कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेह्र सौंराइ

‘आखिर घर भन्नु पन त के नै रह्या छ र भाउवा ? जहाँ बस्यो त्यहीँको माया लाग्दो रैछ । त्यहीँको मान्ठा भैजाँदो रह्या छ । जीवन पन त तमाखुजस्तै न रह्या छ, हराई जाँदो एक दिन धूवाँ बनेर ।’
कुन्साङ

चिसो बिहान ! कर्णालीबाट उठेका कुइरोहरू हतार–हतार हिमाल चढ्दै थिए । मानौं कुइरोहरू आफ्नो साम्राज्य विस्तार गर्दै छन् । आकाश हेर्दा लाग्थ्यो– बादल पनि विस्तारवादी रहेछन् ।

तेह्र सौंराइ

बादलका झुप्पा मडारिँदै थिए । र, धमिलो थियो मौसम ।

घट्ट खोला नजिकै सानो खोल्सामा बसेको छ– खोल्सी गाउ । गाउँको ठीक तलतिर छ– रातो धान फल्ने खेत, नजिकै बग्छ– कर्णाली । कर्णालीबाट उठेका कुइरोले खोल्सी गाउँलाई सर्लक्क निलेको थियो । मौसम धमिलो भए पनि गाउँमा थियो नयाँ वर्षको रौनक । अविवाहित छोट्या–छोट्टीहरू ओखरथलातिर जाँदै थिए– देउडा खेल्न । त्यता नगएका मान्ठाहरू घट्ट खोलामा लुगा धुँदै, नुहाउँदै थिए ।

बूढाबूढीहरू थाडामा बसेर तमाखु तान्दै, गाला मार्दै (गफ गर्दै) थिए । एकअर्कासँग अडिएर बसेका घरहरूको एउटै थाडा थियो । फरक–फरक लिस्नु चढे पनि एउटै थाडामा पुगिन्थ्यो । मान्ठाहरू बेलाबेला खोक्थे– ख्वाक्–ख्वाक् । र, तमाखु एक हातबाट अर्कोमा सर्थ्यो । तमाखु–धूवाँ नाच्दै–नाच्दै कुइरोमा मिसिएर हराइजान्थ्यो ।

‘जीवन पन त तमाखुजस्तै न रह्या छ, हराई जाँदो एक दिन धूवाँ बनेर,’ तमाखु तान्ने समूहभन्दा पर कतैबाट भावुक आवाज आयो । पल्लो थाडामा एक्लै बसेकी थिई– एक बैकिनी । नाकमा फुली, नतनी–निधारमा रातो टीका–कालो चोलो र कानमा ठूल्ठूलो चक्री– खासमा जुलपी शाही निक्कै सुन्दर देखिएकी थिई । तर, सुन्दर बैकिनीको कथा उति सुन्दर छैन ।

‘तेह्र वर्षको हुँदा जिया–बुवाले बिहे गरेर बझाङबाट हुम्ला पठाए । तेह्र दिन–रात हिँडेर हुम्ला आइपुगेँ । तर, मलाई मेरो बिहे भएको थाहै थिएन । अहिलेको भाउहरू १३ वर्षकै उमेरमा मस्तै कुरा थाहा पाइसक्छन् । त्यो बेला हामीलाई खानु र खेल्नुभन्दा बढी केही थाहा थिएन । चार वर्षपछि मात्रै बिहे भएको थाहा पाएँ’, जुलपी भन्छिन्, ‘त्यतिबेलासम्म मेरो एउटा बच्चा भइसकेको थियो । ऊ बेला छुई नहुँदै नानैमा बिहे गर्ने चलन रह्या छ । छुई पन बिहे गरेकै वर्ष भयो । तेह्रसँग अम्तै सौंराइ जोडिएको छ । लोग्ने पन मभन्दा तेह्र वर्ष जेठो रह्या छन् । बिहे भएको पन अब त बयालीस वर्ष भइगो ।’ अर्थात् उनी माइत नगएको पनि त्यत्ति नै वर्ष भयो ।

बोलिरहिन् जुलपी, सुनिरहेँ म :

आखिर घर भन्नु पन त के नै रह्या छ र भाउवा ? जहाँ बस्यो त्यहीँको माया लाग्दो रैछ । त्यहीँको मान्ठा भैजाँदो रह्या छ । मेरो घर उत्तिबेलै हराइगए । जतिबेला मेरो जिया–बुवाले मलाई र मेरो बचपनलाई दुईचार शब्द मीठो बोली र केही कोसेलीसँग साटिदिए । सौरा (ससुरा) हुँदा भन्थे– भाउहरू ठूलो भएपछि बुहारीलाई माइत लैजाउँला । जिया–बुवा भेटौली । सौराको कुराले खुसी हुन्थेँ । कामका बेला पन एक्लै रमाउँथें, एक्लै हाँस्थें । गाउँथें । जिया–बुवाको अनुहार सम्झिने कोसिस गर्थें । तर, राम्रोसँग कसैको अनुहार याद थिएन । निराश भैजान्थें । फेरि सोच्थें, मेरी जिया मजस्तै हुँदी हो । सौरा हुँदासम्म जिया बुवासँग भेट्ने आशा बाँकी थियो । जब खोकीले सौरालाई लैगए, सौरासँगै हराइगए – बचेका आशा पन ।

कहिलेकाहीँ लाग्थ्यो– भागिजाऊँ, तर कहाँ जानु ? कसकोमा जानु ? आफ्नो को ? अहिलेसम्म गाउँबाहिर पाइला टेक्या नाइँ । छन त जिया–बुबाको, आफ्नो गाउँको माया कत्ति छ कत्ति । माया भए पन क्या गर्नु ! सुरु–सुरुमा लाग्थ्यो, मेरो जिया–बुवा कहाँ गए होलान् । कुनै दिन त मकन लिन आइजालान् । सबैका जिया–बुवा थिए । दिनभर साथीहरूसँग खेल्थेँ सबै बिर्सन्थें । बाहा भएपछि जिया–बुवाको याद आउँथ्यो । अरू मान्ठा माइत जाँदा मलाई पन माइतको सौंराइ लाग्थ्यो । सौंराइ लाग्या पन जानु कहाँ ? अब त कहीँ गए सौंराइ पन त्यहीँको लाग्दो । सुइना पनि यहीँकै देख्छु ।

जुलपीको कथाले मेरो मन एकतमासको भयो । भन्छिन्, ‘म अरू दिदी–बहिनीभन्दा राम्री भएकीले मेरो चाँडै बिहे

गरेको रे ।’ पितृसत्तात्मक समाजमा ‘महिला सुन्दर’ हुनु पुरुषको भोग्य–वस्तु हुनुजस्तै रहेछ । सुन्दरताकै नाममा तेह्र वर्षमै उनले आफ्नो बचपन गुमाइन् । जिया–बुवाको माया गुमाइन् । आफ्नाको साथ गुमाइन् । भन्न त भन्थिन् उनी, ‘अब कसैको सौंराइ पन लाग्दैन् । दुःख पन लाग्दैन् ।’ तर, उनको अनुहारमा सानैमा भोगेका दुःख छल्किन्थ्यो ।

पितृसत्ताले महिलाको व्यक्तिगत, सामाजिक पहिचानदेखि शरीर, सोच, श्रम, विवाहजस्ता विषयलाई नियन्त्रणमा राखेको छ । पितृसत्ताबाट निर्देशित समाजले महिलालाई वस्तुकरण गरिरह्यो । उपभोग्य वस्तुको रूपमा मात्रै हेरिरह्यो । उहिल्यैदेखि नै जुलपीहरूले भोगेको सामाजिक मनोविज्ञान र अहिले हामीले भोगिरहेको सामाजिक मनोविज्ञानमा कुनै अन्तर छैन ।

एक युवती सुस्मिताले आठ वर्षअघि आफूमाथि बलात्कार भएको कुरा सामाजिक सञ्जालको भिडियोमार्फत भनिन् । जुलपी भन्थिन्, ‘राम्री हुनु पन पापै गर्‍याजस्तो हुने बैकिनीकन । आठ वर्षपछि भए पनि उनले आफूमाथिको यौन शोषणविरुद्ध बोल्ने हिम्मत गरिन् । उनको यो हिम्मतले तरंग नै ल्याएको छ ।’ जुलपीले भनेजस्तै त्यो जमाना अर्कै थियो । यो जमाना अर्कै हो । भर्खर–भर्खर उठ्न खोजिरहेको आवाजसँग आवाज उठाउने बेला आएको छ । पितृसत्ताबाट निर्देशित सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक व्यवस्थाविरुद्ध सशक्त विद्रोहको आवश्यकता छ ।

२१ औं शताब्दीसम्म आइपुग्दा पनि लैंगिकताका आधारमा हुने हिंसा कम हुनुको साटो झन्–झन् डरलाग्दो हुँदै गइरहेको छ । घर, परिवार, चुलो–चौकाबाट कहिल्यै उम्किन नपाएका जुलपीहरू घाँस, दाउरा जाँदा गीतबाटै दुःखको थैलो फुकाउँछन्–

‘क्यान् रुन्छै डाँफे चरी कैको सौंराइले

दिलमा बस्याको माया लैग्या कि पराइले’

नयाँ वर्षको दिन सबैका घरमा पाकेको थियो– रातो धानको पुवा । घर–घरमा एकै खालको पुवा पाकेको भए पनि गाउँलेहरू एकअर्काको घरमा पुवा पुर्‍याउँथे । पुवाको बास्नाले गाउँ मगमगाएको थियो । नानीहरू नुहाइधुवाइ गरेर ओखरथलातिर देउडा हेर्न जाँदै थिए । देउडा हेर्न जाँदै गरेका नानीहरूतिर हेरेर जुलपी गाउँछिन्–

‘अन्तै देश बाईजाने छियाँ रोइदिन्याँ कोइ नाइँ ।’

आफ्नो कहालीलाग्दो भोगाइ सुनाइरहिन् उनले । सुनिरहेँ म । कथाको अरोह–अवरोहसँगै बल्दै निभ्दै गर्थ्यो उनको अनुहार :

बुवा बितेको छ महिनापछि खबर पाएँ । उबेला भेडाबाख्रा पाल्ने चलन थियो । भेडाबाख्रा पाल्नेहरू हिउँदमा अछाम, बाजुरा, बझाङतिर जान्थे । त्यही भेडा ग्वालाहरूले बुवा बितेको खबर ल्याएका थिए । बुवा बितेपछि जिया अर्कैसँग गई भनेको सुनेँ । त्यसपछि मारे कि बाँचे केही खबर आएन । म मात्रै कहाँ हो र, हप्ल्लो (माथिल्लो) घरको बड्डी मभन्दा पहिला आएकी हुन् । बिहे गरेर आएदेखि कहीँ गए नाइँ । माइत देश कसो छ देख्या नाइँ । अब काल पन आइगो । कठैबरा !

बिस्तारै बादल फाटेर घाम लाग्न थालेको थियो हुम्लामा । कुइरोहरू हिमाल चढिसकेका थिए । सफा भएको थियो मौसम । उज्यालो देखिएको थियो– गाउँ ।

तर, उनी धुम्म थिइन् गजधम्म आकाशजस्तै । हुन पनि उनले भोगेको दुःख बादल र कुइरोजस्तो कहाँ थियो, जो सजिलै हराइजान्थ्यो !

प्रकाशित : श्रावण २८, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?