कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

प्रदीप गिरि र बीपीका अध्ययन प्रसङ्ग

प्रदीप गिरि भन्थे– मैले बनारसमा एउटा साहित्यिक पत्रिका चलाएको थिएँ । एकाध अङ्कपछि त्यो बन्द भयो । त्यसमा मात्रै लागेको भए मैले आज एउटा साहित्यिक पहिचान बनाइसक्ने थिएँ । मलाई त राजनीतिले अल्मल्यायो ।
अभि सुवेदी

नेता प्रदीप गिरिको निधनको समाचार आएपछिका तरङ्गले धेरैलाई प्रभावित पार्‍यो । गिरिको अध्ययनशीलतामाथि जुन किसिमले स्वत:स्फूर्त विचार लेखिए, मलाई त्यो तरङ्गले प्रभावित पारेको हो । गिरिमाथि लेखिएका लेख र तिनका शीर्षक हेर्दा एउटा चाखलाग्दो विषय र छलफल नेपाली राजनीतिक चिन्तनमा उठेको देखिन्छ । उनी नेपाली कांग्रेसका नेता भएकाले मलाई यहाँ बीपी कोइरालाको अध्ययनको कलेवर जोड्न मन लाग्यो ।

प्रदीप गिरि र बीपीका अध्ययन प्रसङ्ग

बीपीमाथि आफूले गरेका अध्ययनबाट यो लेखमा केही प्रसङ्ग मात्रै जोड्न चाहन्छु । प्रदीप गिरि दिवंगत भएपछि लेखिएका केही आधिकारिक लेखको मात्रै अध्ययन गर्ने हो भने अनेकौं चाखलाग्दा विषय आउने रहेछन् । तिनका सार यहाँ राख्न चाहन्छु । धेरैले गिरिले माक्र्सवादको अध्ययन गरेका थिए, त्यस अर्थमा ती माक्र्सवादीलाई पनि प्रशिक्षण दिन सक्ने एक आधिकारिक व्यक्ति थिए भनेर लेखेका छन् । केही वरिष्ठ कमिनिस्ट नेताले उनलाई त्यही अर्थमा ‘कामरेड प्रदीप गिरि’ पनि भनेका छन् । गिरिको निधन भएपछि नेपाली राजनीतिक वृत्तमा किताब अध्ययन गर्ने विषय नेताका निम्ति कति महत्त्वपूर्ण हो भनेर प्रश्न उठेका छन् । प्रदीप गिरि आपैंmले राजनेताहरूमा अध्ययन गर्ने प्रवृत्ति विषयमा के लेखेका छन् र कस्ता सल्लाह दिएका छन्, तिनका विषयमा मैले केही पढ्न पाएको छैन । उनको नजिकका मेरा विद्यार्थीसँग छलफल गर्न पाएको छैन । गिरिसँग भेट भएका एकाध घटनाको यहाँ सस्मरण गर्न चाहन्छु ।

भारतीय राजदूतावासको आँगनको एउटा कार्यक्रममा प्रदीप गिरिसँग भएको एउटा संवाद सम्झिन्छु । त्यसमा अनेकौं दलका नेता थिए । प्रचण्डदेखि अरू केही नेतासँग पनि विचार र अध्ययनका केही परोक्ष छलफल भए । त्यस जमघटमा प्रदीप गिरिको उपस्थिति महत्त्वपूर्ण थियो । उनी साहित्यिकहरूसँग धेरै नजिक भएर कुरा गर्न रुचाउँथे भन्ने कुराका मेरा केही अनुभव छन् । प्रदीप गिरिसँग कुराकानीको सिलसिलामा उनले मलाई एउटा प्रश्न सोधे । त्यो मेरानिम्ति खासै जटिल र हल्लाउँने प्रश्न थिएन । उनले सोधे, ‘अभिजी, तपाईंका लेखहरू म पढ्छु । तपाईं अनेकौं विषयका किताब पढ्नुहुन्छ । लेख्नुहुन्छ । तपाईंको चाखको विविधताको विषयमा मलाई चाख लाग्छ । केही छलफल गरौं ।’ मैले यस्तो अध्ययनको अमुक विषयमाथि खासै केही चिन्तन गरेको थिइनँ । मैले गिरिको प्रश्नलाई सहज रूपमा लिएर भनें, ‘मेरो एउटा अध्ययनको विषय छैन । म अनेकौं विषयका किताब पढ्छु । मुख्य कुरा एक युनिभर्सिटी अंग्रेजी केन्द्रीय विभागमा प्राध्यापन गर्ने व्यक्ति भएकाले म अनेकौंै विषयका ग्रन्थ र लेखहरू अध्ययन गर्छु र गराउँछु ।’ प्रदीप गिरिले गहिरिएर मसँग छलफल गरेको सुनेपछि लाग्यो, मैले यस्तो राजनेता नेपालमा भेटेको छैन । उनले मसँग हाम्रो वैचारिक विषय वा साहित्य र सांस्कृतिक सिद्धान्त अनि देब्रेढल्कुवा विचार विषयमा पूरै भिजेर छलफल गरे । उनले मैले बीपी कोइरालाको विषयमा लेखेर प्रकाशित गरेका लेखहरू पनि पढेका थिए ।

प्रदीप गिरिसँगको अर्को एउटा संस्मरण छ, जुन वाचाल छ । यो संस्मरण बनारसको हो । त्यसमा मेरा विद्यार्थी नेपाली कांग्रेसका युवा नेता र प्राज्ञिक शंकर तिवारी पनि थिए । शंकरले मलाई त्यो मिटिङमा झन्डै बिर्सेका सस्मरण सम्झाइदिएका हुनाले त्यो घटनाको विषयमा यहाँ लेख्न सकेको हुँ । सन् २०११ अक्टोबर १४–१५ मा साहित्यकार काशीबहादुर श्रेष्ठको शतवार्षिकीमा भाग लिन नेपालबाट केही साहित्यकार वाराणसी गएका थियौं । एउटा अलि लामो कार्यपत्र प्रस्तुत गर्नु मेरो जिम्मामा थियो । त्यो कार्यक्रममा सामेल भएका साहित्यकारमध्ये कमलमणि दीक्षित, तारानाथ शर्मा र गोपीलाल प्रधान दिवंगत भइसके । दोस्रो दिनको एउटा सेसनमा प्रदीप गिरिको बोल्ने कार्यक्रम राखिएको थियो । गिरिले किञ्चित् भावुक भएर बोले । म केही विस्मित पनि भएँ । गिरि अक्सर प्रतिभाशाली युवाहरूसँग हुन्छन् । त्यहाँ पनि उनी युवासँगै आएका थिए । भाषणका क्रममा प्रदीप गिरिले भनेको सार यस्तो थियो– ‘मैले बनारसमा एउटा साहित्यिक पत्रिका चलाउन थालेको थिएँ । एकाध अङ्क निस्किएपछि त्यो बन्द भयो । मैले त्यसमा मात्रै लागेको भए आज एउटा साहित्यिक पहिचान बनाइसक्ने थिएँ । यस क्षेत्रमा काम गर्ने थिएँ । मलाई राजनीतिले अल्मल्यायो ।’ गिरिको यस्तो भनाइ सुनेपछि म विस्मित भएँ किनभने मैले बीपीलाई बुझेका र प्रतिभाशाली राजनीतिक चिन्तकको रूपमा उनलाई मानेको हुँ । ‘उहाँजस्तो राजनीति र विचारमा गति दिन सक्ने मानिसले यस्तो कुरा किन गर्नुभएको होला ?’ मैले भनें । यो कुरा शंकरले सुनाएछन् । प्रदीप गिरिले मलाई टेबुलमा बोलाएर उनको भनाइको आशय त्यस्तो थिएन भनेपछि निकै कुरा भए । मैले त्यहाँ उनीसँग महत्त्वपूर्ण छलफल गरें । मैले भनें– बीपीले साहित्य र राजनीतिमा त्यस्तो द्वन्द्व अनुभव गर्नु परेन । बीपीले केवल राजनीति र साहित्यको ‘च्वाइस’ को कुरा मात्रै गरेका थिए । प्रदीप गिरिको विचार खुला थियो । प्रदीप गिरिले जेएनयूमा पनि अध्ययन गरेका थिए । ‘राष्ट्रले के चाहिँ थाहा पाउनुपर्छ, ‘द जे एनयू न्यासनालिज्म लेक्चर्स’ (२०१६) भन्ने किताब अहिले म फेरि पढ्दै छु । यसमा रोमिला थापरको भनाइ छ, ‘अहिले हामी वर्तमानको इतिहासको व्याख्या गर्दै छौं । यो केही अर्थमा एक अलग इतिहास हो ।’ अध्ययनशील प्रदीप गिरि माक्र्सवादको रुझान भएको विश्वविद्यालयमा गएका थिए भन्नुको अर्थ उनी पक्कै नेपाली राजनीतिमा थापरले भनेझैं वर्तमानको इतिहासको व्याख्या गर्ने विद्वत् अध्ययनका शैक्षिक आधार खोज्दै थिए । पछि जेएनयूमा मेरा आफ्नै विद्यार्थी पनि गएर अध्ययन गरे । मेरा मित्र कवि र प्राध्यापक मकरन्द परान्जपी त्यहाँ अंग्रेजीका प्राध्यापक थिए । म जेएनयूलाई माक्र्सवादी अध्ययन र राजनीतिको एउटा अभूतपूर्व थलो थियो भन्ने मान्छु । प्रदीप गिरिको अध्ययनशीलता र राजनीतिमाथि जेएनयूको कालिक प्रभावबारे युवाहरूले खोज्नेछन् ।

बीपी कोइरालाको अध्ययनको पद्धति कुनै नेपाली राजनीतिज्ञलाई, अझ उनका कांग्रेस नेताहरूलाई सजिलै मोडल हुन सक्ने सम्भावना कम थियो भन्ने बुझिन्छ । त्यसो त बीपीले कांग्रेस नेताहरूलाई जेलमा अध्ययन गर्न लगाएको कुरा सर्वविदित छ । बलबहादुर राईले पनि बीपीले अध्ययन गर्न लगाएको कुरा स्वीकार गरेका छन् । बीपीको अध्ययनको मोडल एक सिद्धान्त पढ्ने नेताको जस्तो नभएर एक साहित्यिकको जस्तो थियो । मैले बीपीको साहित्यिक समीक्षाको सिलसिलामा र उनको पहिलो अंग्रेजी डायरीको सम्पादन र लामो भूमिका लेख्ने क्रममा (बीपी कोइरालाज डायरी : स्टोरी अफ करेज एन्ड फ्रिडम २०२०) उनको किताब पढ्ने संस्कार र रुचिको विषयमा लेखेको छु । बीपीको किताब छान्ने पद्धति एक साहित्यकार र स्वतन्त्र विचारकको थियो । उनको यो अत्यन्त महत्त्वपूर्ण कालमा लेखिएको डायरीमा लुई फिसरले लेखेको ‘गान्धी’ भन्ने किताबको विषयमा बीपीले वर्णन गरेका छन् । उनी आङ्ल भाषाका किताबको विषयमा लेख्छन् । फ्रान्सेली लेखक आन्द्रे जिदको उपन्यास ‘इजाबेला’ उनले पढेका थिए । उनले पढेको वैचारिक किताब भूदान आन्दोलनका प्रणेता विनोवा भावेको गीताको व्याख्या हो । तर, यहाँ एक माक्र्सवादी अध्येता भएकाले उनले भावेको जीवन र यसका समस्याप्रतिको सन्तुलित दृष्टि मात्र मन पराएका छन् । बीपीले रुसी उपन्यासका सटीक चर्चा गरेका छन् । बीपीलाई यस अर्थमा हामी एक साहित्यिक समीक्षात्मक चेतना भएका अध्येताको रूपमा देख्छौं । उनले ‘हिटलर र यहुदी’ उपन्यासमा माक्र्सको प्रसङ्ग ल्याएका छन्, तर त्यो राजनीतिक नभएर साहित्यिक छ । उनले भनेका छन्, ‘मेरा स्कुले दिनमा म गीता नित्य पढ्थें, तर जब मलाई माक्र्सवादको प्रभाव पर्‍यो मलाई मेरो गीतासम्बन्धी धारणा भ्रमजस्तो लाग्यो ।’ तर, उनी भन्छन्, ‘अहिले आएर म फेरि भावेले व्याख्या गरेका गीताभित्रका उदात्त विचार मन पराउँछु ।’

बीपीले माक्र्सवादको विस्तृत व्याख्या गरेर लेखेको भेटेको छैन । बीपी र प्रदीप गिरिको अध्ययन पद्धतिबारे यो लेखले उठाएका कुराको अध्ययन होस् भन्ने चाहना छ ।

प्रकाशित : आश्विन २९, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?