ त यस्तो भीड हुँदैन त । त्यहाँ गएर च्यालेन्ज गर्छु शनिदेवलाई । म केही सीप नलागेर शनिदेवको केन्द्रीय विभाग गएकै हो । दान गरेकै हो । अपोइन्टमेन्ट पाउन घण्टौं लाग्ने देखेपछि म लोकल ब्रान्चतिर हुइँकिने सोचें । पहिला

आफ्नो समस्या सुनाउने त स्थानीय सरकारलाई पो हो त ! अनि मात्र प्रदेश ।

यही सोचेर म स्थानीय वडा नं. २५ भैंसेपाटीको शनिदेव मन्दिरतिर गएँ । त्यहाँको शनिदेव मन्दिर प्रायः खाली नै हुन्छ । कहिलेकाहीँ यस्तै कालो गाडीमा धनाढ्यहरू आएर बत्ती बालेको देखेकी छु । म फर्केर भैंसेपाटी पुगें । शनिदेव एक्लै थिए । उनको अगाडि मुख देखाउनै लाज लाग्यो ।

शनिदेवले बोलेजस्तै लाग्यो, ‘आखिर मकहाँ नै आउनुपर्‍यो हैन अन्तिममा ? चाहिने मै रहेछु । देशमा संघीयता आइसक्यो । खै हामी देउताहरूलाई संघीयता ? अझै पनि केन्द्रीयता ? अझै पनि केन्द्रकै बोलवाला ? हामी छेउछेउका मन्दिरहरू कहिलेसम्म हेपिनुपर्ने ? केन्द्रका मन्दिरहरूमा हजारौं पैसा चढाउन हुने । त्यहाँ घण्टौंको लाइन हुन्छ । हामीकहाँ चाहिँ सुनसान ? तर, अन्तिममा चाहिने हामी नै हौं, याद राख ।’

म पनि के कम ! शान्त बसेका शनिदेवअघि बर्बराउन थालें, ‘शनिदेव ! अत्ति नै भएन र ? यदि तिमी छौ भने तिमीले गर्दा मेरो जीवनमा एकबाट अनेक समस्या थुप्रिएका हुन् । मैले जे प्रयास गरे पनि सफल हुन सकिनँ । म कसैलाई खुसी पार्न सक्दिनँ । प्रेमीहरू पनि कोही टिकेनन् । घरमा पनि सधैंको किचकिच । ममाथि दया गर्न सकेनौ । किन कदम कदममा मेरो परीक्षा लिन्छौ ? तिमीलाई प्रसन्न बनाउन किन अनेकथरी प्रयास गर्नुपर्ने मैले ? आफू खुसी नभई–नभई अर्काको टाउकामा आएर किन बस्नु ? तिमी आफ्नो बाटो लाग ।’

एकछिनमै छाती पड्कियो मेरो ।

धड्कनको रिलेदौड लामै चल्यो । अलि शान्त भएपछि फेरि बम्किएँ, ‘कि आमेन–सामने आऊ, कुरा गरौं । बहस गरौं । यस्ता ग्रह उपग्रहको आडमा मेरो जिन्दगीमाथि ज्यादती गर्ने अधिकार छैन तिमीलाई । यु अन्डरस्ट्यान्ड ? आऊ सामने । आज हिसाबकिताब नगरी छाड्दिनँ । कि म छैन, कि तिमी छैनौ ।’

आजकल अलि बढी फिल्म हेर्ने भएर हो कि— भावनामा बहकिइहालें ।

‘ए नानी, यहाँ आएर शनिदेवको मन्त्र पो जप्ने हो त । के–के भन्नुभएको ?,’ पछाडिबाट एक जना बाजेले हाँस्दै बोलाए । उमेरले यस्तै ७० वर्ष जति होलान् ।

‘हजुरको पनि साढे सात चलिरहेको हो ?,’ मैले नम्र भएर सोधें ।

उनले मुस्कुराउँदै भने, ‘पहिला २० वर्षसम्म चलेको हो भन्थे ज्योतिषीहरू । अब शनिको पूजा गर्दागर्दा बानी लागिसक्यो । एउटा अनुशासन बनिसक्यो । साथी भइसके शनिदेव अब,’ उनी हाँसे ।

ती बाजे भित्र छिरेर शनिदेवको मन्त्र जप्न थाले—

निलान्जना समाभाषम रविपुत्रम यमग्रजम

छाया मार्तन्ड्यस तम नमामी शनिस्चरम

उनका कुरा सुनेर म त्यहाँबाट निस्किएँ । उनले बजाएको घण्टको आवाज पछिसम्म गुन्जियो ।

अहिले यो चौथो हप्तामा ती महिलाको आँसु देखेर मलाई शनिदेवसँग लास्ट रिस उठिरहेको छ । अनन्तकालदेखि चुपचाप तमासा हेरिरहेका शनिदेवले कुनै दिन पत्थर फोडेर सुन्लान् हाम्रो विलौना ?

कारिगडले शनिदेवको सानदार मूर्ति त बनाए, तर कान खोल्नै बिर्सिए कि ?

(केही व्यक्तिगत, केही उदाहरणीय घटनाका आधारमा लेखिएको)

प्रकाशित : कार्तिक १९, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?