कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिङ्गो जीवनमाथि दोस्रोको प्रभुत्व

सुमिना

इतिहासमा निजी सम्पत्तिको अवधारणासँगै विकास भएको विवाह संस्थाले व्यक्तिको स्वायत्ततालाई समेत दोस्रो व्यक्तिको अधीनस्थ ‘प्राइभेट प्रोपर्टी’ को रूपमा स्थापित गर्‍यो ।

सिङ्गो जीवनमाथि दोस्रोको प्रभुत्व

‘विवाह संस्थाको आरम्भ इतिहासको त्यस्तो घटना थियो, जसले सिङ्गो महिला अस्तित्वमाथि नै कायापलट गरिदियो । इतिहासमा मातृसत्तात्मक वर्चस्वसहित स्वतन्त्र र उन्मुक्त जीवन बाँचिरहेका महिलाहरूलाई सत्ताच्युत गराई पराजयको नमीठो स्वाद चखाएर पुरुषको दासी बनाउँदै निजी सम्पत्तिमा रूपान्तरण गरिदियो । निजी सम्पत्तिको उदय त्यसलाई संरक्षण र संस्थागत गर्न गठन भएको विवाह पद्धति र पितृसत्ताको प्रादुर्भाव इतिहासमा महिला अस्तित्वका निम्ति निकै ठूलो हार थियो’– फ्रेडरिक एङ्गेल्स ।

मानव समाजको इतिहासले पुष्टि गर्छ कि जतिबेला निजी सम्पत्ति र त्यसमा आधारित पारिवारिक संरचनाको गठन भएको थिएन त्यतिबेला महिला स्वतन्त्रता अर्कै उचाइमा थियो । आदिम समाजमा महिलाले हिंसा भोगेको इतिहास कतै भेटिँदैन । लुइस हेनरी मोर्गनको विख्यात रचना ‘प्राचीन समाज’ र त्यसै खोजमा आधारित फ्रेडरिक एङ्गेल्सको ‘परिवार निजी स्वामित्व र राज्यको उत्पत्ति’ पुस्तकमा यसबारे विस्तृत व्याख्या गरिएको छ । त्यसैगरी वेद, महाभारत, पुराणजस्ता ग्रन्थहरूमा वर्णित आदिम साम्यवादी युगको जङ्गली, बर्बर र सभ्यअन्तर्गतका विभिन्न चरणहरूमा कायम भएका सामाजिक व्यवस्था र विवाह पद्धतिहरूको विकासक्रमबारे उल्लेख गर्दै ‘भारतमा विवाह संस्थाको इतिहास’ नामक पुस्तकमा काशिनाथ राजबाडेले एकनिष्ठ विवाह सम्बन्ध अस्तित्वमा नआउँदै प्रयोगमा आएका सम्बन्धका अनेक पद्वतिमाथि प्रकाश पारेका छन् । उनी भन्छन्, ‘पशु जगत्बाट यौनलाई अनुशासित र मर्यादित बनाई मानव जीवन व्यवस्थापन गर्न सुरु भएको विवाह पद्धतिले महिलालाई सामाजिक जिन्दगीबाट अलग्याएर गाईबस्तुजस्तै सम्पत्तिमा परिणत गरिदियो ।’

पश्चिमी पौराणिक मिथकहरूलाई आधार बनाई आफ्नो रचनामा समाजशास्त्रको विश्लेषण गर्ने फ्रेडरिक एङ्गेल्सको सन् १८८५ मा प्रकाशित कृतिसँग त्यसको ५० वर्षपछि लेखिएको पूर्वीय दर्शनका अध्येता राजबाडेको विवाह संस्थाको इतिहाससम्बन्धी विश्लेषण मिल्दोजुल्दो देखिन्छ । यी दुवै पुस्तकले आज अस्तित्वमा रहेको विवाहको स्वरूप लामो ऐतिहासिक विकासक्रमको परिणाम भएको प्रस्ट्याउँछन् ।

एङ्गेल्सले परिवारका मुख्यतः चारवटा चरणहरूको चर्चा गरेका छन् । हाडनातामा आधारित युथ परिवार, पुनालुवा परिवार, युग्म परिवार र एकनिष्ठ परिवार । एकनिष्ठ परिवारभित्र पनि बहुपति तथा बहुपत्नी प्रथा अत्यधिक रूपमा प्रचलनमा रहेको देखिन्छ । महाभारतमा द्रौपदीका पाँच पति रहेको दृश्यलाई त्यस समयको बहुपति प्रथाको रूपमा लिन सकिन्छ । त्यसैगरी बहुपत्नी प्रथाका पनि विभिन्न खालका स्वरूप अस्तित्वमा देखिए । राजा महाराजाहरूले दरबारमा बहुरानी राखेको यथार्थ विभिन्न पौराणिक कथा र इतिहासमा पाइन्छ । यस प्रथाको अवशेष पछिसम्म पनि समाजमा रहिरह्यो । तर, आजसम्म पनि अस्तित्वमा रहेको एकनिष्ठ भनिने विवाह एकनिष्ठ नभएर पुरुषनिष्ठतामा आधारित छ । जब धार्मिक पितृसत्ताको उदय भयो, त्यसले विवाहको स्वरूपलाई पूर्णतया आफ्नो कब्जामा लिएर अनेक वितण्डाको उदय गर्‍यो । विवाहको प्रक्रियालाई धार्मिक अनुष्ठानमा बदलेर महिलाका निम्ति कठोर अनुशासन र मर्यादासहितको सांस्कृतिक आचारसंहिताको षड्यन्त्र रच्यो ।

धार्मिक पितृसत्ताको अङ्कुश

एकनिष्ठतामा आधारित विवाह सम्बन्धले सामाजिक मूल्य मान्यताअनुसार विवाहित महिलाले घरपरिवारको सान, मान र मर्यादाको कठोर निगरानीबाट एकनिष्ठतालाई निरन्तर बोकी हिँड्नुपर्ने अवस्था निर्माण गर्‍यो । जहाँ पतिलाई मनलाग्दो व्यभिचारको स्वतन्त्रता रह्यो त्यहाँ पत्नीले भने सधैं कथित सतित्व जोगाउन कठोर पतिव्रता धर्मको रापबाट गुज्रिन बाध्य हुनुपर्‍यो । यसले महिलाको यौन गतिविधिलाई निषेध मात्रै गरेन, बरु पूरै लज्जाको विषय बनाएर अपराधीकरणसमेत गर्‍यो । पुरुषका विवाहेत्तर बहुसम्बन्धहरूलाई मर्दपनको संज्ञा दिएर प्रोत्साहन गरियो भने महिलालाई अनैतिक, चरित्रहीन र ‘वेश्या’ करार गरी घरपरिवार तथा समाजबाट समेत बहिष्कार गर्ने प्रचलन सुरु गरियो । सबैभन्दा बढी अत्याचार र शोषणको कानुन बनाएर विवाह संस्थाभित्र घुसेको धार्मिक र सांस्कृतिक पितृसत्ताले विवाहलाई कर्मकाण्डीय अनुष्ठानका प्रत्येक प्रक्रियाहरूमा धार्मिक औचित्यको सूत्र प्रदान गर्‍यो । एक होइन, सातौँ जन्मसम्म पनि एकअर्काको बनेर रहनुपर्ने बन्धनको सांस्कृतिक डोरीले फनफनी बाँधेर कसिदियो । त्यो बन्धन पनि महिलामा मात्रै पतिव्रता धर्मरक्षाको कवच बनेर आजीवन बेरिइरह्यो । ‘जुन पुरुष आफ्नो घरमा पत्नीको यौनसाथीलाई देखेर पनि मौन बस्छ, त्यस्ताले दिएको भोजन ग्रहण नगर्नू’ भनी खासगरी मनुस्मृतिले महिला शरीरमाथि पुरुषको प्रभुत्वलाई झनै उत्कर्षमा पुर्‍याउन अनेक कथनहरूको निर्माण गरेको पाइन्छ । पत्नीको यौन उन्मुक्ततामा उदार देखिने पुरुषलाई समेत सामाजिक बहिष्कारको भय देखाएर पत्नीमाथि कडा नियन्त्रण र निगरानीको दाम्लोले बाँध्नैपर्ने नियमलाई अनिवार्य बनाइयो ।

सतीप्रथा आरम्भ हुनुका अनेक कारण बताइए पनि महिलाको यौन स्वतन्त्रतामाथिको अंकुश अर्को कारण हो भन्ने आकलन गर्न सकिन्छ । धार्मिक विवाह पद्धतिअनुसार, महिलालाई आजीवन पतिप्रति वफादार र मृत्युपछि पनि सातौँ जन्मसम्म उसैकी बनेर रहनुपर्ने अवस्था सिर्जना गरिएको हुँदा पतिको मृत्युपछि पत्नीलाई पतिसँगै जिउँदै आगोमा जलाएर अन्यत्र यौन सम्बन्ध हुन सक्ने सम्भावनालाई निषेध गरी धार्मिक पितृसत्तामा आधारित एकनिष्ठ विवाहले आफ्नो धर्मको रक्षा गरिरह्यो । तर, यही नियम पुरुषहरूमा भने कहिल्यै लागू गरिएन । स्वास्नीको खट नउठ्दै लोग्नेको डोली उठाउने चलन सुरु गरियो ।

निजी सम्पत्तिमा परिणत महिला

परम्परागत विवाह प्रणालीले महिलालाई पनि निजी सम्पत्तिमा परिणत गर्‍यो । सम्पत्तिको मालिक पुरुष भएपछि परिवारभित्र महिलाको स्वामित्व पनि पुरुषमै हस्तान्तरण भयो । फलस्वरूप एउटै परिवारभित्र पुरुष मालिक बन्यो भने महिला उक्त मालिकको सेवा र निर्देशन पालना गर्ने दास अथवा आफ्नो स्वत्व गुमाएकी लोग्नेको अधीनस्थ वस्तु बनिन् । राजबाडेले यस्तो परिवारभित्र स्वास्नीको अवस्थालाई बस्तुभाउजस्तै सम्पत्तिसँग तुलना गरेका छन्, जसलाई मालिकले चाहेअनुसार बिक्री वितरण, आदानप्रदान, मारपिट वा दान गरी कुनै पनि तरिकाले उपभोग गर्न सक्छ ।

महाभारतको एउटा प्रसङ्गमा सुदर्शनले आफ्नी पत्नी अमोघवतीलाई एक ब्राह्मण अतिथिको सत्कारमा सम्भोगका लागि प्रस्तुत गरी धर्म निर्वाह गरेकामा धन्यवादको पात्र बनाइएको कुरा उल्लेख गरिएको छ । यसले स्पष्ट गर्छ कि पुरुषको स्वामित्वमा निर्माण भएको वैवाहिक सम्बन्धभित्र महिला परनिर्भर बनेका छन्, जसलाई पुरुषले जतिबेला पनि आफूअनुकूल प्रयोग गर्न सक्छ । यद्यपि आजको अवस्था भने त्यति विकराल छैन । तर पनि, दिनानुदिन विवाहित महिलाहरू घरेलु हिंसाको रापमा कष्टकर जीवन बिताउन अभिशप्त छन् । पुरुष एकाधिकारभित्र निजी वस्तुका रूपमा महिलालाई चिनाउने अन्य चिनारी हुन्– सिन्दूर, मङ्गलसूत्र, चुरा, पोतेजस्ता विवाहजनाउ शृङ्गारका सामग्री । पुरुष विवाहपछि पनि स्वतन्त्र छ । तर, महिला बिक्री भएर कसैको निजी सम्पत्ति बनिसकेकी छे, जसलाई कसैले छुने र हेर्ने अनुमति छैन । वास्तवमा सिन्दूर र मङ्गलसूत्रजस्ता शृङ्गारमा धार्मिक पितृसत्ताले पतिको दीर्घायु र शोभाको भ्रम छरे पनि ती भनेका महिलाको शरीरमा झुन्ड्याइएका ‘ऊ कसैकी हो’ भनेर जनाउ दिने ट्याग मात्रै हुन् ।

बालज्याकका अनुसार, महिला चलायमान सम्पत्ति हो, जसलाई पुरुषले जहाँ चाहन्छ हाँकेर लैजान सक्छ । उनी प्रस्ट्याउन चाहन्थे कि परम्परागत विवाह संस्था प्रेममा आधारित छैन । त्यसैकारण त्यहाँ व्यभिचार अनिवार्य छ । अतः पुरुषले आफ्नी श्रीमतीलाई दोस्रो पुरुषको नजरबाट जोगाउन कडा नियन्त्रणमा राख्नु आवश्यक छ । किनकि, जहाँ वैवाहिक सम्बन्धमा प्रेम हुँदैन त्यहाँ व्यभिचार हुन्छ । त्यसलाई रोक्न महिलाहरूलाई धार्मिक तथा सांस्कृतिक नियमहरूको कडा कोर्रा लगाएर पतिको नियन्त्रणभन्दा बाहिर जान नदिई परिवारको संरचना टिकाइएको छ ।

परिवर्तित सामाजिक सम्बन्ध

पुँजीवादको उदय र बढ्दो प्रविधिको विकाससँगै बिस्तारै सामन्तवादका मूल्य मान्यताहरू सङ्कटग्रस्ट बनिरहेका छन् । हिजो घरभित्र दासी बनेर थुनिएका घरेलु महिलाहरू आज विश्व भ्रमण गरिरहेका छन् । सांस्कृतिक र अर्थ–राजनीतिक क्रियाकलापमा महिलाको संलग्नता बढिरहेको छ । शिक्षामा पहुँच पनि बढेको छ । हिजोको तुलनामा आजका महिला आर्थिक रूपमा पुरुषनिर्भर छैनन् । आफ्नो आवश्यकताका निम्ति पतिको शरणमा परिरहने अवस्था अब बिस्तारै हट्दै गएको छ । विद्रोहको भाव जागृत हुँदै छ । हिंसाविरुद्ध प्रतिरोधी चेतना निर्माण भइरहेको छ । ‘डोली माइतीबाट र अर्थी ससुरालबाट’ भन्ने सामन्ती पितृसत्ताका भाष्यहरू भत्किँदै गर्दा परम्परागत विवाह संस्था सङ्कटमा पर्दै गइरहेको छ । कानुनविद्हरूका अनुसार, दैनिक अत्यधिक मात्रामा सम्बन्धविच्छेदका मुद्दाहरू अदालतमा दर्ता हुने गरेका छन् । परिवर्तित सामाजिक सम्बन्धमा महिलाहरूको संलग्नतासँगै प्रेमबिनाका सम्झौता एवम् करकापमा टिकेका कमजोर सम्बन्धहरू भत्किने क्रमले प्रचलित परम्परागत विवाह संस्था विखण्डनको सङ्घारमा पुगेको देखिन थालेको छ । दाम्पत्य जीवन त्यो दिनसम्म चल्नु आवश्यक छ, जुन दिनसम्म एकअर्कोमा पारस्परिक प्रेम कायम रहन्छ । जुन दिन प्रेम सकिन्छ या त्यसको ठाउँमा अर्को कुनै अनुरागले स्थान लिन्छ, त्यो दिन सम्बन्धविच्छेद व्यक्तिका साथै समाजका लागि समेत हितकारी बन्छ ।

संरचनात्मक उत्पीडनका कारण आजको विवाह संस्थाभित्र महिलाको अवस्था बढी नै दयनीय भए पनि त्यसको मारमा प्रत्यक्ष अप्रत्यक्ष पुरुषहरू पनि पिल्सिन बाध्य छन् । महिलालाई सन्तानोत्पादन र संरक्षणको भारले थिचेको छ भने पुरुषलाई एक्लो जिम्मेवारीको अत्यधिक मारले सताइरहेको छ । सन्तानोत्पादन, संरक्षण र घरायसी कामकाजको बोझले महिलालाई यौन, प्रेम र रोमान्सप्रति उदासीन बनाइरहेको छ भने पुरुषलाई अत्यधिक यौनकुण्ठा बोकेर बजार धाउन या बाहिरी सम्बन्धहरू बनाउन बाध्य पारिरहेको छ । एउटै ओछ्यानमा सुत्ने श्रीमान्–श्रीमतीको मन एकअर्कासँग नभएर अन्तै भड्किइरहेको हुन्छ । अहिले बढिरहेको यौनहिंसाको प्रतिरोधी आवाजमा भन्ने गरिन्छ, ‘प्रेम वा इच्छाबिनाका यौन सम्बन्धहरू वेश्यावृत्ति या बलात्कार हुन् ।’

पुरुषको स्वामित्वमा रहेको निजी सम्पत्तिमा उभिएको विवाह प्रणालीले महिलालाई न माइतीको न घरको हुने अवस्था सिर्जना गरेको छ । र, पिता वा पतिमा आश्रित बनाएर खरिद–बिक्री गरिने वस्तुमा परिणत गरेको छ ।

घरेलु हिंसाका कारण कैयौं महिला मारिने गरेका छन् । दाइजो नल्याएको निहुँमा बर्सेनि मधेसमा अधिक मात्रामा बुहारीहरू जिउँदै जलाइएका छन् । कमजोर आर्थिक अवस्था रहेको घरकी छोरी भएकै कारण सासू, नन्द, आमाजू, देउरानी, जेठानीबाट अवहेलना र मानसिक त्रासदी भोग्न विवश पारिएको छ । यस्तो विकराल अवस्थाबाट आजको विवाह संस्थाले यात्रा गरिरहेको छ ।

विघटनको आवश्यकता

सामन्तवादको तुलनामा पुँजीवादसम्म आइपुग्दा विवाह सम्बन्ध सुधार र स्वतन्त्रतामा अघि बढेको तर्क गरिए पनि आन्तरिक रूपमा यो झन्झन् भद्दा प्रकारले विकृत हुँदै गइरहेको अवस्था छ । यसले के निश्चित गर्छ भने वर्ग समाजको आडमा उभिएको यो विवाह संस्थाको रूप मानव सुखका निम्ति लाभदायक छैन । अतः यसको विघटन र नयाँ पद्धतिको विकास अनिवार्य छ । तर, यसको मतलब आजसम्म निर्माण भएका सम्बन्धहरूलाई भताभुङ्ग पारेर हामी पुनः जङ्गली बर्बर युगमा फर्किने परिकल्पना गर्न सक्दैनौँ । स्वच्छन्द यौन क्रियाकलाप क्रान्ति नभएर यौन अराजकतामा बदलिन सक्छ । पुँजीवादी यौन क्रान्तिले प्रेमलाई नभई उच्छृङ्खलता वा शारीरिक उत्तेजनालाई प्राथमिकता दिने हुँदा त्यो परिवार र यौनसम्बन्धी सामाजिक चिन्तनको विकास होइन, पतन हुन पुग्छ । बरु आजको जस्तो परम्परागत विवाह संस्थाको ठाउँमा प्रेम र मानवतामा आधारित स्वतन्त्र सम्बन्धलाई अवलम्बन गर्न सकिन्छ ।

विवाह गर्नैपर्ने बाध्यताका कारण चिन्दै नचिनेको व्यक्तिसँग देखभेट गरेकै आधारमा रुँदै कुनै छोरीले बिदाइ हुनु नपरोस् । सम्पत्तिको लेनदेनले सम्बन्ध व्यवसायजस्तो नबनोस् । यो तब मात्रै सम्भव हुनेछ, जब प्रेम र सम्बन्धभित्र जात र वर्गजस्ता सामाजिक असमानताहरू टकराउने छैनन् । निजी सम्पत्तिमा पुरुषको स्वामित्वभित्रै खडा भएको विवाह सम्बन्धले निजी सम्पत्तिको उन्मूलनसँगै अन्त्य भएर आफ्नो ढाँचा र स्वरूप परिवर्तन गर्ने कुरा उल्लेख गर्दै एङ्गेल्स भन्छन्, ‘पूर्ण स्वतन्त्रतापूर्वक विवाह सम्बन्धलाई जोड्ने र यस पद्धतिलाई सार्वजनिक रूप दिने कार्य त्यसपछि मात्र हुन सक्दछ, जब पुँजीवादी उत्पादनको उन्मूलन र त्यसको फलस्वरूप देखा परेको स्वामित्वमा नयाँ सम्बन्धले ती सम्पूर्ण आर्थिक एवम् अन्य धारणाहरूलाई नष्ट पारिदिन्छ ।’ उनी थप्छन्, ‘आजसम्मका विवाहका स्वरूपहरूमा परिवर्तन भएजस्तै एकनिष्ठ विवाहको वर्तमान रूप पनि बदलिँदै जानेछ । यस प्रक्रियाले त्यो बेलासम्म विकास गर्दै जानेछ, जबसम्म नारी र पुरुषको बीचमा पूर्ण समानता कायम हुने छैन । भविष्यमा एकनिष्ठ विवाहले परिवार र समाजका आवश्यकताहरूको पूर्ति गर्न असमर्थ भएमा परिवारको त्यो रूप पनि बदलिएर जाने कुरा निश्चित छ ।’

...

पुरुष र महिलामा समान नियम समान रूपमा लागू नहुनुले नै विवाह संस्थामा असन्तुलन ल्याइरहेको छ । जुन महिलाका निम्ति विभेद र अत्याचारको कारण बन्ने गरेको छ भने पुरुषको स्वामित्वमा आधारित वर्गीय संरचनाले यसलाई टिकाइराखेको छ । महिला र पुरुष, जसलाई प्रकृतिले सुन्दर सहकार्य र सहयात्राका निम्ति निर्माण गर्‍यो, तिनैको बीचमा लैङ्गिक द्वन्द्व खडा गर्ने मुख्य सेतु वर्गसमाज नै हो । जबसम्म वर्गसमाजको अन्त्य हुने छैन, लैङ्गिक विभेदको खाडल पनि नपुरिने निश्चित छ ।

महिलालाई पुरुषको सम्पत्ति बनाउने एकनिष्ठ विवाह प्रणालीभित्र अत्यधिक अन्तर्विरोधकै जगबाट महिलाहरू समानताको सङ्घर्षको कम्पन उठाइरहनेछन् । फलस्वरुपः आज अस्तित्वमा रहेको विवाह संस्था दिनानुदिन धराशायी बन्दै नयाँ स्वरूपमा परिवर्तन हुँदै जानेछ । यो प्रक्रिया त्यो दिनसम्म चलिरहनेछ, जुन दिनसम्म समाजमा महिला र पुरुषको बीचमा विभेद रहिरहनेछ । अर्थात्, निजी सम्पत्तिको आडमा वर्गसमाज उभिइरहनेछ र वंश निरन्तरताको उत्तराधिकारी बनेर निजी सम्पत्तिमा पुरुषकै स्वामित्व कायम राख्दै पितृसत्ता बाँचिरहनेछ ।

प्रकाशित : असार १८, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?