१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जब जयपृथ्वीबहादुर बेपत्ता भए

जयपृथ्वीबहादुर सिंहलाई नेपाल सरकारले असार ६ मा राष्ट्रिय विभूति घोषणा गर्‍यो । मानवतावादी दर्शन फैलाउन र त्यसउपर संसारभरका विद्वान्को राय लिन उनले विश्व–यात्रा गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु उनलाई ‘राजा बझाङ कर्णेल जयपृथ्वीबहादुर सिंह’ भनी सम्बोधन गर्थे । उनी जहाँ पुगे नेपाली पहिचानसहित उपस्थित भए ।
सन्तोष खडेरी

सन् १९२७ को डिसेम्बर अन्त्यतिर प्रधानमन्त्री चन्द्रशमशेर बिरामी परेर औषधोपचारका लागि कलकत्ता पुगेका थिए । त्यतिबेलै त्यहाँका गभर्नर जनरल पनि मलेरियाको बिरामी भएकाले चन्द्रशमशेरको त्यो भारत यात्रा असाध्यै सामान्य थियो । उनको स्वागत त्यहाँका परराष्ट्रसचिव डेनिस ब्रेले गरेका थिए (द एसोसिएटेड प्रेस, २८ डिसेम्बर १९२७) । त्यो भारत यात्रालाई चन्द्रशमशेरले व्यक्तिगत भ्रमणका रूपमा गोप्य राख्न चाहेको भए पनि अन्य घटनाक्रमले त्यसको झनै चर्चा भयो । पहिलो, बिरामी गभर्नर जनरल र बिरामी चन्द्रशमशेरबीच भेट नहुनु ।

जब जयपृथ्वीबहादुर बेपत्ता भए

दोस्रो, बनारस हिन्दु विश्वविद्यालयले नयाँ निर्माण गर्न लागेको आयुर्वेद कलेजलाई चन्द्रशमशेरले दुई लाख रुपैयाँ सहयोग गर्नु (द बम्बे क्रोनिकल, १२ जनवरी १९२८) । तेस्रो, चन्द्रशमशेरलाई भेट्न गएका जयपृथ्वीबहादुर सिंह कलकत्ताबाट रहस्यमयी ढंगले बेपत्ता हुनु ।

त्यसअघि नेपालमा जयपृथ्वीबहादुरले शिक्षाको विकासमा योगदान गरिसकेको भए पनि त्यसपछिको उनको नयाँ मानवतावादी अभियानका लागि त्यही घटना निर्णायक मोड हुनेवाला थियो । संसारभर उनलाई परिचित गराउने र नेपालीहरूले उनीमाथि गर्व गर्ने अवस्था त्यस घटनापछि नै निर्माण भएको हो । यस लेखमा त्यस घटनामाथि बिस्तृत चर्चा गरिन्छ ।

मानवतावादी, शिक्षाविद्, दार्शनिक, समाज सुधारक बझाङी राजा जयपृथ्वीबहादुर सिंहको जन्म सन् १८७७ अगस्ट २२ मा बझाङमा भएको थियो । काठमाडौंको दरबार स्कुलदेखि इलाहबाद कलेज हुँदै कलकत्ता विश्वविद्यालयबाट उनले स्नातक उत्तीर्ण गरेका थिए । उनको विवाह चन्द्रशमशेरकी छोरी खगेश्वरीदेवीसँग भएको थियो । उनी सानैमा बझाङका राजा भएका थिए । उनले अंग्रेजी भाषाका थुप्रै पुस्तक नेपालीमा अनुवाद गरेका छन् । नेपाली भाषा शिक्षाका थुप्रै पुस्तकसमेत लेखेका छन् । स्थापनाकालदेखि नै उनी ‘गोरखापत्र’ मा जोडिएका थिए । सन् १९०३ मा कलकत्तामा नेपालको प्रतिनिधि (वकिल) नियुक्त भएर उनले कूटनीतिक जिम्मेवारीसमेत सम्हाले । कलकत्ताबाट फर्किएपछि मुद्दामामिला हेर्ने सर्वोच्च निकायमा रहँदा मत बाझिएपछि स्वास्थ्यको कारण देखाएर सम्पूर्ण राजकीय जिम्मेवारीबाट अलग भए । त्योसँगै नेपाल पनि छोडे । सन् १९१७ मा भारत पसेका उनी १९२१ सम्म नैनीतालमा र सन् १९२१ पछि बैङ्लोरमा स्थायी रूपमै बस्न थाले ।

...

सन् १९०८ मा चन्द्रशमशेरको युरोप–यात्रामा समेत सहभागी थिए– जयपृथ्वीबहादुर । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू उनलाई ‘राजा बझाङ कर्णेल जयपृथ्वीबहादुर सिंह’ भनी सम्बोधन गर्थे । सन् १९२८ जनवरी ०६ मा जयपृथ्वीबहादुर कलकत्ताबाट रहस्यमयी ढंगले बेपत्ता भए । बैङ्लोरबाट चन्द्रशमशेरलाई भेट्न उनको क्याम्प पुगे । र, फर्केर आएनन् । त्यसपछि प्रहरीलाई जानकारी गराइयो । उनलाई खोज्न खुफिया एजेन्सीदेखि उपलब्ध सबैजसो सुरक्षा संयन्त्र परिचालित गरिएको थियो ।

भोलिपल्ट कलकत्ताबाट प्रकाशित हुने स्थानीय अखबारहरूमा जयपृथ्वीबहादुर बेपत्ता भएको समाचार छापियो । एपी–रोयटर्सले सम्प्रेषण गरेपछि त्यो खबर विश्वभरि पुग्यो । कलकत्ताको ‘सेन्ट्रल न्युज’ ले ०७ जनवरीमा छापेको समाचारको शीर्षक थियो– ‘राजा बेपत्ता – फिरौतीका लागि अपहरण गरिएको आशंका’ । समाचारको सार थियो– ‘बेपत्ता राजा जयपृथ्वीबहादुरलाई फेला पार्न प्रहरीले सबै अस्पताल, मुर्दाघर, घाट, बन्दरगाह, गोदाम, रेलवे स्टेसनहरूमा खोजी गरिसकेको छ । नेपालका प्रधानमन्त्रीका ज्वाइँ हिजोदेखि रहस्यमयी ढंगले बेपत्ता छन् । फिरौतीका लागि उनलाई अपहरण गरिएको आशंका छ । राजा आफ्ना मित्र भेट्न सहरबाट टाढाको एउटा सानो पसलमा छिरेका थिए । पसलबाट बाहिर निस्किएर एउटा ट्याक्सीमा चढेपछि उनलाई कतै देखिएको छैन । उनको उमेर ५० वर्षको छ । यस रहस्यबारे अझै केही जानकारी पाउन सकिएको छैन । प्रहरीसमेत यसबारे चकित छन् ।’

अर्को दिन ४८ घण्टा बितिसक्दा पनि फेला पर्न नसकेको भन्दै कलकत्ताका प्रहरी आयुक्तको भनाइसहितको समाचार छापिएको थियो । रोयटर्सले ०८ जनवरी बेलुकी प्रसारण गरेको समाचार–सार थियो– ‘४८ घण्टासम्म लगातार खोजतलास गर्दा पनि कलकत्ता प्रहरीले राजाको अवस्था पत्ता लगाउन सकेको छैन । शुक्रबार दिउँसोदेखि रहस्यमयी ढंगले बेपत्ता छन् उनी । रोयटर्स संवादातासँगको साक्षात्कारमा कलकत्ता प्रहरीका कमिस्नरले राजा बेपत्ता हुनुका पछाडि बाहिर चर्चा भइरहेको अपहरणको भाष्यलाई भने इन्कार गरेका छन् । उनले आफूहरूले छुट्टै कोणबाट अनुसन्धान गरिरहेको बताउँदै राजा छिट्टै फेला पर्ने र उनी सकुशल रहेको आफ्नो विश्वास व्यक्त गरेका छन् ।’ (द गार्डियन, ०९ जनवरी १९२८) ।

दुई दिनमा जयपृथ्वीबहादुर बेपत्ता भएको खबर संसारैभर फैलियो । खबरका विषय थिए– फिरौतीका लागि अपहरणदेखि उनीसँग रहेको नगद, बहुमूल्य जहवारत लुट्न बेपत्ता पारिएको ! सनसनीपूर्ण शीर्षकसहित अनेक समाचार प्रकाशित भए । बेपत्ता भएको ३ दिनपछि ०९ जनवरीका दिन उनी बम्बईमा सकुशल रहेको थाहा भयो ।

कलकत्ताबाट बेपत्ता उनी बम्बइमा भेटिएपछि किन र कसरी त्यहाँ पुगे भन्ने विषय झन् अर्को रहस्य भयो । धेरै अखबारले उनको राजनीतिक अपहरण भएको भनी छापे । ‘सेन्ट्रल न्युज’ ले त्यस्तै व्यहोराको समाचार सोही दिन बेलुकी सम्प्रेषण गरेको थियो । केहीले ठूलो रकम फिरौती तिरेर अपहरणमुक्त गरिएको समाचारसमेत सम्प्रेषण गरे । बम्बईका अखबारले कलकत्ताबाट रहस्यमयी ढंगले बेपत्ता भएका राजा बम्बईमा सकुशल भेटिए पनि रहस्य अझै उद्घाटन नभइसकेको खबर छापे । त्यसमा उनले दिउँसो बम्बईका प्रहरी आयुक्तलाई भेटेको खबर समेत थियो (द बम्बे क्रोनिकल, १० जनवरी १९२८) ।

बम्बईमा भेटिएको तीन दिनपछि मात्रै विस्तृत समाचार आए । हराएको दिन उनी डेकर्स स्ट्रिटको एउटा पसलमा छिरे र त्यहाँबाट केही समयमै बाहिर निस्किए अनि बम्बे नागपुर रेल्वेमार्फत कलकत्ताबाट बम्बईतर्फ प्रस्थान गरे (इङ्लिसमेन मेल, १२जनवरी १९२८) । केही अखबारले भने वास्तवमा जयपृथ्वीबहादुरले एक किसिमको बिद्रोह नै गरेका हुन् भनि लेखे । लेखिएको थियो, ‘उनी हिन्दु धर्मले वर्जित गरेको समुद्रपार विदेशयात्रा गर्न चाहन्छन् । त्यसैका लागि जानाजान बेपत्ता भएका हुन् ।’ (रेकर्डर अस्ट्रेलिया, १३ जनवरी १९२८) ।

जयपृथ्वीबहादुरकै अनुसार, उनले त्यतिन्जेलसम्म मानवताको सैद्धान्तिक व्याख्यासम्बन्धी एउटा किताबको खाका तयार पारिसकेका थिए । मानव जातिको अनेक अवस्था र विचारप्रणालीमाथि विचार प्रकट गरी उक्त पुस्तक तयार पारेका थिए (डेली पोस्ट बैङ्ग्लोर, १४ फेब्रुअरी १९२८) । उनले एउटा मानवतावादी क्लब स्थापना गर्ने योजनासमेत बनाइसकेका थिए । मानवतासम्बन्धी नयाँ दर्शनबारे संसारभरका विद्वान्सँग अन्तरक्रिया–छलफल गरि धारणा बुझ्न उनी युरोपसहित सारा संसार भ्रमण गर्न चाहन्थे । तर, नेपालको तत्कालीन शासन व्यवस्था र राजनीतिक परिस्थितिका कारण योजनाअनुसार विदेश यात्रा सहज थिएन ।

एकातिर हिन्दु धर्मको चलनअनुसार, राजकीय बाहेकको कुनै काममा समुद्रपार विदेश यात्रा वर्जित थियो । त्यसो गरे जात जान्थ्यो र विदेशमा अन्य धर्मावलम्बीहरूले पकाएको खाना उनीहरूसँगै बसेर खानु त्यो धर्मविरुद्ध नै ठानिन्थ्यो । अर्कोतिर नेपालबाट पहिले नै एक किसिमको विद्रोह गरि भारत पसेका उनलाई विदेशयात्रा गर्न नेपालले कुनै हालतमा अनुमति दिँदैनथ्यो । सत्तामा रहेका राणाहरूलाई सायद भय हुँदो हो– विदेश यात्रा गरे उनले आफ्ना शासनविरुद्ध प्रचारप्रसार गर्लान् वा षड्यन्त्र नै गर्लान् !

उनका अनुसार, विदेश यात्राका लागि उनीसँग दुई विकल्प थिए । पहिलो, चन्द्रशमशेरसमक्ष यात्राका लागि बिन्ती चढाउने, त्यसमा कुनै हालतमा अनुमति मिल्दैनथ्यो । अनुमति नपाए पनि ‘यात्रामा निस्कन्छु’ भनी सुनाएर हिँड्ने । दोस्रो, कसैलाई थाहा नदिई चुपचाप यात्रामा निस्कने । प्रधानमन्त्रीको मान नराखेजस्तो पनि नहुने र यात्रामा समेत बाधा नपर्ने गरी दोस्रो विकल्प रोजेर उनी अगाडि बढ्न खोजे (उही डेली पोस्ट) ।

कलकत्ताको घटनापछि उनको विदेश यात्रामा रोक लाग्यो । त्यतिबेला जयपृथ्वीका मित्र अतिया बेगमले आँखा उपचारका लागि युरोप जान चाहेको बताएकी थिइन् । वास्तवमा उनी बाहिरी प्रचारका लागि यात्राको कुनै कारण खोजिरहेका थिए । सायद त्यही प्रसंगमा जयपृथ्वीले विदेशमा आँखा उपचार गराउने बहाना अघि सारे । उनको पहिलो युरोप भ्रमणका क्रममा बर्लिनमा आँखा उपचार गराउनुले त्यसमा सत्यता थियो भन्न सकिन्छ ।

नेपालको चौतर्फी विकासका लागि विदेशका आधुनिक कला, विज्ञान र प्रविधि नेपालमा भित्र्याउनुपर्छ र त्यसका लागि विदेश यात्रामा निस्कनुपर्छ भन्ने धारणा उनले राखेका थिए । नेपालीले विदेश भ्रमण गर्नु हुँदैन भन्ने संकीर्ण रुढीवादी परम्परा तोड्नुपर्छ भन्ने सोच्थे उनी । र, अफगानिस्तानको उदाहरण दिने गर्थे । सन् १९१९ मा स्वतन्त्रता पाएको अफगानिस्तानले युरोप, अमेरिकाका विश्वविद्यालयहरूमा विद्यार्थीहरू पठाइरहेको थियो, जसबाट अफगानिस्तानले मुलुकभित्र सैन्य, शिक्षासहित शासनप्रणालीमा सुधार गरेको थियो । त्यहाँका राजा, राजपरिवार सदस्य र नागरिकहरूले गर्ने विदेश यात्राबाट संसारमा उसको कीर्ति बढेको छ भन्थे उनी । विदेश यात्राको बन्देज अन्त्य गरी नेपालीलाई निर्बाध यात्रा गर्न दिनुपर्छ भन्ने माग राखेका थिए उनले (उही डेली पोस्ट) ।

‘मानवतावादी दर्शन’ पुस्तकदेखि युरोप यात्रा राहदानीसम्मको तयारी त्यतिबेलै उनले गरिसकेका थिए । बैङ्ग्लोर बस्दै आएका उनले मैसुर राज्यको सिफारिसमा ब्रिटिसको संरक्षण प्राप्त व्यक्तिका रूपमा ब्रिटिस राहदानीसमेत हासिल गरिसकेका रहेछन् । कलकत्ताको घटनापछि नेपालको अनुरोधमा ब्रिटिस सरकारले त्यसअघि नै उनलाई जारी गरेको राहदानीसमेत जफत गर्‍यो (डेली हेराल्ड, २८ जनवरी १९२८) । राहदानी जफत भएर यात्रामा रोक लागेको भए पनि उनको मानवतावादी अभियान भने रोकिएन । सोही २८ मार्चमा उनले बैङ्लोरमै ‘ह्युमानिस्टिक क्लब उद्घाटन गरे । लगत्तै ‘द ह्युमानिस्ट’ मासिक पत्रिका पनि सुरुआत भयो ।

‘ह्युमानिस्टिक क्लब’ सँगै उनी विदेश यात्रा गर्न चाहन्थे, तर राहदानी थिएन । ब्रिटिस सरकारले जफत गरिसकेपछि तत्काल अर्को राहदानी दिने सम्भावना थिएन । नेपालबाट राहदानी प्राप्त गर्नु झन् असम्भवजस्तै थियो । भारतमै बसेर उनले राहदानीको अर्को विकल्प खोजे । सन् १९३६ मा इथोपियास्थित ब्रिटिस दूतावास र लन्डनस्थित ब्रिटिस परराष्ट्र मन्त्रालयबीचको पत्राचारमा सन् १९२९ मा उनले फ्रेन्च शासित पोन्डुचरीबाट फ्रेन्च राहदानी लिएको देखिन्छ । राहदानी प्राप्त गरेलगत्तै सन् १९२९ मार्चमा स्विट्जरल्यान्डतर्फ प्रस्थान गरेका उनले सोही अप्रिल २२ मा जेनेभामा प्रवचन दिए । त्यसलगत्तै मे ०१ मा बर्लिनमा, मे ०६ मा प्रागमा, मे ११ मा भियानामा, मे १४ मा बुडापेस्टमा, मे १८ मा बेलग्रेडमा, मे २३ मा रोमानियामा, जुन ०३ मा वार्सा पोल्यान्डमा प्रवचन दिएका थिए । जुन ०७ मा बर्लिनमा दोस्रो प्रवचन दिए । जुलाई ०२ मा पेरिस, जुलाई २३ मा ब्रिटिस संसदीय समितिकक्षमा पहिलो र दुई दिनपछि २५ जुलाईमा बेलायतको क्याक्सटन हलमा दोस्रो प्रवचन दिएर भारत फर्किएका थिए । भारत फर्किएर सोही १७ सेप्टेम्बरमा ह्युमानिस्टिक क्लब बैङ्ग्लोरमा पहिलो र २२ अक्टोबरमा दोस्रो चरणमा युरोप भ्रमणका अनुभव बाँडेका थिए ।

युरोप यात्राबाट फर्किएको करिब ३ वर्षसम्म उनी भारतमै रहे । चन्द्रशमशेरको निधन पछि भीमशमशेरका पालामा नेपाल आउन चाहे पनि सफल हुन सकेनन् । त्यसपछिका दिनमा राहदानीका लागि नेपालका प्रधानमन्त्रीसँग जाहेर गरे, तर सुनुवाइ भएन । सन् १९३३ मा अमेरिकाको सिकागोमा आयोजित विश्व आस्था सम्मेलनमा भाग लिन जानुपूर्व उनले ब्रिटिस राहदानी माग गरेका रहेछन् । मैसुर राज्यको सिफारिसमा ब्रिटिसको संरक्षण प्राप्त व्यक्तिका रूपमा १७ अक्टोबर १९३२ मा ब्रिटिस सरकारले उनलाई ४२९५ नम्बरको ब्रिटिस राहदानी जारी गरेको थियो । ०१ अगस्टमा न्युयोर्क ओर्लिएका उनले अर्को दिन न्युयोर्कका मेयरसँग भेटे । सोही ०८ अगस्टमा अमेरिकाको सिकागो पुगे । जयपृथ्वीबहादुर उक्त विश्व आस्था सम्मेलनमा अतिथिका रूपमा आमन्त्रित थिए । त्यहाँका सञ्चारमाध्यममा आकर्षक व्यक्तित्वका रूपमा कहलिएका थिए । अमेरिकी प्रेसहरूसँग मानवतावादी दर्शन कुनै नयाँ धर्म दर्शन नभई विशुद्ध मानवकल्याणका लागि त्यसलाई अगाडि सारेको बताएका थिए (युनाइटेड प्रेस, ०८ अगस्ट १९३३) ।

२९ सेप्टेम्बरमा लस एन्जल्स पुगेका उनले अर्को दिन त्यहाँको हलिउड स्टुडियोको समेत भ्रमण गरे । जापान पुगेर जापानको नारी विश्वविद्यालयमा नारीहरूलाई प्रवचन दिए । त्यहाँ उनले भने, ‘मानवताका लागि शान्ति र एकता यी दुई महत्त्वपूर्ण विषय हुन् । यदि वास्तविक अर्थमा यी दुई विषय कार्यान्वयन हुन सके त्यसबाट पुरुषभन्दा महिला बढी लाभान्वित हुनेछन् ।’ जापानबाट उनी चीन पुगे । त्यहाँका राष्ट्रपति च्याङकाई सेकले समेत भेटेर उनको शान्ति अभियानबारे खुसी प्रकट गरे । चीनबाट उनी जनवरी १९३४ मा भारत फर्किए (द बम्बे क्रोनिकल, फेब्रुअरी १९३५) । सन् १९३५ को सुरुआततिर उनी कराँची पुगे । अर्को महिना फेब्रुअरीमा बर्माको रंगुन पुगे । १३ मार्च १९३५ मा जापान पुगे । जापानमै सोही वर्षको अक्टोबरमा इटालीले इथोपिया (तत्कालीन अवासिनिया) माथि हमला गर्‍यो । जापानबाट डिसेम्बरमा इथोपिया पुगे । इथोपिया पुग्दा उनी समस्यामा परे । जापान रहँदै टोकियोस्थित ब्रिटिस कन्सल जनरलबाट उनले २२ अप्रिल, १९३५ मा ४४१ नम्बरको अर्को ब्रिटिस राहदानी लिएका थिए । इथोपियाले उनीमाथि अनुसन्धान सुरु गर्‍यो । युद्धग्रस्त क्षेत्रमा पुगेका उनीमाथि ब्रिटिस चासोसमेत उत्तिकै थियो । इथोपियाले ब्रिटिस सरकारसँग पत्राचार गर्दा गलत जानकारी दिएर जापानबाट राहदानी लिएको भनी ब्रिटिस सरकारले उक्त राहदानी जफत गर्‍यो । त्यहाँबाट मैसुर वा नेपालसम्म फर्कन दिने गरी यात्रा अनुमतिपत्र जारी गर्न आग्रह गरेको थियो । त्यसपछि राहदानी सम्बन्धमा के भयो भन्ने दस्तावेज फेला नपरेकाले यसबारे थप जानकारी उपलब्ध हुन सकेको छैन, यद्यपि यो खोजीकै विषय छ ।

सन् १९३५ को डिसेम्बरमा इथोपिया पुगेका जयपृथ्वीबहादुर १९३६ को जुलाई सुरुआततिर मात्रै भारत फर्किए । इथोपियाबाट सिंगापुर हुँदै भारत फर्कने क्रममा ०२ जुलाई १९३६ मा बर्माको रंगुन पुगेका थिए । उनले इथोपियामा इटालीसँग इथोपियन सेना पराजित हुनुमा त्यहाँको सेना युद्धको सामना गर्न सक्ने गरी हातहतियारले सुसज्जित नभएको बताएका थिए (द इन्डियन एक्स्प्रेस, ०३ जुलाई १९३६) । सन् १९४०, सेप्टेम्बर १६ को बिहान बैङ्ग्लोरस्थित जयभवनमा उनको निधन भयो (द इन्डियन एक्स्प्रेस, १७ सेप्टेम्बर १९४०) ।

कहिले फ्रेन्च र कहिले ब्रिटिस राहदानीबाट विदेश यात्रा गरे पनि अन्तर्राष्ट्रिय मञ्चमा उनको नेपाली पहिचान कहिल्यै लुकेन । अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रत्यक्ष कूटनीतिक उपस्थिति देखाउनुभन्दा धेरै पहिले उनले शान्ति दूतका रूपमा नेपाललाई परिचित गराए । उनले भनेका छन्, ‘पहिलो युरोप यात्राबाट फर्कनासाथ उनको जात च्युत भयो, भाइहरूले साथमा बसेर खाना खान छोडे अनि नेपाल सरकारले प्रदान गर्ने नियमित भत्तासमेत बन्द भयो ।’ तर, उनी धर्म, जातपातको साँघुरो घेरामा सीमित हुन चाहेनन् । र, समग्र मानवकल्याणका निम्ति मानवतावादी दर्शन लिएर संसारभर पुगे ।

गएको असार ६ गते मन्त्रिपरिषद् बैठकबाट ‘नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाल चिनाउन पुर्‍याएको योगदानको कदरस्वरूप’ उनलाई राष्ट्रिय विभूति घोषणा गर्‍यो । उनी विश्वको जुन कुनामा पुगे, नेपाली पहिचानसहित उपस्थित भए ।

प्रकाशित : असार १८, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?