कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कथा

लालीपप ठाकुर

मुना चौधरी

काठमाडौँ — लगावेलु  जब लिपिस्टिक
हिलेला आरा डिस्टिक
जिला टाप लागेलू
कमरीया करे लापालाप
लालीपप लागेलू
यो गीत लालीपप ठाकुरले (हजाम, लौवा, कपाल काट्ने मान्छे) हटियाको हल्लागुल्लामा बजाउनेबित्तिकै मलाई धेरै हतार हुन्छ ।

लालीपप ठाकुर

हो, आजभोलि मलाई धेरै हतारो छ । ए, समय कति चाँडो बितेको हँ ? पख समय्, एकैछिन बिश्राम गर पनि भन्न सक्दिनँ । मलाई मेरो घरजम गर्ने चाहना उर्लेर आएको छ । मेरो मनमा अधवैँशे नारी चाहनाहरु प्रकट हुन्छ जसलाई म छेकेर छेक्न सक्दिनँ । पुर्णविराम लगाएर पनि लगाउन सक्दिनँ । मेरो मन हावासरी बगिरहेको छ ? अइया ! मलाई के भएको हँ ?

मसँग अझैँ समय बाँकी छ । म ४५ वर्षकी स्वास्नी मान्छे । एक, दुई वर्षपछि मेरो मासिक धर्म सुकेर जान्छ । दुई वर्ष भए पनि मेरो लागि समय त छ भनेर मनमा एक प्रकारको ऊर्जा उत्पन्न हुन्छ । बाफ रे ! यति विधि म किन उत्साहित हुन्छु । ओहो, यी दुई वर्षमा म एक सन्तानलाई जन्म दिन कसो नसकूँला र ?

हतेरिका म यति विधि किन बौलाएकी ? जब म लालीपप ठाकुरलाई देख्छु मेरो मनमा एक प्रकारको आनन्दको जन्म हुन्छ । म आफनो घर उसँग बसाउन चाहन्छु । उसको जीवनसाथी बन्न चाहन्छु । फेरि उसकी स्वास्नी र छोरो सम्झेर मलाई ऊदेखि घृणा उत्पन्न हुन्छ र थुक्छु आफैँलाई ? म अधवैशेँ भए पनि आखिरमा कन्या कुमारी छु । तर ऊ त स्वास्नीसँग समयचक्र बिताएको अधवैशे विदुर पुरुष । छि ! ऊदेखि मलाई कताकता घिन पनि लाग्छ ।

उसलाई हेर्ने बहानाले म हटिया गर्न जान्नँ भनेर अड्डी कस्छु तैपनि उसलाई एक झल्को नहेरिकन बस्न सक्दिनँ । पिठो, चामल वा केही न केही बेच्ने बहानाले हटिया लागेको दिन म हटिया गर्न कहिले छुटाउँदिनँ । उसलाई हेर्ने बहाना त हो ।

आज सधैँझैँ ऊ खिइएको हाती छाप चप्पल लगाएको थियो । टाउकामा रातो गम्छीको पगरी भिरेको थियो । गन्जीमाथि मैलो कुर्ता र धोती बेरेको थियो । फाटफुट फुलेको कपाल भएको ऊ मथामा रातो तिलक भिर्न छुटाएको थिएन । उसको तिलक देखेर लाग्छ ऊ भगवानको ठुलै भक्त हो । सधैँझैँ कैँचीले कपाल काटिरहेको थियो । कपाल कटाउन बुढाहरु लाम बसिरहेका थिए । उसको विशेषता नै यही थियो, कैँचीले सस्तोमा कपाल काट्नु । ऊ पुरानो ढाचामा कपाल काट्छ भन्थे केटाहरुले त्यसैले उसँग केटाहरु कपाल कटाउँदैनथे । बजारको आधुनिक सैलुनमा जान्थे । तर हटिया गर्न गएका बुढापाकाहरु कपालसँगसँगै, हात, खुट्टाको नङ, दारी, जुङ्गा र काखीको राँै पनि खौरिन लगाउँथे एउटै दाममा ।

हप्ताको दुई दिन गाउँ छेउमा हटिया लाग्छ । प्रत्येक हटियाको लालीपप ठाकुर तरकारी बजारको छेउमा भुँइमा बोरा बिछ्याएर कपाल काट्ने पसल थाप्थ्यो । उसले माटोको घैलामा स्पिकर राखेर साउन्ड बक्स बनाउँथ्यो र त्यो साउन्ड बक्समा, लगेलू जब लिपिस्टिक गीत घन्काएको हुन्थ्यो । दोहो¥याइ, तेह¥याइ त्यही गीत बजाउँथ्यो । ठुलो स्वरमा घन्केको त्यो गीतले हटिया गर्न गएका गाउँलेहरुको ध्यान तान्थ्यो । सबैले एकपल्ट उतिर हेरेकै हुन्थ्यो ।

एउटै गीत धेरैपल्ट बजाएको सुनेर हटिय गर्न गएका गाउँलेहरुलाई दिक्क लाग्थ्यो र उसलाई भन्थे, एकेटा गीत कतहेक बजाइचिहि रौ बुरबक ? दोसरो गीत बजा । गाउँलेहरुको कुरालाई वेवास्ता गर्दै उसले भन्थ्यो, हमरा यी गीत बहौत निक लागैये सुनैले ।

उसलाई मात्र यो गीत मन परेर हुन्छ र ? अरुलाई मन पर्नु परेन, पागल । लालीपप ठाकुर पागल छ । भनेर उसको कुरा काट्थे गाउँलेहरु । ऊ टाढाको गाउँबाट आउँथ्यो हटिया गर्न । उसको नाम के थियो कसैलाई थाहा थिएन तर ऊ सधैँ एउटै गीत बजाएको देखेर गाउँलेहरुले आफ्नो इच्छाले उसको नाम लालीपप ठाकुर राखेका थिए ।

उसको पसल अगाडि साइकल लगाएर एकजना अधवैशे पुरुष बरफ बेचिरहेको हुन्थ्यो सधैँ । बाआमासँग हटिया गर्न गएका बच्चाहरु बरफ किनिरहेका थिए । बच्चाहरुको भिडमा म पनि थिएँ एक बुढी कन्या । तर मलाई बरफ खाने कुनै शोख थिएन । बस् कपाल काट्न व्यस्त रहेको ठाकुरलाई हेर्नु थियो ।

बरफ चुस्दै म उतिर हेरेँ, उसको धोतीको फेर समातेर उसको छेउमा उसको छोरो बसिरहेको थियो । उसको छेउमा काठको सानो पुरानो बक्सा थियो । बक्साको छेउमा चँदन दलिएको लक्ष्मी भगवान्को तस्बिर,तस्बिर छेउबाट अगरबत्तीको बाक्लै धूवा निस्किरहेको थियो ।

ऊ कपाल काट्न व्यस्त थियो । । ऊ व्यस्त भएको देखेर सधैँझैँ मैले उसको अनुहारमा हेरे, मभन्दा एक हात अग्लो, बाक्लो जुङ्गा, लाम्चो अनुहार, खप्टिएको गाला, भित्र धसेका आँखा, लाम्चो नाक, सुकेको बेरसिला ओठ र निधारमा चाउरी परेको ऊ धेरै नै मनमोहक लाग्यो मलाई । उसको अनुहार आँखामा कैद गरेर बरफ चुस्दै म पिठो बेच्न फर्किएँ ।

पहिला मलाई ललीपप ठाकुरमा कुनै रुचि थिएन । तर जबदेखि ऊ आफनो सात वर्षको छोरोलाई आफूसँगै साइकलमा बसाएर हटिया गर्न आउन थाल्यो । उसको छोरोबारे सबैले सोधेपछि उसले भन्यो, हमर मेहरारु मोइर गेलछै । बेटाके राखैवला घरमे कोइ ने छै ।

उसकी स्वास्नी बितेकीले उसले छोरोलाई आफूसँगै ल्याएको सुनेर मलाई उसको धेरै माया लाग्न थाल्यो । र म उसलाई मनमनै प्रेम गर्न थाले । उसको छोरोलाई आफ्नो छोरो मान्न थालेँ ।

अइया, योभन्दा अगाडि यस्तो प्रेम किन कसैसँग बसेन हँ ? मुटु पनि के सारो ढुकढुकाएको ? जति घृणा गर्न खोजे पनि माया मात्र किन लाग्छ उसको ? यति विधि म किन ऊर्जावान् हुन्छु उसलाई देखेर ? उसको छोरोलाई काखमा बोकेर छातीभरिको मातृत्व किन लुटाउन मन लाग्छ मलाई ? मलाई यो के भएको हँ ? किन यस्तो विचारहरु उब्जन्छ मेरो मनमा ?

केटा मान्छेहरु बाआमालाई खुलेरै भन्छन्, म बिहे गर्छु । तर केटीहरु भन्न सक्दैनन् । लजाउछन् । केटीहरु म बिहे गर्छु भनेर खुलेर भने भन्ने, लाज नभएकी नकचरी भन्छन् । मलाई पनि त्यतिबेला बिहे गर्छु भन्ने सहास पलाएन तर अब म खुलेरै भन्छु म बिहे गर्छु । मैले आफैँलाई सन्तोक मान्नू छ तैपनि भनिरहेकी छु, कोही माइका लाल छ मलाई स्वीकार्ने हँ ? छ भने आइज । म बिहे गर्न तयार छु । मलाई तुरुन्तै सन्तान पनि जन्माउनु छ ।

धतेरी म फेरि के बोल्दै छु ? मलाई किन अरुले स्वीकार्नुपर्ने हो र ? म आफूले आफैलाई स्वीकारेकी हुँ नि । धत् ! यति विधि म के बोल्दै छु ? अनि जे छ त्यो बोल्न केको लाज ? केको अप्ठ्यारो ? म खुलेरै भन्छु म विदुर ठाकुरलाई मन पराउँछु । उसँस मेरो बिहे गराइदेऊ । उसँग घरजम गर्न चाहन्छु ।

मेरो भाइले बालाई खुलेरै भन्यो, बा म बिहे गर्छु ।

उसको कुरा सुनेर बाले रिसाउँदै भने, बोल्न लाज लाग्दैन हँ ? तेँरी दिदीको बिहे गर्न बाँकी छ । दिदीको बिहे नभई तैँले बिहे गरिस् भने गाउँलेले के सोच्छ ?

बाको कुरा सुनेर भाइ आक्रोशित हुँदै भन्यो, दिदीको बिहे भएन भने के मैले पनि बिहे नगर्ने ?

भाइको कुरा सुनेर बा सोचमा परे । भाइले लभ गरेको केटीसँग बाले बिहे गराइदिए । बीचमा मलाई पनि माग्न आयो तर सबैले दहेज माग्थे । दहेज दिन बाले कहिले स्वीकारेनन् ।

मलाई मेरो भतिजोले भनिसकेको छ । फुपु हजुर एक दिन पनि हटिया गर्न छुटाउनु हुन्न किन ? उसको कुरा सुनेर भाइ, बुहारी मेरो अनुहारतिर हेर्दै हाँस्छन् । केही बोल्दैनन् । उसललाई के थाहा ठाकुरलालाई देखिनँ भने मेरा दिनहरु सकसपूर्ण हुन्छन् । बिनाकाम उसको नजिक जान सक्दिनँ । जान्थेँ पनि कसरी उसले पुरुषहरुको मात्र कपाल काट्थ्यो ।

उसको बारेमा दिनरात मैले सोचिरहेको के उसले चाल पाउँछ ? किन मेरो मन विचलित भइरहन्छ ? थुक्क ! के मलाई यस्तो विचलित हुन शोभा दिन्छ ? के यो मेरो उमेरको दोष हो ?

म माइती बस्दै आएकी थिएँ । एकछिन पर्खिनुस् है, अँ साँच्चि अब भन्छु, मेरा कुनै ससुराल भएन । मेरा कुनै पुरुष पति भएन । भनौँ न मेरो बिहे नै भएन । बिहे गर्न दुलाहा सहित जन्ती आए तर लेनदेनको कुरा नमिलेर मण्डपबाट जन्ती फर्के । केटाका बा र आफन्तहरुले मात्र मलाई हेरेका थिए तर जब केटाले सिन्दुर हाल्नेवेलामा मेरो अनुहार देख्यो सिन्दुर हाल्न रोकियो । बासँग अझै एक तोला सुन र बीस हजार रुपैयाँ माग्यो । बाले दिन मानेनन् । बाले दिन नमानेपछि म खुब खुसी भएँ । बिहे नगरी जन्ती मण्डपबाट फर्कियो ।

म आफूलाई राम्री लाग्थेँ तर सबैले मेराबारे भन्थे्, म होची, काली, नेप्टो नाक र घुमराउलो कपाल भएकी केटी हुँ । सबैले यही भन्थे, नीमकला कुरुप छे त्यसैले जन्ती मण्डपबाट फर्कियो । तर खाँटी कुरा कसैले बुझन चाहेनन् । दहेज प्रथाको विरोधमा कोही माइका लाल बाको साथ दिन आएनन् ।

समय बित्दै गयो बाआमाको निधन भयो । भतिजो जन्मियो । भाइ बुहारी गृहस्थीमा व्यस्त भए ।

बिहे नभए पनि यति विधि कहिले अभावको अनुभव भएको थिएन । बाआमा बितेपछि जिउ काम्थ्यो वेलावेला । म कमजोर अनुभव गर्थेँ । त्यतिवेला लाग्थ्यो मेरा पनि लोग्ने भइदिएका भए । ममा मातृत्वको प्रवल चाहनाहरु जागृत हुन थाल्यो मेरो मनमा एक प्रकारको अनभिज्ञ त्रास उत्पन्न हुन थाल्यो । म मरे वा बिरामी परे भने मलाई हेर्ने र मेरो स्याहार गर्ने कोही हुने छैन । मृत्यु सम्झेर मेरो मनमा भय उत्पन्न हुन थाल्यो ।

भतिजो जवान भइसकेको छ । उसले भाइलाई धेरै पल्ट भनिसकेको छ । म बिहे गर्छु ।

मलाई ठाकुर मनपर्न थालेदेखि भतिजोको सहास देखेर म पनि एक दिन बुहारीलाई भने, म पनि बिहे गर्छु ।

मेरो कुरा सुनेर बुहारीले हाँस्दै भनी, दिदी यस्तो बुढेसकालमा हजुरसँग कसले बिहे गर्छ ? हामीले हजुरलाई कुनै कुराको कमी हुन दिएका छैनौँ ।

हो मलाई थाहा छ मेरा भाइ, बुहारीले मलाई कुनै कुराको कमी हुन दिएका छैनन । मलाई घरमूली बनाएका छन् तैपनि म खुसी छैन । मेरो आफनै लोग्ने र सन्तानको अभाव खडकिरहेको कुरा म बुहारीलाई कसरी बताऊ ? कसरी बताऊ मलाई मेरै गर्भबाट जन्मेको सन्तान चाहिएको छ । मेरो मन बुझिदिने मलाई जीवनसाथी चहिएको छ ।

अर्को हप्ता हटिया गर्न गएको वेला जब म बरफ किन्न गएँ लालीपप ठाकुरले दुकान थाप्ने ठाउँ खाली थियो । म धेरै निरास भएँ । बरफ खान मन लागेन । बरफ नकिनी फर्किएँ ।

अर्को दिन उसलाई हेर्ने वहानामा म फेरि बरफ किन्न गएँ । ऊ थियो तर उसको छोरो उसँग थिएन । उसको छोरोलाई नदेखेर मैले बरफवालालाई सोधेँ, लालीपप ठाकुरले छोरोलाई किन ल्याएन आज ?

मेरो कुरा सुनेर बरफवालाले भन्यो, घरमै छ होला ।

कोसँग ?

१४ वर्षकी छोरी भएकी उसकी आफ्नै साली विधुवा थिई । सालीसँग लालीपपले बिहे गरेछ ।

बरफवालाको कुरा सुनेर चारैतिर अँध्यारो लाग्यो । मुटु बेजोडले धड्किन थाल्यो । म दिन रात उसको बारेमा सोच्थेँ तर उसले अरुको सपना देख्ने ? उसको एक झलक हेर्ने वहानामा बरफ किनेर मैले पैसा नाश गर्ने अनि उसले अरुसँग बिहे गर्ने ? उसले मेरो मुटु किन छाम्न सकेन ? उसले मेरो पीडा किन अनुभूत गर्न सकेन ? कहाँ बिसाऊँ मनको भारी ? कुन औषधी लगाएर सन्चो पारुँ ?

आत्था ! मेरो मुटु भतभती पोल्छ । छाती दुख्छ बेस्सरी । मनको घाउ, पीडा र तडप कसलाई देखाऊँ ? मेरो दिमागमा किन आँधी बेहरी जसरी कुरा खेल्छ ? फेरि एकाएक दिमाग फुट्लाझैँ हुन्छ किन दिमाग फुट्दैन मेरो हँ? फुटेको भए छताछुल्ल भएर पोखिन्थ्यो र म एकदम शान्त हुन्थेँ ।

अर्को हप्ता गाउँलेहरु बेलुकी धमाधम हटिया गर्न निस्किरहेका थिए । भतिजोले पछबरीया घरबाट भन्यो, फुपु मेरा लागि हटियाबाट माछाको पकौरा ल्याइदिनुस् है ।

उसकको कुरा सुनेर म झर्किँदै भन्छु, तँ आफैँ जा हटिया ? म तेरो नोकर होइन ।

मेरो कुरा सुनेर भतिजोले भन्यो, फुपु हजुरलाई के भयो ?

उसको कुरा सुनेर म केही बोल्दिनँ । तर जिउ गलेको अनुभव भयो ।

म हटिया गर्न जान छोडेँ ।

छ महिनापछि गाउँमा हल्ला भयो,

लालीपप ठाकुर मरेछ । सौतेली छोरीलाई पटक पटक बलात्कार गर्दै आएको थियो । त्यही रिसमा उसकी स्वास्नीले उसको यौनाङ्ग छुराले काटिदिई ।

कुनै बेला उसको लागि मरिहते गर्ने म, यो घटना सुनेर मेरो मनमा ऊप्रति अथाह घृणा उत्पन्न भयो । मनमनै भनेँ, भो बा मलाई लालीपप ठाकुर चाहिँदैन । मैले ठाकुरसँग बिहे नगरेकै ठीक । प्रेम प्रस्ताव नराखेकै वेश ।

प्रकाशित : आश्विन १९, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?