कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किताबहरू केवल बोल्दैनन्, सुन्छन् पनि

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग सुरज कुँवरले गरेको किताब–वार्ता :

किताबहरू केवल बोल्दैनन्, सुन्छन् पनि

तपाईंले हालै पढ्नुभएका दुई किताब ?

फ्रेन्च अर्थशास्त्री थोमस पिकेटीको ‘क्यापिटल इन द ट्वाइन्टी फर्स्ट सेन्चुरी’ र ‘क्यापिटल एन्ड आइडियोलजी’ मैले हालै पढेका दुई किताब हुन् । यी दुई किताबले अबको मानव सभ्यताको सिद्धान्त र सोच्ने शैलीलाई परिभाषित गर्नेछन् । संसारैभर सम्पत्तिको स्वामित्वमा असमानता छ । विश्वको १ प्रतिशत जनसंख्याले ७० देखि ८० प्रतिशत सम्पत्तिको स्वामित्व लिएर बसेको छ । नेपालमा पनि १ प्रतिशत जनसंख्याको हातमा ८० प्रतिशत सम्पत्तिको स्वामित्व होला । त्यो विषयबाट हामी बाहिर ननिस्किएकाले ठूलो आन्दोलनको वातावरण बनिरहेको छ । हुने र नहुनेबीच ठूलो द्वन्द्वको अवस्था सृजना हुँदै छ । संसारैभरि ठूला–ठूला घटना घटिरहेका छन् । जस्तै रसिया–युक्रेन द्वन्द्व, अमेरिका र फ्रान्समा देखिएको राजनीतिक ध्रुवीकरण आदि । सम्पत्ति कसरी सृजना गरियो ? र, असमान पुँजी स्वामित्वका कारण के हुन् ? पिकेटीले यी विषयमा विशद व्याख्या गरेका छन् ।

यी किताब किन पढ्नुपर्छ ?

‘क्यापिटल इन द ट्वाइन्टी फर्स्ट सेन्चुरी’ खासमा सांख्यिकीय किताब हो । यसमा पुँजीको असमानतामाथि लेखिएको छ । यसले पुँजीको स्वामित्व संसारैभर भयाभह अवस्थामा छ भन्छ । दोस्रो विश्वयुद्ध सकिँदासम्म १ प्रतिशत मानिसको स्वामित्वमा ५० प्रतिशत सम्पत्ति रहेको देखिन्छ । अहिले यो अंक ८० प्रतिशतमा पुग्यो । खासमा यो डरलाग्दो तथ्यांक हो । यसलाई पुनर्परिभाषित गरिनुपर्छ । किताबमा यसले मानिसबीच वैमनश्यता ल्याउँछ भनिएको छ । ‘क्यापिटल एन्ड आइडियोलजी’ किताबमा केही विषयमा व्याख्या गरिएको छ, जस्तोः पुँजीको सिद्धान्त के हो ? अब के हुनुपर्छ ? पुँजी भनेकै के हो ? उहिले–उहिले दास, कमारा–कमारीलाई सम्पत्ति मानिन्थ्यो । हिजोको दिनमा श्रीमतीलाई पनि सम्पत्ति मानिन्थ्यो । तर, आज यी दुवै सम्पत्तिका सूचीमा छैनन् । आज सम्पत्तिको सिद्धान्तको परिभाषा बदलिएको छ । सम्पत्तिको सिद्धान्त के हो ? पिकेटीले यस किताबमा लेखेका छन् । पुस्तक समसामयिक छ । पुँजी र सम्पत्तिको सिद्धान्त बुझ्न यी किताब पढ्नुपर्छ । तर, सबैले पढ्नुपर्छ भन्दिन । नेतृत्ववर्ग, राज्य सञ्चालनकर्ता, उद्योगीले पढ्नैपर्ने किताब हुन् यी । किन असीमित सम्पत्ति आवश्यक पर्छ ? असीमित सम्पत्तिलाई हेर्ने दृष्टिकोण के हो ? यी विषयलाई नेपालीको आँखाले मात्रै होइन संसारकै नयाँ आँखाले हेर्न यी दुई पुस्तकले मद्दत गर्छन् ।

भारतीय अर्थशास्त्री रघुराम राजनको ‘द थर्ड पिलर’ पनि मैले हालै पढेको अर्को पुस्तक हो । पुँजी वा सम्पत्तिको स्वामित्वमा कसरी समानता सृजना गर्न सकिन्छ ? बहुराष्ट्रिय कम्पनीको दासत्वबाट कसरी मुक्त हुने ? यी विषयमाथि पुस्तकले विमर्श गर्छ । अनि समुदायसँग मिलेर गरिने उद्यमबारे पनि छर्लंग बनाउँछ । यो किताबले सहभागितामूलक उद्यमलाई कसरी विकास गर्ने र पुँजीमा हुने असमान पहुँचको पनि समाधानको विधि छ भन्ने बताउँछ ।

तपाईंको विचारमा पढ्नु भनेको के हो ?

पढाइले, किताबले सोच्ने प्रक्रिया (थट प्रोसेस) लाई रिडिफाइन गर्छ । कुशल, सही र सकारात्मक व्यक्तित्व विकासका लागि किताब पढ्ने बानीले मद्दत गर्छ । विचार प्रक्रियालाई गति दिन्छ । हरेक उमेरका मानिसले किताब पढ्नुपर्छ ।

समाज बुझ्न किताबहरू कत्ति सहयोगी हुन्छन् ?

मेरा सोच, दर्शन र समाज हेर्ने दृष्टिकोणमा मैले पढेका किताबकै प्रभाव हुन्छ । इतिहासमा चाख छ मेरो । नेपाल र संसारको इतिहासका किताब पढ्न मन पर्छ । इतिहासकार डिल्लीरमण रेग्मीको ‘एन्सिएन्ट नेपाल’, ‘मिडिएभल नेपाल’, ‘मोर्डन नेपाल,’ भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ (भाग १–५), इतिहास शिरोमणि बाबुराम आचार्यको ‘अब यस्तो कहिल्यै नहोस’ मेरा प्रिय किताब हुन् । यी किताबले हाम्रो देशमा शासक वर्गले कसरी मानिसहरूमाथि संस्थागत शोषण गर्दै आए भन्ने बुझाउँछन् । ‘त्यस बखतको नेपाल’ मा लेखिएअनुसार, चन्द्रशमशेरको पालामा राजस्थानका मारवाडीले भन्सार खोल्न लगाई व्यापार सुरु गरे । त्यसपछि नेपालमा उत्पादन हुने तोप, बन्दुक, राडी, पाखी, लुगा, जुत्ता, कुटो कोदालोका उद्योग बिस्तारै बन्द भए । भन्सार नखोलिएको भए आज नेपाल औद्योगिक मुलुक हुन्थ्यो । यी सबै समय, समाज दाँज्न किताबले नै सहयोग गर्छन् ।

हामीले इतिहास किन पढ्नुपर्छ ?

सबै नेपालीले एक समय इतिहास पढ्नैपर्छ । हामीलाई शासन गरेको राजतन्त्रकै उदाहरण लिऊँ न ! शाहवंशीय राजतन्त्रलाई नै हामीले किन मान्ने ? के शाह वंशले शोषणरहित शासन गर्‍यो  त ? त्यहि बुझ्न पनि इतिहास–पठनले सहयोग गर्छ । लेखक सुजित मैनालीको ‘शिलान्यास’, योगेश राजको ‘रणहार’ मैले भर्खरै पढेका इतिहासम्बन्धि किताब हुन् । इतिहासका किताबले हामीलाई धरातलमा उभिन सघाउँछन् । पूर्वजले देशका लागि के–के गरे ? र, हामीले के गर्नुपर्छ ? इतिहासका किताबले यस्ता विषयमा विमर्श गर्छन् ।

प्रिय लागेको दर्शनका किताब ?

खप्तड बाबाको ‘म र मेरा कर्तव्य’ । ५७ पृष्ठको त्यो सानो किताबमा खप्तडबाबाले जीवन–दर्शनलाई असाध्यै मीठो शैलीमा व्याख्या गर्नुभएको छ । ‘म’ भनेको के हो ? उहाँ भन्नुहुन्छ– ‘म भनेको आत्मा हो, ब्रह्म हो । ‘म’ लाई शरीरबाट बाहिर राखेर हेर्नुपर्छ । दर्शनका हिसाबले त्यो हरेक नेपालीले पढ्नुपर्ने किताब हो । मेरो दर्शन र सोचलाई त्यो किताबले थप ब्याख्या गर्‍यो ।

जान्नेहरू भन्छन्– किताबहरूले बोल्छन् । तर, मेरो विचारमा कुनै–कुनै किताबले सुन्छन् पनि । म प्रायः किताबको जिस्ट सम्झन्छु । जस्तो गुरचरण दासको ‘द डिफिकल्टी अफ बिइङ गुड’ किताब पढेपछि मैले त्यसको सार सम्झिएँ । किताबको सार छ, ‘तिमीले गर्नुपर्ने काम अहिले गर्न सकेनौ भने जिन्दगीको उत्तरार्द्धमा तिमीलाई आत्मग्लानि भएमा त्यो जतिको ठूलो आत्मग्लानि केही हुन सक्दैन ।’ किताबले भन्छ– कर्तव्यहरू समयमै सक्नुपर्छ । त्यो नै मेरो जीवनको डिफाइनिङ फिलोसपी हो । त्यो फिलोसपी त्यही किताबले सिकायो । गुरचरणकै ‘कामा द राइडल अफ डिजायर’ पनि सम्झनामा आइरहन्छ ।

नेपालको सन्दर्भमा कस्ता किताब लेखिनुपर्छ ?

अहिलेको पुस्तालाई डोर्‍याउन प्रेरणादायी किताब चाहिन्छन् । जस्तो डोरिस केरर्न्स गुडविनको अब्राहम लिंकनमाथि लेखिएको किताब ‘टिम अफ राइभल’ । लिंकन नेतृत्वमा हुँदा सबै उनका विरोधी थिए । पछि उनी सबैलाई समेटेर गठबन्धनको सरकार बनाउँछन् र सिभिल वार लड्छन् । नेपालमा पनि अरनिको, अंशुवर्मा, बहादुर शाह, अमरसिंह थापाको विस्तृत जीवनी चहिएको छ । लेखकका लागि यस्तो कोष होस्, जसले लेखकलाई लेख्न प्रोत्सहान मिलोस् ।

हुर्कंदै गर्दा तपाईं कस्ता पुस्तकको संगतमा पर्नुभयो ?

बाल्यकालमा अमरचित्र कथा पढ्थ्यौं । मलाई सत्यवादी राजा हरिश्चन्द्रको कर्तव्यपरायणता व्यक्तित्वले अहिलेसम्मै प्रभाव पारिरहेको छ । उबेला रामायणको कमिक बुक, जातक कथा पनि पाइन्थे । म ४ कक्षादेखि बुढानीलकण्ठ स्कुल पढेँ । त्यहाँको पुस्तकालयमा पनि अमरचित्र कथा नै बढी पढिन्थ्यो ।

कुन समय पढेका किताबले अहिलेसम्मै सहयोग गरिरहेका छन् ?

२५ वर्षअघि बुद्ध एयर स्थापना भएसँगै म एक लालची पाठक भएको हुँ । त्यसताका ३१–३२ वर्षको थिएँ । मैले खुब पढें व्यवस्थापनसम्बन्धी पुस्तकहरू । तिनको सूची लामै हुन्छ । त्यसअघि फिक्सन पढ्ने आदत थियो । व्यवस्थापनका किताब अध्ययनले बुद्ध एयर सञ्चालनमा पनि मद्दत गर्‍यो ।

व्यवस्थापनमाथि लेखिएका किताब सम्झिनुपरे कुन–कुन सम्झिनुहुन्छ ?

नसिम निकोलस तालेबको ‘द ब्ल्याक स्वान’ तथा डब्लू चान किम र रेनी माउबोर्नको ‘ब्लु ओसन स्ट्राटिजी’ र ‘ब्लु ओसन सिफ्ट’ । क्यानेडियन लेखक मैल्कम ग्लाडवेलका सबै किताब पठनीय छन् ।

मानिसले निर्माण गरेका ईश्वर वा किताबमध्ये कुन पहिले छान्नुहुन्छ ?

किताबले ईश्वर स्थापित गरेको छ । ईश्वर भनेको अध्यात्म हो । अध्यात्मलाई किताबले नै व्याख्या गरेको छ । समाजमा विकृति ल्याउने धर्मको त म समर्थन गर्दिनँ । तर, अध्यात्म चाहिन्छ ।

प्रकाशित : असार १८, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?