कमरेडको जनै !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमरेडको जनै !

सुविन न्यौपाने ‘कान्जिभाइ’

समाजवादी आदर्श बोकेका
होनहार कमरेड
अमेरिकाको स्विमिङ पुलतिर
किन रमाइरहेछन् भिरेर जनै ?

कुनै चिन्ता छैन अब कमरेडलाई

जनै खटिराको,

भइसकेको छ तय

नास्तिकतादेखि आस्तिकताको पृथक् यात्रा ।


सम्झेलान् कि बिर्सिसके होलान्

कमरेडले आजभोलि,

रोल्पा र रूकुमका राता बस्ती ?

सुसेल्लान् कि नसुसेल्लान्

भन्ज्याङ र देउरालीहरुले,

मुक्तिको सचेत सुसेली ?

सम्झेलान् कि बिर्सिसके होलान्

सल्यानका राताम्मे वन पाखाहरु ?

कस्तो क्रान्ति गर्छन् होला

कमरेड आजकल ?

मगजमा क्रान्तिका खत

बाँकी होलान् कि नहोलान् ?

कस्ता धारणा बुन्दा हुन् शक्तिराष्ट्रबारे

अमेरिका भासिएका कमरेड ?

मुक्तिको बीउ रोपेको भूमि

कसरी बुझ्दा हुन् अहिले ?


बिर्से कि सम्झँदै होलान्

आफैंले बोकेको रक्तरञ्जित झन्डा ?

चेको छापामार युद्ध ?

मार्क्सको पुाजीको ठेली ?

लेनिनको अक्टोबर क्रान्ति ?

सम्झेलान् कि बिर्से होलान्

अधिकारका अनेकन् आन्दोलन ?

गुनगुनाउलान् कि नाइँ

लालझुपडीका संगीतहरु ?

पोल्दै होला कि नहोला

सयौं राता सहिदका सम्झनाले ?


पुँजीपति भएका छन् कमरेड

आजकल

बिहानै डुलाउँछन् जर्मन सेफर्ड

जप्छन् देउताको नाम

गर्छन् पितृ श्राद्ध

सेलाउँछन् पिण्ड–

सेलफोनमा भिडियोबाटै ।


साँच्चै, स्मृतिको डिलमा उभिएर

कस्तो वैचारिक उडान भर्दै होलान्

कमरेड आजकल ?

प्रकाशित : श्रावण १४, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

जेठा बा  !

बाबुराम श्रेष्ठ ‘यात्री’

धूमिल अनुहारमा पिँढीमा बसिरहन्छन् रे सोचमग्न, विचारशील एक्ला जेठा बा स्मृतिहरुको जुलुस बोकेर ।

लाग्छ— सिङ्गो पहाड उभिएका हुन् जेठा बा

पहाडको हरियाली मरेर

फुस्रोफुङ्गोझैं

रुखहरु

विनापात खडेरीले झरेको झैं

सुकेका हाँगाहरु मात्र

ठिङ्ग गलेर हात फैलाएझैं

वर्षौंदेखि कोहीकोही कुरिरहेझैं

उदास, हतास, जीर्ण

उत्तरार्द्धमा छन् रे जेठा बा ।


पहिले–पहिले यस्ता थिएनन्

गाउँको सोझो, इमानदार, कर्तव्यनिष्ठ सिपाही

एउटा सिङ्गो खम्बा

कसैको दुःखमा दुःख बाँड्ने

कसैको सुखमा सुख साट्ने

गाउँका मियो थिए

उनको चाल, उनको मान,

उनको शान, उनको हँसाइ, उनको बोलाइ, उनको हिँडाइ

विछट्टै हँसिलो, रसिलो

भरिलो अनुहार बोकेर

सबका प्यारो थिए

आज जेठा बाका थाकेका आँखाहरुले

चुपचाप सोध्न खोजेका प्रश्न

एउटा लामो आख्यान हो

जेठा बाको मुजामुजा परेको अनुहार

कुप्रिएको ढाड

सुकेको ज्यान

जीवनीको एउटा सिङ्गो किताब हो ।

यो किताबमा धेरैथोक अटाए

तमाम आफन्तजन,

छोराछोरी, नातिनातिना

जो घुमिरहेछन् अचेल देश–विदेश

आफ्नै बा बिर्सेर ।


उहिले मलाई पनि

पिठ्युँमा बोकेर हिँड्थे

‘हट् घोडा हट्’ भन्दै

आफ्ना इच्छाहरु मारेर

मेरा हरइच्छा पूरा गरेर

लक्का जवान बनाए

बदलामा दिने केही छैन मसँग

विदेशबाट रूँदै सम्झिनुसिवाय


जसै तिम्रो फेरिएको अनुहार

हेर्न मन छ,

तिम्रो आँखाको डिलमा बास बस्न

तिम्रो भागेका खुसीहरु सँगाल्न

र, हामीले हिँड्ने तारे खेत

हामीले पौडने बुदरी खोला

हाम्रो वनपाखामा गम्कने आवाजहरु

घनीभूत पार्न

परदेशबाट फिर्ती हुनेछ यो छोरो !

प्रकाशित : श्रावण १४, २०७९ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×