कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपीको अन्तिम सन्देश

शंकर तिवारी

उमेरले तीन दशक नपुग्दै बीपी कोइरालालाई रोगहरूका राजा मानिने क्यान्सरले आक्रमण गरिसकेको थियो । त्यससँग जुध्दै उनी थप चार दशक बाँचे, झन् धेरै शारीरिक/राजनीतिक जोखिम मोलेर । भूमिगत रूपमा दुई पटक काठमाडौं आएका उनी २००७ सालको क्रान्तिमा विराटनगर मोर्चामा अग्रपंक्तिमा आफैं खटिएका थिए । मोर्चामा उनी बालबाल मृत्युको मुखबाट जोगिएको वर्णन गरेका छन्– भोला चटर्जीले ‘रिसेन्ट नेपाली पोलिटिक्स’ मा ।

बीपीको अन्तिम सन्देश

भारतीय स्वतन्त्रता संग्राममा अंग्रेज जेलमा बसेर जर्जर बनेको बीपीको शरीर त्यसअघि राणा र राजाको जेलमा बारबार बस्न अभिशप्त थियो । २०३४ सालमा सम्भावित फाँसीको सजायलाई लोकतान्त्रिक लडाइँको प्रसादस्वरूप ग्रहण गर्न स्वदेश फर्केका पहिलो राजनीतिक पर्चा ‘संगठन निर्माण गर्ने आह्वान’ देखि आखिरी पर्चा ‘अन्तिम सन्देश’ सम्म आइपुग्दा उनका राजनीतिक आरोहअवरोह खुला किताब बन्न पुगे । तिनै आरोहअवरोह नेपाली लोकतान्त्रिक आन्दोलन र संघर्षको चार दशक कालखण्डका दस्तावेज बने । बीपीका वक्तव्य, पर्चा, भाषण, लेखहरूको उपादेयता हराएर जानुभन्दा तिनको चहक झनै बढ्दै गइरहेको छ । ४० औं स्मृति दिवसमा बीपीको अन्तिम सन्देशको संक्षिप्त पुनर्पठन गर्ने कोसिस गरिएको छ ।

बीपीमा बेजोड इतिहास–चेत थियो । सिद्धहस्त लेखक थिए । विषय प्रस्तुत र उठान गर्ने मौलिक शैली थियो । त्यस्तो गजब शैली इतिहासमै केही राजनेताको मात्रै थियो– लिंकन, चर्चिल, गान्धी, नेहरूदेखि पछिल्ला अमेरिकी राष्ट्रपति ओबामासम्म । चर्चिलले त प्रथम विश्वयुद्धदेखि दोस्रो विश्वयुद्धको यस्तो विशद वर्णन लेखे, उनलाई साहित्यतर्फको नोबेल पुरस्कार नै दिइयो । नेतामा साहित्य र इतिहास दुवैको चेत हुनु अझ दुर्लभ मानिन्छ । उम्दा साहित्यकार भएर पनि बीपीले कुनै चल्तीको संस्थाबाट साहित्यिक पुरस्कार भने पाएनन् । तर, उनका किताबहरू अझै सर्वाधिक बिक्रीकै सूचीमा छन् ।

वाचाल राजनेताहरू समयसँग संवाद गर्न माहिर हुन्छन् । बीपी एक द्रष्टा थिए । अंग्रेजीमा भनिने ‘प्रोफेट’ जस्तै । नेतृत्वबारे अध्ययन गर्नेहरू प्रोफेटलाई राजनेता वा ‘स्टेट्सम्यान’ को तहभन्दा माथि राख्छन् । उच्चस्तरका राजनेतामा प्रोफेटको अंश पनि सम्मिश्रण हुन्छ । जीवनको कतार सकिन लागेको संकेतबीच बीपीलाई हतार थियो । तर, हतार छ भनेर देशवासीसँगको संवाद यो वा त्यो बहानामा रोक्ने कुरा थिएन । उनलाई कुन अवस्थामा फर्किन्छु भन्ने पनि यकिन थिएन । नभन्दै उनी नेपाल फर्कंदा बोल्न सक्ने अवस्थामै थिएनन् । बीपी दिल्लीबाट बैंकक हुँदै नेपाल फर्किएको वर्णन ब्रिटिस आरोही एवं लेखक एड डगलसको हालै प्रकाशित किताब ‘हिमालय : ए ह्युमन हिस्ट्री’ मा मार्मिक ढंगले गरिएको छ– ‘२०१७ को हिउँदमा बीपी कोइरालाबारे फिचर लेख्न टाइम म्यागेजिनको सहप्रकाशन लाइफ म्यागेजिनले संवाददाता खटाएको थियो । त्यो फिचर कुनै पहाडी इलाकामा ट्रेकिङका क्रममा गएर लेखिने प्रस्ताव थियो । बीपीसँग समय पनि मिलाइएको थियो, तर राजाले कू गरेपछि त्यो त्यत्तिकै स्थगन भयो । लाइफ म्यागेजिनले खटाएका तिनै पत्रकार एलिजाबेथ हुर्लेको बीपीसँग अन्तिम साक्षात्कार भयो– बैंकक विमानस्थलमा, २२ वर्षपछि, जतिबेला बीपी दोहोरो संवाद गर्न सक्दैनथे ।’ एड डगलसले पत्रकार हुर्लेको आँखाबाट त्यस क्षणको बहुत मार्मिक र विषादपूर्ण चित्रण गरेका छन् ।

रोगले आक्रान्त पारेपछि देशभित्र उपचार सम्भव नभएर विदेश जानुअघि विसं २०३९ जेठमा बीपीको ‘अन्तिम सन्देश’ जारी भएको थियो । त्यो सन्देश आज पनि मौलिक प्रतीत हुन्छ । सन्देशमा नेपाली लोकतन्त्र, राजा/राजसंस्था, विकासको मोडेल/समाजवाद, विदेश नीतिबारे करिब आधा शताब्दीमा बद्धमूल बनेर बसेका मान्यतालाई उनले उजागर गरेका छन् । कुनै पनि राजनीतिक व्यवस्थामा सत्ताधारी र विरोधी दुवै पक्षको जिम्मेवारी र जवाफदेहितामाथि प्रकाश पारेका छन् । त्यसअलावा किन उनी पार्टीभन्दा माथि रहेर चिन्तन गर्दै थिए र पार्टी–घेराबाट अलग हुन खोज्दै थिए भन्ने पनि प्रस्ट पारेका छन् । ‘व्यापक राष्ट्रिय दृष्टिकोणबाट जनतालाई व्यापक रूपमा सम्बोधन गर्ने’ इच्छामुताबिक बीपीले त्यो सन्देश प्रशारित गरेको देखिन्छ । सन्देशमा पार्टी दृष्टिकोणभन्दा पनि आफूले बुझेको वास्तविकता सबैलाई बुझाउन बढी इच्छुक भएको र नेपाली कांग्रेसको सभापतिको हैसियतमा बाहिर आएर देशवासीसँग संवाद गर्न चाहेको आत्मस्वीकारोक्ति उनको छ ।

सन्देशमा उनले देशको सामर्थ्य केलाएका छन्– आफूभन्दा अघि आन्दोलनमा लागेका, आफ्नो प्रेरणाले प्राण उत्सर्ग गरेका, जेलनेल भोगेका कैयन् युवाको बलिदानले उद्वेलित भएको, तिनीहरूको आदर्श–योगदानले नै देशलाई जीवित राख्ने ठूलो शक्ति मानेका छन् । इतिहासमा व्यक्तिको सर्वोपरितालाई इन्कार मात्रै गरेका छैनन्, त्यसो गर्नु भ्रम फैलाउनु र त्यस्तो मिथ्या चिन्तनले देशको भलो नगर्नेतर्फ संकेत पनि गरेका छन् । समर्थकले जस्तो आफूलाई महामानवको दर्जामा राखेका पनि छैनन् । अनि आफ्नो अनुपस्थितिमा आकाश खस्छ भन्ने भ्रम पनि खडा गरेका छैनन् । सन्देशमा देशको भविष्यप्रति निश्चिन्त रूपमा आशावादी देखिन्छन्, तर त्यो आशालाई मूर्तरूप दिन केही निर्देशक सवाल राख्ने विनम्र कोसिस गरेका छन् ।

बीपीका अनुसार, इतिहासमा व्यक्तिले गर्ने महानतम कार्य देशको सामर्थ्यको विश्लेषण हो र व्यक्तिले केवल ऐतिहासिक, सामाजिक, राजनीतिक वा अरू आधार बुझी त्यस्तो विश्लेषण गर्न सक्छ । भन्छन्, ‘नेपालभित्रको सामर्थ्य मैले बुझेँ । त्यसैबाट मेरो धारणालाई इतिहासले मान्यता दियो भने त्यही मेरा लागि ठूलो सौभाग्य हुनेछ । मेरो कुनै देन छ भने यो देशको सामर्थ्य बुझेर मैले आफ्नो धारणा राखेको छु ।’

बीपी–देहान्तको चार दशकपछि पनि यो सन्देशबाट राजसंस्थाको हकमा बाहेक अरू विषयमा सामयिकता महसुस गर्न सकिन्छ । बीपीको राजनीति तेस्रो विश्वका प्रजातन्त्रहरूले भोगेको/पार गरेको दुःखान्त त्रासदीबाट मुक्त थिएन । उनको निधनको समय शीतयुद्धको धङधङीमै रुमलिएको थियो । त्यसमाथि नेपालको भूराजनीतिक जटिलता । बीपीले राजसंस्थालाई अतिशय जोड दिनुको कारण त्यो पनि एक थियो । त्यो क्षणिक थियो, अझ भनूँ रणनीतिक थियो । बीपीका लागि महत्त्वपूर्ण विषय लोकतन्त्रको संस्थागत संवर्द्धन, समाजवादमा आधारित आर्थिक विकास र जनतामा आफ्नो भविष्यप्रतिको जागरुकता र सचेतता नै थियो । त्यसो भयो भने पराधीनताको अन्त्य हुने, लोकतान्त्रिक संस्थाहरू बलियो हुने र राजतन्त्रजस्तो पुरातन संस्थाले आफ्नो सान्दर्भिकता गुमाउने विषय स्वाभाविक थियो । एउटा गतिशील विचारकका रूपमा बीपीलाई आफ्नो मर्यादा बराबर कुल्चिने पुरातन संस्था वा त्यसको प्रमुख ‘व्यक्तिको बुताबाट देश बाँच्न, संस्थागत विकसित हुन र देशको विकास हुन सक्दैन’ भन्ने हेक्का पक्कै थियो नै ।

समाजवादको कुरा गर्दा बीपी स्वाबलम्बी गाउँका पक्षमा थिए । उनले भनेका थिए, ‘विकासको प्राथमिकता र विकासको मोडल उचित छनोट पनि समाजवादको ठूलो लक्षण हो । त्यस्तो मोडलको गलत छनोट भइदियो भने समाजवादको जस्तोसुकै कुरा गरे पनि त्यसको कुनै अर्थ हुँदैन ।’ आज देश विकासमा समस्या किन भएको छ, बुझ्न यी हरफ काफी छन् ।

व्यावहारिक राजनीतिका नाममा सिद्धान्त तिलाञ्जली दिन उद्यत हुनेहरूलाई उनको मार्गनिर्देश छ– ‘आफ्नो आदर्शलाई छाडेर आफ्नो दुनो सोझ्याउने काम गर्नुलाई म व्यावहारिक राजनीति भन्दिन । आफ्नो आदर्श कायम राखेर तत्कालका समस्या के गर्दा समाधान हुन्छन् त्यसलाई समावेश गर्न सक्नु नै मलाई व्यवहारिक राजनीति होजस्तो लाग्छ । यसले आदर्श छाड्दैन र व्यवहारको राजनीति पनि गर्छ भनेर अहिलेसम्म नेपाली कांग्रेसप्रति यतिका मान्छेको विश्वास रहेको हो । त्यसलाई हामीले राम्ररी बुझ्नुपर्छ । हामी सिद्धान्तमा सम्झौता गर्दैनौं, तर आफ्नो उद्देश्य पूरा गर्ने उपायमा सम्झौता गर्छौं ।’

ग्रीक दुःखान्त नाटकको नायक सर्वगुणले सम्पन्न हुँदाहुँदै पनि भाग्य/प्रकृतिले श्रापित गरेको नियतिको चक्रबाट मुक्त हुन सक्दैन । दुःखान्त नै उसको नियति हुन्छ । यस्तो कालक्रमिक दुःखान्तबाट १९९० अघिको नेपाली लोकतन्त्र मुक्त हुन सकेन भने त्यसका प्रमुख उन्नयाक बीपी कोइराला पनि मुक्त हुने कुरै थिएन । तर, त्यति हुँदाहुँदै जाँदाजाँदै जसरी पृथ्वीनारायण शाहले आफ्ना भाइ–भारदारलाई दिव्योपदेश सुनाएर गए, बीपी पनि आफ्ना सामाजिक/राजनीतिक जीवनका आदर्श निष्कर्षलाई समकालीनमार्फत भावी पुस्तासमक्ष सुम्पिन चाहन्थे । त्यसको परिणति नै थियो अन्तिम सन्देश । कुनै पनि व्यवस्था/साम्राज्य बसाउनु मात्रै ठूलो होइन, तर त्यसको दीर्घकालीन जीवन्तताका लागि ठोस आधार तयार गरिदिनु झन् महत्त्वको विषय हो । बीपीको त्यस सन्देश उनीभन्दा पछिका अर्थात् आजको गणतान्त्रिक नेपालको वर्तमान संकटबाट पार लगाउन चाहनेले प्रेरणा लिन सक्ने भित्ते लेखनी अवश्य हो ।

विहारका समाजवादी नेता बसावन सिंह बीपी कोइरालासँग कुनै समय जेलमा सँगै थिए । उनीहरूले विहारमा सँगसँगै समाजवादी पार्टीको संगठनसमेत गरेका थिए । बिहारको प्रदेश सरकारमा पटकपटक मन्त्री बनेका बसावन सिंह प्रधानमन्त्री बनेका बीपीको अन्तर्राष्ट्रिय ख्यातिबारे जानकार थिए । प्रधानमन्त्री भएपछि पनि जेल–नेल–निर्वासन भोगेर र ‘फाँसी’को निर्णय स्विकार्न नेपाल फर्कने बेला बसावनले बीपीलाई सोधे, ‘भारतमा गान्धी बरु सफल भए । आफ्नो जीवनकालमा भारत स्वाधीन भएको देखे । बीपी, तपाईंले के कुरामा आफ्नो राजनीतिको सार्थकता मान्ने ?’ बीपीको जवाफ थियो, ‘गान्धीलाई नियतिले दिएको दायित्व भारतलाई अंग्रेजको भयबाट मुक्त गराउनु थियो । त्यसमा उनी सफल भए । मलाई नियतिले दिएको दायित्व नेपाली जनतालाई लोकतन्त्रको महत्त्व सिकाउनु/बुझाउनु हो । यो कार्यमा मलाई लामो समय लाग्दै छ । मैले यसमै चित्त बुझाउनुपरेको छ र संघर्ष अगाडि बढाउनुपरेको छ ।’ शिशुबाट वयस्क बन्दै हुर्किरहेको गणतन्त्रका लागि ‘प्रथम सन्देश’ बन्न पुगेको छ बीपीको अन्तिम सन्देश ।

प्रकाशित : श्रावण ७, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?