दरिद्रता : दस प्रकरण- कोसेली - कान्तिपुर समाचार

दरिद्रता : दस प्रकरण

विनोदविक्रम केसी

१.
यति दरिद्र पनि के हुनु ?
एकदुई तोला लज्जा पनि नहोस् आफूसँग
यति दरिद्र पनि के हुनु ?
तीनचार मासा इमान पनि नहोस् आफूसँग
यति दरिद्र पनि के हुनु ?
पााच–छ लाल निश्छलता पनि नहोस् आफूसँग
... ... ...
यति दरिद्र हुने छुट कसैलाई छैन ।

२.

म यता रोटीको पहाडको फेदीमै छु

उनीहरु उता फोर्ब्सको चुली चढिसकेछन्

लोकसेवा परीक्षार्थीहरु हो !

रट्नुपर्ने कुरा अर्कै छ—

को हो यो दुनियाँको सबैभन्दा नृशंस अर्बपति ?

जो अर्बौं मान्छेको दरिद्रतामाथि उभिएको छ ।


३.

तिमी मलाई कहिले कोटसँग जोख्छौ

कहिले जुत्तासँग

कहिले वालेटसँग

मलाई नजोखी तिमी यत्तिकै

आत्मसात् गर्नै सक्दैनौ

ए आँखामा ढक–तराजु बोकेर हिँड्ने मान्छे !

मलाई तिम्रो दरिद्रताप्रति खेद छ ।


४.

बगलीमा एक कप चिया खाने औकात नहुनु

अथवा, एउटा चुरोट फुक्ने बर्कत नहुनु

र पनि,

दरिद्रताको आभास छैन

तर, फन्किएर हिँड्ने एउटा साथीले

मलाई संसारकै दरिद्र बनाइदिन्छ ।


५.

यो देश के सारो दरिद्र भाको !

प्रेमिका र प्रेमीहरुलाई दिनका निम्ति

योसाग चक्कुको धारसिबाय केही छैन

यो देश हो कि

चक्कुको उपनिवेश ?

मेरो प्रेम बाँसुरी हो

धुनमा निमग्न हुन नसक्ने दरिद्रता नत्यागेसम्म

यो देश मेरो प्रेमको लायक हुन सक्दैन ।


६.

कमरेडलाई अचेल रातो मन पर्दैन

खैरो मन पर्छ

उहाँले भर्खरै घरमा खैरो रङ लगाउनुभएको छ

हालसालै किनेको नयाँ गाडी पनि खैरै छ

सुट पनि खैरो लगाउनुहुन्छ

रातोसँग टुटिसकेको छ मोह

यो दरिद्रहरुको रङ हो— उहाालाई तत्त्वबोध भइसक्यो

उहाँको विचार पनि खैरो भइसकेको छ

बस्, रातोबाट फिक्किादै फिक्किँदै जानुको

दरिद्रताको उहाँलाई हेक्का छैन ।


७.

दरिद्रताको पाराकाष्ठा हो यो

मान्छेहरुसँग मुटु बाँकी छैन

बेलुनका मुटुहरुमार्फत

साटासाट हुन्छ प्रेम

मार्फत गरिएपछि

प्रेमसँग न धड्कन बाँकी रहन्छ, न रगत

यति दरिद्र हालतमा प्रेमलाई भेट्नु

पृथ्वीको अन्तिम त्रासदी हो ।


८.

‘जि’ देखि ‘गी’ सम्म

जिन्दगी सर्वत्र अभावग्रस्त किन नहोस्

कुनै गुनासो छैन

लत्रेर–झुकेर बाँच्ने एउटा मृत्युबाहेक

जतिवटा गरिबी पनि धारण गर्न सक्छु म ।


९.

सारा प्रयत्न यही हुनुपर्छ, कि—

दरिद्रता लोप भइजाओस्

तर, यो सारा प्रक्रियामा

मान्छेभित्र

मान्छे विलुप्त भएर

कुनै खुङ्खार प्राणीको

जन्म हुनु हुँदैन ।


१०.

म त के थिएँ र ?

दरिद्रताको पिँजडामा बन्दी

पन्छी न थिएँ

बन्धनको तार ठुङ्दाठुङ्दा जीवन रगतपच्छे थियो

र, एक दिन

तिमीले मलाई तिम्रा आँखाहरुको आगालोमा

यसरी बाँधिदियौ, कि—

म मुक्त भएँ

सिङ्गै आकाश मेरो भयो ।

प्रकाशित : जेष्ठ २८, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

जब महेन्द्रले पाँच–पाँच बिघा जमिन बक्सिए...

राजा महेन्द्रको जन्मोत्सवमा फोटो छपाउन म कलकत्ता गएँ । छपाएर ल्याएपछि फोटो दरबार पुग्यो । फोटोमा राजाको एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । राजाले भने, ‘मेरो सुनको दाँत त कालो पो आएछ ।’
दुर्गाप्रसाद श्रेष्ठ

यो घटना ०१९ सालतिरको हो । ‘गोरखापत्र’ मा राजा महेन्द्रको एउटा कविता छापियो– मवीवि शाहको नाउँबाट– ‘रारा की अप्सरा’ ! रारा दहको नैसर्गिक सौन्दर्यको वर्णन गर्दै लेखिएको थियो कविता । उपमा–अलंकारले भरपूर । मलाई पछि थाहा भयो– मवीवि शाह नेपालका राजा रहेछन्– महेन्द्रवीरविक्रम शाहदेव !

म बनारसमा एमए पढ्दापढ्दै आफ्नी शिष्याको बिहामा आएको थिएँ र पछि ‘प्रगति’ का सम्पादक नारायणप्रसाद बाँस्कोटाको कृपाले सरकारी जागिरदार भएँ । प्रेस (मुद्रणस्थल, छापाखाना) सम्बन्धी ज्ञान भएकाले ‘गोरखापत्र’ छापाखानामा खटाइएँ । गोरखापत्र छापाखाना वस्तुतः गोरखापत्र अखबार छाप्ने हेतुले स्थापना गरिएको रहेछ ।

‘ह्यान्ड कम्पोजिङ’ द्वारा लेख–समाचार ‘कम्पोज’ (विन्यास ?) गरिन्थ्यो र ह्यान्ड–फेड ‘गिद्धे प्रेस’ मा अखबार छापिन्थ्यो । मेसिनको नाउँ त ‘इगल’ (अंग्रेजीमा नाउँ) थियो, तर स्थानीय भाषामा ‘गिद्ध’ बाट ‘गिद्धे’ प्रचलित भयो । पछि ‘कोलम्बो प्लान’ अन्तर्गत बेलायतबाट एक जना ‘एडभाइजर’ आए । उनको सिफारिसअनुसार, ‘लाइनोटाइप’ मेसिन आएपछि ‘ह्यान्ड कम्पोजिङ’ बन्द भयो । अखबार र अन्य सामग्री छाप्न स्वचालित मुद्रण मेसिन पनि आयो । सूचना प्रविधिको विकासमा यो पहिलो कदम थियो । त्यसपछि एएफपीका सल्लाहकारहरूसँग सम्झौता भएपछि ‘टेलिप्रिन्टर’ पनि जडान भयो, त्यसपछि राष्ट्रिय संवाद समितिले समाचार सम्प्रेषणको दिशामा आधुनिक प्रविधि अपनायो ।

‘प्रगति’ का सम्पादक नारायण बाँस्कोटालाई प्रचार विभागमा डाइरेक्टर बनाएपछि त्यसको आमूल परिवर्तन भयो र पछि ‘सूचना–प्रसार मन्त्रालय’ खडा भएपछि त्यो सूचना विभागमा परिवर्तन भयो ।

प्रचार विभागमार्फत ‘पञ्चायती व्यवस्था’ को फिल्मी शैलीमा प्रचार गर्न नेपालको पहिलो चलचित्र ‘आमा’ को निर्माण गरियो । ‘आमा’ मा काम गर्ने कलाकार र गायकहरू सबै सरकारी जागिरदार थिए– शिवशंकर, भुवन थापा, वसुन्धरा भुसाल, इन्द्रलाल, भैरवबहादुर थापा आदि । अनि उत्तम नेपाली र म पनि । गायकहरू थिए– खनारायणगोपाल, तारादेवी आदि । हीरासिंहलाई राजा महेन्द्रले भारत भ्रमणका बेला बम्बईमा भेटेर ‘तिमी नेपालमा काम गर्छौ ?’ भनी सोधेर ‘आमा’ बनाउने जिम्मेवारी दिइएको रहेछ । मेरो बुबा काशीबहादुर श्रेष्ठलाई ‘गोरखापत्र’ को सम्पादकमा नियुक्त गर्न महेन्द्रबाट बोलाइएको रहेछ । बुबालाई जागिर खान मन लागेन र बिन्ती गर्नुभएछ, ‘सरकार, मेरो पत्रिका ‘उदय’ लाई केही आर्थिक मदत बक्से त्यसैमार्फत सेवा गर्नेछु ।’

‘उदय’ लाई प्रचार विभागबाट विज्ञापन दिने आदेश भएपछि ‘अरू केही चाहिन्छ ?’ भनी राजाले सोधे । त्यसपछि बुबाले भन्नुभयो, ‘सरकार, मेरो छोरा दुर्गाप्रसादको नेपाली कथासंग्रह छाप्न आर्थिक मद्दत पाऊँ ।’ तुरुन्तै १२ सय भारु बकस भएछ । यसप्रकार मेरो कथासंग्रह ‘सम्झनाको बादल’ प्रकाशित भयो । पछि यो मराठी र तेलेगु भाषामा पनि प्रकाशित भयो ।

यो चाहिँ २०२८ सालको घटना हो । रौतहटमा हिन्दु–मुसलमान दंगा भएछ । त्यसको शान्ति–सुव्यवस्थाका लागि रामनारायण श्रेष्ठ अञ्चलाधीशको अध्यक्षतामा गृह मन्त्रालयको एउटा टोली खटाइयो । समाचार सम्प्रेषणका लागि मलाई पनि खटाइयो । साथै सेनाको एक टुकडी पनि खटाइएको थियो । सेनाको अधिकृतका साथ म पनि जिपमा बसेर गस्ती गर्न गाउँगाउँ जान्थेँ ।

हामी बस्न चौरमा फुसको झुपडी बनाइएको थियो । खाटहरूको व्यवस्था पनि थियो । नजिकै इनारको पानीले बिहान नुहाउँथ्यौं । रामनारायण श्रेष्ठले बरखी बार्नुभएको रहेछ र बिहानै उठेर नुहाएर तर्पण दिनुहुँदो रहेछ । करिब एक महिनापछि सबै साम्य भएपछि निरीक्षण गर्न राजाको सवारी भयो । हाम्रो टोलीका सबैले एक लाइनमा उभिएर सरकारको स्वागत गर्‍यौं । रामनारायणले सबैको परिचय गराउनुभयो । परिचय पाएपछि राजाले सोधे, ‘तिमी काशीबहादुरको छोरा होइन ?’

‘हो सरकार,’ मैले भनेँ । जाने बेलामा राजाले रामनारायणसँग कुराकानी गरे । त्यहाँबाट राजा ‘दियालो बंगला’ मा बस्ने गरी चितवन हिँडे ।

‘दुर्गाजी, टोलीका सबैलाई सरकारबाट ‘चन्द्रनिगाहपुरमा पाँच–पाँच बिघा जमिन व्यवस्था गरिदिनू’ भन्ने हुकुम भयो । ल, बधाई छ ।’

म सबेलाबजार, धनुषामा जन्मेको ! सुनेर खुसी लाग्यो । तर, अफसोस ! त्यही राति राजालाई हृदयाघात भएपछि नहुने घटना भयो । हाम्रो सपना चकनाचूर भयो । एक पटक राजाको जन्मोत्सवका पोस्टर छपाउन म कलकत्ता गएँ । सानो साइजको फोटोबाट ठूलो आकार (२०”–३०”) को पोस्टर छपाउनुपर्ने । कलकत्ताबाट छपाएर ल्याइयो र नमुना दरबार पठाइयो । फोटोमा राजाको मुहारमा एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । अब सबैले मेरो जागिर जाने भयो भने । सचिव सुन्दरप्रसाद शाह पनि रिसाए र त्यो पोस्टरको नमुना लिएर दरबार पठाए । संवाद सचिव रेणुलाल सिंहलाई पोस्टर दिएँ । उनले सरसर्ती हेरेपछि राजालाई देखाउन भनी लिएर गए । एक छिनपछि उनी फर्केर आउनुभयो ।

म भित्रभित्रै डराइरहेको थिएँ । तर, संवाद सचिवसँग सोध्ने आँट आएन । रेणुलालले एक छिनपछि भने, ‘ठीक छ भनी बक्स्यो । तर, ‘मेरो सुनको दाँत त कालो पो आएछ’ भनिबक्स्यो ।’मैले अफिस फर्केर रेणुलालको सन्देश सुनाएँ । ‘दुर्गाजीको जागिर जाने भो’ भनी आस गरी बसेका सबै खिस्स भए । देश–विदेशका प्रतिभालाई कदर गर्ने राजा महेन्द्रको बानी ‘काबिल–ए–तारिफ’ हो । ‘आमा’ फिल्मको निर्माण गर्ने कुरा उठ्दा राजाबाट प्रेमप्रकाश मल्ललाई पनि गीत गाउने मौका दिनू भन्ने हुकुम भएछ । प्रेमप्रकाश मल्लले राजाको नेपालगन्ज सवारीका बेला क्याम्पमा गीत गाएर सुनाउँदा आवाज मन परेर उनलाई मौका दिनू भनेका रहेछन् । उर्दूमा यस्तोलाई ‘कद्रदँ’ अर्थात् ‘कदर गर्न जान्ने मान्छे’ भन्छन् । राजा महेन्द्र यस्तै थिए ।

तर, अफसोस कलकत्ता पुगेर मल्लजीलाई ‘डेंगु’ ले समातेछ र एक हप्ता होटलको कोठैमा बस्नुपर्‍यो । उनले स्वर्णिम मौका गुमाए । ‘आमा’ फिल्म बनेर आएपछि ‘जयनेपाल सिनेमाघर’ मा ‘प्रिमियम शो’ भयो । राजा र राजपरिवारका साथै उच्चपदस्थ व्यक्तिविशेषले पनि ‘आमा’ हेरेपछि जयनेपालमै त्यसको नियमित प्रदर्शन भयो ।

‘आमा’ मा काम गर्ने सबैलाई राजाबाट दुई–दुई हजार पुरस्कार दिनू भन्ने हुकुम भयो । त्यो बेला सुनको भाउ दुई सय रुपैयाँ तोला थियो । अहिले कति भयो त ? खैर ।

यो मैले राजा महेन्द्रको गुणगान गाएको होइन । देशको नेतृत्व गर्ने मान्छे कस्तो हुनुपर्छ, त्यसको उदाहरण पेस गरेको । कसैले अन्यथा लिन्छ भने के गर्न सकिन्छ ?

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×