१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९
कविता

काठमाडौंको फोहोरको कथा

मीनबहादुर विष्ट

१.
सडकका नाका–नाकाहरुमा सेनाहरुले थापेका बंकरजस्तै तैनाथ छन्
काठमाडौंका फोहोरका डंगुरहरु
र, ती डंगुरहरुले लिएका छन्
आफ्नै देशका हिमालका टाकुराहरुको जस्तै आकार
कतै पहाड र चुरे पर्वतका लस्करहरुको आकार
भुस्याहा कुकुर र कवाडीहरुले खोस्रेर बनेका छन् कतै उपत्यका र गाउँबेंसीको जस्तो आकार
र, कतै बनेका छन् समथर मधेसको जस्तो आकार
आँसु थाम्न नसकेजस्तो
डंगुरहरुबाट चुहिँदै गरेका छन्– महाकाली, गण्डकी र कोसी
जसरि नेताहरु आफ्नो देशको नयाँ नक्साको चित्रण गर्दै छन् संसद्‌भवनभित्र
सदनबाहिर त्यसरी थुप्रिएको छ देशको जस्तै सुन्दर आवरणमा
काठमाडौंको फोहोरको डंगुर
र, लागिरहेछ यतिबेला
यो नै रहेछ नेताहरुले देखेको शान्त, सभ्य र समृद्ध नेपालको साक्षात चित्र !

काठमाडौंको फोहोरको कथा

२.

चुलिँदै जब काठमाडौंका फोहोरका डंगुरहरुमा पहिरो जान्छ

पुरिन्छन् काठमाडौंका पाइलापाइलामा सुतिरहेका देउता र ससाना देवालयहरु

र, देउतैदेउताको यो सहर अब किंवदन्तीजस्तो बनेको छ

सबेरै उठेर देउता नपुजी दिनको सुरूवात नगर्ने बूढाबूढीहरुले

खोज्दै छन् फोहोरको भारी पहिरोमा पुरिएका आफ्ना नारान

बल्ल–बल्ल भेट्टाएर आफ्ना नारान, चढाउँदै छन् फूलपाती, अक्षेता र भेटी

अनि भनिरहेछन् आफ्ना स–साना नाति–नातिनीहरुलाई

फोहोरको डंगुरभित्र निस्सासिँदै गरेको दउतासँग आशीर्वाद थाप्न

सधैंझैं भक्तहरुको ओइरो लागेको छ

र, लाममा देउताको दर्शन गर्न कुरिरहेको छ सहरका

प्रसिद्ध उद्योगपतिकी पत्नीसँग मर्निङ वाकमा निस्केको

अलि पुल्पुलिएको एउटा कुकुर !


३.

जो चुनावअघि फोहोरलाई मोहरमा बदलेर

यो सहरलाई समृद्ध, सभ्य र सुन्दर बनाउँछु भन्थे

भन्नलाई केही बाँकी नराख्ने नेताहरु जो छन्

कुनै विदेशी नेताको नक्कल गर्दै

यो सहरलाई स्मार्ट सिटी बनाउँछु भन्थे

भन्न त सिंगापुर र टोकियो पनि बनाउँछु भन्थे

तिनीहरुको दौड सकिएको छ

अर्को चुनावसम्मका लागि

तिनीहरुको योजना सकिएको छ

अर्को चुनावसम्मका लागि

तिनीहरुले आफ्नो घरको फोहोरसँगै

मिल्काईसकेका छन् फोहोरको डंगुरमा आफ्ना घोषणापत्रहरु !


४.

यो हो काठमाडौंको फोहोरको डंगुर

जहाँ पाइन्छ सबथोक

यहाँ मानिसहरुले आफ्नो दुःख पसिनाले आर्जेका चीजहरु छन्

बिनामिहिनेतले फोकटमा मिलेका, तर मन नपरेर मिल्काइएका वस्तुहरु यहीँ छन्

अरु त के

यो देशका शासकका अपराधका प्रमाण यहीँ छन्

आस्था र भक्तिका पूजनीय देव–देवता यहीँ छन्

आधा जलेका संविधानका किताबहरु यहीँ छन्

जनताले अत्यन्त घृणा गरेका नेताका च्यातिएका तस्बिरहरु यहीँ छन्

मानिसहरुलाई दिग्भ्रमित गर्न छापिएका चुनावी पर्चाहरु यहीँ छन्

स–साना नानीका खेलौनाहरु यहीँ छन्

रामायण यहीँ छ, कुरान यहीँ छ, बाइबल यहीँ छ

मार्क्सवाद, समाजवाद र गणतन्त्रका कीराले काटेका ठेलीहरु यहीँ छन्

यहीँ छन् युद्धमा प्रयोग गरिएका

खिया परेका बन्दुक र धार मरेका खुँडा, खुकुरी र खाकिका खुइलिएका युनिफर्महरु

बजेट भाषण र पञ्चवर्षीय योजनाका कुहिँदै गरेका प्रतिवेदन यहीँ छन्

यहीँ छन् अपराधीहरुलाई छुटाउन लेखिएका मिसिलहरु

घरी–घरी डेरा सर्दा कुनै कविले हराएको कविताको पाण्डुलिपि पनि यहीँ छ

यहीँ छन् अपार सम्पन्नताका परिचय दिने

आयातित महँगा रक्सीका खाली बोतलहरु

यहीँ छन् मर्मत नपाएर थन्केका

संसारका अत्यन्त महँगा उपकरण र पूरै प्रयोग नगरी फ्याँकिएका ब्रान्डेड प्रशाधनहरु

र, यहीँ छन् असह्य दरिद्रताका अवशेषहरु

यहाा रून्छ गरिबी ती कुकुरहरुसँग

जो रून्छन् रात चिसिँदै गर्दा आधारातमा विरक्त मानेर !

५.

विश्वकै नवीन चमत्कारजस्तो

काठमाडौंको फोहोरको डंगुर

जसमाथि चढेर अन्तर्राष्ट्रिय टीभी च्यानलको संवाददाताले

लाइभ प्रसारण गर्छ

विश्व समाचार

र, ठट्टाजस्तो समाचार हेरेर हाँसिरहेको छ एउटा दुनियाँ

काठमाडौंको फोहोरको डंगुर

जहाँबाट रोग फैलिएर कुनै उपचार नपाई

रोइरहेको छ अर्को दुनियाँ

काठमाडौंको फोहोरको डंगुर

जसलाई दिनहुँ खोस्रेर कवाडीवालाले मोतीहारीमा बनाउँछ सुन्दर घर

र, फर्कन्छ काठमाडौं अरु एक हूल कवाडीवालाहरु साथमा लिएर

काठमाडौंको फोहोरको डंगुर

जहाँ मानिसहरु आफ्नो घर सफा राख्न

देशभरि फोहोर फ्याँक्छन्

काठमाडौंको फोहोरको डंगुर

जसलाई हेरेर राजनीति गर्नेहरु बुन्छन् चुनावी षड्यन्त्र

र, जसलाई देखेर मुस्कुराउँछन् बिचौलियाका नाइकेहरु

लाग्छ, अब देश छिट्टै बर्बादीतिर लाग्दै छ !


६.

फोहोरबाट हावाले उडाएर ल्याएको दुर्गन्धलाई

परिचित गन्धजस्तो मानेर जब म सुाघ्छु

लाग्छ, अब म मेरै देशमा छु

फोहोरको उचाइ र फैलावट जब चुलिँदै र फैलँदै गरेको देख्छु

लाग्छ, अब म मेरै देशमा छु

म मेरै देशमा त छु !

प्रकाशित : भाद्र १८, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?