१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

अन्ना कारेनिनाको विद्रोही प्रेम

अन्ना शक्तिशाली, चेतनशील र वैचारिक छे । ऊ प्रेमलाई सामाजिक नैतिकतामा बाँध्न चाहन्न । प्रेम उसको दृष्टिमा प्रकृति हो, जसमा सामाजिक नियम र नैतिकताको हस्तक्षेप उसलाई स्वीकार्य छैन । यसै साता (सेप्टेम्बर–९) जन्मजयन्ती भएका लेखक लियो तोल्सतोयले उपन्यास ‘अन्ना कारेनिना’ मा देखाएका छन्– मानव समाज अनैतिकतामा भुलेर नैतिकता र सामाजिक नियमको झिल्के मखुन्डोमै रमाउँछ ।
अभय श्रेष्ठ

लियो तोल्सतोयको अमर पात्र अन्ना कारेनिनाबारे मनीष आजादको नाममा ह्यासट्याग गरिएको एउटा कविता फेसबुकमा निकै चर्चित छ । कविताअनुसार, समाजमा फेरि कोही अन्ना बन्ने कोसिस नगरून् भनेर तोल्सतोय लेख्न बस्छन् । तीस पृष्ठ लेख्दा–नलेख्दै अक्षरबाट फुत्त प्रकट भएर अन्ना उनको सामु उभिन्छे ।

अन्ना कारेनिनाको विद्रोही प्रेम

‘मप्रति तिमी किन यति कठोर छौ तोल्सतोय ?’ अन्ना सोध्छे ।

उनको जवाफ सीधा हुन्छ, ‘तिमीले बेइमानी गर्‍यौ ।’

‘कोसँग ?’

‘पति कारेनिन र समाजसँग । प्रेमी ब्रोन्स्कीका लागि तिमीले आफ्नै बच्चा छाडिदियौ । अनि तिमीप्रति म कसरी नरम बनूँ ?’

अन्नालाई यस्तो सुन्ने बानी परिसकेको थियो । अनुहारमा कुनै भाव प्रकट नगरी उसले प्रतिप्रश्न गरी, ‘बेइमानी के हो ? प्रेम के हो ? समाजको अर्थ के हो ?’ यसमाथि तोल्सतोयले आफ्नो बोझिलो दर्शन छाँटिदिए । अन्नालाई कुनै प्रभाव परेन । उसले भनी, ‘एक स्त्रीलाई के चाहिन्छ ? प्रेम र सम्मान । ब्रोन्स्कीले मलाई दुवै कुरा दियो । त्यसैले पतिलाई छाडेर म ऊसँग गएँ ।’

‘अनि आमाको कर्तव्य ?’ लेखकले सोधे ।

अन्नाले भनी, ‘कारेनिनले मेरो बच्चा मबाट खोसेको थियो । म आमा मात्र थिइनँ एक स्त्री पनि थिएँ । स्वतन्त्र स्त्री, प्रेम र आत्मसम्मानकी प्यासी ।’

‘तर, ब्रोन्स्कीले पनि त तिमीलाई धोका दियो । तिमीले के पायौ त ?’

‘यो कुरा तिमी ब्रोन्स्कीलाई नै सोध । मैले त मात्र निश्छल प्रेम गरेकी थिएँ ।’

‘अनि समाजमा यसरी नैतिकताको के हालत हुन्छ ?’

अन्ना अब उत्तेजित भई । ‘तिम्रो समाजमा नैतिकताका नाममा स्वतन्त्र स्त्रीको, उसको प्रेम र सपनाको सदैव घाँटी थिचिन्छ जसरी मेरो थिचियो । मेरो घाँटी थिचेर समाजको नैतिकता बच्यो ? साँच्ची भनूँ भने मैले केवल प्रेम गरेकी थिएँ, प्रवाहमय नदीजस्तै निश्छल प्रेम । भैगो, छाडौँ यी कुरा । बरु तिमी भन, मेरो ठाउँमा तिमी भएको भए के गर्थ्यौ तोल्सतोय ?’

तोल्सतोयले चुरोट सल्काए । बेचैनीमा बारम्बार कोठाको चक्कर लगाए । अनि सानो, तर गम्भीर आवाजमा भने, ‘तिमीले जे गर्‍यौ, त्यही गर्थें ।’ यति सुनेपछि अन्ना फेरि शब्दमै विलीन भई ।

विवाहेतर प्रेमको मूल्य

लेखनको उषाकालमा धेरै किताब पढेर कीर्तिमान बनाउने जोससाथ मैले तोल्सतोयको ‘अन्ना कारेनिना’ पहिलोपल्ट हिन्दीमा पढेको थिएँ । त्यसबेला मलाई यो उपन्यास निकै अराजक र भँडुवा लागेको थियो । लामो समय बहराइन बसेका कवि चन्द्र गुरुङले केही वर्षअघि मलाई यही किताब उपहार पठाए । रिचर्ड पेभियर र लारिसा भोलोकोन्स्कीद्वारा अंग्रेजीमा अनूदित किताबका झन्डै ९ सय पृष्ठ फेरि छिचोल्दा मलाई लाग्यो, यसले निम्त्याउने बहस सामान्य छैन । तोल्सतोय स्वयंले आफ्नो ‘पहिलो सच्चा उपन्यास’ मानेको ‘अन्ना कारेनिना’ किताबका रूपमा छापिएको झन्डै डेढ सय वर्ष अर्थात् १४४ वर्ष भयो । पहिले यो ‘रुसी दूत’ पत्रिकामा सन् १८७५ देखि १८७७ सम्म किस्ताबन्दीमा छापियो । एक वर्षपछि सन् १८७८ मा किताबका रूपमा प्रकाशित भयो । छापिएको केही समयमै यसको प्रसिद्धि विश्वभर फैलियो । आज ‘अन्ना कारेनिना’ सर्वकालीन महान् विश्व उपन्यासका रूपमा सर्वस्वीकृत छ ।

उपन्यासको इपिग्राफमा तोल्सतोय लेख्छन्, ‘मेरो प्रतिशोधको मूल्य म आफैं तिर्छु ।’ त्यस्तै, पहिलो अध्यायको पहिलो वाक्यमा उनी लेख्छन्, ‘सबै सुखी परिवार उस्तै लाग्छन्, प्रत्येक दुःखी परिवार आ–आफ्नै तरिकाले दुःखी हुन्छन् ।’ यसले नै संकेत गर्छ, आठ भागमा विभाजित, २३९ अध्यायको लगभग ९०० पृष्ठ लामो यो उपन्यास रुसी साम्राज्यको युगमा सुख र दुःख, प्रेम र बेइमानी, सहर र गाउँ अनि विवाह र विवाहेतर सम्बन्धको वरिपरि घुम्छ । उपन्यासले उच्च वर्गको पाखण्ड र बहानाबाजीलाई छताछुल्ल पारिदिन्छ ।

यो त्यतिखेरको कथा हो, जतिखेर रुसमा सम्राट् अलेक्जेन्डर द्वितीयले थालेको उदारवादी सुधारका परिणामहरू देखापर्न थालेका थिए । पुँजीवादको विकाससँगै विस्तारै व्यापारिक क्षेत्रमा नवकुलीनहरू उदय भएका थिए । भूमिमा आधारित कुलीनतन्त्र ओरालो लागिरहेको थियो । अटोमन साम्राज्यसँग रुसी सेनाको द्वन्द्व चलिरहेको थियो र महिलासम्बन्धी मुद्दाहरू तीव्र गतिमा उठिरहेका थिए । उपन्यासका पात्रहरू यिनै विषयमा बारम्बार बहस गर्छन् । उपन्यासको सुरुमै मास्कोवासी कुलीन तथा निजामती कर्मचारी स्तेपन अर्कादेयभिच ओब्लोन्स्की (स्तिभा) को पारिवारसँग पाठकको साक्षात्कार हुन्छ । घरकै कामदार महिलासँग स्तिभाको सम्बन्धका कारण पत्नी दार्या आलेक्सान्द्रोभ्ना (डली) पारपाचुके गर्ने मनस्थितिमा पुग्छे । दाजु–भाउजूबीच सम्बन्धको तनाव साम्य पार्न पिटर्सबर्गबाट अन्ना अर्कादेभ्ना कारेनिना मास्को आइपुग्छे । आफ्नो उद्देश्यमा ऊ सफल पनि हुन्छे । तर, मास्को आउने क्रममा ऊ आफैं एक सुगठित युवक ब्रोन्स्कीसँग आकर्षित हुन पुग्छे । सेनाको अधिकृत त्यो अविवाहित युवक आफ्नी आमालाई लिन रेलवे स्टेसन आएको हुन्छ । अन्नालाई थाहा थिएन, दाजु–भाउजूबीच जुन भुमरी पन्छाउन ऊ यहाँ आएकी थिई, थाहै नपाई ऊ आफैं त्यही भुमरीमा फसिसकेकी थिई ।

अन्ना आफूभन्दा बीस वर्ष जेठो उच्चपदस्थ कर्मचारी आलेक्सेई आलेक्सान्द्रोभिच कारेनिनसँग विवाहित हुन्छे, जो हदै पुरानो विचार बोकीहिँड्ने, झूट र पाखण्डमा रमाउने, प्रेम र आत्मसम्मानको भाषा पटक्कै नबुझ्ने कथित कुलीन समाजको सदस्य हुन्छ । यस्तो स्थितिमा ब्रोन्स्कीजस्तो आकर्षक र प्रेमिल स्वभावको युवकसँग सुन्दरी, जवान, प्रेमरसले भरिएकी, सुशिक्षित र बालसाहित्य स्रष्टा अन्ना आकर्षित हुनु स्वाभाविक थियो । तर, ब्रोन्स्की डलीकी बहिनी किट्टीसँग पनि प्रेमको पोयो बाटिरहेको हुन्छ । स्तिभाको गाउँले जमिनदार साथी लेभिन किट्टीसँग बिहे गर्न चाहन्छ । किट्टी र उसको परिवार भने ब्रोन्स्कीको अगाडि अत्यन्त तुच्छ ठानेर लेभिनलाई अस्वीकार गर्छन् । यता अन्ना र ब्रोन्स्कीको सम्बन्ध थाहा पाएपछि किट्टीको सपना चकनाचुर हुन्छ । पछि लेभिनसँगै उसको विवाह हुन्छ ।

दाजु–भाउजूबीच मेलमिलाप गराएर अन्ना पिटर्सबर्ग फर्कंदै गर्दा ब्रोन्स्की उसलाई पछ्याउँछ । पिटर्सबर्ग पुगेर पनि ऊ अन्नालाई छाड्ने नामै लिँदैन । अन्नाले आफूलाई छाड्न कति अनुरोध गर्दा ऊ भन्छ, ‘तिमी र म बेग्लै मान्छे हौँ भन्ने नै म सोच्न सक्दिनँ । मेरा लागि म र तिमी एकै हौँ ।’ प्रेमकी प्यासी एक महिला प्रेमिल युवकको यस्तो आह्वानबाट प्रभावित हुनु स्वाभाविक थियो । उनीहरूबीच प्रेम बढ्दै जान्छ । पति कारेनिन अन्नालाई सचेत गराउँछ । तर, अन्नाका लागि ब्रोन्स्की अनिवार्य भइसकेको हुन्छ । ऊ ब्रोन्स्कीबाट छोरी जन्माउँछे । उनीहरूको सम्बन्ध समाजमा छिःछिः दूरदूरको विषय बन्छ । स्वाधीन प्रेममय जीवनको खोजीमा यो प्रेमविरोधी समाजबाट अलग भएर अन्ना नौवर्षे छोरालाई समेत छाडेर ब्रोन्स्कीसँगै इटाली पुग्छे । बिस्तारै ब्रोन्स्की अन्नासँग दिक्क हुन थाल्छ । उनीहरू फेरि रुस फर्कन्छन् ।

ब्रोन्स्की खासमा जीवनको सौन्दर्यप्रति सचेत र संवेदनशील मान्छे नै थिएन । उसकी आमा स्वच्छन्द स्वभावकी सम्भ्रान्त महिला थिई, जसको कैयन् पुरुषसँग शारीरिक सम्बन्ध थियो । ब्रोन्स्कीमा आमाकै स्वभाव सरेको थियो, जसको जिन्दगी खानु, पिउनु, विलास गर्नुमै सीमित थियो । विवाह संस्थाप्रति उसको कुनै विश्वास थिएन । रुस फर्केर पिटर्सबर्गमा उनीहरू एउटा होटलमा बस्छन् । अन्नाजस्ती उदात्त र संवेदनशील स्त्रीका लागि विवाहेतर सम्बन्धमा कुनै पछुतो हुँदैन । उसको दुःखान्त के मात्र भने जसरी ब्रोन्स्की समाजमा खुल्लमखुला हिँड्थ्यो, यस स्थितिमा पनि समाजमा ऊमाथि कुनै प्रतिबन्ध थिएन, अन्ना आफूलाई पनि त्यही सामाजिक स्वीकृति चाहन्छे । ऊ प्रेमको वास्तविक प्रकृतिमा बाँच्न चाहन्छे । विवाह, समाज, नैतिकता मानवनिर्मित कुरा हुन् । प्रेम र यौन त प्रकृतिमै छन् । मान्छेको यही प्राकृतिक प्रेमकै कारण समाजमा उसले घृणित भएर बाँच्ने स्थिति उसलाई अस्वीकार्य हुन्छ । नाट्यशालामा उसलाई देख्दा ती सम्भ्रान्त महिला नाटक छाडेर हिँड्छन्, जो स्वयं कैयन् पुरुषसँग लुकीछिपी सम्बन्ध राख्थे । उनीहरू आफ्ना पतिप्रति पूर्ण वफादार भएको झूट प्रदर्शन गर्न सफल थिए र समाजमा इज्जतदार कहलिन्थे । अन्नालाई यस्तो नक्कली समाजप्रति घृणा हुन्छ । ऊ आत्माले उचित देखेको कुरा खुल्लमखुला गर्न चाहन्छे । पिटर्सबर्गमा आफ्ना लागि कुनै स्थान नभएपछि उनीहरू नजिकै रहेको ब्रोन्स्कीको मौजामा जान्छन् । ब्रोन्स्की अन्य महिलासँग लहसिएको र आफूलाई बेवास्ता गर्न थालेको महसुस भएपछि अन्ना पतिसँग पारपाचुके माग्छे र ब्रोन्स्कीसँग बिहे गर्न चाहन्छे । तर, पति सम्बन्ध विच्छेदभन्दा मृत सम्बन्धको मफलर ओढिराख्नुलाई नै इज्जत ठान्छ । ब्रोन्स्कीसँग पहिलो भेट भएकै दिन रेल सेवाको एक मजदुर लिकमा खसेर मरेको थियो । त्यसलाई अन्नाले अशुभ संकेत ठानेकी थिई । उसको दिमागमा त्यही दृश्य घुमिरहन्छ । अन्ततः समाज, प्रेमी, पति, परिवार सबैबाट तिरष्कृत भएपछि अवसादको पल्लो फालमा पुगेर ऊ कुदिरहेको मालवाहक रेलअगाडि फाल हालेर आत्महत्या गर्छे ।

यही नै उपन्यासको अन्त्य भने होइन । स्वयं तोल्सतोयको प्रतिमूर्तिझैं लाग्ने लेभिनको नैतिक रूपान्तरणको विस्तृत वर्णन, उसको लेखक भाइ सर्गेई इभानोभिचको पछिल्लो किताबको असफलता, ब्रोन्स्की सम्मिलित युद्धदस्ता रसिया–तुर्किस्तान युद्धका लागि गमन लगायत तत्कालीन रुसी समय र इतिहाससँग साक्षात्कार गर्न भने पूरा उपन्यास पढ्नैपर्छ ।

पूर्वपीठिका

प्रेम र सम्मानकी प्यासी एक महिलाको सम्बन्धले निम्त्याउने त्यही दुःखान्त आज पनि उत्तिकै बहसको विषय बनिरहेछ । सन् १८६९ मा ‘युद्ध र शान्ति’ जस्तो विशाल उपन्यास प्रकाशित भएपछि तोल्सतोय एकाएक संसारका महान् लेखकको अग्रपंक्तिमा गनिए । यसलगत्तै उनी पिटर महान्बारे उपन्यास लेख्न चाहन्थे । साथै पौराणिक कथालाई आधुनिक सन्दर्भमा ढालेर लेख्ने तयारी गरिरहेका थिए । भनिन्छ, यसैबेला उनी एउटा विभत्स दृश्यका साक्षी भए । रुसी सेनाका एक कर्णेलकी सुन्दरी छोरी अन्ना जाइकोभाले असफल प्रेमका कारण रेलको लिकमा फाल हालेर आत्महत्या गरिन् । अन्नाको छिलबिल भएको रक्ताम्मे शरीर देखेर तोल्सतोय भित्रैदेखि काम्न थाले । अन्नाजस्ता सुन्दर युवती किन आत्महत्या गर्न बाध्य छन् ? यही प्रश्नले इतिहास र पुराणबाट उनको सोच समकालीन समाजमा मान्छेका संघर्ष, आशा, निराशा, आन्तरिक इच्छा, प्रेम र बेइमानीतर्फ केन्द्रित भयो । भनिन्छ, यस उपन्यासका केही पृष्ठ लेख्दालेख्दै उनी अन्नासँग समानुभूति गर्न थालिसकेका थिए । एकपल्ट उनी कतै सिँढी चढिरहेका थिए । माथिबाट एक महिला ओर्लंदै थिइन् । तोल्सतोय एकातिर खुम्चिएर उभिए । अचम्भित हुँदै महिलाले सोधिन्, ‘महाशय, यहाँ प्रशस्त ठाउँ छ, तपाईं यसरी किन पन्छिनुभयो ?’ जवाफमा तोल्सतोयले भनेछन्, ‘मसँगै अन्ना पनि त छिन् !’

अन्नाको दुःखान्त

उपन्यास छापिएको १४४ वर्ष भइसक्दा पनि अन्नाको जस्तो उदात्त चरित्रलाई स्वीकार्न सक्ने नैतिक साहस कुनै पनि समाजमा देखिँदैन । पुरुषको त्यही चरित्रलाई भने सर्वत्र सामाजिक अनुमोदन छ । यथार्थवादी साहित्यको धाराबाट नैतिकतावादी धारातिर ढल्किसकेपछि पनि बुढेसकालमा तोल्सतोयले आफ्ना कामदार किसानकी पत्नीबाट ठिम्याहा छोरा जन्माएका थिए । त्यो छोरालाई उनले छोराको अधिकार दिएनन् । उसलाई केवल ब्याइते पत्नीको छोराको बग्गी चालक बनाए । किशोर र युवाकालमा यास्नाय पोल्यानाका महासामन्तका छोरा तोल्सतोयले किसान कन्याहरूको अस्मितामाथि धेरै खेले । तोल्सतोय ६८ वर्षका हुँदा उनकी पत्नी सोफिया ५२ वर्षकी थिइन् । सोफिया त्यतिखेर तानायब नामका संगीतकारसँग लहसिइन् । ‘अन्ना कारेनिना’ जस्तो उपन्यास लेखिसकेका तोल्सतोयले सोफियालाई छाड्ने धम्की दिए । सोफिया डराइनन्, तानायबसँग उनको सम्बन्ध जारी रह्यो । वृद्धोन्मुख सोफियाको राँकिदो प्रेम थामिनसक्नु भएपछि संगीतकार आफैँ टाप कस्यो । (पश्चिमका केही महान् साहित्यकार, ताना सर्मा) ।

‘अन्ना कारेनिना’ भन्दा २६ वर्षअघि सन् १८५६ मा गुस्ताब फ्लुबर्टको उपन्यास ‘म्याडम बोभारी’ छापियो । उपन्यासमा पुँजीवादमा प्रवेश गर्दै गरेको फ्रान्सेली समाजमा एउटी महत्त्वाकांक्षी महिला एम्माको अनगिन्ती विवाहेतर सम्बन्ध र खर्चालु स्वभावले निम्त्याउने दुःखान्त कथा छ । महिला स्वतन्त्रताबारे चर्चा हुँदा हेनरिक इब्सेनको नाटक ‘पुतलीको घर’ को पनि उत्तिकै चर्चा हुन्छ । नाटककी प्रमुख पात्र नोरा लोग्नेका लागि आफू पुतलीभन्दा बढी केही होइन भन्ने बोध भएपछि घर छाडेर हिँड्छे । एम्मा विवाहेतर सम्बन्ध राखे पनि त्यसलाई सार्वजनिक गर्दिन । नोराले त समाजमा अनैतिक ठानिने कुनै कामै गरेकी हुँदिन । सन् १९२९ मा छापिएको डीएच लरेन्सको ‘लेडी च्याटरलिज लभर’ नारी स्वाधीनताको अर्को दुःसाहसिक उपन्यास थियो । शारीरिक अशक्त पतिकी पत्नी कोन्स्सटान्स रिडले परपुरुषसँग बनाएको सम्बन्धको कथाको महत्त्व बेग्लै छ । तथापि यी तीन पात्रभन्दा अन्ना धेरै शक्तिशाली, चेतनशील र वैचारिक छे । ऊ प्रेमलाई सामाजिक नैतिकतामा बाँध्न चाहन्न । प्रेम उसको दृष्टिमा प्रकृति हो, जसमा सामाजिक नियम र नैतिकताको हस्तक्षेप उसलाई स्वीकार्य छैन । तर, मानव समाज त आफैं अनैतिकतामा लठारिएर नैतिकता र सामाजिक नियमको झिल्के मखुन्डोमै रमाउँछ । अन्नाको दुःखान्तको मूल कारण नै त्यही बन्छ । अन्नाजस्ती विद्रोही महिलालाई सायद मनीष आजादको कवितामा मात्र न्याय मिल्छ ।

प्रकाशित : भाद्र १८, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?