कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेम : एक पर्सपेक्टिभ

फूलमान वल

एउटा मोडमा
तिमीलाई भेटेपछि
म अल्झिएँ–
बादलजस्तो तिम्रो केशराशिमा
गाजलु आँखा
अनि, गुलाबी ओठमा

प्रेम : एक पर्सपेक्टिभ

जब तिम्रो–

घुम्रिएको नागबेली केशराशि

हावामा फरफरायो सुस्तरी

एउटा सुनामी थामें मैले मनभित्र

र जिन्दगीलाई

नागबेली मोडहरुमा

सम्झौता गरें


जब तिम्रो–

गाजलु आँखाभित्र

छल्कियो जोवनजस्तो पानी

एउटा बाढी थामें मैले मनभित्र

र जिन्दगीलाई

बैंसालु भुमरीहरुमा

सम्झौता गरें


जब तिम्रो– गुलाबी ओठबाट

निस्कियो प्रेमको बाफिलो राप

एउटा हुन्डरी थामें मैले मनभित्र

र जिन्दगीलाई

बाफहरुको कुहिरोबीच

सम्झौता गरें

हो, एउटा मोडमा

तिमीलाई भेटेपछि

म अल्झिएँ–

बादलजस्तो तिम्रो केशराशिमा

गाजलु आँखा

र, गुलाबी ओठमा


प्रिय,

बल्ल बुझ्दै छु–

जीवन खोज्न निस्केको मेरो अथक यात्रा त

वर्षौंअघि तिमीसित भेटेको उही मोडमा

टुंगिसकेको रहेछ ।

प्रकाशित : असार ३२, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?