कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
रैथाने–कथा

कोलम्बस पाइला : रैथाने ज्ञानको अनन्त दु:ख

गाउँगाउँमा सडक पुगेको छ । सडकसँगै गाडी पनि पुगेको छ । अब त्यो निर्जन, परित्यक्त बाटो कोही हिँड्दैन । त्यो ‘दिदीबहिनी डाँडा’ मा आफ्ना चेलीले लगाइदिएको माला छाडेर हिँड्न अब फेरि कुन माइती फर्केला ? त्यो दु:खान्त कथा अबको पुस्तामा के उसैगरी दोहोरिएला ?
मानव सभ्यताले कमाएको सबभन्दा ठूलो पुँजी भनेकै मिथक र कथा हुन् । यदि समाजबाट, मान्छेको सम्झनाबाट कथाहरू नै मेटिए भने मान्छेहरूमाझ बाँकी के रहला ? के कथाबिनाको मान्छे सम्भव छ ?
भूपाल राई

लाम्पिरा !
हौ लाम्पिरा !
एउटा लम्ब ककेसियन कदको
पुत्ला बनाऊ
अभ्यास गर धनुर्विद्याको
र, सधैंझैं यो वार्षिकीमा पनि
तारो हान फिरन्ते कोलम्बसलाई... !

कोलम्बस पाइला : रैथाने ज्ञानको अनन्त दु:ख

२०६२ सालमा लेखिएको ‘रातो नस्ल’ नामको आफ्नै कवितांशबाट विषय उठान गर्नुपर्दा एउटा अनौठो संयोग र सुविधाभोगको दोषग्रन्थिले सताइरहेछ यतिखेर मलाई । अनौठो संयोग र सुविधाभोग, जसका कारण आफैंभित्र कतै लज्जाबोधको संकुचन पनि यथेष्ट छ । तर, भनिन्छ नि... कथाले मागेपछि... । हो त्यही कथाले मागेपछिको अनौपचारिक कथनले भने मलाई कताकता सहज तुल्याइरहेको छ । त्यसको अनाम हावाले मलाई यतिखेर सानो राहतको श्वास प्रदान गरेको छ । त्यसैले म यतिखेर आफ्नो दोषभावबाट मुक्त हुन खोज्दै सोचिरहेछु, कि यो कथाले नै मागेको एउटा सुविधाजनक माग हो ।

कथा आजभन्दा लगभग ५३० वर्षअघिको हो, जतिबेला अचानक एउटा दिग्भ्रमित यात्री आन्ध्र महासागरको उपल्लो किनारमा उत्रिन्छ । उसलाई कतिले पछि गएर धूर्त व्यापारी भनेका छन् । कतिले सामुद्रिक लुटेरा । व्यापारिक स्वार्थ बोकेर इन्डियाको खोजमा निस्किएको धूर्त यात्री समुद्रको बाटो बिराएर अचानक पुग्छ त्यहाँ । महिनौं दिनसम्म किनारा नभेटेर थकित र निराश । बिग्रिएको कम्पास र लर्‍याकलर्‍याक हल्लाउँदै च्यातिएको पताका, जब जहाजको डेकबाट त्यो उत्रिन्छ, त्यसले त्यही किनारालाई इन्डिया सम्झिन्छ । सम्झिन्छ, त्यहाँका राता आदिवासीहरूलाई रेड इन्डियन ।

व्यापारी पाइला उत्रिनासाथ देख्छ त्यहाँ – अक्षत र अन्तहीन कुमारी भूमि, अपार खजानाको स्रोत, अबोध र अनजान आदिवासीहरू । नौला राता नेटिभ पिपुल । उसलाई तुरुन्तै लाग्छ, त्यो नयाँ जातको सिकारका लागि निर्बाध र निर्विघ्न सिकारभूमि हो । प्रभुत्व, विस्तार र लुटका लागि एउटा निष्कण्टक स्वर्गभूमि । नयाँ र उर्वर सिकारभूमि भेटेपछि एउटा भोको सिकारीले जे गर्छ उसले पनि त्यही गर्छ त्यहाँ । उसले त्यहाँका आदिवासीहरूलाई उनीहरूको थातथलोबाट उठीबास गराउँछ । आदिवासीहरूको प्रतिरोध दबाउने क्रममा असंख्य मानिसको कत्लेआम गर्छ । जमिन हडप्छ । प्राकृतिक खजानाहरू लुट्छ । हैजा र बिफरजस्ता संक्रामक रोग फैलाइदिन्छ । सबैभन्दा जघन्य अपराध त त्यहाँको हजारौँ वर्ष पुरानो गौरवशाली इतिहास नामेट पारिदिन्छ । हजारौँ वर्ष पुरानो रैथाने सभ्यता र रैथाने मानिसहरूलाई बाँकी विश्वका अगाडि नयाँ नामको ट्याग भिराइदिन्छ ।

यो सन् १४९२ अक्टोबर १२ को दिन थियो । पछि त्यही दिनलाई बाँकी विश्वले अमेरिका पत्ता लागेको दिन भनिदियो । त्यो दिग्भ्रमित यात्री क्रिस्टोफर कोलम्बसको नामले प्रख्यात भयो । र, भनिन्छ– त्यही दिन सारा युरोपियनका लागि अमेरिका नामको नयाँ र अक्षत भूमिमा प्रवेश गर्ने पहिलो ढोका खुलेको दिन थियो ।

तर, न्यारेटिभहरूको बोधको बहाव र व्याख्या सदा सर्वदा एउटै लयमा बगिरहँदैन । हिजो ठडिएका मानकका पर्खाल आज भत्किन्छन् । कुनै दिन भिरेको विश्वासको अभेद्य चस्मा अर्को दिन खुइलिन्छ । इतिहासका तथागत तथ्यहरू पुनर्तथ्यांकित भएर निस्किन्छन् । कुनै दिन अमेरिका पत्ता लगाउने कोलम्बस नामको साहसी विम्ब अर्को दिन लुटेरामा परिणत हुन सक्छ । धूर्त व्यापारीमा स्खलित हुन सक्छ । बीसको दशकमा अग्रज कवि बैरागी काइँलाले यथास्थितिको साँघुरो सडकमा ‘कोलम्बसको पाइतलाले टेक्न पाउनुपर्छ’ भनेर आह्वान गरिरहँदा साठीको दशकमा आएर यही पंक्तिकारले आफ्नो कवितामा ‘विस्तारको सडक अब रोक्किनुपर्छ’ भनेर भन्नुपर्ने हुन्छ ।

यतिखेरको चेतना र विवेकले अब पुरानो कोलम्बसमा नायकत्वको विम्ब मात्र देख्दैन, त्योभन्दा बढी बरु संक्रमण र हिंसाको भयावह चित्र देख्छ । रैथाने ज्ञान र मूल्यको संहारक मान्छ । त्यसैले त्यहाँका नेटिभ अर्थात् रैथाने ‘लाम्पिरा’ हरू आफू पत्ता लागेको कथित दिनको स्मरणमा कोलम्बसको पुत्ला जलाउँछन् । त्यसलाई तारो हान्छन् । कोलम्बसलाई उपनिवेशवाद र साम्राज्यवादको सूत्रधार मानेर हामी पनि यता लामो समयदेखि इतिहासको पुनव्र्याख्या गर्दै कविताहरू लेखिरहेका छौँ । पुरानो न्यारेटिभ्स भत्काइरहेका छौँ । यस लहरमा पछिल्लो समय अनुसन्धाता भोगिराज चाम्लिङदेखि कवि विनोदविक्रम केसीहरू लामबद्ध छन् ।

हो, यही कथाको बहस केही महिनाअघि भोजपुरको एक कार्यक्रममा जबर्जस्त रूपमा उठ्न पुग्यो । सिरानमा उल्लिखित कविता र सम्बन्धित कविहरूको एक–एक संकेत र सन्दर्भ कोट्याउँदै लेखक/पत्रकार दीपक सापकोटा र अभियन्ता अनुभव अजितले चर्को बहस गरे । बहसद्वारा मेरो ‘कथाको माग’ लाई सदर गरेर मलाई आफ्नो असमञ्जस्यताबाट मुक्त गरिदिए । बहसको नाम थियो– ‘रैथाने ज्ञान महोत्सव, भोजपुर आमचोक’, मिति : २०७८ चैत ८–९ गते ।

०००

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ मा ‘रैथाने’ शब्दको अर्थ दिने क्रममा एक वाक्य यस्तो लेखिएको छ– ‘कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा, आदिवासी ।’ यसबाट दुइटा कुरा प्रस्ट हुन्छ । पहिलो, रैथाने र आदिवासी समानार्थी शब्द हुन् । संसारका हरेक ठाउँमा पहिले कुनै एउटा मानव वंश आएर थातथलो निर्माण गरेर बसेका हुन्छन्, जसलाई रैथाने भनिन्छ । कालान्तरमा तिनै मानिसले पृथ्वीको अमुक ठाउँलाई बस्नलायक बनाउँछन् । त्यहाँका ढुंगा, माटो, खोलानाला, वृक्ष, वनस्पति, प्रकृति आदिलाई आफ्नै नाम दिन्छन् । दोस्रो, रैथाने भनेर स्वीकार गरिसकेपछि त्यहाँ अर्को दोस्रो समुदाय या फ्याक्टरको पनि पहुँच छ भनेर मान्नुपर्ने हुन्छ, जसको उपस्थितिद्वारा कसैलाई रैथाने करार गर्न सकिन्छ । यसलाई नवप्रवेसी, नवआगन्तुक वा आयातित आदि भन्न सकिन्छ ।

रैथाने चिनारीको सबैभन्दा ठूलो र निर्धारक तत्त्व हो– भूमिसँगको उनीहरूको ऐतिहासिक सम्बन्ध । लामो समयसम्मको यही सम्बन्धको आधारमा निर्माण हुन्छ एक खास सांस्कृतिक आयाम र ज्ञान परम्परा । इतिहास, संस्कृति र ज्ञान परम्परा नै ती प्रमुख अवयव हुन्, जसले खास समुदायलाई रैथाने चिनारी दिन्छ । हजारौँ वर्ष लगाएर निर्माण गरेका तिनै ज्ञान परम्पराका आधारमा आज तिनीहरू अस्तित्ववान् छन् । यसबाट थाहा हुन्छ ‘रैथाने’ भनेको कुनै खास भूमिसँगको जरो र किलोको सम्बन्धको नाम हो । जरो तिनीहरूको समय र सम्बन्धको प्राथमिक कडी हो । किलो त्यही जरोको आधारमा उभिएको अस्तित्व र ज्ञानको अविच्छिन्न शृंखला हो ।

यता नवप्रवेशीहरू जसलाई माथि दोस्रो समुदाय या फ्याक्टर भनिएको छ, तिनीहरूको उपस्थितिपछि भने त्यहाँ नयाँ सम्बन्धहरू स्थापित हुन थाल्छ । नयाँ घर्षण सुरु हुन्छ । ज्यादातर रूपमा यो सम्बन्ध आक्रमण र अतिक्रमणकै घर्षणबाट सुरु भएको देखिन्छ । यस क्रममा उनीहरूले पहिलो सिकारका रूपमा त्यहाँका ज्ञान पद्धति र स्थाननामहरूलाई लक्षित गरेका हुन्छन् । अतिक्रमणको यही सिलसिलालाई पुष्टि गर्न यहाँ कोलम्बसको कथा आवश्यक पर्न गएको हो । आयातित चिन्तन/संस्कृतिको समग्र इतिहास र वर्तमानलाई एउटै विम्बमा बुझ्नका लागि सायद कोलम्बस भन्ने विम्ब पर्याप्त र सही छ । त्यसैले सजिलोका लागि यसलाई यहाँ ‘कोलम्बस फ्याक्टर’ पनि भन्न सकिन्छ । पछिल्लो समय भित्रिएको आधुनिक विकासको जबर्दस्त अवधारणा पनि लगभग यही फ्याक्टरको नयाँ संस्करण हो भनेर बुझ्दा उचित हुन्छ ।

यही जरो, किलो र अतिक्रमणको नयाँ फ्याक्टरबारे बहस गर्दै सम्भवत: पहिलोचोटि ‘रैथाने’ नामको कार्यक्रम भोजपुरमा सम्पन्न भएको हो । त्यसैले अब हामी यहाँ भोजपुरकै बारे केही चर्चा गर्नेछौँ । यद्यपि भोजपुरको रैथाने इतिहासबारे अनगिन्ती कथा किंवदन्ती छन् । यहाँ तिनैमध्ये केहीलाई, जसबारे मैले उक्त कार्यक्रममा चर्चा गरेको थिएँ– पुन: दोहोर्‍याइनेछ (जरुरी छैन कि मेरो बालमस्तिष्कले ग्रहण गरेका यी श्रुति कथा सबैका लागि उत्तिकै सत्य होस्) ।

भोजपुर भर्सेज खिकामाक्छा

विषय उठान गर्ने क्रममा सर्वप्रथम भोजपुरको नामबाटै कुरा सुरु गरौँ । भोजपुर भन्ने नामावली त्यति पुरानो काल्पनिकी होइन, जति मानिस सोच्छन् । यो भौगोलिक साँधसीमाको कलेवरमा सजाइएको पछिल्लो राजनीतिक काल्पनिकी हो । किनभने भोजपुरको आदिम या रैथाने नाम पहिले भोजपुर थिएन । आज जुन ठाउँमा भोजपुर जिल्लाको सदरमुकाम अवस्थित छ, त्यसको प्राचीन र रैथाने नाम थियो ‘खिकामाक्छा’ । किरात राई भाषाअनुसार, खिका = खिका (ब्यक्ती नाम), माक्छा = ज्वाइँ । अर्थात् खिका ज्वाइँ ।

जनश्रुतिअनुसार, उहिले कुनै समयमा त्यस ठाउँमा एक जना किराती जवान बस्थे । उनको नाम थियो– ‘खिका’ । उनी त्यस ठाउँका हर्ताकर्ता या नेतृत्वदायी व्यक्ति थिए । त्यहाँबाट दक्षिण पश्चिम दिशामा पैदल हिँड्दा लगभग ५/७ घण्टाको दूरीमा एउटा अर्को गाउँ थियो । त्यस गाउँमा एक जोडा अत्यन्तै दयालु वृद्ध किराती बूढाबूढी बस्थे । बूढाबूढीको नाम थियो– गोल्मा राजा, गोल्मा रानी । बूढाबूढीका सन्तानका नाममा एक मात्रै तरुनी छोरी थिइन् । बिहे गर्ने उमेर भइसकेको हुनाले उनीहरूले वरिपरि छरछिमेकमा नाम चलेका खिका पत्ता लगाएर छोरीको बिहे गरिदिए ।

छोरीको बिहेपछि बूढाबूढी अब एक्लै परे । छोरी–ज्वाइँको माया र सम्झनामा दिनरात पिरोलिन थाले । उनीहरू हरेक दिन गाउँछेउको अग्लो पहाडमा चढ्थे र त्यहाँबाट देखिने पूर्वोत्तर डाँडातिर देखाउँदै भन्थे– ऊ त्यही हो खिकामाक्छा (खिका ज्वाइँ) को गाउँ... ।

यता खिका ज्वाइँ निकै व्यस्त थिए, जहिले पनि जनताहरूले घेरिरहने । वृद्ध सासू ससुरालाई भेट्न जान पनि फुर्सद नमिल्ने । कहिलेकाहीँ गए पनि मानिसहरूबाट लुकेर जानुपर्ने । वर्तमान भोजपुर बजारको सिरानमा एउटा मन्दिर छ– सिद्धकाली मन्दिर । त्यहाँ एउटा गुफा छ । गुफाबाट उँधैउँधो गहिरिएको एउटा सुरुङमार्ग छ । भनिन्छ, त्यो सुरुङको अर्को छेउ गोल्मा राजा, गोल्मा रानीको गाउँसम्म पुग्छ । र, खिका ज्वाइँ त्यही सुरुङ मार्ग भएर मानिसहरूबाट लुकेर सासूससुरा भेट्न जाने गर्थे ।

सदरमुकामको दक्षिणी क्षेत्र पाप्माखाम गढीको छेवैमा घना जंगलले ढाकिएको एउटा अजंगको पहाड छ । त्यो पहाडलाई अहिले पनि ‘गोल्मा राजा गोल्मा रानी भीर’ भनिन्छ । त्यहाँ अहिले पनि समस्त किरातीहरूद्वारा सम्मानका साथ पूजा गर्ने चलन छ । र, तिनै गोल्मा राजा, गोल्मा रानीको प्यारो खिका ज्वाइँको गाउँ हुनाले वर्तमान भोजपुर बजारको नाम ‘खिकामाक्छा’ रहन गएको जनविश्वास छ ।

यसरी किराती जातिको प्राचीन इतिहाससँग जोडिएको ‘खिकामाक्छा’ नाम मेटिएर पछि एकाएक भोजपुर बन्न पुग्यो । तर, त्यो कहिले र कसरी भयो ? यो बडो कौतुकपूर्ण प्रश्न छ । अनुमान गर्नेहरूले यसका अनेक कारण बताउँछन् । तर, यसको सबैभन्दा प्रबल कारण भने पृथ्वीनारायण शाहको एकीकरण प्रक्रियासँग जोडिएको छ, जुन सबैभन्दा भरपर्दो र तथ्यसंगत छ ।

इतिहासकारहरू बताउँछन्– गोर्खाली सेनाले आक्रमण गर्दै आउने क्रममा त्यही खिकामाक्छा थुममा आइपुगेर विजय भोज मनाएका हुनाले भोजपुर नाम रहन गएको हो । पृथ्वीनारायण शाहले किरात प्रदेशमा विजय प्राप्त गरी त्यसको खुसीयालीमा आयोजना गरेको भोजको सन्दर्भबाट यस जिल्लाको नामकरण गरिएको तथ्य बढी विश्वसनीय देखिन्छ (भोजपुरको वाङ्मय, डा. विप्लव ढकाल) ।

यस तथ्यबाट बुझ्न सकिन्छ, विसं १८३१ को गोर्खाली विजयभन्दा अघिसम्म आजको भोजपुर सदरमुकाम क्षेत्रको रैथाने नाम ‘खिकामाक्छा’ थियो । त्यो विजय अभियानको नामले पहिले खिकामाक्छालाई मात्रै नामेट गरेको थियो । तर, त्यसपछिको नेपाली राजकीय र प्रशासनिक अतिक्रमणले यस्तो स्थिति सिर्जना गर्‍यो कि आजको सदरमुकाम क्षेत्र मात्र होइन लगभग १५०७ वर्गकिलोमिटरले ओगटेको जिल्लाको पूरै भूभागलाई भोजपुर नामले चिनाउन थालियो । यसबाट एकैचोटि दुइटा शासकीय स्वार्थ पूर्ति हुन गयो । पहिलो त दूधकोशीदेखि अरुणसम्मको जुन प्राचीन र साझा किराती सभ्यताको अविच्छिन्न भूखण्ड थियो, त्यसलाई यसले खण्डित तुल्याइदियो । दोस्रो, आजको भोजपुर नामको नयाँ काल्पनिकीभित्र जे जति रैथाने स्थाननामहरू थिए, ती सबैलाई ओझेलमा पारिदियो ।

आज ‘खिकामाक्छा’ नाम यस्तरी नामेट भइसकेको छ, जसको सानो अंश पनि कसैको दिमागमा बाँचेको छैन ? भोजपुर नामक एउटै आगन्तुक शब्दको पहियाले कति रैथाने इतिहासलाई धूलो बनाएको छ । त्यसको अन्दाज धेरैलाई छैन ।

२०७८ फागुन ८ गतेको दिन अचानक तत्कालीन प्रधानमन्त्री केपी ओलीद्वारा विराटनगरबाट विकासको एउटा उत्तेजक मन्त्र उद्घोष भयो, ‘पानीजहाज चलाउनका लागि बीच सप्तकोसीमा बाधकको रूपमा रहेको एउटा ढुंगा क्रेन लगाएर फुटाइनेछ ।’ विकासे कार्यकर्ताहरूले उनको जयजयकार गरे । करतल ध्वनिका साथ ताली बजाए । तर, प्रधानमन्त्रीको भाषण सेलाउन नपाउँदै भोलिपल्टै सारा किराती समुदाय त्यसको प्रतिरोधमा उत्रिए । किनभने किरातीहरूका लागि उनले संकेत गरेको ढुंगा फगत एउटा ढुंगा थिएन । त्यो त किरातीहरूको हजारौँ वर्ष पुरानो इतिहासको एउटा जिउँदो साक्षी थियो, जसबारे एउटा असहिष्णु प्रधानमन्त्रीलाई हेक्कै थिएन । सप्तकोसीको बहाव क्षेत्रभित्र उभिइरहेको त्यो विशाल ढुंगा हेर्दा सामान्यजस्तो देखिए पनि त्यससँग किरातीहरूको हजारौँ वर्ष पुरानो बसाइसराइको कथा जोडिएको छ । त्यसैले किरातीहरू त्यस ढुंगालाई सामान्य ढुंगा होइन, बरु अपार आस्था र पवित्र धरोहरका रूपमा मान्छन् । त्यसलाई पूजा गर्छन् ।

वर्तमान भोजपुर नामले चिनिने भूभाग पनि किरातीहरूकै विस्तृत आवाद क्षेत्रभित्रको एक हिस्सा हुनाले भोजपुरको रैथाने इतिहास केलाउँदा त्यो ढुंगा छुटाइयो भने अपुरो हुन जान्छ । यो यसर्थ पनि कि त्यो ढुंगा त्यस्तो ठाउँमा अवस्थित छ, जहाँबाट भोजपुर, उदयपुर र धनकुटा तीनवटा जिल्ला छुट्टिन्छ । त्यो ढुंगा, जसलाई एक नेताले सामान्य ढुंगा मात्रैदेखे, त्यसैलाई किरातीहरू ‘खुवालुङ’ भन्छन् । खुवालुङमाथि प्रशस्त चर्चा चलिसकेको र ऐतिहासिक पक्षमाथि बहस भइसकेकाले यहाँ यसको कथा नदोहोर्‍याउँ ।

दिदीबहिनी डाँडाको दु:खान्त

संसारका हरेक रैथाने जातिले आफ्ना सुख–दु:ख र संघर्षका कथा अक्षरमा होइन आफैँ खेलेको प्रकृतिमा अंकित गरेर जान्छन् । तिनलाई भावी पुस्ताले ज्युँदो अभिलेखका रूपमा ग्रहण गर्छन् । दिदी–बहिनी डाँडा पनि यस्तै एउटा दु:खान्त कथाको अभिलेख हो ।

भोजपुर जिल्लालाई झन्डै बीचमा पारेर पश्चिमदेखि पूर्व चिरेर बग्ने एउटा प्रख्यात खोला छ । त्यसलाई ‘पिखुवा’ खोला भनिन्छ । खोलाको शिर या स्रोत मैयुङ नामको विशाल र फाँटिलो लेकमा पर्छ । मैयुङ किरातीका आदिम पुर्खाहरूले पशुपालन गर्ने घाँसे चउरले भरिएको उच्च पहाडी लेक हो । त्यहाँ किराती पुर्खाहरूले ठूलो संख्यामा चौँरी गाईको बथान पाल्ने गर्थे । तिनै गाईहरूको गोबर मिसिएर बग्ने खोला हुनाले ‘पिखुवा’ नाम रहन गएको भनाइ छ । किरात राई भाषाअनुसार, पित = गाई, खु = गोबर, वा = खोला । अर्थात् ‘पित्खुवा’ । यही ‘पित्खुवा’ शब्दको अपभ्रंस रूप कालान्तरमा ‘पिखुवा’ भएको मानिन्छ ।

पिखुवा भोजपुर सदरमुकामको फेदी हुँदै अरुणमा गएर मिसिन्छ । त्यो फेदीबाट अरुण दोभानसम्म ओहोरदोहोर गर्नका लागि पिखुवाको समानान्तर एउटा बाटो तन्किएको छ । पिखुवाको किनारैकिनार पहाडको अक्करे भित्ता खोपेर बनाइएको त्यो बाटो कुनै समयको अत्यन्तै चल्तीको बाटो थियो । भोजपुरको पश्चिमोत्तर र मध्यक्षेत्रका मानिसहरूलाई चतरा, धरान हुँदै पूर्वी तराईसम्म यही बाटाले जोड्थ्यो । उँधो परदेश झरिरहेका, उँभो घर फर्किरहेका, नुन–तेल बोक्ने ढाक्रे भरियाहरू दोहोरीलठ्ठ हिँड्ने मूलबाटो थियो त्यो । त्यसैले त्यो बाटो पैदलयात्रीहरूले बाह्रैमास गुलजार हुने गथ्र्यो । त्यही बाटाको लगभग बीच भागतिर समान उचाइ र समान आकारका, एकअर्कामा हातेमालो गरेर उभिइरहेझैं लाग्ने दुइटा डाँडा भेटिन्छन् । शताब्दियौँदेखि निरन्तर बगिरहेको पिखुवालाई बीचमा पारेर वारिपारि समानान्तर उभिइरहेका ती जोरडाँडा झट्ट हेर्दा कुनै जौले केटीहरू झैं देखिन्छन् । तिनै जोरडाँडालाई मानिसहरूले ‘दिदीबहिनी डाँडा’ नाम दिएका हुन् ।

पुर्खाहरूको कल्पनाशीलता कति अद्भुत ! उनीहरू आफ्ना संघर्ष र अलिखित दु:खहरूलाई जिउँदो विम्बमा जोगाइराख्ने कला जान्दछन् ! उनीहरूका विश्वासअनुसार, ती जोर बहिनी डाँडा परदेश जाने माइतीहरूलाई बिदाइ गर्न उभिइरहेका चेलीहरू हुन् । ती चेलीहरूले शताब्दियौँदेखि लहरै उभिएर उँभो फर्किनेहरूलाई स्वागत गरिरहेका छन् । उँधो जाने माइतीहरूलाई आँखाभरि अजस्र पिखुवा बगाएर रुँदैरुँदै हेरिपठाउँछन् । भनिन्छ, ती ‘दिदीबहिनी डाँडा’ परदेश गएर कहिल्यै नफर्किएका माइतीहरूलाई आज पनि पर्खेको पर्खै छन् ।

केही समयअघिसम्म, जबसम्म त्यो बाटो गुलजार थियो । त्यसको अर्को विकल्प थिएन । परदेश लाग्ने प्रत्येक माइतीहरू त्यहाँ आइपुगेपछि गह्रुंगो मन पार्थे । एक छिन सुस्ताउँथे । र, घरबाट हिँड्ने बेलामा चेलीले लगाइदिएको माला त्यही दिदीबहिनी डाँडामा सेलाएर हिँड्थे । त्यसपछि भावविह्वल हुँदै उँधैउँधो लाग्थे ।

आज गाउँगाउँमा सडक पुगेको छ । गाडी पुगेको छ । भोजपुर दक्षिणी क्षेत्रका मानिसहरू गाडीको बाटैबाटो बेलटार पुग्छन् । पश्चिमका मानिस गाईघाट हानिन्छन् । पूर्वोत्तरकाहरू लेगुवा सोझिन्छन् । तर, त्यो निर्जन, परित्यक्त बाटो अब कोही हिँड्दैनन् । सम्झिनोस्, त्यो ‘दिदीबहिनी डाँडा’ मा आफ्ना चेलीले लगाइदिएको माला छाडेर हिँड्न अब फेरि कुन माइती फर्केला ? त्यो दु:खान्त कथा अबको पुस्तामा के उसैगरी दोहोरिएला ?

थुबिक्मा चरीको वियोग

के तपाईं साउन–भदौको याममा उर्लंदो भेल बगिरहेको पहाडी खोलामा कुनै दिन पुग्नुभएको छ ? यदि छैन भने कुनै दिन किरात क्षेत्रका कुनै बाढीग्रस्त खोलामा पुग्नोस् र नियाल्नोस्– त्यहाँ खोला किनारमा एकपछि अर्को ढुंगामा भौंतारिँदै, रोदनपूर्ण आवाजमा नमीठो विलाप गर्दै, बगिरहेको बाढीको धमिलो पानी पछ्याउँदै उडिरहेको एउटा चरा देख्नुहुनेछ । राम्ररी सुन्नोस्, त्यसको आवाजमा रोइरहेको हृदय चिर्ने बिलौना सुनिन्छ । जसले थुबी ! थुबी ! भन्दै एकोहोरो चीत्कार गरिरहेको हुन्छ । त्यही चरालाई किरातीहरू ‘थुबिक्मा’ चरी भन्दछन् ।

किरातीहरूको भाषिक विविधता र श्रवण अभ्यासको फरकपनाका कारण कसैकसैले यसलाई सुबी, थुबी, थिबिया आदि पनि भन्दछन् । तर, आफूले सुनिआएको परम्परालाई पछ्याउँदै यस पंक्तिकारले भने ‘थुबिक्मा’ लाई नै सदर गर्न पुगेको छ ।

लोकोक्ति भन्छ– उहिले कुनै समयमा किरात क्षेत्रको कुनै एक गाउँमा एउटी अत्यन्तै सीधा, निष्कपट र सोझी महिला थिइन् । रहँदा, बस्दा उनले एउटी छोरी जन्माइन् । छोरीको नाम ‘थुबी’ राखियो । माया र बात्सल्यले आफ्नी प्यारी छोरी हुर्काइरहेका बेला अकस्मात् कथाले अर्कै मोड लिन पुग्छ । तिनको छिमेकी गाउँमा अर्कै एक महिला पनि बस्थिन् । उनी ईष्र्यालु स्वभावकी थिइन् । ठीक त्यही समयमा ती महिलाले पनि त्यसरी नै छोरी जन्माएकी थिइन् । तर, ती छिमेकी महिलालाई अर्काकी छोरी जन्मिएको कुरा मन परिरहेको थिएन । अचानक उनीभित्र ईष्र्याभाव जागेर आउँछ । उनी षड्यन्त्रको जाल बुन्नतर्फ लाग्छिन् ।

एक दिन छिमेकी महिलाले आएर भनिन्, ‘हामी दुवैका दाँवाले छोरी छन् । दुवै एकै समयमा जन्मिएका । तर, दुवै सँगै जन्मिएका हुनाले यिनीहरूको ग्रह दशा राम्रो छैन । यी दुवै धेरै दिनसम्म बाँच्नेछैनन् । कदाचित केही समय बाँचेछन् भने पनि यिनीहरूले हामीलाई पिर्नेछन् । हामी दुवै मर्नेछौँ ।’

यो सुनेर पहिलो आमा चिन्ताग्रस्त भइन् र भनिन्– ‘अब के गर्ने होला ?’

तत्कालै छिमेकीले भनिन्, ‘यिनीहरूलाई खोलामा बगाइदिनुपर्छ ।’

निष्कपट र सोझी थुबीकी आमाले त्यो कुरा सहजै पत्याइन् र छोरी बगाउन तयार भइन् ।

दुवैले आ–आफ्ना छोरीलाई थाङ्नामा पोको पारे । खोलामा घनघोर बाढी उर्लिरहेको थियो । दुवैले आ–आफ्नो अँगालोबाट थाङ्नाको पोका खोलामा बगाए । हेर्दाहेर्दै एकै छिनमा दुवै पोका बाढीमा बेपत्ता भए ।

तर, निकै दिनपछि अचानक ती सोझी आमाले देखिन्– छिमेकीकी छोरी कोक्रामा सकुशल खेलिरहेकी थिइन् । आश्चर्यचकित हुँदै तिनले छिमेकीलाई सोधिन्, ‘तिम्रो छोरी त जिउँदै छ त ! तिमीले किन मलाई छक्यायौ ? त्यो दिन तिमीले छोरी भनेर के बगायौ ?’

छिमेकीले भनी, ‘मैले छोरीको सट्टामा थाङ्नामा कुचो पोको पारेर बगाएँ ।’

त्यसपछि पो ती आमाले आफू छिमेकीको जालमा परेको पत्ता पाइन् । छोरीको मायाले एक्कासि छाती चिरिएर आयो । तिनी खोलातिर दौडिइन् । खोलामा उसैगरी बाढी उर्लिरहेको थियो । विक्षिप्त भएर थुबी थुबी ! भन्दै छोरीको नाम पुकार्दै, उर्लिरहेको बाढीलाई खेद्दैखेद्दै उँधैउँधो लागिन् र हेर्दाहेर्दै बाढीमा बेपत्ता भइन् ।

भनिन्छ, तिनै आमाले पछि चराको रूप लिइन् । आज पनि जब साउन–भदौको याम फर्किन्छ, खोलाहरूमा बाढी उर्लिन्छ तब तिनै आमा चरीको रूप लिएर छोरी खोज्दै आउँछिन् । थुबी ! थुबी ! भन्दै छोरीको नाम पुकार्दै, बाढीसँगसँगै उँधैउँधो दौडिन्छिन् ।

‘थुबिक्मा’ को अर्थ किरात–राई भाषाअनुसार,‘थुबीकी आमा’ हुन्छ । ‘थुबी’ अर्थात् ‘थुबिक’ = व्यक्ति नाम, ‘मा’ = आमा, अर्थात् ‘थुबिक्मा’ अर्थात् ‘थुबिकी आमा’ ।

अब सोचौँ, थुबिक्मा चरीको यो वियोगान्त कथा सुन्दैसुन्दै हामीजस्ता कतिऔं पुस्ता हुर्कियौँ । थाहा छैन त्यो आज कतिको हृदयमा बाँचिरहेको होला ! यदि बाँचेको छैन भने त्यसलाई मेट्ने प्रभुत्वशाली इरेजर के होला ? मलाई लाग्छ, मानव सभ्यताले कमाएको सबभन्दा ठूलो पुँजी भनेकै यस्तै कथा हो । यदि समाजबाट, मान्छेको सम्झनाबाट कथा नै मेटिन गयो भने मानिसको जीवनमा बाँकी के रहला ? के कथाबिनाको मान्छे सम्भव छ ? निश्चय पनि हामीलाई, मानिसको कथालाई रक्षा गर्दै अघि बढ्ने विज्ञानको खाँचो छ ।

काग दाइ र वरको रूख

म सानो छँदैको स्मृति ! मामाघरको ठीक सामुन्ने एउटा ठूलो चिउरी वरको रूख थियो । वर पाक्ने समयमा हामी केटाकेटीहरू एकाबिहानै वरको फेदमा जम्मा हुन्थ्यौँ र एकै स्वरले कराउँथ्यौँ – ‘काग दाइ, काग दाइ वर झारिदेऊ न... !’

मानिस चढ्न नसक्ने सुरिलो र अजंगको वरको रूखबाट एक छिनमा केही वरका दानाहरू खस्थे । हामी हारालुछ गथ्र्यौं । हामीलाई लाग्थ्यो, हाम्रो पुकारा सुनेर काग दाइले खटाईखटाई वर झारिदिएका हुन् ।

मलाई थाहा छैन, फ्यात्त पाकेको वरको दाना बिहानको मन्द हावाको झोक्काले झारेको हो वा कागको चुच्चोको आघात थेग्न नसकेर आफैं झरेको हो ! तैपनि काग दाइप्रतिको हाम्रो विश्वास त्यतिखेर अद्भुत किसिमको थियो । केटाकेटीको संसार र काग दाइबीचको विश्वासको सम्बन्ध साँच्चि नै अनौठो थियो । त्यो प्रकृतिमैत्री सम्बन्ध, सबै जीवहरूमाथि स्थापित मानवीयकरणको हार्दिक दृष्टिकोण निश्चय पनि सानो थिएन ।

यो कुनै किंवदन्ती होइन न हो कुनै तिलस्मी कथा । तैपनि यसलाई म यहाँ किन उल्लेख गर्न गइरहेछु भने योसँगसँगै यतिखेर चर्को रूपले जोडिएका केही प्रश्न खडा छन् । पहिलो त आजका पुस्तामा त्यस्ता कति मानिस छन्, जसले काग दाइप्रति भरोसा साटेका होलान् ? दोस्रो, त्यस्ता चिउरी वरको कति रूख आज गाउँमा बँचेका छन् जसको फेदबाट आजका केटाकेटीले आफ्नो जीवनको सुन्दर बिहानी सुरु गरेका होलान् ? आज विकासका नाममा गाउँको कुनाकुनामा साँढेगोरुझैं डोजर डुक्रिरहेछ, त्यसको पहियामुनि कति चिहान–चौतारी सुरक्षित होलान् ? कति पाटी–पौवा, कति ठाँटी–फलैंचा, कति देवी–देउराली, कति ज्ञानका स्तम्भ स्मृति बाँचेका होलान् ?

यस्तो पनि होइन कि मानिसले आफ्नो ज्ञान र आस्थाको कुरा गर्दा सदा अतीतको या पछौटेपनको गीत गाइरहनैपर्छ । त्यसका लागी हमेसा डोजरे विकास र संस्कृतिको विरोध गरिरहनैपर्छ । तर, प्रश्न के मात्रै हो भने विकासका नाममा मानिसका सारा सांस्कृतिक सम्पदा नासेर, आस्थाका धरोहरहरू तोडेर, रैथाने ज्ञानका स्रोत र मानिसका सारा कथा मेटेर एक्लो विकासको संकथनले मानिसलाई कहाँ पुर्‍याउँछ ? आजभन्दा ४०/५० वर्षअघि नै संस्कृति विकासको चौथो पिलर हो भनेर युनेस्कोले भनिसकेको छ । संस्कृतिमैत्री विकास मात्रै दिगो विकासको कडी हो भन्ने युनेस्कोको त्यो प्रक्षेपणप्रति गम्भीर हुन हामीलाई केले छेकिरहेको छ ?

सुरुमा कोलम्बसको कथाबाट विषय उठान गरियो । त्यो लगभग ५३० वर्षअगाडिको कुरा थियो । तपाईंलाई लाग्ला, त्यो अमेरिकाको कथा थियो, अब सिध्दियो । लाग्ला कोलम्बस उहिले नै मरिसक्यो । तर, हेक्का रहोस्, कोलम्बस अझै मरेको छैन । त्यो एउटै फ्याक्टर नयाँनयाँ संस्करणमा हरेक ठाउँ, हरेक समय दोहोरिइरहेको छ । कहिले प्रभु र प्रभुत्वको नाममा, कहिले आयातित सत्ता र संक्रमणको नाममा, कहिले विकासको संकथनको नाममा । कोलम्बस नामको त्यही फ्याक्टर कहिले पृथ्वीनारायणको खुँडा पनि हो, कहिले खुवालुङको ढुंगा फुटाउने केपी ओलीको भाषण पनि हो ।

कोलम्बस यतिखेर त्यो अक्षत गाउँको छातीमा चढ्दै गरेको डोजरको नाम हो । कोलम्बस सम्पूर्ण रैथाने ज्ञानको आयातित दु:ख हो ।

[शनिबार प्रकाशित हुने 'कोसेली'को प्रिन्ट संस्करणबाट]

प्रकाशित : असार ३१, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?