कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

युद्धले थुनेको ल्हासाको दैलो !

कालेबुङ त्यही सहर हो, जहाँबाट अंग्रेजहरुले ल्हासासँगको व्यापार सुरू गरेका थिए । तर, व्यापार सुरू गर्न वर्षौं लागेको थियो । किनकि तिब्बतीहरु गोरालाई देशमा छिर्नै दिन चाहँदैनथे । अंग्रेजहरु धर्मलाई व्यापार गर्ने बाटो बनाउाथे, जुन तिब्बतीका निम्ति सह्य विषय थिएन ।
छुदेन काविमो

त्यो कालेबुङ अर्कै थियो ।
यति खचाखच घरहरू थिएनन् । बाटा–घाटा फराकिला थिए । मान्छेको भीड छँदै थिएन । कागज छरिएजस्ता छरपस्ट देखिने भवनहरू ठडिएकै थिएनन् । कालेबुङको मेनरोडमा अग्लो बिल्डिङ बन्दा त कलकत्तामा खबर नै छापिन्थ्यो । सडकमा गाडीभन्दा धेर गोरु–गाडी हिँडरिहेका देखिन्थे । बन्दै गरेको सहर गाउँजतिकै शान्त थियो । तर, जब तिब्बतबाट खच्चडहरूको भीड सामान लिएर यहाँ आइपुग्थ्यो, कालेबुङको रौनक नै बदलिदिन्थ्यो । किनकि त्योबेला त कालेबुङ अन्तर्राष्ट्रिय व्यापारको केन्द्र नै थियो, जसले तिब्बतलाई भारत, नेपाल, बर्मालगायतका देशहरूसँग जोड्थ्यो । इङ्ल्यान्डदेखि अमेरिकासम्म पुग्ने सामानहरू यही बाटो भएर लगिन्थ्यो । ऊनदेखि सुनसम्मको व्यापार कालेबुङबाटै हुन्थ्यो । देशमा चाँदीको भाउ त कालेबुङले तोकिदिन्थ्यो ।

युद्धले थुनेको ल्हासाको दैलो !

हो । त्यो कालेबुङकै इतिहासको स्वर्णिम समय थियो ।

कालेबुङ त्यही सहर हो, जहाँबाट अंग्रेजहरूले ल्हासासँगको व्यापार सुरु गरेका थिए । तर, व्यापार सुरु गर्न वर्षौं लागेको थियो । किनकि तिब्बतीहरू गोराहरूलाई देशमा छिर्नै दिन चाहँदैनथे । अंग्रेजहरू व्यापार गर्न धर्मलाई बाटो बनाउँथे, जुन तिब्बतीहरूका निम्ति सह्य विषय थिएन ।

जब इस्ट इन्डिया कम्पनीको प्रवेशसँगै बंगालको पहिलो गभर्नर जेनेरेल बनेर वारेन हेस्टिङ कलकत्ता आइपुगे १७७२ मै उनको ध्यान ल्हासातिर खिचियो । किनकि उनलाई थाहा थियो, त्यहाँ ठूलो बजार छ । तर, ल्हासा पुग्नु सहज विषय थिएन, जहाँ चीन–रूस दुवैको गिद्धेनजर थियो ।

कालेबुङ सहर (सन् १९०४) ।तस्बिरहरु : एजेन्सी

ठीक त्यही बेलाको कुरा हो, सन् १७७० को दशकमा नयाँ घटना भयो । भुटान र कुचबिहारको झमेला सुरु भयो । भुटानका सेनाले कुचबिहारका राजालाई नै अपहरण गरिदिए । त्यसैले कुचबिहारमा ठूलै राजनीतिक संकट छायो । अनि त भुटानविरुद्ध नालिस लगाउन कलकत्ता आइपुग्यो । कुचबिहारले अंग्रेजहरूलाई सहयोगका निम्ति गुहार लगायो ।

अनि ?

अनि कुचबिहारको सहयोगमा अंग्रेजहरू उभिए । भुटानी सेनालाई लखेट्न सुरु गरे । पहिलोचोटि भुटानी सेना र अंग्रेजबीचको मुठभेड सुरु भयो । तर, अंग्रेजहरूको तक्निकी हतियारको अघि भुटानी सेना झुक्न बाध्य बने । अंग्रेजको गोली–बारुद देखेर भुटानी सेना आतंकित नै भए । त्यसैले राजनीतिक सहयोग माग्न भुटानी सेना फेरि तिब्बत पुगे । तिब्बतको शसान दलाई लामाका अभिभावक एघारौं पञ्चेन लामाले चलाउँथे, तत्कालीन दलाई लामा निकै साना भएकाले । भुटानको सहयोगका निम्ति तिनै पञ्चेन लामाले पहिलोचोटि वारेन हेस्टिङलाई चिठी लेखे ।

भनिन्छ, त्यही चिठीले हेस्टिङलाई तिब्बततिर छिर्ने बाटो देखाइदियो । उनको तिब्बत मोह थप बढेर गयो । पञ्चेन लामामार्फत नै तिब्बत छिर्ने नयाँ योजना उनले बुन्न थाले । र, नै कूटनीतिक सम्बन्ध बनाउन जर्ज बोगललाई तिनले पहिलोचोटि तिब्बत पठाए ।

अब बोगलले तिब्बत– भारत व्यापारका निम्ति बाटो बनाउन सुरु गरे । उनले पञ्चेन लामालाई तिब्बतीहरू धार्मिक रूपले स्वतन्त्र नै रहन सक्ने कुरा गरिरहे । तर, पञ्चेम लामा मुस्कुराई मात्र रहे । अंग्रेजहरूका निम्ति ल्हासाको दैलो खुल्न गाह्रै रहेको दोहोर्‍याइरहे ।

जे होस्, बिस्तारै व्यापारको प्रक्रिया सुरु होलाझैं हुँदै थियो । त्यही बेला १७८० मै पञ्चेन लामाको मृत्यु भइदियो । त्यसको वर्षदिन नबित्दै अप्रिल १७८१ मा कोलेराका कारण बोगलको पनि मृत्यु भयो ।

यो त नयाँ समस्या थियो ।

तैपनि अंग्रेजहरूसँग हार्ने मानसिकता थिएन । तिब्बत पुग्ने कोसिस लगातार गरिरहे । र, नै हेस्टिङले तिब्बतको सपना देखेको १३० वर्षपछि त्यो दिन आयो, जुन दिन फ्रान्सिस योङहस्बेन्ड सेना लिएरै ल्हासा पुगे । र, तिब्बत–भारत व्यापार कालेबुङबाट सुरु गरे ।

सय वर्षभित्र टिस्टामा धेरै पानी बग्यो । तमाम घटनाहरू भए । वर्मादेखि सिक्किमसम्म अंग्रेजले आफ्नो कब्जामा लिए । तर, तिब्बत अंग्रेजको हातदेखि बाहिरै रहिरह्यो ।

त्यसैले दिक्क बनेर अंग्रेजहरूले तिब्बतको सपना छोडिदिनै लागेका थिए । त्यहीबेला तिब्बतले अंग्रेजलाई हल्का रूपमा लिन थाले । अंग्रेजको संरक्षित राज्यको रूपमा रहेका सिक्किमका सिमानाहरू भटाभट कब्जा गर्न थाले । जलेपला, नाथाङ, कुपुकदेखि लिङटुसम्मका क्षेत्रहरूलाई तिब्बतले कब्जा गरिदियो ।

बोगल तिब्बत पुगेको ठीक सय वर्षपछिको कुरा हो, अंग्रेज फेरि तिब्बतप्रति कठोर बन्न थाल्यो । त्यसमा रूसको प्रभावको कारण पनि एउटा थियो । फेरि तिब्बतले दार्जिलिङ पनि खाइदिने हो कि भन्ने डर अंग्रेजमा पलाउँदै थियो । र, नै सिक्किमको गुमेको सिमाना फर्काउन अंग्रेज अघि आए । १८८७ को अन्त्यतिर अंग्रेज सरकारले चिठी नै लेखे, ‘१५ मार्च १८८८ सम्ममा तिब्बतले कब्जा गरेको सिक्किमको सिमाना फिर्ता गरियोस् । नत्र हामी सेना अभियानमा जानेछौं ।’

दुर्भाग्यवश त्यो चिठी बैरंग नै फर्कियो । त्यसपछि फेरि सोझै दलाई लामालाई अंग्रेजले अर्को चिठी लेख्यो । तैपनि अंग्रेजहरूले कुनै जवाफ पाएनन् । फलस्वरूप २० मार्च १८८८ मा अंग्रेज सेनाले तिब्बती सीमामा हमला बोलिदियो । र, गुमेका सिमाना फिर्ता लिन सुरु गर्‍यो । तर, तिब्बतीहरू सुरक्षा देवल बनाउन यति माहिर थिए कि रातारात ढुंगाको देवलले सिमाना नै बनाइदिन्थे । भनिन्छ, त्यो बेला तिब्बतीहरूले एकै रातमा चारफिट अग्लो सुरक्षा देवल तीन माइल लामोसम्म बनाइदिएका थिए ।

तर, अब त अंग्रेज थप आक्रमक बनिसकेको थियो । उनीहरू हरेक नयाँ सिमाना कब्जा गर्दै गए । र, नै ६ डिसेम्बर १८९३ मा व्यापारको नयाँ सम्झौतासम्म गरे । जुन सम्झौताअनुरूप नै १ मई १८९४ देखि याटुङमार्फत्पहिलोपटक तिब्बत–भारत व्यापार सुरु भयो ।

तर, त्यो व्यापार सुखद रहेन । तिब्बतले चीनको आडमा घरीघरी सम्झौता भंग गरिरह्यो । ठीक यही समय तिब्बतमा रूसको प्रभाव अझै बढ्दै थियो । त्यो प्रभाव सिक्किदेखि दार्जिलिङतिर छिरे के होला ? अंग्रेजलाई अर्को सुर्ता लाग्न थाल्यो ।

एकातिर व्यापारिक सम्झौता भंग हुँदै थियो । अर्कोतिर तिब्बतीहरूले सिमाना बारहरू भत्काएको खबर अंग्रेजकहाँ आउँदै थियो । अनि त, लर्ड कर्जनले नयाँ योजना बनाए । डिसेम्बर १९०३ देखि तिब्बत मिसन सुरु गर्ने घोषणा गरे, जसलाई कर्णल फ्रान्सिस योङ हस्बेन्डले अगुवाइ गर्ने भए । तिनको सेना कालेबुङकै बाटो भएर तिब्बततिर हिँडेको थियो । बन्दुकसँग तिब्बत छिरेका अंग्रेजले लडाइँको आधिकारिक घोषणासम्म गरेन । सीमा छिरेपछि कुनै घोषणा त गर्ला नि ? पर्खिने तिब्बतीहरू अक्कबक्क परे ।

तिब्बतसँग खासै बलियो सेना थिएन । त्यहाँ कुनै पनि युद्ध भए हरेक घरका मानिस हतियार लिएर सडकमा निस्किन्थे । यस्तो सेनाले अंग्रेजको सेनालाई रोक्न कसरी सम्भव हुन्थ्यो र ? त्यसैले झन्डै पाँच हजार मान्छे युद्धमा मारिए । तेह्रौं दलाई लामा भागेर मंगोलिया पुगे ।

सेप्टेम्बर १९०४ मा अंग्रेजको सेना ल्हासा नै पुग्यो, जहाँ तिब्बत–भारत व्यापारको नयाँ सम्झौता भयो । अंग्रेजले उल्टो युद्धको क्षतिपूर्तिस्वरूप ७५ लाख रुपैयाँ पनि माग्यो ।

यो त्यही सम्झौता थियो, जसका आधारमा अंग्रेजहरूले व्यापारमार्फत ल्हासा पुग्ने दैलो खोले । कालेबुङ भएर भारत–तिब्बतको व्यापार सुरु गरे । त्यसपछि नै त हो, ऐतिहासिक किल्ला दामसाङ्गडी र दालिमगडी उभिएको सानो ठाउँ बिस्तारै सहर बन्दै गए ।

लेप्चा भाषामा का–लेन–पोङको अर्थ मानिसहरू भेला हुने ठाउँ हुन्छ । तिब्बत–भारत व्यापार सुरु भएपछि त यहाँ साँच्चै नै हरेक किसिमका मानिस भेला हुन थाले । तिब्बतका व्यापारीहरू आउन थाले । चीनका सिपालु सिकर्मीहरू बिल्डिङ बनाउन आइपुग्न लागे । उनीहरूकै सिको गर्दै कालेबुङमा थुक्पा बनाइन थाल्यो । टेलरिङ गरेर बनाइने छालाको जुत्ता तयार गरिन थाल्यो । अनि त कालेबुङ नयाँ कालेबुङ हुँदै गयो ।

हो । कालेबुङ अब सामान्य ठाउँ मात्रै रहेन । हरेक भाषा र हरेक संस्कृति जोड्ने केन्द्र पनि बन्दै गयो । त्यही भाषा, संस्कृति र संस्कारको संगम देखेर हो, चेक एन्थोलोजिस्ट नेवेस्की वाजकोविज अवाक बने । र लेखे, ‘संसारमा कालेबुङ मात्रै यस्तो ठाउँ हो, जहाँ एकै वर्षभित्र सातवटा अलग–अलग नयाँ सालको उत्सव मनाइन्छ ।’

जब तिब्बत–भारत व्यपार सुरु भयो कालेबुङको अनुहार बदलिँदै गयो । यहाँको दस माइलतिर ठूलाठूला गोदामहरू खोलिन थाले, जुन गोदामहरूमा तिब्बतबाट ल्याइएको ऊन राखिन्थ्यो, जुन ऊनलाई युरोपदेखि अमेरिकासम्म पठाइन्थ्यो, जसका निम्ति अंग्रेजहरूले १९१५ मा गेल खोलासम्म रेल ल्याए । त्यसपछि अहिलेको प्रणामी स्कुल परिसरसम्म रोपवे बनाइदिए, जहाँबाट सामान ओसारपोसार गर्न सहज हुन्थ्यो ।

तिब्बतबाट ऊन मात्रै होइन, चीनको डलर पनि यहाँ भित्र्याइन्थ्यो । यहाँको हरेक लेनदेन चाँदीको पैसामा हुन्थ्यो । व्यापारमा चाँदीको लेनदेन यति धेरै हुन थाल्यो, भारतमै चाँदीको भाउ कालेबुङले तोक्न थाल्यो । यहीँबाट थाहा पाइन्छ, भारत–तिब्बत व्यापार कति धेरै झ्याँगिएर गएको थियो । भनिन्छ, गोप्य रूपमा यहाँ सुनको धूलो र फालीसम्म ल्याइन्थ्यो । चौरीको पुच्छर, मृगको कस्तूरी, भालुको पित्तसम्म यहाँ भित्र्याइन्थ्यो ।

तिब्बतमा त यहाँबाट जे लगे पनि बिक्थ्यो । चिनी, गुँडदेखि मट्टीतेल, पेट्रोलसम्म यहीँबाट तिब्बत छिर्थ्यो । खैनीको पत्तादेखि सिग्रेट बिँडीसम्म यहीँबाट लगिन्थ्यो । घडीदेखि गाडीसम्म कालेबुङबाटै लैजाने गरिन्थ्यो ।

त्यसैले त हो, यही व्यापारकै कारण कालेबुङको ठूलो जनसंख्याले रोजगार पाउन थाले । व्यापारकै निम्ति राजस्थानदेखि मारवाडीहरू आएर धेरै स्थानीयले बोल्ने लेप्चा भाषा सिक्न थाले । लेप्चा भाषा फररर बोल्ने मारवाडीहरू त केही वर्षअघिसम्म मात्रै पनि कालेबुङमा भेटिन्थे । पछि उनीहरूले नै तिब्बती भाषा पनि सिके । त्यसपछि त व्यापार अझ सहज हुँदै गयो ।

त्यो बेला तिब्बत–भारत व्यापार यति धेरै नाफामा चल्थ्यो, पान बेच्ने व्यापारीहरूसम्म चाँदी साटेर लखपति हुन थाले । व्यापार नजान्नेहरू ऊन सफा गर्न जान्थे । केही नजान्नेहरू सामान लोड–अनलोड गर्थे । फलामको काम गर्नेहरूले भोटेहरूका निम्ति पाताङसम्म बनाइदिन्थे । मट्टीतेल, पेट्रोल, तेल, कपडालगायतका सामान लैजाने भाँडा बनाउनेहरूको भ्याईनभ्याई हुन्थ्यो ।

ठीक त्यही बेलाको कुरा हो, एउटा समय यस्तो पनि आयो, जतिबेला तिब्बतमा गाडीसम्म यहीँबाट लगिन थालियो । १९२७ तिर कालेबुङमा फोर्डको सप्लायर रहेका परिवारका सदस्यहरू सुनाउँछन्, ‘गाडीलाई खोलखाल गरेर टुक्रा टुक्रा पारिन्थ्यो । त्यसपछि खच्चडमा हालिन्थ्यो र ल्हासा नजिक पुर्‍याइन्थ्यो । त्यहाँ मेकानिकहरू राखिएका हुन्थे । फेरि जोडजाड गरेर सिंगो गाडी बनाइन्थ्यो र कुदाइन्थ्यो ।’ जंगलमा सामान लिएर हिँड्न तर सहज थिएन । डाँकाहरूको रगरगी थियो । त्यसैले खच्चडहरूका अघि टिबेटेन मेस्टिफ डग हुन्थ्यो । हिउँमा हुर्किएको उक्त कुकुर डाँकुहरूसँग मात्रै होइन, जंगली जनावरसँग पनि लड्न सक्थ्यो । त्यही कुकुरको पछि सामान बोकेर खच्चडहरू हिँड्थे । घाँटीमा घण्टी बाँधेका खच्चडलाई हेर्ने पाताङ भिरेका भोटेहरू हुन्थे ।

भोटेहरू सुकाएको मासु बोकेर आउँथे । चम्पा बोकेर आउँथे । त्यही खाँदै हिँड्थे, जो हेर्दै भयानक देखिन्थे । अरूको भाषा खासै बुझ्दैनथे । सानो तर्कमा पनि छुरी निकालिहाल्थे । त्यसैले त पाताङ भिरेर आएका भोटेहरू देखेपछि सबै सतर्क भइहाल्थे । साँझ परेपछि नानीहरू दस माइलतिर जान मान्दैनथे । केटाकेटी रोए घरका आमाहरू डर देखाउँथे, ‘जोरले नरू है । अहिले भोटेले लैजाला ।’

तिब्बत जाने त्यो बाटो जंगलको घारी थियो । पेदोङ–आरिटार हुँदै जुलोक पुगिन्थ्यो । त्यसपछि जलेपला पुगेर छुम्बा भेल्ली हुँदै तिब्बत छिरिन्थ्यो, जसले तिब्बतलाई भारत मात्रै होइन, पूर्वोत्तरको अन्य देशहरूसँग पनि जोड्थ्यो, जुन मार्ग वर्षमा दस महिनासम्म खुल्ला रहन्थ्यो । हिउँ झरेपछि भने यातायात बन्द हुन्थ्यो ।

त्यही बेला एउटा यस्तो समय पनि आयो, जति बेला कालेबुङमा रोलेक्स घडी बोराका बोरा बिक्न थाले । तिब्बतमा खुब रुचाइएको रोलेक्स घडी कालेबुङमा यति धेरै बिक्थ्यो, व्यापारीहरूलाई भ्याई–नभ्याई हुन्थ्यो । खच्चडहरू नुन, पेट्रोल जति नै रोलेक्स घडी लिएर तिब्तत फर्किन्थे, जसले गर्दा कालेबुङमा रोलेक्स घडीको माग यति धेरै बढ्यो, जुन खबर घडी बन्ने ठाउँ स्विट्जरल्यान्डको ज्युरिकसम्मै पुग्यो । ‘कस्तो होला नि कालेबुङ सहर ? जहाँ यति धेरै हाम्रो घडी बिक्री हुँदैछ ?’ रोलेक्सका सञ्चालक छक्क परे । र, भारत आउने योजना बनाए । उनलाई केवल रोलेक्स घडी बोरामा बिक्ने ठाउँ कालेबुङ मात्रै हेर्नु थियो ।

त्यसपछि ?

त्यसपछि त उनी स्विट्रजरल्यान्डबाट कालेबुङ सहर हेर्नकै निम्ति भारत आइपुगे । रेलगाडी र गोरु गाडी हेर्दै कालेबुङ छिरे । पहाडको टुप्पामा आइपुगेका तिनले जब बीस–तीसवटा घर र खच्चडको भीड मात्रै देखे, तब हैरान बनेर सोधे, ‘यहाँ त खच्चडको लिदी मात्रै धेर छ । कसले किन्छ घडीचैं ?’ तब बल्ल तिनले तिब्बत व्यापारको कथा सुने । अनि त बुझे, ‘यो त त्यही ऊनको मार्गको कमाल थियो, जुन मार्ग भएर ल्हासा पुगिन्थ्यो ।’

तर, जब १९६२ मा भारत–चीन युद्ध सुरु भयो, सिक्किम–कालेबुङमा आतङ्क नै छायो । लडाइँ चीनको सिमानामा हुन्थ्यो, कालेबुङकाहरू आकाशमा उडेको हवाईजहाज हेरेरै तर्सिन्थे । आतंक यति धेरै फैलिँदै गयो, कालेबुङमा पहिलोचोटि ठूलै दंगा भयो । त्रिपाईनजिक रहेका चिनियाँ अफिसहरू भत्काइन थाल्यो र तिनमा आगो लगाइयो । बूढापाखा सुनाउँछन्– कालेबुङ, दार्जिलिङ यति शान्त ठाउँ हो, जहाँ कहिल्यै दंगा हुन्थेन । कालेबुङमा भएको पहिलो दंगा नै भारत–चीन युद्धको समयमा भएको हो । जतिबेला कालेबुङमा पहिलो दंगा भयो, ठीक त्यही बेलाको कुरा हो– साहित्यकार पारशमणि प्रधानका भानिज पर्ने दिलबहादुर प्रधान त्यही जलिरहेको कार्यालयअघि पुगे र जल्न लागेको एउटा सुन्दर पेन्टिङ लिएर फर्किए । हातले सिलाएर बनाइएको उक्त पेन्टिङ संघाई सहरको थियो । त्यो तस्बिर आज पनि उनको सय वर्षे पुरानो घरको भित्तामा झुन्डिरहेकै छ ।

पाँच दशक चलेको यो व्यापारले तिब्बतलाई भारतको यति नजिक ल्याएको थियो कि तिब्बतमा कुनै पनि समस्या हुँदा तेह्रौं दलाई लामा भागेर यही कालेबुङ आइपुग्थे । उनी १९१० मा मञ्चु जेनेरेल चाओको आक्रमण हुँदा पनि कालेबुङ नै आएका थिए । दुई वर्षपछि यहीँबाट फर्केर तिनले १९१३ मा फ्री टिबेटको घोषणा गरेका थिए । १९५० को दशकमा पनि जब तिब्बतमा चीनको अतिक्रमण बढ््दै गयो, चौधौं दलाई लामाले देश छोड्नुअघि कालेबुङमै लामै समय बिताएका थिए ।

कालेबुङ त त्यो ठाउँ थियो, जहाँबाट तिब्बतको पहिलो पत्रिका नै छापिन्थ्यो । ‘मिलोङ, द टिबिटेन मिरोर’ यहीँबाट निकालिन्थ्यो, जो भारत मात्र होइन, नेपाल र भुटानमा समेत प्रसिद्ध थियो । दोर्जे थारचेन कालेबुङको दस माइलबाटै पत्रिका प्रकाशित गर्थे । १० अक्टोबर १९२५ मा पहिलोचोटि प्रकाशित भएको उक्त पत्रिका मासिक रूपमा निस्किन्थ्यो । सोही पत्रिका पढेपछि थारचेनलाई तेह्रौं दलाई लामाले पत्र लेखेका थिए, ‘पत्रिका धेरै नै लाभदायी बनेको छ । तिब्बतीहरूको खबरहरू अझै धेरै अटाउन सकोस् ।’

कालेबुङसँग त चीन पनि उत्तिकै नजिक हुन चाहन्थ्यो । जब १९५४ मा भारत–चीनबीच व्यापारिक सम्झौता भयो, चीनले केवल तीन ठाउँमा व्यापार खोल्ने सम्झौता गरेको थियो, जसमा पहिलो दिल्ली, दोस्रो कलकत्ता र तेस्रो कालेबुङ थियो । तर, कालेबुङको यो कथाको यात्रा लामो समयसम्म टिकिरहन सकेन, जब तिब्बतमाथि चीनको अतिक्रमण बढ्न थाल्यो । चीनले सोझै कालेबुङलाई दोस्याउन थाल्यो । ‘पिपल्स डेल्ली’ ले केहीचोटि लेख्यो, ‘कालेबुङ विद्रोही तिब्बतीहरूले रणनीति बनाउने अड्डा बन्यो ।’ त्यो बेला भारतीय संसद्मा सबैभन्दा धेरै कालेबुङबारे नै चर्चा हुन्थ्यो । देशका पहिलो प्रधानमन्त्री पण्डित जवहारलाल नेहरूले त गुनासो नै गरे, ‘कालेबुङ गुप्तचरहरूको केन्द्र बन्यो ।’

त्यसपछि ?

त्यसपछि जब १९६२ मा भारत–चीनको युद्ध नै सुरु भयो, जेलेपला भएर कालेबुङ छिर्ने ल्हासाको दैलो सधैंका निम्ति बन्द भइदियो, जुन फेरि कहिले खुलेन ।

प्रकाशित : श्रावण २८, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?