तेह्र सौंराइ- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेह्र सौंराइ

‘आखिर घर भन्नु पन त के नै रह्या छ र भाउवा ? जहाँ बस्यो त्यहीँको माया लाग्दो रैछ । त्यहीँको मान्ठा भैजाँदो रह्या छ । जीवन पन त तमाखुजस्तै न रह्या छ, हराई जाँदो एक दिन धूवाँ बनेर ।’
कुन्साङ

चिसो बिहान ! कर्णालीबाट उठेका कुइरोहरू हतार–हतार हिमाल चढ्दै थिए । मानौं कुइरोहरू आफ्नो साम्राज्य विस्तार गर्दै छन् । आकाश हेर्दा लाग्थ्यो– बादल पनि विस्तारवादी रहेछन् ।

बादलका झुप्पा मडारिँदै थिए । र, धमिलो थियो मौसम ।

घट्ट खोला नजिकै सानो खोल्सामा बसेको छ– खोल्सी गाउ । गाउँको ठीक तलतिर छ– रातो धान फल्ने खेत, नजिकै बग्छ– कर्णाली । कर्णालीबाट उठेका कुइरोले खोल्सी गाउँलाई सर्लक्क निलेको थियो । मौसम धमिलो भए पनि गाउँमा थियो नयाँ वर्षको रौनक । अविवाहित छोट्या–छोट्टीहरू ओखरथलातिर जाँदै थिए– देउडा खेल्न । त्यता नगएका मान्ठाहरू घट्ट खोलामा लुगा धुँदै, नुहाउँदै थिए ।

बूढाबूढीहरू थाडामा बसेर तमाखु तान्दै, गाला मार्दै (गफ गर्दै) थिए । एकअर्कासँग अडिएर बसेका घरहरूको एउटै थाडा थियो । फरक–फरक लिस्नु चढे पनि एउटै थाडामा पुगिन्थ्यो । मान्ठाहरू बेलाबेला खोक्थे– ख्वाक्–ख्वाक् । र, तमाखु एक हातबाट अर्कोमा सर्थ्यो । तमाखु–धूवाँ नाच्दै–नाच्दै कुइरोमा मिसिएर हराइजान्थ्यो ।

‘जीवन पन त तमाखुजस्तै न रह्या छ, हराई जाँदो एक दिन धूवाँ बनेर,’ तमाखु तान्ने समूहभन्दा पर कतैबाट भावुक आवाज आयो । पल्लो थाडामा एक्लै बसेकी थिई– एक बैकिनी । नाकमा फुली, नतनी–निधारमा रातो टीका–कालो चोलो र कानमा ठूल्ठूलो चक्री– खासमा जुलपी शाही निक्कै सुन्दर देखिएकी थिई । तर, सुन्दर बैकिनीको कथा उति सुन्दर छैन ।

‘तेह्र वर्षको हुँदा जिया–बुवाले बिहे गरेर बझाङबाट हुम्ला पठाए । तेह्र दिन–रात हिँडेर हुम्ला आइपुगेँ । तर, मलाई मेरो बिहे भएको थाहै थिएन । अहिलेको भाउहरू १३ वर्षकै उमेरमा मस्तै कुरा थाहा पाइसक्छन् । त्यो बेला हामीलाई खानु र खेल्नुभन्दा बढी केही थाहा थिएन । चार वर्षपछि मात्रै बिहे भएको थाहा पाएँ’, जुलपी भन्छिन्, ‘त्यतिबेलासम्म मेरो एउटा बच्चा भइसकेको थियो । ऊ बेला छुई नहुँदै नानैमा बिहे गर्ने चलन रह्या छ । छुई पन बिहे गरेकै वर्ष भयो । तेह्रसँग अम्तै सौंराइ जोडिएको छ । लोग्ने पन मभन्दा तेह्र वर्ष जेठो रह्या छन् । बिहे भएको पन अब त बयालीस वर्ष भइगो ।’ अर्थात् उनी माइत नगएको पनि त्यत्ति नै वर्ष भयो ।

बोलिरहिन् जुलपी, सुनिरहेँ म :

आखिर घर भन्नु पन त के नै रह्या छ र भाउवा ? जहाँ बस्यो त्यहीँको माया लाग्दो रैछ । त्यहीँको मान्ठा भैजाँदो रह्या छ । मेरो घर उत्तिबेलै हराइगए । जतिबेला मेरो जिया–बुवाले मलाई र मेरो बचपनलाई दुईचार शब्द मीठो बोली र केही कोसेलीसँग साटिदिए । सौरा (ससुरा) हुँदा भन्थे– भाउहरू ठूलो भएपछि बुहारीलाई माइत लैजाउँला । जिया–बुवा भेटौली । सौराको कुराले खुसी हुन्थेँ । कामका बेला पन एक्लै रमाउँथें, एक्लै हाँस्थें । गाउँथें । जिया–बुवाको अनुहार सम्झिने कोसिस गर्थें । तर, राम्रोसँग कसैको अनुहार याद थिएन । निराश भैजान्थें । फेरि सोच्थें, मेरी जिया मजस्तै हुँदी हो । सौरा हुँदासम्म जिया बुवासँग भेट्ने आशा बाँकी थियो । जब खोकीले सौरालाई लैगए, सौरासँगै हराइगए – बचेका आशा पन ।

कहिलेकाहीँ लाग्थ्यो– भागिजाऊँ, तर कहाँ जानु ? कसकोमा जानु ? आफ्नो को ? अहिलेसम्म गाउँबाहिर पाइला टेक्या नाइँ । छन त जिया–बुबाको, आफ्नो गाउँको माया कत्ति छ कत्ति । माया भए पन क्या गर्नु ! सुरु–सुरुमा लाग्थ्यो, मेरो जिया–बुवा कहाँ गए होलान् । कुनै दिन त मकन लिन आइजालान् । सबैका जिया–बुवा थिए । दिनभर साथीहरूसँग खेल्थेँ सबै बिर्सन्थें । बाहा भएपछि जिया–बुवाको याद आउँथ्यो । अरू मान्ठा माइत जाँदा मलाई पन माइतको सौंराइ लाग्थ्यो । सौंराइ लाग्या पन जानु कहाँ ? अब त कहीँ गए सौंराइ पन त्यहीँको लाग्दो । सुइना पनि यहीँकै देख्छु ।

जुलपीको कथाले मेरो मन एकतमासको भयो । भन्छिन्, ‘म अरू दिदी–बहिनीभन्दा राम्री भएकीले मेरो चाँडै बिहे

गरेको रे ।’ पितृसत्तात्मक समाजमा ‘महिला सुन्दर’ हुनु पुरुषको भोग्य–वस्तु हुनुजस्तै रहेछ । सुन्दरताकै नाममा तेह्र वर्षमै उनले आफ्नो बचपन गुमाइन् । जिया–बुवाको माया गुमाइन् । आफ्नाको साथ गुमाइन् । भन्न त भन्थिन् उनी, ‘अब कसैको सौंराइ पन लाग्दैन् । दुःख पन लाग्दैन् ।’ तर, उनको अनुहारमा सानैमा भोगेका दुःख छल्किन्थ्यो ।

पितृसत्ताले महिलाको व्यक्तिगत, सामाजिक पहिचानदेखि शरीर, सोच, श्रम, विवाहजस्ता विषयलाई नियन्त्रणमा राखेको छ । पितृसत्ताबाट निर्देशित समाजले महिलालाई वस्तुकरण गरिरह्यो । उपभोग्य वस्तुको रूपमा मात्रै हेरिरह्यो । उहिल्यैदेखि नै जुलपीहरूले भोगेको सामाजिक मनोविज्ञान र अहिले हामीले भोगिरहेको सामाजिक मनोविज्ञानमा कुनै अन्तर छैन ।

एक युवती सुस्मिताले आठ वर्षअघि आफूमाथि बलात्कार भएको कुरा सामाजिक सञ्जालको भिडियोमार्फत भनिन् । जुलपी भन्थिन्, ‘राम्री हुनु पन पापै गर्‍याजस्तो हुने बैकिनीकन । आठ वर्षपछि भए पनि उनले आफूमाथिको यौन शोषणविरुद्ध बोल्ने हिम्मत गरिन् । उनको यो हिम्मतले तरंग नै ल्याएको छ ।’ जुलपीले भनेजस्तै त्यो जमाना अर्कै थियो । यो जमाना अर्कै हो । भर्खर–भर्खर उठ्न खोजिरहेको आवाजसँग आवाज उठाउने बेला आएको छ । पितृसत्ताबाट निर्देशित सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक व्यवस्थाविरुद्ध सशक्त विद्रोहको आवश्यकता छ ।

२१ औं शताब्दीसम्म आइपुग्दा पनि लैंगिकताका आधारमा हुने हिंसा कम हुनुको साटो झन्–झन् डरलाग्दो हुँदै गइरहेको छ । घर, परिवार, चुलो–चौकाबाट कहिल्यै उम्किन नपाएका जुलपीहरू घाँस, दाउरा जाँदा गीतबाटै दुःखको थैलो फुकाउँछन्–

‘क्यान् रुन्छै डाँफे चरी कैको सौंराइले

दिलमा बस्याको माया लैग्या कि पराइले’

नयाँ वर्षको दिन सबैका घरमा पाकेको थियो– रातो धानको पुवा । घर–घरमा एकै खालको पुवा पाकेको भए पनि गाउँलेहरू एकअर्काको घरमा पुवा पुर्‍याउँथे । पुवाको बास्नाले गाउँ मगमगाएको थियो । नानीहरू नुहाइधुवाइ गरेर ओखरथलातिर देउडा हेर्न जाँदै थिए । देउडा हेर्न जाँदै गरेका नानीहरूतिर हेरेर जुलपी गाउँछिन्–

‘अन्तै देश बाईजाने छियाँ रोइदिन्याँ कोइ नाइँ ।’

आफ्नो कहालीलाग्दो भोगाइ सुनाइरहिन् उनले । सुनिरहेँ म । कथाको अरोह–अवरोहसँगै बल्दै निभ्दै गर्थ्यो उनको अनुहार :

बुवा बितेको छ महिनापछि खबर पाएँ । उबेला भेडाबाख्रा पाल्ने चलन थियो । भेडाबाख्रा पाल्नेहरू हिउँदमा अछाम, बाजुरा, बझाङतिर जान्थे । त्यही भेडा ग्वालाहरूले बुवा बितेको खबर ल्याएका थिए । बुवा बितेपछि जिया अर्कैसँग गई भनेको सुनेँ । त्यसपछि मारे कि बाँचे केही खबर आएन । म मात्रै कहाँ हो र, हप्ल्लो (माथिल्लो) घरको बड्डी मभन्दा पहिला आएकी हुन् । बिहे गरेर आएदेखि कहीँ गए नाइँ । माइत देश कसो छ देख्या नाइँ । अब काल पन आइगो । कठैबरा !

बिस्तारै बादल फाटेर घाम लाग्न थालेको थियो हुम्लामा । कुइरोहरू हिमाल चढिसकेका थिए । सफा भएको थियो मौसम । उज्यालो देखिएको थियो– गाउँ ।

तर, उनी धुम्म थिइन् गजधम्म आकाशजस्तै । हुन पनि उनले भोगेको दुःख बादल र कुइरोजस्तो कहाँ थियो, जो सजिलै हराइजान्थ्यो !

प्रकाशित : श्रावण २८, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

बजाउने हात खोजिरहेछ ‘ङ’

कुन्साङ

सेताम्ये हिमालहरूबीच बसेको छ– हुम्लाको खम्गुङ अर्थात् खगाल गाउँ । हिउँले गाउँलाई सर्लक्कै ढाकेको छ । चारैतिर हिमाल र बीचमा गाउँ । हिमालहरूमा ठक्कर खाँदै–खाँदै गाउँमा गुन्जिरहन्छ– कर्णाली नदीको सुसेली ।

ताम्ये हिमालहरूबीच बसेको छ– हुम्लाको खम्गुङ अर्थात् खगाल गाउँ । हिउँले गाउँलाई सर्लक्कै ढाकेको छ । चारैतिर हिमाल र बीचमा गाउँ । हिमालहरूमा ठक्कर खाँदै–खाँदै गाउँमा गुन्जिरहन्छ– कर्णाली नदीको सुसेली ।

पहिले–पहिले आजका दिन गाउँ कार्चेन (उज्यालो हुनुपहिले उदाउने तारा) सँगै ब्युँझिन्थ्यो । हप्तादिन अघिदेखि नै मान्छेहरू डोको भरीभरी लुगा बोकेर छ्रर्युक (तातो पानी) जान्थे । दिनैभर लुगा धोएर साँझ मात्रै फर्किन्थे । दवा च्यु अर्थात् दसौं महिना (माघ) को छेवा च्याङा (१५ गते) का दिन बिहानैदेखि गाउँमा मानीको ङ (बाजा) बज्न सुरु हुन्थ्यो । कर्णाली ङ को तालमा नाच्दै–नाच्दै बग्थ्यो । कर्णालीको सुसेलीसँगै लिङ्स्याङको तिखो ध्वनि वरिपरिका हिमालहरूमा ठोक्किएर गुन्जिरहन्थ्यो । लाग्थ्यो, हिमालहरू पनि मानीमा रमाइरहेका छन् । गाउँमा अर्कै रौनक छाउँथ्यो । तर, अहिले गाउँमा त्यो रौनक छैन । उस्तो चहलपहल पनि छैन । मात्र कर्णाली एकोहोरो सुसाइरहेको सुनिन्छ ।

६४ वर्षे बलबहादुर लामा टाक्तेल लतिर (हिमाल) हेरेर टोलाइरहेका थिए । उनी बेलाबेला घडी हेर्थे । लामो हाई काढेर भन्थे, ‘एक बज्न लागिसक्यो । अहिलेसम्म सुनसान छ– गाउँ ।’

बलबहादुर सम्झिन्छन्, ‘पहिले–पहिले मानीमा निकै रमाइलो हुन्थ्यो । हप्ता दिनपहिले पल्लो गाउँबाट माटो ल्याएर बाक (मुखौटो) बनाइन्थ्यो । मानी निकै पुरानो पर्व हो ।’ यो ठाउँमा कहिलेदेखि बस्ती बस्यो, त्यसको लिखित अभिलेख त छैन, तर यहाँ बस्ती बसेदेखि नै गाउँलेहरूले मानी मान्दै आएका छन् । यहाँको रलिङ गुम्बाको स्थापना पन्ध्रौं शताब्दीमा भएको अनुमान छ । सुरुमा रलिङ गुम्बाको रिम्पोछे खम्गुङमा बस्न आएको र पछि यहाँबाट उडेर रलिङमा बसेको भन्ने मान्यता छ । अर्थात् पन्ध्रौं शताब्दीभन्दा अघिदेखि नै मानी मान्दै आएका थिए यहाँका पुर्खाहरूले ।

मानी

भोत/लामाहरू दवा च्यु अर्थात् दसौं महिनाको छेवा च्याङादेखि तीन दिनसम्म मानी पर्व मनाउँछन् । पहिलो दिन दिउँसो गुम्बामा पूजा गरिन्छ । पूजापछि तोङरमा (मानी नाच्ने सार्वजनिक जग्गा) गाउँका सबै मान्छे जम्मा भएर सम्दुल (भूमि पूजा) गरी मानीको सुरुवात गरिन्छ । गाउँका बूढापाकाहरू चारदिशालाई छ्याङ चढाउँछन् । मानी सुरु हुनु दुई महिनाअघि नै चार जना मानीका ङ्याँर्व (अगुवा) हरू गाउँलेका घर–घर पुगेर चिनु उठाएर छ्याङ बनाउँछन् । ङ्याँर्वहरू प्रत्येक वर्ष फेरिन्छन् । पहिलेदेखि चलिआएको ह्युल्ठिम (नियम) अनुसार ङ्याँर्वहरू फेर्ने चलन छ ।

दोस्रो दिन बिहानैदेखि मान्छेहरू तोङरमा जम्मा भएर छ्याङ खान्छन् । मानी हेर्नेहरू वरिपरि बस्छन् । नाच्ने बाक्प (मानी नाच्ने मान्छे) हरू ङको तालमा ताल मिलाएर गालो घेरा बनाएर नाच्छन् । सबै बाक्पहरूको अनुहार रुमाल, खादा वा अरू पातलो कपडाले छोपिएको हुन्छ । पहिले–पहिले बाक्पहरू माटोको बाक बनाएर लगाउँथे । अहिले माटाको बाक बनाउने पनि कोही छैनन् ।

तोङर जाने बाटोतिर हेर्दै बलबहादुर भन्छन्, ‘मानी विशेषगरी सातथरीका नाच नाचेर मनाइन्थ्यो– बाक्प, ङाव, खिरागोन्बो, लामो, सिर्क्या, लाक्फिलोक र लालोङ । मानीको पहिलो र दोस्रो दिन बिहानैदेखि बाक्प र लाक्फिलोक नाचिन्थ्यो । तेस्रो दिन पनि बाक्प र लाक्फिलोक नै नाच्ने चलन थियो । बाक्प र लाक्फिलोक नाचिसकेपछि बेलुका ङाँव, सिर्क्यां, लामों र खिरागोन्बो नाचिन्थ्यो । लामो र ङावबीच लामो समय युद्ध हुन्थ्यो । ङाव आफ्नो तरबारले लामोलाई मर्न खोज्थ्यो । लामो धनुले ङावलाई हान्थ्यो । अन्तिममा युद्ध ङावले जित्थ्यो । लामो र ङावको युद्धपछि खिरागोन्बोले चार दिशा पुकार्थे । गाउँमा नराम्रा घटना नघटून्, रोग नलागोस्, अनिकाल नलागोस् र खेतीपाती राम्रो होस् भनेर भूमिको पूजा गरेर मानी सकिन्थ्यो । मानीको नाचहरू सकेपछि बेलुका महिला–पुरुषहरू राम्रा गहना लगाएर लालोङ नाच्थे ।’

तर, अहिले पहिलेजस्तो छैन मानी । मानीको सबै नाच ङको तालअनुसार नाचिन्छ । ङ बजाउने सिपालु ङर्त्वा (ङ बजाउने मान्छे) हरू मरेर गए । अहिले गाउँमा सिपालु ङर्त्वा छैनन् । ङर्त्वा र गीत गाउन जान्ने मान्छे नभएपछि लालोङ पनि हराएर गयो । अहिले बाक्प र लाक्फिलोक मात्र नाच्छन् यहाँ । अरू नाच पनि हराउँदै जाने क्रममा छ ।

पहिले हिमालमा कृषि र भेडाबाख्रा पालनबाहेक जीविकोपार्जनको अरू माध्यम थिएन । गाईगोरु, भेडाबाख्रालाई रोग नलागोस्, अनिकाल नलागोस् भनि चारदिशा पुकारेर सम्दुल गरिन्थ्यो । अहिले जीविकोपार्जनका अनेक माध्यम खुलेका छन् । समयसँगै जीविकोपार्जनमा आएको परिवर्तनले चाडपर्वमा पनि परिर्वतन ल्यायो । समाजमा आएको बदलावका विभिन्न कारण गीतहरू पुस्तान्तरण हुन सकेनन् । गीत र ङहरू पुस्तान्तरण हुन नसकेपछि मानी पनि बिस्तारै हराउँदै गयो ।

स्वतन्त्रताको पर्व

मानीलाई रमाइलो गर्ने पर्वका रूपमा मात्रै हेर्न मिल्दैन । स्वतन्त्रताको चाडपर्व पनि भनिन्छ– मानीलाई । मानीमा नाच्दा, स्याप्रु खेल्दा, ठट्टा गर्दा कोही पनि रिसाउन पाइँदैन । तर, पहिले–पहिले त्यो स्वतन्त्रता महिलाहरूका हकमा लागू हुन्थेन । ‘स्वतन्त्रताको चाड’ मा पुरुषजस्तै स्वतन्त्र भएर नाच्ने, स्वतन्त्रता उपभोग गर्ने स्वतन्त्रता महिलाहरूलाई थिएन । महिलाहरू मानीमा बाक्प नाच्न पाउँदैनथे । महिलाहरू बाक्प नाच्दा गाउँमा अपशकुन हुन्छ भनिन्थ्यो । गाउँका बूढाहरू/पुरुषहरू भन्थे, ‘इज्जत नभएकी महिलाले मात्रै बाक्प नाच्छन् ।’ ऊबेला संस्कारका नाममा महिलाको यौनिकतामाथि नियन्त्रण गरिन्थ्यो । परिवार र समाजको कथित इज्जतका लागि महिलाहरूको स्वतन्त्रता कैद थियो । आदिवासी–जनजाति महिला केन्द्रित धेरैजसो लेखबाट ‘जनजाति महिलाहरूमा लैंगिक विभेद कम छ’ भन्ने भाष्य निर्माण भएको छ ।

आदिवासी–जनजाति महिलाहरूले सम्बन्धविच्छेद, पुनर्विवाह जीवनसाथी र प्रेमी छान्नेलगायतका विषयमा निर्णय गर्ने अधिकार राख्छन् । प्रेम र यौनका विषयमा पनि आफ्ना विचार अभिव्यक्त गर्छन् । तर, आदिवासी–जनजाति समुदायमा पनि यौन, प्रेम, स्वतन्त्रता उपभोग र मनोञ्जनको अभ्यास फरक–फरक छ । विविधतायुक्त संस्कार, संस्कृति, फरक–फरक जीवनशैली र आर्थिक, राजनीतिक अवस्था पनि फरकफरक भेटिन्छ । उनीहरूको सवाल, समस्या र पहिचान पनि फरक छन् । फरक सवाल, समस्या र पहिचानको चर्चा, परिचर्चा कमै भएको छ ।

महिला सङ्घर्ष

बाक्प कुर्दाकुर्दै दुई बज्न लागेको थियो । बल्ल ङ र लिङ्स्याङको आवाज आउन थाल्यो । हामी तोङर पुग्दा आठ/नौ जना बाक्पहरू नाच्दै थिए । त्यसमा पुरुषहरू मात्र थिएनन्, महिलाहरू पनि थिए । हिमाली गाउँको प्राकृतिक सुन्दरतालाई अझ सुन्दर बनाएको थियो त्यो दृश्यले । तर, त्यो सुन्दर दृश्यको बाटो त्यत्ति सुन्दर थिएन । सुरुसुरुमा महिलाहरूले बाक्प नाच्दा परम्परा, समाजले अस्वीकार गरिदियो ।

बाक्प हेर्दै गरेकी ७४ वर्षीय एक एपी (बजै) लाई आफूले जीवनभरि बाक्प नाचेको कहिल्यै सम्झना छैन । भन्छिन्, ‘महिलाहरूले बाक्प नाच्दा गाउँमा राम्रो हुँदैन भन्थे । अहिले महिलाहरू पनि बाक्प नाच्छन्, लाक्फिलोक पनि नाच्छन् । खै त केही नराम्रो भएको छैन ।’ त्यो सुन्दर नाचको दृश्य महिलाहरूले परम्परा, संस्कार, संस्कृति र समाजसँग गरेको एउटा सुन्दर विद्रोह हो । अनि त्यो विद्रोही महिलाहरूको सुन्दर प्रतिरोधी चेतना पनि हो ।

प्रकाशित : वैशाख ३, २०७९ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×