कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कविता

सम्झना आउँदा

ज्योति जंगल

सम्झना आउँदा
कसैले गरेको मायाभन्दा
आफ्नो अपमान ज्यादा सम्झना आयो भने
तपाईं के गर्नुहुन्छ ?
साथै हिँडेका बेला
कसैको साथभन्दा ज्यादा ज्यादती साथ आयो भने
तपाईं कहाँसम्म सँगै हिँड्नुहुन्छ ?

सम्झना आउँदा

आवाज नहोस्, तर सुनिदेओस् आत्मा भनेर

तपाईं चुप लागेका बेला,

सम्झिदेओस् मौनताको भाषा भनेर

गहिरो आसमा बसेको बेला

पूरा नहुने वाचा बोल्नेसँग

अब कुन भाषा बोल्नुहुन्छ ?

लाओस् अर्थ प्रेमासक्त आँखाको भनेर

सुम्पेको दृष्टिलाई

अन्तरआँत हेरोस् भनेर

साँचेका कामनालाई

अधुरै अलपत्रै

कहाँ लगेर बिसाउनुहुन्छ ?


हृदयको दिव्यता सोचिरहेका बेला

समर्पणभित्र डुबिरहेका बेला

सेवक बनाउने स्नेहलाई

दलन बनेको प्रेमलाई

तपाईं कसरी सम्मान दिनुहुन्छ ?

उसलाई कसरी सम्झनुहुन्छ ?


जब दुख्न थाल्छ भित्रभित्र सामिप्यले छाती

उपचार कसरी गर्नुहुन्छ ?

जब जल्न थाल्छ नजरको आगोले स्निग्ध मन

कसरी निभाउनुहुन्छ ?


आफूलाई कसरी सम्झनुहुन्छ ?

उसलाई कसरी बिर्सनुहुन्छ ?

प्रकाशित : आश्विन १, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?