‘मोहनराज, ध्रुवचन्द्रहरू पुस्तक पाचनमा प्रवीण रहेछन्’

कान्तिपुर संवाददाता

‘कुनै पुस्तक चाख्न, कुनै चपाउन र कुनै पचाउन सकिने खालका हुन्छन्’ भनेर कक्षाकोठाका निबन्धमा पढ्दै–पढाउँदै आएको लोकप्रिय भनाइ त्यसबेला अझ बढी अर्थपूर्ण हुन सक्छ, जब पुस्तक चाख्ने वा चपाउनेभन्दा बढी पचाउनेहरु वरपर भेटिन्छन् । उमेरमा ८० नाघेका र स्वभावमा अन्तर्मुखी लाग्ने साहित्यिक पत्रकार रोचक घिमिरेसँग यस्तै अनगिन्ती कथा–कहानी रहेछन्, जहाँ पुस्तक पाचन गर्ने विद्वत्जनको नाम–हुलिया यत्रतत्र लुकेको रहेछ । ६१ वर्षयता (२०१८ सालदेखि) प्रकाशनमा रहेको ‘रचना’ द्वैमासिक साहित्यिक पत्रिकाका प्रधानसम्पादक घिमिरेसँग देवेन्द्र भट्टराईले गरेको किताब–संवाद :

कहीँकतै दुर्लभ साहित्यिक पुस्तक चाहिएमा कि शिव रेग्मी कि त रोचक घिमिरे (रोचक पुस्तक सदन) कहाँ जानू भनेर मदनमणि दीक्षितले विगतमा भन्ने गरेको म सम्झन्छु । त्यो पुस्तक सदन अझै जीवितै छ ?

यो सन्दर्भ आउनासाथ पुस्तकप्रतिको प्रेम र लगावको इतिहास म सम्झन्छु । मेरो बुबा सोमनाथ घिमिरे (व्यास) सँग रहेको संस्कृत साहित्यको प्रेम र यस्तै साहित्यिक–प्राज्ञिक किताब घरमा राख्ने बानीले मलाई पनि यतैतिर तान्यो । बुबा हरदिन भन्नुहुन्थ्यो– ‘पुस्तक जतन गरेर राख्नुपर्छ, थुक लगाएर पाना पल्टाउनु हुँदैन । पुस्तक सरस्वती हुन्, यिनलाई ढोग्नुपर्छ । अरूका पुस्तक ल्याएको छ भने त झन् चनाखो हुनुपर्छ, जस्तो ल्याएको छ त्यस्तै फिर्ता गर्नुपर्छ, हराउनु हुँदैन । पुस्तक चोर्नु हुँदैन, चोरिनबाट जोगाउनुपर्छ ।’

यही मन्त्र मनमा राखेर मैले २०१४ सालदेखि घरमै रोचक पुस्तक सदन खोलेको थिएँ । पछि यसैलाई रोचक संग्रहालय पनि भनियो । यहाँ ५ हजारभन्दा बढी पुस्तक अझै होलान् । तर, यसभित्रका कतिपय दुर्लभ र आफूले रुचाएका पुस्तक आज छैनन् । कति हराए, कति चोरिए, कति आफ्नै साथी–सर्कलका मनमिल्ती लेखकहरूले हाकाहाकी पचाएर छाडे ।

२०६४ सालमा निस्किएको ‘मिर्मिरे’ पत्रिकाको निबन्ध विशेषांकमा तपाईंले यस्तै पुस्तकप्रेमी र पचाउन सिपालुहरूमाथि चिन्ता/चिन्तन गर्नुभएको रहेछ । तर, पुस्तक हडप्ने/पचाउनेहरूलाई ‘चोर’ नभनीकन किन विनयी भएर ‘पुस्तक पाचन प्रवीण’ उपमा दिनुभएको हो ?

होइन, यसरी ठाडै तुलना गर्ने खालका चोर होइनन् यी । चोर भन्दैमा धनसम्पत्ति, भाँडाबर्तन वा नगद चोर्ने तह (स्तर) का दुलेचोर होइनन् यी । मेरो विवेकले यिनलाई सीधै ‘चोर’ भन्न मिल्दैनजस्तो लाग्यो, बरु यी त विद्या र ज्ञानका भोका हुन् । अथवा, सधैं भोको नरहे पनि पुस्तक चोर्ने यो आदतलाई म ‘मनोरोग’ भन्ठान्छु । यसकारण तहगत रूपमा अलिक विशिष्ट चोर भएकाले सम्मान गरेरै ‘पुस्तक पाचन प्रवीण’ भनेको हुँ । अर्कातिर विदेशमा कुनै नेपाली राजदूतले पुस्तक चोरेको वा यहीँ कीर्तिपुर (त्रिवि) पुस्तकालय वा नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयबाट पुस्तक उठाएको खबर आइरहन्छ । यी चोरहरू सबै जना अध्ययनशील/अध्येता कहाँ होलान् र ? यसकारण पुस्तक चोर्ने आदत भनेको एउटा ‘मनोरोग’ नै हो भन्ने मलाई लाग्छ ।

कुनै गहिरो सम्पर्क वा ‘चोर समात्ने आधार नभैकन’ किन आफ्नो संग्रहालयमा प्रवेश दिनुभएको त ? यो त थैली खुला राखेर मेरो नगद–जिन्सी चोरियो भनेजस्तो भएन र ?

एउटा चिनेकै लेखक, साथी, प्राध्यापकले ‘पुस्तक पाचन’ गर्ला भनेर कसरी पत्याउने ? मसँग यस्ता अनेक प्रसंग छन् । बनारसबाट पढेर आएपछि झापा, भद्रपुरमा नेपाली साहित्य प्राध्यापनमा लागेका एक प्राध्यापकलाई म सम्झिरहेको छु । पछि कीर्तिपुरमा सरुवा भएपछि उनी मेरो संगतमा आए । उनले ‘रचना’ पत्रिकामा आधुनिक नेपाली कविताको शृङ्खलामाथि लेख्न चाहेको र यसका लागि अहिलेसम्मका नेपाली कविताका विशेषांक, पुस्तक वा पत्रिका चाहिएको कुरा सुनाए । मैले पनि आफूसँग भएका र पाएका ‘रचना’, ‘रूपरेखा’, ‘मुकुट’ ‘साझा कविता’ र अरू पत्रपत्रिकाका कविता विशेषांकहरू खोजबिन गरेर जुटको झोला भरेरै जिम्मा लगाएँ । आफूले दिएका सामग्रीको सूची बनाएर ‘काम सकिएपछि फर्काउनुहोला’ पनि भनेका थिएँ । त्यसको केही महिनामा ‘रचना’ मा उनको एउटा लेख पनि आयो, तर त्यसपछि ती प्राध्यापक पनि गायब, लेख–शृङ्खला पनि गायब !

कहिलेकाहीँ कतै साहित्यिक समारोह वा बाटैमा भेट हुँदा म सम्झाउँथे– खोइ त मेरो सामग्री भनेर । उनी अन्कनाउँदै भन्थे, ‘तपाईंले मलाई दिएका किताब, पत्रिका के–के हुन्, कताकति मिसमास भयो । बरु सूची भए पाऊँ न ।’ अनि मैले सूची पनि बुझाएँ । तर, अहँ कहिल्यै ती दुर्लभ सामग्री फर्किएनन् । ती प्राध्यापकले पछि मदन पुरस्कार (वैकुण्ठ एक्सप्रेस) पनि पाए, उनी असल मिजासका समालोचक भनेर कहलिए । आज यो धर्तीमा ती प्राध्यापक, लेखक छैनन् । तर, आफ्नो पुस्तकालयमा रोजेखोजेका कविताका पुस्तक नपाइरहेका बेला म श्रद्धावत् ती प्राध्यापकलाई सम्झन्छु, ती थिए–प्राध्यापक मोहनराज शर्मा ।

‘आख्यान पुरुष’ (आपु) भनेर कहलिएका ध्रुवचन्द्र गौतमलाई पनि तपाईंले यस्तै ‘बात’ लगाउँदै आउनुभएको रहेछ । फेरि आफूले त त्यो लगिएको पुस्तक धेरैअघि फर्काएको स्पष्टीकरण दिनुभएको छ नि ?

यो ‘बात’ लागेको कुरा सही हो । तर, आपुले मबाट लगेको किताब आपुसँग ५४ वर्षसम्म राखेर मात्रै फर्काएका हुन्, यसकारण यो विषय लामो समय गलफत्तीमा आइरह्यो । यसको पृष्ठभूमि रोचक छ, भुल्नै नसकिने । धर्मवीर भारतीसहितले सम्पादन गरेको पारिभाषिक शब्दावलीसहितको ‘हिन्दी साहित्य कोष’ निस्किएको चर्चा काठमाडौंसम्म आएको थियो । मैले भोटाहिटीमा गएर रत्न साहु (रत्न पुस्तक भण्डार) लाई अनुरोध गरेर त्यो ग्रन्थ बनारसबाट झिकाइमागें । यो २०२० सालको कुरा हो । ग्रन्थ आयो पनि । मैले त्यो किनेर (२५ रुपैयाँ भारु मूल्य) घरमा ल्याएँ । भाषा–साहित्यमा रुचि भएको र सरलीकृत हिन्दी साहित्यबारे ज्ञान बटुल्न खोज्ने मजस्ता पाठकका लागि त्यो ग्रन्थ अद्भुत थियो । तर, घरमा ग्रन्थ आएको ७/१० दिनमै मित्र ध्रुवचन्द्र मकहाँ आइपुगे । उनले ‘पढेर ल्याम्ला है’ भन्दै हिन्दी साहित्य कोषसहित ‘माधुरी’, ‘चित्रा’, ‘फिल्मफेयर’ जस्ता फिल्मी पत्रिकाहरू लिएर गए ।

तर, वर्षौं भयो– त्यो कोष फिर्ता भएन । म पुस्तक मागिरहन्थें, आपु म खोज्दै छु भनिरहन्थे । मैले मकहाँबाट पुस्तक लगेर नफर्काउने वा पचाउनेहरूको सूची तयार गरेकोबारे उनलाई जनाउ दिइसकेको थिएँ । पछि २०५५ पुसमा आएको ज्ञानगुन साहित्यको ‘रोचक घिमिरे : अक्षरको अभिवादन’ (सम्पादक : शेषराज शिवकोटी) मा आपुले लेखेका थिए– ‘रोचकजीसँग

आफ्ना पुस्तक पचाउनेहरूको लिस्ट छ रे ! त्यसमा मेरो नाउँ पनि सामेल गर्नुभएको छ रे । तर, म सधैं उहाँलाई भन्छु– केवल एउटा पुस्तकको कुरा हो मसित । त्यसकारण पचाउने र हराउनेमा अन्तर गर्नुपर्छ । तर, यसको टुंगो भने उहाँले अझै लगाउनुभएको छैन ।’

यसरी मित्रवत् अर्थमा आपु ‘जो चोर उसैको ठूलो स्वर’ बनाइरहेका थिए । हिन्दी कोषभित्रको सम्पूर्ण ज्ञानरस लिइसकेपछि र किताब थोत्रो (झन्डै झुत्रो) बनिसकेपछि ४ वर्षअघि मात्रै (२०१८ जनवरी १२) मा अरू कोही हुलाकीमार्फत यो कोष मलाई घर फर्काएका हुन् । हरेक पुस्तकको कुनोमा म आफ्नो हस्ताक्षर र पुस्तक किनिएको मिति लेख्ने गर्छु, त्यसअनुसार यो कोष मैले सन् १९६४ अक्टोबर १ मा खरिदेको रहेछु । यसरी ‘हिन्दी साहित्य कोष’ पनि एउटा ‘चोरी’ प्रकरणको गतिलो किस्सा बन्यो ।

तपाईंले ‘पुस्तक र पुस्तक पाचन प्रवीणता’ आलेखमा केही संकेत र चिनारीसहित अरू ‘चोर लेखकहरू’ बारे उल्लेख गर्नुभएको रहेछ नि !

हो, ‘भोजपुरबाट काठमाडौं झरेर गिटार बोक्दै अग्रज स्रष्टाहरूका चोटाकोठामा पुगी आफ्नो गायन चातुर्य देखाउने एक जना नवकवि’ भनेर संकेतमा लेखेको थिएँ । तिनै नवकविले धर्मबीर भारतीले हिन्दीमा अनुवाद गरेको विश्वबिख्यात कविको कविता संकलन ‘देशान्तर’ मबाट लगेका थिए, जुन मैले भर्खरै किनेको र पढ्न पाएकै थिइनँ । त्यो ‘देशान्तर’ पनि कहिल्यै फिर्ता भएन । ती कविसँगको भेटमा म किताब फिर्ता माग्थें, उनी लज्जित भएर माफी माग्थे । आफूले रोजेको प्रिय पुस्तक पचाएको सन्दर्भमा मैले लेखेको छु, ‘सबैसँग अति नम्रता र अति भद्रता देखाउने तिनको स्वभाव नाटकीय हो कि यथार्थ हो, छुट्याउन अप्ठ्यारै पर्छ कतिलाई त । यतिका बर्षपछि चिनारीको त्यो संकेत खुलाउँदै छु– ती पुस्तक पाचन प्रवीण नवकवि थिए मञ्जुल ।’

अरू भोजपुरे स्रष्टाहरूको पनि संकेतमा राम्रै व्याख्यान गर्नुभएको रहेछ !

हो, भोजपुरबाटै काठमाडौं आएर भैरव अर्यालसहितसँग निकटतम सम्बन्ध राख्ने अर्का एक कवि थिए । उनी पनि मेरो पुस्तकालयमा नियमित आइरहन्थे । उनले एक दिन मेरो संग्रहबाट आफ्नो रुचिअनुसार ‘फ्रायड यौन मनोविश्लेषण’ नामको हिन्दी पुस्तक उठाएर हिँडेका थिए, त्यहाँबाट उनी हिँडेका हिँड्यै भए । पछि गएर ती कविसँग भेटघाट, सम्बन्ध, बातचित त चलिरह्यो तर, फ्रायड पुस्तक कहिल्यै घर फिरेन । ती भोजपुरे प्रतिभा थिए– कवि शैलेन्द्र साकार ।

यसरी तपाईंको पुस्तक–पुस्तकालय स्मृतिमा यति धेरै ‘पाचन प्रवीण’ रहेको तथ्य रहेछ । आफैं सम्झेर, कृतज्ञ भएर पुस्तक फर्काउन आउने कोही छैनन् ?

विगतदेखिको संगतमा भैरव अर्याल, कृष्णचन्द्रसिंह प्रधान, श्यामप्रसाद शर्मा, रमेश विकल, मोहनहिंमाशु थापा, दयाराम श्रेष्ठ, कुमारबहादुर जोशी, जगदीश घिमिरे, शिव रेग्मी, कुलचन्द्र कोइराला, गुमानसिंह चाम्लिङ आदि लेखक–अध्येताले मबाट पुस्तक/पत्रिका लैजान्थे, जतन गरेर पढ्थे । अनि काम सकिएपछि इमानदारीपूर्वक फर्काउँथे पनि ।

एकपटक मेरो पुस्तकालयबाट ‘रूपरेखा’ को एक वर्ष (२०२४) को बाइन्डिङ फाइल नै हरायो । कसले लग्यो–लग्यो, फेलै परेन । अनेक खोजी गरिहेरें, सम्भावित पचाउने–लुकाउनेहरूकहाँ छड्के गरें । तर, भेटिएन । त्यो हराएको वर्षौंवर्षपछि एक दिन एक जना प्राध्यापक आए मकहाँ । ती महोदयले झोलाबाट झिकेर त्यो बाइन्डिङ फाइल बुझाउँदै भने, ‘हेर्नुस् न, प्राध्यापन क्रममा लमजुङ, जनकपुर, काठमाडौं हुँदै केकता पुगियो । अस्ति भर्खरै बुइँगलमा राखेको पुरानो ट्यांका खोलेर हेर्दा तपाईंको हस्ताक्षर भएको रूपरेखा बाइन्डिङ भेटियो । त्यही भएर म आज पुर्‍याउन आएको... ।’

यसरी आफ्नो पुस्तकालयबाट हराएको अमूल्य पत्रिका झन्डै २५ वर्षपछि मैले फिर्ता पाएको क्षण म जीवनमै खुसी भएकोमध्ये एउटा हो । र, यसरी पुस्तक फर्काउने प्राध्यापक हुन्– श्याम दाहाल ।

प्रकाशित : असार २५, २०७९ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

सभ्यता बुनिरहेका महिला

 पाषाण औजारसँगै मान्छेले आविष्कार गरेको अर्को प्रविधि थियो– धागो । धागोकै रेसा प्रयोग गरी सिकारी पुर्खाले औजार परिष्कृत बनाए, न्यानो कपडाले आङ ढाकेर संसार विचरण गरे । यसैले सिर्जेको पुँजी र प्रविधिको भरमा सभ्यताको जग बसाए । धागो आविष्कारको आरम्भदेखि उत्कर्षसम्म ‘तानाबाना’ मिलाएर मानव विकासको ‘डोरी’ बाट्ने शिल्पी महिला थिए ।
 कपडा केवल पहिरन होइन । कपडाको राजनीति हुन्छ, तर यो सत्ता–शक्तिझैं टिकाउ हुँदैन । कपडाले आफ्नो उपस्थितिको दसी–प्रमाण लामो समयसम्म जोगाइरहन सक्दैन । 
विकास बस्नेत

काठमाडौँ — सन् १८५७ फेब्रुअरी ८ । बेलायतको फदरिङ्गे दरबार सभाहल । स्कटल्यान्डकी महारानी मेरी उपस्थित थिइन्, आफ्नै शिरोच्छेदनका लागि । त्यस क्षणको साक्षी बस्न भेला भएका थिए, करिब ३ सय भाइभारदार । मेरीमाथिको आरोप थियो– बेलायतकी महारानी एलिजाबेथ प्रथमविरुद्ध रचिएको षड्यन्त्र । सभाहल पुर्‍याइँदा कालो मखमली गाउनमा सजिएकी थिइन् मेरी ।

सुनौलो रङको उनको कपाल सेतो बर्कोले ढाकिएको थियो । मृत्युदण्डका लागि निर्माण गरिएको स्टेजमा उक्लेर जब उनले कालो गाउन उतारिन् तब सभाहल स्तब्ध बन्यो । गाउनभित्र उनले गाढा रातो रङको पेटिकोट र त्यही रङको चोली लगाएकी थिइन् । त्यो भित्री पहिरन उनले अत्यन्तै सचेत भएर, जानीबुझीकनै छानेकी थिइन् । उतिबेला युरोपभरि नै रातो रङलाई क्याथोलिकहरूको शहादत र साहसको प्रतीक मानिन्थ्यो । प्रोटेस्टेन्ट बेलायती र एलिजाबेथविरुद्ध विद्रोहकै लागि मेरीले उक्त पहिरन रोजेकी थिइन् । सिलाइ–बुनाइमा महिला श्रमको उत्कर्षको समय थियो त्यो । मेरीका लागि त्यो कर्म सीप, लगाव र अभिव्यक्तिको माध्यम पनि थियो ।

शिरोच्छेदनपछि उनका कपडाहरूको कुनै अवशेष बाँकी राखिएन । मृत्युदण्डअघि मेरीका सरसामानको विवरण टिपिएको थियो । विवरणमा थिए– उनी आफैंले इम्ब्रोइडरी गरेको, सिलाइबुनाइ सकेको ३५० थान कपडाका टुक्रा । ती कपडा केही जलाइए, केही हराए, केही बेचिए । कपडा केवल पहिरन होइन । कपडाको राजनीति पनि हुन्छ र यो सत्ता–शक्तिझैं टिकाउ हुँदैन । कपडाले आफ्नो उपस्थितिको दसी–प्रमाण लामो समयसम्म जोगाइरहन सक्दैन ।

नभेटिएको कपडा

कपडा दीर्घायु हुँदैन । दीर्घायु नभएकै कारण मानव विकासका थुप्रै वर्षहरूमा मान्छेले कपडाको अवशेष जोगाइरहन सकेन । पुरातत्त्वविद्हरूले लामो आयु भएका ढुङ्गे हतियार त फेला पारे, तर हतियारलाई बिँडसँग जोड्ने डोरी फेला पारेनन् । ढुंगे हतियार वा औजारलाई मान्छेले हजारौं वर्षदेखि परिष्कृत गर्दै ल्यायो । ढुंगे औजारको विकासक्रमकै आधारमा प्राग्इतिहासलाई पाषाण, मध्यपाषाण र नवपाषाण भनी विभाजन गरियो । तर, हजारौं वर्षअघि मक्किएर माटामा विलिन भएको डोरीतर्फ कसैको ध्यान गएन । यसरी ध्यान नपुग्नुले मान्छेको प्रागऐतिहासिक जीवनबारेको ज्ञान अपुरो हुन पुग्यो । र, मान्छेले सुरुवातमै आविष्कार गरेको एउटा महत्त्वपूर्ण प्रविधि धागो ओझेल पर्‍यो । र, आरम्भदेखि नै धागोसँग जोडिएको महिला श्रमको इतिहास पनि गुमनाम भयो । पुरातात्त्विक अध्ययनमा प्रयोग भएका प्रविधिले त्यो धागोको इतिहास उधिन्न सकेन । साथमा पुरातत्त्वविद् र मानवशास्त्रीहरूमा व्याप्त एकखाले पूर्वाग्रहसमेत यसका लागि जिम्मेवार थियो ।

सभ्यताका संवाहक को ?

सन् १९६६ मा सिकागो विश्वविद्यालयले आदिम सिकारी–फिरन्ते समुदायमाथि बहस गर्‍यो । बहसको शीर्षक थियो– म्यान द हन्टर । मानव उद्विकासका लागि सिकार–सर्वोच्चता विषयमा बहस गर्न संसारभरका मानवशास्त्री भेला भएका थिए । भेलाको निष्कर्ष थियो– मान्छेलाई शारीरिक, सांस्कृतिक र जैविक रूपमा अपुच्छ बाँदरबाट भिन्न तुल्याउने काम सिकारबाट सम्भव भएको हो । सिकार खासमा पुरुषको मात्रै काम थियो भन्नेमा सबै मानवशास्त्री राजी भएपछि एउटा प्रश्न खडा भयो– के सभ्यताको संवाहक पुरुष मात्रै थिए त ?

त्यसो त फिरन्ते सिकारी समाजको सिकार–कर्ममा महिलाको सहभागिता नै थिएन भन्ने स्पष्ट प्रमाण छैन । न त्यसबखत पुरुषले मात्रै सिकार गर्थे भन्ने विषयकै प्रमाण छ । एउटा विषय भने बिलकुल छर्लङ्गै छ– सिकार एक सामूहिक कर्म थियो र त्यसमा प्रयोग हुने औजार वा उपकरणमा केवल ढुङ्गे हतियार थिएन । ढुङ्गे औजारहरूलाई थप परिष्कृत बनाउन सहयोगी थिए– धागो, चोया वा डोरी । र, धागो वा डोरीसँग महिला श्रम जोडिएको थियो आरम्भदेखि नै ।

धागो क्रान्ति

प्रागइतिहासको पाषाण युगलाई ‘धागो युग’ भन्दा पनि फरक पर्दैन (विमेन्स वर्क, एलिजाबेथ वेल्यान्ड बार्वर) । धागो र ढुंगा, यी दुवै औजार एकअर्काका परिपूरक थिए । ऊबेला भाला र बन्चरोजस्ता पाषाण युगका हतियारलाई बिँडमा जोड्न वा औजारका भागहरू एकअर्कासँग गाँसेर परिस्कृत बनाउन डोरी/लोक्ता/चोया इत्यादिको प्रयोग हुन्थ्यो । जुट, गाँजा, आलसजस्ता रेसादार रूख–बिरुवाका बोक्रा गलेर निस्कने रेसा नै आरम्भिक धागोको स्रोत थियो । यी रेसाहरूलाई एकै दिशामा बटारेर मान्छेले पहिलोपटक धागोको प्रयोग गर्न सिकेको हुनुपर्छ । हेर्दा यो सीप अति सामान्य लाग्छ । तर, वाष्प इन्जिनझैं असीमित अवस्थामा प्रयोग गर्न सकिने धागो एक जीवनोपयोगी प्रविधि थियो ।

धागोकै सहयोगमा आदिम मानिसले बल्छी बनायो, सिकारको लागि धनुष बनायो, आगो सल्काउने सलेदो बनायो, सिकारको पासो बनायो, मारेको सिकार बोक्ने झोला बनायो, गिठा–भ्याकुर बटुल्ने डालो बनायो, भारी बोक्ने नाम्लो बनायो, नानीहरू बुई बोक्ने पातो बनायो, पेटी, पटुकी र गहना बनायो । झट्ट हेर्दा सामान्य लाग्ने रेसाहरूकै सहयोगमा मान्छेको हातको क्षमता विस्तार भयो र कामका नयाँ आयाम खुले । अनि धागोले मान्छेको सीप निखार्‍यो । खासमा धागोले सिकारी र फिरन्ते मानव समूहलाई आफ्नो परिवेश नियन्त्रण गर्न र आवश्यकताअनुसार यसको दोहन गर्न सहज बनाइदियो । मानव सभ्यताको जग बसाल्न यो महत्त्वपूर्ण कदम थियो । र, धागो वा डोरी मानव सभ्यताकै एक महत्त्वपूर्ण आविष्कार थियो, क्रान्ति थियो ।

धागो यस्तो औजार थियो, जसको फेरो समातेर धरतीको उष्ण क्षेत्रमा मात्रै सीमित मान्छेले पृथ्वीका प्रत्येक कुना ढाक्यो र जस्तोसुकै प्रतिकूल परिवेशमा विचरण गर्न सक्यो । यो बहुउपयोगी धागो तथा यसबाट बन्ने सामग्री निर्माणमा आरम्भदेखि नै महिलाको महत्त्वपूर्ण भूमिका थियो । धागो–क्रान्तिको समयकालसम्म आइपुग्दा श्रमको लैङ्गिक विभाजनको धमिलो रूपरेखा बिस्तारै कोरिन थालिइसकेको थियो ।

धागो र महिला

फ्रान्सका गुफाहरूमा अहिले फेला परेका तीनसुते धागोको अवशेषले करिब ४० देखि ५० हजार वर्षअघि नै मान्छेले प्रयोग गरेको पहिलो धागोको कथा सुनाउँछ । तर, यसका प्रयोगकर्ता नियान्डरथल मानव हुन् (द थ्रेड अफ सिभिलाइजेसन) । सापिएन्सले भने करिब ३२ हजार वर्षअघिदेखि धागो प्रयोग गर्न थालेको देखिन्छ । जर्जियाको जुजुवाना भनिने प्राचीन गुफामा फेला परेको धागोको प्रमाणले यसलाई पुष्टि गर्छ । २६ हजार वर्ष पुरानो मानिने ‘ग्राभिटिएन कल्चर’ का पुरातात्त्विक साइटहरूमा फेला परेका माटाका भाँडाकुँडामा डोरीबाट बनेको जालीदार झोला, चोयाबाट बनेको डालो तथा कपडाको डोरोको छापहरू पर्याप्त फेला परेका छन् । यही कालखण्डमा हात्तीको दाँतबाट बनेको सियो तथा सिलाइ बुनाइका अन्य सामग्री पनि पर्याप्त भेटिएका छन् । लगत्तै युक्रेन, रुस, फ्रान्स लगायत युरेसियाका धेरै स्थानमा फेला परेका २७ देखि २२ हजार वर्ष पुराना करिब २ सयभन्दा ज्यादा मातृदेव (भिनस देवी) का लघु मूर्तिहरूको कम्मरमा धागोको त्यान्द्रोबाट बनेका स्कर्ट कुँदिएको भेटिन्छ । केहीमा जालीदार पटुका, पेटी तथा छातीको पहिरन पनि कुँदिएको छ । काँस्ययुगकालीन केही युवतीका चिहानमा धागोबाट बनेका स्कर्ट, जालीदार पेटी तथा डोरीबाट बनेका अन्य सामग्री पनि साथै दफन गरिएको भटिएको छ । धागोबाट बनेको जालीदार स्कर्टको परम्परा त युरेसियाको बृहत् भूभागमा करिब ३३ सय वर्षअघिसम्म पनि निरन्तर देखिन्छ । शरीरलाई न्यानो नबनाउने र लाज नढाक्ने यस्ता ‘ननफङ्सनल’ कपडाका सागम्री निर्माणमा यति लामो समय र स्रोतको प्रतीकात्मक अर्थ थियो । मातृदेवका लघु प्रतिमाहरूमा कुँदिएका यस्ता आलंकारिक पहिरन महिला–प्रजनन सामर्थ्यको कुनै न कुनै प्रकारको अनुष्ठान थियो । मातृदेवका प्रतिमाको नितम्ब, छाती र जनेन्द्रियका आकार अस्वाभाविक ठूलो छ । यसले पनि मातृदेवको प्रतिमा प्रजनन सामर्थ्यको प्रतीक थियो भन्ने पुष्टि गर्छ । यी लघु प्रतिमाहरूमा कपडा तथा त्यसको आकृति जसरी मिहन ढंगले कुँदिएको छ, तिनलाई विश्लेषण गर्ने हो भने धागो–कलाको सीप हुनेले नै ती स्वरूप कुँदेको निष्कर्षमा पुगिन्छ । धागो कलाको पहिलो अध्यायमै महिला जोडिएको प्रमाण हो यो (जे एम एडुभासियो, ओल्गा सोफर र जेक पेज, द इन्भिजिबल सेक्स) ।

महिला नै किन ?

कपडा निर्माणको प्रत्येक चरणमा महिला जोडिनुका केही जैविक, सामाजिक–आर्थिक कारण पनि औँल्याइएका छन् । एकाध अपवादबाहेक नवजात शिशु हुर्काउने पहिलो दायित्व संसारभर महिलाकै रहेको छ । समाजले महिलाबाट त्यस्तो श्रमको अपेक्षा गर्छ, जसमा ऊ सहभागी हुँदा घरका सन्तानलाई कुनै जोखिम हुँदैन । त्यस्ता कामहरू सामान्यतया एकै ढाँचा, एकै प्रकृतिका हुन्थे, जसलाई बीचैमा छाडेर पुनः सुचारु गर्न सकिन्थ्यो । बालबालिकातिर ध्यान दिँदै र परिवारनजिकै बसेर सम्पन्न गर्न सकिने ती कामका केही आधारभूत चरित्र हुन्थे जस्तो: सिलाइबुनाइ र घरेलु कामकाज (जुडिथ ब्राउन, डिभिजन अफ लेवर वाई सेक्स) ।

महिला र कपडा

धागो एक महत्त्वपूर्ण औजार/प्रबिधि त हो नै, तर यो बुनिएको तयारी कपडा भने होइन । कपडा बुन्नका लागि पर्याप्त नियमित कच्चा पदार्थ अर्थात् धागो चाहिन्छ । धागो आपूर्तिमा फड्को मार्न मान्छेले कृषि क्रान्ति नै कुर्नुपर्‍यो । करिब १२ हजार वर्षअघिदेखि मान्छेले स्वाद र आवश्यकता अनुरूप जंगली प्रजातिका अन्नपात तथा पशुपन्छीलाई घरेलुकरण गर्न सुरु गर्‍यो । यसरी मान्छेले खानाको नयाँ स्रोत त थप्यो नै साथै रेसा निकाल्न सकिने बालीनाली र पशुसमेत सूचीमा समावेश गर्‍यो । करिब ९ हजार वर्षअघि नवपाषाण किसानहरूले मिश्रमा आलसको खेती सुरु गरे । दक्षिण अफ्रिका, सिन्धुघाटी, युकातान प्रायद्वीप र पेरुको सामुद्रिक तटमा कपास खेती थालियो । चीनमा करिब ७ हजार वर्षअघि नै रेशमखेती आरम्भ भइसकेको थियो । करिब ११ हजार वर्षअघि दक्षिणपूर्वी एसियाबाट भेडा रेसाप्रदान पशुको सूचीमा चढिसकेको थियो । कृषिक्रान्ति केवल खाद्यान्नका लागि थिएन कपडाका लागि पनि थियो । यी स्रोतबाट पर्याप्त रेसा प्राप्त हुन थालेपछि धागो कात्ने र कपडा बुन्ने काम संसारभरै फैलियो । युरेसियामा करिब १२ हजार वर्षअघि, मध्यपूर्व र उत्तरी अमेरिकामा ९ हजार वर्षअघि र उही बेला चीनमा कपडा बुन्ने काम आरम्भ भइसकेको थियो ।

स्थिर जीवनशैलीले मान्छे–मान्छेबीच र मान्छे–वातावरणबीच सम्बन्धका नयाँ आयाम थपिन थाले । यसले महिलाको दैनिकी र जीवनशैलीमा समेत व्यापक बदलाव ल्यायो । फिरन्ते जीवनशैलीको अन्त्यसँगै बालबच्चा च्यापेर महिला जहाँतहीँ भौंतारिनु परेन । पर्याप्त रेसा–उत्पादन तथा स्थिर जीवनशैलीले धागो कात्ने र सिलाइ–बुनाइ गर्ने कामलाई झन् व्यापक बनाइदियो ।

त्यसयता हज्जारौं वर्षदेखि महिला सामूहिक रूपमा धागो कात्ने, चर्खा चलाउने र तान बुन्ने काममा तल्लीन छन् । संसारैभर सिलाइ–बुनाइमाथिका प्रचलित मिथ र लोककथाहरू छन्, जहाँ महिलाको उपस्थिति छ । इजिप्टकी निथ, ग्रीककी एथेना, नर्वेकी फ्रिग, जर्मनकी होल्डा, इन्का सभ्यताकी मामा ओक्लोहरू कपडासँग जोडिएका देवीहरू हुन् । जापानी सूर्यदेवी अमातेरासुदेखि मेसोपोटामियाकी तायतसम्मका कथा सिलाइ–बुनाइमै जोडिन्छन् । चीनमा समेत रेशम धागो कात्ने र कपडा बुन्ने काम महिलाको दैनिकीमा यसरी जोडिएको थियो कि साङ शासनकालमा (करिब ३५ सय वर्षअघि) रेशम देवीको अनुष्ठान नै आरम्भ भयो । अनुसन्धान क्रममा पाइएका पुरातात्त्विक प्रमाणले पनि कपडासँग सम्बन्धित श्रममा महिला जोडिएको पुष्टि गर्छन् ।

पर्याप्त रेसा उपलब्ध भएसँगै धागो कात्ने र कपडा बुन्ने औजार परिष्कृत हुँदै गए । बुनेको कपडाको पहिलो स्पष्ट प्रमाण इराकबाट पाइएको छ । त्यहाँ फेला परेको कपडामा बुनाइको परिष्कृत विधि प्रयोग भइसकेको थियो । त्यस विधिका कपडा बुन्न प्रयोग भएका तानको प्रस्ट अवशेष भने प्राप्त भएको छैन । अनुसन्धानले भन्छन्– कपडा बुन्ने तानको पहिलो प्रयोग इराकको जारमो र इजरायलको चाटल हायुकमा भएको हो । तानको यो प्रविधि ती स्थानबाट मेसोपोटामिया, मिश्र र भारतमा फैलिएको देखिन्छ (द फेब्रिक अफ सिभिलाइजेसन, भर्जिनिया पोस्ट्रेल) ।

तानको भौतिक अवशेष फेला नपरे पनि त्यसबेलाका माटाका भाँडाकुँडा तथा भित्ताहरूमा तानमा कपडा बुनिरहेको चित्रहरू देखिन्छन् । ती चित्रहरूमा धागो कातिरहेका र तानमा कपडा बुनिरहेका आकृति निःसन्देह महिलाका हुन् । मिश्रको मध्यकालीन राजवंशबाट प्राप्त करिब ४ हजार वर्ष पुरानो कपडा बुनाइको ‘मोडेल’ मा तान बुनिरहेका महिलाहरू नै छन् । २६ सय वर्ष पुरानो ग्रीक फूलदानीमा कोरिएको चित्रमा धागो कातिरहेको आकृति महिलाकै हो । ४ हजार वर्ष पुरानो चिनियाँ भित्ते चित्रमा रेशमको धागो कातिरहेको दृश्यमा महिलाकै चित्रण छ ।

कपडा निर्माणका विभिन्न चरणमा धागो कात्ने काम सबैभन्दा कठिन थियो । यसमा बेहिसाब समय र मिहिनेतको आवश्यकता पर्थ्यो । औद्योगिक क्रान्तिअघिसम्म संसारैभर लाखौं महिला धागो कात्ने काममा संलग्न थिए । समयक्रममा धागो कात्ने वा कपडा बुन्ने कामदेखि यसमा प्रयोग हुने औजारसम्म ‘नारी गुण’ का रूपमा स्थापित भयो । सन् १३५० तिरका भारतीय इतिहासविद् र कवि अब्दुल मलिकले लेखेका छन्, ‘हरदम चर्खामा समय बिताउने महिला असल हुन्छिन् ।’ भलै नारीको यो ‘गुण’ लाई समाजमा महिला–श्रमको सम्मानका रूपमा दर्ज गरिएन ।

सिलाइ–बुनाइमा पारङ्गत बन्नु/बनाइनु प्रत्येक समुदायका महिलाको आकांक्षा हुन्थ्यो । यो यस्तो विशिष्टीकृत र लैङ्गिक विभाजनयुक्त श्रम थियो, जसमा महिलाको बाल्यकाल आरम्भसँगै धागो कात्ने सीप सिकाइन्थ्यो । मेक्सिकोमा उमेरले ४ वर्ष नपुग्दै छोरीहरूका हातमा धागो कात्ने सामग्री थमाइन्थ्यो । ६ वर्ष पुग्दा छोरीहरूले धागोको पहिलो डल्लो तयार पारिसक्नुपर्थ्यो । काममा निखार नआए आमाहरू छोरीहरूका हातमा काँडाले घोचिदिन्थे वा लौराले पिट्थे । त्यो अँध्यारो युगमा धागो कात्न नजान्नु छोरीहरू भयानक सजायको भागीदार हुनु थियो ।

ग्रीक समाजमा एक अनौठो संस्कृति थियो । छोरी जन्मिएको जनाउ दिन घरको मूलढोकामा एक डल्लो ऊन झुन्ड्याइन्थ्यो । चिनियाँ उखानै थियो– लोग्नेमान्छे खेत जोत्छन्, महिला कपडा बुन्छन् । कपडासँग महिला–श्रम कसरी जेलिएको थियो भने बोलीचालीको भाषासमेत यसबाट अछुतो थिएन । अंग्रेजी शब्द ‘डिस्टाफ’ को अर्थ हुन्छ– कातेको धागो बेर्ने औजार र महिलाका माइतीतर्फको कुनै चीजवस्तु । ‘स्पिन्सटर’ को अर्थ हुन्छ– धागो कात्ने स्त्री र अविवाहित युवती । चीनको हुनान प्रान्तमा एक हजार वर्षअघि आफ्ना विचार र भावना अभिव्यक्त गर्न महिलाहरूले एउटा गुप्त भाषा आविष्कार गरेका थिए । त्यस भाषाको नाम थियो– ‘नुषु’ । त्यो भाषा हुनान प्रान्तका सहेलीबीच मात्रै प्रचलनमा थियो । उनीहरू आफ्ना मनका व्यथा त्यही भाषामार्फत सियोले रुमाल वा पछ्यौरीमा खिपेर आदनप्रदान गर्थे (थ्रेड्स अफ लाइफ, क्लेयर हन्टर) ।

औद्योगिक क्रान्तिपूर्व महिलाको श्रमको ठूलो हिस्सा धागो कात्न प्रयोग हुन्थ्यो । यो कति कठिन काम हो भने एक थान जिन्सको कपडा बुन्न कम्तीमा १० किलोमिटर लामो धागो चाहिन्छ । दैनिक आठ घण्टा चर्खा चलाउँदा पनि त्यति धागो कात्न बाह्र दिनभन्दा ज्यादा समय लाग्छ । अहिले मेसिन प्रयोग हुने ठाउँमा उसबेला ती सबै काम चर्खाबाट हुन्थ्यो । घरव्यवहार चलाउन, साहुको ऋण तिर्न, बन्द–व्यापार गर्नेदेखि राज्यको कर तिर्नसम्म धागो र धागोबाट बनेका सामग्री चाहिन्थ्यो । एज्टेक साम्राज्यका जिकोआक प्रान्तका पाँच सहरले प्रत्येक छ महिनामा सुतीबाट बनेका सोह्र हजार थान बख्खु, अन्तरवस्त्र र अन्य कपडा कुतका रूपमा दरबारमा दाखिला गर्नुपर्थ्यो । उता चीनमा पनि रेशम उत्पादनको ठूलो हिस्सा राज्यको तिरो तिर्न प्रयोग हुन्थ्यो । सन् १११८ मा मात्रै चिनले कुतको रूपमा वार्षिक ४० लाखभन्दा बढी रेशमी धागोको डल्लो उठाउँथ्यो । यो घरेलु प्रयोग र बन्द–व्यापारबाहेक महिलाले उत्पादन गरेको रेशमको परिमाण थियो ।

रेशमको व्यापारले नै पूर्व र पश्चिम जोडेको थियो । चीनको कान्सु कोअरडिरबाट तारिम बेसिन, समरकन्द, इराक, इरान, सिरिया हुँदै युरोपसम्म जोड्ने मूल बाटो रेशम मार्गका रूपमा चिनिन्छ । रेशम मार्गको भनिने यस व्यापारिक मार्गहरूको मूल व्यापार चीनको रेशम नै थियो । चीनका दूरदराजका महिलाले दिन–रात मिहिनेत गरी कातेका रेशमी धागो र बुनेका पछ्यौरीले पूर्व र पश्चिम जोडेको थियो । कपडा उत्पादन र व्यापारमा महिलाको भूमिका झन् पुरानो हो । करिब ४ हजार वर्षअघि टर्कीको कानेसमा व्यापार गरिरहेका लोग्नेलाई श्रीमतीले असुर (हालको इराक नजिकको मोसुल सहर) बाट बुनेर पठाएको कपडा चित्त बुझेन । असन्तोषी श्रीमान्सँग श्रीमती लामासी निकै रिसाइन् । उनले गिलो माटो मुछेर एउटा डल्लो बनाइन्, त्यसलाई चेप्टो आकारमा ढालिन् र सतह चिल्लो बनाइन् । गिलो माटाको पाटीमा नर्कटको सिन्काले उतिबेला प्रचलित लिपि क्युनिफर्म (स्फानलिपि) खिप्दै श्रीमान्लाई जवाफ पठाइन् श्रीमतीले, ‘कुलुमायाको हातमा ९ र इदिनसिनको हातमा ३ थान कपडा पठाएकी छु । इला र इदिनसिनले थप कपडा बोक्न मानेनन् । मैले पठाएको कपडा राम्रो भएन भनेर कति गनगन गर्न सकेको ? घरमा छोरीहरू ठूला भइसके । तिनलाई पनि त कपडा बुनिदिनु पर्‍यो...। घरमा सुका–आना भित्रियोस् भनेर म रातदिन दुःख गरिरहेकी छु, तपाईंचाहिँ... !’

प्राचीन कानेस सहर (हाल टर्की) बाट प्राप्त करिब २३ हजार लेखोटमध्ये यो एक हो । त्यहाँ प्राप्त ती प्रमाणले भन्छन्– उतिबेला गुलजार हुँदै गरेको बजार संस्कृति र त्यसमा संलग्न महिला श्रमको झल्को दिन यो काफी छ । त्यसयता हालसम्म लामो दूरीको व्यापारमा विनिमय वस्तुका रूपमा कपडाको महत्त्वपूर्ण स्थान छ । क्रिटदेखि उनीको कपडा मिश्र पुग्थ्यो । रोमनहरू सुनको दाम बराबर हालेर चिनियाँ रेशम मगाउँथे । भारतको सुती युरोपको विलासिताको साधन थियो । यिनै कपडाको व्यापारमार्फत जन्मिएको पुँजीले इटालीमा पुनर्जागरणको सुरुवात भएको थियो र भारतमा मुगल साम्राज्य टिकेको थियो । कपडा व्यापारले नै माइकलेन्जेलेको डेभिड र शाजाँहको ताजमहल खडा गर्ने आधार दिएको थियो ।

खेतीपाती र पशुपालन, उपकरण र औजारहरूको प्रवर्तन, व्यापार र पुँजी निर्माणमार्फत कपडाले हाम्रो सभ्यताको जग खन्यो । बृहत् जनसम्पर्कको माध्यमबाट कपडाले विचार र ज्ञानलाई संसारको एक कुनादेखि अर्को कुनासम्म पुर्‍यायो । यसले सभ्यताहरूलाई एकअर्कासँग जोडिदियो । यो महानतम कर्ममा जोडिएको श्रममा महिलाको अतुलनीय योगदान थियो । यो केवल घरेलु धन्दा थिएन सभ्यता निर्माणको एक महत्त्वपूर्ण कदम पनि थियो ।

मान्छेको जीवन पृथ्वीमा टिकिरहन सके आर्जिने कुरो हो सभ्यता । मूल कुरा त गाँस र बासझैँ कपडा पनि मान्छेको जैविक आवश्यकता हो । शरीर रौंले ढाकिनु स्तनधारीहरूको साझा शारीरिक चरित्र हो । मान्छेको निकट नातेदार समूहका चिम्पान्जीदेखि ओराङउटानसम्मका शरीर कालो, चम्किलो भुत्लाले ढाकिएको हुन्छ । तर, मान्छे अपवादहरूको थुप्रो हो । तालु र गुप्ताङ्ग छेउछाउबाहेक मान्छे पूर्ण नाङ्गो छ ।

उष्ण र न्यानो पर्यावरणमा जन्मेको मान्छे आफ्नै विकासक्रममा चक्रीय हिमयुगहरूको चंगुल भएको धरतीमा नाङ्गो ज्यान लिएर विचरण गर्नु असम्भवप्राय थियो । किनभने चिसोसँग जुध्न सक्ने मान्छेको शारीरिक संयन्त्र कमजोर छ । स्तनधारीको शारीरिक तापक्रम सन्तुलनका लागि शरीरमा भुत्लाको ठूलो महत्त्व छ । जस्तो: खरायो माइनस ४५ डिग्री सेन्टिग्रेडसम्म बाँच्छ । तर, भुत्ला खुर्किने हो भने शून्य डिग्रीमै उसको मृत्यु हुन्छ । माइनस ४० डिग्रीसम्म पनि कैयौँ दिन बाँच्ने ढुकुर शरीरमा प्वाँखबिना एकैछिन टिक्न सक्दैन । मान्छेको शरीरको सन्तुलित तापक्रम ३७ डिग्री सेन्टिग्रेड हो । यो तापक्रम झरेर ३५ मा पुग्नेबित्तिकै हाइपरथर्मिया सुरु हुन्छ र २९ पुग्दा मान्छेको मृत्यु नै हुन्छ । उद्विकासले मान्छेको शरीरलाई भुत्लाविहीन नाङ्गो बनायो, तर सट्टामा ठूलो आकारको मस्तिष्क दियो । मस्तिष्ककै प्रयोगमार्फत उसले आफ्नो शरीरमा भुत्ला नहुनुको बेफाइदालाई क्षतिपूर्ति गर्‍यो । यसक्रममा आगोको नियन्त्रित प्रयोग पहिलो कदम थियो । तर, सधैँ आगो ढुकेर दैनिकी चलाउनु मान्छेलाई सहज थिएन । त्यसैले मान्छेले धागो र त्यसबाट बुनेको न्यानो कपडाले शरीर ढाक्नु जरुरी थियो । र, कपडाको आविष्कार मान्छेको दोस्रो क्रान्ति थियो ।

र, यो दोस्रो क्रान्तिको लगाम निःसन्देह महिलाकै हातमा थियो ।

शनिबार प्रकाशित हुने ‘कोसेली’बाट

प्रकाशित : असार २४, २०७९ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×