चन्द्र गुरुङका भावप्रवण कविता

केही समयअघि पाठकको हातमा आइपुगेको कवि चन्द्र गुरुङको कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ मा समेटिएका मर्मस्पर्शी कविताहरूको सामर्थ्यमा हालका दिनमा नेपाली भाषामा प्रकाशित काव्य–कृतिमध्ये सर्वाधिक चर्चित किताब बन्न पुगेको छ । निकट विगतका धेरै वर्ष देशबाहिर रहेकाले नेपाली पाठकबीच तुलनात्मक रूपमा कम परिचित र प्रायोजित प्रचार–प्रसारबाट टाढा रहँदै आएको एक शिष्ट, विनम्र कविको यो किताबले पाएको चर्चा–प्रशंसालाई नेपाली कविताको दुनियाँमा घटित एउटा दुर्लभ घटनाका रूपमा लिन सकिन्छ ।

कवि चन्द्र गुरुङले नेपाली कविताका अध्येताहरू, साधारण पाठकहरू र काव्य–विवेचकहरूबाट समान रूपले पाएको यो स्नेह र अनुशंसाका पछाडि यस संग्रहमा संकलित केही उत्कृष्ट कविताहरू छन् । यी भावप्रवण कविता पछिल्लो छिमलमा नेपाली भाषामा लेखिने गरेका अधिकांश कविताभन्दा पृथक् त लाग्छन् नै साथै ती गहन मानवीय संवेदनाले भरपूर, आत्मीय र कमनीय पनि छन् । पाठकको दिमागलाई होइन दिललाई छुन खोज्ने चन्द्रका यी कवितालाई थोरै शब्दमा अर्थ्याउँदा यिनलाई सरल र प्रस्ट बुझिने भाषामा सुनाइएका मानवीय संवेग, पीडा र वेदनाका गीत पनि भन्न सकिन्छ । साथै यी कविताले मीतभाष र शाब्दिक अनुशासनका उम्दा बान्की पनि प्रस्तुत गरेका छन् ।
आजको अत्यन्त तरल राजनीतिक पर्यावरणमा अधिकांश नेपाली जनताजस्तै कवि–लेखकहरू पनि नेपाली राजनीतिले लिएको विपथगामी गति र दिशाप्रति उग्र रूपले प्रतिक्रियात्मक भएका छन् । त्यसैले तिनले धेरै नै वाचाल भएर कवितालगायत साहित्यका अन्य विधालाई समेत आफ्नो राजनीतिक एजेन्डा मुखरित गर्ने उपकरणका रूपमा प्रयोग गरिरहेका छन् । यस सिलसिलामा कुनै कवि–लेखकले नेपाली समाजमा विद्यमान सामाजिक विभेदका मुद्दालाई आफ्नो अभिव्यक्तिको मुख्य विषय बनाएका छन् भने कुनैले पहिचानको मुद्दालाई प्रमुख रूपमा उठाएका छन् । अन्य कतिपयले देशमा राजनीतिक परिवर्तनका सँगसँगै भित्रिएका विकृति, विसंगति, सांस्कृतिक चेतनाको तिरोहण र भ्रष्टाचारको विरोधमा आवाज घन्काउन साहित्य, खासगरी कविता विधालाई माध्यम बनाएका छन् । राष्ट्रिय राजनीतिले नै गलत बाटो पक्डिएर सुव्यवस्था र सुशासनका आधारशिलाहरूलाई ध्वंस पारेको परिदृश्यमा रचिने साहित्यको मूल स्वर कर्कश सुनिनु सायद स्वाभाविकै हो ।
देशमा व्याप्त चरम् बेथिति र अनाचारका कारण आम नेपाली जनताजस्तै स्रष्टाहरू पनि असहाय बनेका र कुण्ठाग्रस्त स्थितिमा बाँचिरहेका छन् । आक्रोशित र कुण्ठित कवि–लेखकहरूले आफूभित्र गुम्सिएर रहेको विद्रोही चेतनालाई निकास दिँदै देशमा व्याप्त विकृति र विसंगतिमाथि प्रहार गर्न तिनका विरुद्ध मुखर टिप्पणी गर्ने साहित्य रचना गर्नु न अस्वाभाविक हो न बेठीक नै । तर, आक्रोशको भट्टीबाट निस्केका त्यस किसिमका विद्रोही रचनाहरू वाचाल किसिमले प्रतिक्रियात्मक र कलात्मक प्रस्तुतिका दृष्टिले निम्छरो हुने जोखिम रहन्छ । पछिल्लो छिमलका कतिपय नेपाली कवि–लेखकहरू त्यही जोखिमको चपेटामा परेकाले तिनका धेरैजसो रचनाहरूले लय, रस र लालित्य गुमाएका छन् ।
चन्द्र गुरुङका कविता त्यस जोखिमबाट मुक्त रहेको देखिनुलाई म नेपाली कविताको भविष्यका दृष्टिले एउटा सुखद विषय मान्छु । प्रायः चिच्याएर आफ्नो कुरो राख्न खोज्ने हालका दिनहरूमा लेखिइरहेका कविताहरूको बेतरतीव भीडमा चन्द्र गुरुङका शान्त र सटीक विम्बको भाषा बोल्ने कविता ताजा बतासको झोक्काजस्तै लाग्छन् । चन्द्रका कतिपय कविताले पनि राजनीतिको भाषा बोलेका छन्, तर ती यति मधुर स्वरमा आफ्नो कुरा राख्छन् पाठकसम्म तिनले सन्देश मात्रै पुर्याउँदैनन्, साथसाथै मीठो कविताको स्वाद पनि चखाउँछन् ।
चन्द्रको काव्य–शिल्पबारे मैले भन्नूपर्ने एउटै कुरा छ– कतिपय कवितामा उनी दोहोरिएका छन् र कतिपय कवितालाई ज्योमेट्रीको थ्योरममा जस्तै निष्कर्षमुखी बनाएका छन् उनले । कतिपय कविताका अन्त्यका केही हरफ झिकिदिँदा कविताको गुणवत्ता बढ्ने स्थिति पनि देखिएको छ । यो उम्दा कविताकारिता हुन सक्दैन ।
चन्द्र गुरुङका बलशाली कविताका केही बान्की :
बाको अनुहार
त्यो अनुहारमा
दुई आँखा घाम–जून चम्कन्छ
उडिरहन्छ आत्मविश्वासको एउटा चङ्गा
आपत्विपद्को हावाहुरीमा जुध्दै
मुस्कुराउँछन् सुन्दर सुनाखरी र गुराँस ।
त्यो अनुहारमा
हरेक बिहान नयाँ दिनको भारी बोक्ने
उदाउँछ एउटा घाम
जो साँझमा दु:खका धर्सा छोप्दै
खुसीका ससाना पोका बोक्दै
आइपुग्छ उज्यालो पार्दै घर–आँगनमा ।
मातृभाषा
शब्द लिएँ, र शङ्खघोष गरेँ आफ्नो उपस्थितिको
शब्द लिएँ, र पुकारेँ–आमा जननीलाई!
शब्द लिएँ, र पछ्याएँ बालाई जीवनपथमा ।
शब्द लिएँ, र गरेँ उच्चारण प्रेमको
शब्द लिएँ, र लिएँ पल–पल बाँच्नुको आनन्द
शब्द लिएँ, र भरेँ प्राण बोलीमा ।
परदेश–१
घरदेशबाट चुच्चोमा सुखका टुक्राटाक्री च्याप्दै
खबरको एउटा चरी
बस्छ मनको आँखीझ्यालनेर आएर
खस्छ आँसु बनेर जीवन
कठैबरी यो खुसी!
घरदेशबाट घर–परिवारको व्यथा बोक्दै
आइपुग्छ सन्देशको कालो बादल
ल्याउँछ पीरको हावाहुरी
बजार्छ मनमा दु:खको चट्याङ
कठैबरी यो पीडा!
परदेश त
दुईधारे तरबार पो रहेछ
खुसीमा पनि काट्छ
पीडामा पनि काट्छ ।
जब एउटा मान्छे हराउँछ
एउटा घाम हराउँछ
त्यो घाम झुन्डिने आकाश हराउँछ
आकाशको बादल ओढेर उभिएको पहाड हराउँछ
पहाडलाई भेट्न आउने जुन हराउँछ
हराउँछन् रातमा जुन नदेख्दा ताराहरू
जब एउटा मान्छे हराउँछ ।
एउटा आँगन हराउँछ
त्यहीँ टेक्दै आउने खुट्टाहरू हराउँछन्
ती खुट्टाका आहट पर्खिबसेको ढोका हराउँछ
आँखाहरू देखादेख हुने झ्याल हराउँछ
हराउँछ एउटा घर
हराउँछ एउटा परिवारको सुगन्ध
जब एउटा मान्छे हराउँछ ।
दैनिकीको सुरताल हराउँछ
आँसु थाप्ने हातको स्पर्श हराउँछ
समयको रूपरङ्ग हराउँछ
हराउँछ मनको भित्ताबाट खुसियालीको चित्र
जब एउटा मान्छे हराउँछ ।
एउटा छहरा हराउँछ
त्यो छहराले भेट्न जाने समुद्र हराउँछ
समुद्रसित एकान्तमा बात मार्ने बैंसालु रात हराउँछ
रातसित हात मिलाएर गएको दिन हराउँछ
हराउँछ धड्कन व्यत गर्ने शब्दहरू
जब एउटा मान्छे हराउँछ ।
त्यही मुखाकृतिलाई आँखाभरि समाल्दै बस्ने
आमाको आशीर्वाद हराउँछ
भत्किएको घरको डिलमा झोक्राइरहेको
बूढो बाको भरोसा हराउँछ
एउटा सिउँदोलाई बेर्ने न्यानो अँगालो हराउँछ
हराउँछ गालामा बस्न आउने चुम्बनको पुतली
जब एउटा मान्छे हराउँछ ।
उदासीमा जुन किनारमा उभिने गथ्यौँ
हो, त्यो नदी हराउँछ
साथ उक्लिने देउराली हराउँछ
बटोको छातीबाट पदचिह्नहरू हराउँछन्
आपत्मा आश्वस्त पार्ने स्वर हराउँछ
हराउँछ सिङ्गो पृथ्वी
जब एउटा मान्छे हराउँछ ।
प्रकाशित : श्रावण २१, २०७९ १०:०३