३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एकेडेमीमा सर्वजीत विश्वकर्मा

केवल लबेदा–सुरूवाललाई राष्ट्रिय पोसाक मान्नुको अर्थ के कुर्ता–सुरूवाल अराष्ट्रिय पोसाक हो ? के कुर्ता–धोती, बख्खु, भोटो–कछाड, घलेक–कछाड, कमिज–लुंगी अराष्ट्रिय पोसाक हुन् ? के मेरो सर्ट–प्यान्ट अराष्ट्रिय पोसाक हो ? तथापि मलाई संस्कृति मन्त्रालयको जिद्दीयुक्त उर्दी छ— ‘पुरस्कार थाप्न राष्ट्रिय पोसाक पहिरिएर आउनू !’
खगेन्द्र संग्रौला

सखारैको मर्डिङ–वाक तुरेर अखबार नजर गर्दै आनन्दी मुद्रामा दुग्धयुक्त कफीको चुस्की लिँदै थिएँ म । टिणिनीको लयमा बज्यो मेरो वृद्ध जेबी फोनको चुलबुले घन्टी । उठाऊँ कि नउठाऊँको दुविधासाथ यसो नाम हेर्छु त फोनमा रहेछन् लँगौटिया टाइपका एक हँसमुख टोलिया मित्र । फोन उठाएँ । ‘नमस्कार ! म विद्यानाथ कोइराला भन्ने प्राणी हुँ ।’ नाथ सरले आफ्नै पाराको अन्तरंग, ठट्याइलो र रुचिकर शैलीमा भने । र, बिनाकुनै भूमिका मलाई बधाई दिए । न मेरो जन्मदिन, न मेरो नयाँ कृति प्रकाशन, न मलाई कुनै पगरी–पुरस्कार हातलागी— मलाई के को बधाई ? ‘सर्वजीत पुरस्कारको’, नाथ सरले कुरो खुलाए । मेरो चित्तमा पुरस्कार गतिलै हो भन्ने छाप पार्ने मनसायले हो सायद नाथ सरले भन्न भ्याइहाले, ‘अलि वर्षअघि मैले यो पुरस्कार पा’थेँ ।’ यसपछि नाथ सरको स्वरमा किञ्चित् प्रसन्नता ध्वनित भयो, ‘पुरस्कारमा अलिकता द्रव्य पनि छ है !’

एकेडेमीमा सर्वजीत विश्वकर्मा

अलिबेरपछि फोनमा आए कोही अपरिचित डाक्टर निर्मलकुमार विश्वकर्मा । ती रहेछन् सर्वजीत पुरस्कार छनोट टोलीका एक सदस्य । तिनले पनि कुरा बधाईबाटै थाले । मैले पढी जानेका र सुनी जानेका भगत सर्वजीत विश्वकर्मा मेरो सुषुप्त स्मृतिबाट जाग्रत स्मृतिमा आए । भगत सर्वजीत विश्वकर्मा हुन्– दलित मुक्तिका एक आदि अभियन्ता, एक मार्गदर्शक, एक अथक, अटल, अदम्य एवं अविच्छिन्न योद्धा । यस्ता महान् मनीषीका नामको पुरस्कार पाउनु आखिर गर्वकै कुरा त हो, मलाई लाग्यो । त्यो क्षणसम्म पुरस्कार संस्थापक र दिने हातको चिनारी मेरासामु प्रस्तुत भएको थिएन । सर्वजीत छुवाछुत र भेदभावविरोधी आन्दोलनका गुरु हुन्— मेरा पनि, अरूका पनि । धूमिल संघर्ष–पथका प्रकाशस्तम्भ हुन्— मेरा पनि, अरूका पनि । घर्षणमय जीवनका कठिन तथा कष्टकर घडीहरूमा ढाडसदाता हुन्— मेरा पनि, अरूका पनि । तसर्थ पुरस्कार स्वीकार गरिमाग्ने डाक्टर निर्मलको अनुनययुक्त आग्रहको प्रत्युत्तरमा मैले भनेँ— ‘धन्यवाद डाक्टरसाहेब ।’

पछि कुरो बुझ्दै जाँदा कुरो जोल्ठिङ पर्दै गयो । कुराको गुह्य चुरो खासमा यसो रहेछ । पुरस्कार रकमको स्रोत रहेछ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । पुरस्कार पाउने पात्रका चयनकर्ता रहेछन् मन्त्रालय र भगत सर्वजीत स्मृति प्रतिष्ठान संयुक्त रूपमा । र, पुरस्कार प्रदान गर्ने बाहुली रहेछ गठबन्धनका प्रधानमन्त्री श्री शेरबहादुर देउवाको । पुरस्कारबारे यो गुह्य जब खुल्यो, म नैतिक अल्झोमा परेँ । धनको मुहान छ सरकारी मन्त्रालय, दिने हात छ सरकारी कार्यकारीको, पुरस्कार छ मेरा आदर्श नायक सर्वजीत विश्वकर्माका नाममा । पुरस्कार स्वीकार गरूँ, आफ्नो नित्य प्रतिपक्षीय निधारमा सरकारी छापको दाग लाग्ने डर, पुरस्कार अस्वीकार गरूँ, गुरु सर्वजीतको अपमान हुने डर । धेरै अघि सत्चालीस सालमा मैनाली पुरस्कारको हकमा पनि यस्तै नैतिक अल्झोमा परेको थिएँ म । पुरस्कार थियो कथाका मेरा प्रारम्भिक गुरु गुरुप्रसाद मैनालीका नाममा, पुरस्कार व्यवस्थापनमा हात थियो मण्डले टाइपका जीवहरूको । आखिरमा मानसिक खिचातानीका बीचमा गुरुप्रसादको सम्मानमा मैले पुरस्कार स्वीकार गरेँ । र, अहिले मलाई उही आफ्नो पुरानो नजिर अनुसरण गर्नुपर्ने खण्डखातिर आइलाग्यो ।

...

टिकटिके घडीको पलपलसँगै म थाहा पाउँदै गएँ, यो पुरस्कार पाउने मेसोमा पुरस्कारको आस गर्ने दुखियाले नोकरशाहीका नानाओली उल्झनहरूको जञ्जाल छिचोल्नुपर्ने रहेछ । म पुरस्कार पाऊँ हजुर भनी निहुँरिँदै तिनले बिन्तीपत्र हाल्नुपर्ने । पुरस्कारका लागि म योग्य छु ख्वामित् भनी प्रमाणित गर्न निहुरमुन्टी न भएर तिनले सरकारी फारम भर्नुपर्ने । मलाई भने चयनकर्ता टोलीको अगाध करुणामयी कृपा प्राप्त भएको रहेछ । बिन्तीपत्र नहाली र फारम नभरी म यस्सै रोजिएँछु । मेरो योग्यताको प्रमाण लोकलाई देखाउन मसँग बायोडाटाचाहिँ मागियो । यो बायोडाटा भन्ने जिनिसको मलाई जिन्दगीमा कहिल्यै खाँचो परेको थिएन । यसो ख्याँस्ख्याँस् केही कोरेर दिएँ । मैले जे दिएँ, बिनाप्रश्न, बिनाआनाकानी त्यो खुरुक्क स्वीकृत भयो ।

...

पुरस्कार दिने दिन छ भोलि, आज मलाई फोन आयो संस्कृति मन्त्रालयबाट । फोनमा एक विनयशील कर्मचारीले भने, ‘सर, परिवारसहित पाल्नुहोला है, राष्ट्रिय पोसाक लगाएर ।’ यहाँ भने म भित्रभित्रै खित्का छाडेर हाँसे । मनमनै पुकार गरेँ— हे ओलीआविष्कृत ठोरीका गोर्खे राम ! एकबारको जुनीमा मलाई केके आइलाग्ने हो ? आफ्नो मर्जीले पुरस्कार दिने मलाई, अनि भन्ने— राष्ट्रिय पोसाक लगाएर लिन आइज ! कर्मचारीसँग मैले ठट्टा गरेँ, ‘हस् जी । मैले राष्ट्रिय पोसाकै लाइरा’छु । म यही पोसाक लाएर आउँछु ।’ मेरा कुरा सुनेर कर्मचारी चकित भए हुनन्— अहो ! चाबेलको बूढो त घरमा पनि नित्य लबेदा–सुरुवालै पो लाउँदो रहेछ कि !

...

पोसाक र राष्ट्रिय पोसाकबारे मेरो आफ्नै मत छ । र, आफ्नै मान्यता छ मेरो । पोसाकको प्रयोजन हो— मानिसको लाज ढाक्नु र मर्यादा राख्नु । र, पोसाकको प्रयोजन हो— देहलाई जाडो र गर्मीबाट जोगाउनु । त्यसो त भाँती परेको पोसाकले मानिसको दैहिक कलेवरलाई न्यूनाधिक सुन्दर देखाउन पनि मद्दत गर्दो हो । पोसाकको प्रकृति भूगोल र जलवायुद्वारा निर्धारित हुन्छ । र, मानव–संस्कृति हुन्छ भूगोल र जलवायुद्वारा औधी प्रभावित । मेरो विचारमा नेपालभरि जसले जहाँ जे लगाउँछ खासमा त्यसैले ससम्मान राष्ट्रिय पोसाकको दर्जा पाउनुपर्ने हो । तर, सरकारी भेदक दृष्टिमा कुरो गडबड छ । उर्दी जारी गर्दै कत्ति न विशेष होजस्तो आभास गराइने राष्ट्रिय पोसाक वास्तवमा होचाहिँ के ? मेरो जवाफ सोझो छ, र सरल छ मेरो जवाफ । विविधताले युक्त समाजमा राष्ट्रिय पोसाक पनि विविधै हुन्छ । नेपाली भूगोलको चार किल्लाभित्र जति पोसाक पहिरिइन्छन्, ती सबै राष्ट्रिय पोसाक हुन् । बिनाकुनै विवाद, बिनाकुनै भेदभाव । ती सबै पोसाक समान हुन्, र समान रूपले इज्जतदार हुन् ती सबै पोसाक । न कुनै पोसाक कुनैभन्दा श्रेष्ठ हो, न कुनै पोसाक हो कुनैभन्दा तुच्छ । पोसाकको हकमा श्रेष्ठता र तुच्छताको आग्रह वास्तवमा निरंकुश अतीतबाट संक्रमित केन्द्रीकृत अहंकारको अवशेषरूपी विकार हो । नेपालका नेपाली शेरबहादुर देउवा प्रायः लबेदा–सुरुवाल लगाउँछन् । यो राष्ट्रिय पोसाक हो । नेपालका नेपाली महन्थ ठाकुर सधैं कुर्ता–सुरुवाल लगाउँछन् । यो पनि राष्ट्रिय पोसाक हो । नेपालका नेपाली राजेन्द्र महतो सधैं कुर्ता–धोती लगाउँछन् । यो पनि राष्ट्रिय पोसाक हो । ठण्डी हिमाली भेगका नेपालीहरू बख्खु लगाउँछन् । यो पनि राष्ट्रिय पोसाक हो । कम ठण्डीमध्ये भेगका नेपालीहरू भोटो–कछाड लगाउँछन् । यो पनि राष्ट्रिय पोसाक हो । नेपालीहरू कतै कमिज–लुंगी लगाउँछन् । यो पनि राष्ट्रिय पोसाक हो । म सधैं सर्ट–प्यान्ट लगाउँछु, यो पनि राष्ट्रिय पोसाक हो । केवल लबेदा–सुरुवाललाई राष्ट्रिय पोसाक मान्नुको अर्थ के कुर्ता–सुरुवाल अराष्ट्रिय पोसाक हो ? के कुर्ता–धोती, बख्खु, भोटो–कछाड, घलेक–कछाड, कमिज–लुंगी अराष्ट्रिय पोसाक हुन् ? के मेरो सर्ट–प्यान्ट अराष्ट्रिय पोसाक हो ?

खासमा पोसाकसम्बन्धी यथार्थ यस्तो छ । तथापि मलाई संस्कृति मन्त्रालयको जिद्दीयुक्त उर्दी छ— ‘राष्ट्रिय पोसाक पहिरिएर आउनू !’

...

सर्वजीत पुरस्कार थाप्ने दिन आयो । र, लागेँ म सर्ट–प्यान्टको राष्ट्रिय पोसाक लगाएर हल्लिँदै सरकारी प्रज्ञा प्रतिष्ठानतिर । बाटामा मनमा तर्कनाको तरंग उठ्यो— हैन, मेरो राष्ट्रिय पोसाकमा मलाई हलमा पस्न त देलान् ? आ... नदिए खाँच्चैसिती । आरामले फर्किन्छु म घरतिर आफ्नै राष्ट्रिय पोसाकमा गमक्क पर्दै ।

धन्य ठोरीका राम ! हल प्रवेशमा मेरो राष्ट्रिय पोसाकलाई कुनै रोकटोक भएन । कुन्नि, भीडको कुँडुलोमाझ रोकटोककारीका दृष्टि मेरो राष्ट्रिय पोसाकमा नपरेर पो हो कि !

प्रज्ञा भवनको सभाकक्षमा म भित्रिएँ । यसो हेर्छु त गाँठ्ठे ! त्यो अजंगको हल अग्घि नै भरिएर खचाखच भइसकेछ । जम्मा कार्यक्रम केवल तीन जनालाई सर्वजीत पुरस्कार दिनु र तिनले लिनु हो भन्ने मेरो सोझो बुझाइ थियो । तर, पुरस्कार पाउने कुल पात्र रहेछन् थोरैतिनो होइन, लस्करै त्रिचालीस

जना ! छाँटले त्यो त पुरस्कारको मेला पो रहेछ । पुरस्कारका विषय विविध, क्षेत्र विविध, पात्र विविध, पुरस्कारहरूको ओजन विविध, रकमको मात्रा विविध । स्वागतकर्मीले मलाई सप्रेम डोर्‍याएर हलको पल्लो भित्तोनेर पुर्‍याए । त्रिचालीस पात्रका आसन त्यहीँ रहेछन्— कसैका अघिल्लो, कसैका पछिल्लो लहरमा । त्यहाँ एक पाका इतिहासविद् मित्र भेटिए, भले मानुष डाक्टर त्रिरत्न मानन्धर, बाबुराम आचार्य पुरस्कार थाप्न प्रतीक्षारत । तिनको समीपमा बसेर मैले पुरस्कार पाउने पात्रहरूमाथि आँखा सर्लक्क कुदाएँ । महिलाहरू एकाध छन्, बाँकी सबै छन् हैकमकारी पुरुषहरू । ती सबका सब छन् सरकारी राष्ट्रिय पोसाकमा सजिएका । शिरमा टोपी, देहमा लबेदा–सुरुवाल, बाहिर गम्म कोट । अहो ! तिनका बीचमा आफ्नै रोजाइको राष्ट्रिय पोसाकधारी म त अर्कै ग्रहबाट आएको अनौठो जीवजस्तो, कसोकसो अर्घेलो ! यसले पनि मलाई हेर्‍या छ, उसले पनि मलाई हेर्‍या छ, जसले पनि मलाई नै हेर्‍या छ । मलाई त त्यसैत्यसै अस्पट लागेर आयो । देहमा ल्याङफ्याङे सर्ट–प्यान्ट भिरेको छु । तिनै पनि खासै उच्चकोटिका, चित्ताकर्षक छैनन् । सोचेँ— खुरुक्क सरकारी उर्दी मान्ने यी यावत् आज्ञाकारी पात्रहरूमाझ सके मलाई स्टेजमा टेक्नै नदेलान् । प्रधानमन्त्रीका वरद बाहुलीबाट पुरस्कार दिइनु त्यत्तिकै हो !

...

स्टेजको भित्तोमा बडाबडा अक्षरमा पुरस्कारका नामहरू टाँगिएका थिए । हरेक पुरस्कार अतीतको कुनै न कुनै लब्धप्रतिष्ठित स्रष्टाका नाममा थियो । त्यहाँ देवकोटाको नाम थियो, त्यहाँ रिमालको नाम थियो, र त्यहाँ थियो बाबुराम आचार्यको नाम । सँगै बसेका एक ‘राष्ट्रिय’ मित्रले मलाई सोधे, ‘तपाईंलाई देवकोटा पुरस्कार पर्‍या छ कि रिमाल पुरस्कार ?’

‘सर्वजीत पुरस्कार,’ जवाफमा मैले भनेँ ।

‘सर्वजीत पुरस्कार ?’ ‘राष्ट्रिय’ मित्रले विस्मय प्रकट गरे । ‘को हो सर्वजीत ?’

एक ‘राष्ट्रिय’ को खुल्दुलीमा अन्य ‘राष्ट्रिय’ हरूका खुल्दुली मिसिए, ‘को हो सर्वजीत ?’

यी जिज्ञासु ‘राष्ट्रिय’ हरूमध्ये कोही ज्ञानमहलका डाक्टर थिए, कोही प्रोफेसर र कोही थिए मास्टर । यी कोही केका विद् थिए, कोही केका विद् थिए । तर, यी बडेबडे डिग्रीधारी ज्ञानीहरूलाई भगत सर्वजीत विश्वकर्मा को हुन् थाहा रहेनछ । यो चाल पाएर म त्यसैत्यसै चकित भएँ । मैले गम खाएँ— यी ‘राष्ट्रिय’ हरूलाई योगमाया को हुन् अवश्यै थाहा होला । छविलाल पोख्रेल र महानन्द सापकोटा को हुन् यिनलाई यो पनि पक्कै थाहा होला ? अनि भगत सर्वजीत विश्वकर्मा ? सर्वजीत हिन्दु वर्णव्यवस्थाको नारकीय पीँधको अन्धकार संसारका एक ‘अछुत’ मानव हुन् । त्यसैले होला सायद वर्णव्यवस्थाको उपल्लो तहका यी मनुवाहरू सर्वजीतबारे बिलकुल अनभिज्ञ रहेछन् ।

यी अज्ञानी ‘राष्ट्रिय’ मानवहरूलाई सर्वजीत विश्वकर्माबारे मैले सानो क्लास दिएँ । जन्म भयो भगत सर्वजीत विश्वकर्माको बागलुङमा, विक्रम संवत्् १९५० सालमा । र, तिनले आफ्नो संग्रामी जीवन बिसाए भारतको बिहारमा, विक्रम संवत् २०१२ सालमा । सर्वजीतका बा नामी सुनार थिए । गरगहना बनाएर नुनतेलका लागि दुई–चार पैसा हात पार्न बा विश्वकर्मा भारतको बिहार गइरहन्थे । बालक सर्वजीत लुखुरलुखुर बाको पछि लाग्थे । अकल्पित संयोगले बालक सर्वजीतका तालुमा आलु फल्यो । उनलाई भारतमा संस्कृतको अध्ययन गर्ने जोगमेसो जुर्‍यो । उनले संस्कृत आचार्यसम्म पढे । उनले वेदहरू खारे । र, उनी मै हुँ भन्ने पण्डितहरूसँग घुँडा धसेर वेदबारे शास्त्रार्थ गर्न थाले । ‘वेदमा न जातपात छ, न छुवाछुत छ । कहिलेदेखि कुन अमानवले रच्यो यो विभेदकारी र अत्याचारी जातपात र छुवाछुत ?’ ‘म त भन्छु’, सर्वजीतले भने, ‘जातपात र भेदभाव नाश होऊन् !’

जन्मघर बागलुङ फर्केर पण्डित सर्वजीत विश्वकर्माले एउटा विद्यालय खोले । दलित बालबालिकाहरूको शिक्षाका लागि, र तिनको जागरणका लागि । भारतमा आफूले आर्जन गरेको ज्ञानको प्रकाश जन्मथलोमा फिँजाउनका लागि । र, ज्ञानको शक्ति र स्वजातीय जाग्रत जनको एकताको बलले जातपात तथा छुवाछुतविरुद्ध जमेर लड्नका लागि । सर्वजीतले गाउँठाउँका जान्ने हौं भन्ने पण्डित–पुरेतहरूलाई आफूसँग शास्त्रार्थ गर्न हाँक दिए । र, उनले उही कुरो दोहोर्‍याए— ‘वेदमा न जातपात छ, न छुवाछुत छ । कहिलेदेखि कुन अमानवले रच्यो यो विभेदकारी र अत्याचारी जातपात र छुवाछुत ?’ ‘म त भन्छु’, सर्वजीतले भने, ‘जातपात र भेदभाव नाश होऊन् !’ सर्वजीतले बालीघरे प्रथा उन्मूलनको नारा उराले । र, उनले दलितहरूले जनै लाउन पाउनुपर्ने हकदाबी गरे ।

कामीका छोराले विद्यालय खोल्नु र वेदका कुरा गर्नु कथित उच्च जातका चोखा भनिने ज्ञानका एकाधिकारीहरूलाई सह्य भएन । ‘जातपात र भेदभाव नाश होऊन्’ भन्ने नारा सुन्दा त झन् तिनका कन्पारै ताते । विभेदकारी एवं अत्याचारी सत्ताद्वारा सर्वजीत पक्राउ परे । उनलाई पाल्पा गौंडामा चलान गरियो । थुनामा ऊनलाई यति त्रूर र कठोर यातना दिइयो, उनका अगाडिका सबै दाँत झरे । कस्तै अपमान र यन्त्रणाले पनि सर्वजीतलाई आफ्नो निष्ठाबाट गिराउन सकेन । उनले ‘जातपात र भेदभाव नाश होऊन्’ भनी नै रहे । थुनाबाट फुकुवा भएपछि उनी बागलुङ फर्के । पछि भारतको बिहारमा उनले आफ्नो गौरवमय जीवन बिसाए । सामाजिक–सांस्कृतिक सुधारका संग्रामी चेष्टाहरूमा योगमाया, छविलाल पोख्रेल र महानन्द सापकोटाका जत्रा काम र नाम छन्, भगत सर्वजीत विश्वकर्माका काम र नाम पनि त्योभन्दा कम मूल्यका किमार्थ छैनन् ।

...

सर्वजीतका नामको पुरस्कारको नामकरणमा पनि अलिकता जाल, अलिकता कपटको गन्ध आउँछ । पुुरस्कारको नाम छ, ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार ।’ सर्वजीतको जीवन मूर्त छ, उनको ज्ञान मूर्त छ, उनको शास्त्रार्थको अर्थ मूर्त छ, उनका संघर्षको अभीष्ट मूर्त छ, उनीमाथि थोफरिएको त्रूर यन्त्रणा मूर्त छ, यन्त्रणासामु नदब्ने उनको इच्छाशक्ति मूर्त छ, दलित मन–मानसमा उनले छाडी गएको प्रभाव र प्रेरणा मूर्त छ । उनको नाममा स्थापित पुरस्कारको नाम ‘मानव मर्यादा’ चाहिँ किन अमूर्त ? यो कुन मानवको कस्तो मर्यादा हो ? यो नाममार्फत सम्प्रेषण गर्न खोजिएको अर्थ के हो ? खासमा यो पुरस्कारको नाममा सर्वजीतका कर्महरूको प्रयोजन र उनका जीवनको ध्येय खुलस्त प्रतिविम्बित हुनुपर्ने हो । यो पुरस्कारको नाम ‘सर्वजीत दलित पुरस्कार’, ‘सर्वजीत दलितमुक्ति पुरस्कार’ वा ‘सर्वजीत संघर्ष पुरस्कार’ वा यस्तै केही हुनुपर्ने हो । पुरस्कारको नाम यस्तो केही भए यो नामको माध्यमले सर्वजीतको पहिचानसम्म पुग्न जगत्का ज्ञानीहरूलाई किञ्चित् सजिलो हुँदो हो । यो नाममा जगत्छेउ सर्वजीतको चिनारी विस्तार गर्ने होइन, उनको चिनारीलाई अमूर्त शब्दको आवरणले छोप्ने धृष्टता प्रतीत हुन्छ ।

...

श्री ३ कालमा राणा शासकहरू आफूलाई प्रसन्न तुल्याउने चाटुकारहरूलाई बक्सिस दिन्थे । श्री ५ कालमा हिजोको बक्सिसको नाम पुरस्कार भयो । श्री ५ को शासन शेष भयो, तर सरकारी पुरस्कार शेष भएन । ऊ पुरस्कारको प्रेत लोकतन्त्रमा संक्रमित भयो । र, अहिले चलिरहेछ उही प्रेतावतार पुरस्कारको वितरण समारोह । यी पुरस्कृत जीवहरू के हुन् र को हुन् ? तीक्ष्ण नजरले सरक्क हेरेँ मैले । एकाध अपवादबाहेक ती सबै रहेछन् सरकारी प्राज्ञ, सरकारी लेखक, सरकारी बुद्धिजीवी । सरकारी इसाराअनुसार चल्ने सबै अनुसारक (कर्न्फमिस्ट) । हामीलाई बाँडिएका पुरस्कार परिचायक पुस्तिकाहरू पल्टाएँ । अस्ति र हिजो पुरस्कृत पात्रहरू पनि उस्तै रहेछन् । एकाध अपवादबाहेक सबैसबै अनुसारक । यी अपवादजन्य जीवहरू पुरस्कारको बाना मिलाउन, विविधताको छनक दिन वा उदारता प्रदर्शन गर्न रोजिएका हुनन् सायद ।

सरकारी पुरस्कारमा दाता शासकहरूका आफ्नै अपेक्षा हुन्छन्, पुरस्कार आकांक्षी पात्रहरूका आफ्नै कला हुन्छन् । धूर्त शासकहरू अपेक्षा गर्छन्— पुरस्कार आकांक्षीहरू नित्य आफ्नो भजन गाऊन् । र, लुब्ध पुरस्कार आकांक्षीहरू भजनगायनको कलामा पारंगति हासिल गर्ने चेष्टा गर्छन् । शासकको भजनगायन मुखर हुन सक्छ वा मौन । यो प्रत्यक्ष हुन सक्छ वा परोक्ष । भजनगायनको अभिव्यक्तिको रूप जस्तो होस्, यसको प्रयोजन हो— शासनधारी ख्वामितलाई रिझाउनु र पुरस्कार हातलागी गर्नु । सरकारी पुरस्कारहरू खासमा नैतिक–सांस्कृतिक विकारका मुहानहरू हुन् । यिनले बौद्धिक, स्रष्टा, प्राज्ञ र शोधकर्मीहरूको विवेक, निजत्व र स्वाभिमान हरण गर्छन् । र, तिनलाई आफ्नो इसारामा सञ्चालित मैनका पुतली बनाउँछन् । शासकहरू जब आफ्ना भजनगायकका मुखमा पुरस्कार नामक मह लेपन गर्छन्, मह लेपित मुखबाट मधुर ध्वनि गुन्जिन थालिहाल्छ ।

...

पुरस्कार प्रदान गर्ने वरद बाहुलीको प्रतीक्षा गरेको आधा घण्टा भइसक्यो । निजहजुर आउने अझै छाँटकाँट छैन । माइकमा उद्घोषक घरीघरी दोहोर्‍याउँछन्— सम्माननीय प्रधानमन्त्रीको आगमन हुनै लाग्यो । उनको चापलुसीयुक्त उद्घोष सुन्दा लाग्छ— प्रधानमन्त्री प्रज्ञा परिसरको मूलद्वारमा आइपुगे, हलमा प्रवेश गर्न अब पाँचै मिनेट लाग्ला । पाँच मिनेट बित्छ, अहँ प्रधानमन्त्रीको सवारी हुँदैन । अर्को पाँच मिनेट बित्छ, अझ अर्को पाँच मिनेट, अनि झन् अर्को पाँच मिनेट । आखिरमा त्यतिका जनलाई पैंतालीस मिनेट कुराएर हाँसझैं हल्लिँदै प्रधानमन्त्रीको सवारी हुन्छ । मरिजाने जुनीमा पैंतालीस मिनेट थोरै समय होइन । प्रधानमन्त्रीले लगभग पाँच सयमध्ये हरेक प्रतीक्षारत नागरिकको पैंतालीस मिनेट आयु खाइदिए । विलम्बकारी प्रधानमन्त्रीले पैंतालिस मिनेटका दरले पाँच सय नागरिकको ३७ घन्टा समय भक्षण गरे । यस्तो लाग्छ, उच्चासनधारी शासकहरू जानाजान विलम्ब गर्छन् । आखिर किन ?

आफ्नो भाउ बढाउन । प्रतीक्षारत जनलाई मेरो दर्शन पाउनु ठट्टा होइन भनी देखाउन ! हिजो प्रजाहरूलाई कुराएर निरंकुश राजा तिनको आयु खाइदिन्थ्यो । आज उही निरंकुश राजाको सिको गर्दै गणतन्त्रको शासक प्रतीक्षारत जनको आयु खाइदिन्छ । लाग्छ, गणतन्त्रका शासकमा एकतन्त्रका राजाको संस्काररूपी प्रेम सल्किएको छ ।

...

आखिरमा प्रधानमन्त्री देउवाका वरद हस्तबाट मलाई सर्वजीत पुरस्कार प्राप्त भयो, मुस्कानमा चाहिँ म ठगिएँ । म आफ्नै राष्ट्रिय पोसाकमा सजिएर हल्लिँदै लागेँ घरतिर । बाटाभरि अनेक विद्वान्हरूको साझा प्रश्न मेरो कानमा बिझाइरह्यो— को हो सर्वजीत ?

प्रकाशित : श्रावण ७, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?