उजेलीको ‘उज्यालो’- कोसेली - कान्तिपुर समाचार

उजेलीको ‘उज्यालो’

तस्बिर : अंगद ढकाल

मनाङ सदरमुकाम चामे नजिकैको गाउँ थानचोक बस्ने ६२ वर्षीया उजेली गुरूङका लागि आफ्नै आँगन बिरानो बनेको धेरै भइसकेको थियो । दुवै आँखामा पलाएको जालो के होला भनी देखाउन उनी जेठको दोस्रो साता गाउँ नजिकैको स्वास्थ्यचौकी पुगेकी थिइन् । त्यहाँ पुगेपछि थाहा भयो– उनको आँखाको जालो त मोतियाबिन्दु रहेछ । त्यसैको उपचार गर्न तिलगंगा आँखा अस्पतालको एउटा टोली चामे आउन लागेको उनले थाहा पाइन् ।

थानचोकबाट चामे उति टाढाको बाटो होइन, झन्डै ५ किलोमिटर पैदलबाटो । अर्थात् त्यही १ घण्टाजतिको बाटो पनि हिँड्न मुस्किल भएपछि उजेली नाति अशोकको बुई चढेर पुगिन् चामे आँखा शिविर । ‘श्रीमान् डिल्लीजंग भने माथि नारखोलापारि नाम्केतिरको भेडीगोठमा बस्छ,’ उजेलीले सुनाइन्, ‘अनि यही नाति केटाकै बुई चढेर भए पनि आँखा बनाउन आएकी हुँ नानी ।’

नभन्दै जेठ ११ गते मंगलबार बिहानै उनको आँखा अप्रेसनको पालो आयो । आफूले रेडियोमा नाम सुनेकै डाक्टर सन्दुक रूइतको छेउमा उजेली थिइन् । आँखा चिर्ने भनेपछि सुरूमा थोरै डर पनि लागेको रहेछ, तर आफूभन्दा बुढ्यौली छोएका थुप्रै आँखा बिरामीको हूल देखेर उजेली चुपै लागिन् ।

दाहिने आँखाको अप्रेसनपछि पट्टी बाँधेर दिन–रात बिताउन निकै असजिलो भएको थियो उजेलीलाई । तर, पर्खनुबाहेक उपाय पनि थिएन । बुधबार बिहान आकाश अलि धुम्मिएको थियो, हलुका पानी पनि पर्दै थियो । घाम पर्खेरै ११ बज्यो । अनि फेरि डा. रूइत आँखामा पट्टी बाँधिएका बिरामीको हूलबीच आइपुगे र एकपछि अर्को गर्दै पट्टी खोलिदिँंदै आँखामा आएको उज्यालो पहिल्याउन थाले । नभन्दै उजेलीले पनि आफू सामुन्नेको संसारै निकै उज्यालो देखिन् । हिजोसम्म घुर्मैलो लाग्ने चामेवरपरका पहाड पनि उज्यालो देखिन् । चामे, माडाबाट मर्स्याङ्दीपारिको भित्ता हेर्दै भनिन्, ‘हिजो त आँखामा बादल मात्रै थियो, अहिले त छ्याङ्ङै भएछ ।’

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रूइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका १५ जनाको स्वास्थ्यकर्मी–टोली चामे शिविरमा खटिएको थियो । डा. रूइतले दुई दिनमा ६४ जना वृद्धवृद्धाका आँखाको शल्यक्रिया गरिरहँदा मनाङी मात्रै नभई लमजुङ र गोरखाका केही नागरिकले समेत सेवा लिन पाए । तिलगंगा आँखा प्रतिष्ठान, तेज कोहली एन्ड रूइत फाउन्डेसन र सामुदायिक आँखा केन्द्र मनाङको आयोजनामा सञ्चालित शिविरमा करिब ८ सय जनाबाट छनोट गरी मोतियाबिन्दु भएका आँखाका बिरामीको शल्यक्रिया गरिएको थियो ।


प्रकाशित : असार ४, २०७९ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्

सीमाहरू भत्काउँदै ‘रेत समाधि’ 

गीतांजलि श्रीको उपन्यास ‘रेत समाधि’ ले बुकर पुरस्कार पाउनु हिन्दीलगायत अन्य दक्षिण एसियाली भाषाका साहित्यलाई अन्तर्राष्ट्रिय बजारको ढोका खुल्नु हो । यो नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि समेत दबाब र सम्भावना दुवै हो ।
भारत–पाकिस्तान सम्बन्धसँगै उपन्यासले बढ्दो सहरीकरण र रसायनको प्रयोगले पर्यावरणमा पारेको असरलाई पनि बहसमा ल्याएको छ । 
उपेन्द्रराज पाण्डेय

हिन्दीलाई राष्ट्रभाषा बनाइनुपर्छ भन्ने विषय पछिल्लो समय भारतमा राजनीतिक बहसको केन्द्रमै छ । नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारले हिन्दी भाषाको प्रवर्द्धन गर्ने भन्दै यस बहसलाई अघि सारेको छ । भारतमा करिब ४४ प्रतिशत मानिस हिन्दीलाई मातृभाषाका रूपमा प्रयोग गर्छन् भने १२० भन्दा बढी प्रमुख भाषा प्रचलनमा छन् ।

हिन्दीलाई राष्ट्रभाषा बनाउँदा संघीय संरचना र भाषिक विविधता नै लोप हुन्छ भन्ने एकथरीको मत छ । तर, हिन्दीलाई राजनीतिक एजेन्डाका रूपमा प्रयोग गर्ने भाजपा नेतृत्व भने मूल रूपमा हिन्दीमा लेखिएको उपन्यासले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा समेत चुप बस्यो । प्रसंग हो, यस वर्ष (२०२२) को अन्तर्राष्ट्रिय बुकर पुरस्कारको । यस पुरस्कार पाउने पहिलो हिन्दी लेखक हुन्– गीतांजलि श्री र उपन्यास हो– ‘रेत समाधि’ । उक्त उपन्यासलाई डेजी रकवेलले ‘टुम अफ स्यान्ड’ शीर्षकमा अंग्रेजीमा अनुवाद गरेकी हुन् । सुखद पक्ष के भने ५० हजार पाउन्ड राशिको यो पुरस्कार लेखक र अनुवादक दुवैलाई आधा–आधा बाँडिन्छ ।

‘रेत समाधि’ पुरस्कृत भएपछि भारतीय केन्द्रीय सहरी विकासमन्त्री हरदीपसिंह पुरीले बधाईमार्फत औपचारिकता प्रकट गरे । तर, प्रधानमन्त्री मोदीलगायत शीर्ष नेता मौन बसे । त्यसो त भारतीय प्रधानमन्त्रीले लेखकलाई बधाई दिनैपर्छ भन्ने होइन । तर, आफूलाई मन पर्ने र आफ्ना एजेन्डाको प्रचार गर्ने फिल्मलाई राज्य–राज्यमा कर छुट दिनेहरू गीतांजलिले बुकर पाउँदा मौन रहनुलाई जायज मान्न सकिँदैन । ‘रेत समाधि’ ले बुकर पाएसँगै लेखक भने हिन्दी साहित्यको लोकप्रियता बढ्नुका साथै यसप्रति विश्वका पाठकको रुचि पैदा हुने बताउँछिन् । हिन्दीलाई केन्द्रमा ल्याउन गम्भीरतापूर्वक सतत एवं संगठित प्रयासको आवश्यकता रहेको उनको बुझाइ छ । साथै यस प्रकारको साहित्यको स्तरीय अनुवादको पनि खाँचो रहेको उनको राय छ । भन्छिन्, ‘यो केवल हिन्दीमा मात्रै होइन, सबै दक्षिण एसियाली भाषामा पनि लागू हुन्छ ।’ भारतमा हिन्दीमाथि अंग्रेजी हावी भइरहेको भन्ने सवालमा उनी भने भाषाहरूमा एकअर्कालाई समृद्ध बनाउने क्षमता हुने विचार व्यक्त गर्छिन् । ‘मलाई लाग्छ हिन्दी वा अंग्रेजीमध्ये एक चयन गर्ने भन्ने प्रश्न हुनु हुँदैन । द्विभाषी, त्रिभाषी वा बहुभाषी हुनुमा के समस्या छ ?,’ उनको प्रश्न छ ।

‘रेत समाधि’ ले बुकर पाएसँगै फेरि एकपटक भाषा–बहस छेडिएको छ । पूर्वऔपनिवेशिक राष्ट्रका केही लेखक आफ्नै मूल भाषामा साहित्य लेखिनुपर्छ भन्ने मान्यता राख्छन् । यस मान्यताका प्रखर अभियन्ता हुन्– केन्याका प्रख्यात लेखक न्गुगी वा थियोंगो । अंग्रेजीमै लेखेर विश्वप्रसिद्ध भइसकेपछि उनी मातृभाषामा फर्किएका थिए । ‘डिकोलोनाइजिङ द माइन्ड : द पोलिटिक्स अफ ल्याङ्ग्वेज इन अफ्रिकन लिटरेचर’ निबन्धपछि उनी गिकुयु भाषामा फर्किएका थिए । अफ्रिकाको साहित्य युरोपेली वा अमेरिकी ‘स्टान्डर्ड इंग्लिस’ भाषामा लेखिन सकिँदैन भन्ने उनको मत हो । कुनै भाषिक समुदायको पहिचान सोही भाषाले मात्रै स्थापित हुन्छ भन्ने मान्यता उनको हो । पछिल्लो समय भारतमा मात्रै होइन, उत्तरऔपनिवेशिक लेखनको बहसमा भाषा चयन केन्द्रीय विषय बनेको छ ।

सन् २०२२ को अन्तर्राष्ट्रिय पुरस्कार विजेता पुस्तक ‘रेत समाधि’ को अनुवादक डेजी रकवेल र लेखक गीताजंलि श्री । तस्बिर : बुकर इन्टरनेसनल

‘रेत समाधि’ को पहिलो वाक्य छ, ‘एक कहानी अपने आप को कहेगी ।’ काव्यिक र सुन्दर शिल्प–शैलीले भरिपूर्ण उपन्यासको कथावाचक कथा आफैं हो । ‘महिला र सीमा साथ भए आफ से आफ कथा बन्छ । महिलामाथि मात्रै पनि,’ सुरुमै उपन्यासले आफ्नो विषयवस्तु बताउँछ । उपन्यास विशेषगरी दुई महिला पात्रको वरिपरि घुम्छ । अन्य महिला र केही पुरुष पात्र पनि आउने र जाने गरिरहन्छन् । उपन्यासमा कथा नहुने कुरै भएन, तर कथामा भन्दा कथनमा पाठक रमाउँछन् ।

तीन दशकयता लेखनमा सक्रिय गीतांजलिको पहिलो उपन्यास ‘माई’ हो । सन् १९९० यता उनका ‘फिर हमारा सहर उस बरस’, ‘तिरोहित’, ‘खाली जगह’ लगायत किताब प्रकाशित छन् । पितृसत्तासँग जुधिरहेका महिला, साम्प्रदायिक दंगाबाट ग्रस्त समाज, बढ्दो हिंसा उनका किताबका केन्द्रीय विषयवस्तु बन्ने गरेका छन् । चर्चित लेखक कृष्णा सोबतीको लेखनबाट आफू प्रेरित भएको मान्छिन् गीतांजलि । उनै सोबती ‘रेत समाधि’ आख्यानमा एक नयाँ विन्यास रहेको उल्लेख गर्दै भन्छिन्, ‘मानवीय समाधिको प्रेरणाबाट यो विश्वलाई उनले आफ्नै ढंगले दोहोर्‍याएकी छन्, जुन कुरा सजगतापूर्ण हिसाबले पाठकसामु आउँछ ।’

उपन्यासलाई ‘पीठ’, ‘धूप’ र ‘हद–सरहद’ गरी तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा ८० वर्षकी हजुरआमा (माँ), उनका छोरा, बुहारी, छोरी र नातिहरूबीचको ‘पारिवारिक कलह’ प्रस्तुत छ, तर ‘मनोरञ्जनात्मक शैलीमा । एकातिर ओछ्यानबाटै उठ्दै नउठ्ने जिद्दी कस्छिन् ‘माँ’, अर्कोतिर उनको स्याहारसुसारमा सबैभन्दा बढी आफू लागेको परिवारको सदस्यका आ–आफ्ना दाबी छ, सासू–बुहारीको नोकझोंक । विदेशी साथीहरूसँग छोरीको हिमचिम आदि विषय पहिलो खण्डमा समेटिएको छ ।

चंगा, शून्य, दशमलव, चिया आदि पूर्वबाटै सुरु भए पनि त्यसको केन्द्र पश्चिम बनेको उपन्यासमा उल्लेख छ । ‘विदेशीसामु आफ्नो मुलुक, आफ्नो संस्कृति, सबै हारेको छ,... किनकि दुनियाँ उनीहरूको भइसकेको छ । उनीहरू नै बनाइरहेका छन्, उनीहरू नै बिगारिरहेका छन् । किनकि केन्द्र उनीहरू हुन् र केन्द्रबाट मूलकथा तय हुन्छ, बाँकी बाँकी हो ।’ लामो समयसम्म दक्षिण एसियामा खुम्चिएको हिन्दी भाषाले लेखक गीतांजलिमार्फत विश्वको ध्यान तान्नुमा पनि उही पश्चिमी केन्द्र (अंग्रेजी रूपान्तरण र पुरस्कार प्रदानमार्फत) कै भूमिका रह्यो ।

उपन्यासको दोस्रो खण्ड सुरु हुन्छ छोरीको घरबाट । माँ छोराको घरबाट अविवाहित छोरीको घर जान्छिन् । छोरी अविवाहित छिन् आफ्नै इच्छाले, जीवनशैली स्वच्छन्द ! यसैबीच माँ एकाएक गायब हुन्छिन् । पछि बिरामी–बिरामी र झन्झन् सुक्दै गएकी अवस्थामा भेटिन्छिन् । यसबीच रोजी तेस्रोलिंगी (महिलाको भेषमा) देखिन्छिन् । पछि उनै रजा टेलरमास्टर (पुरुष भेषमा) का रूपमा देखिन्छन् । रोजी र माँबीच ‘अपरिभाषित’ तर घनिष्ठ सम्बन्ध थियो । रोजीको आगमनले नै ‘माँ’ को जीवनमा उत्साह र उमंग थपिएको थियो । माँ छोरीजस्तै, छोरी माँजस्तै बन्दै गइरहेका थिए । रोजीको संवादले लैंगिक अल्पसंख्यक समुदायप्रतिको सामाजिक दृष्टिकोण पनि उजागर गर्छ । अहिले पनि विश्वका विभिन्न मुलुकमा उनीहरू पहिचानको संघर्षमा छन् । यसैबीच अकस्मात् रोजीको मृत्यु हुन्छ । रोजीको अभावले माँ दुःखी बन्छिन् र चिन्तामा डुब्छिन् । उपन्यासमा रोजीले बोलेको यो संवाद मार्मिक छ, ‘हमारी गिनती न मुस्लमिन किरस्तान में न हिन्दु में न आदमी औंरत में, हमारा नाम नहीं लेना, हमे पहचानना नहीं ।’ आफूहरू हुनु र नहुनुको अर्थ समाजलाई नरहेको भन्दै उनी गुनासो गर्छिन्, ‘...हम कितने निकृष्ट अदृश्य परिशिष्ट । न मेरे लिए फिल्म, न साहित्य, न कला न कपडे । जो आप उतार दें, उस उतरन में हम उतर लें । अपनी कहीं गिनती नहीं ।’

उपन्यासको अन्तिम खण्ड सुरु हुन्छ भारत—पाकिस्तान सीमाबाट । उपन्यासले धेरै सीमा नाघेको छ । उपन्यास र कथानकका परम्परागत सीमाहरू तोडिएका छन् । व्यञ्जना र लक्षणाको माध्यमबाट एउटा खुला संसारमा पाठकलाई प्रवेश गराउन सफल भएकी छन् उपन्यासकार । रोजीको मृत्युपछि माँ पाकिस्तान जान जिद्दी कस्छिन् । छोरीसँगै उनी बाघा बोर्डरमा भारत–पाकिस्तानका सेनाको परेड नजारा गर्दै पाकिस्तान प्रवेश गर्छिन् । आमा–छोरीको पाकिस्तान प्रवेशसँगै उपन्यासकार पाठकलाई सन् १९४७ को विभाजनमा पुर्‍याउँछिन् । विभाजनका बेला भएका हत्या–हिंसाका घटनासँगै आमा–छोरीको यात्रा जारी रहन्छ । वास्तवमा माँ विभाजनपछि भारततिर आएकी हुन्छिन् । लाहोर हुँदै पाकिस्तानको खैबर पख्तुनुख्वासम्म पुग्छन् आमा–छोरी । भिसा नभएकैले खैबरमा उनीहरू समातिन्छन् । खैबरमा ‘एक पटक छिरेपछि हावा पनि निस्कन सक्दैन’ भनिन्छ । कैदमै रहेका बेला माँले पाकिस्तानी प्रहरीसँग भारत–पाकिस्तान विभाजन तथा सीमाबारे गहकिलो विचार राख्छिन् । ‘न बडे न छोटे ये कहते हैं कि बँटवारे हमने मिल के किय हैं औंर बँटवारे नहीं होने चाहिए,’ उनी भन्छिन् । कसैले पाकिस्तानी सुरक्षाकर्मीको कान फुकिदिएको थियो सायद, माँलाई गोली हानी मारिन्छ । भिसा नभएका कारण आफैं जन्मे–हुर्किएको ठाउँमा उनी मारिन्छिन् ।

भारत–पाकिस्तान विभाजनका क्रममा भएको हिंसामा झन्डै दस लाख नागरिकको मृत्यु भएको थियो भने डेढ करोडभन्दा बढी बेघर । सआदत हसन मन्टोका ‘टोबा टेक सिंह’, ‘ठण्डा घोस्त’, ‘काली सलवार’ र ‘खोल दो’ जस्ता कथा पनि विभाजनका बहुआयामिक पीडा र दर्दनाक हिंसात्मक घटनाका साक्षी हुन् । धर्मका आधारमा देशको विभाजन हुने भएपछि पाकिस्तानमा भएका हिन्दु भारत र भारतमा भएका मुसलमान उता जान बाध्य पारिए । सदियौंदेखिको थातथलो छाडेर लाखौं बेघर भए । कराँची पाकिस्तानको पहिलो राजधानी थियो, जहाँ ४७.६० प्रतिशत हिन्दु थिए । स्वतन्त्र भारतको राजधानी दिल्लीमा समेत एकतिहाइ जनसंख्या मुस्लिम समुदायको थियो । केही वर्षमा कराँचीबाट सबै हिन्दुहरू भागेर भारत आए भने दिल्लीबाट करिब २ लाख मुस्लिम लखेटिए । विभाजनको तीतो सत्यलाई स्विकारेर अघि बढ्न नसकेकै कारण भारत र पाकिस्तानबीच सन् १९४७ पछि तीन पटक युद्ध भइसकेको छ । अहिले पनि दुई देशबीच सीमामा तनाव छ नै । दुवैतर्फ सीमा विवादलाई चुनावी मुद्दा बनाइन्छ राहत इन्दौरीकै शायराना अन्दाजमा, ‘सरहदों पर बहुत तनाव है क्या, कुछ पता तो करो चुनाव है क्या ।’

सीमाका नाममा मानवीयता हराउँदै गएको छ । ‘रेत समाधि’ कै माँ भन्छिन्, ‘सरहद निकालने के लिए नहीं होती, दोनो तरफको और उजालनेकी लिए होती हैं ।’ असल छिमेकीका रूपमा दुई देश रहन सकून् भन्ने उपन्यासको निहितार्थ छ । भारत–पाकिस्तान सम्बन्धसँगै उपन्यासले बढ्दो सहरीकरण र रसायनको प्रयोगले पर्यावरणमा पारेको असरलाई पनि बहसमा ल्याएको छ । लैंगिक मुद्दालगायत थुप्रै विषयलाई सुन्दर ढंगले पस्किएको छ ।

नाइजेरियाली लेखक चिनुवा अचेबे ‘भाषाको सर्वव्यापकता’ मा जोड गर्थे । उनी भन्थे, ‘मलाई लाग्छ, मेरा अफ्रिकन अनुभव अंग्रेजी भाषामै भन्न सक्छु ।’ औपनिवेशिक कालदेखि नै पश्चिमाहरूले आफ्ना कथा सुनाउँदै आएका हुन् आफ्नै भाषामा । अब सुनाउने पालो पूर्वेलीहरूको हुन सक्छ । त्यसैले आफ्ना कथा सुनाउने बेला हो यो, माध्यम भाषा जुनसुकै होस् । विश्वमञ्चमा पुग्नका लागि जति धेरै भाषामा हुन सक्छ अनुवाद हुनैपर्छ । मूल रूपमा जुन भाषामा लेखिए पनि स्तरीय अनुवाद हुन सके साहित्यको विश्वमञ्चमा पुग्न सकिन्छ । ‘रेत समाधि’ ले हिन्दीलगायत अन्य दक्षिण एसियाली भाषामा लेखिएका साहित्यलाई अन्तर्राष्ट्रिय बजारको ढोका खोलिदिएको छ । यसर्थ बुकर पुरस्कार हाम्रो सीमाछेवै आइपुग्नु नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि समेत दबाब र सम्भावना दुवै हुन सक्छ ।

प्रकाशित : असार ४, २०७९ ०९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×