कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कथा र पात्र

‘जतिन्जेल मर्दिनँ, त्यतिन्जेल बाँच्नैपर्छ’

सलमान रुस्दीको जिन्दगीले उनैमाथि अर्को उपन्यास लेख्यो । आफ्नै उपन्यासका पात्रझैं परिचय फेरेर उनले ११ वर्ष बाँच्नुपर्‍यो । रुस्दी पटकपटक मर्न मात्रै होइन, चुप लाग्न पनि इन्कार गर्ने लेखक हुन् । जतिन्जेल मर्दैनन्, त्यतिन्जेल उनी बाँच्नैपर्छ र बोल्नैपर्छ । 
इस्लाम धर्म मान्नेहरूले भनेका छन्– उपन्यासमा ‘प्रोफेट’ मोहम्मदसँग जोडिएका स्वैरकाल्पनिक उपकथाले उनीहरूको आस्थाको अपमान गरेको छ । यसरी कुनै विषयमा जब धार्मिक संवेदनशीलता जोडिन्छ तब त्यसमा ‘वस्तुगत’ त के, प्राज्ञिक विमर्श गर्नसमेत अप्ठ्यारो हुन्छ ।
विष्णु सापकोटा

म १६ वर्षको थिएँ । विश्व पुँजीवाद अहिलेजति आक्रामक भइसकेको थिएन । त्यसैले हुन सक्छ, फेब्रुअरी– १४ को दिनलाई पश्चिमा देशमा ‘भ्यालेन्टाइन्स् डे’ भन्छन् भन्ने मलाई त्यतिबेला थाहा थिएन । तर, सन् १९८९ को फेब्रुअरी १४ अघिल्ला वर्षहरूको भन्दा चर्चित थियो । र, चर्चाको कारण प्रेम नभई ‘घृणा’ थियो ।

‘जतिन्जेल मर्दिनँ, त्यतिन्जेल बाँच्नैपर्छ’

इरानका सर्वोच्च नेता आयतुल्ला खुमेनीले त्यस दिन सलमान रुस्दीको ज्यान लिन ‘फतवा’ जारी गरेका थिए । फतवाको कारण थियो– पाँच महिनाअघि, १९८८ सेप्टेम्बरमा प्रकाशन भएको रुस्दीको विवादित उपन्यास– ‘द सटानिक भर्सेस’ ।

न्युयोर्कको एक सार्वजनिक कार्यक्रमको मञ्चमा अघिल्लो शुक्रबार उनीमाथि भएको झन्डै ज्यान लिने आक्रमणका कारण उनै रुस्दी अहिले फेरि संसारभर समाचारका शीर्षक बनेका छन् । खबर सुनेकै रातिदेखि उनको ‘मास्टरपिस’ ‘मिडनाइट्स चिल्ड्रन’ देखि त्यही विवादित ‘द सटानिक भर्सेस’ र ‘जोसेफ यान्टोन’ नामको आत्मवृत्तान्तदेखि पछिल्लो कृति ‘ल्याङ्वेजेज अफ ट्रुथ’ पढ्दाका स्मृति मेरो मस्तिष्कमा घुमेका घुम्यै छन् । कोही ‘पोलिटिकल्ली करेक्ट’ हुन खोजेर होला र कोही किन संवेदनशील विषयमा हात हाल्ने भनेर जोगिन खोजेर पनि हुन सक्छ वा कतिपय देशमा प्रतिबन्ध लगाएका कारण किताब सहजै नपाइने भएर पनि होला, औपन्यासिक कृतिका रूपमा ‘द सटानिक भर्सेस’ को चर्चा सार्वजनिकभन्दा प्राज्ञिक संस्थाका बन्द कक्षामा धेरै हुने गरेको छ ।

भारतमा समेत प्रतिबन्धित भएको यो पुस्तक त्यतिबेला पोखरामा पढ्दै गरेको मैले संयोगवश १९८९ मै नजर गर्न पाएको थिएँ । म ‘आईए’ पढ्दै गर्दा मेरो गाउँका दाइ भुपेन्द्रजंग केसी पृथ्वीनारायण क्याम्पसमा ‘बीएल’ पढ्थे । ‘बिएल’ पढ्नेहरूका दाँजोमा उनको अंग्रेजी राम्रो थियो र चर्चित पुस्तक पढ्न उनको लगाव थियो । पढ्नु/नपढ्नु एउटा कुरा, पढेर बुझ्नु/नबुझ्नु अर्को । तर, त्योबेला ‘द सटानिक भर्सेस’ हात पार्नु भनेको साथीभाइबीच गफ लगाउन चानचुने विषय थिएन । उनले कताबाट त्यो किताब हात पारेका रहेछन् कुन्नि ! त्यसरी किताब हात लाग्नुको महत्तामाथि पूर्ण सचेत भुपेन्द्र धेरै दिनसम्म जतै जाँदा पनि त्यो पुस्तक साथै लिएरै हिँड्थे ।

एक दिन डुल्दै उनी तेर्सापट्टिको मेरो डेरामा आइपुगेका बेला मैले किताब च्याप्प समातेर अनुनय गरेँ, ‘मलाई दिनु न पढ्न ।’ उनले भने, ‘तिमिलाई म एक दिनका लागि दिन सक्छु । किनकि मैले जोसँगबाट ल्याएको हुँ, उसलाई फर्काउने बेला भइसक्यो ।’ मैले दंग परेर एक दिनका लागि किताब राखें । एक रातमा जति पन्ना पढे पनि त्यसको छेउटुप्पो फेला पार्ने सम्भावना थिएन । तर, विद्यार्थी जीवनका धेरै वर्ष त्यो विषय गफ लगाउन मलाई त्यो रात उपयोगी भयो । मैले उक्त उपन्यास खास पढेको भने त्यसको एक दशकपछि रुस्दी नै पढेको क्याम्ब्रिज विश्वविद्यालयमा आफू पनि विद्यार्थी भएर गएपछि हो । भूमिगत अवस्थाकै रुस्दी एक दिन ‘लुकेर’ क्याम्ब्रिजमा एउटा विशेष लेक्चर दिन आएका थिए, १९९९ मा– कडा सुरक्षा व्यवस्थाबीच । १९८९ देखि नै बेलायतले उनलाई उच्च सुरक्षासाथ लुकाएर राखेको थियो । उनलाई अदृश्य राख्न प्रहरीले एउटा नयाँ नाम रोज्न लगाएको थियो । र, उनले रोजेको नाम थियो– जोसेफ यान्टोन । लेखक जोसेफ कोनराडको ‘जोसेफ’ र साहित्यकार यान्टोन चेखवको ‘यान्टोन’ बाट जुराएको उनको नयाँ परिचय ।

फाइल तस्बिर : रोयटर्स

मेरो आफ्नै नाममा ‘द सटानिक भर्सेस’ को जुन प्रति घरमा छ, त्यसको कथा पनि त्यत्तिकै मार्मिक छ । जतिबेला भुपेन्द्रले मलाई त्यो किताब पोखरामा एक दिनका लागि दिएका थिए, मेरी सुदूर भविष्यकी श्रीमतीका माइला हजुरबुवा अच्युत घिमिरे त्यतिबेला अमेरिका पुग्नुभएको रहेछ । संसारभर चर्चा भइरहेको त्यो पुस्तक उहाँले त्यतिबेलै अमेरिकाबाट किनेर नेपाल ल्याउनुभएको रहेछ । धेरैलाई नभनी दशकौंसम्म सुरक्षित राखेको उपन्यास, पाँच वर्षपहिले एक दिन झम्सिखेलको उहाँको घर गएका बेला अकस्मात् निकालेर मलाई दिनुभयो– सधैंका लागि राख्नू भनेर । त्यसको वर्षदिन नहुँदै उहाँ बित्नुभयो । त्यत्रो वर्ष आफूसँग राखेको पुस्तक के सोचेर संसारबाट बिदा हुनुअघि मलाई दिनुभएको थियो, लिने बेला मैले सोध्न सकिनँ । पछि पाइनँ ।

इस्लाम धर्म मान्नेहरूले भनेका छन्– आफ्ना ‘प्रोफेट’ मोहम्मदसँग जोडिएका उपन्यासका स्वैरकाल्पनिक उपकथाले उनीहरूको आस्थामाथि अपमान गरेको छ । कुनै विषयमा जब धार्मिक संवेदनशीलता जोडिन्छ तब त्यसमा ‘वस्तुगत’ त के, प्राज्ञिक विमर्श गर्नसमेत अप्ठ्यारो हुन्छ । धर्म, संस्कृति र राष्ट्रवादका प्रसंग उठ्नेबित्तिकै मान्छेका आग्रह–पूर्वाग्रह सतहमा आइहाल्छन् । त्यसको बावजुद पनि केचाहिँ भनिहालूँ भने– अहिले संसारमा जति मुख्य धर्म छन्, ती सबैका भगवान्हरू सभ्यताको क्रममा मानिस आफैंले कल्पना गरेका अवधारणा हुन् भन्ने प्रमाण समाजविज्ञानमा जताततै छन् । दसौं हजार वर्षको हाम्रो इतिहासको खोज भई नै सकेको छ । अहिले मानिएका प्रायः सबै धर्मका भगवान्, भगवान् पुत्र वा भगवान्का दूतहरू त दुई/चार हजार वर्षका इतिहासका अवधारणा न हुन्, मान्छेले नै कल्पेका । पाँचै हजार वर्षअघि पुग्ने हो भने पनि इतिहासमा अहिलेका ‘भगवान्’ हरू थिएनन् । र, भगवान्कै बारेमा चर्चा गर्दा, मानिसको मस्तिष्क ब्रह्रमाण्ड–बोध गर्न सक्ने गरी बनेकै छैन । जहाँ हाम्रो बोध गर्ने क्षमता सकिन्छ, जहाँनेर हाम्रो ‘कग्निटिभ क्यापसिटी’ को अन्त्य हुन्छ, भगवान्को सुरुवात त्यहीँबाट हुन्छ । विज्ञान र समाज–विज्ञानका प्रमाण आफ्नै ठाउँमा छन्, सबैले आफ्नो इच्छाअनुसार आस्था राख्न पाइन्छ र त्यसलाई अरूले सम्मान गर्नुपर्छ । रुस्दीको उपन्यासले इस्लाममा आस्था राख्ने समुदायलाई चोट पुगेजस्तो लाग्छ भने उनीहरूले त्यसको शान्तिपूर्वक विरोध गर्न नमिल्ने कुरै भएन । तर, जब त्यो विरोध हिंसात्मक हुन्छ, त्यो अर्कै हुन्छ ।


उपन्यासको रूपमा ‘द सटानिक भर्सेस’ को सुरुवात त्यति नै तिलस्मी छ, जति ‘मिडनाइट्स चिल्ड्रन’ का उनका मन्त्रमुग्ध पाठकले अपेक्षा गरेका हुन सक्थे । ‘म्याजिक रियलिजम’ (जादुमय यथार्थ) को ‘मास्टर्ली’ प्रयोगमार्फत भनिएका उपन्यासका कथाहरू पत्र–पत्रमा बाडिँदै र जोडिँदै अघि बढ्छन् । केन्द्रीय कथा बेलायतमा बस्ने भारतीय मूलका दुई जना मुस्लिम पात्र गिब्रिल फरिस्ता र सलादिन चम्चाको हो । कथा आफ्नो थातथलोबाट विस्थापित भएका दुई भारतीयको हराएको पहिचान र झुकेको आत्मसम्मानको हो, जो न आफूले छाडेर आएको संस्कृतिलाइ आफ्नो भनेर सम्मान गर्न सक्छन् न बसाइँ सरेर आएको देशको संस्कृतिलाई । न उनीहरू यताका हुन्छन् न उताका । एकातिर भारत ब्रिटिस उपनिवेशबाट आजाद हुन्छ, अर्कोतिर आफ्नो आजादी जसले हरेको थियो, उसैको पछि लागेर उसकै देशमा जान पाए सपना पूरा हुन्थ्यो भन्ने लाखौंको लस्कर, जो अहिले पनि देखिन्छ । यो त्यस्ता पात्रको विसंगतिबीच बुनेको, तिनैको जेलिएको जीवनको कथा हो ।

मुम्बईबाट लन्डन फर्कँदै गर्दा फरिस्ता र चम्चाको जहाजमै भेट हुन्छ । फरिस्ता पहिले भारतको नामी अभिनेता हुन्छ, जसलाई कतिपयले अमिताभ बच्चनको पात्रतासँग जोडेका छन् । चम्चा पनि सानोतिनो कलाकार नै हुन्छ, आफ्नो आवाज अरू कलाकारका लागि दिने । उड्दा उड्दैको जहाज शिख आतंककारीद्वारा हाइज्याक हुन्छ । जहाज इङ्लिस च्यानलमाथिको आकाशमा उडेका बेला आतंककारीले ल्याएको बम दुर्घटनावश पड्किन्छ । जहाज चकनाचुर हुन्छ । सबै यात्रीमध्ये केबल दुइजना जीवित रहन्छन् एट्लान्टिक महासागरमा खसेर । जहाज पड्केपछि तल समुद्रतिर खस्दै गर्दा फरिस्ता ग्याब्रिएल नामको देवदुतमा रूपान्तरण भएको हुन्छ । र, चम्चा एउटा ‘डेभिल’ मा । समुद्री तटमा आफू के भएका हौं भनेर स्तब्ध भएका उनीहरूलाई रोजा डायमन्ड नाम गरेकी बूढीले नजिकैको आफ्नो घरमा आश्रय दिन्छिन् । उनीहरूसँग आफ्नो ज्यानबाहेक पासपोर्टलगायत केही पनि बाँकी छैन । गैरकानुनी रूपमा हाम फाल्दै बेलायत प्रवेश गर्न खोज्ने आप्रवासीहरूलाई खोज्दै आएका प्रहरीले रोजाको घरमा शंकास्पद व्यक्ति लुकेको चाल पाउँछन् । फरिस्तालाई भलाद्मी देखेर उसको अंग्रेज राष्ट्रियताप्रति प्रहरीले शंका गर्दैनन् । तर, ‘बेलायती सभ्यता’ अक्षुण्ण राख्ने जिम्मेवारी आफ्नो काँधमा रहेको ठान्ने अधिकारीले सलादिन चम्चालाई आफ्नो देशको नागरिक भनेर पत्याउँदैनन् ।

चम्चालाई प्रहरीले भ्यानमा हालेदेखि उसलाई अस्पतालमा राख्दासम्मको अध्याय मेरो सबैभन्दा मन पर्नेमध्येको एक हो, जसलाई मैले यसै साता फेरि पढें । चम्चा अधिकारीहरूसँग अनुनय गर्छ, ‘म यहीँको मान्छे हुँ । मेरो पुरा नाम सलाउद्दिन चम्चावाला हो । यहीँकी एक गोरी मेरी श्रीमती छन् । मेरो फोन नम्बर यो हो । तिमीहरूले मप्रति अन्याय गरिरहेका छौ । यस्तो पनि बेलायत हुन्छ ?’

‘तँ यस्तो असभ्य देखिने र सुनिने मान्छे कसरी अंग्रेज हुन सक्छस् ?’ भनेर उसलाई यातना दिइन्छ । ‘सलाउद्दिन चम्चावाला, यस्तो पनि कोही इङ्लिसम्यानको नाम हुन्छ ?’ भनेर उसलाई हकार्छन् । एक त ऊ जहाजबाट खस्दा अर्कै पात्रमा रूपान्तरित भएको छ । त्यसमाथि आफ्नो पहिचान जब प्रहरीले स्विकार्दैनन्, आत्मसम्मान यसरी तल झर्छ कि उसको टाउकोमा बाख्राका सिङ पलाउन थाल्छन् । प्रहरीसँग जब केही बोल्न खोज्छ उसको मुखबाट बाख्राको जस्तो ‘म्याँ’ आवाज आउँछ । उसका खुट्टा र साँप्रा कक्रक्क पर्छन् । ऊ बिस्तारै बाख्रोमा रूपान्तरित हुन्छ । उसले बुझिरहेको छैन आफूलाई के भएको हो । पछि जब कम्प्युटरमा हेर्दा ऊ बेलायती नागरिक नै हो भन्ने थाहा हुन्छ, प्रहरीले ऊ समुद्रमा अचेत भेटिएको कोही मान्छे हो भन्ने बहाना बनाएर उपचार गर्न अस्पताल लैजान्छन् । त्यहाँ उसले विभिन्न बेडमा अरू जनावरहरू पनि भएको पाउँछ । ती को रहेछन् भनेर सुटुक्क चियाउँदै गर्दा एउटा अजंगको जन्तु उसको अघि उभिएर भन्छ– ‘तँ यहाँ एक्लो छैनस् । ऊ त्यो महिलालाई हेर् त, ऊ भैंसी भइसकेकी छ । ती उता हेर्, नाइजेरियाका व्यापारी हुन् ती । तिनका पुच्छर पलाएका छन् । ऊ ती उता छन् नि, तिनीहरू सेनेगलबाट घुम्न आएका मान्छे हुन्, जो अहिले सर्प भएका छन् ।’

फाइल तस्बिर : रोयटर्स

यस्तो सुन्दै स्तब्ध भएको चम्चाले त्यो आकृतिलाई सोध्छ, ‘यिनीहरू सबै किन यस्ता भएका हुन् त ?’ उसलाई त्यो आकृतिले सम्झाउँछ, ‘किनकि अंग्रेजसँग हामी सबैलाई व्याख्या गर्ने शक्ति छ । उनीहरू हामीलाई जे बनाउन चाहन्छन्, हामी त्यही हुन्छौं । उनीहरूले हामीलाई जे भनेर बुझ्छन्, हामी त्यही हुन्छौं । मूल कुरा (आप्रवासी भएर आउने) तिमीले यो सबै सहन सक्छौ कि सक्दैनौ भन्ने हो । मलाई त आफू अब योभन्दा पनि खराब के हुन्छु होला भन्ने चिन्ता छ ।‘

चम्चाको यस्तो हालत हुँदा, उता गिब्रिल भने ग्याब्रिएलमा रूपान्तरित भएको हुन्छ । ग्याब्रिएल आफ्ना सपनामार्फत पुग्नेमध्येको एउटा कथा प्रोफेट मोहम्मदको हो, जसलाई उपन्यासमा महुन्द भनेर जनाइएको छ । मुस्लिम समुदायको आपत्ति भएको कथा ग्याब्रिएलको सपनामा महुन्दलाई ‘भगवान्’ ले आएर सुनाएको सन्देशको वरिपरि छ । भगवान्ले आफूलाई भनेको भनेर शिष्यलाई महुन्दले सुनाएको सन्देश, खासमा भगवान्को ठाउँमा सैतान सवार भएर भनेका सन्देशहरू रहेछन् । आफू झुक्किएको थाहा पाएपछि महुन्दले त्यो सन्देश त सच्याए, तर ती सैतानका पंक्तिहरू (सटानिक भर्सेस) अन्यत्र फैलिसकेका थिए । उपन्यासको अर्को विवादित विषय ग्याब्रिएलको छुट्टै सपनाको कथामा जोडिएको छ, जहाँ जँहिलिया सहरको एक वेश्यालयका तीन जना यौनकर्मीले आफ्ना नाम महुन्दका तीन जना श्रीमतीका नाम राखेका हुन्छन् । यसमा महुन्दसँग रिसाएर उनीसँग बदला लिन हिँडेको एक शिष्यको ठूलो भूमिका हुन्छ ।

समयक्रममा फरिस्ता र चम्चा आफ्नो पुरानो रूपमा फर्कन्छन् । चम्चाले थाहा पाउँछ– आफ्नी श्रीमतीको उसको आफ्नै साथीसँग सम्बन्ध रहेछ । उसको जागिर पनि जान्छ । रोजाको घरबाट प्रहरीले लैजान लाग्दा आफूलाई बचाउन प्रयास नगरेकामा उसले फरिस्तालाई मार्ने योजना बनाउँछ, तर मौका मिलेका बेला ऊ त्यो काममा उत्रिन सक्दैन । कथाका प्लट र सबप्लट म्याजिक रियलिजमको शिल्पसँगै यसरी यता र उता घुम्छन् कि कुन मूल प्लट हो र कुन सहायक ! बेलाबेलामा चित खाने भइरहन्छ । कथानक अक्सर भारत र बेलायतमा यी पात्रहरूले छोडेर आएका जीवनका किस्सा र अहिले बाँचेका यथार्थ बीच अन्तरघुलित हुन्छन् । हास्यरसमा त रुस्दी प्रख्यात नै छन् । पात्रका कथामार्फत गर्ने उनको व्यंग्यभाव र जीवनका विसंगतिमाथिको कटाक्ष अति नै शक्तिशाली छन् । जसरी मुम्बईबाट उडेको जहाजमा कथा सुरु भएको थियो, अन्त्यमा कथा फेरि मुम्बई नै पुग्छ । आफ्नो बुबासँगको बिग्रेको सम्बन्ध मात्रै होइन, आफ्नी पहिलेकी प्रेयसीसँग पनि चम्चाको पुनर्मिलन हुन्छ । फरिस्ताले श्रीमतीलाई मुम्बईमै चट्टानबाट खसालेर हत्या गर्छ र आफू आत्महत्या गर्छ ।

फाइल तस्बिर : रोयटर्स

‘द सटानिक भर्सेस’ मा मात्र होइन, मध्यरातमा भएको भारतको जन्म (जसको यही साता ७५ वर्ष पुग्यो), हिन्दु र मुस्लिम समुदायका व्यक्तिको आस्था र आचरणका सुक्ष्मता, आप्रवासी हुनुका हीनताबोध, मानवीय स्वभावका सीमा र क्रूरता, प्रेम र सम्बन्धका जटिलताजस्ता विषय रुस्दीका धेरै कृतिमा आफ्नै नवीनताका साथ दोहोरिएर देखा पर्छन् । ‘द सटानिक भर्सेस’ मा इंगित गरिएका प्रोफेट मोहम्मदसम्बन्धी जुन प्रसंग छन्, उनले आफू क्याम्ब्रिजमा इतिहास पढ्दाको समयदेखि नै ती कथ्यका इतिहासहरूमा आफ्नो रुचि थियो भनेका छन् । तर, गिब्रिलले सपनामा देखेका ती कथ्य यति विवादित भए कि त्यसको विरोध गर्ने सिलसिलामा धेरैको ज्यान गई नै सकेको छ । यसैले गर्दा उनी आफैं एक दशक त ‘क्वारेन्टिन’ मा बस्नुपरेको थियो भने अहिले झन्डै उनको प्राण नै गएको थियो । रुस्दी आफैंले भनेका छन्, ‘यो किताब इस्लामबारे भन्दा पनि बेलायतमा आएका आप्रवासीका विभाजित मनस्थिति, सांस्कृतिक रूपान्तरण, हीनताबोध र आत्मसम्मानमा पुग्ने चोट, प्रेम, प्रतिशोध, लन्डन र मुम्बईबारे हो ।’ प्रतिष्ठित अमेरिकी समालोचक ह्यारोल्ड ब्लुमले त ‘द सटानिक भर्सेस’ लाई रुस्दीको मास्टरपिस साहित्य भनेका छन् ।

म्याजिक रियलिजममार्फत भनिने उनको कथाशिल्पको त ‘मिडनाइट्स चिल्ड्रन’ मा उत्तिकै स्वाद लिन पाइन्छ । यथार्थ नै जब जादुमय पाराले सिर्जना गरिन्छ, कथानक जताबाट जता लैजान पनि सकिन्छ । पात्रलाई एउटा भूमिकाबाट सजिलै अर्कोमा सार्न सकिन्छ । जादुयी यथार्थ सिर्जना गरेर पत्र–पत्रका पटकथाहरू एक अर्कोसँग गाँस्न सकिन्छ । त्यस्ता कथाहरू स्वाद लिनेका लागि जति सुन्दर लाग्छन्, कहिलेकाहीँ कथानकको मूल भँगालो नै समात्न नसकेर कसै कसैलाई ती पढ्दा त्यत्तिकै दुरूह पनि लाग्न सक्छन् । ‘मिडनाइट्स चिल्ड्रन’ को मुख्य पात्र सलिम सिनाई १९४७ को अगस्ट १५ को राति जन्मेको हुन्छ, स्वतन्त्र भारतको पहिलो स्वतन्त्र बच्चाका रूपमा । सलिमको कथामार्फत रुस्दीले भारतको जन्म, पाकिस्तानको बटबारा, आजादीपछिका भारतीय दुविधा, उनीहरूका बसाइँ सराइका कथा, हिन्दु र मुस्लिम भावना र भारतको सांस्कृतिक अलमलका विराट् विषय समेटेर महत्त्वाकांक्षी रूपमा भारतको इतिहासलाई आफ्नै ढंगले सच्याउन खोजेका छन् । दीपा मेहताको निर्देशनमा ‘मिडनाइट्स चिल्ड्रन’ को फिल्म पनि बनेको छ २०१२ मा । उपन्यास पढ्नै नभ्याउनेले त फिल्म हेर्दा भइहाल्यो । तर, हरफ हरफमा रुस्दीले शब्दमार्फत जुन जादु सिर्जना गर्छन्, त्यो सौन्दर्य सायद चलचित्रको माध्यममार्फत पर्दामा उतार्न सम्भव थिएन ।

बेलायतमा मात्रै दस लाख प्रति बिक्री भएको थियो ‘मिड्नाइट्स चिल्ड्रन’ । यस किताबले १९८१ को बुकर प्राइज त जितेको थियो नै, पछि बुकर पुरस्कारको १९९३ को पच्चीसौं र २००८ को चालीसौं वार्षिकोत्सवमा यस उपन्यासलाई दुई–दुई पटकसम्म त्यतिन्जेल बुकर पाएका सबै वर्षका कृतिमध्ये उत्कृष्ट भनेर ‘बुकर अफ द बुकर्स’ पुरस्कारले समेत सम्मानित गरिएको थियो । आफ्नो मनोविज्ञान बुझ्न आफैंलाई झन् जटिल हुन्छ होला । खोइ किन हो, कतै टाढा समुद्रपारका यात्रामा निस्कँदा धेरै वर्षदेखि मैले अक्सर यो उपन्यासलाई धेरै नसोची ‘ह्यान्ड क्यारी’ मा लैजाने गरेको छु । एक्लै आफू घरबाट कतै टाढा उड्दा कहिलेकाहीँ आफ्ना ‘भल्नरबिलिटी’ आफैसँग उदांगिन सक्छन् । त्यस्तो बेला सुटुक्क ‘मिडनाइट्स चिल्ड्रन’ निकालेर, जुन पल्टिन्छ त्यही पन्ना पढ्दा प्रत्येकपटक मभित्र कुनै ऊर्जा उत्पन्न भइहाल्छ ।

पहिले विश्वविद्यालयमा पढाउँदा कुनै पुस्तक निश्चित दिनमा पढेर सक्नैपर्ने हुन्थ्यो । अहिले त्यस्तो छैन । त्यसैले कुनै एक हप्तामा म अक्सर एउटाभन्दा बढी पुस्तकमा यता र उता सरिरहेको हुन्छु । र, ती पुस्तकका बिधा फरक हुन्छन् । कुनचाहिँ पहिले पढेर सकिन्छ थाहा हुँदैन । हाम्रो पूर्वको समयअनुसार अघिल्लो शुक्रबार राति जब रुस्दीमाथिको आक्रमणको खबर आयो, मेरो बिस्ताराको छेउमा गत डिसेम्बरमा किनेको रुस्दीको पछिल्लो किताब ‘ल्याङ्वेजेज अफ ट्रुथ’ थियो । मानिसको खुला रूपमा कल्पना गर्न पाउने स्वतन्त्रता उसका लागि सधैं प्यारो छ । स्वच्छन्द कल्पना अभिव्यक्त हुने माध्यम नै साहित्य हो, जसको भाषालाई रुस्दी सत्यका भाषा भन्छन् ।

यसलाई जिन्दगीको व्यंग्य भन्ने कि के ? रुस्दीले त म्याजिक रियलिजमको कलात्मक प्रयोग गर्दै समाजका यथार्थ पात्रमाथि कथा लेखे । ती पात्रलाई तिनले उडाए, थेचारे । तिनलाई भगवान्का दूतदेखि राक्षससम्म रूपान्तरण गरे । उपनिवेशकालीन मास्टरका देशमा आप्रवासी भएर आएका पात्रका खिचडी संस्कृतिमाथि व्यंग्य गरे । तिनीहरूका फेरिँदै गएका परिचयलाई खिल्ली उडाए । रुस्दीले त यी सबैमा उपन्यास लेखे–लेखे । उनको जिन्दगीले पनि उनै रुस्दीमाथि अर्को उपन्यास लेख्यो । त्यसैले फतवा जारी भएपछि ब्रिटिस प्रहरीले उनलाई नाम फेर्न अह्रायो । आफ्नै उपन्यासका पात्रझैं, उनले साँच्चै आफ्नै परिचय फेरेर जिन्दगीका ११ वर्ष बाँच्नुपर्‍यो । बेलायती प्रहरीको नजरमा ‘जोसेफ यान्टन’ बनेर बाँचेका बेला उनले आधा नाम सापटी लिएका जोसेफ कोनराडको प्रख्यात भनाइलाई आफ्नो मन्त्र बनाएका थिए ।

त्यतिबेला रुस्दीको मन्त्र भएको कोनराडको त्यो भनाइ थियो, ‘आई मस्ट लिभ अन्टिल आई डाई, मसन्ट आई ?’ अर्थात्, ‘जतिन्जेल म मर्दिनँ त्यतिन्जेल म बाँच्नैपर्छ, होइन र ?’ फरिस्ता र चम्चालाई रुस्दीले उपन्यासमै जादुमय यथार्थबाट वास्तविक यथार्थमा फर्काएका थिए । पहिलेको रूपमा फर्के पनि उनीहरूका अरू यथार्थ बदलिएका थिए । रुस्दी बाँचेर अस्पतालबाट फर्कंदा पनि उनकै पात्रजस्तो, उनका पहिलेका यथार्थ त फेरिएकै हुनेछन् । तर, रुस्दी पटकपटक मर्न मात्र होइन, चुप लाग्न पनि इन्कार गरेका लेखक हुन् । मलाई आशा छ– उनी जतिन्जेल मर्दैनन्, त्यतिन्जेल उनी बाँच्नैपर्छ र बोल्नैपर्छ ।

बाँकी, आगामी फेब्रुअरीमा प्रकाशन हुँदै गरेको उनको नयाँ उपन्यास ‘भिक्ट्री सिटी’ मार्फत उनीसँग फेरि भेट त भइहाल्नेछ ।

(शनिबार प्रकाशित हुने कोसेलीबाट)

प्रकाशित : भाद्र ३, २०७९ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?