कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नृत्यहरूको परिवर्तनचक्र

अरुणा उप्रेती

लेखक शैलीका छेत्रीको रजोनिवृत्तिमाथिको अनुसन्धानमूलक लेख ‘हर्मोनहरूको कस्मिक नृत्य’ (कोसेली, जेठ २०, २०७९) पढेपछि म आफ्नै पुराना दिनहरूमा फर्किएँ । ‘आवर बडी आवर सेल्भ’ किताब पढेपछि मैले रजोनिवृत्तिलाई झनै बुझेँ । यो किताबले मलाई रजोनिवृत्तिले हाम्रो संस्कृति, विचार अनि व्यवहारलाई असर पारेका तथ्यसित अवगत गरायो । नेपाली महिलामा रजोनिवृत्तिबारे जागरूकता पलाउन लाजका हजारौं घेरा पार गर्नुपर्ने स्थिति छ । किशोरी स्वास्थ्य, स्त्री गर्भपतन, स्त्रीस्तन क्यान्सर, पाठेघर क्यान्सर नबुझी रजोनिवृत्ति बुझिँदैन । 

नृत्यहरूको परिवर्तनचक्र

पहिले भ्रम थियो– रजोनिवृत्तिपछि स्त्रीको मृत्यु निश्चित छ । तर, वैज्ञानिकको प्रामाणिक खोजले भनेको छ, ‘रजोनिवृत्तिपछि पनि स्त्री थप २५ वर्ष बढी बाँच्न सक्छन् । यसरी स्त्रीको कुल आयु ७२ वर्ष हो भनी बुझ्नुपर्छ ।’ तर, यी सबै तथ्य स्त्रीको जागरूक विवेकमा निर्भर हुन्छ । लेखक शैलीकाले ‘हार्मोनहरूको कस्मिक नृत्य’ मा दार्शनिक ढंगले ‘रजोनिवृत्ति’ विषयमा विमर्श गरेकी छन् । उनले लेखेकी छन्, ‘त्यो हार्मोन एस्ट्रोजन अनि प्रोजेस्टेरनको कस्मिक नृत्य नै हो, जसले स्त्री शरीरलाई लगातार परिवर्तन भोगाइरहन्छ ।’ यस्ता हर्मोनहरूको प्रभावप्रति व्यावहारिक ज्ञान प्राप्त गरे रजोनिवृत्तिलाई सुन्दर–सहज बनाउन सकिन्छ ।

रजोनिवृत्ति–भोगाइ

अहिले म ६१ वर्षकी भएँ । ५० वर्षकी हुँदा मेरो रजोनिवृत्ति भयो, यसले मलाई उति असर पारेन । विज्ञानले भनेअनुसार, प्रत्येक स्त्रीको शरीर समान हुँदैन अनि प्रत्येक स्त्रीले भोग्दै आएको रजोनिवृत्ति तथा पिरियड समस्या पनि छुट्टै हुन्छ । सायद त्यसैले अमेरिका बस्ने मेरी साथी कमलाले रजोनिवृत्तिका बेला निकै कष्ट सहिन् । ६ महिनासम्म रक्तप्रवाह सहन गरेपछि डाक्टरले उसलाई पाठेघर निकाल्ने शल्यचिकित्साबारे बताए । मलाई सम्झना छ, जतिखेर मेरी आमा ४४ वर्षकी थिइन् उनले पनि कमलाको जस्तै समस्या अनुभव गरेकी थिइन् । तर, दिनहुँ योगाभ्यास, स्वास्थ्यकर भोजन र सकारात्मक सोचले डाक्टरको औषधिबिनै कमलाको समस्यालाई जितिन् ।

मलाई लाग्छ– हर्मोनहरूको कस्मिक उतारचढावलाई सकारात्मक दृष्टिकोणले सहज बनाउन सकिन्छ । त्यसैले रजोनिवृत्तिसँगै देखापर्ने समस्यासित लड्न प्रत्येक किशोरीले किशोरावस्थाबाटै जीवनशैलीमा बदलाव ल्याउनुपर्छ । रजोनिवृत्तिबारे पुरुषलाई पनि बुझाउनुपर्छ, कारण दाम्पत्य जीवनमा यसले अमिलो खटपट उब्जाएको हुन्छ ।

१० वर्षअघि मेरी ४५ वर्षकी साथीले भनेकी थिई, ‘अरुणा, मैले महिला समूहमा काम गर्दा रजोनिवृत्ति समस्याले स्त्रीमा विशेष प्रभाव पारेको तथ्यहरू भेटें । तीन वर्षअघि मेरो पनि महिनावारी बन्द भयो । तर, यसले मेरो शारीरिक–मानसिक गठनमा उति प्रभाव पारेन ।’ मेरो भोगाइ पनि साथीकै जस्तो छ । महिनावारी बन्द भएको तीन वर्षसम्म मलाई रजोनिवृत्तिले खासै समस्या देखाएन । हुन सक्छ, यो मेरो बदलिएको जीवनशैलीको फल थियो । गाउँघरमा कतिपय स्त्री हुन्छन्, जसलाई गृहस्थीकै समस्याले जेलिरहेको हुन्छ र उनीहरूलाई रजोनिवृत्तिले कुनै तनावै दिँदैन । रजोनिवृत्ति त्यहाँ समस्या त हो, तर त्यो आत्मसात् गर्ने समय ती घरेलु स्त्रीमा हुँदैन ।

हाम्रा गाउँघरतिर रजोनिवृत्तिपछि पनि महिलाहरू युवाझैं गृहस्थमा खटिइरहेकै हुन्छन् । तर, यस्तो पश्चिमी संस्कृतिमा छैन । त्यहाँ रजोनिवृत्तिपछि स्त्रीमा यौवन सकिएको विषयमा चर्चा हुन्छ । मेरी एक साथीले भनेकी थिई, ‘मेरो महिनावारी बन्द भएको चार वर्ष भयो । सुनेको थिएँ, रजोनिवृत्तिले स्त्रीमा रक्तप्रवाह बढाउँछ, निद्रामा कमी गराउँछ, बेकारण रिस उठ्छ । तर, खै मलाई कुनै पनि समस्याले च्यापेन । मेरी आमा र काकी पनि रजोनिवृत्ति समस्याबाट टाढै थिए ।’

मेनोपज र इतिहास

मान्छेअनुसार रजोनिवृत्ति कसैलाई ४०–४२ को उमेरमा, कसैलाई ४९ मा वा कसैलाई ५५ मा देखापर्न सक्छ । एरिस्टोटलले पनि रजोनिवृत्तिको उमेर ४० वर्ष भएको उल्लेख गरेका छन् । एक फ्रान्सेली चिकित्सकले सन् १८२१ मा ‘रजोनिवृत्ति’ शब्द प्रचनलमा ल्याए । १९ औं शताब्दीको मध्यतिर रजोनिवृत्तिमा चिकित्सा रुचि निकै बढ्यो ।

सन् १९९० तिर रजोनिवृत्तिलाई केही खास तत्त्वको कमीले हुने रोग भनियो । त्यसैले चिकित्सा प्रणालीले भन्यो– रोग ठीक पार्न जनावरको अण्डाशय कुटेर निकालिएको रस सेवन गर्नुपर्छ । कतिपय शल्य चिकित्सकले ‘महिलाहरूको अण्डाशय बिग्रेकाले महिनावारी रोकिएको’ विश्वास गरे र महिलाको अण्डाशय नै निकाल्ने विचार पनि राखे । तर, १९२० तिर जतिखेर हर्मोनबारे ज्ञान विकसित भयो, त्यसपछि कतिपय वैज्ञानिक प्रयोग र प्रमाणले भने– रजोनिवृत्ति कम गर्न सकिन्छ । र, यसरी १९७६ तिर फ्रान्समा पहिलोपटक रजोनिवृत्तिबारे एउटा अधिवेशन सम्पन्न भयो । त्यसपछि सबैले बुझे– रजोनिवृत्ति एक रोग होइन, यो एक हर्मोन परिवर्तन मात्रै हो, जो समयसँगै सहज बन्दै जान्छ ।

रजोनिवृत्ति : गाउँ र सहरमा

कान्ति गिरीले ‘मेनोपज सिस्टम इन नेपाल’ नामक सन् २००१ मा गरेको अध्ययनमा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका एक सय पचास महिला छानेकी थिइन् । अध्ययनमा कतिपय महिलामा ढाड अनि टाउको दुख्ने समस्या बढी भेटियो, तर यो समस्या रजोनिवृत्तिले नै हो, भन्ने विश्लेषणचाहिँ भेटिएन । यसपछि नेपालमा सानो स्तरमा खोजी हुँदा ढाड दुख्ने अनि सुक्खा छाला हुने आदि समस्याबारे महिलाले कुरा गरे । तर, राष्ट्रिय स्तरमा चाहिँ यसको खास अध्ययन भएन ।

गाउँका सय जना स्त्रीसँग रजोनिवृत्तिबारे गरिएको अनौपचारिक बातचितमा उनीहरूले रजोनिवृत्तिलाई उमेरसित भइजाने स्वाभाविक प्रक्रिया ठानेको पाएँ । उनीहरू सोच्थे– परिवार नियोजनको अस्थायी साधन (डिपो वा नरप्लान्ट) लामो समय प्रयोग गर्दा महिनावारी आफैँ बन्द भएको हो । तर, ४५–५० को उमेरसम्म पनि परिवार नियोजनका साधन प्रयोग गर्दै आएर, महिनावारी छिट्टै बन्द भएको हो कि ? ३५ वर्ष पुगेपछि परिवार नियोजन प्रयोगप्रति स्त्रीलाई पूर्णतह जागरुक बनाएको असल हुन्छ । कारण यस्तै अनभिज्ञतामा स्त्रीले रजोनिवृत्तिको अवधितिर कैयौं समस्या भोग्नुपरेको हुन्छ । चुरोट, सुर्ती, बिँडीको ज्यादै सेवन गरेको हेतु रजोनिवृत्ति समस्या बढी देखिएको पाइएपछि थाहा लाग्यो– नेपाली समाजमा रजोनिवृत्तिबारे खुला विचार–विमर्शका कार्यक्रम हुनैपर्छ । कारण महिनावारी बन्द भएको प्रक्रिया शरीरमा एकैपल्ट देखिँदैन । सुरुवातमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुनेगर्छ । यो महिनावारी बन्द हुने प्रक्रिया हो भनेर ज्ञान नभएका कैयौं स्त्रीलाई लाग्दोरहेछ– ‘मलाई रोग लागेछ’ । यही डरमा आफूलाई क्यान्सर रोगी ठानेको तनावग्रस्त स्थितिमा मैले कैयौं स्त्री भेटें ।

प्रकृतिले स्त्रीलाई पुरुषभन्दा ज्यादै तनाव सहन गर्ने क्षमता दिएको छ । त्यसैले कतिपय स्त्री तनावमुक्त बन्न बगैंचामा काम गर्छन्, प्रार्थनामा मन लगाउँछन्, योगाभ्यास, ध्यान र नृत्यकलामा आफूलाई व्यस्त बनाउँछन् । यस्तो क्रियाकलापले पनि स्त्रीलाई तनावमुक्त जीवन जिउन सघाउँछ ।

जीवन एक परिवर्तनचक्र हो, सबैमा परिवर्तनको छुट्टै अनुभव हुन्छ । हर्मोनहरूको अनौठो ‘कस्मिक नृत्य’ बारे जागरुक बनौं । रजोनिवृत्ति रोग वा समस्या होइन । रजोनिवृत्तिसँगै सहज तरिकाले जिउने कला जानेमात्रै जीवनको अर्थबोध हुनेछ ।

प्रकाशित : भाद्र ४, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?