कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीवन छँदै

सविता विमली

सम्झिन्छु,
त्यो कुन दिन होला
कि उक्त दिनको
उदाउँदो
चढ्दो
या
अस्ताउँदो
सूर्यले लिएर आउला
तिम्रो मृत्युको समाचार !

जीवन छँदै

या,

आउला त्यो समाचार

झिसमिसेमै,

मध्यरातमा वा कुनै गोधूलिमा !


म तिमी नजिक हुन्छु/हुन्न होला

तिमीले यो संसार छोड्दै गर्दा !


तिम्रो निष्प्राण देह देखेर

म के गर्दी हुँ  !

के भन्दी हुँ  !


तिमीले श्वास फेर्न बिर्सिएको

शरीर जब लडिरहन्छ नि सामुन्नेमा

उस्तै प्रेम निस्कन्छ कि निस्कन्न होला

मेरो हृदयबाट ?


तिमीलाई प्रेम गर्छु भनेको त मात्र

तिम्रो श्वास रहेछ प्रिय !


शेषनागझैं

निःश्वास छोडिरहेका तिमी मात्र

प्रिय रहेछौ !


आऊ यो सहरका तमाम

कोलाहल छिचोलेर

तिमी र म अनन्त अनन्तसम्मका लागि

सँगै श्वास फेरौं  !

प्रेम गरौं  !

र, एक पटक फेरि बाँचौं !

प्रकाशित : श्रावण ७, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?