जब महेन्द्रले पाँच–पाँच बिघा जमिन बक्सिए...- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब महेन्द्रले पाँच–पाँच बिघा जमिन बक्सिए...

राजा महेन्द्रको जन्मोत्सवमा फोटो छपाउन म कलकत्ता गएँ । छपाएर ल्याएपछि फोटो दरबार पुग्यो । फोटोमा राजाको एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । राजाले भने, ‘मेरो सुनको दाँत त कालो पो आएछ ।’
दुर्गाप्रसाद श्रेष्ठ

यो घटना ०१९ सालतिरको हो । ‘गोरखापत्र’ मा राजा महेन्द्रको एउटा कविता छापियो– मवीवि शाहको नाउँबाट– ‘रारा की अप्सरा’ ! रारा दहको नैसर्गिक सौन्दर्यको वर्णन गर्दै लेखिएको थियो कविता । उपमा–अलंकारले भरपूर । मलाई पछि थाहा भयो– मवीवि शाह नेपालका राजा रहेछन्– महेन्द्रवीरविक्रम शाहदेव !

म बनारसमा एमए पढ्दापढ्दै आफ्नी शिष्याको बिहामा आएको थिएँ र पछि ‘प्रगति’ का सम्पादक नारायणप्रसाद बाँस्कोटाको कृपाले सरकारी जागिरदार भएँ । प्रेस (मुद्रणस्थल, छापाखाना) सम्बन्धी ज्ञान भएकाले ‘गोरखापत्र’ छापाखानामा खटाइएँ । गोरखापत्र छापाखाना वस्तुतः गोरखापत्र अखबार छाप्ने हेतुले स्थापना गरिएको रहेछ ।

‘ह्यान्ड कम्पोजिङ’ द्वारा लेख–समाचार ‘कम्पोज’ (विन्यास ?) गरिन्थ्यो र ह्यान्ड–फेड ‘गिद्धे प्रेस’ मा अखबार छापिन्थ्यो । मेसिनको नाउँ त ‘इगल’ (अंग्रेजीमा नाउँ) थियो, तर स्थानीय भाषामा ‘गिद्ध’ बाट ‘गिद्धे’ प्रचलित भयो । पछि ‘कोलम्बो प्लान’ अन्तर्गत बेलायतबाट एक जना ‘एडभाइजर’ आए । उनको सिफारिसअनुसार, ‘लाइनोटाइप’ मेसिन आएपछि ‘ह्यान्ड कम्पोजिङ’ बन्द भयो । अखबार र अन्य सामग्री छाप्न स्वचालित मुद्रण मेसिन पनि आयो । सूचना प्रविधिको विकासमा यो पहिलो कदम थियो । त्यसपछि एएफपीका सल्लाहकारहरूसँग सम्झौता भएपछि ‘टेलिप्रिन्टर’ पनि जडान भयो, त्यसपछि राष्ट्रिय संवाद समितिले समाचार सम्प्रेषणको दिशामा आधुनिक प्रविधि अपनायो ।

‘प्रगति’ का सम्पादक नारायण बाँस्कोटालाई प्रचार विभागमा डाइरेक्टर बनाएपछि त्यसको आमूल परिवर्तन भयो र पछि ‘सूचना–प्रसार मन्त्रालय’ खडा भएपछि त्यो सूचना विभागमा परिवर्तन भयो ।

प्रचार विभागमार्फत ‘पञ्चायती व्यवस्था’ को फिल्मी शैलीमा प्रचार गर्न नेपालको पहिलो चलचित्र ‘आमा’ को निर्माण गरियो । ‘आमा’ मा काम गर्ने कलाकार र गायकहरू सबै सरकारी जागिरदार थिए– शिवशंकर, भुवन थापा, वसुन्धरा भुसाल, इन्द्रलाल, भैरवबहादुर थापा आदि । अनि उत्तम नेपाली र म पनि । गायकहरू थिए– खनारायणगोपाल, तारादेवी आदि । हीरासिंहलाई राजा महेन्द्रले भारत भ्रमणका बेला बम्बईमा भेटेर ‘तिमी नेपालमा काम गर्छौ ?’ भनी सोधेर ‘आमा’ बनाउने जिम्मेवारी दिइएको रहेछ । मेरो बुबा काशीबहादुर श्रेष्ठलाई ‘गोरखापत्र’ को सम्पादकमा नियुक्त गर्न महेन्द्रबाट बोलाइएको रहेछ । बुबालाई जागिर खान मन लागेन र बिन्ती गर्नुभएछ, ‘सरकार, मेरो पत्रिका ‘उदय’ लाई केही आर्थिक मदत बक्से त्यसैमार्फत सेवा गर्नेछु ।’

‘उदय’ लाई प्रचार विभागबाट विज्ञापन दिने आदेश भएपछि ‘अरू केही चाहिन्छ ?’ भनी राजाले सोधे । त्यसपछि बुबाले भन्नुभयो, ‘सरकार, मेरो छोरा दुर्गाप्रसादको नेपाली कथासंग्रह छाप्न आर्थिक मद्दत पाऊँ ।’ तुरुन्तै १२ सय भारु बकस भएछ । यसप्रकार मेरो कथासंग्रह ‘सम्झनाको बादल’ प्रकाशित भयो । पछि यो मराठी र तेलेगु भाषामा पनि प्रकाशित भयो ।

यो चाहिँ २०२८ सालको घटना हो । रौतहटमा हिन्दु–मुसलमान दंगा भएछ । त्यसको शान्ति–सुव्यवस्थाका लागि रामनारायण श्रेष्ठ अञ्चलाधीशको अध्यक्षतामा गृह मन्त्रालयको एउटा टोली खटाइयो । समाचार सम्प्रेषणका लागि मलाई पनि खटाइयो । साथै सेनाको एक टुकडी पनि खटाइएको थियो । सेनाको अधिकृतका साथ म पनि जिपमा बसेर गस्ती गर्न गाउँगाउँ जान्थेँ ।

हामी बस्न चौरमा फुसको झुपडी बनाइएको थियो । खाटहरूको व्यवस्था पनि थियो । नजिकै इनारको पानीले बिहान नुहाउँथ्यौं । रामनारायण श्रेष्ठले बरखी बार्नुभएको रहेछ र बिहानै उठेर नुहाएर तर्पण दिनुहुँदो रहेछ । करिब एक महिनापछि सबै साम्य भएपछि निरीक्षण गर्न राजाको सवारी भयो । हाम्रो टोलीका सबैले एक लाइनमा उभिएर सरकारको स्वागत गर्‍यौं । रामनारायणले सबैको परिचय गराउनुभयो । परिचय पाएपछि राजाले सोधे, ‘तिमी काशीबहादुरको छोरा होइन ?’

‘हो सरकार,’ मैले भनेँ । जाने बेलामा राजाले रामनारायणसँग कुराकानी गरे । त्यहाँबाट राजा ‘दियालो बंगला’ मा बस्ने गरी चितवन हिँडे ।

‘दुर्गाजी, टोलीका सबैलाई सरकारबाट ‘चन्द्रनिगाहपुरमा पाँच–पाँच बिघा जमिन व्यवस्था गरिदिनू’ भन्ने हुकुम भयो । ल, बधाई छ ।’

म सबेलाबजार, धनुषामा जन्मेको ! सुनेर खुसी लाग्यो । तर, अफसोस ! त्यही राति राजालाई हृदयाघात भएपछि नहुने घटना भयो । हाम्रो सपना चकनाचूर भयो । एक पटक राजाको जन्मोत्सवका पोस्टर छपाउन म कलकत्ता गएँ । सानो साइजको फोटोबाट ठूलो आकार (२०”–३०”) को पोस्टर छपाउनुपर्ने । कलकत्ताबाट छपाएर ल्याइयो र नमुना दरबार पठाइयो । फोटोमा राजाको मुहारमा एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । अब सबैले मेरो जागिर जाने भयो भने । सचिव सुन्दरप्रसाद शाह पनि रिसाए र त्यो पोस्टरको नमुना लिएर दरबार पठाए । संवाद सचिव रेणुलाल सिंहलाई पोस्टर दिएँ । उनले सरसर्ती हेरेपछि राजालाई देखाउन भनी लिएर गए । एक छिनपछि उनी फर्केर आउनुभयो ।

म भित्रभित्रै डराइरहेको थिएँ । तर, संवाद सचिवसँग सोध्ने आँट आएन । रेणुलालले एक छिनपछि भने, ‘ठीक छ भनी बक्स्यो । तर, ‘मेरो सुनको दाँत त कालो पो आएछ’ भनिबक्स्यो ।’मैले अफिस फर्केर रेणुलालको सन्देश सुनाएँ । ‘दुर्गाजीको जागिर जाने भो’ भनी आस गरी बसेका सबै खिस्स भए । देश–विदेशका प्रतिभालाई कदर गर्ने राजा महेन्द्रको बानी ‘काबिल–ए–तारिफ’ हो । ‘आमा’ फिल्मको निर्माण गर्ने कुरा उठ्दा राजाबाट प्रेमप्रकाश मल्ललाई पनि गीत गाउने मौका दिनू भन्ने हुकुम भएछ । प्रेमप्रकाश मल्लले राजाको नेपालगन्ज सवारीका बेला क्याम्पमा गीत गाएर सुनाउँदा आवाज मन परेर उनलाई मौका दिनू भनेका रहेछन् । उर्दूमा यस्तोलाई ‘कद्रदँ’ अर्थात् ‘कदर गर्न जान्ने मान्छे’ भन्छन् । राजा महेन्द्र यस्तै थिए ।

तर, अफसोस कलकत्ता पुगेर मल्लजीलाई ‘डेंगु’ ले समातेछ र एक हप्ता होटलको कोठैमा बस्नुपर्‍यो । उनले स्वर्णिम मौका गुमाए । ‘आमा’ फिल्म बनेर आएपछि ‘जयनेपाल सिनेमाघर’ मा ‘प्रिमियम शो’ भयो । राजा र राजपरिवारका साथै उच्चपदस्थ व्यक्तिविशेषले पनि ‘आमा’ हेरेपछि जयनेपालमै त्यसको नियमित प्रदर्शन भयो ।

‘आमा’ मा काम गर्ने सबैलाई राजाबाट दुई–दुई हजार पुरस्कार दिनू भन्ने हुकुम भयो । त्यो बेला सुनको भाउ दुई सय रुपैयाँ तोला थियो । अहिले कति भयो त ? खैर ।

यो मैले राजा महेन्द्रको गुणगान गाएको होइन । देशको नेतृत्व गर्ने मान्छे कस्तो हुनुपर्छ, त्यसको उदाहरण पेस गरेको । कसैले अन्यथा लिन्छ भने के गर्न सकिन्छ ?

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्

एक डाक्टरको पाइला

दुर्गाप्रसाद श्रेष्ठ

मानिसको जीवन पूर्वजन्मका कर्महरूले निर्धारित हुन्छ भनिन्छ । कर्ममा नलेखिएका कुरा जतिसुकै प्रयास गरे पनि पाउन मुस्किल छ । सन्दर्भ चिकित्सा पेसामा कहलिएका जगदीशलाल वैद्यको हो, जसले भर्खरै ‘जगदीशका पाइलाहरू’ नामको जीवनी र स्मृतिको सँगालो किताब प्रकाशित गरेका छन् । किताबले एक व्यक्तिको जीवनमा कर्म र संघर्षको कथानकलाई राम्रैसँग सम्झाएको छ ।

जगदीशका सात जना दाजुभाइ र पाँच दिदीबहिनी थिए । विशाल, तर सुखी परिवार, आपसमा प्रेम भएको परिवार । त्यो मुस्किलको बेलामा पनि उनका पितामाताले छोराछोरी हुर्काए–पढाए र समाजका योग्य नागरिक बनाए । धेरै भएर पनि भाँडामा छताछुल्ल भएन (सम्पत्ति र सन्तान दुवै) भने जोगिने रहेछ । जगदीशलाल वैद्यको परिवारले यही उदाहरण देखाउँछ ।

वैद्यको ‘जगदीशका पाइलाहरू’ को आद्योपान्तमा एउटा साधारण मानिसको जीवन संघर्ष, हन्डर–ठक्करका चरण छन् । काठमाडौंको बी एन्ड बी अस्पतालको संस्थापकमध्ये एकका रूपमा परिचित वरिष्ठ सर्जन डा. वैद्यको ४ सय पेजभन्दा मोटो पुस्तकमा जीवनका विविध रोमाञ्चक क्षण र रहस्य समेटिएको छ । ४२ शीर्षकमा बाँडिएको किताबको सुरुवातमा वैद्यले आफ्नो छोरो घरैबाट अपहरणमा परेको र अनेक यत्नले फर्काउन सकेको घटनालाई दुःखान्त शैलीमा लेखेका छन् । किताबमा जगदीशले अमृतसर (भारत) मा पढ्दाको अनुभव चित्ताकर्षक ढंगले लेखेका छन् । ‘डाक्टरी पढाइ पूरा भयो, बाँकी थियो इन्टर्नसिप । इन्टर्नसिप सबै डिपार्टमा गर्नुपर्ने । मलाई सर्जरीमा सजिलो लाग्ने, शरीर चिर्न र सिउन किनकिन मजा लाग्थ्यो । दिनभरि दुर्घटनामा परेका मानिसको घुइँचो नै लाग्थ्यो, त्यस्तो केस कसैले पनि छुन नमान्ने ! कुटपिट, हतियारले हानिएका घटना पनि खुबै हुन्थे । त्यस्ता केसमा अपरेसन गरी घाउ सिलाउनुपर्ने हुन्थ्यो । मलाई सिलाउने काम मन पर्ने,’ डाक्टर जगदीशको बयान रोचक छ । बेलायतमा डा. बिहारीलाल श्रेष्ठसँग भएको भेटघाट र संगतदेखि प्रतीकात्मक अर्थमा मेडिकल कलेजको भूतसम्मका सन्दर्भ, माओवादी नेताहरू बाबुराम र प्रचण्डसँगको भेटहरू रमाइला छन् ।

तर, चिकित्सा क्षेत्रमा विशिष्ट चिनारी बनाइसकेका वैद्यले श्रीमती तथा परिवारको बयानमा अलिक बढी शब्द तथा समय खर्चिएका छन् । यसले गर्दा कहीँकतै स्मरण र योगदानका अरू पक्ष ओझेलमा परेझैं देखिन्छ । ‘डेस्टिनी’ अर्थात् भाग्य भन्ने कुरा गजबको हुने रहेछ । यसले मानिसलाई ‘डेस्टिनेसन’ (मञ्जिल) सम्म पुर्‍याउँदो रहेछ । अनेक परिवन्द हुन्छन् जीवनका । बाहिरी देशमा पढेर फर्केपछि जगदीशलाई यहाँ डाक्टर (अशोक) बाँस्कोटाले पर्खेर बसिरहेका थिए, यद्यपि उनलाई थाहा पनि थिएन, वैद्य र बाँस्कोटाको मिलन नेपालको चिकित्सा इतिहासमा एउटा ‘माइलखुट्टी’ बन्नेवाला छन् । जुन ठाउँमा दिउँसै स्याल कराउँथ्यो, त्यहाँ भव्य चिकित्सकीय भवन बनाउन दुवैको भाग्यमा लेखिएको छ भन्नेबाट तिनीहरू अनभिज्ञ थिए !

ग्वार्कोको बी एन्ड बी अस्पतालसँग जोडिएका सन्दर्भ र संघर्षमयी पलको स्मरण पनि उत्तिकै रमाइलो छ । जगदीशले किताब पठन सहज होस् भनेर स–साना घटना र जीवनका अंशलाई ४२ उपशीर्षकमा बाँडेका छन्, जुन यदाकदा झिंझो लाग्छ । सम्पादनमा अझै मिहिनेत भइदिएको भए कतिपय दोहोरिएका र बयान गरेर बुझाउन खोजिएका सन्दर्भ छोटिने थिए ।

प्रकाशित : चैत्र २६, २०७८ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×