सम्झना आउँदा
कसैले गरेको मायाभन्दा
आफ्नो अपमान ज्यादा सम्झना आयो भने
तपाईं के गर्नुहुन्छ ?
साथै हिँडेका बेला
कसैको साथभन्दा ज्यादा ज्यादती साथ आयो भने
तपाईं कहाँसम्म सँगै हिँड्नुहुन्छ ?
आवाज नहोस्, तर सुनिदेओस् आत्मा भनेर
तपाईं चुप लागेका बेला,
सम्झिदेओस् मौनताको भाषा भनेर
गहिरो आसमा बसेको बेला
पूरा नहुने वाचा बोल्नेसँग
अब कुन भाषा बोल्नुहुन्छ ?
लाओस् अर्थ प्रेमासक्त आँखाको भनेर
सुम्पेको दृष्टिलाई
अन्तरआँत हेरोस् भनेर
साँचेका कामनालाई
अधुरै अलपत्रै
कहाँ लगेर बिसाउनुहुन्छ ?
हृदयको दिव्यता सोचिरहेका बेला
समर्पणभित्र डुबिरहेका बेला
सेवक बनाउने स्नेहलाई
दलन बनेको प्रेमलाई
तपाईं कसरी सम्मान दिनुहुन्छ ?
उसलाई कसरी सम्झनुहुन्छ ?
जब दुख्न थाल्छ भित्रभित्र सामिप्यले छाती
उपचार कसरी गर्नुहुन्छ ?
जब जल्न थाल्छ नजरको आगोले स्निग्ध मन
कसरी निभाउनुहुन्छ ?
आफूलाई कसरी सम्झनुहुन्छ ?
उसलाई कसरी बिर्सनुहुन्छ ?
प्रकाशित : आश्विन १, २०७९ ०८:११