२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

‘लिच्छवि संवत्को निर्णय’ का त्रुटिहरू

संसारमा ३९० दिन भएको वर्ष कहीँ पनि हुँदैन । तर, नेपालमा ३९० दिनको एक वर्ष गणना गरिएको छ । त्यसलाई पत्याउने कि नपत्याउने ?
श्यामसुन्दर राजवंशी

इतिहासविद् नयराज पन्तको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित कृति हो– ‘लिच्छवि संवत्को निर्णय’ (२०४३) । नेपालका बौद्धिक, प्राज्ञिक विभूति कहलिएका पन्तले त्यस कृतिको पृष्ठ ५६१ मा लेखेका छन्, ‘जसले उपपत्ति बुझ्दछन्, तिनीहरू त भन्नेबित्तिकै कुरा बुझिहाल्छन् । जो उपपत्ति बुझ्दैनन् अथवा फोस्रो घमन्ड गरेर हिँड्छन्, तिनीहरूलाई गणित देखाई बुझाइदिनुपर्छ ।’

‘लिच्छवि संवत्को निर्णय’ का त्रुटिहरू

गर्दै–भन्दै लैजाँदा अब पन्तकै पुस्तकको त्रुटि औंल्याउने क्रममा म जोडिएको छु । यो एक प्रकारले मेरो सौभाग्य पनि हो । यसरी त्रुटि औंल्याउनुपरेकामा दु:ख पनि लागेको छ । किनकि उनले अघि सारेका निर्णयहरू इतिहाससम्मत नभई अपाच्य ठहरिएकाले ती विषय बुझाउन अब गणित नै नदेखाई नहुने अवस्था आएको छ ।

हुन त लेखक पन्तले पनि गणित नै देखाएका हुन्, तर उनको त्यो गणित ठीक रहेनछ भन्ने पुष्टि भएको छ अध्ययनबाट । यसकारण नेपालको इतिहास अशुद्ध हुनबाट बचाउन यो धृष्टता गर्नैपर्ने अवस्था आएको छ । यो साझा इतिहास शुद्ध्याउन सबैको उत्तिकै अधिकार छ भन्ने बुझेर यो धृष्टता गरिरहेको छु ।

३ सय ९० दिन भएको वर्ष ?

संसारमा ३९० दिन भएको वर्ष कहीँ पनि हुँदैन । तर, नेपालमा ३९० दिनको एक वर्ष गणना गरिएको छ । त्यसलाई पत्याउने कि नपत्याउने ? पत्याउँ भने यो हुनै सक्दैन । नपत्याऊँ भने इतिहास संशोधनका ज्योति, नेपालका शुक्रतारा कहलिएका व्यक्तिले यस्तो गलत विषयलाई प्रमाणको आधार बनाएको देखिन्छ । पन्तको पुस्तक पृष्ठ १२ मा संवत् ३१ माघ शुक्ल त्रयोदशी आइतबारको गणना प्रस्तुत गर्दा त्यो दिनको तिथिगण ३४३ दिइएको छ । माघ शुक्ल त्रयोदशी नै त्यो वर्षको अन्तिम महिना पनि होइन ।

माघ शुक्ल त्रयोदशी भनेको त्यो वर्षको तिथिगण दिन ३४३ हुन आउने नै हो भने चतुर्दशी र पूर्णिमा गरी २ दिन + माघ कृष्णपक्षको १५ दिन + फाल्गुणको शुक्लपक्ष र कृष्ण पक्ष गरी ३० दिन पूरा भएपछि शक संवत्को अर्को वर्ष फेरिन्छ । तब ३४३+२+१५+३० . ३९० दिन एक वर्षमै पर्ने भयो । यो जायज होइन । यसरी अधिमास परेको वर्ष बारम्वार आइरहन्छ, तर कुनै पनि वर्षमा ३९० दिन हुँदैन । वास्तवमा यो गणना बिलकुल गलत छ ।

संवत् ३१ माघ शुक्ल त्रयोदशी आइतबारको तिथिमितिको गणना सौरार्य ब्राह्मपक्षीय तिथि गणितको तीनैथरी सिद्धान्तबाट गणना गरेर हेरियो । त्यहाँ तिथिगण ३१३ मात्रै आउँछ । यही मितिको तारिख गणना गर्दा पनि तिथिगण दिन ३१३ नै आउने हो । वास्तवमा गणना गर्ने गणकले तिथिमिति तारिख सबैबाट गणना गरेर हेर्नु जरुरी हुन्छ ।

सुरुमा उनको गणना मिलेकै होला भनी ठानेर उक्त दिनको तारिख गणना गरी हेर्दा माघ शुक्ल त्रयोदशी मार्चमा पर्न आएको देखेपछि ‘यो मिलेन’ भन्ने बोध भएका हो । माघ भनेपछि जनवरी/फेव्रुअरी आउनुपर्नेमा मार्च आउनु भनेको गलत भन्ने बुझेपछि ‘३४३ दिन गनेर गरिएको हिसाब बिलकुल गलत रहेछ’ बुझियो । पुस्तकको पृष्ठ. १३ मा चन्द्रमन्द फलकलाको अन्तर गर्दा १७२.८ धन र १६८.५ ऋण गरी ४.३ धन शेष देखाउनुपर्नेमा दुवै ऋण देखाइएको छ । त्यस्तै सूर्यमन्दफल कलाको अन्तर गर्दा पनि १०९.६ धन र १०८.३ ऋण गरेर अन्तर १.३ धन देखाउनुपर्ने दुवै धन देखाइएको छ ।

संवत् ३०१ वैशाख शुक्ल सप्तमीको हिसाबमा नक्षत्रको योगफल ७ । ६०६.६ दिइएको छ । नक्षत्रको कला ७९९ हुन्जेलसम्म नक्षत्र परिवर्तन हुँदैन । यहाँ नक्षत्रको अंक ७ मात्रै आएको छ, यो ७ भनेको पुनर्वसु नक्षत्र हो । पुनर्वसु नक्षत्रको ६०६.६ कला आउँदैमा त्यसलाई ८ गरि पुष्य नक्षत्र आयो, गणना मिल्यो भनिएको छ । वास्तवमा यो सरासर गलत हो । यसमा पनि चन्द्रमन्द फलकला र सूर्यमन्दफल कलाको अन्तर निकालेको तरिका मिलेको छैन । निर्णयमा गरिएको गणना नयराज पन्त, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल र दिनेशराज पन्तले गरेको भनी उल्लेख छ ।

शक संवत्मा फरक भनाइ र गराइ

संशोधनमण्डलको विद्वतामा कसैले शंका गर्दैन । यसो भन्दैमा जे भनियो, त्यही सत्य भएर जाने होइन । यथार्थमा प्रमाण भनिए पनि यताउति सबै कसीमा घोटेर हेर्नु जरुरी हुन्छ । लिच्छविकालमा चलेको लिच्छवि संवत कार्तिकादि र अंशुवर्माको पालामा दशस्थानी देखिएको संवत् पनि कार्तिकादि भन्नुमा कुनै आपत्ति होइन ।

यहाँ शक संवत् पनि कार्तिकादि त भनियो, तर कार्तिकादि सिद्ध गर्ने हिसाब र सिद्धान्त प्रस्तुत गरिएन । केही समूह शक संवत् माघादि पनि छ, श्रावणदि पनि छ, चैत्रादि पनि छ र कार्तिकादि पनि छ भन्छन् । जस्तो विक्रम संवत् भारतमा कार्तिकादि छ । नेपालमा वैशाखादि भएझैं भारतमा शक संवत् चैत्रादि भए पनि नेपालमा कार्तिकादि थियो भन्ने तर्क ल्याउँछन् कत्तिले ।

दह्रो प्रमाण भनेर भक्तपुर सल्लाघारीनेरको नेसं ७५० को राजा जगतप्रकाश मल्लको अभिलेखमा पौषको मितिमा पनि शाके १५५२ दिइएको र वैशाखमा पनि शाके १५५२ दिइएको छ । यसको अर्थ वैशाखमा १५५२ दिइएपछि कार्तिकमा १५५१ हुनुपथ्र्यो, त्यो गरिएन । तब शक संवत् पनि कार्तिकादि ठहरियो भनी दिनेशराज पन्त खुसी हुँदै उनीलिखित लिच्छविकालमा चलेका संवत् पुस्तक (२०३८) को पेज (४५–४६) मा दिइएको छ । यदि शक संवत् पनि कार्तिकादि हो भने तिथिमिति गन्दा हिसाबको पद्धति पनि कार्तिकादिबाटै देखाउनुपर्ने निर्णयमा किन देखाइएको छैन ? प्रश्न यहीँ अड्किन्छ ।

नेपालमा कार्तिकादि शक संवत् चल्ने, तर गणना भने चैत्रादिबाटै गर्नुपर्नाको कारण खुलाइएको छैन । यहाँ कार्तिकादि शक संवत् र चैत्रादि शक संवत् दुवै छन् भन्दै गणना गर्दा कार्तिकादि अपनाउनु नहुने कारण के ? त्यो खुलाउन सकिएको छैन । यसले भनाइमा मात्रै शक संवत् कार्तिकादि र गराइमा चाहिँ शक संवत् चैत्रादि नै सकारेको स्पष्ट हुन्छ ।

शक संवत् चैत्रादि ठहर्ने भए कार्तिकादि ?

चाँगुनारायणको स्तम्भलेखमा संवत् ३८६ ज्येष्ठ शुक्ल प्रतिपदा मिति छ । शक संवत्मा १३५ जोडे विक्रम संवत् आउँछ भन्ने धेरैले जानेकै हुनुपर्छ । त्यसैले उनका सारा अनुयायीले अभिलेखको संवत् ३८६ लाई शक संवत् मानेर त्यसमा १३५ जोडेर विक्रम संवत् ५२१ लेख्दै आएका छन् । यदि चाँगुको उक्त अभिलेख जेठको नभई कार्तिकको भएको भए के हुन्छ ? यसमा पनि १३५ नै जोडियो भने विसं ५२१ नै हुन्छ । त्यतिवेला कार्तिकमा विसं ५२० मात्रै हुन्छ भनियो भने त्यसो भए १३४ मात्रै जोड्नुपर्ने हुन्छ । तब १३४ जोड्ने सूत्र कुन शास्त्रमा छ ? जब कार्तिकमा १३५ जोड्नुपर्ने भएरै जेठको मितिमा १३६ जोडेर विसं ५२२ खुसुक्क लेख्ने गरेको कुरा अनुयायीलाई पत्तो भएकै छैन । वैशाखपछिका अरू पनि थुप्रै अभिलेख छन्, ती कुनैमा पनि १३६ जोड्ने गरिएको छैन । वास्तवमा सिद्धान्त भन्ने विषय एउटा अभिलेखमा मात्रै आकर्षित हँुंदैन ।

मानदेवको पालाका संवत् ४२७ को दुईवटा अभिलेख प्राप्त छन् । अभिलेखमा कार्तिकमा मानदेव जीवित र आषाढमा मृत्यु भइसकेको उल्लेख छ । यसमा कार्तिकको अभिलेखमा १३५ जोडे आषाढकोमा १३६ जोड्नुपर्ने खण्ड आउने र आषाढको अभिलेखमा १३५ जोडे कार्तिककोमा १३४ जोड्नुपर्ने खण्ड आउने उही समस्या छ । समस्याको निराकरण ‘लिच्छवि संवत्को निर्णय’ ले गर्न सकेको छैन ।

‘लिच्छवि संवत्को निर्णय’ मा संवत् ३१ को माघशुक्ल त्रयोदशीको र संवत् ३०१ वैशाख शुक्ल सप्तमीको गणना गर्दा कार्तिकादि शक मान्ने व्यक्तिले कार्तिकबाट दिन गणना नगरी चैत्रबाट दिन गणना गरिएको छ । कार्तिकबाट दिन गणना गर्नुपर्दा कार्तिक १ + मार्ग १ + पौष १ + पौषमा अधिमास देखेकाले अधिमास १ + माघशुक्ल त्रयोदशी दिन १३ गर्दा ३०+३०+३०+३०+१३ . १३३ दिन तिथिगण आउँछ । त्यसो नगरी चैत्रदेखि दिन गणना गरी ३४३ दिन हुन्छ भनी देखाइएको छ ।

त्यस्तै वैशाख शुक्ल सप्तमी पनि कार्तिकदेखि गन्दा कार्तिक १, मार्ग १, पौष १, माघ १, फागुन १, चैत्र १ र वैशाख शुक्ल सप्तमीको दिन ७ गरी ३०+३०+३०+३०+३०+३०+७ . १८७ दिन हुन आउँछ, तर यसो गरिएको छैन । यहाँ केवल ३७ दिन देखाइएको छ । यो तरिकाले शक संवत् कार्तिकादि होइन, चैत्रादि नै सकारिएको पुष्टि हुन्छ । ‘लिच्छवि संवत्को निर्णय’ मा लिच्छविकालमा चलेको संवत् कार्तिकादि शक संवत् भनी दाबी पनि गर्ने लिच्छविकालकै मितिको गणना गर्दा चाहिँ चैत्रादि शक संवत्बाट गरिनुको मतलबले भनाइ र गराइ ठीक उल्टोपाल्टो छ भन्ने प्रस्ट हुन्छ ।

सुमतितन्त्रको प्रयोजनमाथि प्रश्न

अंशुवर्माको पालादेखि देखापरेको दशस्थानी संवत्को क्रमलाई मानदेव संवत् भनी मान्न ‘सुमतितन्त्र’ नामक ग्रन्थलाई अघि सारिएको छ । ‘सुमतितन्त्र’ का अनुसार, मानदेव संवत् विसं ६३३ देखि उठेको देखाइएको छ । खास त्यस ग्रन्थमा शक संवत् ४९८ सम्म चल्यो र पछि थपिएको वाक्यले मानदेव संवत् ३०४ वर्ष चल्यो भनी दिइएको कथनलाई आत्मसात् गरिएको छ ।

यसमा पनि नयराज पन्तको धारणा र उनका अनुयायीबीचको धारणामा भिन्नता छ । तर, कसको बुझाइमा ‘सुमतितन्त्र’ दुरुस्त भयो भन्न सकिन्न । नयराजको धारणामा मानदेव संवत् ३०४ वर्ष चलेको भनिएको मतलव शक ८०२ र शक ४९८ को अन्तर वर्ष ३०४ भएर हो । शक ४९८ मा १३५ जोड्दा विसं ६३३ हुने शक ८०२ मा १३५ जोड्दा विसं ९३७ हुने हुन्छ । विसं ९३७ र ६३३ को अन्तर ३०४ वर्ष हुन्छ भन्ने उनको अडान हो ।

अनुयायीले बुझेअनुसार, शक ८०२ पूरा नहुँदै शक ८०१ कार्तिकदेखि नै नेपाल संवत आरम्भ भएको हो । यहाँनिर ‘सुमतितन्त्र’ को बुझाइमा नयराज अस्पष्ट हो कि अनुयायी अस्पष्ट भन्ने गडबड छ । हो, यही गडबड मुख्य समस्या हो । शक ४९८ देखि शक ८०२ सम्म फित्ता नतानीकन ३०४ वर्षको नापो आउँदैन । अनुयायी ३०४ को नापो नआए नआउन शक ४९८ देखि शक ८०१ सम्म मात्र फित्ता तान्नु उचित मान्छन् । आखिरमा ‘सुमतितन्त्र’ नेपाली इतिहासमा ग्राह्य ठहरिएन भन्ने यसैबाट प्रमाणित भएको छ ।

‘सुमतितन्त्र’ मुताविक विसं ६३३ मा मानदेव संवत् उठेको मान्दा अरू पनि समस्या छन्, जस्तै अंशुवर्माको पालामा देखिएको दशस्थानी संवत्को क्रमका संवत ६७ को एउटा अभिलेख पाटन लुंझया चोकको अभिलेख हो र अर्को संवत् ६७ को अभिलेख लगन यंगालहिटीको । पाटनको अभिलेखमा पौष छ भने लगन यंगालहिटीकोमा भाद्र । भाद्रकोमा ६३३ जोड्यो भने पौषकोमा ६३२ जोड्नुपर्छ । यदि पौषकोमा ६३३ जोड््यो भने भाद्रकोमा ६३४ जोड्नुपर्ने अवस्था आउँछ । यो दुविधालाई निर्णयले सल्टाएको छैन ।

सुमतितन्त्रले निम्त्याएको भ्रम

लिच्छविकालमा चलेको संवत् र शक संवत्बीचको सम्बन्धमा समानता र असमानता के छन् ? कुनै अध्ययन गरिएकै छैन । कुनै अध्ययनबिनै ‘सुमतितन्त्र’ को ४९८ चाही शक संवत्को लिने र ८०२ चाहिँ लिच्छवि संवत्को लिएर दुईको अन्तर ३०४ आउने देखाउनु महाभूल हो । यसरी मानदेव संवत् ३०४ वर्ष चल्यो भन्न पाइँदैन ।

नेपालमा राणा शासनको सुरुवात इसं १८४६ मा भयो, अन्त्य विसं २००७ साल, यी दुवै साँचो हो । तब राणा शासन कति वर्ष चल्यो भन्दा २००७ बाट १८४६ घटाएर १६१ वर्ष देखाइयो भने त्यो नाजायज ठहरिन्छ । त्यस्तै शक ४९८ र लिच्छवि संवत् ८०२ बीचको अन्तर ३०४ देखाउनु एकै प्रकार हो । यस्तो गम्भीर त्रुटि भयो होला भन्ने कल्पनै गर्न पनि गाह्रो छ ।

‘सहोत्तरतन्त्र’ नामक ग्रन्थमा लिच्छविकालमा चलेको संवत् ३०१ दिइएको छ । यसमा महिना वैशाख छ, यो सर्वविदितै छ । यो मितिको गणना गर्दा नयराजले शक संवत् कार्तिकादि भन्ने आफ्नो अडान चटक्कै छाडी चैत्रादिबाट गरिएको विषयलाई कसैले चासो दिएनन् । त्यस गणनामा मानदेव संवत् ३०१ वैशाख भनेको शक ८०० वैशाख हुन्छ भनी सूर्य सिद्धान्तबाट हिसाब गरेरै देखाइएको छ ।

तब मानदेव संवत् ३०१ वैशाख भनेको शक संवत् ८०० वैशाख हुने भएपछि ३०४ वर्ष मानदेव संवत् बितेपछि नयाँ संवत् सुरु हुने प्रसंग कदापि सम्भव छैन । किनकि शक ८०० वैशाखसम्म ३०१ रहेको मानदेव संवत् शक संवत् ८०१ कार्तिकमा आएर ३०४ भइसक्ने हुँदै हुँदैन । शक संवत् ८०१ कार्तिकमा नेपाल संवत् उठान भएको सिद्ध हुनु भनेको मानदेव संवत् ३०४ वर्ष चलेको कुरा हावादारी ठहरिनु हो ।

‘सुमतितन्त्र’ को आधारमा भनेर ३०४ वर्ष मानदेव संवत् चलेको देखाउन चैत्रादि शक संवत् ४९८ र कार्तिकादि लिच्छवि संवत् ८०२ बीचबाट अन्तर गरेर ल्याइएको हो । शक संवत् चैत्रादि हो र लिच्छविकालमा चलेको संवत् कार्तिकादि हो । तब अन्तर गर्दा चैत्रादि चैत्रादिबाट र कार्तिकादि कार्तिकादिबाट गर्नुपर्ने हो भन्ने पनि थाहा हुनुपथ्र्यो । थाहा नहुनु ठूलो कमजोरी हो ।

अधिमासको त्रुटि

मानदेव प्रथमको पालाको बुढानीलकण्ठ विष्णुपादुका फेदीको अभिलेखमा अधिमास उल्लेख छ । यसमा भएको संवत्लाई कसैले संवत् ३९६ माने कसैले ३९५ । तर, ३९५ पनि ठीक होइन र ३९६ पनि ठीक होइन । यथार्थमा ३९८ ठीक हो भनी ‘लिच्छवि संवत्को निर्णय’ मा उल्लेख छ ।

तर, अधिमास क्षयमास सारणीमा शक ३९८ को वर्षमा अधिमास छैन । उनको सिद्धान्तअनुसार, कार्तिकादि शक ३९८ मा अधिमास पर्नैपर्ने हो । अधिमास क्षयमास सारणीमा शक ३९७ को आषाढमा मात्रै अधिमास दिइएको छ । संवत् ३९७ पनि शक र ३९८ पनि शक भएपछि यसमा एकवर्ष अघिपछि परेको देखिन्छ । यहाँ शक ३९७ आषाढमा परेको अधिमास नेपालमा ३९८ आषाढमा पर्नुपर्ने उपपत्ति निर्णयले दिनसकेको छैन ।

‘धर्म निर्णय तिथिसार संग्रह’ नामक ग्रन्थ कुनै जादुको ग्रन्थ होइन । यो ग्रन्थको नाम लिनेबित्तिकै शक ३९७ आषाढको अधिमास स्वत: लिच्छवि अभिलेखको संवत ३९८ आषाढमा थपक्क आएर बस्ने होइन । त्यसैगरी, शक ५३० जेठको अधिमास संवत् ३१ को पौषमा पर्न र शक ५३३ वैशाखको अधिमास संवत् ३४ को पौषमा पर्न आउने कसरी सम्भव छ ? यसबारे पनि कुनै समाधान दिइएको छैन ।

त्यस संग्रह ग्रन्थमा चैत्रादि वर्ष तथा श्रावणदि र माघादि वर्षको मात्र उल्लेख छ । त्यो भनेको चैत्रादि वर्षका लागि नारदमत आकर्षित हुने र श्रावणदि र माघादि वर्षका लागि भारद्वाजमत आकर्षित हुने दिइएको छ । नेपालमा कार्तिकादि संवत् मात्रै भएको हुनाले नारदमत र भारद्वाजमत आकर्षित हुन सकेन । अत: ती दुवै मत नेपालमा आकर्षित छैनन् भन्ने स्पष्ट छ ।

संवत् ३१ को अभिलेखमा जेठमा परेको अधिमास पौषमा लिइएको र संवत् ३४ को अभिलेखमा वैशाखमा परेको अधिमास पौषमा लिएको आधारमा नेपालमा आकर्षित हुने गरेको मत कार्तिकादि मत पनि रहेछन् भन्ने स्पष्ट देखिन्छ ।

अधिमास क्षयमास सारणीमा दिइएको शक ३९७ र अभिलेखमा आएको संवत् ३९८, त्यो के कति कारणले एउटै शक संवत् होइन ? त्यसको निरुपण हुनुपर्ने, संवत् ३१ म ४९८ जोडेपछि शक ५२९ हुन्छ । मानदेव संवत् पनि कार्तिकादि र शक संवत् पनि कार्तिकादि मानेपछि शक ५२९ को वर्षमा शक ५३० जेठको अधिमास किन लिनुपर्ने, शक ५३२ को वर्षमा शक ५३३ वैशाखको अधिमास किन लिनुपर्ने ? ती कुराको प्रामाणिक उपपत्ति ‘लिच्छवि संवत्को निर्णय’ ले दिन सकेको छैन ।

‘लिच्छवि संवत्को निर्णय’ मा दुइवटा अधिमासको हिसाब र दुईवटा बारसहित उल्लेख भएको लिच्छविकालको तिथिमितिको हिसाबलाई लिएर निर्णय गरिएको छ । ती चारैवटा हिसाबमा दोष र त्रुटि भएको हुनाले समग्रमा ‘लिच्छवि संवत्को निर्णय’ असफल निर्णय ठहरिएको छ । देशको इतिहास सच्याउने अभियान कुनै व्यक्ति विशेष वा वर्ग विशेषको होइन । इतिहास सबैको साझा हो, शुद्ध इतिहास लेख्ने काम पनि सबैको साझा दायित्व हो ।

(लेखक लिपि एवं पुरातत्वविद् हुन्)

प्रकाशित : आश्विन २९, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?