कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पात्रले नै लेखकलाई अमर बनाउँछ’

काठमाडौँ — लेखक केशव दाहालको निर्बन्ध लेखनको सँगालो ‘माधवी ओ माधवी’ प्रकाशित छ । दाहालसँग किताब–वार्ता:

‘पात्रले नै लेखकलाई अमर बनाउँछ’

‘माधवी ओ माधवी’ को संरचना र रचनागर्भ के हो ?

यो मेरो निर्बन्ध लेखन हो, खुला र बन्धनरहित । यसभित्र २३ वटा आलेख छन्, ‘माधवी ओ माधवी’ शीर्ष रचना हो, जसमा मदनमणि दीक्षितकृत उपन्यास ‘माधवी’ की मुख्य–पात्र माधवी मसँग सुटुक्क प्रेम गर्न आउँछिन्– अलौकिक प्रेम । प्रेमको सम्मोहनमा बाँधिएर हामी सँगसँगै काशी, कोसल र भोजनगरको यात्रा गर्छौं । तर, यात्रा मेरा लागि सुखद् हुँदैन । यात्रामा उनले विभिन्न सम्राट्सँग शारीरिक सम्पर्क गर्नुपर्छ, जसबाट उनका पुत्रहरू जन्मिन्छन् ।

आफ्नी प्रियतमा परपुरुषसँग संसर्गमा रहनुजति पीडादायी के हुन्छ ? एक प्रेमीको अतृप्त मनोविज्ञानको बयान हो– माधवी ओ माधवी ।

यसभित्र सुदूर अतीतका मेरा केही रोचक, कोमल सम्झना छन् । सुख, दुःख, प्रेम, राजनीति, सौन्दर्यका कथ्य त छन् नै, केही रुमानी कल्पना पनि छन् । किताबलाई एउटा आँखिझ्याल बनाएको छु, जसबाट मेरो पुस्ताको समय, भावधारा र जीवनको इन्द्रेणी चियाउन सकिन्छ ।

किताबै लेख्ने गरी ‘माधवी’ की माधवीसँग कसरी प्रभावित हुनुभयो ?

माधवी उत्तर वैदिककालको बेजोड कथा हो । कथामा शिष्य गालव महर्षी विश्वामित्रलाई गुरु दक्षिणा दिएर मात्रै गुरुकुलबाट बिदा हुने हठ गर्छ । विश्वामित्र सम्झाउँछन् । तर, गालव मान्दैन । अन्ततः गुरुले ४ वटा श्यामकर्ण घोडा गुरुदक्षिणामा बुझाउन आज्ञा दिन्छन् । आज्ञा शिरोपर गर्दै गालव मित्र सुवर्ण नागजेयसँग श्यामकर्ण घोडा खोज्न निस्कन्छ ।

सुरुमा उनीहरू अहिच्छत्र जान्छन् र राजा ययातीसँग श्यामकर्ण घोडा माग्छन्, जो माधवीका पिता हुन्छन् । दुर्भाग्य, ययातीसँग श्यामकर्ण घोडा हुँदैन । राजालाई संकट आइलाग्छ । गालवलाई खाली हात फर्काउने कसरी ? राजसभामा विमर्श हुन्छ । अन्ततः राजाले श्यामकर्ण घोडाको सट्टामा प्रिय पुत्री माधवी गालवलाई भिक्षादान गरिदिन्छन् । सर्त हुन्छ, गालवले माधवीलाई विभिन्न देशका सम्राट्हरूमा प्रस्तुत गरी एउटा पुत्रको बदला एउटा घोडा लिने ।

त्यसपछि माधवी र गालव यात्रामा निस्किन्छन् । गालवले माधवीलाई काशी, कोसल र भोजनगरका सम्राट्हरूमा प्रस्तुत गर्छ । माधवीले पुत्रहरू जन्माउँछे । पुत्रहरूको बदलामा गालवले श्यामकर्ण घोडाहरू पाउँछ । कथा अघि बढ्दै जान्छ र एक आत्मिक प्रेमको अभिव्यक्तिसाथ सकिन्छ । यसरी वैदिक समाजको राजकाज, प्रेम, धर्म, संस्कृति र अनेक मानवीय अनुभूतिहरूको शास्त्रीय कथा बन्न पुग्छ– माधवी ।

माधवी उपन्यास त बेजोड छ नै, मलाई कथाभन्दा बेजोड लाग्छिन् स्वयं माधवी । उनी मैले आजसम्म पढेका आख्यानमध्येकी सशक्त, प्रेमिल र सुन्दर पात्र हुन् । त्यसैले माधवी पढ्दै जाँदा उनीसँग मेरो प्रेम हुन्छ । तर, त्यो प्रेम पाठक र पात्रको प्रेममा मात्रै सीमित रहँदैन । त्यो मेरो जीवनको अलौकिक र अविभाज्य प्रेम बन्न पुग्छ । मलाई माधवी यसकारण मन पर्छ, उनी पूर्ण महिला हुन् । सुन्दर त छिन नै, वचनबद्ध पनि छिन् र प्रेमिल पनि । परपुरुषसँग सम्भोगरत रहँदा पनि उनको प्रेमनिष्ठा कहिल्यै मैलो हुँदैन, सधैँ दागरहित, सफा र सुन्दर । उनको यही चरित्र नै मेरा लागि सर्वाधिक प्रिय छ ।

कालजयी आख्यानका लागि कथा महत्त्वपूर्ण हुन्छ कि पात्रहरूको भूमिका ?

निश्चय नै आख्यानमा कथा, वाचनशैली र पात्र सबै महत्त्वपूर्ण हुन्छन् । जसरी शब्द, संगीत र स्वर मिलेर पूर्ण गीत बन्छ, आख्यान पनि त्यसरी नै कथा, प्रस्तुति र पात्र मिलेर पूर्ण हुन्छ । तर, मलाई आख्यानमा कथा र त्यसको लयभन्दा प्रिय लाग्छन् पात्रहरू । कृतिको अमरत्व कथामा आउने पात्रहरूले निर्धारण गर्छन् । पात्रहरू शक्तिशाली भए भने आख्यान शक्तिशाली हुन्छ । जस्तो संसारप्रसिद्ध कृतिको अमरता त्यहाँ आउने पात्रहरूमा निहित छ । महाभारत यसको एउटा सशक्त उदाहरण हो ।

महाभारत यसकारण सर्वप्रिय र अमर काव्य हो, यसका पात्रहरूले पाँच हजार वर्षदेखि समाजलाई जीवनको अर्थ बताइरहेका छन् । यस्तो लाग्छ, महाभारतका पात्रहरू अमर छन्, त्यसैले महाभारत अमर छ । एउटा लेखकले सुरुमा पात्रलाई अमरता दिन्छ, त्यसपछि पात्रले लेखकलाई अमर बनाउँछन् । यो नै लेखक र पात्रबीचको अमरत्वको सम्बन्ध हो । किताबको शक्ति पात्रहरूको चरित्र र रोचकतामा निर्भर हुन्छ ।

तपाईंले पढेका सशक्त पात्रहरूको थोरै सम्झना गरौं न  !

पूर्वीय आख्यानमा मलाई महाभारतको कृष्ण एक पूर्ण पात्र लाग्छ– कर्म, भक्ति र ज्ञानको सम्पूर्णता । भीष्म, कर्ण, अर्जुन र युधिष्ठिरलाई हामीले मसिनो गरी हेर्‍यौं भने उनीहरूले ५ हजार वर्षदेखि हाम्रो सभ्यतामा प्रतिज्ञा, पराक्रम, भ्रातृत्व र विश्वासको प्रतिनिधित्व गरिरहेका छन् । स्वयं द्रौपदी पनि कमजोर पात्र होइनन् । यी यस्ता पात्रहरू हुन्, जसले महाभारतलाई मात्र होइन, हाम्रो पूर्वीय सभ्यतालाई समेत अजर–अमर बनाएका छन् ।

नेपाली आख्यानमा मलाई माधवी सर्व–प्रिय छन् । त्यसो त मलाई मुनामदनको मदन पनि मन पर्छ । किनभने ऊ निकै कोमल र सरल छ । पारिजातकृत ‘शिरीषको फूल’ को सुयोगवीर र बीपीको ‘सुम्निमा’ को सुम्निमा र सोमदत्त पनि मलाई उम्दा लाग्छन् । उनीहरूलाई सम्झँदा मभित्र मेरो भूगोल, रनवन र अतृप्त मनोकांक्षा तरंगित हुन्छन् । आफ्नै पुस्तक ‘मोक्षभूमि’ का पात्रमध्ये क्राचल्लदेव र सत्यदेवको चरित्र मन पर्छ, जसले मानव सभ्यतालाई नयाँ आकार दिन प्रयत्न गरेका छन् ।

एउटा उमेरमा मलाई क्रान्ति नायकहरू मन पर्थे । जस्तो ‘अग्निदीक्षा’ को नायक पावेल कर्चागिन । ऊ जति दृढ इच्छाशक्ति भएको पात्र मैले विगत ३० वर्षमा अरू भेटेको छैन । त्यस्तै लियो टोल्सटोयकी अन्ना मलाई प्यारी लाग्छे । आख्यानमा कुँदिएकी एक अद्भुत महिला । अन्नालाई बितेका २० वर्षदेखि म सम्झिरहेको छु । म इवान तुर्गनेवको उपन्यास ‘पिता और पुत्र’ का (मैले हिन्दीमा पढेको थिएँ) पात्रहरू बजारोव, अरकादी निकोलाई पेत्रोविच र पावेल पेत्रोविचलाई सदैव सम्झिन्छु, जसले अलगअलग पुस्ताबीचका फरक मनोविज्ञानको बेजोड प्रस्तुति दिएका छन् । अर्नेस्टो हेमिंग्वेको ‘ओल्ड म्यान एन्ड सी’ को बूढो मान्छे मलाई खुबै मन पर्छ । यी यस्ता पात्र हुन्, जसले आफू स्वयं अमर भएर कथालाई अमरत्व दिएका छन् ।

नेपाली आख्यानमा पात्रहरूको सिर्जना कस्तो देख्नुहुन्छ ?

यो प्रश्नको उत्तर दिने क्षमता अझै राख्दिन । तर, लाग्छ– हामीले पात्रको खोजीमा मेहनत गरेका छैनौं । हामीसँग जुन इतिहास, सभ्यता, विविधता, विद्रोहको कथा छ त्यसलाई गहिरोसँग बुझ्ने र यसभित्र निहित पात्रको उत्खनन गर्ने कुरामा पुग्दो काम गरेका छैनौं ।

प्रकाशित : आश्विन ८, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?