कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिचीको रुखमुनि भूपीको आत्मा

फूलमान वल

तिम्रै हजुरआमाको 
अस्तु गाडिएको 
यही खिम्हीघरकै छेउ 
उम्रिएको छ– चिचीको अन्तिम रुख 
र, पिइरहेको छ एउटा जापानी फिरन्ते 
यही रुख निचोरेर बनेको वाइल्डवेरी जुस 

चिचीको रुखमुनि भूपीको आत्मा

वर्षौंदेखि जमेको
धौलागिरि र नीलगिरिको हिउँ
पग्लेर बग्दै–बग्दै गएजस्तै
तिमी पनि बगेर गयौ हज्जारौं माइल टाढा
र, बिर्स्यौ चिचीको रुखलाई
बिर्स्यौ यही रुखबाट निस्कने
आमाको दूधजस्तै शीतलशीतल थोपा
आज, तिम्रै आमाको अस्तु गाडिएको
यही खिम्हीघरकै छेउ
उम्रिएको छ– प्राग्ऐतिहासिक चिचीको अन्तिम रुख
र, पिइरहेको छ एउटा अमेरिकी यायावर
यही रुख निचोरेर बनेको सिवक थ्रोन जुस

पुर्खाहरुको आदिम रगत र पसिनाले धमिलिएको
यो कालीगण्डकीको पानी
बग्दै–बग्दै हराएर गएझैं कतै
तिमी पनि हरायौ भूगोलको कुनै बिरानो कुनामा
र, बिर्स्यौ न्होकोन चोली
कण्ठीफ्रमा, हम्बेल माला
आफ्नै कोन र पुलु टोपी
समयको हिउँले हिर्काएको चड्कन
सहिरह्यो केवल–
थासाङ, कोबाङ, लार्जुङ, लेते र घाँसाका नाङ्गा डाँडाकाँडाहरुले
यो थाकखोलामा सभ्यताको पराजित पसिना बग्यो कि पानी ?
यो टुकुचेमा पीडाको पहाड खस्यो कि हिउँ ?
किन आज छ्याङथुङ जँड्याहाजस्तै
बेसोमत हल्लिरहेको छ गुम्बाको धोर्छे ?

स्मृतिका घुर्मैलो फ्रेमभित्रबाट निस्केर
कवि भूपी शेरचन
चिचीको उही अन्तिम रुखनेर
चुरोटको नागबेली धूवाँ उडाउँदै
प्रश्न गरिरहेका छन् नाती नातिनीहरुलाई–
खै त आज ढम्किन बजेको भ्याहमा ?
किन मलिनो लाग्दैछ स्याङपर र म्हापरको गीत ?
नौ माना चामलको गाँठो समाउँदै
यही चिचीको रुखनेर
तिम्री हजुरआमाले बाँधेकी थिइन् कुनै बेला प्रेमको पटुकी
के तिमीहरुलाई थाहा छ ?
इतिहासको कुन कालखण्डको हिउँले
सिख्रो पारेर गयो यो चिचीको रुखलाई ?

ओ पिच्याङ, ओ आना, ओ आज्यो आले,
नरिज्योहा र चारदेउता भाकेर
देउता उदाउने ल्ह फेवाकै दिन
खोतल अब चिचीको रुखको जरा
जुन जरा तिम्रै हजुरआमाको चिहानसागै जोडिएको छ
जरा खोतल्ने यो लामो यात्रामा
कतै तिमी थाक्यौ भने
इतिहासमा बचेको यही चिचीको अन्तिम रुखमुन्तिर
खुल्नेछ बहुराष्ट्रिय कम्पनीको जुस फ्याक्ट्री
र, निभ्नेछ सदाका लागि
तिम्रो हजुरआमाको चिहानको छ्योमे बत्ती

(चिचीको रुख मुस्ताङमा पाइने एक प्रकारको रैथाने वनस्पति हो, जसबाट वाइल्डवेरी र सिवक थ्रोन जुस बनाइन्छ)

प्रकाशित : आश्विन ८, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?