१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६
कोसेली

कोयो फोरेर उडेको पुतली

समय एउटा मात्रै औजार हो, जुन सिनेमाको आफ्नो निजी पुँजी हो । राम्रा भनिएका धेरै सिनेमा देखिएका उपन्यास वा खिचिएका नाटकजस्ता छन् । समय–वाचकमध्येको एक ‘ऐना झ्यालको पुतली’ ले समय प्रवाहमा मिसाउँदै हामीलाई तीन दशकअघिको ‘टाइम–ट्राभल’ गराउँछ ।
पत्रैपत्रले बेरिएको संसारको सबैभन्दा जटिल पात्र हो– जिउँदो मान्छे । ‘ऐना झ्यालको पुतली’ का विश्वासलाग्दा जिउँदा पात्रसँग तपाईं कतै न कतै गाँसिनुहुन्छ ।
मनोजबाबु पन्त

प्रिय अपरिचित,
म यो आलेख तपाईंलाई सम्बोधन गरेर लेख्दै छु । तपाईं र म पूरै अपरिचित छौं । वर्षौंदेखि हामीहरू यही सहरको फरक कुनाहरूमा बस्छौं । इन्ची टेपले नाप्यो भने हाम्रो ठेगाना त्यति टाढा त होइन, तर तपाईं र म यति धेरै स्वकेन्द्रित छौं, आफ्नै भोगाइका सातपत्रे ओढेर हामी यति धेरै दूरस्थ छौं– हामीलाई हाम्रो दूरी कति टाढा लाग्छ । सहरका गल्ली, चोक, मोटर, मल, फुटपाथ वा फल्चातिर हामीहरू पक्कै ठोकिएका छौं होला धेरैपटक । तर, न त तपाईंसँग त्यस्तो अजिब अदा छ, न त मसँग त्यस्तो तिलस्मी ओरा छ, जसको सहाराले हामीहरू एकअर्कालाई मोहर गरेका हुँदा हौं । भुइँमै हराएका, भित्तामै टाँसिएका आयतन बोकेर हामीहरू वर्षौंदेखि यही सहरको त्यही भीडमा घिस्रिरहेका छौं, एकअर्काको अजनबी भएर ।

कोयो फोरेर उडेको पुतली

त्यो साँझ पनि त्यस्तै भयो । दिनभरजसो सिमसिम पानी परिरह्यो, यो बर्खाको अन्तिमतिरको झरी । अलिअलि भिजेको जिस्म बोकेर हामी दुवै अपरिचित अँध्यारो सिनेमा घरमा छामछुम गर्दै आफ्नो टिकटमा खिपिएको सिट नम्बर खोजिरहेका थियौं । ट्रे बोकेर केही रंगीबिरंगी मान्छेहरू छिर्दै थिए । एकनासको किरिंगमिरिंग आवाज थियो । क्यापिचिनो र बटर पपकर्नको न्यानो अत्तर रगमगाएको थियो अँध्यारो थिएटरमा । अचानक बाँसुरीको सम्मोहक धुन गुन्जियो । थिएटर शान्त भयो । नारायणगोपाल मन्द आवाजमा गुन्गुनाउन थाले–

सबलाई सुख होस् ...

सबको जय होस् ...

फेरी लाउने जोगीले घरको चार सुर बाँधेजसरी सिनेमाले मनको चार किल्ला बाँधिहाल्यो । ओहो ! यो धुन त मेरो मनभित्र गडेको छ । विगतका खाडल खनिन थाले अनि पुराना दिन सल्बलाउन थाले अँध्यारो थिएटरमा ।

सुनसान, अँध्यारो गुफा ढुंगाको छिद्रबाट प्रकाशका मसिना रेखा छिरेका छन् । भित्ता रसाएर तप्पतप्प पानीको थोपा खसिरहेछ । बाटो हराएर म बिचलित छु । बल्लबल्ल एउटा गल्छी पार हुन्छु, तर फेरि त्यही ठाउँमा पुग्छु । गुफाको कुनामा, हड्डी र छाला मात्रै बाँकी रहेको देह बोकेर एक जोगी चुपचाप चिलिम तानिरहेको छ ।

‘महाराज म त भँड्खालोमा फसेँ । निक्लने बाटो कता हो ?’

जोगी चुपचाप मलाई हेरिरहन्छ । उसको कुहिनामुनि सेता कीरा स्याउँस्याउँ छन् ।

केहीबेर पछि जोगी त अचानक गाउन थाल्छ :

सबलाई सुख होस्...

सबको जय होस्...

ओछ्यानमा आँखा खुल्छ । राम्ररी उज्यालो भइसकेको छैन । भान्साबाट आमाको चुरा बजेको आवाज आइरहेछ । जोगी कतै छैन । भित्ताको रेडियोमा त्यही धुन निरन्तर छ ।

हान्सुन धर्ती माता ...

जोतिर्मय होस् ....

जीवन हाम्रो ....

सिनेमाले आफ्नो कथा भन्नुअघि नै मलाई बोकेर आफ्नो बिगतको सुकुलमा बिसाइदियो । त्यसपछिको डेढ घण्टा उता पर्दामा कथा बगिरह्यो, यता अँध्यारो कुनामा म विगतमा बगिरहें । पात्रहरूले आल्पिन बोकेर बिगत कोट्याइरहे । प्रिय अपरिचित, तपाईंको पनि लेउ लागेर जमेको स्मृतिको आहालमा सिनेमाले तरंग उमार्‍यो ?

हलबाट निस्किँदा सायद तपाईंले पनि मजस्तै सन्चो अनुभव गर्नुभो । जिन्दगीका उल्झनले गुम्सिएको, व्यवहारको ऐंजेरुले खर्लप्पै निलेको मन केहीबेर बाल्यकालमा विचरण गरेर हलुंगो भएको थियो । सुन्दर सिनेमाहरू ती हुन्, जसले तपाईंलाई कथाको आरोहसँग एकाकार मात्र गर्दैनन्, तपाईंको मथिङ्गल हल्लाएर तरंग उमारिदिन्छन् । सिनेमा हेरेको रात निदाउनुअघि यदी सिनेमाका दृश्य र पात्रहरू मनमा खेल्न थाले भने मान्नुस्, त्यो दिन तपाईंले असाध्यै राम्रो सिनेमा

हेर्नुभो । निदाउने चेष्टा गर्नै लाग्दा वसन्त, विद्या र बांगेहरू नाचिरहे र म निदाउन नसकेर यो लेख लेख्न बसेको छु । सुन्दरतालाई व्याख्या गर्ने मूर्खहरूको इलम हो भन्ने जान्दा–जान्दै ‘ऐना झ्यालको पुतली’ का सुन्दरतालाई बुँदाहरूमा विच्छेद गर्न लागेको छु ।

विषय

थुप्रै सिनेमावाचक कथा भन्ने काउसोले सताएर धेरै उतारचढाव खोज्छन् । संघर्षका तानाबाना बुन्छन् । नवरसको चाङ लगाउँछन् । पत्याइनसक्नुका नाटक ओकल्छन् । निर्देशक सुजित बिडारीले आफ्नो बिषय छान्दा यी कुरा छानेनन् । छाने त केवल आफू, आफ्नो परिवार अनि बितिगएका आफ्ना बाल्यकालका परिवेश । विशेष कुरा केही होइनन्, असाध्यै साधारण कुराहरू, असाध्यै सूक्ष्म कुराहरू । हामी सिनेमा स्कुलमा एउटा पाठ पढ्छौं– सरलता र गहिराइ । अनि निर्क्योल निकाल्छौं– वास्तवमा सरल कुराहरू नै सबैभन्दा गहिरा हुन्छन् । तपाईंलाई कथामा ठूला आरोह–अवरोहका विशेष घटना, परिघटना बुन्नु छैन भने तपाईंको ध्यान भोगाइका स–साना पत्रहरू केलाउनतिर हुन्छ । तपाईं जीवनको उत्सब मनाउन खोज्नुहुन्छ । यो सिनेमा विशेष कथा भएकाले यति सुन्दर भएको होइन, विशेष कथा नभएकाले नै यति मञ्जुल भएको हो । निर्देशकले आफ्नो भोगाइका मूल्य बुझे, त्यसका पत्रहरू केलाए र त्यसलाई निरपेक्ष भावमा खिप्ने कोसिस गरे । हाम्रा भोगाइका पनि त यस्तै आयामहरू थिए । इमानदार भएर आफ्ना भोगाइका पोयो फुकाउँदा त्यो सुजितको मात्रै कथा रहेन ! मेरो र तपाईंको भयो ।

पात्रहरू

पत्रै–पत्रले बेरिएको संसारको सबैभन्दा जटिल पात्र हो– जिउँदो मान्छे । त्यो पत्रेमानवका पत्र–पत्र केलाएर पात्र निर्माण गर्न सक्नु सबैभन्दा जटिल काम होला कथावाचकलाई । जब सिनेमामा पत्रहरूले बेरिएका पात्रहरू देखिन्छन्, सिनेमाले आधि बाजी त त्यहीँ जित्छ ।

‘ऐना झ्यालको पुतली’ का पात्रहरू यति विश्वासलाग्दा छन्, ती पात्रसँग तपाईं कतै न कतै गाँसिनुहुन्छ । आफैँ व्यवहारको भारीले थिचिएर, तानमा हतासोले पराल थिच्दै, गुन्द्री बुनिरहेकी आमा तपाईंलाई आफ्नै आमाजस्तो लागेन ? ऊ घर धन्दामा हात चलाइरहन्छे र छोराछोरीमाथि पनि हात चलाइरहन्छे । अनि सन्तानले मन दुखाए की भनेर फकाइरहन्छे । ऊ सन्तानको भविष्यको सपना देख्छे र निराश हुन्छे । ऊ गहनाले कान पाकेर फुकालेको झूटो बोल्छे । वनभोजमा उन्मुक्त नाच्छे । यिनका जीवनका सिलसिला हेरिरहँदा कति परिचित, कति आत्मीय लाग्छ । हाम्रा सूत्रीय सिनेमाहरूमा जस्तो ‘किनकि म तेरो आमा हुँ’ भनेर यी आमाले कहिल्यै बोलेकी छैनन्, तर हामीलाई भने नबोल्दा–नबोल्दै यिनी वसन्त र विद्याकी मात्र होइन, आफ्नै आमाजस्तो लाग्छ ।

अनि अर्कोतिर छ– एक लाचार, दीनहीन बाबु । यो सिनेमाभरि सबैभन्दा दया उम्रिन्छ यो पात्रमा । बाबुको स्टेरियोटिपिक मानकभन्दा बिलकुल फरक यो पिताश्री आफ्नो उत्तरदायित्वबाट टाढा छ । एक बोझझैं बनेर लडेका छ । जीवन बाँच्नुको मूल्य हराएको यो पात्रप्रति ‘कठै’ को भाव आइदिन्छ । श्रीमतीले गहना बेचेर छोरी पढाउन जम्मा पारेको पैसा ऊ चोर्छ र रक्सी खान्छ । ऊ सबै आदर्शबाट च्युत छ । केवल जीवन घिसारिरहेको छ । आफ्नै मानसिक अवस्थाले गाँजिएको, अस्तित्व भएर पनि अर्थ नभएजस्तो यो ‘विचरो’ पात्रलाई परिवारको उल्झनमा केही सरोकार छैन । यो संकटग्रस्त मान्छेलाई परिचय र विन्यास गर्दा सिनेमाले पनि कुनै मोलै दिएको छैन । सबैबाट हेयको भावले हेरिएको, आफ्नै कारणले श्रीमती र सन्तानसँगको आत्मीयता गुमाएको यो निर्धो मान्छेलाई जति सम्झियो उति मन अमिलो हुन्छ ।

यो पात्र निर्देशक सुजितको आफ्नै पिताको कति समीप छ, थाहा छैन । सिनेमालाई सुजितले आफ्नो पिताको सम्झनामा समर्पित गरेका छन् । केही वर्षअघि महेन्द्र राजमार्गको सडकमा बिहान पनि नहुँदै मालगाडीमुनि च्यापिएर उहाँको देह अन्त्य भयो । आफ्नै मानसिक अवस्थाले बाउको भूमिकामा बस्न नसकेको यी निर्दोष आत्मासँगको मलाल सिनेमामा खिपेर पितृसँग संवाद गर्दै छन्जस्तो लाग्छ सुजित । एउटा कथावाचकलाई यस्तो कथार्सिसले ठूलो मूल्य राख्छ । प्रिय अपरिचित, अकर्मन्यताको जाँड दिउँसै घिचेर बेपरवाह अरूको काँधमा झ्याम्पुतली हुँदै घर आइपुग्ने यी विचरा बा तपाईंले आफ्नै घर वा छिमेकतिर त पक्कै देख्नुभएकै होला ।

अनि छन्– विद्या र वसन्त, जसका भोगाइसँग तपाईंले सबैभन्दा बढी सामीप्यता भेट्नुभो । एकपटक अविदा परविनबारे गुल्जार भन्दै थिए– ‘सुफियोका कलाम गाते गाते, अविदा परविन खुद शुफी हो गई ।’ विद्या र वसन्तलाई हेर्दाहेर्दै तपाईं आफैं कुन बेला विद्या र वसन्त बन्नुभो थाहै भएन । तपाईं आफू वसन्त भएर आफ्नी दिदीको स्नेहसँग एकाकार हुनुभयो कि विद्या भएर आफ्नो भाइका हर्कतहरूमा समाहित हुनुभयो ? अथवा आफैंभित्र केही अंश विद्या र केही अंश वसन्त हुनुभो । घरको दुःख, आमाले बोकेको बोझबाट त्राण खोज्ने गम्भीर विद्याका केही गुण तपाईंमा पनि छ, ममा पनि छ । अनि वसन्तको बालसुलभ चञ्चलता तपाईंमा पनि छ, ममा पनि छ । प्रिय अपरिचित, हामी पूरै अपरिचित छौं, तर वसन्तलाई नियालिरहँदा तपाईंलाई ती आफ्नै हर्कतहरूझैँ लागिरहेछ, मलाई मेरै चकचकझैँ लागिरहेछ । त्यसैले हामी कति उस्तै छौं, तैपनि कति अजनबी छौं । के तपाईं पनि खोला गएको कसुरमा गोदाइ खाएपछि घुर्क्याएर भाग्नुभएथ्यो ? वा पहिलोपटक आमाले नाचेको देखेर लाजले कस्तोकस्तो भएथ्यो ? कुनै खराब दिनमा उद्दण्ड केटाहरूले लगार्दा गोब्रेकीराले मरेको नाटक गरेझैं नाटक गरेर उम्किनुभएथ्यो ?

सबै यथार्थपरक चरित्रहरू प्रतिनिधि चरित्र हुँदैनन् । कथावाचनको इतिहासमा कुनै चरित्रहरू कलेक्टिभ कन्सिअसनेसको विम्ब बनेर चिरकालसम्म जीवित रहन्छन् । कथावाचनको सिद्धान्तमा त्यसलाई आर्किताइप्स भनेर सम्बोधन गरिन्छ । वसन्त र विद्या दिदी–भाइको सम्बन्धको आर्किताइप्स बनेर सिनेफाइलको चेतनामा अनन्त–कालसम्म बाँचिरहनेछन् ।

अनि छ बांगे खाँटी, जो अति गतिशील छ । ऊ हो सिनेमाको क्याटलिस्ट । उसलाई सहर जानु छ । छिमेकी दाइले जस्तै १० हजार कमाएर फर्कनु छ । ऊ भन्छ, ‘सधैँ बाउको कुटाइ खाएर बस्नुभन्दा त जानी हो... ।’ नाकको पोरा फुलाउँदै टीभीमा हिन्दी फिलिम हेरिरहेको बांगेको तस्बिर–छाप सम्झिरहेको छु । बालशुलभ मित्रता र शत्रुताका कति विम्बहरू बांगेमार्फत सिनेमाले बाँडेको छ । सानोमा हामीलाई झगडा गर्न र मिल्न कुनै आइतबर कुर्नुपर्थेन । हामीहरू हुर्कंदा हामीले आफ्नो इगो मात्रै हुर्काएछौं । आजकल हामीहरू बिनाकारण सम्बन्ध तिक्त्याएर असमझदारीको गहिरो खाडल खन्छौं र बर्लिनको बाक्लो पर्खाल लगाउँछौं । प्रिय अपरिचित, बिनाकारण चिस्सिएका सम्बन्धहरूको तीतो बिकार तपाईंको मनमा पनि छ ?

चरित्र निर्माणमा भनिने फोइल क्यारेकटरजस्तो बांगे सिनेमाको एक मात्र पात्र हो, जो आफ्नो सपनामा सम्झौता गर्दैन । ऊ अन्ततः गाउँ छोडेर जान्छ । सिनेमाभरि बालसुलभ हत्कण्डाले भरिएका उसको श्यामवर्णको निर्दोष अनुहारले हँसाइरहन्छ । बिदाइ हुन लाग्दा वसन्तसँग अन्तिमपटक भन्छ, ‘सहरबाट फर्केपछि ठूलो टीभी ल्याउँछु, तँ र म मात्रै हेर्नुपर्छ है ।’ उसको कुरा सुन्दा ओठमा हाँसो आउन लागेको थियो, मनमा गाँठो परेर कुन बेला आँखा चुहिइसकेछन् । प्रिय अपरिचित, यो अपरिचित संवेग मैलेजस्तै तपाईंले पनि भोग्नुभो ?

परिवेश

शताब्दीभन्दा लामो सिनेमाको कथा भन्ने इतिहासमा धेरै औजार सिनेमाले अरूबाट ऋण लिएको छ । ‘समय’ एउटा मात्रै औजार हो, जुन सिनेमाको आफ्नो निजी पुँजी हो । समयले मान्छेलाई पर्खंदैन भन्थे । तर, मौरीलाई छोपेजस्तो समयलाई बन्द बाकसमा छोप्न सकिने र समयको रसलाई बारम्बार अनुभूत गरिरहन सकिने सुविधा सिनेमाको जन्मसँगै हाम्रो सभ्यताले भेटेको हो । मलाई सिनेमाको कथावाचनभन्दा समय–वाचन भन्न मन लाग्छ । तर, समय–वाचन गर्न सक्ने सिनेमा हाम्रोमा असाध्यै कम छन् । राम्रा भनिएका धेरै सिनेमा देखिएका उपन्यास वा खिचिएका नाटकजस्ता मात्रै छन् । केही थोरै समय–वाचकमध्ये एक ‘ऐना झ्यालको पुतली’ ले समय प्रवाहमा मिसाएर हामीलाई तीन दशकअघिको ‘टाइम–ट्राभल’ गराउँछ ।

आजभन्दा तीन दशकअघि, जुनबेला प्रविधिको कोपभाजनले क्षतविक्षत थिएन हाम्रो बाल्यकाल । हामी रमाउने थोरै कुरा थिए, तर ती वास्तविक थिए । अनि हाम्रो साझा साथी थियो– रेडियो । ऊ हामी उठ्नुअघि नै उठ्थ्यो र निदाइसकेपछि पनि के–के फलाकिरहन्थ्यो । कालीमाटीको तरकारी भाउ, धनगढी जाने जहाजको समय अनि अमेरिकी डलरको नेपाली मोलसँग हामीलाई सरोकार हुने कुरै भएन, तर प्रत्येक साँझ–बिहान हामि सुन्थ्यौं र कण्ठाग्र पार्थ्यौं । समयको रेलगाडी अगाडि बढ्यो, रेडियो पछि छुट्यो अनि हरायो । हाम्रो मनमा गढेका रेडियोले बास्ने धुनका मीठासहरू हाम्रा स्मृतिका चिहानमा भित्रभित्रै गाडिए । हराएर गएको त्यो परिवेश, हामीले बाँचेको त्यो समय जस्ताको तस्तै पर्दामा चलमलाएको देख्दा प्रिय अपरिचित, तपाईंले पनि मैलेजस्तै सन्चो अनुभव गर्नुभो ?

‘ऐना झ्यालको पुतली’ लाई चिरकालसम्म उभ्याइरहने खम्बा त्यही परिवेशको चित्रण हो, जुन हाम्रो पुस्ताको विशेष निधि थियो, जुन आज हामीसँग छैन ।

ओहो, त्योबेला कस्तो हार्मोनी रहेछ हाम्रा भोगाइमा ! चिसापानी ज्यामिरे होस् कि, संखुवासभा खाँदबारी वा लमजुङको चिती, हामीहरू उस्तै भोगाइ भोग्दै हुर्कंदै रहेछौं । प्रिय अपरिचित, यतिबेला हाम्रा भोगाइ यति जटिल भइसके, कुनै दिन हाम्रो मुलाकत भएछ भने हाम्रा कुराहरू आग्रा र गाग्राझैं होलान् । त्यसैले कुरा पुराना दिनबाट सुरु गरौं, जुनबेला हाम्रा दिनहरू उस्तै थिए ।

शैली

कथा उस्तै तरिकाले भनेझैँ लागे पनि सिनेमा र साहित्यको कथा भन्ने माध्यमको फरकका कारण कथाप्रवाह हुने तरिका धेरै फरक छ । साहित्यले शब्दहरूले दृश्य संकेत गर्छ, सिनेमाले दृश्य नै आँखाअघि देखाउँछ । साहित्यमा शब्दहरू बोकेर आफ्नै खयालमा विचरण गर्दै पाठकले कथाको स्वाद लिन्छ । सिनेमामा ऊ कल्पना गर्दैन, आँखैअघि देखेको दृश्यलाई टुसुक्क बसेर साक्षीभावमा हेरीमात्रै रहन्छ । आँखैअघि देख्न पाइने कथाको जादु देखाएर सिनेमाले संसारलाई सम्मोहित पार्‍यो । तर, लामो कालखण्डपछि सिनेमाको कथा भन्ने तरिकामा एउटा खोट निस्कियो । लोकप्रिय सिनेमाहरूले आरामदायी कुर्सीमा सुताएर, लठ्याएर कथा कोचाए अनि कथा घिचाए । आफ्नै खयालमा छिरेर ती कथाहरूमा आफैँ सहभागी हुन पाउने सम्भावनाको खोजी सिनेमाले गरेन । दर्शकहरूको सक्रिय सहभागिता सिनेमाले खोजेन ।

उता साहित्यतिर रोनाल्ड ब्राथेसले लेखकको मृत्युको घोषणा गर्दा यता सिनेमाले भने अँध्यारो थिएटरमा मृत दर्शकको अपेक्षा गर्‍यो । ओहो यो त अति भएन ? कलाको सुन्दरता भनेको यसको ग्रहण गर्नेले आफ्नै कल्पना मिसाएर वस्तुगत अनुभव गर्ने सम्भावनामा निहित रहन्छ । तर, सिनेमालाई के भइरहको छ ? सिनेमाका केही मास्टरहरूले बाचकीका नवीन शैलीहरू खोज्दैगए । सबै कुराहरू नभन्नु, संकेत गर्नु, तहतहमा भन्नु, केही कुरा लुकाउनु, केही कुराहरू घुमाउनु अनि बनेको खाली ठाउँ दर्शकलाई आफ्नै खयालले भर्न दिनु ।

अनि मृतप्रायः भएर हलमा झोक्रिएको दर्शक बौरिएर उठ्यो । पर्दा फोरेर सिनेमाभित्र छिर्‍यो । कथाले छोडेका खाली ठाउँहरूमा उसले आफ्नो कल्पनाशीलता मिसाएर पूरा गर्‍यो । जापानी मास्टर यसिजुरो ओजुले कथाका लागि अति आवश्यक भनिएका घटनाहरूलाई नै सिनेमा बाहिर राखेर दर्शकहरूको सक्रिय सहभागिताको लागि आह्वान गरिरहे बारम्बार । यो वाचकीको चेतनाले विश्वसिनेमा ओतप्रोत भइरहेको वर्षौंसम्म हाम्रो सिनेमा बेखबर रह्यो । हाम्रो सिनेमाको चेतना सुस्त थियो, तर उसले दर्शकलाई पो सुस्त ठान्यो र आफ्नो बासी मसलाले स्वाद बिग्रेको परिकारलाई ‘को खाई को खाई’ गर्दै कोचाउन खोजिरह्यो । वाचनशैलीको यो आयाम देश–देशाबर हुँदै बिस्तारै हाम्रो कथावाचनमा आउँदै थियो, ‘ऐना झ्यालको पुतली’ ले चाहिँ दरो किलो गहिरोसँग गाडिदियो ।

सिनेमाको पहिलो दृश्यमा सिसाको बट्टामा कैद नवजात पुतली हेरिरहेका छन्– विद्या र वसन्त । वसन्त पहिलो संवाद बोल्छ– त्यही झुसिल्किरा हो त यो ?

विद्या भन्छे– नपत्याको हैन तैंले ?

दिदी–भाइले लार्भाबाट पिउपा हुँदै पुतली बन्ने प्रक्रियाले अचम्मित भएर प्रयोग गरेको पूर्वदृश्यहरूलाई संकेत गर्छ र नदेखिएका ती दृश्यलाई तपाईं आफैंलाई लेख्न लगाउँछ । यो शैली सिनेमाभरि निरन्तर छ ।

प्रिय अपरिचित, आमाको ट्याम्कमा पैसा कहाँबाट आयो ? तपाईंले कुन बेला थाहा पाउनुभो ?

अनि ट्याम्कको पैसा कसले उछिट्यायो ? तपाईंले कसरी थाहा पाउनुभो ?

सिनेमाको अन्त्य हुनै लाग्दा जुन समारोह देखियो, तपाईं पक्कै चकित हुनुभो । आफ्नो सपनामा दत्तचित्त विद्याले अन्ततः यो नियति कसरी स्वीकार गरी ? सिनेमामा आदर्श–वाचन हुनुपर्छ भन्ने विकासे चिन्तनहरूले घेरिएर कतिले विद्याको यो सम्झौता रुचाएका छैनन् । सिनेमाले एजेन्डाको त्यत्रो गरुङ्गो भारी बोक्न सक्दैन, बोक्नु पनि हुँदैन । विकासे मनलाई एक छिन छेउमा राखेर सिनेमाले नदेखाएको पाटो के थियो होला कल्पना गर्नुस् । सिनेमाले गुप्त राखेका कति सत्य तपाईं आफ्नै मनको खाडल खनेर उत्खनन गर्न सक्नुहुन्छ ।

‘ऐना झ्यालको पुतली’ तपाईंलाई आफ्नो कथा लाग्नुको मूल कारण– कथावाचनको शैलीले बनाएको खाली ठाउँलाई थाहै नपाई तपाईं आफैँ छिरेर भर्न थाल्नुभो । त्यसकारण पर्दामा चलमलाएका घटनामा तपाईंले आफैँलाई देख्ने पूर्णता पाउनुभो ।

सर्जक

सिनेमा–सर्जक हाम्रोतिर स्यालको सिङ हराएझैं हराएको छ । पटकथालाई छाप्ने कुशल व्यवस्थापकको जस्तो परिचयमा सीमित छन् हाम्रा निर्देशक । हाम्रो साङ्गोपाङ्गो सिनेमाको सुन्दरता पटकथाको ओजमा टिकेको छ । बीचबीचमा भएका थोरै प्रयासपछि सर्जक सिनेमाको सानो चाङमा अर्को सिनेमा थपिएको छ । आफ्नो मिजा–एन–सेनमा सुजितले छानेका सूचकहरूले सुजितलाई एक सर्जकको रूपमा सुचित गरिदिएको छ । हाम्रो सिनेमा जगत्ले एक सिनेमा सर्जक पाएको छ, एक सर्जक सिनेमा पाएको छ । ‘सावित्री’ देखि यहाँसम्म आइपुग्दा निर्देशक सुजितमा आफ्नो मसि, रङ र ब्रसहरूको राम्रो नियन्त्रण देखिन्छ । औजारहरू खेलाउने शिल्प अझ बढ्दै जाओस् । दुर्घटनाग्रस्त हाम्रो सिनेक्षेत्रले यस्तै पथप्रदर्शकको आस गरेको छ ।

दर्शक (अथवा तपाईं)

प्रिय अपरिचित,

यो लेख मैले तपाईंलाई सम्बोधन गरेर लेख्नुको विशेष कारण छ । दर्शक नायक भएको ‘ऐना झ्यालको पुतली’ बारे लेख्दा मैले पनि त्यही नायकलाई नै मूलपात्र बनाएँ । तपाईं त अरूको कथा हेर्न सिनेमाघर जानुभएथ्यो, अँध्यारो कोठामा के जादु भयो ? तपाईंले पर्दामा आफैँ चलमलाएको देख्नुभो । एक अपरिचित लेखक–निर्देशकले, अपरिचित कलाकारहरूले तपाईंको साना–मसिना विवरण कसरी थाहा पाए ? तपाईंलाई कुन बेला नियाले ? आफैंले लगभग बिर्सन थालेका ती भोगाइ कहाँबाट खोजे ? कसरी ल्याए ? यो के कालाजादु भयो ?

चुरो कुरो त के रहेछ भने हामीलाई एकदमै निजी लागेका भोगाइहरू निजी होइन रहेछन् । हामी यति धेरै अजनबी त होइन रहेछौं । इटलीका सर्जक फेडेरिको फेलिनीलाई एक पत्रकारले सोधेछन्, ‘इटलीको कुनामा बसेर तैंले बनाएको यति धेरै वैयक्तिक सिनेमा ल्याटिन अमेरिका अथवा पूर्वी एसियाका दर्शकले कसरी मन पराउलान् ?’ फेलिनीले भनेछन्, ‘जब म सिनेमा बनाउँदा भित्रबाट इमानदार हुन्छु, जीवनको उत्सव मनाउनेबाहेक अरू केही एजेन्डा राख्दिनँ र ती भोगाइलाई सही सन्तुलनमा वाचन गर्छु भने मेरो एकदमै व्यक्तिगत भोगाइका सिनेमा पनि सारा संसार र सबैको भइदिन्छ भन्ने विश्वास छ । किनकि धेरै बाहिरी बोक्राहरूले घेरिएर मात्रै हामी मान्छेहरू फरक छौं । बोक्रा खोल्दै गयो भने हामी सबै उस्तै लाग्छौं ।’

प्रिय अपरिचित, तपाईं र म पनि सधैं बोक्रा ओढेर हिँड्छौं र त्यही बोक्रालाई आफ्नो चिनारी ठान्छौं । त्यो बोक्रा खोलिदिन यस्ता सिनेमाहरूको खाँचो पर्दोरहेछ ।

...

सिनेमा निर्माणको चुनौतीपूर्ण शिल्प मानिन्छ– कलाकार निर्देशन । कलाकारको सतही प्रस्तुतिले गर्दा कति सिनेमाहरू सुन्दर हुने बाटामै चिप्लिएका छन् । कलाकार निर्देशनमा यो सिनेमा यति उम्दा देखिएको छ कि लाग्छ वसन्त, विद्या र बांगेहरू भूमिका गर्दै होइनन्, उनीहरू आफैँ हुन् । जीवन भोगाइका स–साना तहहरू कस्तो स्वस्फूर्त बाँचेका छन् ! वास्तविकता र अभिनयबीचको दूरी सिनेमामा अलप भएको छ । आफ्नै सिनेमा हेर्नुअघि कहिल्यै हल नछिरेका यी काँचो माटाबाट केदार श्रेष्ठ र आकाश मगरले कसरी कलाकार तयार पारे होलान् ? २५ वर्षअघिको एक फरक गाउँ बनाउन कलाले कसरी कला निर्देशन गरिहोलिन् ? अमरले सिनेमाको सौन्दर्यलाई आत्मसात गरेर कसरी दृश्य सिर्जना गर्न सके ? नेपाली सिनेमामा साह्रै हेलाँ गरिएको ध्वनिको सम्भावना कतिसम्म हुन्छ, किशोरले पाठ सिकाएका छन् । नयाँ वाचनशैली निर्माण गर्ने अनि समयको छाललाई काट्ने र जोड्ने कैंची र गम, किरणले कहाँ फेला पारे ? सबै सृजनशील मनहरूको इमानदार प्रयास सिनेमाको सुन्दरतामा आएर एकाकार भएको छ । नेपाली शिल्पीहरूले सिनेमालाई न्याय गर्न सक्दैनन् भन्ने मान्यतालाई यी कलिला शिल्पीहरूले आफ्नो कामबाट जवाफ फर्काएका छन् ।

मेटामोर्फसिसका विविध तहहरू पार गर्दै यति बेला पुतली कोयो फोरेर उडेको छ । तर, पुतलीले खेल्ने बगैंचा तयार छ कि छैन ? सिनेमाले प्रदर्शनमा आएदेखि नै अमिलो अनुभव भोगिरह्यो । विदेशी सिनेमा चलाउन नपाएको झोंकमा साहुहरूले पुतलीको पँखेटा समाते । बजार–व्यवसायभन्दा माथि सिनेमाको मूल्यलाई ग्रहण गर्न नसक्ने यो परिवेशमा पुतलीका पँखेटाहरू कुँजिएका छन् । यस्ता सिनेमाहरूले हाम्रो समाजमा के अर्थ राख्छन् ? बजारी खेलाले लोपोन्मुख हुँदै गरेको पुतलीहरूको संरक्षण गर्ने कसले हो ?

हाम्रा बा काशी गए सुखले कि दुःखले ? कुन दुःखले यो सिनेमा यहाँसम्म आयो, घतलाग्दा कथाहरू होलान् । सुजितलाई आफ्नो प्यासन र आत्मविश्वासले निराश हुन् दिएन, हिँडाइरह्यो । धेरै वर्षअघि सत्यजित रेले पनि थुप्रै उल्झन भोग्दै आफ्नो पहिलो सिनेमा बनाएका थिए । तर, जब ‘पथेर पान्चाली’ बाहिर आयो, यसले सारा दुनियाँलाई कालजयी गीत सुनायो । दुर्गा र अप्पु धेरै अर्थमा विद्या र वसन्तजस्तै थिए । ७० वर्षपछि त्यस्तै काव्यिक उडान भर्न खोजेको पुतली आफ्नै तोरीबारीमा निस्सासिएको छ । यति बेला अरू थुप्रै पिउपाहरू रेसमी कोयोमा पँखेटा उमारिरहेका देखेको छु । तर, बत्तीको उज्यालोमा झोसिने सेता पुतली पो बनिने हो कि भन्ने भयमा उनीहरूको यात्रा कुकुनभित्रै सकिने पो हो कि ! मलाई डर लाग्छ, यो निस्सारतामा सुजितले नभनून्– आखिर सिनेमा किन बनाउने ?

प्रिय अपरिचित,

ओसिलो मन लिएर म यो लेख बिट मार्न लागेको छु । हामी अपरिचितलाई यति धेरै सामीप्य बनाउने ताकत राख्ने यो सिनेमालाई सलाम गर्दै म निदाउने तरखर गर्छु । मध्यरात भइसक्यो, सायद तपाईं यतिबेला मस्त निद्रामा हुनुहुन्छ । समयले दिएको सुविधा प्रयोग गर्दै फेरि एकपटक त्यही धुन बजाउँदै छु । कुनै बेला यो धुन अलार्म बनेर हामीलाई बिउँझाउँथ्यो । यतिबेला लोरी बनाएर म निदाउने चेष्टा गर्दै छु–

सबलाई जय होस्...जागोस् राष्ट्रिय गाथा...।

प्रकाशित : आश्विन १, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?