तिमिराच्छन्न काल
फेरि खुल्छ समयको पुरानो चिहान,
यादका अस्थिपञ्जरहरु ब्युाझिन्छन्,
मनको गुाडमा अतीतका पन्छी
फेरि फर्केर आउँछन्,
फेरि राँकिन्छ आकाशको आँखा,
बडो जोसले देखेको सपना
दिवसको सफरमा कतै हराएपछि
आज पनि मलिन मुहारको घाम
घोसे मुन्टो लगाएर
लुरूलुरू ओर्लिन्छ
र कुइनेटोमा पुगेर हराउँछ ।
यतिखेर,
बतास सुवास हराएर कतै
चिसो सिरेटो बिसाउन आइपुगेको छ भञ्ज्याङमा,
पहाड गम्लङ्ग कालो पछ्यौरी ओढ्छे,
सङ्गीत हराएको पातमा
अन्धकारको जाँतोबाट मौनता चुहिन थाल्छ,
जुनकीरीको पिलपिल स्थिर हुन्छ,
र निख्खर कालो विन्दुमा बदलिन्छ,
सधैं चम्किरहने ताराहरु तमसमा बेरिन्छन् ।
क्षितिजतिर हेर्छु–
सेतो हिमाल हो या कालो चट्टान हो त्यो ?
नदी हो या निश्चल, तर ज्युँदो अजिङ्गर ?
जून हो या फुलो परेको आँखा ?
बादल हो या धराको घाँटीमा परेको गाँठो हो त्यो ?
देख्छु– त्रासको बाक्लो जामा लगाएर निर्धक्क छ काल
र, यो बस्तीको वरिपरि रोलर कोस्टरझैं फन्फनी घुमिरहेछ ।
आमाको मनतातो काख छुटेको बालकझैं म भने
आशको घाम कहिले उदाउला– पर्खिरहेछु,
सायद यो रात निकै लामो हुनेछ ।
प्रकाशित : भाद्र ४, २०७९ ०८:४२