३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रजनन पीडामा खोइ पुरुष ?

सुत्केरी स्याहारमा हाम्रो समाजले पुरूषको भूमिका अपेक्षा गर्दैन । न घर–घरले त्यो भूमिका बढाइरहेका छन्, न अस्पतालहरुले नीतिगत सुधार गरेका छन्, न राजनीतिले नै यसलाई आफ्नो एजेन्डा बनाएको छ । प्रसूति वार्डका लेबर रूममा श्रीमान्, प्रेमी वा पुरूष साथीको उपस्थिति र अनिवार्यताबारे अझै खुला छलफल हुँदैन ।
सहरमा डेरा बस्नेहरूको संसार सानो छ । स्याहारका लागि महिला साथी खोज्नु सुत्केरीलाई निकै कठिन छ ।
वन्दना ढकाल

दुई फरक समयका र दुई फरक सहरका, तर दुई उस्तै दृष्टान्तबाट म कुरा थाल्छु । म आफैँ संलग्न यी उदाहरणले नै यहाँ लेख्न खोजेको विषयमा प्रकाश हाल्न मद्दत गर्नेछन् भन्ने विश्वास छ ।

प्रजनन पीडामा खोइ पुरुष ?

पहिलो दृष्टान्त : मिति २०७१ जेठ २९ गते

दिउँसो तीन बजेपछिको अपराह्न, पोखरा

एउटी महिलालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोस्ट अपरेटिभ वार्डमा ल्याइयो । नर्मल डेलिभरी (सामान्य अवस्थामा सुत्केरी) का लागि गरिएका अनेकन् प्रयास विफल भएपछि अपरेसन गर्नुपर्ने विकल्पमा डाक्टर पुगेका थिए । उनले छोरा जन्माएकी थिइन् । गुड्ने खाटबाट पोस्ट–अपको खाटमा सारेपछि दुईवटी नर्स स्लाइन र पिसाबको थैली झुन्ड्याउन, औषधि भए–नभएको जाँचबुझ गर्न र प्याड खोज्नतिर लागे । उनीहरूले केहीबेरमै ती सुत्केरीलाई प्याड लगाउने तरिका सिकाउन उनका कुरुवालाई बोलाए । अपरेसन गरिएकाले ती सुत्केरीको कम्मरमुनिको भाग नचल्ने भएको थियो । उनी आफ्नो प्याड आफैं लगाउन नसक्ने अवस्थामा थिइन् । नर्सको बोलावटपछि एक जना पुरुष नवजात शिशु काखमा च्यापेर भित्र पसे । ती नर्सले पुरुषलाई हकार्दै भनिन्, ‘कहाँ तपाईं आएको ? आइमाई मान्छे छैन कोही ? प्याड तपाईंले लगाइदिनुहुन्छ ?’

‘आइमाई मान्छे त कोही छैन हाम्रो । सबै गाउँमा छन्,’ ती पुरुषले विनय भावमा भने । पुरुष ती सुत्केरीका श्रीमान् थिए । सँगसँगै उनका दाजु पनि रहेछन् अर्थात् सुत्केरीका जेठाजु । नर्सले तुरुन्तै भनिन्, ‘यसपटक हामी नै प्याड लगाइदिन्छौं, अर्कोपटक कोही न कोही दिदीबहिनी खोज्नुस् ।’ अनि ती सुत्केरीका श्रीमान् र जेठाजुलाई नर्सहरूले बेड छेउबाट हटाए र हरियो पर्दाले ढाकेर बिरामीलाई प्याड लगाइदिए ।

मेरी दिदी सिर्जना दुई दिनअघि मात्रै सुत्केरी भएर त्यही अस्पतालको पोस्ट अपरेटिभ वार्डमा हुनुहुन्थ्यो, म दिदीसँगै थिएँ । संयोगवस मेरी मितिनी दिदी पनि सोही साँझ नियमित गर्भ जाँचका लागि आउँदा डाक्टरले ‘भर्ना हुनुपर्छ’ भनिदिएछन् । व्यथा नलागेकाले उहाँ प्राइभेट वार्डमा बस्नुभएको रहेछ । तर, रात परेपछि भने पाठेघरको मुख खुल्न थालेकाले उहाँलाई लेबर कोठामा लैजानुपर्ने भएछ । उहाँहरू पनि श्रीमान्श्रीमती मात्रै आउनुभएको रहेछ । जब दिदी लेबर रुममा पुग्नुभयो, दिदीको अवस्था बुझ्न ढोकाअघि उभिनुभएछ मीतभिनाजु । भित्र पस्न पुरुषलाई मनाही थियो, लेबर रुमका सम्बन्धित स्वास्थ्यकर्मीलाई सोध्दा खासै गतिलो जवाफ आउने थिएन । अनि मीतभिनाजु हतारिँदै पोस्ट अप वार्डमा आएर मलाई भन्नुभयो, ‘दिदीलाई लेबर रुममा लगे । के कसो छ, हाल थाहा छैन । मैले सोध्दा रेस्पोन्स पाइनँ, पुरुषहरू भित्र जान मिल्दैन । तिमी गएर हेर त !’

म कुद्दै लेबर रुम अघि पुगें । पोष्ट–अप वार्ड र लेबर रुम टाढाकै दूरीमा थियो । महिलाहरू व्यथाले कराइरहेको आवाज बाहिरै सुनिएको थियो । म हिचकिचाउँदै ढोकाअघि रोकिएँ, सायद म पनि जान नमिल्ने हो कि ! कुरुवा महिलाहरू फटाफट भित्र आइजाइ गरिरहेको देखें । उनीहरूकै पछि लागेर भित्र पसें । त्यहाँका अधिकांश गर्भवती व्यथाका कारण कनिरहेका, कराइरहेका र छटपटिइरहेका देखिन्थे । मितिनी दिदीचाहिँ चुपचाप पल्टिइराख्नुभएको थियो । दिदीको हाल बुझें । नर्सहरूले दिदीलाई तातो झोल खान भनिरहेका थिए रे, तर खबर बाहिर पुर्‍याइदिने आइमाई मान्छे कोही थिएनन् भित्र । मैले स्वास्थ्यकर्मीको निर्देशन र दिदीको अवस्था मीतभिनाजुलाई बताएँ । त्यहाँ लेबर रुमका गर्भवतीको खबर ढोकामा बसिरहेका श्रीमान्समक्ष पुर्‍याइदिन एउटी अतिरिक्त खबरी आइमाईमान्छे चाहिएको थियो । जबजब श्रीमान्हरू लेबर रुमको ढोकामा आएर उभिन्थे, त्यहाँका गार्ड र कतिपय स्वास्थ्यकर्मीले हकार्ने–लघार्ने गरिरहेका हुन्थे, ‘लोग्नेमान्छेहरू यहाँ किन आएको ? बाहिर जानुस्, बाहिर जानुस्, गइहाल्नुस् !’

दोस्रो दृष्टान्त : मिति २०७८ पुस १४ गते

रातको ८ बजे । स्थान : ललितपुरस्थित पाटन अस्पतालको लेबर रुम

सुत्केरी हुन म पाटन अस्पताल भर्ना भएकी थिएँ । त्यहाँ अरू तीन जना महिला असाध्यै व्यथा लागेर ठसठसी कन्ने र छटपटिने गरिरहेका थिए । कुरुवा महिलाहरू गर्भवतीको ढाड, हात–खुट्टा मिचिदिने र समाइदिने गरिरहेका थिए । ड्युटीमा रहेका स्वास्थ्य कर्मचारीले गर्भवतीका कुरुवालाई तातो र तागतिलो झोल खुवाउन भनिरहेका थिए । ‘झोल र तातो कुरा खुवाइराख्नु, अहिले बच्चा जन्मिने बेलामा बल गर्न सकेन भने तपाईंहरूलाई नै लगाउँछु’ भन्दै कुरुवाहरूलाई चेतावनी दिइरहेका थिए । त्यहाँ एउटी महिला असाध्यै सिकिस्त देखिन्थिन् । कुरुवा महिला ढोकामा रहेका आफन्तलाई आवश्यक सरसामान ल्याइदिन भन्न जाँदा यता एकजना गर्भवतीले सुतीसुती उल्टी गरिन् । उनी ठाडो हुन सक्ने अवस्थामा थिइनन् । त्यहाँ समाएर अड्याइदिने र उनको बान्ता बाटामा थापिदिने मान्छे कोही थिएन । छेउकी अर्की कुरुवा व्यथाले सिकिस्त उनै गर्भवतीलाई ‘यो उल्टी सोहोर, हामी कसरी बस्ने यहाँ’ भनेर कराउँदै थिइन् । सिकिस्त गर्भवती साह्रै निरीह र हतास देखिन्थिन् । पुरुषहरूलाई यहाँ पनि प्रवेश निषेध थियो । उनीहरू सुत्केरी वार्डको मूलढोकामा ढुकेर बसेका थिए, भित्रबाट के खबर आउला भनेर !

भोलिपल्ट बिहान म सुत्केरी भएपछि पोष्ट अपरेटिभ वार्डमा लगियो । त्यहाँ पनि मलाई प्याड लगाइदिन सिकाउन आइमाई मान्छे नै खोजियो । अपरेसन गर्दा लठ्याएका कारण मेरा दुवै गोडा नचल्ने भएका थिए भने म आफैंले प्याड लगाउन सक्ने अवस्था थिएन । म मुढो लड्दाझैं बेडमा लडेकी थिएँ, पूरापूर अरूको सहारामा थिएँ । मेरो साथमा अघिल्लो दिनदेखि नै मेरा श्रीमान् थिए । तर, नर्सले छेउमै रहेका श्रीमान्लाई प्याड लगाइदिने तरिका सिकाउन बोलाएनन्, बरु महिला साथी नै खोजे । नर्सहरूको पारा देखेर मलाई एक मन झोंक उठेको थियो, तर म झोंक्किएर त्यहाँ तत्काल केही हुनेवाला थिएन । म यति कमजोर थिएँ कि झोंक देखाउन सक्ने हालतमा पनि थिइनँ ।

...

मैले प्रत्यक्ष देखेको र आफैँले भोगेको यी दुई दृष्टान्तले भन्छ– अस्पतालमा सुत्केरीको स्याहार गर्न अर्को महिला नै चाहिन्छ, पुरुष सहयोगीलाई त्यहाँ सुत्केरी स्याहार्न अनुमति छैन । कोही महिला सुत्केरी हुन अस्पताल पुग्छे भने उसले अर्को महिला साथी अनिवार्य खोज्नुपर्छ, पुरुष साथी (श्रीमान्, प्रेमी) अस्पतालको सबैभन्दा निर्णायक घडीमा साथी हुन सक्दैनन् । अर्थात्, अस्पताल स्वयम्ले पनि पुरुषलाई त्यस्तो साथी हुन दिँदैन । पचासको दशकमा चर्चित महिला–प्रधान पत्रिका ‘अस्मिता’ ले ‘श्रीमतीलाई व्यथा लाग्दा श्रीमान्लाई छुट्टी’ भन्ने खालको शीर्षकमा गर्भवती एवम् सुत्केरी विषयक सामाचार सामग्री छापेको थियो । समाचारमा श्रीमतीको गर्भवती र सुत्केरी अवस्थामा श्रीमान्ले अनिवार्य बस्नुपर्ने बिदा, गर्नुपर्ने स्याहार र दायित्वबारे लेखिएको थियो । विसं २०५२/०५३ तिरै गर्भवती र सुत्केरी स्याहारमा पुरुषको अनिवार्य संलग्नता, लेबर रुममा श्रीमान्को उपस्थितिको अनिवार्यतालाई विशेष महत्त्वसाथ छापिनुको खास अर्थ थियो ।

झन्डै तीन दशक बितिसक्यो, तर आज पनि सुत्केरी स्याहारमा हाम्रो समाजले पुरुषको भूमिका अपेक्षा गर्दैन । न घर–घरले त्यो भूमिका बढाइरहेका छन्, न अस्पतालहरूले नीतिगत सुधार गरेका छन्, न राजनीतिले नै यसलाई आफ्नो एजेन्डा बनाएको छ । थोरै कानुनी परिवर्तन सरकारी सेवामा सम्बद्धहरूका लागि भने भएको छ । निजामती सेवा ऐन, २०४९ को दोस्रो संशोधन (२०६४) बाट सरकारी जागिरे पुरुषका लागि प्रसूति स्याहार बिदाको प्रबन्ध गरिएको छ । सुत्केरी भइसकेपछिको स्याहारमा श्रीमान्को भूमिकाबारे यही बेलादेखि बल्ल सरकारीस्तरमा नीतिगत निर्णय भएको हो । प्रसूति वार्डका लेबर रुममा श्रीमान्, प्रेमी वा पुरुष साथीको उपस्थिति र अनिवार्यताबारे भने अझै खुला छलफल हुने गरेको छैन । हाम्रा मिडिया, सार्वजनिक बहस मञ्चहरू र राजनीतिक संगठनहरूमा पनि यस विषय छलफलमा हुने गरेको देखिन्न ।

आज संयुक्त परिवारहरू टुक्रिँदै–टुक्रिँदै गएका छन् । एकल परिवारको आकार पनि साँघुरिँदै गएको छ । सहरोन्मुख हुँदै गएका गाउँमा एउटा घरमा एक–दुई जना सदस्य मात्रै परिवारमा हुन्छन् । त्यो पनि अधिकांश घरमा बूढाबूढी हुन्छन् । बाँकी सदस्य कामको खोजीमा कि सदरमुकाममा, कि सहरमा र कि परदेशमा पुगेका छन् । सहरमा डेरा गरेर बस्नेहरूको त झन् सानो संसार हुन्छ । कति जोडी सहरमा पनि एक्लाएक्लै र अलगअलग ठाउँमा बस्न विवश छन् । कति महिलाले सहरमा एक्लैले आफ्नो सम्पूर्ण जीवन चलाइरहेका छन् । सुत्केरी हुने बेला मात्रै स्याहारका लागि महिला साथी खोज्नु उनीहरूका लागि कठिन हुन्छ । तर, हाम्रा अस्पतालहरू भने भर्ना हुन आइपुगेकी गर्भवती महिलाको स्याहारसुसार गर्न अर्की महिलाको खोजी गर्छन् । पुरुष साथी वा श्रीमान् साथै छ भने पनि त्यसको काम लाग्दैन । हाम्रा अस्पतालहरूले सुत्केरी वार्ड, लेबर वार्ड र महिलाका प्रसूतिजन्य अवस्थामा सकेसम्म उनका श्रीमान् वा प्रेमीलाई नै स्याहारसुसारमा लगाउने व्यवस्था मिलाउनु आवश्यक छ । सुत्केरी अवस्थाको आफ्नो श्रीमती वा प्रेमिकाको स्याहार गर्नु एउटा श्रीमान् वा प्रेमीको कर्तव्य पनि हो । साथमा श्रीमान् वा प्रेमी नहुने सुत्केरीका हकमा स्याहारको जिम्मा अस्पतालले नै लिने व्यवस्था हुनुपर्छ, सुत्केरी स्याहार्न महिलाका महिला नातेदार नै खोज्ने परम्पराको अन्त्य हुनुपर्छ । अस्पतालमा आइपुगेका पुरुष वा श्रीमान्हरूलाई लेबर वार्ड छेउछाउ ढिम्किनै नदिने चलन अन्त्य हुनुपर्छ ।

आजकल संसारका अनेकन् देशहरूका सुत्केरी वार्ड र लेबर रुमका भिडियोहरू युट्युबहरूमा प्रशस्त देख्न पाइन्छ । सुत्केरी व्यथाले छटपटाइरहेका श्रीमती र प्रेमिकालाई उनीहरूका पार्टनरले ढाडस दिइरहेको, बच्चाको नाभि काट्न बाबुको हातमा कैंची थमाएको एवम् काटेको दृश्य देख्न सकिन्छ । कतिपय देशमा लेबर रुममा श्रीमान्को उपस्थिति अनिवार्य मानिएको छ । लेखक डिना प्रिचिपका अनुसार, अमेरिकामा सन् १९६० देखि नै लेबर रुममा श्रीमान् बस्न पाउने अनुमति दिइएको थियो । उनको अध्ययनअनुसार, लेबर रुम र बच्चा जन्मिने कोठामा श्रीमान्को उपस्थितिले महिलामा पीडाको मात्रामा कमी आएको, बच्चा जन्मिँदाका प्रक्रिया र पीडामा प्रत्यक्ष सहभागिता हुँदा श्रीमान्–श्रीमतीबीचको भावनात्मक सम्बन्ध प्रगाढ बनेको उल्लेख छ ।

हुन त नेपालको स्वास्थ्य सेवा, त्यसमा अझ प्रसूति सेवालाई अमेरिकाको स्वास्थ्य सेवासँग तुलना गर्नु भनेको अत्यन्तै अमिल्दो विषय हो । सन् १९३८ देखि नै आधा अमेरिकी महिला अस्पतालमा प्रसूति गराउँथे । तर, नेपालको सन्दर्भमा आजसम्म अर्थात् सन् २०२२ अर्थात् ८४ वर्षपछि पनि गर्भवतीलाई अस्पताल ल्याउन र ल्याइपुर्‍याउन प्रोत्साहन भत्ताको सहारा लिनुपरेको छ । अझ बाजुराजस्ता दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी पुग्नै नपाई बच्चा बाटैमा जन्मने र संयोग परे आमा–बच्चा बाँच्ने नत्र इहलीला सकिने जोखिम बोकेर गर्भवती हिँडिरहेका छन् । त्यस्तो सन्दर्भमा लेबर वार्ड वा रुममा श्रीमान् वा प्रेमी बस्न पाउनुपर्ने विषय पनि एउटा निश्चित वर्गपंक्तिको आवश्यकतासँग जोडिएको विषयका रूपमा लिन सकिन्छ । त्यति हुँदाहुँदै पनि जुन महिलाले अस्पतालमा जाने सुविधा पाउँछन्, ती महिलाको सुत्केरी हुने क्रममा श्रीमान् वा प्रेमीलाई प्रत्यक्ष स्याहारसुसारको भागीदारी बनाउनुपर्छ भन्नुमा यस लेखको जोड छ ।

लेबर रुमछेउ पुरुषलाई आउनै नदिनाले महिलाको अतिशय पीडाको क्षणमा अर्थात् प्रजनन पीडामा पुरुषको समानुभूतिको स्तरमा पनि भागीदारी रहँदैन । अस्पतालले नै श्रीमान्हरूलाई प्रजनन पीडाको समानुभूति हुन नदिने थिति किन बनाइराख्ने ? आमा बन्दै गरेका महिलाका जीवन स्थिति फरकफरक हुन सक्छन् । कति महिला ‘श्रीमान्’ बिना नै बच्चा जन्माउन चाहने हुन्छन् । कुनै श्रीमान्–श्रीमती आफ्नो परिवारबाट निकै टाढा सहरमा बसिरहेका हुन्छन् । कुनै घरबाट भागीविवाह गरेका, परिवारले स्वीकार नगरेका जोडी हुन सक्छन् ! अन्तरजातीय तथा अन्तरसांस्कृतिक विवाह गरेका जोडीहरू पनि एक्लै बसिरहेका हुन सक्छन् । त्यस्ता गर्भवती आमाहरूले कहाँबाट महिला सहयोगी खोज्ने ? कहाँबाट आमा, दिदी, बहिनी बोलाएर स्याहार गराउने ? पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी अस्पताल नर्सिङ निरिक्षक गीता ढकाल भन्छिन्, ‘लेबर रुममा श्रीमान् लैजान पाउने व्यवस्था हुनुपर्छ, अहिलेसम्म यस्तो व्यवस्था नभए पनि श्रीमान्लाई सुत्केरी कक्षमा प्रवेश दिनु भनेको गर्भवतीका श्रीमान्लाई गर्भवतीका सहज, असहज अवस्था, स्याहार र खतराका चिन्हबारेमा जानकारी गराउनु पनि हो ।’

कतिपय अस्पताल र स्वास्थ्य चौकीमा त गर्भवती जाँच क्रममै पुरुषलाई बाहिर राख्ने गरिन्छ । हुन त स्थान अभाव, चेकजाँचका लागि गोप्य ठाउँ नहुनु कारक होला, तैपनि स्वास्थ्यकर्मीको मानसिकतामा पनि पुरुष निषेधको स्थितिले घर गरेको देख्न सकिन्छ । हाम्रा हस्पिटलहरूको भौतिक संरचना र कार्यरत जनशक्तिको मानसिक अवस्थितिका आधारमा पनि त्यहाँको सेवा, सुविधा र व्यवहार निर्धारित हुने गर्छ ।

हाम्रो समाजमा बिरामी स्याहारको काम महिलाले मात्रै गर्न सक्छन् भन्ने मान्यता स्थापित छ । घरमा बालबच्चा हुर्काउनेदेखि वृद्धवृद्धाको हेरचाह, श्रीमान् बिरामी पर्दा अनिवार्य रूपमा श्रीमती हुनेजस्ता व्यवहारमा देखिने भूमिकाले गर्दा कसरी हुन्छ पुरुष परिवारका बोझिल र पट्यारलाग्दा कामबाट परै बस्छ र राखिन्छ । त्यसमा अझै गर्भवती र सुत्केरी श्रीमतीको स्याहारसुसार गर्नु पितृसत्तात्मक सोचमा हुर्केको श्रीमान्का लागि झनै जटिल र ‘नजान्ने’ काम हो । त्यसैगरी स्वास्थ्यकर्मीले पनि गर्भवती, सुत्केरी स्याहार र वार्डमा बस्न पुरुषलाई निषेध गर्ने प्रवृत्ति पनि त्यही पितृसत्तात्मक सोचको उपज हो ।

प्रसूति सेवा भनेको बच्चा जन्माइदिएर हातमा थपक्क राखिदिनु मात्रै होइन । बच्चालाई दूध खुवाउन गरिने सिकाइ, प्रयत्न, नर्मल डेलिभरी भएपछि पाठेघरको मुखमा लागेका टाँकाका कारण बस्न, हिँड्न अप्ठेरो हुने अवस्था, सिजेरियन छ भने केही घण्टा र दिनसम्म सुताइदेऊ र उठाइदेऊको अवस्था, मनोवैज्ञानिक अवस्थिति आदिबारे पनि पर्याप्त मात्रामा परामर्श, त्यससँग जुध्न, अभ्यस्त हुन सक्ने आर्थिक, भौतिक र मानसिक अवस्थितिलाई सम्बोधन गरिनुपर्ने हुन्छ । तर, त्यसबारे पर्याप्त मात्रामा सार्वजनिक बहस र छलफल हुन सकेको छैन । सँगसँगै नेपालको महिला आन्दोलनमा प्रजनन हकबारे सामान्य कुराकानी भए पनि प्रजनन स्वास्थ्य सेवासँग भौतिक संरचना र त्यसलाई व्यहारमा ल्याउने जनशक्ति यो विषयमा कत्तिको सचेत छन् र तिनीहरूलाई कसरी तालिम दिइन्छ भन्नेबारे छलफल भएको पाइँदैन । प्रजनन स्वास्थ्यलाई आधारभूत अधिकारसँग जोड्दा त्यसमा महिला–पुरुषको संलग्नतालाई व्यापक बनाइनुपर्छ । यो विषय अबको सामाजिक आन्दोलन र महिला मुक्तिको आन्दोलनको एजेन्डा पनि बन्न सक्नुपर्छ । ताकि महिलाको जीवनको प्रमुख गर्भवती र सुत्केरी अवस्था पितृसत्तात्मक सोच र बेवास्ताको सिकार नबनोस् । यसमा महिला–पुरुष दुवैको निरन्तर र बराबरी सहभागिता रहोस् भन्ने हेतुले अबको महिलामुक्तिको एजेन्डा बन्न सक्नुपर्छ ।

प्रकाशित : आश्विन १, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?