१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शेर्पाका नसुनिएका कथा

आरोहीले प्रथमत: आफ्नै मनभित्र उभिएको सगरमाथा जित्नुपर्ने रहेछ । भौतिक सगरमाथा त मनको सगरमाथाको विस्तार रहेछ । स्वयंलाई नजिती मान्छेले कहाँ संसार जितेको छ र ?
रोशन शेरचन

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको पहिलो सफल आरोहण गरेको सन् १९५३ को बखत नेपालले विदेशीलाई आफ्नो ढोका खोलेको केही वर्ष मात्रै भएको थियो । पृथ्वीको एउटा अन्तिम विन्दु अर्थात् सगरमाथाको चुचुरोमा पुग्ने त्यस ऐतिहासिक ब्रिटिस मिसनमा नाम्चेका १९ वर्षे लक्का जवान कान्छा शेर्पासमेत थिए । लगभग ४०० जना भरिया, जसमध्ये २५ जनाले ३० केजीका दरले सिक्का मात्रै बोकेको सात दशकअघिको त्यो समय कान्छाका लागि हरेक दोस्रो कुरा नौलो मात्र थिएन, सपनाजस्तो थियो ।

शेर्पाका नसुनिएका कथा

त्यसबीचका चालीस वर्ष नेपालमा सीमित मात्रै आरोहण भएका छन् । तर, जेजति भए ती निकै ठूला र भव्य भएका देखिन्छन् । राज्यहरूले युद्धस्तरमा लगानी र तयारी नगरीकन सगरमाथा चढ्ने काम अकल्पनीयजस्तै थियो त्योबेला ।

सन् १९९० मा बहुदलीय प्रजातन्त्रको पुन:स्थापनापश्चात् नेपाल सरकारले नवउदारवादको आर्थिक नीति अँगाल्यो । पर्यटन र पर्वतारोहण क्षेत्र परिणामस्वरूप विस्तारित भयो । निजी प्रकाशन संस्था र निजी विमान कम्पनीको आगमनले परिवर्तनलाई तीव्र बनायो । त्यसअघि भाग्यमानी केही शेर्पाले पाउने आरोहण अवसर व्यावसायिक आरोहणको विस्तारसँगै निकै व्यापक बन्यो । खुम्बु क्षेत्रले नै काँचुली फेर्‍यो । अहिले, बहुदलअघिका वर्षमा झैं एउटा याममा एउटा मोहडामा एउटा मात्र दलले सगरमाथा चढ्ने अनुमति पाउने अवस्था छैन, हूलका हूल आरोही चुचुरो पुग्ने बाटो नै जाम हुनेगरी अघि बढ्छन् । ट्राफिक जाम हुने पछिल्लो समयको एउटा नाटकीय दृश्य र विश्वको सर्वोच्च शिखर सगरमाथा हो भन्ने थाहा नभईकन सगरमाथा चढ्न गएका तिनै कान्छाको कथाबाट ‘शेर्पा : स्टोरिज अफ लाइफ एन्ड डेथ फ्रम द फर्गटन गार्डियन अफ एभरेस्ट’ पुस्तक उठान हुन्छ ।

यो किताबलाई साहसी र कर्मजीवी शेर्पा आरोहीको विस्तृत केस स्टडिज मान्न सकिन्छ । शेर्पाको सामाजिक, सांस्कृतिक पक्ष, नेपालको पर्यटन क्षेत्रमा परेको राजनीतिक परिवर्तनको प्रभाव र पर्वतारोहणको प्राविधिक पाटाको मिहिन वर्णनले यस गैरआख्यानलाई पठनीय मात्रै होइन, विशेष संग्रहणीय बनाएको छ । आम पाठकलाई हिमालमा पुर्‍याउँछ, शेर्पाको मन बुझ्न केही सघाउँछ । सबैभन्दा मुख्य कुरा हिमालबाहेक पनि उनीहरूको जीवन चिनाउँछ । धेरै चर्चा हुने खुम्बु मात्रै नभएर मकालु र रोल्वालिङ क्षेत्रका आरोही शेर्पालाई समेत समेटेकाले यो प्रतिनिधिमूलक किताब पनि बनेको छ ।

‘शेर्पा’ ले सन् १९५३ अघिदेखिको समय बोकेको छ । पात्रहरू जसरी फेरिन्छन्, त्यसरी नै समयको बदलाव देखिन्छ । हिमाल चढाउने साहसी मानिसका स्वाभाविक मानवीय कमजोरी, उनीहरूका भावना र संवेग पुस्तकमा छ । हिमचितुवा, सुपर शेर्पा, एभरेस्ट याकजस्ता अनेकौँ जीवनभन्दा ठूला विशेषण दिएर उनीहरूका भन्न र सुन्न नखोजिने दु:ख–पीडा खोतलेको छ पुस्तकले । तर, दन्त्यकथाका झैँ लाग्ने अदम्य साहसभित्र लुकेका हिमालफेदीका यी सरल मानिसका जीवनशैली झनै लोभलाग्दो छ ।

शेर्पाहरू अहिले संसारभर आरोहणसँग जोडिन्छन् । पुस्तकमा त्यसको छनक दिन खोजिएको देखिए पनि त्यो धेरैजसो सर्वोच्च शिखरकै वरपर घुम्छ । हिमालका हरेक ठूला–साना घटनामा साक्षी बनेका उनीहरूका यसअघि नसुनिएका भर्सन जान्न पाइनु पुस्तकको विशेष पक्ष हो । अग्ला धेरै हिमाल नेपालका भए पनि त्यसबारे अहिलेसम्म धेरै विदेशीले लेखेकामा यस पुस्तकले त्यसमा क्रमभंग गरेको छ ।

सन् १९५३ मै फर्कौं । ब्रिटिस आरोहण दललाई हिउँका ढिस्का र गहिरा चिराले अगाडि बढ्न रोक्छ । गोरा आरोहीले त्यस्तो चुनौतीबारे बुझेका त थिए, तर त्यति विघ्न जटिल होला भन्ने कल्पनासम्म गरेका थिएनन् । तर, वर्ष दिनअघि स्विस आरोहण दलले समातेकै रुट त्यस टोलीले पछ्याएको थियो । स्विस आरोहण दल चुचुरो नजिकबाट असफल फर्केको थियो, जसमा तेन्जिङ नोर्गे हुनु ब्रिटिसहरूका लागि ठूलो आडभरोसा थियो । त्यसैगरी धेरै लेखिएको र चलचित्र, वृत्तचित्र बनेको सन् १९९६ को हिमआँधीमा एक शेर्पाले आफ्नो विवशता पोखेका छन् । सन् २०१४ मा खुम्बु आइसफलमा गएको घातक हिमपहिरो र सन् २०१५ को भूकम्पले आधारशिविरमै ल्याएको दुर्लभ विपद्कोसजीव वर्णन पुस्तकमा छ ।

चुचुरोमा २१ घण्टा बिनाअक्सिजन बिताउने बाबुछिरी शेर्पाको जीवन र अन्त्य बुझ्न लेखकहरू मकालुसम्म पुगेका छन् । सबैभन्दा धेरै सन्तान सगरमाथा चुचुरोमा पुग्ने परिवारको कथा लेख्न उनीहरूका आमालाई खोज्दै लेखकहरू रोल्वालिङ उपत्यका छिरेका छन् । दार्जिलिङ पुगेर नोर्गेको घरमा उनको निजी सङ्ग्रहालयमा समय बिताएका छन् । पासाङ ल्हामुको आरोहणमा काठमाडौंदेखि बिग्रिएको साइतको लहरो केलाएका छन् ।

शेर्पाहरू हिमालसँग कुन हदसम्म जोडिएका छन् ? किन तालिम वा अध्ययनका भरमा जोकोहीले शेर्पाको ठाउँ लिन सक्दैन ? धेरैजसोका घरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दुर्घटनाहरू दोहोरिँदा पनि किन उनीहरू हिमाल चढ्न छाड्दैनन् ? यस्ता कैयौँ सवाल शेर्पाका कथाहरू केलाउँदा भेटिन्छ ।

पुस्तकभित्रका असंख्य लस्करमा कुशाङ दोर्जी शेर्पा अर्का आरोही छन् । उनको जीवनयात्रा अठोटको पाइतालाले अघि बढेको रहेछ । सन् १९६५ मा संखुवासभाको मकालु क्षेत्रमा जन्मिएका कुशाङको जीवनी हिमाल नपुग्दैबाट फिल्मी छ । किशोरावस्थामै कामको खोजीमा भागेर दार्जिलिङको बाटो समाउन खोज्दा उनी दलालको फन्दामा परेर भुटानको चिमाकोटीको छुका हाइड्रोपावर कम्पनीमा श्रमका लागि बेचिन्छन् । त्यहाँको नर्कमा जाकिएर पाँच वर्ष बँधुवा मजदुर भइरहँदा उनलाई जोखना हेर्ने झाँक्रीले ‘तिमी एक दिन राजा हुन्छौ...’ भनिरहन्छ ।

फास्ट फरवार्ड दोर्जी तीनवटै मोहडाबाट सगरमाथा सफल आरोहण गर्ने पहिलो व्यक्ति हुन् । त्यो रेकर्ड अझै उनको नाममा छ । तीन मोहडा छन् सगरमाथाको– दक्षिण पश्चिम, उत्तरी र पूर्वी । सबभन्दा कठिन चीनतर्फको पूर्वी मोहडालाई खाङसुङ भनिन्छ । दक्षिण पश्चिम नेपालतिर पर्छ । उत्तरी चीनमा । दस हजार पटकभन्दा धेरै चढिएको सगरमाथाको उक्त पूर्वी मोहडमा एक दर्जन पटक मात्र आरोहण भएको छ ।

त्यसैगरी फुर्वातासी शेर्पाजस्ता केही त्यस्ता विलक्षण शेर्पा छन्, जो संसारलाई चकित पार्ने रेकर्डहरू बनाइरहँदा समेत हिमाल नचढ्न आग्रह गर्ने आमा–बुवा चिन्तामा नपरून् भनेर उनीहरूलाई बेसक्याम्पसम्म गाइड गर्ने गरेको बताउँछन् । आमाबुवाको मृत्युसँगै उनलाई त्यसले ग्लानि महसुस गराउँछ र संसारले व्यग्रतासाथ अर्को कीर्तिमान पर्खिरहेको शेर्पा अचानक हिमाल छाडेर अहिले चौंरीगोठमा रमाइरहेका छन् ।

१२ खण्डमा बाँडिएको गैरआख्यान ‘शेर्पा’ ले दर्जनौं शेर्पाका गाथा लिपिबद्ध गरेको छ । केही शेर्पाले सफलतालाई अझैसम्म सेलेब्रेट गरिरहेकै छन् । केही भने छोटो समय सेलेब्रेट गर्दा/नगर्दै कुनै खरपासमा बिलाए वा हिमपहिरोमा लतारिए । शेर्पाहरू भय र उत्सुकताको दोसाँधमा आफ्ना प्राणप्यारी श्रीमती, सन्तान र वृद्ध बाबा–आमालाई गाउँघरमै छाडेर, फर्किन हो वा होइनको चिसो आशंकामा सर्वोच्च सगरमाथाको शिर छुन गह्रौं पाइला चाल्दै अगाडि बढेको वर्णनले हृदय उद्वेलित बनाउँछ ।

आदिवासी समुदायका निम्ति हिमाल प्राकृतिक भौगर्भिक आकृति र स्वरूप मात्रै होइन । हिमालकै मुन्तिर हिउँसँगै पौंठेजोरी खेल्दाखेल्दै उनीहरूको विश्वास पद्धति र संस्कृतिमा हिमाल अभिन्न हिस्सा बनिसकेको छ ।

सरदार मिङ्माको सानदार जीवनयात्रा पुस्तकको अर्को गरिमा बनेको छ । उनी पहिलो पुस्ताका सरदार हुन् । आरोही दललाई नेतृत्व दिने भएकाले सरदार भनिएको । सरदार संज्ञा मिङ्माको चिनारी नै बनेको छ । उनैले खनेको पदमार्गमा अहिले देशैभरिका सयौं शेर्पा र अन्य जातिका भरिया, कुक, गाइड र सरदार हिमाल आरोहणमा होमिएका छन् । तिनै मिङ्माका जेठा छोरा लाक्पारिता शेर्पाले १७ पटक सगरमाथाको शिखर चुमेका छन् । कान्छा छोरा कामीरिता शेर्पा त झन् कीर्तिमानी । उनी २६ पटक सगरमाथा उक्लिसकेका छन् । अन्य धेरै आरोही जब शिखरमा पुग्छन्, हर्षको अतिरेकमा फोटो खिच्दै आफ्ना उपलब्धिलाई दस्तावेजीकरण गर्न तल्लीन हुन्छन्, तर कामीरिता भिन्न छन् । उनी सर्वप्रथम माता ईश्वरलाई धन्यवाद दिन्छन् । घुँडा टेकेर निधारले शिखरलाई स्पर्श गर्दै प्रकृतिमाथि मान्छेले गर्ने ज्यादतीमा आफू पनि हिस्सा भएकामा क्षमा माग्छन् । र, मात्र पाइताला राख्छन् । बिर्सिएका दर्जनौं शेर्पाका कथा पढ्दा त्यसको विस्तृति, सिलसिलेवार वर्णन, लय, भंगिमा र तथ्यको फेरिहस्तले चकित बनाउँछ । वृत्तचित्र वा चलचित्र हेरेको अनुभव गराउँछ पुस्तकले । लेखकहरू प्रदीप बस्याल र अंकित बाबु अधिकारीले शेर्पा र हिमालको कथा एकदमै आधिकारिक ढंगले लेखेका छन् । अन्तर्राष्ट्रिय पाठकलाई केन्द्रमा राखेर हुनुपर्छ किताबमा नेपालको राजनीतिक इतिहास, भूगोल, भूराजनीति, समाज र अर्थतन्त्रका अन्य पक्षसमेत जोडिएका पाइन्छन्, जुन नेपाली पाठकका लागि केही बोझिलो पनि हुन सक्छ ।

‘शेर्पा’ किताबका लेखक बीबीसीका पत्रकार प्रदीप बस्यालले हिमाल र पर्वतारोहण विषयमा सत्यसन्धान र रिपोर्टिङ गर्दै आएको करिब एक दशक भएछ । त्यस्तै यस किताबका अर्का लेखक ‘काठमाडौं पोस्ट’ का पूर्वपत्रकार अंकितबाबु अधिकारी अहिले अनुसन्धानमूलक काम गर्दा रहेछन् । किताब पर्याप्त अनुसन्धान गरेर लेखिएको छ । आदिवासी, जनजाति समुदायले बधाई दिनुपर्छ लेखकद्वयलाई, नलेखिएको शेर्पाहरूको कथा उजागर गरिदिएकामा । त्यसमाथि विशाल अन्तर्राष्ट्रिय बजारमा नेपाली लेखकहरूले नै लेखेको यत्तिको अब्बल पुस्तक आउनुले शेर्पाहरू अब अरूका सपनाका सहायक पात्र नभईकन मूल नायक रहेको झनै प्रस्ट हुन्छ ।

हिमाल हरेकलाई सुन्दर लागे पनि हिमालका मीत शेर्पाका कथाभित्र पस्ने रुचि सबैले निर्माण गरेका हुँदैनन् । यो सीमित व्यक्तिको रुचिको विषय भएको छ । यद्यपि यो संख्या बिस्तारै बढ्दै गएको छ । बन्जी जम्पिङ, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिले पवर्तारोहणतर्फको ढोकालाई धकेलेको छ । साहसिक पर्यटनको अल्टिमेट– हिमाल आरोहणको इतिवृत्त बुझ्न सबल आँखिझ्याल बनेको छ– शेर्पा । यस अर्थमा लेखकद्वयको प्रयास स्तूत्य छ । सबै सन्दर्भ लेख्न यहाँ सम्भव छैन । अक्टोपस पब्लिसिङ (ह्याचेट, यूके) बाट प्रकाशित यो एक पढ्नैपर्ने पुस्तक बनेको छ ।

पढिसकेर पुस्तक दराजमा राख्दा मनमा अनायास भाव उब्ज्यो– आरोहीहरूले प्रथमत: आफ्नै मनभित्र उभिएको सगरमाथालाई जित्नुपर्ने रहेछ । भौतिक सगरमाथा त मनको सगरमाथाको विस्तार रहेछ । स्वयम्लाई नजिती मान्छेले कहाँ संसार जितेको छ र ?

प्रकाशित : आश्विन २९, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?