कठघरामा कैरत–किरात - कोसेली - कान्तिपुर समाचार

कठघरामा कैरत–किरात 

यजुर्वेदमा ‘किरात’ र अथर्ववेदमा ‘कैराती’ लेखिएको छ । यी नै प्राचीनकालमा लेखिएका किरातजन्य शब्द हुन् ।
कमल मादेन

इमानसिं चेम्जोङले लेखेका छन्– ‘किरात समुदाय मध्यपूर्वबाट दक्षिण एसियामा आए । प्राचीनकालमा मध्यपूर्वमा चलनचल्तीमा रहेको ‘किर्यत’ वा ‘किर्जथ’ शब्दबाट अपभ्रंस भई किरात शब्द बनेको हो ।’ तर, किरातीहरु मध्यपूर्वबाट दक्षिण एसियामा आएको र ‘किर्यत’ वा ‘किर्जथ’ अपभ्रंस भई ‘किरात’ शब्द बनेको तथ्य पुष्टि हुँदैन । लेखक कमल मादेनको खेजीमेली छ– ‘किरात समुदाय उत्तर र पूर्वबाट नेपाल आएका हुन् । प्राचीन मंगोलियामा ‘कैराती’ शब्द प्रचलनमा थियो । र, ‘कैराती’ अपभ्रंस भई ‘किरात’ शब्द प्रचलनमा आएको हो ।’ 

नेपालमा राई, लिम्बू, याक्खा (देवान, मझिया) र सुनुवार (कोइँच) किरात समुदायका भनी चिनिन्छन् । यी बाहेक थामी, लेप्चा, माझी, बोटे र मगरका केही हिस्साले जनगणनामा आफूलाई ‘किरात’ लेखेका छन् । यस आधारमा किरातसँग जोडिएका जाति आधा दर्जनभन्दा बढी छन् । किरात शब्दको सुरुवात भारतबाट भएको हो र किरातसँग सम्बन्धित जाति त्यहाँ अझै बढी हुनुपर्ने हो । भारतमा किरात शब्दलाई त्यति महत्त्व दिएको पाइन्न । प्राचीनकालमा नेपालमा किरात वंश शासक भएका कारण यहाँ किरात शब्दप्रति मोह छ । तर, हिजो–आज लिम्बूको एक हिस्साले आफूलाई ‘किरात होइनौं’ भन्न थालेका छन् । अर्कोतिर, लिम्बू किरात नै हुन् भन्ने जनाउ दिन केही पुस्तकसमेत लेखिएका छन् (हेर्नुहोस्, इतिहास पहिचान : प्राचीन नेपाल, किरात र लिम्बू इतिहास, ०७८) । मञ्जुल याक्थुमले २०७५ सालमा लेखेको ‘को हुन् किरात र किरतलिम्बू ? के हो युमाधर्म ?’ शीर्षक पुस्तकमा लिम्बूहरू किरातका सन्तति हुन् भन्ने प्रस्टै उल्लेख छ (पृष्ठ. ५२) । आखिर किन यस्तो भइरहेको छ ? लिम्बू ‘किरात हुन्’ वा ‘होइनन्’ भन्ने सन्दर्भ लिम्बू समुदायकै मात्र हो ? ‘इतिहास पहिचान : प्राचीन नेपाल, किरात र लिम्बू इतिहास’ का लेखक कृष्णविक्रम नेम्बाङ भन्छन्, ‘लिम्बू किरात हुन् कि होइनन् भन्ने नेपालीको मात्रै विषय होइन । वैदिक आर्यले मंगोल मूलका नस्ललाई दिएको चिनारी शब्द हो– किरात । यसप्रति समुच्च मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री र इतिहासकार स्पष्ट हुनुपर्छ ।’

नेम्बाङको पुस्तक पढेपछि प्रागैतिहासिक युग र प्राचीन इतिहासका विषय थप पढ्नुपर्छ भन्ने महसुस गरियो । र, मध्यपूर्वलगायत एसिया र युरोपको प्रागैतिहासिक तथा प्राचीनकालमा मानव सभ्यतासम्बन्धी लेखिएका केही ग्रन्थ संकलन गरें । यजुर्वेदमा किरात र अथर्ववेदमा ‘कैराती’ लेखिएको छ । यी नै प्राचीनकालमा लेखिएका किरातजन्य शब्द हुन् । किरात लेखिएकै हरफमा ‘नैषाद’ लेखिएको छ । ‘नैषाद’ लाई हिजोआज निषाद भनिन्छ । नेपालमा निषाद समुदायअन्तर्गत मल्लाह, माझी, गोडिया, सहनी आदि जात समावेश छ । यजुर्वेदमा एक ठाउँ हिमाल चढ्ने मानव कस्तो हुनुपर्छ भन्ने पनि चर्चा छ । चूडामणि शास्त्री ढकालले नेपालीमा अनुवाद गरेको ‘यजुर्वेद’ मा शेर्पा र तामाङलाई हिमाल चढ्न नियुक्त गर्नुपर्छ भन्ने लेखिएको छ । जबकि तामाङ शब्द विसं १९७२ मा भीमशमशेरले जारी गरेको एउटा कस्यपत्रमा पहिलो पटक उल्लेख भएको हो । त्यो कस्यपत्र इस्ट इन्डिया कम्पनीमा नेपाली जवान पठाउन देशभरि जारी गरिएको थियो । त्यसमा शेर्पालाई ‘स्यार्पा’ र लिम्बू ‘किरातिराइ’ लेखिएको छ । अब कुरा जोडौं किरातकै । वेदमा किरातको अर्थ प्रस्ट खुलेको छैन । अझ एक शताब्दीयता लेखिएका पुस्तकहरूमा किरात शब्दको मनगढन्ते व्याख्या गरिएका छन् । इमानसिं चेम्जोङले सन् १९६५ मा किरात शब्दको व्युत्पन्न अर्थात् के, कसरी किरात शब्द बन्यो भन्ने मान्यता प्रस्तुत गरेका छन् । त्यसपछि लेखिएका धेरैजसो पुस्तक तथा वंशावलीमा त्यही मान्यता साभार गरिएको पढ्न पाइन्छ । चेम्जोङले मध्यपूर्वको एक शब्द अपभ्रंस भई किरात शब्द बनेको मान्यता राखेका छन् । तर, त्यो शब्दसँग किरात समुदायको प्रागैतिहासिक युग र प्राचीन इतिहासमा कतै पनि सम्बन्ध देखिन्न । अझ आनुवंशिक वंशावली (जेनेटिकस जिनोओलोजी), भाषा, मुन्धुम आदिमा चेम्जोङले भनेकै दिशाबाट किरात बसाइँ सर्दै आएको कतै पुष्टि हुँदैन ।

वेददेखि चेम्जोङसम्म

तिलकप्रसाद लुइटेलले अनुवाद गरेको ‘यजुर्वेद–संहिता’ अन्तर्गत तीसौं अध्यायको १६ औं श्लोकमा लेखिएको छ, ‘.....कैवर्तपर्णक .....गुहाभ्य : किरातथं .....।।१६।।’

(०७८, पृष्ठ. ३१८) । यसको भावानुवादमा लेखिएको छ, ‘गुफाको हेरविचार गर्न किरात नियुक्त गर्नुपर्छ ।’ यसपछि किरात शब्द लेखिएको वैदिक रचना अथर्ववेद हो । लुइटेलले नै भावानुवाद गरेको ‘अथर्ववेद–संहिता’ को दशम् काण्डम्को १४ औं श्लोकमा ‘कैरातिका कुमारिका सका खनति भेष्जम् । हिरण्ययीभिरभ्रिभिर्गिरीणामुप सानुषु ।।१४।।’ लेखिएको छ (२०७६, पृष्ठ ३२३) । यसको भावानुवादमा लेखिएको छ, ‘किरात जातिका कुमारी कन्या हिरण्यी नामको सुनजस्तो चमकदार तथा तेजिलो धार भएको कोदालोले पर्वतीय शिखरमा रहेका औषधिहरू खन्ने गर्छन् ।’

काठमाडौं खाल्डोमा किरातपछि लिच्छवि वंशले शासन गरे । किरातकालका किरात सन्ततिहरू लिच्छविकालका राजाका दरबारमा अवश्य कारिन्दा हुन्थे होलान् । हनुमानढोका संग्रहालयमा अंशुवर्माकालीन एक शिलालेखमा ‘किरात’ शब्द कुँदिएको छ । त्यस शिलालेखको भावार्थअनुसार, किरात अधिकारी दरवारमा हुन्थे । पुराना सामग्री–चीजबीज रक्षा गरिदिने नीति अंशुवर्माको थियो भन्ने धनवज्र वज्राचार्यको किताब ‘लिच्छविकालका अभिलेख’ उल्लेख छ (पृष्ठ. ३७५) ।

यस्तै, बूढानीलकण्ठ नारायणस्थानका पश्चिमोत्तरतिर विष्णुपादुका डाँडाको फेदीमा फेला परेको एक अर्को शिलालेखमा ‘केदुम्बाट’ शब्द कुँदिएको छ । यो किरात भाषामा प्रयोग गरिने शब्द ‘केदुम्बा’ वा ‘केथुम्बा’ सँग मिल्दोजुल्दो छ । लिम्बू भाषामा अघिल्लो र पछिल्लोले क्रमशः जेठो, बाठो र बलियो भन्ने अर्थ लाग्छ । लिच्छविकालमा संस्कृत भाषा थियो । यसले काठमाडौं खाल्डोमा लिच्छवि वंशभन्दा पहिले किरात थिए भन्ने संकेत गर्छ । सेसिल बेन्डाल युनिभर्सिटी कलेज लन्डनमा संस्कृतिका प्राध्यापक थिए । उनले ब्रिटिस म्युजियमका निम्ति एसियाको विभिन्न भाषाका पाण्डुलिपि अध्ययन गरे । त्यसैक्रममा तिनी नेपाल आएका थिए । तिनले सन् १८९८–९९ मा काठमाडौंको दरबार पुस्तकालय (वीर पुस्तकालय) मा १४ औं शताब्दीमा लेखिएको नेपालका राजाहरूबारे एक वंशावली फेला पारे । त्यो वंशावलीलाई पहिले बेन्डाल वंशावली भनियो । हिजोआज गोपालराज वंशावली भनिन्छ । त्यो वंशावली जगदीशचन्द्र रेग्मीलिखित सन् १९६६ मा प्रकाशित ‘मेडीभल नेपाल’ पुस्तक– भाग ३ मा उपलब्ध छ । त्यसमा ‘एते त्रय महिसपाल राजा ।। ततपश्चात् गोपाल महिषपाल निजर््िजत्य किरातराजा प्रवर्त्तन ः ।।’ लेखिएको छ । यसको भावार्थ हुन्छ, गोपाल महिसपाल राजाहरूलाई जितेर किरात राजा भए ।

डेनियल राइट बेलायतको इस्ट इन्डियाको तर्फबाट सन् १८७० को दशकमा काठमाडौंमा एक कारिन्दा थिए । तिनले भक्तपुरमा सन् १८३० को दशकमा लेखिएको एउटा अर्को वंशावली फेला पारे । नेवार समुदायको बौद्ध अध्येताले लेखेको उक्त सामग्री मुन्सी शिवशंकर सिं र पण्डित श्री गुनानन्दको सहयोगबाट अंग्रेजीमा अनुवाद गरियो । त्यो वंशावली ‘सोसल साइन्स बहाः’ र ‘हिमाल बुक्स’ ले सन् २०१६ मा नेपाली र अंग्रेजीमा ‘नेपालिकभूपवंशावली’ शीर्षकमा प्रकाशित गरेको छ । पुस्तकमा काठमाडौ खाल्डोका राजाहरूका नामसहित केही विवरण समावेश छ । यसमा ‘पूर्व दिशादेखि किराती आई लडाईं गरी गोपाल राजालाई जिती, नेपालमा राजा भए’ भन्ने लेखिएको छ (पृष्ठ २७) ।

इमानसिं चेम्जोङले ‘हिष्टोरी एण्ड कल्चर अफ किरात पिपुल’ पुस्तकमा ‘किर्यत’ वा ‘किर्जथ’ शब्द अपप्रंस भई किरात शब्द बनेको लेखेका छन् । किर्यत वा किर्जथ मध्यपूर्व (सिरिया) का प्राचीन सेमिटिक समुदायसँग सम्बन्धित छ । किर्यत वा किर्जथले शत्रुबाट जोगिने किल्ला भन्ने बुझाउँछ । तर, आनुवंशिक वंशावली तथा मुन्धुममा किरात सिरियाबाट नेपालतर्फ आएको संकेत कतै पाइन्न । यद्यपि मानव (होमो सापिएन्स) आजभन्दा करिब ३ लाख १५ हजार वर्ष पहिले अफ्रिकामा उद्विकास भएको जीवाष्म पाइएको छ । मानव उद्विकासका निम्ति पूर्वी अफ्रिकाको रिफ्ट भ्याली सबैभन्दा उर्बर मानिन्छ ।

‘केरैत’ बाट किरात

विश्व मानचित्रमा युरेसिया स्टेप्प भनेर चिनिने भूगोल युरोप र एसियाको मध्यभागमा हंगेरीदेखि मंगोलिया पूर्वको मन्चुरियासम्म फैलिएको छ । त्यहाँका उच्च भूगोलमा समथर घाँसे मैदान छन् । त्यो मैदानी क्षेत्रमा लामा रौंले ढाकिएका हात्ती (म्यामुथस प्रिमिजेनियस) लगायत ठूल्ठूला जनावरहरू प्रशस्त थिए । तिनीहरू अफ्रिकाका झैं खतरनाक थिएनन् र चाँडो दौडिन पनि सक्दैनथे । र, तिनीहरूलाई मार्न सजिलो हुन्थ्यो । बितेको ४० हजार वर्षयता युरेसिया स्टेप्पको युरोप खण्डमा मात्रै करिब डेढ दर्जन ठूला जनावर लोप भए । यसरी लोप हुनुको एक कारण ती जनावरलाई प्रागैतिहासिक मानवले सिकार गरे ।

पूर्वी अफ्रिकाबाट मानव समूहहरू पश्चिम एसिया (येमेन, ओमन) र मध्यपूर्वको इरान भई दक्षिण र दक्षिणपूर्व एसियामा करिब ७० हजार वर्षअघि पुगेका थिए । त्यता नजाने मानव समूह मध्यपूर्वबाट युरेसिया स्टेप्पतिर लागे । केही समूह अफ्रिकालगायत मध्यपूर्वमा अडिए । मानवको प्रागैतिहासिक गतिविधिसम्बन्धी लेखिएका पुस्तकहरूमा होमो सापिएन्स युरेसिया स्टेप्पमा ५०,६० हजार वर्षपहिले पुगेको उल्लेख छ ।

जीवाष्म तथा आनुवंशिक अध्ययनले प्रागैतिहासिक युगमा मानव गतिविधिको धमिलो तस्बिर मस्तिकमा उतार्न सकिन्छ । यसअनुसार, उनीहरू कहिले युरेसिया स्टेप्पको पूर्वतर्फ लाग्थे, कहिले पश्चिम । कुनै समूह पूर्वोत्तरतर्फ फैलिन्थ्यो, कुनै दक्षिणतिर लाग्थे । उनीहरू २०,३० हजार वर्षसम्म युरेसिया स्टेप्पमा भौतारिँदा अनेकन् हन्डर खाए । भिन्न समूहबीच लडाइँ हुन्थ्यो । कहिले पूरै समूह सखाप हुन्थ्यो । फेरि त्यहाँ नयाँ समूहको जनसंख्या विस्तार हुन्थ्यो । यसै क्रममा ३०, ३५ हजार वर्षपहिले युरेसियाको पनि मध्यएसियायी खण्डमा मानवको वंशाणुमा उत्परिवर्तन (म्युटेसन) भई आर्यमूलको नस्ल जन्म भयो । तीमध्ये एक समूह जाग्रोस माउन्टेन आसपासका क्षेत्रमा करिब ९ हजार वर्षअघि इरानियन एग्रिकल्चर ग्रुपका रूपमा देखिए । उनीहरूले टिग्रिस (इराक) मा गहुँ खेती गरे । तिनैमध्ये केही यम्नय पास्टोरालिस्टका रूपमा चिनिन्छन् । यो समूहले युरेसिया स्टेप्पमा दूधका लागि गाईबस्तु पाल्थे । तिनीहरू करिब ५ हजार वर्षपहिले कजाकस्तानबाट मंगोलिया नजिक अल्टई माउन्टेनतर्फ गएको आनुवंशिक अध्ययनले बताउँछ । तिनीहरू निश्चय नै वैदिक आर्य हुनुपर्छ । यी वैदिक आर्यहरू करिब ३५ सय वर्षअघि दक्षिण–एसिया आइपुग्दा सिन्धुघाटी सभ्यता विलय भइसकेको थियो । उनीहरूले पाकिस्तान र भारतको पन्जाब प्रान्त आसपास रहँदा ऋग्वेद लेखे । त्यसपछि यजुर्वेद, अथर्ववेद र सामवेद लेखे ।

अब युरेसिया स्टेप्पतिर लागौं । मंगोलियाको उत्तरतर्फ रहेको वैकाल ताल आसपासको क्षेत्र पूर्वी अफ्रिकाको जस्तै रिफ्ट भ्याली हो । यस्ता रिफ्ट भ्याली पृथ्वीको सतहमुनि भएका टेक्टोनिक प्लेटहरू एकआपसमा टाढा हुँदै जाने क्रममा भूसतह गहिरिँदै गएर बन्छन् । यही तालको आसपास रहने मानवको वंशाणुमा उत्परिवर्तन भई त्यहाँ मंगोल नस्लको जन्म भयो ।

सन् २००० मा प्रकाशित ‘हिस्टोरी अफ सिभिलाइजेसन अफ सेन्ट्रल एसिया’, भोलुम ४, पार्ट टु पुस्तकमा मंगोलियाको प्राचीन ५ जातिमध्ये एक ‘केरैत’ भन्ने लेखिएको छ । त्यसमा थप लेखिएको छ– उनीहरू लडाकु स्वभावका थिए । तिनीहरू साइबेरिया, बैकाल तालको दक्षिणतिर बसोबास गर्थे । ‘केरैत’ शब्द उज्वेकिस्तानमा निकै लोकप्रिय छ । त्यहाँको एक सहरको नाम पनि ‘केरैत’ छ । एउटा हवाई मैदानको नाम पनि ‘केरैत’ छ । जोन म्यानलिखित ‘चेंगेज खान’ (सन् २०११) पुस्तकमा मंगोलियामा ‘केरैत’ जातिबारे प्रशस्तै चर्चा छ ।

बैकाल ताल आसपास क्षेत्रबाट मंगोलियन नस्ल २ समूहमा छुट्टिएको पढ्न पाइन्छ । एउटा समूह कोरिया र अर्को उत्तर–चीनतर्फ गए । कोरियातर्फ जानेहरू जापानमा पनि फैलिए । उत्तरचीन तर्फ जाने समूह येल्लो रिभरतर्फ फैलिए । येल्लो रिभरको उत्पत्ति चीनको कोकोनर (क्विन्घाई) ताल आसपासबाट भएको हो । उत्तर–चीनतर्फ आएका मंगोलियन नस्लका मानव कोकोनर तालका आसपास पनि फैलिए । गुरुङहरू कोकोनर तालकै आसपासबाट आएको डीएनए अध्ययनले पुष्टि भइसकेको छ । मंगोलियाभन्दा पश्चिमतर्फ वैदिक आर्यहरू थिए । ‘केरैत’ हरू मंगोलियादेखि मध्यएसियाई देश उज्वेकिस्तानसम्म आवतजावत गर्थे भन्ने प्राचीन मध्यएसियाको सभ्यतासम्बन्धी लेखिएका पुस्तकहरूमा पढ्न पाइन्छ । हिजोआज पनि उज्वेकिस्तानमा एक सहर र एक हवाई मैदानको नाम ‘केरैत’ छ । यसकारण वैदिक आर्यहरू दक्षिण एसियातर्फ लाग्नुअघि नै ‘केरैत’ समुदायसँग परिचित भएको हुनुपर्छ । वैदिक आर्यहरू करिब ३५ सय वर्षअघि दक्षिण एसिया आइपुगे ।

निश्चय नै वैदिक आर्यहरूले मंगोलिया उत्तर र उत्तरपश्चिम चीनमा मंगोलियन नस्लका ‘केरैत’ लाई समूहमा गुफा नजिक बसेको देखेका थिए होलान् । उनीहरूले भारतमा ‘यजुर्वेद’ लेख्दाको अवधिमा तिनै ‘केरैत’ समुदायसँग मिल्दाजुल्दा मानव भारतमा पनि देखे । उनीहरूले ‘केरैत’ लाई तुरुन्तै चिने र गुफाको हेरविचार गर्न नियुक्त गर्नुपर्छ भनी लेखे । उसबेला भारत वर्षमा वैदिक आर्यको मान्यताअनुसार, शासन सुरु भएको थियो । माथि चर्चा गरिएको छ– अथर्ववेदमा ‘कैराती’ लेखिएको छ । वेदमा पहिले ‘केरैत’ नै लेखिएको थियो होला । पछि त्यसलाई ‘कैराती’ र किरात लेखिएको हुनुपर्छ । वेदमा लेखिएको ‘नैषाद’ हिजोआज निषाद भनेर चिनिन्छ ।

उत्तर र पूर्वबाट आए

बायुङ (बाहिङ) राईको ५ दिने पितृसंस्कार ‘सेग्रो’ को मुन्दम (मुन्धुम) वाचनमा ‘जम्मुमा लाम’, ‘जोजिला लाम’, ‘खैबर लाम’ र ‘पैतिक लाम’ आदि उल्लेख हुँदोरहेछ । राई–लिम्बू दुवै बाटोलाई लाम भन्छन् । राईका मुन्दुमविद् भोगीराज चाम्लिङले बाहिङ राईको मुन्दुममा आएको बाटा जम्मु र जोजिला भारतको उत्तरपश्चिम भूगोलमा रहेको पहाड भन्ने जनाएका छन् । यस्तै खैबर र पैतिक लाममध्ये अघिल्लो पाकिस्तान र अफगानिस्तानको सिमानामा पर्ने हिमालको नाका र पछिल्लोचाहिँ भारतको लद्दाखभन्दा उत्तरतर्फको नाका हो । यसले बायुङ राई प्राचीनकालमा भारतको उत्तरपश्चिमबाट आएको संकेत गर्छ ।

लिम्बूको मुन्धुममा तिनका पूर्वजहरू उत्तरतर्फबाट आएको संकेत पाइन्छ । यसलाई किरात भाषासँग पनि जोड्न सकिन्छ । किरातहरू टिबेटो–वर्मन भाषा परिवारअन्तर्गतका विभिन्न भाषा बोल्छन् । टिबेटो–वर्मन भाषाको सुरुवात येल्लो रिभर बेसिनमा करिब ५ हजार वर्षपहिले सुरु भएको मानिन्छ । नेपालमा यो भाषा करिब ३ हजार वर्षअघि बोल्न थालिएको आकलन छ । तर, मानव चहलपहल भने पूर्वी नेपालमा ८,१० हजार वर्षपहिले नै थियो भन्ने गुड्रन कोर्विनसले लेखेको ‘प्रिहिस्टोरिक कल्चर्स इन नेपाल’ (सन् २००७) पुस्तकमा प्रमाण उपलब्ध छ । उनले महोत्तरी जिल्लाअन्तर्गत सिवालिक क्षेत्रमा एक ढुंगे युगको हतियार कारखानाको अवशेष पाएकी थिइन् । ती हतियारहरू ८,१० हजार वर्ष पुराना अर्थात् मध्यपाषाण युगका थिए । अर्को कुरा, ती हतियारको स्वरुप भियतनाममा पाइएको मध्यपाषाण युगका हतियारसँग मिल्दाजुल्दा छन् ।

भियतनामका आदिवासीको पूर्वज प्रोटो–अस्ट्रोएसियाटिक मानिन्छ । उनीहरू पहिले दक्षिणी चीन, युनान, याङ्जे नदी तथा दक्षिणपूर्व एसियाको मुख्य भूभागमा बस्थे । नेपालमा मुन्डा, सन्थाल, खरिया जाति अस्ट्रोएसियाटिक भाषा परिवारको भाषा बोल्छन् । यसकारण तराई नजिकको शिवालिक क्षेत्रमा आजका मुन्डा, सन्थाल, खरियाका पूर्वज थिए होलान् भन्ने अनुमान गर्न सकिन्छ । यस्तै भारतको निकोबार द्वीपमा मंगोलियन मूलका मानव ३० हजार हजार वर्षअघि पुगेको भारतीय इतिहासबाट थाहा पाइन्छ । त्यहाँ मंगोलियन मूलका सोप्मेन र निकोबारिज आदिवासी छन् । यसबाट उनीहरूकै एक समूह महोत्तरीसम्म आइपुगेको थियो कि ?

हिजोआज कसैको वंशज कताबाट आएका हुन् भनेर थाहा पाउन युरोप, अमेरिका र अस्ट्रेलियामा एन्सेस्टरी डीएनए परीक्षण गरिन्छ । अहिलेसम्म जति पनि किरात समुदायका एन्सेस्टरी डीएनए परीक्षण भए तिनका डीएनए म्याचिङ सिरियातर्फ नभई हिमालउत्तर र पूर्वतर्फ देखाउँछ । किरातका डीएनए म्याचिङ पूर्वी चीन, ताइवान, कोरिया, मंगोलिया र दक्षिणपूर्व एसियाका बासिन्दासँग बढी सामीप्य देखिन्छ । यो पंक्तिकारले संयुक्त राज्य अमेरिकाको मिचिगनको स्टेट युनिभर्सिटी, इस्ट लान्सिङका प्राध्यापक डा. मारोहाङ खवाहाङको आनुवंशिक वंशावली अर्थात् जेनेटिक्स जेनेओलोजीको रिपोर्ट प्राप्त गरेको थियो । मारोहाङको आनुवंश अर्थात् डीएनएको सिक्वेन्सिङ पूर्वी चीनका बासिन्दासँग निकै हदसम्म मिल्दोरहेछ । यस्तै, बेलायत बसोबास गरिरहेकी नतासा फाबेन (लिम्बू) को आनुवंशिक वंशावली पनि उत्तर चीन र कोरियाको बासिन्दासँग करिब ७१ प्रतिशत मिल्दोजुल्दो छ । उनको डीएनए मंगोलिया, ताइवान, थाइल्यान्ड, बर्माका बासिन्दासँग पनि मेल खान्छ । केहीको तिब्बतीसँग पनि केही प्रतिशत म्याच भएको पाइन्छ । समग्रमा किरातीको डीएनए म्याचिङ चीन र कोरियनसँग बढी हुन्छ । यसले किरातको आनुवंशिक वंशावली मूलतः चीन, कोरिया र दक्षिणपूर्व एसिायमा जोडिन्छ ।

मुन्धुमविद् डीबी आङ्बुङले तेह्रथुम जिल्लास्थित फेदाप गाउँपालिकाको सिम्ले माझगाउँमा नवपाषाण युगका हतियार संकलन गरेका छन् । नवपाषाण युग ६ देखि १० हजार वर्षअघिको हो । केही हतियार भने नवपाषाणकालभन्दा पछिका जस्ता छन् । तिनीहरू ४ देखि १० हजार वर्ष पुराना हुनुपर्छ । लिम्बू विशेषतः ढुंगे हतियारलाई सुँगुरको खोरमा राख्दा रहेछन् । त्यहाँ हतियार राख्दा रोगव्याधि नलाग्ने विश्वास गरिँदो रहेछ । तर, सुँगुर दक्षिणपूर्व एसियाबाट पाल्न सुरु गरिएको हो । यसले किरातका समूहहरू विभिन्न कालखण्डमा उत्तरपूर्व र दक्षिणपूर्वबाट नेपाल आइपुगेको पुष्टि हुन्छ । मुन्धुमविद् अर्जुन माबुहाङले ‘लिम्बू जातिको मुन्धुम र इतिहास’ (२०६९) पुस्तकमा तमोर नदी किनार, लेलेप, इखाबु, तापेथोक, हेल्लोक आदि ठाउँमा लिम्बूका प्राचीन गतिविधिका विवरण मुन्धुममा उल्लेख हुने गरेको लेखेका छन् । लिम्बूको मरोपरोमा अदुवाबेगर सुध्याइँ सम्पन्न हुँदैन । अदुवाको उद्गमस्थल दक्षिणपूर्वी चीनलगायत भारतको पूर्वोत्तर भाग हो । यस्तै लिम्बूको मुन्धुममा कागुनी (फक्सटेल मिलेट) को चर्चा हुँदो रहेछ । त्यो कोदोको उद्गमस्थल पनि पूर्वी चीन मानिन्छ । तर, हिजो–आज व्यापक रूपमा पाइने कोदो त अफ्रिकाबाट ल्याइएको हो । यस आधारमा लिम्बू अरुणखोला पूर्वोत्तरमा रहेको हिमालय क्षेत्र पार गरेर हिमाली र पहाडी भेगमा पुगेका हुन् ।

लिम्बूको मुन्धुमको मूल स्रोत पनि उत्तरतर्फबाट आएकालाई मानिन्छ । पूर्वतर्फ भारत छिचोलेर पूर्वी पहाडी भूभागमा पुगेका समुदाय पनि लिम्बू समुदायमा परिणत भए । उहिले, जो जुन समूह अरुण पूर्व पुग्थे, उनीहरू लिम्बू समुदायमा परिणत हुन्थे । अपवादमा उच्च हिमाली भेगमा बस्नेचाहिँ भोटको संस्कृतिसँग जोडिएर भोटे रहे । पूर्वतर्फबाट आउने समूहमा मुन्धुम विरलै पाइन्छ । उनीहरू नेपालमा मात्र होइन, भारतको पूर्वोत्तर क्षेत्रमा व्यापक फैलिएका थिए । वैदिक आर्यर्ले ‘यजुर्वेद’ र ‘अथर्ववेद’ मा मंगोलियन मूलका समुदायलाई ‘केरैत’ लेखे । केरैत नै कालान्तरमा ‘किरात’ शब्दमा अपभ्रंस भएको हो । राई, लिम्बू, याक्खा, सुनुवार शब्द त केही सय वर्षपहिलेदेखि मात्रै प्रचलनमा आएको हो । त्यसैले लिम्बूले ‘हामी किरात होइनौं’ भन्नु किरातको प्राचीन र प्रागैतिहासिक अवस्था नबुझ्नु हो ।

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्

रेड पान्डाको संरक्षण र पर्यटन

रेडपान्डाको आखेटोपहार संसारमा कहीँकतै बिक्री हुँदैन भन्ने सत्यतथ्य संरक्षणकर्मीहरूले प्रचारप्रसार गर्न सकेका छैनन् ।
कमल मादेन

दुई वर्षअघिसम्म संसारभरका हाब्रे (रेडपान्डा) हरू एकै प्रजातिका मानिन्थे । अर्जुन थापाले विद्यावारिधि गर्ने क्रममा नेपालदेखि चीनको युनानसम्मका हाब्रेको आनुवंशिक अध्ययन गर्दा ती दुई प्रजातिका रहेको पत्ता लगाए (हेर्नुस्, ‘इभोलुसनरी बाइलोजी’, भोल्युम ६ अंक ९, २६ फेब्रुअरी २०२०) । त्यसमा चीनको यालु जाङ्बु अर्थात् ब्रह्मपुत्र नदीको पश्चिमतर्फ पाइने हाब्रेलाई हिमालयन रेड पान्डा र त्यसभन्दा पूर्व म्यान्मार तथा चीनमा पाईने हाब्रेलाई चाइनिज रेड पान्डा नाम दिइएको छ । अर्को अनुसन्धानले अरुणाचलमा पनि चाइनिज रेड पान्डा पाइने देखाएको छ ।

हाब्रे लज्जालु स्वभावको हुन्छ । यो वनजंगलमा बरु मारिइन्छ तर कुदेर भाग्दैन । सुन्दर भएकै कारण, केही शताब्दीअघिदेखि यसलाई विशेषतः युरोप र अमेरिकामा लैजान सुरु गरियो । नेपाल र भारतका सीमावर्ती क्षेत्रहरूबाट सन् १९६० को दशकमा ५०० भन्दा बढी हाब्रे घरमा पाल्न र जन्तु उद्यानमा राख्न विदेश निर्यात भए । क्यालिफोर्नियाको सान जोस स्टेट युनिभर्सिटीका ब्राइन बिलियम्सले २००४ मा इलाममा हिमालयन हाब्रेको अवस्था अध्ययन गरेका थिए । उनको एउटा लेखमा हाब्रे १९९० को दशकमा इलामबाट प्रतिगोटा जिउँदो १८ सय रुपैयाँमा बिक्री हुने उल्लेख छ । विदेशका जन्तु उद्यानमा हाब्रे एउटा आकर्षक वन्यजन्तु मानिन्छ । नेपालमा भने यसले खासै महत्त्व पाउन सकेको छैन ।

नेपाल सरकार तराई क्षेत्रमा पर्यटनका निम्ति बाघ, गैंडा र चरा च्यापेर बसेको छ । मध्यपहाडी क्षेत्रमा प्रकृतिमा आश्रित पर्यटन शून्यप्रायः छ । त्यहाँ केबाट पर्यटन प्रवर्द्धन हुन सक्छ भन्नेबारे कमै बहस भएको होला । उक्त क्षेत्रमा हाब्रेलाई पर्यटनको प्रमुख स्रोत बनाउन सकिन्छ । किनभने संसारभरका जन्तु उद्यानमा हाब्रेको आकर्षण उच्च छ । नेपालमा यो वन्यजन्तु अझै कम्तीमा दुई दर्जन जिल्लामा ५०० भन्दा बढी भएको अनुमान छ । तर, यसको अवस्था अत्यन्त नाजुक छ ।

व्यर्थ सिकार

हाब्रे बिचरो वन्यजन्तु हो । यसको छाला तथा हाडखोर (आखेटोपहार) संसारभर कतै बिक्री हुँदैन । तर, यसलाई आखेटोपहारकै निम्ति मार्ने गरिन्छ । किन यसको आखेटोपहार बिक्री हुन्छ भन्ने गलत सूचना फैलिरहेको छ ? यसबारे ट्राफिक (ट्रेड रेकर्डस् एनालाइसिस अफ फ्लोरा एन्ड फाउना इन कमर्स) नामक संस्थाले भिन्नाभिन्नै गरेका दुइटा अध्ययनका नतिजा सन् २०१८ र २०२० मा प्रकाशित भएका छन् । २०२० मै डम्बर बिष्ट र अरूले नेपालमा गरेको अध्ययन नतिजा ‘ह्युमन डाइमेन्सन्स अफ वाइल्डलाइफ’ जर्नलको भोल्युम २५(४) मा प्रकाशित छ । तीनै लेख पढ्दा स्पष्ट हुन्छ, हाब्रेको आखेटोपहारको बजार शून्य छ । तर पनि यसको आखेटोपहार सबैभन्दा बढी नेपालमा पक्राउ पर्दो रहेछ ।

हाब्रेको मासु अन्य सबै जनावरको भन्दा नमीठो हुँदो रहेछ । सिकारीले पनि नखाने ! यसको छालाबाट लुगा बनेको र मासु औषधिका निम्ति प्रयोग भएको हालैका दशकमा संसारभर कतै पाइएको छैन । हाब्रेको आखेटोपहार अन्य देश लैजाँदै गरेको अवस्थामा अहिलेसम्म विमानस्थल र सीमानाकामा कोही पक्राउ परेकै छैन । यसबाट यो विदेश निर्यात हुँदैन भन्ने संकेत पाइन्छ । बाहिर निर्यात हुने गैरकानुनी वस्तु धेरैजसो नाका वा विमानस्थलमै पक्राउ पर्ने गर्छन् । रेड पान्डाको आखेटोपहारसँग पक्राउ पर्नेमा पहिले कहिल्यै वन्यजन्तु तस्करी अभियोगमा नपरेका व्यक्ति छन् । खाँट्टी वन्यजन्तु तस्करहरूले हाब्रेलाई तस्करीयोग्य पनि नमान्दा रहेछन् । तैपनि हाब्रेको सिकार किन हुन्छ ? जानकारहरूका अनुसार, गलत सूचनाका आधारमा अनाडी व्यक्तिहरू यसको पछि लाग्छन् ।

गलत प्रचारप्रसार

प्रश्न उब्जिन्छ, किन नेपालमा हाब्रे वर्षैंपिच्छे उल्लेख्य संख्यामा मारिन्छन् र आखेटोपहारसहित अनेक व्यक्ति पकाउ पर्छन् ? एउटा अध्ययन प्रतिवेदनले अचम्म लाग्ने जानकारी प्रस्तुत गरेको छ । पहिलो कारण हो— प्रहरीको कार्यशैली । प्रहरीहरू छद्म व्यापारीको वेशमा हाब्रेको व्यापारी भएर गाउँगाउँमा पुग्दा रहेछन् । हाब्रेको छाला कसकोमा होला भनेर सोधीखोजी गर्छन् । यस्तो कुरा गाउँका ‘लट्ठक’ का कानमा पनि पुग्छ । गाउँघरमा स्यालको सिङ खोज्नेहरू पुगेको त सुन्ने गरिएकै छ, नभएको स्यालको सिङभन्दा त हाब्रे पाउन सजिलो ! अनि उनीहरू पैसा चाँडै कमाउने ध्येयले हाब्रे मारेर सहरमा ग्राहक खोज्दाखोज्दै प्रहरीको पासोमा पर्ने गर्छन् ।

हाब्रे चोरीसिकारमा संरक्षणकर्मीको भूमिका प्रहरीको भन्दा अझ डरलाग्दो छ । संरक्षणकर्मीहरूले हाब्रेको चोरीसिकार हुन्छ, यसैले यसलाई जोगाउनुपर्छ भनेर हाब्रे पाइने जंगलआसपास कुरा पुर्‍याउँछन् । काम गरी खान नचाहने जमातमध्ये केही तुरुन्तै यसलाई मारेर सजिलै पैसा कमाउने लालचमा फस्छन् । तेस्रो, पत्रपत्रिका तथा सामाजिक सञ्जालले हाब्रे कारोबारी पक्राउ परे भन्ने समाचार प्राथमिकतासाथ प्रकाशित गर्छन् । पक्राउ परेर जेल पर्नेसम्म जोखिम रहेपछि यसको मूल्य अवश्य निकै धेरै होला भन्ने बुझाइ गाउँगाउँमा फैलिएको छ ।

संरक्षणकर्मीले हाब्रे अचेल संसारभर कतै पनि बिक्री हुँदैन भन्ने सत्यतथ्य पत्रपत्रिकाबाट प्रचार गर्न सकेका छैनन् । संरक्षणकर्मीले नै हाब्रेसँग जोडिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनबारे कमै चर्चा गर्छन् । हाब्रे सिकारसम्बद्ध अभियुक्तहरू केकति संख्यामा कुनकुन जिल्लाबाट पक्राउ परी जेल जीवन बिताइरहेका छन् भन्ने स्पष्ट तथ्यांक उनीहरूसँग छैन । प्रहरी जेजसरी हुन्छ, बढीभन्दा बढी हाब्रे अभियुक्तहरू अदालतसम्म पुर्‍याउने ध्येयमा मात्र छ ।

गाउँतिर कसैका घरमा हाब्रेको छाला फेला परे सम्बन्धित घरधनी तुरुन्तै जेल पर्छ । तर, सहरमा बाघको छाला र गैंडाको सिङ आदि उपल्लो तहका व्यक्तिहरूका घरघरमा सजावटका सामानझैं राखिएका छन् । त्यो पनि गैरकानुनी हो भन्ने कुरा प्रहरीले अहिलेसम्म बुझ्न सकेको छैन । वन मन्त्रालयका कर्मचारी त यसबारे बेखबरजस्तै छन्, राणाकालीन सोचमा छन् । निम्न वर्गका व्यक्तिलाई जेजति सकिन्छ, कारबाही गर्नुपर्छ, उपल्लो तहलाई नजर उठाएर हेर्नसम्म हुन्न भन्ने धारणा छ उनीहरूमा । यसबारे संरक्षण अभियन्ता कुमार पौडेलले सर्वोच्च अदालतमा मुद्दा नै दर्ता गरेका छन्, तर दुई–तीन वर्षयता सुनुवाइ सरेको सर्‍यै छ ।

अब कुरा जोडौं हाब्रेकै । रेड पान्डा नेटवर्कले विशेष रूपमा इलाम र पाँचथरमा स्थानीय बासिन्दासँग मिलेर हाब्रे संरक्षणको कार्यक्रम गरिरहेको छ । सुरुसुरुमा इलाम र पाँचथर आसपासका जिल्लामा गलत सन्देश फैलियो पनि होला, तर हालैका वर्षमा त्यहाँ हाब्रे सिकार र तस्करी शून्य बराबर झरेको छ । हाब्रे सिकार र तस्करी अचेल मध्य र पश्चिम नेपालमा अलि बढेको छ ।

संरक्षण नीति

नेपालको संरक्षण नीतिका कारण हाब्रे जोगिन र हाब्रे हुने जंगल आसपासका बासिन्दा लाभान्वित हुन सक्ने अवस्था छैन । राज्यले यसलाई जोगाउने र स्थानीय बासिन्दा लाभान्वित हुन सक्ने नीति अवलम्बन गर्नुपर्छ । जनप्रतिनिधिहरूले नेपालका वनजंगल र जैविक विविधता संरक्षण गर्न अनि त्यसलाई जनतासँग जोड्न मौजुदा कानुनबारे स्पष्ट हुनैपर्छ । कानुन तथा नियमावली परिमार्जन गर्न आवश्यक छ भने परिमार्जन गर्नुपर्छ । नयाँ बनाउनुपर्ने हो भने बनाउनुपर्छ । नेपालको संविधान–२०७२ अनुसार राष्ट्रिय वन नीति तथा पर्यटन नीति संघ सरकार र प्रदेशभित्रको राष्ट्रिय वन तथा वातावरण व्यवस्थापन प्रदेश मातहत छ । वातावरण संरक्षण र जैविक विविधता संघ र प्रदेशको साझा अधिकार अन्तर्गत राखिएको छ । यस्तै, स्थानीय तहको अधिकार सूचीमा वातावरण संरक्षण र जैविक विविधता समावेश छ । हाब्रे रहेको वनजंगललाई हाब्रे संरक्षणसँग जोडेर पर्यटन केकसरी गर्ने भनेर ऐननियम बनाउनुपर्छ ।

इलामको सन्दकपुर गाउँपालिकाले हाब्रेलाई मुख्य आधार मानेर हाब्रे प्रजनन केन्द्र स्थापना गर्ने सोचका साथ छलफल अगाडि बढाएको छ । हाब्रे नेपालको संरक्षित वन्यजन्तु हो । अहिलेको कानुन अनुसार नेपालको संरक्षित वन्यजन्तुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाहेक अन्यबाट व्यवस्थापन गर्न पाइन्न । नेपालमा दुईतिहाइभन्दा बढी हाब्रे संरक्षित क्षेत्रबाहिर छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले एकतिहाइ हाब्रेलाई मात्र निगरानी गर्ने गरेको छ । अन्य वन भने वन विभागको अधिकार क्षेत्रमा पर्छन् । प्रदेश र स्थानीय तहको हाब्रे लगायतका वन्यजन्तु व्यवस्थापनमा कानुनी हैसियत छैन । तिनले यसबारे सरोकार राख्दैनन् । यसकारण, सही रूपमा हाब्रे संरक्षण हुन सकिरहेको छैन । हाब्रे अनायासै मारिनुको कारण पनि यही हो । संविधान बमोजिम प्रदेश र स्थानीय तह त बने, वन्यजन्तु सम्बन्धी पनि बढी अधिकारचाहिँ संघमै राखियो । संरक्षित वन्यजन्तुलाई जोगाउन, व्यवस्थापन गर्न प्रदेश र स्थानीय तहलाई पनि कानुनी अधिकार दिनुपर्छ ।

यसो गरे मात्र संरक्षित वन्यजन्तुको सही अर्थमा संरक्षण हुन सक्छ । अझ, मध्यपहाडी जिल्ला र हिमाल जोडिएका जिल्लामा हाब्रेलाई केन्द्रमा राखेर होमस्टे सञ्चालन गरिनुपर्छ । यस्तो पर्यटन इलामका केही गाउँमा सफल भएको छ, जुन विश्वकै निम्ति नयाँ उदाहरण हो । पर्यटन विकास ऐन–२०७६ अनुसार होमस्टे भनेको स्थानीय मौलिक संस्कृति झल्किने–गरी निजी घरमा खाने–बस्ने र मनोरञ्जनसमेत गराउने उद्देश्यले शुल्क लिई पर्यटकका लागि गरिने घरायसी प्रबन्ध हो । अब, हाब्रे लगायतका दुर्लभ जैविक विविधता देखाएर मनोरञ्जन गराउन होमस्टे व्यवस्थापन गर्नुपर्ने कुरा पनि ऐनमा थप्नुपर्छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×