श–२ ‘प्रेम हुन सक्ला पनि, प्रेम–कथा कदापि हुन सक्दैन’

कहिलेकाहीँ लुगा फेरेको देखिन्थ्यो, जब ऊ पर्दा लगाउन बिर्सिन्थी । ऊ यति सर्लक्क र रक्षात्मक सावधानीका साथ लुगा फेर्थी कि त्यसबाट कुनै यस्तोउस्तो दृश्यको कल्पनै गर्न सकिन्नथ्यो । लाग्दथ्यो, एउटा वस्त्रले अर्को वस्त्र पहिर्‍यो ! वस्त्रदेखि वस्त्रसम्म । शरीरको त कुनै कामै छैन, शरीर त छँदै छैन ।
ध्रुवचन्द्र गौतम

कथाहरू समयका जीवित दस्तावेज हुन् । कथा–लेखन मेरो सासफेराइ हो भने कथा त्यही सास फेराइभित्रको सृजनात्मक प्रकरण ।

– कथाकार

...

लेखक एउटा कथा लेख्न चाहन्थ्यो । यतिले पुग्दैन, थाहा छ । यो पछि । अहिले उसको दिनचर्या ।

अहिले ऊ पैसाको खोजीमा थियो, मूर्खतापूर्वक नै भनूँ । साथीभाइ, नातागोता, छरछिमेक सबको खल्ती छामिसकेको थियो, भौतिक रुपमा । माग्दै, निराश हुँदै दिन गुजारिरहेको थियो । एकदिन त सडकमा हेर्दै हिँड्यो, कतै नोटको बिटो नै पो भेटिन्छ कि ? मूर्खतापूर्वक त्यसैले । भेटिएदेखि त... लेखक त्यति इमानदार पनि थिएन, गएर विज्ञापन देओस्, नोटवाला लिन आउनू भन्ने । ‘बुभुक्षिता किं न करोति पापम् ?’ को हालत थियो लेखकको । तर, बेइमान बन्न पनि पैसै भेटिनुपर्‍यो नि त ! त्यसकारण आजसम्म ऊ इमानदार बन्न सफल थियो ।

म्यादी नोकरी थियो । केही महिनाअघि छुटेको थियो । कन्ट्राक्ट ‘रिन्यु’ भएन । हाकिम रिसाएको होला ? त्यसले गर्दा तीन महिनादेखि कोठाको भाडा, उधारो लिने पसल, खाजा–चिया, सब बन्द । भाडा माग्ने घरबेटीलाई कसरी छल्ने, उधारो लिने पसलतिरको छोटो बाटो नहिँडेर लामो बाटो हिँडेर कसरी काम चलाउने ? त्यहाँ पनि सापटी–पैंचो दिने दयालु आफन्त, इष्टमित्रसित जम्काभेट कसरी नहोस् भन्ने सतर्कता अँगाल्ने ? जीवन यस्तै सावधानीमा बितिरहेको थियो, त्यो एउटा कुरा ।

बार्दलीपारि, अर्को बार्दलीको ठीक अघिल्तिर एउटा ठूलो झ्याल थियो, कुनै कोठाको । त्यो हरबखत बन्द रहन्थ्यो । तर, काँचको झ्यालबाट रित्तो कोठा देखिन्थ्यो । सजिसजाउ, तर रित्तो । कहिल्यै कोही बसेन ।

किन ? पहिले–पहिले उसको मनमा यो प्रश्न उठ्थ्यो । कोही बसिरहेको परिवार बाहिर गएको थियो कि ? तर, यता केही दिनदेखि उसले त्यता ध्यान दिनै छोडेको थियो । आफैं रित्तिएकाले रित्तो कोठातिर त्यति ध्यान दिनै छाडेको थियो । आफैं रित्तिएकाले रित्तो कोठा हेरेर के गर्नु ?

त्यस्तै कुनै दिन झुलुक्क, लेखकले सोच्यो, त्यही रित्तो कोठा र आफ्नो रित्तो जिन्दगीमाथि एउटा कथा किन नलेखूँ ? प्रकाशित भयो भने २–४ रुपैंया त भइहाल्छ ! तर, त्यसको भोलिपल्टै लेखकलाई लाग्यो, अहँ ! यस्तो कथालाई घस्रेर हिँडाउनुपर्छ । दुईचार हरफभन्दा जाँदैन ।

भोक लागिरहेको थियो । त्यसकारण ऊ हिँड्यो । चना खानेसम्मको उधारो त मान्लान् पसलमा भन्ने उसलाई विश्वास थियो । आफूमाथि यत्तिमात्रै विश्वास थियो उसलाई । योभन्दा न कम न बढी ।

दुई–चार छाक चना–आलु–चिउरा आदिको भोग लगाएपछि लेखकलाई लाग्यो उसको जीवन सार्थक छ । उसले यति चाँडो हरेस खानु हुँदैन । त्यसैपछि हो, उसले एउटा कथा लेख्ने दह्रो सोच ल्याएको । त्यसै दिनदेखि ऊ कथाको खाका निर्घातसँग कोर्न थाल्यो । लेख्न थालेन । किनभने अब ऊ आफ्नो कथाका लागि एक पात्रको खोजीमा लाग्यो । त्यसको जीवन र आफ्नै पनि जीवन मिसाएर, तर काल्पनिक मिश्रणका साथ कथा बेजोड हुने तीव्र सम्भावना छ ।

कुनै नाटकमा लेखकको खोजीमा पात्रहरू थिए भने यो लेखक अब ‘पात्रको खोजीमा लेखक’ भएर हिँड्न थाल्यो । होइन, होइन, पाठकगण‒ भ्रममा नपर्नुस् । यो शीर्षक ऊ राख्दैन । त्यो त सक्कलबमोजिम भइहाल्यो नि ! शीर्षक ऊ अर्कै राख्नेछ ।

त्यो साँझको समय थियो । एकाएक देख्छ लेखक, पारि बार्दलीको कोठामा बत्ती बलेको छ । कोठा रित्तो थियो, तर अब जीवन्त लागिरहेको थियो । पलङ, फर्निचर सब बिजुलीको उज्यालोमा टल्किरहेका थिए । ठूलो कक्षमा तीन सजिसजाउ पलङ, सिनित्त ओछ्यान, एक छेउमा एउटा सोफा कि दुइटा हो ? तन्ना कसिकसाउ । देख्दा नदेख्दै दुई केटाकेटीले प्रवेश गरे । १० वा १२ वर्षजतिका । १२ की होली केटीचाहिँ । एक वृद्धा पनि प्रवेश गरी, जो सम्भवत: घुँडा दुख्ने रोगले होला पलङमा पल्टी । लेखकले सोच्यो, ठीक छ, यसैलाई पात्र बनाउँछु । किन नहुनु ? मैले रोमान्टिक कथा त लेख्ने होइन नि ? म त अलिक विश्वस्तरकै लेख्न खोज्ने हो नि त ? तर, उसलाई समस्या पर्‍यो, तर म यससँग आफ्नो जीवन कसरी मिसाउन सकुँला ? फिक्रीमा पर्‍यो । ठीक छ, उसैको जीवन लेखुँला । जस्तो ती केटाकेटी र उसको सम्बन्ध ।

निकैपछि एउटी केटीले प्रवेश गरी– उसका दुवै हातमा प्लेट थिए । छेउको सानो टेबुलमा सजाई । कुकर ल्याई । अर्को भाँडो ल्याई । भात पस्किन थाली ।

सानो एउटा भान्छा त थियो त्यहाँ, उसलाई थाहा छ । छिमेकीका नाताले त्यति ज्ञान उसलाई थियो । आजलाई होला यो व्यवस्था ?

खाएपछि केटीले सब सिनित्त पारी । कोठा जस्ताको तस्तै । फेरि एकछिनलाई लुप्त भई । भान्छामा गई होली, भाँडा माझ्न कि ?

त्यसपछि धोतीको फेरले हात पुछ्दै कोठामा आई । पारी भएको सुती धोती थियो । उसको शरीरमा राम्रो लागिरहेको थियो । एक पलङमा सानी केटी, अर्को पलङमा केटो गएर पल्टिए । निदाउन थाले । त्यो केटी टेबुलमा किताब राखेर, किताब पल्टाउँदै कापीमा केही नोट गरिरही । एघार बजेतिर ऊ उठी र बत्ती निभाइदिई । कोठामा त्यो सादा हैसियतकी राम्रो अनुहार भएकी, तर अलिक उदास पनि देखिने केटी पनि छोपिई । सुतिहोली । लेखक पनि यता आफ्नो तरखरमा लाग्यो । निदाउने होइन, कल्पना गर्ने ।

लेखकले पात्र पाएजस्तो भयो । पात्र मात्र होइन, यो त नायिका पात्र नै हुन्थी, भई भने । प्रसन्नताका कारण ऊ कति बेरपछि सुत्यो, ज्ञात भएन ।

बिहान देख्यो, पर्दा फेरि उघ्रेको छ । केटी ती बालबालिकालाई सम्भवत: स्कुल पठाउने तयारी गर्दै थिई । दुवै हातले सानी केटीको कोरीबाटी गर्दै थिई । उसका हात एकदम गतिमान् थिए, अभ्यस्त देखिन्थे । ऊ मुखमा रिबन च्यापेर केही निर्देश दिँदै थिई बालिकालाई । हिजोकी वृद्धा भने देखिइन, जो राति आउनासाथ घुँडा समाउँदै ओछ्यानमा लडेकी थिई । डाक्टरकहाँ गई कि ? आज नयाँ ठाउँको उत्साहले कुप्रँदै छरछिमेकमा पुगी कि ?

अघिल्तिर युनिफर्म लगाएर सानो केटो उभिएको थियो र बारम्बार भुइँमा पालैपालो दुवै खुट्टा बजारिरहेको थियो । ढिलो भएकामा गनगन गरिरहेको होला । त्यसपछि केटीले भनूँ न, आफ्ना छोराछोरीलाई औंलो ठड्याएर केही हिदायत दिई । त्यसपछि पर्स खोतलेर पाँच–पाँचको नोट झिकेर दुवैका हातमा थमाइदिई । छोरोले पाँचको नोट देख्नासाथ हुत्याइदियो र थचक्क सोफामा बस्यो— स्कुल जान्न, यति पैसा लिएर, बेइज्जत हुन्छ । यही त होला ? त्यसपछि आमा खोतल्न थाली । दसको नोट झिकी र उसले फ्याँकेको पाँच टिपी । उसलाई दस ? छोरीले देखी । उसले केही नबोलेर, शान्त भावले पाँचको नोट आमालाई देखाई । यसपटक आमा हाँसी । प्याट्ट छोरीको गालामा हिर्काई । अनि छोराले हुर्‍याएपछि टिपेको ५ को नोट, जुन हातमै थियो, उसले छोरीको अर्को हत्केला फुकाएर त्यसमा राखिदिई । छोरी दुवै आफ्ना हातमा नोट देखेर प्रसन्न भई । दुवै हात हल्लाउँदै बाहिर निस्के ।

केटी थकितझैं, चकितझैं थचक्क ओछ्यानमा बसी । जोड्न मन लाग्यो : शुभ्र शिखा, मैनबत्तीको ।

त्यो शुभ्र शिखाको मैले दुईपटक फोटो क्लिक गरेको थिएँ, अलिक ‘जुम’ गरेर । एकपटक मुखमा रिबन च्यापेर छोरीको कपाल बाट्दा । अर्को यही, थकित–चकित भएर बस्दा ।

त्यसलाई केही थाहा भएन, जसरी तिनका अघिका क्रियाकलापमा मैले केवल अनुमान गरेको थिएँ, हाउभाउले । भोलि केही सुनिन्न, केवल एक्सन, एउटा ‘मुक फिल्म’ क्याप्सनरहित । केवल अनुमान ।

घर हाम्रो एउटै थियो । बार्दली चौकोर किसिमले बनेकाले बार्दलीवारि र पारि भएको हो । घरमा कति कोठा छन्, मैले गनेको छैन । फ्ल्याट भन्न सकिन्थ्यो पनि कि ? घर पुरानो हुनाले फ्ल्याटको हिसाबले बनेन होला । यस्तो लाग्दथ्यो, कुनै पुरानो धनाढ्यको घर हो, जसलाई यसको आम्दानीसित खास चासो छैन । केवल अधिग्रहण अथवा ऐलानी घोषित नहोस् भन्ने भयले २–४ कारिन्दा र रेखदेखका लागि पाले त्यसले नियुक्त गरेको छ । त्यसैले घरको वास्तविक धनी कसैले देखेको छैन । यिनै कारिन्दा घरको बहाल कोठा हेरेर वा मान्छे हेरेर पनि पक्का गर्दा हुन् । बहाल कडाइसाथ असुलिन्थ्यो । मेरै गुन्टा–सुन्टा पनि एकदुई पटक फ्याँकिनदेखि जसोतसो मैले जोगाएको थिएँ । त्यसकारण यीमध्ये कुनै कारिन्दा वरपर देख्नासाथ म ढोका लगाएर क्यालेन्डर हेर्थें । ए, अहिले त महिना मर्न ५–६ दिन नै बाँकी रहेछ । त्यसपछि म आरामले चुरोट च्याप्दै त्यही कारिन्दासित लाइटर मागेर सल्काउँथेँ । मनमा उत्सुकता त हुन्थ्यो, कुन कोठाको भाडा असुल्न यी आएका हुन् ? त्यसै त यी झुल्किँदैनन् । यी पनि हाम्रो बत्ती–पानी–बाछिटा आदिको गुनासो सुन्नदेखि जोगिन चाहन्थे । भाडा तिरेपछि त पाइयो नि भन्न ।

मान्छे वा सिफारिस हेरेर पनि बहाल तय गर्दथे भने, पक्कै ती म्यामलाई त हावादार ठूलो कोठा सबभन्दा नभए पनि मभन्दा त सस्तोमा दिए होलान् । छोराछोरी जे जस्ता भए पनि म्याम त... हँ ? बहाल त जति घटाए पनि हुने तहकी छिन् ।

त्यो केटीसित मलाई जेलसी हुन थाल्यो, एकछिन फेरि सोचेँ, यो त मेरी पात्र हो, जसको म कथा लेख्न चाहन्छु । योसित केको रिसराग ? म शान्त भएँ र त्योसित एक–दुई पाना आफ्नो कथा यसरी थालेपछि कथाकार सोच्न थाल्यो, यसरी हुँदैन । यो कथा फस्र्टमा लेख्ने कि सेकेन्ड, कि थर्ड पर्सनमा ? त्यो केटीसित भेटेपछि मात्र निश्चित हुन्छ । एक्लै एकोहोरिएर के हुन्छ ? तर, के गरी भेट्ने ? यो सोचमा केही दिन कथा अलमलियो ।

केटीको दिनचर्या उस्तै थियो । भान्छामा पकाउनु । केटाकेटीलाई स्कुल पठाउनु । आफू पनि तयार भएर ब्याग लिएर कतै दिनभरि निस्कनु । साँझ घर फर्केर एकछिन थकित, लस्तपस्त अवस्थामा बस्नु । साहस बटुल्नु भनूँ । साहस बटुलिएपछि जुरुक्क उठ्नु र बेलुकीका लागि जाँगरिलो बन्नु ।

उसका दुईचार कुराहरू कथाकार यहाँ नोट गर्न चाहन्छ । प्राय: फुर्सदमा ऊ पढ्थी, केही नोट गर्थी वा लेख्थी । यसमा फेरि के भनेर सोध्यो भने ऊ बताउन सक्दैन । मुक फिल्म त हो, तर लेन्स बद्लिन्न, जुम हुँदैन । त्यसैले पुस्तकको शीर्षक देखिन्न । नोटबुकको अक्षर देखिन्न । कलमको रङ देखिन्न । कथाकार चिन्तित थियो, त्योसित कम्प्युटर किन छैन ।

कहिलेकाहीँ लुगा फेरेको देखिन्थ्यो, जब ऊ पर्दा लगाउन बिर्सिन्थी । ऊ यति सर्लक्क र रक्षात्मक सावधानीका साथ लुगा फेर्थी कि त्यसबाट कुनै यस्तोउस्तो दृश्यको कल्पनै गर्न सकिन्नथ्यो । लाग्दथ्यो, एउटा वस्त्रले अर्को वस्त्र पहिर्‍यो !

‘जीर्णानि वस्त्राणि यथा विहाय’

वस्त्रदेखि वस्त्रसम्म । शरीरको त कुनै कामै छैन, शरीर त छँदै छैन । वस्त्रभित्र वस्त्र नै देखिएला अर्थात् अदृश्य रूप । वस्त्रभित्र शरीरको नाउँमा कुनै वस्त्र ।

कथाकारलाई आफ्नो कल्पना–शक्तिमा भने प्रगाढ विश्वास भयो । ऊ गदगद भयो, एक निर्धन भए पनि आफूप्रति एकदम सतर्क–सजग नायिकाको कथा लेखिन्छ कि ?

तर, एक दिन चूक हुन गयो । उसबाट, केटीबाट कि मनोविज्ञान–परिस्थितिबाट ? उसले त्यसलाई ‘तीन चूक’ भन्ने शीर्षक दिएको छ । अर्को कथा लेख्न त होला ? टाल्सटायको ‘थ्री क्वेस्चन्स’ बाट प्रभावित भएर ? हुन सक्छ । आउनुस् पाठक, ती तीन चूकको उल्लेख गरौं ।

१. उसले त्यो झ्यालमा किन हेर्‍यो ?

उत्तर : बानी परेकाले । यद्यपि ऊ कुनै किसिमले ४–५ एमएल पनि ‘भोयरिस्ट’ होइन । (अलि बढी भयो कि भएन, यो कथाकारले बताएन भने, पाठकलाई, आफ्नो हिसाबले निर्णयार्थ ।)

२. केटीले किन पर्दा लगाइन ?

३. र... केटीले ढोका ढप्काई र लुगा फेर्न थाली । उसले कुर्ता लगाइसकेकी थिई अघि नै । त्यो कथाकारले देखेन । सुरुवाल झिकी र हतारमा दुई खुट्टा घुसारी । कुर्ता अलिक मास्तिर सारी, सुरुवाल लाउँदै गर्दा । निमेषमा उसलाई बोध भयो, निमेषमै कथाकारलाई बोध भयो‒ अन्त:वस्त्र लगाएकी छैन । तत्काल कुर्ता झारी । पछिल्तिर हेरी, थोरै जिब्रो काढी र पर्दा बल गरेर अथवा आफू र पर्दा दुवैसित हलुका रिसाएर, सर्र तानिदिई ।

कथाकार त्यत्तिकैमा दिन काट्न चाहन्थ्यो आज । केही पुलकित भएको त होइन ? कथाकारले आफैंलाई थिचथाच गर्‍यो— ‘कदापि होइन, म त...!’

वास्तवमा केटीले सुरुवाल तान्दा र कुर्ता मास्तिर सार्दाको निमेषमा पिठ्युँको समरोपन समाप्त हुने अन्तिम र मांसलताको थालनी भागलाई उसले नेत्र–स्पर्श गरेको थियो । यो अन्तिमचाहिँ चूक हो, संयोग हो अथवा अरू केही नाउँ दिए पनि दिन सकिन्छ । तर, त्यसपछि कथाकारको धारणा झन् दृढ, अटल अझ अपरिवर्तनीय नै भयो— यही मेरी कथाकी नायिका हुन्छे । अझ बालबच्चा नदेखिएका भए त...जीवनकी नायिका बनाउनेसम्म पुगको थियो, बिचरो फर्केर आयो । कथाकारले यति रुग्ण सोच्नु हुँदैन, थाहा पाउँदा पाउँदै ।

अब यो बयानलाई यसो गरौं । पाठकलाई पनि छर्लंग भइसकेको छ, त्यो केटा र केटीको भेट हुन्छ नै, सडकमा होस्, बसस्टपमा होस्, रेस्टुरेन्टमा होस् अथवा... पाठक जहाँ रोज्नुहोस् ।

ठीक छ, सर्ट एन्ड स्विट, केटा र केटीको कोठैमा भेट हुन्छ । यिनको, अलिक, महिनाको आखिरीको जीवन चलिरहेको छ, त ऊ गयो । केटी किचनमा थिई कि कहाँ ? धोती लाएकी थिई, फेरोले हात पुछ्दै निस्की । हाँस्न त स्वभावत: हाँसी, तर कुनै आश्चर्य वा अचानकको भाव छँदै थिएन । दुवै जान्दथे एकदिन भेट हुन्छ, जसरी भएपनि । यसरी भयो । दुवैले लुगा फेर्न परेन, यो भेटाइमा त्यो सजिलो थियो ।

केटोले भन्यो, ‘पानी परिरहेको छ, छाता छैन, चिया खान खोजेको चिया सकिएछ । दुई चम्चा चिया...।’

केटी ‘विटी’ रहिछ, हाँस्दै भनिहाली, पूर्वपरिचितलाई झैं, ‘दुई चम्चा चियाले पुग्छ ? म त एक कप खान्छु ।’

यसपटक अघिको पुलकित कथाकार, पख्नुस्, पुलकित अघिको हो कि हिजोअस्तिकै हो ? होइन, त्यो दिन त यसरी पानी परिरहेकै थिएन । प्रमाणित भयो, उसको त्यो ‘बेस–क्याम्प’ प्रफुल्लता ४–५ दिनअघिकै हो । यो उसको मूर्खता वा सरलता भनूँ, ऊ अझै भर्खर घटित घटनाजस्तै दिनरात सम्झेर मलजल हालिरहन्छ । अहिले हलुका भलादमीपनको लेप लगाएको छ— दुई चम्चा टोकलाका लागि ।

केटो लज्जित भए पनि हाँस्न थाल्यो, आफ्नै मूर्खतामा केटीले घुमाएर मूर्ख भनेकामा । हाँस्न मात्र होइन, केटीको विटमा त मुग्ध नै भयो । मूर्ख भएर के भयो, आफ्नै नायिकाको हातबाट त हो नि ?

दुवै बसेर चिया खान थाले ।

उसले भन्यो, ‘म एउटा कथाकार हुँ ।’

केटीले भनी, ‘तपाईंका कथा पढेकी छु ।’

–‘म एउटा कुरा भन्न चाहन्छु... ।’

–‘म पनि एउटा कुरा भन्न चाहन्छु तपाईंलाई... ।’

–‘भन ।’

–‘कथाकार त म पनि हुँ । धेरै छापिएको छैन म ।’

–‘तिमी पनि कथाकार ?’

–‘हजुर ।’

–‘कसरी भ्याउँछौ छोराछोरी, आमा स्याहार्दै, अफिस, घर चलाउँदै लेख्नसमेत ?’

केटी फेरि गिज्याउने गरी हाँसी, ‘म छोराछोरीकी आमाजस्ती लाग्छु ? भर्खर २२ वर्ष लागेँ । जब गरेर बसेकी छु यहाँ । उहाँ हाम्री आमा हुनुहुन्छ, ती दुईजना मेरा भाइबहिनी हुन् ।’

आफ्नो मूर्खतामा कथाकारलाई यसपटक पछुताउ भयो, चानचुने होइन, उग्र, उग्रतरले पनि पुग्दैन, उग्रतम पछुताउ नै भन्नुपर्छ । भित्र हुनाले देखिएन र मात्र हो ।

–‘म एउटा कथा लेख्न चाहन्छु,’ केटाले भन्यो ।

–‘म पनि एउटा कथा लेख्न चाहन्छु,’ केटीले भनी ।

–‘म तिमीलाई पात्र बनाउन चाहन्छु मेरो कथाको, अब त नायिका नै । कथालाई तिम्रै्र वरिपरि घुमाउन चाहन्छु, बन्छ्यौ ?’

केटी सोच्न थाली । भनी, ‘यसरी कथा लेखिन्छ र पात्र खोजीखोजी, नायक–नायिका बनिदे भनेर अनुरोध गर्दै ?’

–‘यसरी पनि लेखिन्छ । तिमी हेर न कलम चाहिन्छ अनि हेर्नू... ।’

कथाकारले यहाँ अलिक फुर्ती लगाएको देखिन्छ, होइन ? यो त स्वभावै हो नि यहाँको, छाडिदिऊँ ।

केटीले भनी, ‘बन्न त बन्छु तर... एउटा कुरा भन्नु छ ।’ हँ ? के कुरा वा सर्त होला ?

–‘के भन न ।’

केटीले भनी, ‘तपाईं पनि मेरो कथाको पात्र बनिदिनुस् । मैले एउटै राम्रो कथा लेख्न सकिनँ । यसरी लेख्यो भने राम्रो हुन्छ कि ?’

त्यसै क्षणदेखि, हामी दुवै, एकअर्काका लागि पात्रमा परिणत भयौं । वास्तविक मनुष्य, काल्पनिक पात्रमा परिणत भयौं ।

त्यस्तो रहस्य भने नमान्नुस् । उही थियौं, लेख्दा त काल्पनिक बनाएरै लेख्नुपर्‍यो नि त ! त्यस दृष्टिले काल्पनिक ।

त्यसपछि भेट बढ्नु, एकअर्काको जीवनका कथाहरू ‘सेयर’ गर्दै जानु । सब कथाका लागि । एक वर्ष ६ महिना नै चल्यो ।

एक वर्ष ६ महिना, सके अझै ७ दिन पनि भएको थियो ।

आठौं दिन उसले भन्यो, ‘तिम्रो दिनचर्याको सानो कुरासमेत लेख्छु, आफूलाई मनपरेको र बतायौ भने तिमीलाई मनपरेको पनि ।’

केटीले सोची, ‘दिनचर्याको स–साना कुरा, तपाईंलाई मनपर्ने भनेको के, जस्तो ?’

–‘जस्तो सधैं तिमी बाहिर निस्कनुअघि सधैं आफ्नो ब्याग चेक गछ्र्यौ, बसको टिकट किन्ने चानचुन, साथीहरूसित खाजा खानुपर्‍यो भने तिर्ने रकम, कहिलेकाहीँ ढिलो हुँदा ट्याक्सी चढ्ने भाडा, अफिसका लागि त्यस दिन चाहिने कागजपत्र, यही त होला नि ?’

बाइस लागेकी केटी मज्जाले हाँसी, ‘कथाकारको सूक्ष्म–दृष्टि ! कति डिटेल देख्दोरहेछ । यसमा अलिकति मनोविज्ञान जोड्न मिल्दैन ?’

–‘मिल्छ, तर यही बयान त मनोविज्ञान बन्छ कथामा । मनोविज्ञानको सिद्धान्त बडेबडे, एडिपस–इलेक्ट्रा कम्प्लेक्स छाँट्न थाल्यो भने त... बिग्रन्छ कथा, अचेल त्यस्तो लेखिन्न ।’

केटीको कथाकार झल्याँस्स बिउँझेछ । भनी, ‘तपाईंले सारा लेख्यो भने मैले के लेख्ने त ?’

उसले भन्यो, ‘तिम्रो त प्रकृति–स्रकृतिको वर्णन भएको कथा लेख्छु भनेको होइन ?’

–‘अहँ, त्यो पहिले भनेकी । अब म पनि आजकै मान्छेको कथा लेख्छु । तपाईंको दिनचर्या लेख्छु । तर, मलाई तपाईंको दिनचर्या केही थाहा छैन ।’

–‘दुई–चार दिन मलाई अब्जर्भ गर, थाहा भइहाल्छ नि !’

–‘कुनै लेख्न अप्ठ्यारो हुने कुरा थाहा भयो भने ?’

–‘त्यो पनि लेख्ने नि । कथाकारले इमानदार हुनुपर्दछ बुझ्यौ ? अनि ‘बोल्डनेस’ पनि इमानदारी हो के ?’

केटीलाई एकछिन के बोलूँ, के बोलूँ भएछ क्यार !

धेरै बेरपछि बोली, ‘अप्ठ्यारो हुन्छ के, सबै कुरा लेख्न हामीलाई । तपाईं बुझ्नुहुन्न हाम्रो... ।’

लेखकले भन्यो, ‘त्यसो भए, तिमी शकुन्तलाजस्ती एउटी केटीको कथा लेख, जो केवल प्रकृति जान्दछे ।’

–‘अनि दुष्यन्त... ?’

–‘तिम्रो कथामा आउँदैन । मेरो कथामा ल्याउँला... ।’

–‘अनि भेट दुवैको, त्यसपछि गर्भ... नाईं म त, त्यस्तो लेखेकै छैन ।’

लेखकले भन्यो, ‘मेरो कथाको दुष्यन्त केही समयलाई तिम्रो कथामा पठाइदिन्छु । पछि फेरि मेरै कथामा काज–फिर्ता गरेर ल्याउँला नि त !’

केटीले पुलुक्क हेरी कथाकारलाई । एकछिनपछि भनी, ‘तपाईं मलाई त्यत्तिको फुल ठान्नुहुन्छ ?’

केटी रिसाई क्यार ! कथाकारले हत्तपत्त सम्यायो, ‘नो मिस ! म त तिमीलाई ट्युलिप फूल ठान्छु । अ ट्युलिप बाई द मसी स्टोन ठान्छु । वर्डस्वर्थ भएको भए तिमीलाई यस्तै केही भन्ने थियो ।’

केटी अलि मानेजस्ती देखिई । एकदम प्रसन्न नदेखिए पनि, ट्युलिप र वर्डस् सुनेपछि, यो स्तरमा अब रिसाइरहनु मुनासिब छैन । अलिक लाडे स्वर, नाके–नाके स्वर हुन्छ नि, त्यस्तोमा भनी, ‘अनि के गर्ने त ?’

मैले भनेँ, ‘एउटै कथा तिमी र म भएर लेखौं । आधी जति तिमी लेख अनि आधी जति म लेख्छु ।’

केटी अलि आश्वस्त भई, ‘मैले फस्र्ट हाफ लेख्ने कि सेकेन्ड ?’

–‘तिमी जुन रोज ।’

–‘म सुरुमै लेख्छु । एन्ड लेख्दा म कन्फ्युज्ड हुन्छु ।’

–‘हस् मिस ।’

–‘फेरि एन्ड भनेर मलाई यस्तोउस्तो नलेख्नुहोला नि, कथाकार महोदय !’

–‘म त्यस्तो आँट गदिँन सुश्री । चिन्ता केको ? कथामा त हामी दुवै एकअर्काका काल्पनिक पात्र हौं ।’

–‘अहँ, त्यसो भनेर कहाँ हुन्छ ? एउटा लेखकले एउटी काल्पनिक केटीको प्राइवेट लाइफ भनेर लेख्यो र त मान्छेले त्यो काल्पनिक केटीलाई खोजेर, उभ्याएर, अन्त्यमा त्यो बिचरो लेखकले आफैंले रचेको सर्वथा काल्पनिक केटीसँग माफी माग्नुपर्‍यो, त्यो पनि लिखित रुपमा, अनि ? यस्तो हुन्छ, भन्नुस् त ?’

–‘मलाई थाहा छैन’, लेखकले भन्यो‒ ‘ठीक छ । तिमीले अझसम्म आफ्नो नाउँ त बताएकी छैनौ, कथा कसरी लेख्ने ?’

–‘मेरो नाउँ श हो !’

–‘हँ ? यस्तो कसरी हुन सक्छ ?’

–‘तपाईंकै पात्र छ त ?’

–‘त्यो त ६५ वर्षअघिको हो । नितान्त काल्पनिक ।’

केटी हाँसी, ‘मलाई थाहा छैन के हो ! तर, त्यसको नाउँ त त्यही हो, अनि मेरो हुन सक्दैन ?’

–‘सक्दैन । कारण छ निजी हुनाले... ।’

–‘निजी हुनाले भन्नुहुन्न । त्यस्तै निजी कारणवश, मैले पनि आफ्नो नाउँ श भन्न सक्दिनँ ?’

वास्तवमा कथाकार एउटा कथा ‘श–२’ शीर्षकमा लेख्न चाहन्थ्यो । यही नायिकाको पनि ‘श–२’ नै शीर्षकको कथा लेख्छु भनेर बेतोडसित सोचिरहेको थियो । ऊ यो केटी कथाकारसित गोप्य राख्न चाहन्थ्यो । अब यस्तो परिस्थिति पो आयो ।

लेखकले भन्यो, ‘त्यो त विवाहित, सन्तानसहितको गृहस्थ स्त्री थिई, तिमी त... ।’

–‘लेख्दा त यो ‘श’, त्यो ‘श’ को नातिनी, नातिनी बुहारी बन्न सक्दिन ?’

–‘त्यो त काल्पनिक थिई ।’

–‘मलाई लेख्दा म के हुन्छु, काल्पनिक हुन्न ?’

‘श–२,’ यो दोधार लेखकले सोचेकै थिएन । यो छुरा फेरि वास्तविक दोधार थियो ।

लेखकले सोध्यो, ‘तिमीले मलाई काल्पनिक बनाउँदा के नाउँ दिन्थ्यौ त ?’

–‘अग्निदत्त–३ । दुई त उतै छन् नि ।’

केटी अब अलिक बढी खुल्न थालीजस्तो लाग्यो लेखकलाई– वाचाल हुँदै छे ।

लेखकले भन्यो, ‘त्यसो भए दुवै मिलेर एउटै कथा लेखौं । यी सारा नाउँ, शीर्षक खारेज । म तिमीसित एउटा अन्तिम प्रश्न सोध्छु, त्यही हाम्रो कथा लेख्ने वा... नलेख्ने पनि आधार हुनेछ ।’

लेखिका अलिक सजग र प्रश्नात्मक आँखाले हेर्न थाली– ‘सोध्नुस् ।’

लेखकले सोध्यो, ‘हामीमा प्रेम हुन सक्छ कि सक्दैन ? त्यसैको एउटा प्रेम–कथा लेख्न सकिन्छ कि सकिन्न ?’

–‘यो प्रश्न तपाईं काल्पनिक पात्रले म काल्पनिक पात्रसँग गरेको कि तपाईं वास्तविक लेखकले म वास्तविक लेखिकासँग ?’

लेखक हाँस्यो, ‘काल्पनिक वास्तविकतासँग मिसियो भने हुन्छ र ?’

–‘के हुन्छ ? त्यसो भए तपाईंको अन्तिम प्रश्नको अन्तिम उत्तर सुन्नुस् । प्रेम हुन सक्ला पनि, प्रेम–कथा कदापि हुन सक्दैन ।’

ऊ त जुरुक्क उठी पो ! लेखकलाई दोधार–तेधार–चौधारमा फालेर । लेखक के गरोस्, टुंगिएन ।

प्रिय पाठक, ‘श–२’ लेख्न सकिएन । यही बयान पनि टुंगो लागेन । अब यो तपाईंलाई नै समर्पित । यही बयानलाई कथा मानेर पढ्नुस् । यसैलाई कथा ‘श–२’ मानेर पढ्नुस् वा... पर्खनुस् । किनभने लेखिका अघि अलिक रिसाएरै उठेकी हो । त्यसपछि लेखक पनि उठ्यो । दुवै साथ हिँडिरहेका छन् । दुवैको बोली अझै फुटेको छैन ।

हेरौं ।

प्रकाशित : आश्विन १५, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्

क्याफे स्टुडियो

कुकुरको संगत गर्न थाल्नुहोस् । खुसी हुनकै लागि तपाईंले विश्व परिक्रमा गर्नु पर्दैन । बरु कुकुरले नै तपाईंको परिक्रमा गरेर भरपूर खुसी दिने कोसिस गर्छ । नपत्याए हेर्नुस् त, ऊ कसरी नाचिरहेको छ तपाईंवरिपरि ।
मनिषा गौचन

अनेकन पात्र भएर जिन्दगी जिउन कथा लेख्छु, चाहे त्यो एक सुकोमल बालक होस् या कुख्यात डाँकू । चाहे सामान्य आइमाइ हुन्, या वीरंगना । र, गुजारा चलाउने देहव्यापारी होस् या यौनको लतले बिग्रिएकी आइमाई अनि चाहे ती पशुपंक्षी हुन् या प्रकृति । मेरा कथा यही समाज चल्ने क्रममा एकअर्कासँग ठोक्किएर बलेका झिल्का हुन् ।

– कथाकार

...

यतिबेला म महिला हिंसा न्यूनीकरणअन्तर्गत परियोजनाको त्रैमासिक प्रतिवेदन तयार पार्दै छु । घरमा काम गर्ने वातावरण नभएकाले यो कामका लागि म बौद्ध नजिकैको गेस्टहाउसमा कोठा लिएर बसेकी छु । कोठाबाट बौद्धनाथको स्तूप राम्रैसँग देखिन्छ । झ्यालबाट स्तूप देखिने भएकैले यो कोठा मेरो रोजाइमा परेको हो । यसभन्दा अघि पनि तीनचार पटक आइसकेकाले गेस्टहाउसकी सञ्चालक दिदीले मलाई चिनिसकेकी छन् । हामीबीच मुस्कान साटासाट हुनेगर्छ । कुरा साटासाट हुन भने पाएको छैन । कुनै दिन उनीसँग बसेर कुरा गर्नेछु भन्ने पनि लाग्छ, तर मलाई मान्छेभित्र पस्न डर लाग्छ अचेल । महिला हिंसाको क्षेत्रमा काम गर्दागर्दै कतै थाकिसकेँ कि जस्तो पनि लाग्छ ।

आज मलाई गेस्टहाउसमा खाना खान मन लागेको छैन । त्यसो त तीन दिनदेखि लगातार एउटै कोठाभित्र उही ल्यापटपसँग चल्दाचल्दै थाकिसकेँजस्तो लाग्छ । कुनै बेला पट्यार लाग्दा बौद्धनाथका आँखाहरूसँग मौन संवादमा रमाउँछु । यस्तो पनि कति गर्नु, त्यसैले बाहिर निस्कन्छु । मलाई देखेर काउन्टरमा उभिएकी दिदी मुसुक्क हाँस्छिन् । उनको सुनको दात टिलिक्क टल्किन्छ । आज घामले अरू वस्तुहरू पनि टल्केका छन् । घाम लागेकै भएर पनि हो मलाई बाहिर निस्कन मन लागेको !

उस्तै प्रकृतिका पसलहरू लाइनै छन् । मोटरसाइकलको खचाखच उस्तै छ । बाटो नखुलिरहेको अवस्थामा ट्याक्सीहरू पनि घुस्न आउँछन् । सहरमा सलहजस्तै फैलिएका छन् मान्छे । सलहले बाली खाएर विनाश गरिदिन्छ, तर यी सलह–मान्छेले त बाली फल्ने फाँटै खाइदिइसकेको छ । मैले थाहा पाउँदापाउँदै काठमाडौँका हरिया फाँट सकिँदै गए । अहिले त भित्ताहरूसँगै जंगल पनि सकिँदै छ ।

म तीनचुलीपट्टि मोडिन्छु । अलि भित्र गएपछि दायाँपट्टि एउटा क्याफे देख्छु । नाम लेखिएको छ– क्याफे स्टुडियो । त्यहाँको बाहिरी एम्बियन्सले नै मलाई आकर्षित गर्छ । धेरै झिलमिल नभएको, काठका सिम्पल झ्यालहरू भएको क्याफेभित्रका भित्ताहरूमा फोटो नै फोटो छन् । प्रायः फोटाहरू कुकुरकै छन् । काउन्टरमा एउटा डोनेसन बक्स छ । बक्समा लेखिएको छ– ‘सडकका कुकुरलाई माया गरौं ।’

०००

एकाएक मेरो आँखासामुन्ने हरिणाको आकृति सलबलाउँछ । केही अग्ली, हल्का मोटी, चम्किलो अनुहार, सुन्दर आँखा, छोटाछोटा मसिना कपाल भएको त्यो आकृति मेरो मिल्ने साथी हरिणाको हो । हरिणको जस्तो सुन्दर आँखा भएकाले उसको नाम हरिणा राखिएको रे । तर, उसलाई आफ्नो नाम कहिल्यै मन परेको थिएन । म उसलाई हरिणा मोटी, हरिणा काली, हरिणा जोक्कर भन्दै जिस्क्याउँथेँ । ऊ रिसाएझैँ गर्थी, तर पनि खुसी हुन्थी ।

कलेजमा भेट भएदेखि नै हामी यति धेरै मिल्ने भयौँ । तर, उसको र मेरो अवस्था धेरै फरक थियो । म काठमाडौँकी रैथाने थिएँ, ऊ पढ्नकै लागि तराईबाट आएकी जमिनदारकी छोरी । दाइहरूसँगै बस्थी ऊ । मलाई उसले आफ्नो कोठामा एकपटक लगेकी थिई । नीलो रङको स्टोभ बालेर चाउचाउ पकाएर खुवाएकी पनि थिई । चाउचाउ खाइसकेपछि ‘आमाले बनाउनुभएको’ भनेर पेडा पनि चखाएकी थिई । त्यो पेडा यति स्वादिष्ट थियो कि अहिले सम्झँदा पनि जिब्रो रसाउँछ ।

उसको र मेरो अर्को फरक बानी थियो । ऊ बाटोमा भेटेजति कुकुरलाई माया गर्थी । म भने कुकुरको नजिक कहिल्यै पर्दिनथें । एक दिन हामी एउटा रेस्टुरेन्टमा खाजा खाँदै थियौँ । खाजा खाँदै गरेको ठाउँमा एउटा कुकुर आयो । उसका स्तनहरू झोल्लिएका थिए । हरिणाले दूध र बिस्कुट अर्डर गरी र त्यो कुकुरलाई टन्न खुवाई । कुकुर पुच्छर हल्लाउँदै गयो । पारी अर्को सटरको कुनामा उसका बच्चाहरू कुइँकुइँ कराइरहेका थिए । म आफ्नै धुनमा थिएँ । खासमा हरिणाले जे गरिरहेकी थिई, त्यसमा मलाई खासै वास्ता थिएन । बरु मेरो कुरा नसुनेरै कुकुरलाई नै बढी ध्यान दिएकामा अलि चित्त दुखाउँदै थिएँ । अचानक सडकमा कुकुर चिच्याएको आवाज आयो ।

हरिणा जुरुक्क उठी र सडकतिर दौडिई । म पनि उसको पछिपछि लागेँ । उसले भर्खरै दूध बिस्कुट खुवाएको कुकुरमाथि एउटा चिल्लो कारको टायर थियो । कारको रङ रातो थियो, कुकुरको नाकबाट भुलभुल बगेको रगतजस्तै । चालकले गाडी केही ब्याक गर्‍यो । कुकुर छटपटाइरहेको थियो ।

हरिणाले पहिले कुकुरलाई उचाली । उसले अन्तिम सास हरिणाकै हातमा फेर्‍यो । एकाएक आँसुले भरिएका उसका आँखा रिसले राताराता भए ।

‘तँलाई अर्काको ज्यानको माया लाग्दैन ? साला किलर...!,’ हरिणाले गाडीचालकलाई जोडले थर्काई ।

उसले फेरि थपी, ‘तेरो बच्चा छ कि छैन घरमा ? तेरो आमा छ कि छैन घरमा... ऊ हेर्, यसको बच्चा... अब तँ खुवाउँछस् दूध ?’

उताबाट कुकुरका बच्चाहरू छुनुमुनु गर्दै आए र मरिसकेको आमाको दूध चुस्न थाले । यो दृश्य देखेर हरिणा भक्कानो छोडेर रोई । गाडीचालक केही बोल्न सकेन । उसले गाडी फनक्क घुमायो र जहाँबाट आएको त्यही बाटो फर्क्यो । जानु त उसलाई अगाडि थियो, खोइ किन पछाडि फर्क्यो, मैले बुझ्न सकिनँ । उसको निधारको दाहिने भागमा टाढैबाट देखिने पुरानो चोटको दाग थियो । मलाई लाग्यो, आज हरिणाको गालीले उसको मनमा एउटा चोट थपियो ।

कुकुरका बच्चाहरू काखमा लिएर हरिणा रोइरही । सेता, काला छिर्केमिर्के, खैरा, पूरै सेता, पूरै काला पाँचवटा बच्चाहरू थिए ।

‘अब के गर्छेस् ?’, मैले सोधेँ ।

‘कोठामा लैजाऊँ भने दाइहरूलाई राम्रो लाग्दैन । अब सेल्टरमा लगिदिन्छु । कि तँ पाल्छेस् त एउटा ? तेरो त आफ्नो घर पनि छ । यहाँ... मलाई दिने नाम यसैलाई दे... ।’

मैले उसको यो प्रस्ताव स्विकार्न सकिनँ । किनकि मलाई कुकुर भनेपछि मनै पर्दैनथ्यो । मन नपर्नुको कारण यत्ति हो, सानो बेला एउटा कुकुरले झम्टेर मेरो नयाँ लुगा मैलो पारिदिएको थियो ।

उसले मलाई सम्झाई, ‘हेर् कुकुरजस्तो साथी कोही पनि हुन सक्दैन... ।’

‘म पनि ?,’ मेरो प्रश्न थियो ।

उसले जवाफ दिएकी थिई, ‘एस्... ह्वाई नट ।’

अनि उसले भनी, ‘हेर् म त कुकुरसँग हुर्केको मान्छे हुँ । दाइले मान्ने भए यहाँ कोठामा पनि पाल्थें, तर घरबेटीले गाली गर्छ भनेर राख्नै दिनुहुन्न ।’

अन्ततः कुकुरका बच्चाहरू उसले एउटा सेल्टरमा लगेर छोडी । उनीहरूलाई दूध, बिस्कुट दिन आफूलाई घरबाट दिएको पकेट खर्च बचाउन थाली । कुकुरप्रतिको उसको लगाव देखेर कहिले त म हैरान हुन्थेँ ।

ऊ र मबीच कुनै कुरा नमिले पनि हाम्रो मनको कुरा भने मिलिरहन्थ्यो । ऊ मेरो यस्तो साथी थिई, जसलाई म सबैथोक सुनाउन सक्थें ।

समयसँगसँगै हाम्रो पढाइ अगाडि बढिरहेको थियो । स्नातक तह सकेपछि ऊ स्नातकोत्तरका लागि अस्ट्रेलिया पढ्न गई । उसको पढाइ राम्रो थियो र स्कोर पनि । त्यसैले सजिलै भिसा पाई । मलाई भने विदेश जानु थिएन । मेरो परिवारका मान्छेहरू सबै बिदेसिएर घर उजाडिएको थियो । मलाई त आफ्नै घर प्रिय लाग्थ्यो ।

हरिणा गई । मलाई छोडेर गई । गएको दुई वर्षपछि समुद्रमा डुबेर उसको मृत्यु भएको खबर कुनै एउटा अनलाइन पोर्टलमा छापिएर आयो । म छाँगाबाट खसेझैँ भएँ । ऊ आफैं डुबेकी थिई या कसैले हत्या गरेर फालेको थियो, कुनै पत्तो भएन ।

०००

भित्तामा टाँस्सिएका कुकुरका तस्बिरमा टोलाउँदै हरिणालाई सम्झिदै थिएँ, एक युवक मलाई भद्रताका साथ स्वागत गर्छ । उसलाई कतै देखेजस्तो लाग्यो । उसको निधारको दायाँ भागमा रहेको दाग देखेर झल्याँस्स सम्झें– ऊ वास्तवमा त्यही व्यक्ति थियो, जसले चलाएको गाडीको ठक्करबाट केही वर्षअघि मात्रै हरिणाले बिस्कुट, दूध खुवाएको कुकुर मरेको थियो । त्यही कुकुरको सम्झनामा ऊ सायद यो सिंगो क्याफे सञ्चालन गरेर बसेको थियो । मैले पुरानो दिनको कुरा केही भन्न चाहिनँ । केहीबेरमै एउटा कुकुर पुच्छर हल्लाउँदै मतिर आयो । म डराएजस्तो गरेँ । तर, उसले भन्यो, ‘कुकुरले माया गर्ने मान्छे चिन्छ, नडराउनुस्... ।’

‘तर, म माया गर्दिनँ कुकुरलाई ।’

‘त्यसो भए किन आउनुभयो यहाँ ? यहाँ त कुकुरलाई माया गर्नेहरू मात्रै आउँछन् । तपाईंले देख्नुभएन यो क्याफेको गेटमा ?’

‘अहँ... !’

‘बाहिर गएर हेर्नुस् त...’

मैले बाहिर निस्केर गेटमा झुन्ड्याएको नोटिस बोर्डमा हेरें । त्यहाँ लेखिएको थियो, ‘कुकुरलाई माया गर्नेहरूका लागि मात्र... ।’

म अवाक भएँ । त्यो युवक मलाई हेरेर मुस्कायो र भन्यो, ‘कुकुरको संगत गर्न थाल्नुहोस् । तपाईंलाई खुसी हुनकै लागि विश्व परिक्रमा गर्नु पर्दैन । बरु कुकुरले नै तपाईंको परिक्रमा गरेर भरपूर खुसी दिने कोसिस गर्छ । नपत्याए हेर्नुस् त ऊ कसरी नाचिरहेको छ तपाईंको वरिपरि... ।’

हुन पनि त्यो कुकुर मेरै वरिपरि घुमिरहेको थियो । मैले सोचें, हरिणाको गन्ध अझै बाँकी रहेछ मसँग । अनायासै औंलाहरू त्यो कुकुरको शरीरमा खेल्न पुग्छन् । कुकुर झनै लपक्क मसँग टाँस्सिन आउँछ । उसका आँखामा हेर्छु, मलाई अचम्मको अनुभूति हुन्छ ।

यति मायालुसँग मलाई आजसम्म कसैले पनि हेरेको थिएन । अहो ! कत्ति गहिरो स्नेहसागर छ, यो कुकुरको आँखामा... । मलाई लाग्छ, हरिणाका आँखाहरू हुन् यी ।

प्रकाशित : आश्विन १५, २०७९ १०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×